Thursday, January 26, 2012

चाँदनी र दोधारालाई मुटुमा सजाउँदा...

-यमबहादुर दुरा
सानो छँदा सामान्य ज्ञानसम्बन्धी पुस्तकमा पढेको थिएँ, महाकाली नदी नेपाल र भारतबीचको सीमाना हो । साथसाथै मैले यो पनि पढेको थिएँ, चाँदनी र दोधारा महाकालीपरिको नेपाली बस्ती हुन् । नेपालको भौगोलिक अवस्थितिबारेको यसप्रकारको विरोधाभाषपूर्ण जानकारीले म आश्चर्यचकित भएको थिएँ । महाकाली नदीलाई नेपाल र भारत बीचको सीमाना मानिएको अवस्थामा महाकाली नदी पारि कसरी नेपाली बस्ती कायम हुनसक्छ ? मेरो मनमा यही जिज्ञासा थियो । यद्यपि यो सीमाना सन् १८१६ मा नेपाल र इष्ट इन्डिया कम्पनीबीच भएको "सुगौली सन्धि " पछि निर्धारण भएको हो  र यो नेपालको खुम्चिएको भूगोल हो भन्ने तथ्य पनि मनमै छ ।

समयक्रममा दोधारा र चाँदनीको बारेमा थप चर्चा-परिचर्चा सुन्ने मौका पाएँ । एकतिर मिडिया र अर्कोतिर अनौपचारिक माध्यमहरुमार्फत थप जानकारी बाहिरहरु आए । यस्ता चर्चा-परिचर्चाले पुराना जिज्ञासा मेट्दै गयो र नयाँ जिज्ञासाहरु थप्दै गयो । मैले बेला बखतमा सुन्ने गर्थें - दोधारा र चाँदनीमा नेपाली पैसा चल्दैन, त्यहाँ भारतीय रुपियाँमा कारोबार हुन्छ, त्यहाँ नेपाल सरकारको उपस्थिति छैन, त्यहाँका जनता प्राविधिक रुपमा मात्रै नेपाली हुन्, त्यहाँको जनजीवन भारतीय जीवनशैलीसित गाँसिएको छ, महाकाली नदीमा पुल नहुँदा दोधारा र चाँदनी नेपालको मूलभूमिबाट अलगथलग हुन पुगेका छन् । यी र यस्ता कुराहरु थाहा पाउँदा मभित्रको राष्ट्रियता नराम्ररी छट्पटाउँथ्यो । मन नमिठो गरी दुख्थ्यो ।
चाँदनी र दोधारालाई नेपालसंग जोड़ने पुल । तस्बिर: बीपी अनमोल
मलाई मनमनै लाग्थ्यो, चाँदनी र दोधारामा पुगेर त्यस भेगका नागरिकले भोग्नुपरेका पीरमर्कालाई नजिकबाट अनुभव गर्न पाए हुन्थ्यो । तर समय मिलिरहेको थिएन । लामो समयको प्रतीक्षापछि २०६२ सालतिर चाँदनी गाविसमा पाइला टेक्ने साइत जुर्‍यो । नेपाल प्रेस इस्टिच्यूट/क्षेत्रीय सञ्चार स्रोत केन्द्र (नेपालगञ्ज) ले आयोजना गरेको पत्रकारितासम्बन्धी तालिमको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्ने क्रममा महेन्द्रनगर पुगेको थिएँ । त्यतिबेला समय निकालेर चाँदनी गाविसको जमिनमा पाइला टेक्ने काम गरें। लामो र आकर्षक झोलुङ्गे पुल पार गरेर महाकाली पारिको चाँदनी गाविसमा पाइला टेक्न पाउँदा मन प्रफुल्लित थियो ।

त्यतिबेला नै महाकाली नदीपारिको भारतीय बजार वनबासा घुम्ने समय पनि निकालें । त्यसबेला नेपाल पत्रकार महासंघ (बाँके) का तत्कालीन सभापति निरज गौतमले आफ्नो मोटरमा राखेर वनबासा बजार घुमाइदिनुभएको थियो । वनबासातिर अघि बढ्ने क्रममा महेन्द्रनगरबाट लगभग ६ किलोमिटर पश्चिममा रहेको गड्डा चौकीनेरै भारतीय चेकपोष्ट देख्दा म छक्क परेको थिएँ । महाकाली नदी वारि नै भारतीय चौकी र भारतीय सीमा सुरक्षा बलको उपस्थिति देख्दा मलाई अनौठो अनुभूति भएको थियो ।

एकतिर महाकाली नदी पारिको नेपाली बस्ती र अर्कोतिर महाकाली नदीवारि नै भारतीय चेकपोष्ट । यी विरोधाभाषजस्ता लाग्ने दृश्य देखेर मेरो दिमाग रन्थनाएको थियो । यी परस्पर विरोधाभाषपूर्ण दृश्यले नेपाल र भारतबीचको भूराजनीतिक सम्बन्ध निकै जटिल छ भन्ने तथ्य राम्ररी अनुभूति भयो ।

अब फेरि चाँदनी र दोधारातर्फ नै जाउँ, जुन नेपालको मूल भूमिबाट टाढिएको नेपाली बस्ती हुन् । यसपटक म क्याम्पसको जाडो बिदामा मेची-महाकाली यात्रामा निस्केको थिएँ । यस क्रममा २०६८ साल माघ ३ गते लगभग ६ वर्षको अन्तरालमा चाँदनी गाविसमा पुगेको थिएँ । महाकालीपारि रहेका यी बस्तीको जीवनशैली र जनजीवनका अरु आयामहरु थाहा पाउने हेतुले म त्यता पुगेको थिएँ । महेन्द्रनगरस्थित महाकाली एफएममा कार्यरत बीपी अनमोलले मोटरबाइकमा राखेर चाँदनी गाविसको  पूर्वी भागमा पुर्‍याइदिनुभएको थियो । समयको सीमाबन्दीले त्यस  ठाउँभन्दा अघि बढ्न सकिएन ।

महाकाली नदीमाथि हालिएको पुलको पश्चिमी मुख (छेउ) मा दोधारा गाविसका बासिन्दा पप्पु गुरुङसंग चिनजान भयो । उहाँको पुख्र्यौली घर लमजुङ रहेछ । उहाँको पिता भारतीय सेनामा कार्यरत रहँदाको समयमा दोधारामा बसोबास गर्नुभएको रहेछ । उहाँबाट चाँदनी र दोधाराको बारेमा केही जानकारी प्राप्त भयो । उहाँका अनुसार बाटोघाटो र बजारको अभावमा चाँदनी र दोधारा गाविसका कृषि उत्पादन कि त मूल्य घटाघटमा बिक्री हुने गरेको छ कि त सडेर जाने गरेको छ ।

काठमाडौंबाट प्रकाशन हुने एक अंग्रेजी दैनिकले करिब २ वर्षघि दोधारा र चाँदनी गाविसका किसानले भोग्नुपरेको समस्याबारे समाचार छापेको थियो । समाचारअनुसार दोधारा र चाँदनी गाविसमा दैनिक ३ हजार ५ सयदेखि ४ हजार लिटरसम्म दूध उत्पादन हुने गरेको तर बाटोघाटो र बजारको अभावमा सदरमुकाम महेन्द्रनगरमा बिक्री हुने मूल्यभन्दा आधाभन्दा पनि कम मूल्यमा बेच्न बाध्यतामा त्यहाँका नागरिकहरु फसिसकेका छन् ।

यसैगरी, धनगढीबाट प्रकाशन हुने अनुमोदन दैनिकले २०६८ साल माघ ४ गतेको अंकमा चाँदनी गाविसको 'बेलबन्द सामुदायिक वन' मा उत्पादन हुने बेलले बजार नपाएको समाचार छापेको छ । १० बिघा क्षेत्रफलमा लगाइएको वनबाट वार्षिक रुपमा करिब ७ क्विन्टल बेल उत्पादन हुने गरेको भए पनि त्यसले बजार नपाउँदा स्थानीय किसान मर्कामा परेको कुरा पनि सो दैनिकले उठाएको छ ।

यी समस्याहरु त उदाहरणमात्रै हुन् । यहाँका नागरिकहरुले जनजीविका, जीवन रक्षा एवम् राष्ट्रियतासँग गाँसिएका असंख्य समस्या भोग्दै आएका छन् । भारतमा अपराध गरेर यस क्षेत्रमा लुक्न आउने अपराधी प्रवृत्तिका मानिसको खोजीमा भारतीय प्रहरी गर्ने ’रेड’, भारतीय सीमा सुरक्षा बलले बेलाबखतमा दिने यातना, आदिका दुःखद अध्याय यहाँका नागरिकको मनमस्तिष्कमा कम्प्युटरको ’मेमोरी चिप्स’ मा रहेजस्तै गरी साँचिएका छन् । प्रकारको दुःखदायी अवस्थाले मूल भूमिबाट टाढिएका दोधारा र चाँदनी गाविसका नागरिकहरुले उचित एवम् मर्यादित जीवन बिताउन नपाउने अवस्था पनि पैदा गरेको छ । यसबाट देशसँग अपनत्वको भावना टुट्ने खतरा रहन्छ । यस्तो अवस्थाले उनीहरुको मनमा रहेको राष्ट्रियताको भावना मेट्न  सहयोग गर्छ, जुन राष्ट्रियताको दृष्टिले घातक हुनसक्छ ।

चाँदनी र दोधारा गाविसले कञ्चनपुर जिल्लाको चुनावी राजनीतिमा महत्व पनि गहकिलो गरी बोकेको छ । त्यस जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा यी दुई गाविसको मत निर्णायक  हुन्छ । यस क्षेत्रका नागरिकको मत जसको पक्षमा गयो, उसैले चुनाव जित्ने अवस्था रहेछ । यति हुँदाहुदै पनि चाँदनी र दोधारा धेरै अर्थमा अपहेलित अवस्थामा छ ।

दोधारा गाविसको सीमावर्ती क्षेत्रका बालबालिकाहरु भारतीय स्कुलमा पढ्ने रहेछन् । अर्को कुरा, त्यस भेगका बासिन्दा बिरामी पर्दा भारतीय अस्पताल नै धाउने रहेछन् । दैनिक उपभोग्य वस्तुहरुको खरिद पनि भारतीय बजारमा नै हुने गरेको पाइन्छ । यहाँनेर, टाढाको आरनभन्दा नजिकको आँसी उध्याउने ढुँगा बढी लाभदायी हुन्छ भन्ने लोकोक्ति चरितार्थ भएको पाइन्छ ।

आउजाउ भएमा टाढाको साइनो पनि नजिकको साइनो बन्छ, आउजाउ नभएमा नजिकको साइनो पनि टाढाको साइनो बन्छ भन्ने भनाइ पनि यहाँ उत्तिकै शिरोधार्य देखिन्छ ।

नेपाली भूमि र नेपाली नागरिकलाई मूलथलोबाट टाढिन नदिन सरकारले विशेष कार्यक्रमहरु अघि सार्नुपर्छ । सन् २००५ अप्रिलमा निर्माण कार्य सम्पन्न भएको महाकाली नदीमाथिको १ हजार ४ सय ५४ मिटर लम्वाइ भएको झोलुङ्गे पुलले चाँदनी र दोधाराका बासिन्दालाई कन्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरसंग जोड्ने काम गरेको छ । अब त्यस पुलको रेखदेख गर्ने र मर्मत सम्भार गर्ने निकाय पनि हुन जरुरी छ । यतिले मात्र पुग्दैन । अब त्यस झोलुङ्गे पुलको सट्टामा मोटर नै गुड्न सक्ने पक्की पुल बन्न पनि आवश्यक छ ।

कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरबाट त्यस झोलुङ्गे पुलसम्मको दूरी १० दशमलव ५ किलोमिटर छ । त्यो बाटो कालोपत्रे भएमा त्यस भेगका नागरिकलाई आवतजावत गर्न सहज हुने देखिन्छ । उक्त बाटो कालोपत्रे गर्न माग गरेर स्थानीय नागरिकले विरोध कार्यक्रम अघि सार्दा पनि जनप्रतिनिधि र सरोकारलवाला निकायबाट यथोचित सुनुवाइ नभएको जानकारी पाइयो । त्यस बाटो पक्की भएमा महाकाली नदीमाथि बनेकोको झोलुङ्गे पुल हेर्न आउने पर्यटकको संख्या बृद्धि भई त्यस क्षेत्रमा सुविधासम्पन्न होटल र रेष्टुराँहरु बन्ने ठहर पत्रकार बीपी अनमोलको छ ।

बाटो कच्ची भएको कारणले सार्वजनिक यातायातका साधन नचल्दा सर्वसाधारण नागरिक महंगा वैकल्पिक माध्यम रोज्न बाध्य भएका छन् । त्यो बाटोमा मोटरबाइकले यात्रु ओसार्ने धन्दा फस्टाएको रहेछ । त्यस भेगका सर्वसाधारण नागरिक मोटरबाइक चालकलाई प्रतिव्यक्ति एक सय रुपियाँ तिरेर महेन्द्रनगर र महाकालीमाथिको पुलसम्म आउजाउ गर्न बाध्य भएका रहेछन् । उनीहरुले भोग्नुपरेको हैरानी र सास्तीप्रति सरकारको ध्यान जान आवश्यक छ ।

मूलभूमि  (Mainland)  बाट छुटिट्एको अवस्थामा रहेको भूखण्ड (Break-away land) को भूराजनीतिक र सामाजिक प्रभाव संधै गम्भीर र सम्वेदनशील हुने गर्छ । मुख्य भूमिबाट टाढिएका भूखण्डको नागरिकमा राष्ट्रि्रय भावना जागृत गर्न र त्यस भूखण्डलाई सुरक्षित तुल्याउन विश्वका कतिपय मुलुकका विशेष व्यवस्था अपनाएको पाइन्छ । नेपाल सरकार पनि विषयमा गम्भीर हुन आवश्यक छ । चाँदनी र दोधाराका नागरिकमा राष्ट्रिय भावना जागृत गराउन उनीहरुको जीवनवृत्ति (जनजीविका) र आत्मबललाई टेवा मिल्ने गरी विशेष कार्यक्रम अघि सार्नु आवश्यक छ । यसले चाँदनी र दोधारालाई नेपालको भूगोलसंग मात्र होइन, नेपाली मन र मुटुहरुसंग पनि जोड्ने काम गर्नुपर्छ । अनि मात्र संकटमा परेको राष्ट्र र राष्ट्रियतको जगेर्ना हुनसक्छ ।

[साभार : नेपाली पोष्ट  (जनवरी २५, २०१२)]

[अद्यावधिक : २०६८ ।१० ।१३, ०६८ ।१० ।१५, ०६८।१०।२९, ०६८।११।१९, २०६९।०१।०७, २०६९।०८।०६]

Friday, January 20, 2012

नेता रामचन्द्र पौडेललाई प्रश्न

 -यमबहादुर दुरा
गाउँघर निरन्तर रित्तो बन्दै गइरहेको घडीमा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले गाउँघरप्रति माया पोख्दै एक दैनिक अखबारमा लेख लेख्नुभयो । केही महिनाअघि प्रकाशित त्यस लेखको केन्द्रीय भावभूमि थियो, गाउँमा कृषि क्रान्ति हुनुपर्छ र गाउँ छाडेर गएकाहरु गाउँमै फर्कनुपर्छ । 

सैद्धान्तिक रुपमा तपाईँको लेख चित्ताकर्षक थियो । लेखको सैद्धान्तिक पक्षमा असहमति जनाउने कुनै आधार थिएन । तर पनि लेख पढेर सक्दानसक्दै मेरो मनमा तपाईँप्रति थुप्रै प्रश्नहरु उब्जिए ।

जगजाहेर नै छ, रामचन्द्र पौडेल वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालको राजनीतिक परिदृश्यमा निरन्तर दृष्टिगोचर भइरहेको पात्र हुनुहुन्छ । तपाईँ नेपाली कांग्रेसको शीर्षस्थ नेतामध्ये हुनुहुन्छ । वि.सं. २०४६ सालपछि तपाईँले निरन्तर रुपमा चुवाव जित्दै आउनुभएको छ । राजनीतिक सफलताका सिंढीहरु उक्लदै जाँदा तपाईँ सांसद, मन्त्री, सभामुख एवम् उपप्रधानमन्त्रीको ओहोदामा पुगिसक्नुभएको छ । भाग्यले साथ दिएमा भविष्यमा प्रधानमन्त्री पनि बन्नुहोला ।  तपाईँलाई शुभकामना छ ।

एकपटक पुरानै प्रसंगतिर जाऔं । वि.सं. २०४८ सालको चुनावी अभियानको क्रममा तनहूँको बरभाज्याङ गाविसस्थित बिचारी चौतारीमा तपाईँले भन्नुभएको थियो रे - "गाउँबाट विस्थापित मनलाई आधुनिक सेवा र सुविधा दिएर गाउँमै बसौं बसौं बनाउने ।"  कति सुन्दर भावना ! तर  भावनाले मात्र कहाँ पुग्ने रहेछ र ?  त्यसको व्यवहारिक पक्ष कस्तो रह्यो भन्ने कुरा महत्वपूर्ण हुने रहेछ ।

"गाउँबाट विस्थापित मनलाई आधुनिक सेवा र सुविधा दिएर गाउँमै बसौं बसौं बनाउने" नारा दिएर तपाईँले चुनाव जित्नुभयो । यसपछि तपाईँको सत्तारोहरणको क्रम शुरु भयो । त्यसपछि गाउँघरको हालत के भयो ? यता तपाईँको सत्तारोहरणको क्रममा तीव्रता आयो, उता गाउँबस्ती उजाडिंदै गयो । तपाईँले अघि सार्नुभएको नारा मार्मिक र तर्कसंगत हुँदाहुँदै पनि व्यवहारिक पक्ष कमजोर भएकोले त्यसले मूर्त रुप लिन पाएन ।  नाराले मूर्त रुप पाउनु त कता हो कता,  तपाईँको नाराविपरीत गाउँघर उल्टै हरघडी बिरानो बन्दै गयो ।

आजभन्दा बीस वर्ष अघि तपाईँले सार्नुभएको गाउँघरलाई हराभरा बनाउने नारा केबल नारामा सीमित भएको छ । आज गाउँघर हरपल बिरानो बन्दै गएको छ । गाउँबाट विस्थापित मनहरु गाउँमा पुनस्थापित हुन सकेको छैन । बरु ती मन प्रतिपल तीव्र गतिमा गाउँबाट विस्थापित भइरहेका छन् । निरन्तर रित्तिदै गएको गाउँघरका लागि एउटा नमीठो व्यंग बनेको छ, गाउँबाट विस्थापित मनलाई आधुनिक सेवा र सुविधा दिएर गाउँमै बसौं बसौं बनाउने भन्ने तपाईँको नारा । बच्चा हुर्किएपछिको चराको गुँडजस्तो उजाड बनेको छ, गाउँघर ।

यही पृष्ठभूमिमा नेता रामचन्द्र पौडेलतिर मेरा प्रश्नहरु सोझिएका छन् ।  तपाईँले देशको बागडोर सम्हालिसक्नुभएको छ । डाडू-पन्यू चलाउनुभएको छ । समयको विभिन्न कालखण्ड देशको बागडोर सम्हालेको बेलामा तपाईँले गाउँको विकासका लागि के कस्ता कार्ययोजनाहरु अघि सार्नुभयो ? योजनाकार र नीति निर्माताहरुसंग गाउँको विकासका लागि के कस्ता छलफल भए ? तपाईँबाट गाउँको विकासका लागि के कस्ता सत्प्रयास भए ?  यी प्रश्नको उत्तर पाउने हक नागरिकलाई छ । जवाफ दिनु तपाईँको नैतिक दायित्व पनि हो ।

गाउँलाई गुल्जार बनाउने सत्प्रयास असफल भएका  भने तिनलाई के कस्ता तत्वहरुले बाधा पुर् याए ? तपाईँको लेखमा यस्ता प्रश्नहरुको जवाफ आउनुपथ्र्यो । तर तपाईँ यी विषयहरुमा मौन देखिनुभयो । नागरिकले तपाईँबाट जे कुरा जान्न चाहेका थिए, त्यही कुरामा मौन रहनुभयो ।

राजनीति गर्नुको साँचो उद्देश्य हो, आफूलाई देश र जनताको सेवामा समर्पित तुल्याउनु । देश र जनताको सेवाका लागि रामचन्द्र पौडेल थुप्रैपटक सिंहदबार पुग्नुभयो । तपाईँले गाउँघरको गाह्रोसाह्रो र सिंहदरबारको गाह्रोसाह्रो र कमीकमजोरी दुबै देख्नुभएको छ । 

जनस्तरको समस्या र शासकीय सत्ताको भोगाइबाट गुजि्रसक्नुभएका तपाईँले अहिले आएर पनि उही सुगारटाइजस्तो गरेर गाउँको विकास हुनुपर्छ भनेर अभिव्यक्ति दिनु सामयिक ठहरिंदैन । देशको बागडोर सम्हालिसक्नुभएका तपाईँजस्तो व्यक्तित्वले स्पष्ट भाषा जनतालाई भन्नुपर्छ,  गाउँको मुहार उज्यालो बनाउने दिशामा हामी कहाँनेर चुकेका छौं ? यस दिशामा राजनीतिक नेतृत्व र नीतिनिर्माताहरु कहाँनेर चुकेका छन् ?  तपाईँको लेखाइमा यस्ता प्रश्नको उत्तर आउनुपथ्र्यो । तपाईँको लेखाइमा देशको परिस्थितिलाई रौंचिरा गरिएको विश्लेषणात्मक धारणा आउनुपथ्र्यो । अहिले आएर गाउँमा बस्नुपर्छ र गाउँमा कृषि क्रान्ति गरिनुपर्छ भनिरहनुमा कुनै तुक छैन । तपाईँले बीस वर्षअघि दिनुभएको मीठो नारा बीस वर्षपछि पनि किन नारामै सीमित हुनपुग्यो ?  लेखमा यसको उत्तर स्पष्ट रुपमा आउनुपथ्र्यो ।

गाउँको महिमा गाएर भाषण गर्ने र लेख लेख्ने कति नेताहरुको शहरमा घर बने ? उहाँहरुमध्ये कतिजना आफै गाउँ फर्केर उदाहरण बन्नुभयो ?  यस्ता कुराहरुको चिरफार हुन आवश्यक छ । देशको मूलधारे राजनीतिमा रहेर सत्ता र शक्तिको खेलमा बीस वर्ष बिताइसक्नुभएका तपाईँजस्ता शीर्षस्थ नेताले आत्मसमीक्षा गर्ने बेला आइसक्यो । गाउँको विकास हुनुपर्छ भन्ने सबैलाई थाहा छ । कसरी गर्ने भन्ने मुख्य कुरा हो ।  गाउँको विकासका लागि तपाईँले के के गर्नुभयो ?  गाउँको विकासका लागि के कस्ता पक्षहरु वाधक रहेको पाउनुभयो ? तपाईँबाट यस्ता कुराहरुको फेहरिस्त आउन आवश्यक छ । 

तपाईँजस्ता सत्ता र शक्तिको अभ्यास गरिसक्नुभएका नेताप्रति नागरिकका मनमा यस्तै जिज्ञासाहरु उब्जिएका छन् । नागरिकले तपाईँजस्ता नेताको आत्ममूल्यांकन खोजेको छ, आत्मप्रकाशन खोजेको छ । देशको भावी प्रधानमन्त्री हुने लाइनमा उभिनुभएका तपाईँजस्ता नेताले एकपटक आफैंतिर फर्किएर हेर्ने आएको छ । गाउँको मुहार फेरिने आशामा बसेका तमाम सर्वसाधारण नागरिकले हेर्न चाहेका छन्, तपाईँको छातीभित्र गाउँको तस्बिर छ कि छैन ?

[साभार:  अनलाइन अखबार नेपाली पोष्ट   (जनवरी ०२, २०१२ )]

[अद्यावधिक : २०६८१००९, ०६८१०११, ०६८१०१३, ०६८१०१५, ०६८११२३, २०६९।०८।०६]