Monday, February 11, 2013

नेपाली लोकगीतमा मौलिकताको प्रश्न

-यमबहादुर दुरा

लोकसंगीतसँग हाम्रो जीवनशैली गाँसिएको छ ।  त्यसैले होला, कसै कसैले यसलाई जीवनको गीत  गरेका छन् । लोकगीत हाम्रो माटोमा उब्जिएकोले यसमा  माटोको सुवास भेटिन्छ । यसमा समाजको स्पन्दन धड्किन्छ  । संगीतकार अम्बर गुरुङले एउटा अन्तरवार्तामा भन्नुभएको थियो, 'वास्तविक गीत कलमले होइन, हृदयले लेखिन्छ ।'  हो, लोकगीत हृदयले लेखिएको गीत हो । लोकगीतमा छिपेको अवैयक्तिक व्यक्तित्वले समाजको साझा अभिव्यक्ति बोल्छ । विश्वव्यापीकरणको छालले नभेटेको पुस्ताका लागि लोकगीत प्राण जत्तिकै प्यारो छ । यतिविधि प्यारो मानिएको लोकगीतको मिजास समयको प्रवाहसँगै बदलिंदै गएको छ र यसको आत्म मानिएको मौलिकता हराउँदै गएको छ । एक हदसम्म यसलाई स्वाभाविक  मान्न सकिन्छ किनभने संसार परिवर्तनशील छ  ।

आमसञ्चारको कुप्रभाव
आमसञ्चारको क्षेत्रमा एउटा भनाइ प्रचलित छ, 'आमसञ्चारका माध्यम दुइधारे तरबार हुन् ।' यसलाई सही ढंगले प्रयोग गर्न सके राम्रो काम गर्छ, प्रयोग गर्न नजाने खती पनि गर्छ । लोकसंगीतको सन्दर्भमा यही कुरा लागू हुन्छ । नेपालको पुरानो प्रसारण संस्था 'रेडियो नेपाल' कै कुरा गरौं न । यसले विगतमा हाम्रा गाउँबस्तीका श्रुतिमाधुय, सरस एवम् मौलिक लोकसंगीतलाई वायुतरङ्गमार्फत् स्वदेश र विदेशमा विस्तार गर्न सघायो । अहिले त्यही 'रेडियो नेपाल' ले शहरमा बनेका लोकगीतलाई गाउँघरतिर विस्तार गरिरहेको छ । चाहे रेडियो नेपाल होस वा स्थानीय एफएम नै किन नहोस्, सवैले 'हाइफाइ सेलिब्रिटी' लाई उच्च प्राथमिकता दिने काम गरेका छन् । यसका पछाडि बजारशास्त्रसित गाँसिएका थुप्रै पक्षहरु होलान् । कारण जेसुकै होस, यसले गाउँका श्रष्टाहरुलाई ओझेलमा पारेको छ, स्थानीय लोकसंगीतको मुहान सुकाउने काम गरेको छ । अहिले गाउँघरमा हुने सामाजिक जमघट एवम् वनपातमा पनि शहरमै बनेका लोकगीतहरू  नै गुञ्जन थालेका छन् । गाउँमा लोकगीत जन्मनै छाडिसक्यो । आमसञ्चारका माध्यमबाट बज्ने 'रेडिमेड लोकगीत ' ले गाउँघरको कोख नै बाँझो बनाइदियो । यसले लोकगीतको स्वाभाविक जन्म हुने प्रक्रियालाई बन्द गरिदियो । लोकसंगीतको उर्वरभूमि मानिने गाउँघर थारो गाईजस्तो पो हुन थालेको छ ।

पूँजीवादी संक्रमण
हिजोका दिनमा लोकगीत भावना साटासाट गर्ने, मन भुलाउने एवम् मन बुझाउने विशुद्ध माध्यममात्र थियो । त्यसमा व्यापार मिसिएको थिएन । अहिले लोकगीतले व्यापारिक वस्तुको रूप धारण गरेको छ । आज नाफा आर्जनसहितको अर्थलाभको विषय बनेको छ, लोकगीत । यसले मनको मझेरीसँग नाता गाँस्न छाडेर नाफा-नोक्सान बहीखातासँग आत्मीयता कायम गरेको छ । अहिले संगीत उद्योगको एउटा महत्वपूर्ण  हिस्सा बनेको छ, लोकगीत । अरू उद्योगजस्तै संगीत उद्योग पनि चर्को प्रतिस्पर्धाबाट गुज्रिरहेको छ । त्यसैले संगीत उद्यमीहरुका अगाडि एउटा बाध्यता खडा भएको छ, आफ्नो उत्पादनलाई 'बिकाउ वस्तु' बनाउनैपर्ने लगानीकर्ताहरुको आँखाबाट हेर्दा यसलाई गलत भन्न नसकिने अवस्था छैन किनभने लगानी उठाउने र नाफा कमाउने हो भने यसो नगरी सुखै छैन । परिणामस्वरुप लोकगीतमा पनि 'बिकाउ सूत्रहरु' प्रयोग हुन थालेका छन् । यसबाट लोकगीत 'मसालेदार' बन्न थालेको छ । लोकगीतका 'म्युजिक भिडियो' हरु निकै 'मसालेदार' र 'हट' भएका छन् । लोकसंगीतमा मौलिकताको स्थान 'मिर्च-मसला' ले ओगट्दै गएको देखिन्छ । यिनीहरुमा गाउँबस्ती र वनपाखाको स्वाभाविक सुसेलीहरु भेटिन्नन् । लोकगीतका 'म्युजिक भिडियो' हरुले गाउँबस्तीको जीवनशैलीलाई पञ्छाएर 'हलिउड' र 'बलिउड' को धारलाई पछ्याएका छन् । भिडियोको स्क्रिनमा  देखिने नर्तक–नर्तकीको पहिरन र जिउको कर्काइ-मर्काइमा कुनै रैथानेपन भेटिन्न । यस्ता 'म्युजिक भिडियो' हेर्दा लेकबेंसीका गुलाबी झझल्को आउँदैन, बरु फिल्मी दुनियाँका 'मसालेदार' कहानीको पुनरावृत्ति गराउँछ । अब लोकगीतमा मौलिकता कहाँनेर छ भनेर खोज्नुपर्ने बेला आएको छ । अहिलेको लोकगीत कागजको फूलजस्तो भएको छ, जुन हेर्दा सुन्दर देखिए पनि सुवासविहीन हुन्छ। शायद, समयले नै लोकगीतको मौलिकता हरण गर्दैछ र लोकगीत पूँजीवादबाट नराम्ररी संक्रमित हुँदै गएको छ ।

पुस्तान्तरण
दुनियाँ परिवर्तनशील छ । रूखको पुरानो पात झरेर नयाँ पात पलाएजस्तै पुरानो पुस्ताको ठाउँमा नयाँ पुस्ता आएको छ । हरेक नयाँ पलले केही न केही नयाँ कुरा लिएर आउँछ । संधै परिवर्तनको बाटोबाट गुज्रिरहने दुनियाँको शाश्वत नियमबाट लोकगीत अछुतो रहने कुरै आएन । हिजोका दिनमा लोकगीत वनपात र मेलापातमा सुनिन्थ्यो भने आजका लोकगीत टेलिभिजनको पर्दामा देखिन थालेको छ । अहिले शहरका दोहोरी साँझहरूमा लोकभाका घन्कन थालेको छ, पूँजीवाद रूप र रङ्ग लिएर । हिजोको लोकगीत मूलतः ग्रामीण परिवेशमा उब्जिन्थ्यो । ती लोकगीतमा प्रकृतिसंग नाता गाँस्ने देउराली, भञ्ज्याङ, चौतारी आदिको प्रसंग जोडिन्थ्यो । समाज निरन्तर रूपमा आधुनिकतातर्फ लम्किरहेको छ । आजकलका लोकगीत अर्धग्रमीण एवम् शहरिया परिवेशमा बन्न थालेका छन् । यसको छाप लोकगीतका फाँकी पुFmदाहरुमा पर्न थालेको छ । लोकगीतमा 'मोबाइल' 'गेट' 'टाइ' जस्ता गैरनेपाली शब्द बग्रेल्ती भित्रिन थालेका छन्, जुन एकप्रकारले स्वाभाविक छ किनभने लोकगीत समय र समाजको प्रतिविम्ब हो ।

सूचना प्रविधिको विकास, आमसञ्चारमाध्यमको विस्तार एवम् यातायात प्रणालीको विकासले तीव्रतर गतिमा दुनियाँ परिवर्तन भइरहेको छ । घरको पिंढीमा बसेर अमेरिकी 'रक स्टार' को 'म्युजिक कन्सर्ट' प्रत्यक्ष हेर्न सम्भव हुने वर्तमान घडीमा गाउँबस्तीका लोकभाकाले कतिञ्जेल आफ्नो अस्तित्व जोगाउन सक्लान् ? त्यसमा पनि परिवर्तनको छालबाट निथ्रुक्कै भिजेको अहिलेको 'एमटीभी पुस्ता' ले वनपाखाका लोकगीतलाई कुन हदसम्म कख्याएर राख्लान् ? प्रश्न पेचिला छन् । नयाँ पुस्ताका मानिसहरु शहरमै जन्मछन्, शहरमै हुर्कन्छन् र शहरमै बस्छन् । गाउँबस्तीले उब्जाएका लोकगीतका अधिकांश प्रसंगहरु उनीहरुका लागि विरसिलो र असान्दर्भिक हुन पुग्छन् । पुराना पुस्ताका मानिसका लागि 'हिपहप' र 'र्‍याप' अर्थहीन भएझैं ।

'पैयूँ फुल्दा माइत जानू, आरु फुल्दा घर फर्कनू' ।  पुरानो जमानामा बुहारीहरुलाई निर्देशन दिने यस भनाइको अर्थ नयाँ पुस्तालाई सजिलै बुझाउन सकिंदैन । उनीहरु अबुझ भएर यस्तो भएको होइन, परिवेश फरक परेर हो । हाम्रा मौलिक लोकसंगीतमा यस्ता थुप्रै प्रसंगहरु छन्, जुन नयाँ पुस्ताले हत्तपत्त बुझ्न सक्तैन । यसमा उनीहरुको कुनै दोष छैन । समयको परिवर्तनशील चक्र, पुस्तान्तरण र बदलिंदो परिवेशले नयाँ पुस्ता र मौलिक लोकगीतबीचको नाता तोडिंदै गएको छ । 'बूढा मरे, भाका सरे' भन्ने  भनाइलाई लोकगीतको सर्न्दर्भमा अलिकता सच्याएर बुझ्नुपर्ने अवस्था आएको छ । अब त 'बूढा मरे, भाका पनि मरे' पो भन्नुपर्ने भएको छ । पुस्तान्तरणबाट हाम्रा लोकगीतका कतिपय आयामहरू बिरानो र सर्न्दर्भहीन बन्न पुगेका छन् । एक अर्थमा यसलाई स्वाभाविक प्रक्रियाको रूपमा लिनुपर्ने हुन्छ ।

विश्वसंगीतको प्रभाव
हिजोको तुलनामा हाम्रो सांगीतिक क्षितिज अरू उघ्रिएको छ । आमसञ्चार माध्यमको व्यापकता र सात समुन्द्र पारिसम्मको आउजाउले हामीले विदेशी संगीतको रसास्वादन गर्ने अवसर पाएका छौं । रक, हिप–हप, ब्लुज, रक एण्ड रोलजस्ता विदेशी संगीतको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव नेपाली लोकगीतमा पनि पर्न थालेको छ । यसले एक हदसम्म राम्रै गरेको छ किनभने यसले सांगीतिक  'मेनु' मा नयाँ 'आइटम' हरू थपेको छ । चाहेर वा नचाहेर नेपाली लोकसंगीत आधुनिकताको पथमा अघि बढिरहेको छ । यस क्रममा नेपाली लोकसंगीतमा पनि नयाँ प्रवृत्ति र शैलीहरू भित्रिन थालेका छन् । अहिले नेपाली लोकगीतमा विदेशी वाद्ययन्त्रहरु प्रयोग हुन थालेका छन् । यसले नेपाली संगीतको मौलिकतामा असर पारिरहेको छ । यसलाई नयाँ प्रयोगको रूपमा पनि लिन सकिएला तर ठेट नेपालीपनको कुरा गर्दा यसबाट नेपाली लोकगीतको मौलिकतामा धक्का पुगेको देखिन्छ । यसबाट परम्परागत नेपाली बाजाहरू विस्थापन हुने चरणमा पुगेको छ । अर्कोतिर नेपाली लोकगीतमा विदेशी भाका, लय र तालको प्रभाव भेटिएका छन् । यसबाट नेपाली लोकगीतको मिजास बदलिंदै गएको देखिन्छ । विश्वसंगीतको प्रभाव गहिरिंदै गएको छ ।

उपसंहार
यी विविध कारणहरुले लोकगीतको मौलिकता हराउँदै गएको छ । समयको प्रवाहसँगै लोकसंगीतमा आउने परिवर्तनलाई न रोक्न सकिन्छ, न त रोक्ने दुस्साहस गर्नु नै बुद्धिमानी हुन्छ । परिवर्तनशील दुनियाँको विधानविपरीत जाने तागत कसैसँग छैन । यसको अर्थ पुराना लोकगीतलाई बेवास्ता गर्नुपर्छ भन्ने पनि होइन । पुराना लोकसंगीत हाम्रो सम्पदा हो । भावी पुस्ताका लागि यसको संरक्षण गर्न आवश्यक छ । यही प्रयोजनका लागि भने पनि लोकसंगीतको अभिलेखीकरण गर्न आवश्यक छ । यसो भएमा भावी पुस्ताले पुरानो लोकसंगीतबारे थाहा पाउने एवम् खोज अनुसन्धान गर्ने वातावरण तयार हुन्छ । भनिन्छ, लोकसंगीतको जरा विगतसम्म फैलिएको हुन्छ र यसमा वर्तमानका नयाँ पालुवाहरु पलाएका हुन्छन् । यही भनाइको मर्मलाई आत्मसात गरेर लोकगीतको विभिन्न आयाम र पाटाहरुबारे विशद अध्ययन गरिनुपर्छ । यस उद्देश्य परिपूर्तिका लागि पश्चिमी गोलार्द्धमा जस्तै हाम्रा विश्वविद्यालयहरुमा पनि लोकसंगीतको पढाइ हुनुपर्छ । यस दिशामा राज्य र जनस्तरबाट संगठित प्रयासहरु थालनी गरिनुपर्छ ।

[साभार : नेपाली पोष्ट (फेब्रुवरी१०, २०१३) मधुपर्क (पुस, २०६९ ) मा प्रकाशित लेखको परिमार्जित संस्करण ।]
[अद्यावधिक :  २०६९।११।०१, २०६९।११।० २, २०६९।११।०३, २०६९।११।०८]