Tuesday, April 16, 2013

तुर्लुङकोट जात्राका गुलाबी क्षणहरू


–यमबहादुर दुरा

समयले पछि पारिसकेका मीठा पलहरू सम्झँदा कहिलकाही यस्तो लाग्छ, जादूको छडीले हानेर ती पलहरूलाई यथावस्थामै फर्काऊँ र एकपटक त्यसमा भरपूर रमाऊँ । ती पलहरूलाई फर्काउने असफल प्रयास गर्दा मेरो मन सम्झनाका तरेलीहरूमा वयली खेल्न पुग्छ । यसले मनलाई झन् वेगवान् बनाउँछ । मेरो मन वेग हानेर अतीतमा मीठा पलहरूको साम्राज्यमा पुग्छ अनि ती पलहरू चलचित्रको  दृश्यजस्तै आँखा अगाडि नाँच्न थाल्छन् ।

चैतेदशैं जात्रा  । यो जात्रालाई सम्झने बित्तिकै बाल्यकालका सम्झनाह एकएक ताजा बन्न पुग्छन् । दुराडाँडास्थित मेरो गाउँको थाप्लोमा तुर्लुङकोट कालिका रहेको छ । कालिका माईको नामले पनि चिनिने त्यस ठाउँमा हरेक वर्षको चैतेदशैंमा जात्रा लाग्छ । त्यो जात्राको सम्झनामात्र गर्दा पनि हिर्दयको तार झङ्कृत हुन थाल्छ र मन बेलगाम घोडाझैं बुर्कुसी मारेर त्यहीँ पुग्छ । 

चैतेदशैं जात्राले स्थानीय जीवनशैलीमा उच्च महत्व राख्थ्यो । गाउँघरमा अहिलेको जस्तो छ्यासछ्यास्ती पसल नभएकोले कोदाली, फालीजस्ता कृषि औजार; लत्ताकपडा, नूनतेलजस्ता आवश्यकीय वस्तु किन्न जात्रा नै पर्खनुपर्ने अवस्था आउँथ्यो । जात्रा शुरु हुनु एक–डेड महिनाअघिदेखि नै घर–घरमा तयारी शुरु हुन्थ्यो । खर्चबर्च जोहो गर्ने, लुगाफाटोको व्यवस्था गर्ने, जाँड राख्नेजस्ता आधारभूत पूर्वतयारीले जात्राको पूर्वसन्ध्याको सङ्केत गथ्र्यो । चैतेदशैंको पूर्वसन्ध्या लुगा धुने उत्सव नै शुरु हुन्थ्यो । गाउँघरमा साबुनको चलन आउनुभन्दा लुगा धुने काइदा बेग्लै थियो । ठूल्ठूला ताउलोमा पानी र खरानी हालेर घोलिन्थ्यो । धुनुपर्ने लुगा पनि त्यसैमा राखिन्थ्यो । त्यसमाथि ताउलोलाई अगेनुमाथि बसालिन्थ्यो । आगोमा भकभक उम्लेपछि पधेरामा लगेर धुने काम गरिन्थ्यो । मैलो राम्रोसँग जावोस् भनेर लुगालाई काठको दाबिलोजस्तो वस्तुले पिटिन्थ्यो र धारामा धोइन्थ्यो । यस्तो थियो, साबुनबिनाको  त्यतिबेलाको लुगा धुने परिपाटी । अहिले त यस्तो कुरा किस्साजस्तो मात्र लाग्छ ।

जात्रा र चाडवाडमा लाउने लुगाहरू बेग्लै हुन्थे । ती लुगाहरू दशैं, तिहार, चैते दशैं वा अरू यस्तै चाडवाडमा मात्र लगाइन्थ्यो । यस्ता लुगाहरू वर्षदिनमा चार/पाँच पटकभन्दा बढी लाइन्नथ्यो । सँधैभरि नयाँ र राम्रो लुगा लाउँदा राम्रो देखिन्न भन्ने मान्यता थियो, गाउँघरतिर । त्यसैले चाडवाड र अघिपछि लाइने लुगा बेग्लाबेग्लै हुन्थे । चाडवाडमा मात्र लाइने ‘पर्वे लुगाहरू’ काठको मधुसभित्र खुब जतनसाथ राखिन्थे ।  लाहुरबाट ल्याइएका टिनको बक्सभित्र ती ‘पर्वे लुगाहरू’ राखिन्थे । साथमा कपुरको प्याकेट पनि राखिन्थ्यो । यसो गर्नुका पछाडि मूल रूपमा दुइटा कारण हुन्थे– लुगालाई कीराबाट जोगाउनु र त्यसलाई सुगन्धमय बनाउनु । कीराले खान्छ वा ओसिन्छ ती भनेर घाम लागेको बेलामा कुनै कुनै बेला टाँगोमा सुकाइन्थो । यस्तै बेलामा मात्रै घामको मुख देख्न पाउँथे, ती राख्ने लुगाहरूले ।

गाउँका चेलीबेटीले यस्तै मौकामा सोह्र सिंगार गर्ने मौका पाउँथे । वर्षमा दुई चारपटकमात्र । जात्रा हेर्न जाने दिनमा उनीहरू धानको भुसले हातगोडा धुन्थे । गहना टल्काउँथे । पँधेराको ढुङ्गामा कुर्कुच्चा घोट्थे ।  कण्ठ, जन्तर, ढुङ्ग्रीजस्ता गहनाले सिँगारिएर चेलीबेटीहरू बजार जान्थे । मखमली चोली र मलाया र ब्रुनाईबाट लाहुरेहरूले ल्याएका ‘फूलबुट्टे लुङ्गी’ उनीहरूको रोज्जा परिहन ठानिन्थ्यो । केश परिधान त्यति ‘स्टाइलिस्ट’ नभए पनि कोरीबाटी गरेर चुल्ठोमा लाँकुरीको फूल सिउरिने गर्थे । केटाहरूका लागि सिंगारपटारको त्यतिविधि अवसर हुँदैनथ्यो ।

त्यो जात्रा लोकसंगीतका लागि उर्वरभूमि मानिन्थ्यो । ठाउँ–ठाउँमा गीतका खालहरू जम्थे । ठाडो भाका, चुड्काजस्ता स्थानीय लोकभाकाहरू श्रुतिमाधुर्य फैलाउँदै  गुञ्जन्थे । कोही कोकिलकण्ठे स्वरमा गीत झिक्थे, कोही गीत छोप्थे, कोही मादलको खरीमा औंला नचाउँथे । अनि, कोही नाँचमा मस्त भएर छेपारी बटार्थे । बीच–बीचमा ठट्टापूर्ण अभिव्यक्तिले साम्राज्य जमाउँथ्यो र त्यसलाई अट्टहासले अनुमोदन गर्‍थ्यो। गीताङ्गेहरू माहुरीको रानोजस्तै बन्थे र गीत सुन्ने र नाँच हेर्नेहरूको भीडले घेरिएका हुन्थे । उता, मन्दिर परिसरमा भक्ति संगीत पनि समानान्तर रूपमै गुञ्जन्थ्यो ।

छेलो प्रतियोगिता जात्राको अर्को आकर्षणको केन्द्र बन्थ्यो । छेलो हान्नकै लागि लाहुरेहरू छुट्टी लिएर घर आउँथे । ‘मै हुँ’ भन्ने युवाहरू छेलो हान्न तँछाड मछाड गरेर तम्सिन्थे । छेलो हान्ने बेलामा छेलो हान्ने व्यक्तिका कुनै कुनै हुल्याहा साथीहरू धाँधली गर्न पनि पछि पर्दैनथे । आफ्ना साथीलाई जिताउन ढुङगाले टेकेको टाउँभन्दा एक दुई बित्ता, कहिलेकाहीँ एक दुई हात पर किलो गाड्न खोज्थे, उनका साथीहरू । बलमिच्याइँ पनि चल्थ्यो । यस्तो बेलामा निकै दगलफसल हुन्थ्यो । त्यस बेला ठेलाम्ठेल र धकेलाधकेलको अवस्था पनि आउँथ्यो । एकप्रकारले त्यहाँ 'जसको शक्ति, उसको भक्ति' भन्ने उखान चरितार्थ हुन खोज्थ्यो । तर उपस्थित भद्रभलाद्मीहरूले त्यसो हुन दिँदैनथे ।  निकै चर्को घम्साघम्सीपछि बलवीरहरूको बाहुबलको स्तर निर्धारण हुन्थ्यो । छेलो प्रतियोगितामा पहिलो हुने व्यक्ति स्थानीय ‘सेलिब्रिटी’ बन्न पुग्थ्यो । प्रतियोगितामा दोस्रो र तेस्रो हुनेहरूको पनि गणना हुन्थ्यो तर उनीहरूको त्यतिविधि ‘क्रेज’ हुँदैनथ्यो ।
कसको तागत कति : चैते दशैं बजारमा छेलो प्रतियोगिता हेर्दै गरेका दर्शक । तस्बिर : प्रकाश दुरा

छेलो जित्नेलाई सिंदुर–जात्रा गरिन्थ्यो अनि बलियो युवकको काँधमा राखेर ठूलै जुलुसका साथ बजार परिक्रमा गराएर देवीको थानमा पुर्याइन्थ्यो । जुलुसका सहभागीहरू जम्मै बाटो आफ्नैजस्तो गरी हिँड्थे । स–साना केटोकटीका आमाहरूलाई आफ्ना लालाबाला जोगाउन हम्मेहम्मे पर्‍थ्यो । लालाबालालाई जुलुसले मिच्लान् कि भनेर आमाहरू निकै सतर्क हुन्थे ।

छेलो जित्नेलाई साफा गुथाउने, फूल लाइदिने र अबिर घसिदिने गरिन्थ्यो । यसलाई स्थानीय भाषामा ‘फूलपगरी गर्ने’ भनिन्छ । ‘फूलपगरी गर्ने’ क्रम सकिएपछि गाउँका चेलीबेटीहरूले खट्टे–भट्ट, रोटी, अचार, झिलिङगा, जाँड–रक्सीजस्ता स्थानीय परिकार र पेय पदार्थले स्वागत गर्दथे । बीच–बीचमा प्रेममय संवाद र गीतको झङ्कारले वातावरणलाई थप सुरम्य बनाउँथ्यो । खानपान सकिएपछि पैसाको बिर्को लाएर रक्सीको पुङ र बोतल  चेलीबेटीलाई नै पुनः फिर्ता गरिन्थ्यो । यस्ता गतिविधिले चेलीबेटी–माइतीबीचको सद्भाव र माया–ममताको साक्षी बक्थे ।

जात्रामा लाहुरे र तिनका श्रीमतीहरू विशेष आकर्षणको केन्द्र बन्थे । कारण थियो, उनीहरूका गरगहना र परिधान । गाउँमा विदेशी शैलीका पहिरन भित्र्याउने काम लाहुरे मूल रूपमा लाहुरेहरूबाटै हुन्थे । एकप्रकारले वर्गविहीन अवस्थामा रहेको समाजमा उनीहरू सम्पन्न वर्गको प्रतिनिधित्व गरेर उदाएझैं देखिन्थे । ‘लाहुरे संस्कृति’ ले गाउँघरमा विदेशी चालढाल र पहिरनप्रति मोह जगाउन सघाएको थियो । जात्रा सकिएपछि मेलापात र पँधेरामा लाहुरे र तिनका श्रीमतीले लाएका लुगा र गरगहनाको बयान चल्थ्यो, जुन समय काट्ने मेलो बन्थ्यो । कतिपय छोरीचेली फलानो लाहुरेको जहानको जस्तो लुगा चहियो भनेर क्रयशक्ति कमजोर भएका आमाबालाई पिरोल्थे ।

जात्रा हेर्न आएका छिमेकी गाउँका तन्नेरी तरुनीहरूलाई घर फर्कने बेलामा बाटो छेकेको दृश्य देखिन्थ्यो । पाहुना बनाएर बनाएर न्यायो र मीठो आतिथ्य दिइन्थ्यो । बाटो बन्द गरिन्थ्यो । नाकाबन्दी गरिन्थ्यो । एकप्रकारले त्यो नाकाबन्दी सशस्त्र द्वन्द्वकालीन नाकाबन्दीभन्दा कडा हुन्थ्यो । तर नाकाबन्दी माया–ममता र सदभावको सूचक थियो । उम्केर जानै मुस्किल । पहिले पहिले त, हिंडने बाटोमा पछ्यौरी र रुमाल राखेर बाटो अवरुद्ध गरिन्थ्यो रे । यस्तो दृश्यचाहिं हामीले देखेनौं । ‘यो मायालाई कहाँ जान दिऊँला, जाले रुमाल बाटैमा फिजाऊँला’ भन्ने गीत शायद यस्तै प्रचलनबाट जन्मेको हुनुपर्छ । यसप्रकारको आतिथ्यको पैंचो आतिथ्य नै दिएर ऐन मौकामा राम्रैसँग तिरिन्थ्यो ।

भावीले जसलाई जोसित जिन्दगी बिताउन लेखेको भए पनि ‘चोखो माया फुको ठट्टा’ सबैसित चल्थ्यो । बोली र बचनले मन राख्न कसैले कञ्जुस्याइँ गरिंदैनथे । जात्रामा मनका लावण्यवती र लावण्यमान्हरू कोशेली साटासाट गर्थे । कोशेली साटासाटसँगसँगै कसै कसैको त मन र मुटु पनि साटिन्थ्यो । यसप्रकारको रंगरेशमबाट चिनजान र मायाममताको क्षितिज उघ्रिंदै जान्थ्यो, घरबार नभएकाहरूको घरबार जोडिन्थ्यो, एकाध अवस्थामा घरबार भएकाहरूको घरबार भत्किन्थ्यो पनि । ‘बरको छाँया, घरको के माया’ भनेर हिंड्ने अल्लारेहरूको मात्रै घरबार भत्किन्थ्यो, अरुको होइन ।

जात्रामा एकाध हल्लाखोर जड्याहाहरू पनि भेटिन्थे । काठको पुङमा कैद छनुवा जाँड र रक्सीको असली करामत उनीहरूमा देखिन्थ्यो । लैनो पाडोझैं गरी धर्याङधर्याङ गर्दै हिंड्थे । दुई कदम अगाडि, एक कदम पछाडि । तिनलाई सम्हाल्दा साथीसंगीको बाह्र बज्थ्यो । जात्रामाथि जात्रा थपिन्थ्यो । त्यतिबेला उनीहरू जात्राकै एउटा  हिस्सा बन्न पुग्थे ।

कुनै कुनै बेला जात्रामा झगडा पनि हुन्थ्यो । के के निहुँमा झगडा हुन्थ्यो, त्यो हामीलाई थाहा हुँदैनथ्यो । धेरैजसो झगडा मद्यपानकै कारणले हुन्थ्यो । कतिपय अवस्थामा त कुटाकुटको अवस्था पनि आउँथ्यो । झगडियाहरूबीच शान्ति कायम गर्ने क्रममा स्थानीय गन्यमान्य र भद्रभलाद्मीहरूका निधारमा पसिना छुट्थ्यो ।

गाउँघरमा पश्चिमी दुनियाँमा विकसित प्रविधि भित्र्याउने काममा लाहुरेहरूको योगदान छ । गाउँघरमा क्यामरा भित्र्याएर फोटो खिच्ने र टेप रेकर्डर ल्याएर स्थानीय भाकाहरू रेकर्ड गर्ने काम उनीहरूबाटै भएको पाइन्छ । जात्रामा ठूल्ठूला टेप रेकर्डर भिरेका लाहुरेहरू भेटिन्थे । टाटन वा मखमलको खोल हालेर टेप रेकर्डर भिरिन्थ्यो । काधमा भिर्न सजिलो होस् भनेर त्यसमा फिता हालिएका हुन्थे । जति ठूलो टेप रेकर्डर, उति धेरै इज्जत । त्यतिबेला काँधमा टेप रेकर्डर झुण्ड्याउने लाहुरेहरूको भाउ उकालो लाग्थ्यो, अहिलेको सुनको भाउजस्तै । उनीहरूका अगाडि ढाक्रेहरूको कुनै भाउ हुँदैनथ्यो । सुनको दाँजो पित्तलको कुनै भाउ नभएजस्तै ।

केटाकेटीमा हाम्रो संसारचाहिँ बेग्लै थियो । एकप्रकारको सुखी संसार । खल्तीमा सुका–मोहर लिएर जात्रामा पुग्थ्यौं । आमा–बा अघि लागेर बाख्राको चुल्बुले पाठोझैं उफ्रिंदै ठूलो उत्साह लिएर जात्रास्थलमा पुगिन्थ्यो । रमिते बनेर टहलिनु; बेलुन किनेर फुक्नु; बजारमा सिठी बजाउनु; पीपलगेडी मिठाइ माला मिठाइ किनेर खानु; मन परेको वस्तु किनिदिनुहोस् भनेर आमा–बालाई पिरल्नुजस्ता कामहरू केटाकेटीको भागमा पथ्र्यो ।

चैतेदशैं जात्रामा पानीको अभाव हुन्थ्यो । डाँडाको चुचुरोमा जात्रा लाग्ने र नजिकै पानीको स्रोत नभएकोले पानी पाउन गाह्रो हुन्थ्यो । चैत–वैशाखको चर्को घाममा केटाकेटीहरू पानी तिर्खाले काकाकुल हुन्थे । पानीको मूल भेट्टाउन ‘कुवापानी’ भन्ने ठाउँमा पुग्नुपथ्र्यो, जुन ठाउँ केटाकेटीका लागि लामो दूरी मानिन्थ्यो । एकपटकको घटना सम्झन्छु । जात्रामा त्यतिबेलाका हामी भुसुना ठिटामिटा तिर्खाले काकाकुल भयौं । हामीले वरिपरि पानी भेटेनौं । पानी खोज्दै जाँदा छेलो हान्ने ठाउँनेर रहेको भैंसी आहल खेल्ने पोखरी देख्यौं । बाहिरबाट हेर्दा पानी सङ्लो नै थियो । त्यही पोखरीको पानी रक्सीको बोतलमा भरेर घट्घट्ती पियौं । हाम्रो तिर्खा शान्त भयो ।

चैत–बैशाखको बेला हुने भएकोले मौसम अस्थिर हुन्थ्यो । कुनै बेला एकैछिनमा हावाहुरी चल्ने र असिना पर्ने गथ्र्यो । यसबाट बजार भाँडिन्थ्यो । एकपटकको जात्राको घट्ना म अझै  सम्भन्छु । म केटाकेटी छँदैको कुरा हो, जात्रा सकिने बेलामा हावाहुरी चल्न थाल्यो । भागदौड मच्चिन थाल्यो । साथीसंगी र अभिभावक कता छुटे कता । भागाभाग गरेर घर फर्कंदा पल्टनबाजी खाँदै बाटोबाट तल   खुर्मुरिएँ । एकछिन अघिको रमाइलो जात्रा अनिष्ट घटनामा परिणत हुने छाँटकाँट आयो । मेरो टोपी हावाले उँडायो ।त्यतिबेला नै गुनले भरिएकी एकजना महिला मेरो अगाडि प्रकट भइन् । ती महिलाले मलाई उद्दार गरिन् र मेरो टोपी पनि खोजेर ल्याइदिइन् । उनलाई चिनिन । उनी को थिइन्, रहस्यकै गर्भमा छ तर उनको गुन बिर्सिनसक्नुको छ ।

यसरी चैतेदशै मेरो स्मृतिका पानाहरूमा छाउने गर्छ । चैतेदशैंसित गाँसिएका अनगिन्ती संस्मरणहरू मनको कुनामा संगालिएर बसेका छन् । गाउँघर क्रमिक रूपमा रित्तिंदै जाँदा चैतेदशैं जात्राको रौनक ह्वात्तै घटेको छ । हामी केटाकेटी छँदा खुट्टा हाल्न नसकिने ठाउँ अहिले खाली खाली हुन थालेको छ । विगतका गुलाबी क्षणहरू गायव भइसकेका छन् । आज ती क्षणहरू सम्झिँदा सपनाजस्तै लाग्छ । समयले कति ठूलो फेरो मारिसकेछ । ती गुलाबी क्षणहरू समयले पत्तै नपाई खोसेर लगेछ । अब खोजेर कहाँ पाउनु ती क्षणहरू ।

[साभार :  नेपाल (वैशाख १–८, २०७०) । सामान्य परिमार्जनसहित]


 [अद्यावधिक : २०७२।०५।३०]

Wednesday, April 10, 2013

लोकतन्त्रका विरोधाभाषपूर्ण दृश्य

–यमबहादुर दुरा

लोकतन्त्र सुल्टो बाटोमा हिंडेमा देशमा कानुन बोल्छ, नेताका मुखबाट नागरिकका इच्छा–आकांक्षाहरू उच्चारित हुन्छन्, नेताका निजी स्वार्थहरू पैतलामुनि दबिन्छन् र राजनीतिक दलहरू देश र नागरिकको संरक्षक ठहरिन्छन् ।

दुर्भाग्यवश, नेपालको लोकतन्त्र त्यस्तो देखिएको छैन । नेपालमा लोकतन्त्रको मिजास बदलिएको छ । जलवायु परिवर्तन कारण हावापानीमा अनौठा–अनौठा लक्षण देखापरेझैं  नेपालको लोकतन्त्रमा पनि अस्वाभाविक र अनौठा लक्षणहरू देखा पर्न थालेका छन् । विसं २०४६ सालको जनआन्दोलनमा ‘प्रजातन्त्र’ र  २०६२/०६३ को ‘अप्रिल क्रान्ति’ पछि ‘लोकतन्त्र’ भनेर चिनिएको शासन पद्धतिमा अनपेक्षित अशुभ लक्षणहरू देखिएका छन् । अहिले कानुन मौन बस्न थालेको छ; नेताहरू बढी बोल्न थालेका छन् र तिनको मुखबाट देश र नागरिकका हितविपरीत निजी स्वार्थ ओकलिन थालेका छन्; नागरिकका इच्छा–आकांक्षाहरू पैतलामुनि दबिन थालेका छन्; राजनीतिक दलहरूसँग नागरिक डराउनुपर्ने अवस्था आएको छ ।

विसं २०४६ को राजनीतिक परिवर्तनपछि नेपालको राजनीतिक परिदृश्य विरोधाभाषपूर्ण दृश्यहरू देखापर्न थाले । २०४६ सालको जनआन्दोलन सफल भएपछि जनआकांक्षा दबाउन भूमिका खेल्नेहरूबारे छानबिन गर्न ‘मल्लिक आयोग’ गठन भयो । आयोगले थुप्रै  प्रभावशाली व्यक्तिहरूलाई दोषी ठह¥यायो । ती व्यक्तहरूमाथि कारबाही हुन त परै जाओस्, प्रतिवेदन सार्वजनिकसम्म पनि गरिएन । पछि तिनै व्यक्तिहरू नेपालको राजनीतिक मैदानमा सच्चा नायकका रूपमा देखापरे । यसबाट एकतिर नागरिकको मनोबल गि¥यो भने अर्कोतिर खलनायक ठहरिएका व्यक्तिहरू राजनीतिक वृत्तमा सच्चा नायकका रूपमा प्रकट हुने आधारभूमि तयार भयो ।

यसैगरी, ‘अप्रिल क्रान्ति’ भनेर चिनिएको २०६२/०६३ लोकतान्त्रिक आन्दोलन दबाउन हरूबारे छानबिन गरी कारबाहीको सिफारिश गर्न ‘रायमाझी आयोग’ गठन गरियो । यसले पनि थुप्रै  प्रभावशाली व्यक्तिहरूलाई दोषी ठहर गरी कारबाहीको दायरामा ल्याउन सिफारिश  गर्यो  । दुर्भाग्यवश, ‘रायमाझी आयोग’ ले पनि ‘मल्लिक आयोग’ कै नियति भोग्नुपर्यो  । ‘रायमाझी आयोग’ ले दोषी ठह¥याएका व्यक्तिहरूले उन्मुक्तिमात्र पाएन, लोकतान्त्रिक भनिएका सरकारले तिनलाई पुरस्कृत पनि गर्यो  । लोकतान्त्रिक आन्दोलनमा गोली वर्षाउने सेना र प्रहरीका उच्चपदस्थ अधिकृतहरूलाई  बढुवाको फूली  लगाएर स्यावासी दिने र सुनपानी छर्केर चोख्याउने काम गरियो । आन्दोलन दबाउन निर्देशन दिने तत्कालीन सत्ताका हर्ताकर्ताहरू अहिले सच्चा लोकतन्त्रवादीझैं  प्रस्तुत भइरहेका छन् ।

नागरिकका इच्छा–आकांक्षाहरू पैतलामुनि दबिन थालेको यस घडीमा अर्को नेपालीमा राजनीतिमा अर्को अनिष्टकारी र विरोधाभाषपूर्ण दृश्य देखापरेको छ । ‘रायमाझी आयोग’ ले दोषी ठह¥याएको र अख्तियार दुरुपयोग निवारण आयोगले भविष्यमा सरकारी सेवामा काम गर्न अयोग्य ठह¥याएको लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग निवारण आयोगकै प्रमुखको रूपमा ल्याउन आफूलाई क्रान्तिकारी पार्टी ठान्ने नेकपा माओवादीले नै सिफारिश गर्यो  । कार्कीलाई सिफारिश गरिएकोमा जनस्तरबाट विरोध हुँदा त्यस पार्टीका जिम्मेवार नेताले उल्टै उनी उपयुक्त व्यक्ति हुन् भनेर प्रतिक्रिया दिएर जनअपेक्षालाई कुल्चने र दण्डहीनतालाई प्रश्रय दिने काम भएको छ ।

राजनीतिक दलको यसप्रकारको अकर्मन्यतापूर्ण कार्यशैलीबाट ‘चोरलाई चौतारो, साधुलाई सूली’ भन्ने लोकोक्ति चरितार्थ भएको छ । नेपालको लोकतन्त्रमा विधिको शासन सुखान्त हिन्दी चलचित्रजस्तो भएको छ, जहाँ अन्यायी एवम् अत्याचारीहरूमाथि काँचको पर्दामा मात्र कारबाही हुन्छ, वास्तविक जीवनमा होइन ।

२०४६ सालको राजीतिक परिवर्तनले सामाजिक न्याय, जनजीविका र राष्ट्रियताको सवालमा अपेक्षित उपलब्धी ल्याउन नसकेको पृष्ठभूमिमा २०५२ फागुन १ नेकपा माओवादी सशस्त्र विद्रोहमा होम्मियो । परिणामस्वरुप धेरैको सिउँदो पुछियो, काख रित्तियो, घरबार उजाडियो, मनामा निको नहुने घाउ लाग्यो । नेपाली नागरिकले चर्को मूल्य चुकाएपछि  २०६२/०६३ को १९ दिने जनआन्दोलन हुँदै माओवादीको सशस्त्र विद्रोह शान्ति सम्झौतामा टुङ्गियो । यसपछि नेकपा माओवादीको सत्तारोहण भयो । उसले अरू दललेजस्तै पनि सत्ता र सुखभोगको अन्तिम अभीष्ट प्राप्त गर्यो  । सशस्त्र द्वन्द्वको आडमा सुविधाभोगी एउटा वर्ग उदायो । शासन बदलियो, संस्कार बदलिएन ।

प्रायः सबैजसो पार्टी सरकारमा पुगे तर सामाजिक न्याय, जनजीविका र राष्ट्रियताको सवालका सवाल ज्यूँका त्यूँ नै छ । ती पार्टीले नागरिक समक्ष गरेका प्राण खोटो मोहरजस्तै भएको छ । को अपराधी र को सज्जत भन्ने कुराको भेद हुन छाडिसक्यो । थुप्रै अपराध र बात लागेर नागरिकको नजरमा गिरिसकेका व्यक्तिहरू राजनीतिक दलको संरक्षण पाएकैले हुँकार गर्दै हिंडिरहेका छन् । यसबाट सामाजिक न्याय र विधिको शासनको धज्जी उँडेको छ ।

जनजीविकाको हविगत उस्तै छ । व्यापारिक क्षेत्रमा एकाधिकार र यातायात क्षेत्रमा सिण्डिकेटरूपी दादागिरी जारी छ । शिक्षा एवम् स्वास्थजस्ता अत्यवाश्यक सेवाहरू धनाढ्यहरूको हातमा गएको छ । अप्राकृतिक रूपमा  महङ्गी बढेको बढेकै छ ।

राष्ट्रियता भगवान भरोसामा अडेको छ । नेपालको सीमा स्तम्भहरू हराएका र सीमा मिचिएका समाचार आएकै आएका छन् तर यस्ता समाचारले राजनीतिक दलहरूलाई छोएको देखिंदैन । बरु उल्टै राष्ट्रियतामाथि आघात पर्ने गरी पर्दापछाडि तानाबाना बुनिएका प्रसंगहरू चरबाट बाहिर आएका छन् ।  फाटीमर्नुको अवस्था आएको छ ।


यसो भएपछि देशको राजनीति हाँक्ने दलहरूबाट नागरिकले के आशा गर्ने ? नागरिकले असंख्य सास्ती र हैरानी भोगिरहँदा राष्ट्रियता र जनजीविका नारा फलाक्ने दलहरू राजनीतिक तानाबाना बुन्नमै व्यस्त छन् । मानौं, राजनीतिक तानाबाना बुन्नुबाहेक उनीहरूको अरु काम नै छैन । पूँजीपति वर्ग र नाफाखोरहरूको साँठगाँठमा सवारी भाडा र दैनिक उपभोग्य वस्तुहरूको भाउ बढाउने कामले निरन्तरता पाइरहेकै छ । नागरिकको विवशताबाट फाइदा उठाएर हाकाहाकी लुटतन्त्र मच्चाइएको छ । सर्वसाधारण नागरिकमाथि अन्याय र अत्याचारका श्रृङ्खला जारी छ तर नागरिकको अभिभावकको जिम्मेवारी पाएका राजनीतिक दलहरू मौन देखिएका छन् । उनीहरूको ‘वाचडग’ भूमिका हराएको छ ।

यी सबै दृश्य लोकतन्त्रमा देखिएका विरोधाभाषपूर्ण झलकहरू हुन् । नेपाली राजनीतिमा देखापरेका यस्ता विरोधाभाषपूर्ण दृश्यले लोकतन्त्रको उपहास गरेको त छ नै, लोकतन्त्रलाई नयाँ ढङ्गले परिभाषित गर्नुपर्ने अवस्थासमेत आएको छ ।  अब्राहम लिंकनले जनताद्वारा जनताकै लागि स्थापित जनताको व्यवस्थालाई लोकतन्त्र भनेका थिए । अब ‘जनताद्वारा नेता र हुनेखाने वर्गका लागि स्थापित व्यवस्था’ लाई लोकतन्त्र भन्नुपर्ने बेला आएको छ ।

[ साभार: राजधानी दैनिक ( चैत २८, २०६९ ) ]