Tuesday, June 28, 2011

भूगोल र लोकगीत

-यमबहादुर दुरा

सम्भवत: मानव जीवन सुखदुखको गठजोड हो । सुखदु:खले सिर्जना गरेको घामछायामा मानिस गुनगुनाउन थाल्छ ।  लोकसाहित्यका अध्येताहरु भन्ने गर्छन्, सुखदुःखमा गुनगुनाउँदा गुनगुनाउँदै लोकगीतको जन्म हुन्छ । यसरी सुखदुःखमा गुनगुनाउँदा गुनगुनाउँदै जन्मेको लोकगीत धेरैका लागि मन भुलाउने र मन बुझाउने  सरल, सहज र प्रिय माध्यम हो । खासगरी गाउँबस्तीका कर्मजीवीहरुका लागि । शायद, भूगोल र मानवीय जिजीविषा लोकगीतका जन्मदाता हुन् । त्यसैले लोकगीतमा भूगोल र मानवीय जिजीविषाका प्रतिविम्बहरु भेटिन्छन् ।

भूगोल र मानवीय जिजीविषाका तमाम आयामहरुमा लोकगीतका फाँकी र फुंदा गाँसिएका छन् । 'दुई दिनको जिन्दगी बिताउन, मेरो माया कहाँ हो कहाँ मुग्लानमा ', 'आगे आगे तोपैको गोला, पछि पछि मेसिन गन भरर ', 'राम्दी पुल तरने बित्तिकै, बाँचे भेट मरे त यत्तिकै ', 'आमा तिमी नरुनू मेलैमा, मैले डाँडो काटने बेलैमा ', 'आमा रुँदै गाउँबेसी मैलैमा, छोरो रुँदै गोरखपुर रेलैमा '  :  मुग्लानी जीवनवृत्ति र लाहुरे जीवन पद्धतिसंग नाता गाँस्ने यी र यस्ता लोकभाका सांचो अर्थमा भूगोल र जिजीविषासंग नाता गाँसिएको जीवनशैलीको नेपाली संस्करण हुन् ।  भूगोल र जिजीविषाको यी आयामहरुसंग नेपाली जनजीवनको नाता अटुट र अगाध छ । यस अर्थमा भूगोल र लोकगीतको अन्तरसम्बन्धलाई  माटो र मुटुको नाताको रुपमा परिभाषित गर्दा अन्यथा ठहरिने छैन ।

'मादी दोभान, न तिम्लाई न मलाई गयो जोवन', 'तिनाउ खोलाको, के भर छ र नि मर्ने चोलाको ' : गाउँबस्तीमा गुंजने यस्ता लोकभाकाहरुले एकतिर भूगोल र अर्कोतिर मानवीय जीवनको वास्तविकतालाई समेटेको छ । यस्ता लोकभाकाको पहिलो फाँकीमा भूगोल भेटिन्छ भने अन्तिम फाँकीमा मानव जीवनका सुखदु:ख र वास्तविकताहरु ।  जीवनको वास्तविकता बोल्ने यी लोकभाकाहरुले हामीलाई मानवीय सम्वेदनाका गहिराइसम्म पुर् याइदिन्छ । त्यसैले हाम्रा लोकभाकाहरु गीतमात्र  नभएर ब्रह्मवाक्य पनि हुन्  ।

कतिपय नेपाली लोकगीतहरु आफैंमा 'नेपाल परिचय ' हुन् । 'बेनीको बजार, जता माया उतै छ नजर', 'गाउँशहरमा लमजुङ दरबार, मायालाई दिने थिएँ फूलजस्तो जोवन भइसक्यो मेरो घरबार ', 'घर त मेरो यहाँ होइन लमजुङ, छोडीजाने मायालाई के सम्झुम् ', ' घर त मेरो हो स्याङ्जा जिल्ला माया लाउन मिल्ला कि नमिल्ला ', 'सिन्धुलीगढी घुमेर हिंड्दा सुन्तलीमई कतिमा राम्रो दरबार ' आदि लोकगीतले नेपालकोको भूगोललाई चिनाउने काम गरेका छन् । यी लोकभाकाहरुमा नेपालको भूगोल प्रतिविम्बित भएका छन् । त्यसैले यिनीहरु 'नेपाल परिचय' का श्रव्य पुस्तक हुन् । 

 
सूचना प्रविधि विकास र यातायातको विस्तार नहुँदाको घडीमा भौगोलिक विकटता र भौगोलिक जटिलताले संचार, संवाद र भेटघाटको दायरालाई साँगुरो बनाइदिन्थ्यो । भूगोलले सिर्जना गरेका विकटता एवम् जटिलताप्रति लोकगीतमार्फत आक्रोश व्यक्त भएको  पाइन्छ । 'अल्को डाँडा नभए हुनिथ्यो, म बोलेको मायाले सुन्निथ्यो', 'तिमलाई हामलाई छेकने डाँडोलाई लगे हुन्थ्यो पैह्रोले सलल', ' यो मायालाई मै लान्छु चोरेर, अल्को डाँडा मेसिने फोरेर ' जस्ता लोकगीतले यही  यथार्थको  साक्षी बक्ने काम गरेका छन् ।

संसारले जादुमय शैलीमा भौतिक प्रगति गरिरहेको वर्तमान घडीमा पनि भौगोलिक विकटताका निम्त्याएका अनगिन्ती समस्याहरुबाट हाम्रा गाउँबस्ती ग्रसित छन् । बाटोघाटोको उचित व्यवस्था नहुँदा अनि खोलामा फड्के र झोलुङ्गे पुल नहुँदा  खोला वारि र पारिको  साँगुरो दुरी पनि धर्तीको अल्लो छेउ र पल्लो छेउजत्तिकै टाढा हुन पुग्छ । त्यसमा पनि बर्खा लागेर खोला बहुलाउन थालेपछि त स्थिति झन जटिल बन्न पुग्छ । हिउँदमा कमिला हिड्ने खहरे खोला पनि चलचित्रको 'भिलेन' बनेर उभिन्छ, बर्खा याममा । बर्खा यामले सिर्जना गरेको विषम परिस्थितिमा भेटघाट गर्ने अनि  मन र मुटु  साट्ने मौका स्वाभाविक रुपमा टरेर जान्छ । यस्तो अवस्थाले गाउँबस्तीका कर्मजीवी - जो वास्तविक नायक-नायिकाहरु हुन्- लाई अलगथलग पारिदिन्छ । अनुभवले खारिएर प्रस्फुटन भएका लोकसुस्केराले यही वास्तविकतलाई पुष्टि गर्छ : ' खोलापारि म माया लाउँदिन, बर्खा लाग्यो आइरहन पाउँदिन '।

भूगोलले टाढा र मनले नजिक ठहरिएका मानिससंग हृदय साटिएपछि उनीहरुमा निरन्तर भेटघाट गरेर मनको कुरा पस्कने लालसा बढ्दो हो । तर भनेको बेलामा र भनेको ठाउँमा भेटघाट गर्न असंभव हुँदो हो, भूगोलले टाढा बनाइदिएकोले । अनि मन वेपत्तासंग छटपिटंदो हो । त्यसैले हरदम भेटिरहने तिर्सनालाई मनमा पाल्दापाल्दै माछीकाँडे डाँडाको गीत जन्मियो होला :

तिमलाई टाढा, मलाई  नि टाढा
माछीकाँडे डाँडामा घर सार


मिलन र बिछोड त प्रकृतिको नियम नै हो । मिलनमा खुशी हुनु अनि विछोडमा दुःखी हुनु मानव स्वभाव हो । एउटा अनिश्चित भविष्य बोकेर धन कमाउन परदेश हिडेका आफन्तजनको पीरले कसको मन नरुवाउला !  त्यसमा पनि न च्याटिङ, न चिठीपत्र, न त टेलिफोनमार्फत नै खै-खबरको आदन-प्रदान । अशिक्षा र अभावले गाँजेको गाउँबस्तीमा सञ्चारको आधुनिकतम्  सुबिधा कसरी उपलब्ध होस् र  !  मुग्लान पस्नेको सन्चो विसन्चोबारे केही थाहा हुने कुरै भएन, यस्तो अवस्थामा । अनि त व्यथित मनहरु त्यसै त्यसै सुसेलिन थाल्छन्  : ' गयो माया मर् स्याङ्दी तिरैतिर, सन्चो छ कि विसन्चो लाग्छ पीर ' ।

आजभन्दा ३०/ ४० वर्षअघिको नेपाली समाजको तस्बिरलाई एकपल्ट प्रयास गरौं । विगतमा यातायात र संचारको राम्रो व्यवस्था नहुँदा एउटै देशभित्रको भूगोल पनि एकादेशजस्तो भएको थियो, जुन कुरा लोकगीतमार्फत व्यक्त भएका भावनाहरुबाट प्रष्ट हुन्छ । खासगरी नौडाँडा  कटाएर विवाह गरिदिएका छोरीचेलीहरुको पीडा थामिनसक्नुको थियो । लोकगायिका कविता आलेको यस गीतले यही अवस्थाको प्रतिनिधित्व गर्छ :

सिरसिरे डाँडाको फिरफिरे हावा उडायो पछ्यौरी
बिरानो देशमा दियौं बाबा रुवायौ बेसरी

गाउँ र बेंसीको दूरी खासै लामो त होइन । तर घडीको सूईझैं घुमिघुमी आउने कामको चटारोले गाउँघरका कर्मजीवीहरुलाई फुत्कनै दिंदैन। कामको व्यस्तताले गाउँ र बेंसीमा अलगथलग भएका प्रियजनहरुबीच कतिपय अवस्थामा त महिनौंसम्म भेटघाट नहुने परिस्थिति सर्जना हुनसक्छ । कुनै मौकाले गाउँको माया बेंसीमा झरेर भेट भयो भने उमङ्गको सीमा रहँदैन । अनि गीतमार्फत खुशी साटासाट हुनथाल्छ :

आज मेरो साइतै परेको
गाउँको माया बेंसीमा झरेको

कसलाई के थाहा छ र ! यो गोलो पृथ्वीमा कतिखेर कोसंग भेट हुन्छ भन्ने कुरा ।   यस किसिमको अनपेक्षित भेटघाटले निम्त्याएको  सुखद संयोगलाई लोकगीतका पारखीहरुले चोपिलो र रसिलो पारामा गीतको मालामा उनेका छन् : 'तिमी कहाँको म कहाँको कहाँको,  दुई खोलीको पानीझैं भेट भाको ' ।

प्रियजनसंगको एकपटकको भेटघाटले मात्र मन नभिरंदो हो । घरिघरी भेट्न मन लाग्दो हो । तर घरव्यवहार मेलापात वनपातजस्ता कामकाजको चटारोले संधैभरि भेटघाट गर्न संभव नहुनु स्वाभाविकै हो । कतिपय भेटघाट त भाग्यको खेल पनि होला । एकपटक भेट भएपछि दोस्रो पटक भेट हुन्छ भनेर कसरी सुनिश्चित गर्न सकिन्छ र ! त्यसैले एकपटक भेटघाट गरेर छुट्टिने बेलामा फेरि भेटघाट गर्न पाइने हो कि होइन भन्ने चिन्ताले सताउँदो हो । यही चिन्ताले भाउन्न भएको बेलामा भविष्यवाणी गर्नसक्ने क्षमता राख्ने भाग्य-विधातालाई नै प्रश्न गर्ने क्रममा यस मार्मिक गीतको जन्म भएको हुनुपर्छ :

फेरि भेट होला कि नहोला
दुई खोलीको दोभान कहाँ होला

यिनै विकट र जटिल परिस्थितिहरुसंग  मानव जीवनका भोगाइहरु उनिएका छन् । यस अर्थमा भूगोल र लोकगीतबीच नङ र मासुको जस्तै अन्तरसम्बन्ध छ भन्न करै लाग्छ । भूगोल र लोकगीतको अन्तरसम्बन्धको जति चर्चा गरे पनि कमै हुन्छ । मानव जीवनका सुखदुःखहरुका भावनाहरुको ओइरो कहिले पनि रित्तिने छैन । यिनै सुखदुःखहरुलाई खोकिलामा च्यापेर हाम्रो जीवनयात्रा अघि बढ्दैछ  । अनि नेपाली भूगोलमा लोकगीत भेटिन्छ र लोकगीतमा भूगोल भेटिन्छ । यी दुबैमा नेपाली जनजीवनको ढुकढुकी भेटिन्छ । त्यसैले नेपाली भूगोल र नेपाली लोकगीत बिछट्टै प्यारो लाग्छ ।

[साभार : नेपालीपोष्ट (जनवरी १९, २००९) यसको परिमार्जित संस्करण जनपहुँच  (वर्ष १ अंक ३ जेठ २०६८)  पनि प्रकाशित

[अद्यावधिक : २०६८।०६।२४, ०६८।१०।२९, ०६८।११।०१, ०६८।११।०२, ०६८।११।०३, ०६८।११।०४, ०६८।११।०९, २०६९।०८।०७]  

No comments:

Post a Comment