Sunday, April 29, 2012

सपनाको देश अमेरिका पुग्दा...

-यमबहादुर दुरा 

धेरैको 'सपनाभूमि' मानिएको अमेरिका एकहदसम्म मेरो पनि 'सपनाभूमि' नै थियो । जिन्दगीको लामो कालखण्ड बितिसक्दा पनि त्यतातिर जाने कुनै योजना बनाएको थिइनँ । मरिमेटेर - धाइफालेर त्यस ठाउँमा जानैपर्छ भन्ने पनि मनमा थिएन । पछिल्लो घडीमा त त्यो योजना झन् पूरापूर अलपत्र नै थियो । तर कसो कसो अमेरिका जाने साइत जुर्‍यो । धेरैको 'सपनाभूमि' बनेको अमेरिकामा अनपेक्षित रुपमा पाइला टेक्ने भइयो । अमेरिकी राजदूतावासको चाँजोपाँजोमा एक अध्ययन भ्रमण त्यसतर्फ जाने भएँ । ओहायो विश्वविद्यालयअन्तर्गत रहेको 'इडब्लू स्कूल अफ जर्नलिज्म' मा पत्रकारिता र आमसञ्चारबारे अध्ययन गर्न २०६८ साल असार १९ गते अमेरिकातर्फ लागें । अध्ययन भ्रमण देशका आमसञ्चार र पत्रकारिता पढाउने शिक्षकहरु सामेल थिए । यसमा १७ देशको सहभागिता थियो ।

अमेरिका जाने निधो भएपछि त्यहाँ रहनुभएका साथीसंगीहरुलाई 'फेसबुक' मार्फत भ्रमणबारे जानकारी दिन थालेको थिएँ । मैले आफ्नो भ्रमणबारे जानकारी गराएका मित्रहरुको 'हिट लिस्ट' मा विष्णु शीतल र गिरिश पोखरेल हुनुहुन्थ्यो । उहाँ दुवैजनाले वासिङ्टन आउँदा सम्पर्क गर्नुहोला भनेर बेग्लाबेग्लै फोन सम्पर्कमा भन्नुभएको थियो । साथीसंगीहरुको गुलियो बचनले मेरो मन फुरुङ्ग भएको थियो ।