Sunday, March 1, 2015

दुरा समुदायको पहिचानसँग जोडिएका स्थाननामहरू

-यमबहादुर दुरा

१. विषय प्रवेश

समयको प्रवाहसँग नेपालका अल्पसंख्यक जनजाति दुरा समुदायको भाषा, परम्परा, संस्कृति र इतिहास समयको गर्भमा हराउँदै गएको छ । ‘नेपाली बृहत् शब्दकोश’  ले दुरा जातिको बारेमा यसो भनिएको छ : ‘नेपाल अधिराज्यभित्रको लमजुङ जिल्लाको दुराडाँडामा आदिकालदेखि नै बसोबास गर्दै आएको, आफ्नै भाषा र संस्कृति भएको र त्यसलाई बिस्तारै भुल्दै गएको एक जाति, नेपालको एक अल्पसंख्यक जाति’ (पृ.६१८) ।

हुन पनि दुरा समुदायले ‘नेपाली बृहत् शब्दकोश’ ले परिभाषित गरेजस्तै नियति भोग्दै गएको छ । विगतमा दुरा समुदायले चर्चेको, कुनै न कुनै रूपमा पदचिन्ह छाडेको वा समयको कुनै कालखण्डमा दुरा समुदायसँग नाता गाँसिएका ठाउँहरूको परिचय पनि हराउँदै गएको छ । दुरा समुदायसँग नाता गाँसिएका र दुराहरूको इतिहास बोल्ने स्थानहरूको परिचय दिनु र यस्ता स्थानहरूको थप खोज–अनुसन्धानका लागि बाटो खोल्नु यस लेखको मुख्य उद्देश्य हो । यसमा प्राथमिक तथा द्वितीयक गरी दुवै प्रकारका सूचनाका सोतहरू प्रयोग गरिएका छन् । यस सामग्रीमा शोधखोजमा पाइएका अघौं, खजे गाउँ, चिहानपाटा, दुरा गाउँ, दुराचौर, दुरा टहरा, दुराडाँडा, दुरा थोक, दुुरा पँधेरा आदि दुरा जातिसँग सम्बन्धित स्थाननामहरूको व्याख्या गर्ने प्रयास गरिएको छ ।

२. दुरा जातिसँग सम्बन्धित स्थाननामहरू

    नेपालमा दुरा जातिको भाषा, संस्कृति तथा जातिका कारण थुप्रै स्थाननामहरु रहन गएका छन् । त्यस्ता स्थाननामबारे कहीँ सग्लो इतिहास त कहीँ आफ्नै किसिमका जनश्रुति तथा लोकमत पाउन सकिन्छ । ती स्थानामबारे संक्षिप्त विवरण यसप्रकार छ :

२.१ अर्घौँ

कास्की जिल्लाको एक स्थान । पहिलेको अर्घौं अर्चले (हालको लेखनाथ नगरपालिकामा पर्ने एक स्थान) । कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थान । यस ठाउँलाई पहिले अर्घौं पौवा पनि भन्ने गरिन्छ । यसको नामकरणबारे जनश्रुति छ:
दुराहरू पश्चिमबाट लमजुङमा आएर बसोबास गरेको मानिन्छ । पश्चिमबाट पूर्व अर्थात् लमजुङ जाने क्रममा दुराहरूले आफूसँगै एउटा शिकारी कुकुर पनि ल्याएका रहेछन् । कास्कीको अर्घौं भन्ने स्थानमा त्यो कुकुर मरेछ । सधैँ पुच्छर हल्लाउँदै अघिपछि हिँड्ने त्यस कुकुरसँग दुराहरूको गहिरो भावनात्मक सम्बन्ध हुनु स्वाभाविकै थियो । त्यस घटनाले उनीहरूलाई दुःखी तुल्याएछ । त्यस प्यारो कुकुरको धार्मिक परम्पराअनुरूपसदगत गरिएछ । यस क्रममा कुकुरको अर्घौं (मृत्यु संस्कार) गरिएछ । त्यसपछि त्यस ठाउँको नाउँ ‘अघौं’ रहन गएछ ।

२.२ खजे गाउँ 

च्यानपाटा बजारसँगै जोडिएको एक दुरा गाउँ । हालको चन्द्रेश्वर गाविसमा पर्ने त्यस गाउँमा हाल ४५ घरधुरी दुराहरू बसोबास गर्छन् । खजे दुराको नामबाट यो गाउँको नाम रहेको अनुमान लगाउन गाह्रो छैन । नेपालमा शाहवंशीय राजसंस्था स्थापनाको इतिहाससँग खजे दुराको नाम दरिलो किसिमले गाँसिएको छ । खजे दुरा, कुश्माकर घिमिरेलगायतका व्यक्तिहरूले जशभुं (यशोब्रह्म) शाहलाई दुराडाँडास्थित सिंदुरे ढुङ्गामा वि. सं. १५५० असार १५ गते सिंदुरजात्रा गरी राजा थापेको इतिहास छ ।

खजे दुरा बस्ने गाउँलाई ‘खजे गाउँ’ भन्न थालियो भन्ने भनाइ छ । खजेगाउँ निवासी समाजसेवी नरजङ्ग दुरा (वि.सं.२०१६) का अनुसार ‘खजे गाउँ’ मा खजे दुराको बसोबास भएपछि त्यहाँ कालिका भगवतीको स्थापना गरियो र पछि त्यहाँको मौला तुर्लुङकोटमा सारियो । यसबाट दुराहरू हिन्दू परम्पराबाट धेरै अघिदेखि नै प्रभावित हुँदै आएको देखिन्छ ।

२.३ चिहानपाटा

दुराडाँडा क्षेत्रको कुनै जमानाको प्रमुख व्यापारिक केन्द्र । अहिले पनि यो एउटा व्यापारिक केन्द्र नै हो । बजारको रूपमा स्थापित हुनुभन्दा अघि त्यस ठाउँ स्थानीय खजे गाउँका दुराहरूको समाधिस्थल थियो । चिहान रहेको पाटा (पाखा) भएकोले त्यसलाई चिहानपाटा (च्यानपाटा) भनिएको हो भन्ने भनाइ छ ।

'मेचीदेखि महाकाली' (भाग ३)  नामक खोजमूलक ग्रन्थमा चिहानपाटा दुराहरूको मुर्दा गाड्ने ठाउँ भएको र २००२ सालमा त्यस ठाउँमा चन्द्रेश्वर महादेव स्थापना गरिएपछि त्यसैबाट चन्द्रेश्वर गाउँ पञ्चायत नाम रहन गएको उल्लिखित छ  (पृ. १८९-१९०)। 

२.४ दुरा गाउँ 

रामेछाप जिल्लास्थित गाउँ विकास समिति (गाविस) को नाम । त्यस त्यस ठाउँमा पहिले दुरा समुदायको भए पनि अहिले बस्ती भेटिँदैन । यसबारे एउटा रोचक जनश्रुति प्रचलित छ :
रामेछापको दुरा गाउँमा पहिला दुराहरूको बसोबास थियो । एक समयमा त्यहाँ बसोबास गर्ने एउटा समुदाय (साम्प्रदायिक सदभावलाई ख्याल गरेर त्यस समुदायको नाम यहाँ उल्लेख गरिएको छैन) ले स्वार्थवश दुराहरूलाई त्यस क्षेत्रबाट हटाउने षडयन्त्रको जाल बुनेछन् । योजनाअनुसार दुराहरूसँग मीत पनि लगाएछन् । उनीहरूले ज्योतिषीको भनाइलाई अघि सार्दै त्यस ठाउँमा भविष्यमा ठूलो विपत् आइलाग्ने भविष्यवाणी गरेछन् । विपत् छल्नका लागि कुखुराको भाले नबास्दै गाउँ छाडेर पूर्वतिर लाग्नुपर्छ भनेछन् । गाउँ छाड्दा गाउँतिर हेर्न नहुने सल्लाह दिएछन् । उनीहरूले दुराहरू भनेछन्, ‘तपाईँहरूले गाउँ छाड्नुहोस् । हामी तपार्इँहरू पछि पछि आउनेछौँ ।’ यसअनुरूप दुराहरू भएभरको सरसामान लिएर घर छाडेछन् । पछि पछि आउने भनेर बचन दिनेहरू आएनछन् ।  दुराहरूले आफ्नो बास खेदिएको कुरा पछिमात्र थाहा पाएछन् ।

यसरी रामेछापको ‘दुरा गाउँ’ लखेटिन पुगेको प्रसंग त्यस भेगका मानिसहरू प्रसंग सम्झिरहन्छन् ।  त्यस ठाउँमा दुराहरूलाई षडयन्त्रपूर्वक खेदिए पनि दुराहरूको पहिचान बोल्ने ‘दुरा गाउँ’ नाम मेटिएको छैन । त्यसको विरासतको रूपमा रामेछापमा ‘दुरा गाउँ गाविस’ रहेको छ । यसले ‘नाम तेरो, गाउँ मेरो’ को कथा भनिरहेको छ ।

हालमा ओखलढुङ्गाको नर्मदेश्वर गाविस वडा नं. ९ मा केही घर दुराहरू बसोबास बसोबास गर्छन् । तिनै दुराहरू रामेछापबाट षडयन्त्रपूर्वक लखेटिएका दुराहरू हुनसक्ने अनुमान गरिएको छ ।

२.५ दुराचौर 

कास्की जिल्लाको एक स्थान । पहिलेको अर्घौं अर्चले (हालको लेखनाथ नगरपालिकामा पर्ने एक स्थान) । कास्कीमा ‘दुराचौर’ नाम हुनुले पश्चिमबाट लमजुङ आउने क्रममा दुराहरू कास्कीमा केही समय बसेको देखिन्छ । दुराहरू त्यहाँ कति बसे, यसबारे यसै भन्न सकिने अवस्था छैन । दुरा समुदायको भाषा, संस्कृति र इतिहासका अध्येता केशबहादुर दुरा (वि.सं. २०००) ले २०६९ सालमा त्यस क्षेत्रको भ्रमण गरेर ‘दुराचौर’ बारे आधारभूत जानकारी लिनुभएको थियो । त्यस भेगमा अहिले कुनै पनि दुराबस्ती भेटिँदैन ।

२.६ दुरा टहरा

काठमाडौस्थित सैनिक अस्पताल छाउनी अस्पताल नजिकको एक ठाउँ । डल्लु नजिक त्यस ठाउँमा दुराहरूको टहरा थियो भन्ने भनाइ छ ।  'दुरा सेवा समाज' का सल्लाहकार तथा नेपाली सेनाका सेवनिवृत्त सुबेदार मीनबहादुर दुरा (वि.सं. २००१) का अनुसार त्यस ठाउँमा विभिन्न प्रयोजनका लागि काठमाडौं आउने दुराहरू टहरा हालेर बस्थे । त्यसपछि त्यसलाई ‘दुरा टहरा’ भन्न थालियो । अहिले बढ्दो जनघनत्व र शहरीकरणले त्यस ठाउँको पहिचान र भू–स्वामित्व दुवै गुमेको छ ।

२.७ दुराडाँडा 

लमजुङ जिल्लाको एक एक चर्चित ठाउँ । राणाकालीन प्रशासनिक विभाजनअनुसार पश्चिम ३ नम्बरमा पर्ने एक स्थान । अहिले सिंंदुरे, चन्द्रेश्वर, नेटा, दुराडाँडा, पुरानकोट र धुसेनी गाविसलाई दुराडाँडा बोलिन्छ । दुराहरूको बसोबास भएको थलो भएकोले यसलार्इृ दुराडाँडा भनिएको हो भन्नेमा कुनै शंका छैन । इतिहास शिरोमणि बाबुराम आचार्य (वि.सं. १९४४-२०२९) ले दुराडाँडा र दुराहरूको परिचय यसरी दिएका छन् :
‘कास्कीदेखि पूर्वपट्टि मस्याङ्गदी नदीका सिरानपट्टिका भागमा दुरा नामक एउटा सानो समुदायको आबादी छ यो बस्ती  दुराडाँडा कहिन्छ । यसै दुराडाँडाका दुराहरूले ठकुरी राजा भएका ठाउँमा सुख–समृद्धि देखेर राजा थाप्नाका निमित्त कस्केली     विचित्र खानका यशोव्रह्म नामक एक छोरा मागी ल्याएर लमजुङ्ग नामक नयाँ ठकुराइको जग बसाले’ (पृ.६) ।

२.८ दुरा थोक

लमजुङ जिल्लाको इसानेश्वर गाविसको चिसंकुनजिक अवस्थित एक स्थान ।  दुरा समुदायको छाता संगठन ‘दुरा सेवा समाज’ का तत्कालीन अध्यक्ष [कार्यकाल  वि.सं. २०६८ (वैशाख २) - वि.सं. २०७२ (वैशाख १)] लोकबहादुर दुरा (वि.सं. २००५) का अनुसार यस ठाउँमा पहिले दुरा समुदायको बसोबास र २०२३ सालसम्म ठूलोस्वाँरा र त्यहाँको दुराहरूबीच आउजाउ थियो । तर अहिले त्यहाँ दुराहरू भेटिँदैन । अहिले उनीहरूले थर बदलेको देखिन्छ ।

२.९ दुरा पँधेरा

खजे गाउँनेर रहेको ‘ढुङ्गाना चौतारा’ देखि उत्तरपट्टिको खोल्छामा रहेको एक पँधेरा । यो पँधेरा अहिले पनि चालू हालतमा छ । दुरा पँधेराको केही पर ‘बाहुन पँधेरा’ पनि छ ।

२.१० दुराबारी

पाल्पा जिल्लाको झडेवा गाविस वडा ७ केराउलीमा दुराबारी भन्ने स्थान रहेको जानकारी प्राप्त भएको छ । यो नाम कसरी रहन गयो र यसको पृष्ठभूमि के हो भन्नेबारे थप खोजअनुसन्धान हुनाबाँकी नै छ ।

३. निष्कर्ष

 नेपालमा रहेका जातिजातिमध्ये दुरा जाति एक आदिवासी जनजाति हो । आज पनि अघौं, खजे गाउँ, चिहानपाटा, दुरा गाउँ, दुराचौर, दुरा टहरा, दुराडाँडा, दुरा थोक, दुुरा पँधेरा आदि दुरा जातिसँग सम्बन्धित स्थाननामहरू पाउन सकिन्छ । यसले दुरा जातिको ऐतिहासिकता र पहिचानको छनक दिन्छ । यद्यपि यसबारे अझ सूक्ष्म रूपमा खोज–अनुसन्धान गर्न सकिएको छैन । नेपालका अल्पसंख्यक दुरा जातिको अस्तित्व बचाउन र ऐतिहासिकता पहिचान गर्न  यस्ता स्थाननामहरूको खोजी गर्नु समयको माग भएको छ ।

सन्दर्भ सामग्रीहरु

श्री ५ को सरकार ।  (२०३१) । 'मेचीदेखि महाकाली' (भाग ३) । काठमाडौं: सञ्चार मन्त्रालय, सूचना विभाग।
आचार्य, बाबुराम ।  (२०६१ दोस्रो संस्करण) । श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी । काठमाडौं : श्री ५ महाराजधिराजका संवाद सचिवालय राजदरबार, नेपाल ।
श्रेष्ठ, कृष्णप्रसाद ।  (२०६७) । स्थाननामकोश । काठमाडौं: हिमाल किताब ।
पराजुली, कृष्णप्रसाद  (सं) ।  (२०५८ पाँचौ संस्करण) । नेपाली बृहत् शब्दकोश । काठमाडौं: नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।

सूचनादाता/वार्तालाप

नरजङग दुरा । कात्तिक २३, २०७१ र माघ ५,२०७१  ।
मीनबहादुर दुरा । कात्तिक २२, २०७१ र माघ ५,२०७१ ।
लोकबहादुर दुरा । माघ ५,२०७१ ।
होम दुरा । जेठ ६, २०७२  ।

[साभार : शोधमाला वर्ष ८, अङ्क ९ (फागुन २०७१) पृ. १२६–१३० । परिमार्जित संस्करण]

[अद्यावधिक: २०७१।११।२०, २०७२।०२।०६, २०७२।०९।०९, २०७२।०९।१२, २०७२।१२।०१]

No comments:

Post a Comment