Monday, September 5, 2011

बदिलंदो सामाजिक परिदृश्य र हामी

-यमबहादुर दुरा


समयको अविराम यात्राले हामीलाई सम्भावना र चुनौती दुबै दिएको छ, जुन समयको सदावहार विशेषता हो । समयले दिएको यिनै चुनौती र सम्भावनाहरुको माखेसाङलोमा मानव जातिको सम्पूर्ण इच्छा र आकांक्षाहरु जेलिएका छन् । सूचना प्रविधिको तीव्रतर विकास एवम् स्थल र हवाइ यातायातको बढ्दो संजालले अन्तरअन्तरसांस्कृतिक घुलनशीलता र अन्तरक्रियालाई बेजोड ढंगले अघि बढाएको छ । यसबाट हाम्रा इच्छाहरु चुलिएका छन् अनि हाम्रा आकांक्षाहरु उर्लिएका छन् । चुलिंदो चाहना र उर्लिंदो आकांक्षाहरु पूरा गर्ने क्रममा हाम्रो सामाजिक जीवनमा थुप्रै फेरबदल वा परिवर्तनहरु देखापरेका छन् । सामाजिक संरचनाहरु धमाधम बदलिन थालेका छन् । सामाजिक परिदृश्यमा नितान्त नवीनतम् घट्नाक्रमहरु दृष्टिगोचर भएका छन् । त्योपनि तीव्र गतिमा । त्यसैले वर्तमान समयलाई द्रूततर परिवर्तनको युग पनि भन्ने गरिएको छ ।

अहिले हामी परम्परागत जीवनशैलीबाट आधुनिक जीवनशैलीतर्फ फड्को मार्दैछौं । यही कारण होला, हाम्रो बोली व्यवहार तथा रहन-सहनमा थुप्रै अकल्पनीय परिवर्तनहरु आएका छन् । कम्प्युटरको अगाडि घण्टौं-घण्टा बसेर मायाप्रीतिका कुरादेखि लिएर विज्ञान-प्रविधिसम्मका विषयमा कुराकानी गर्नु आधुनिक 'नेटिजन' हरुको दिनचर्या नै बनिसकेको छ । पढेलेखेका नागरिकहरुको जिब्रोबाट अंग्रेजी शब्द निकै उच्चारित हुन थालेका छन् । हामी अंग्रेजी क्यालेण्डरमा अंकित 'साइबर फेस्टिबल' हरुमा रमाउन थालिसकेका छौं । स्वदेशी पात्रोमा अंकित चाडबाडहरु शनैशनै: निरश र महत्वहीन बन्न पुगेका छन् । दशैं, तिहार, साउने, संक्रान्ति एवम् माघे संक्रान्तिजस्ता हाम्रा मौलिक चाडबाडहरुलाई 'भ्यालेनटाइन्स डे' जस्ता 'साइबर फेस्टिबल'  हरुलॆ क्रमिक रुपमा बिस्थापित गर्दै लगेको छ ।


विदेशी फेशन डिजाइनरले तयार पारेको रङ्गीचङ्गी पोशाकले हामीलाई हदैसम्म लोभ्याएको छ । आयातित फेशनको मोडमा डुब्दा हामीलाई घरबुना कपडाले निकै बिझाउन थालेको छ । युवापुस्ता 'डिस्को' र 'क्याब्रे' 'डान्स' को 'एडिक्ट' बन्न थालेको छ । हामीलाई रोदीघरको संगीतमय वातावरण मन पर्न छाडेको छ । बरु शहरका महङ्गा डान्स रेष्टुराहरुमा छेपारी बटार्नतिर हाम्रो मन पल्केको छ । विवाह उत्सवमा पाचैबाजाको मधुर ध्वनि विस्तारै गुन्जन छोडेको छ र ब्याण्डबाजाको आवाज घन्कन थालेको छ । परम्परागत भोज-भतेर र खानपिनलाई आधुनिक 'डिस' र 'कुइजिन' हरुले विस्थापित गर्दो छ । यसैगरी शहरको चमकधमकपूर्ण जीवनशैलीले ग्रामीण जीवनशैलीलाई फिका बनाउँदै लगेको छ ।

यी त भए, हाम्रा जीवनशैलीमा आएका परिवर्तनका केही उदाहरणहरु । संसार परिवर्तनशील छ । यो सबैले बुझेको कुरा हो । समयको बदिलंदो क्रमसँगै हाम्रो जीवनशैलीमा परिवर्तनहरु आइरहेका छन् र आइरहने छन् । यहाँनेर प्रश्न उठछ,  के समयको प्रवाहसँगै आउने सबै परिवर्तनहरु सर्वग्राह्य र समाजोपयोगी छन् ? के यिनीहरुलाई चुपचाप स्वीकार्नु हाम्रो धर्म हो ?  यिनै प्रश्नहरुको उत्तर खोज्नु नै हाम्रो लागि गम्भीर चुनौती बनेको छ । कुरोको चुरो यहींनेर लुकेको छ ।

समयले ल्याउने परिवर्तनहरुप्रति समाजको त्यति साह्रो असहमति रहँदैन । त्यसो त कतिपय परिवर्तनहरुलाई चाहेर पनि रोक्न सकिदैन । यसो भन्दैमा समाजमा हुने सबै प्रकारका फेरबदल र परिवर्तनहरु मानिसको नियन्त्रण बाहिर छ भन्न मिल्दैन । त्यसकारण समाजको नियन्त्रणमा रहन सक्ने फेरिबदलहरुप्रति विचार पुर्याउनु प्रत्येक नागरिकको दायित्व हुन आउँछ । समाजलाई नै अधोगतितर्फ धकेल्ने परिवर्तनहरुप्रति हामी सजग हुनैपर्छ । हाम्रो सामाजिक परिदृश्यमा देखापरेका परिवर्तनहरुले समाजको सर्वतोमुखी विकासलाई अंगाल्नुपर्छ, कुरीतिहरुलाई हटाउनुपर्छ र हाम्रा उच्चतम सामाजिक मूल्य र मान्यताहरुलाई सुम्सुम्याउनुपर्छ । समग्रमा भन्दा समयको नयाँ पलले ल्याउने परिवर्तनले सिंगो समाजलाई प्रगतिको दिशामा डोर्याउनुपर्छ ।

बिडम्बना नै भन्नुपर्छ, हाम्रो समाजले अंगालेको परिवर्तन सकारात्मक दिशामाभन्दा नकारात्मक दिशामा लम्किंदो छ । आधुनिकताको नाउँमा हामीले अंगालेका व्यक्तिवादी जीवनशैलीले सामाजिक भावनामा धक्का पुर्याएको देखिन्छ । नेपाली जीवनशैलीको आधार मानिने 'जिउँदाको जन्ती, मर्दाको मलामी' भन्ने सामाजिक भावना कताकता बिलाउन थालेको अनुभूति हुन थालेको छ । पढेलेखेका युवाहरुले खेतीपाती गरेमा इज्जत जान्छ भन्ने गलत धारणा मौलाउन थालेको छ । नेपालको मौलिकता झल्कने पोशाक लगाउँदा पाखे संज्ञा पाउन थालिएको छ । घरमा आएका पाहुनाका अगाडि गुन्द्रुक र ढिडो खान लाजको विषय हुन थालेको छ । तर तिनै खानेकुरा शहरको महङ्गो रेष्टुराँमा गएर खाँदा प्रतिष्ठाको विषय हुन थालेको छ । पाहुना अगाडि एचो पैंचो गरेर भए पनि मीठो मसिनो खानुपर्ने संस्कार विकास हुन थालेको छ । वास्तविकतालाई ढाकछोप गरेर भए पनि तडक भडक अंगाल्नुपर्ने भएको छ ।

बासी भात भन्दा हामी नाक खुम्च्याउँछौं तर बासीभातको परिष्कृत रुप 'फ्राइड राइस' लाई शहरका विलासी रेष्टुराँमा महङ्गो दाम तिरेर खानचाहिं इज्जतको विषय ठान्छौं । एफएम संस्कृतिले उब्जाएका छाडा प्रेमप्रसंगहरुले हाम्रा कलिला लालाबालाहरूलाई आफ्ना 'ब्वाइफ्रेंड' वा 'गर्लफ्रेंड' नभएकोमा हीनताबोध हुने अवस्थामा पुर्याएको छ । अझ भनौं, उनीहरुलाई अनावश्यक रुपमा प्रेमातुर बनाएको छ ।

उपग्रह संस्कृति (Satellite Culture) मा चुर्लुम्म डुबेका युवापुस्तालाई हलिउड र बलिउडले मोहनी लगाएको छ । परिणामस्वरुप उनीहरु हलिउड र बलिउडका 'सेलेब्रिटी' हरुबारे चाहिनेभन्दा बढी जानकारी राख्छन् । तर आफ्नै देशको कला र संस्कृतिको प्रवद्र्धनमा जीवन अर्पेका कलासाधकहरुका बारेमा चािहं सामान्य जानकारी पनि राखेका हुँदैनन् । आफ्नै आँगननेरको प्रतिभाबारे बेखबर रहने र तथा सयौं हजारौं किलोमिटर पर रहेका र मानवीयवाहेक अरु नाता नभएका 'सेलेब्रिटी' हरु बारे बढी चासो राख्दा हामीमा 'जिराफ दृष्टि' विकास भएको छ । टाढाको देख्ने तर नजिकको नदेख्ने । यसबाट हाम्रा लोकप्रतिभाहरु ओझेलमा पर्न थालेका छन् । उनीहरुलाई धेरैले देख्न छोडेका छन् । उनीहरुको प्रतिभा नयाँ पुस्तामा हस्तान्तरण हुनुपर्ने हो तर त्यसो हुन सकेको छैन । हामीमा लोकप्रतिभाहरुप्रति न श्रदाभाव छ, न त उनीहरुको शीप र कला ग्रहण गर्ने चाहना नै । त्यसैले ती लोकप्रतिभाहरु बिरानो र अपहेलित बन्न पुगेका छन् । जताततै तिरस्कार र अपमान सहनु परेर नै होला- एउटै कम्मर तीन ठाउँमा भाँचेर नाँच्ने गाउँले नृत्यपारखीहरुको जाँगर मर्न थालेको छ, सारंगी र मादलमा सल्बलाउने औंलाहरु थला पर्न थालिसेकेका छन् अनि कोइलीको जस्तो मीठो स्वर भएका लोकगायक एवम् गायिकाहरुको गला अवरुद्ध हुन थालेको छ । हाम्रा परम्परागत वाद्ययन्त्र खैजडी र मादलमा माकुराले जाल बुन्न थालेको छ ।

आजकाल हाम्रो भाषिक पक्ष अंग्रेजीमय बन्न पुगेको छ । ममी, ड्याडी, अंकलजस्ता शब्दहरु नेपाली जनजिब्रोमा झुण्डिसकेको छ । हाम्रा छोराछोरीलाई आमा र बाको नेपाली शब्दार्थ बताइदिनुपर्ने दिन त्यति टाढा छैन । छोराछोरीले अंग्रेजी बोल्न नजान्लान् भन्ने त्रासले घरमा मातृभाषा नबोल्ने अभिभावकहरुको संख्या बढ्दो छ । आफ्नो बच्चाले नेपालीको हिज्जे बिगार्दा खासै चासो नराख्ने तर अंग्रेजी शब्दको एउटामात्र हिज्जे बिगार्दा भने सत्यानाश भयो भनेर चिन्ता जाहेर गर्ने अभिभावकहरुको कुनै कमी छैन । हाम्रा रैथानेपनहरु शनै:शनै मर्दैछन् ।

समयले ल्याएका यी तमाम फेरबदलहरुलाई ठीक वा वेठीक भनेर छुट्याउने काम तपाइँहरुको हो । यसले हामीलाई समुन्नत र वैभवशाली भविष्यतर्फ डोर्याउन वा डोर्याउँदैन भनेर निधो गर्ने काम पनि तपाइँहरुकै हो । मैले त वहसलाई अघि बढाएको मात्र हो ।


[साभार : साप्ताहिक विमर्श  (पुस २०, २०५८) । सामान्य परिमार्जन सहित]

[अद्यावधिक : २०६८।०६।१३, २०६८।०६।२८, २०६९।०८।०७]

No comments:

Post a Comment