Saturday, October 17, 2015

दुरा समुदायमा विद्यमान अमूर्त सांस्कृतिक सम्पदाहरू

–यमबहादुर दुरा

१. परिचय

केन्द्रीय तथ्याङ्क विभागले २०५८ सालमा लिएको राष्ट्रिय जनगणनाअनुसार दुरा समुदायको जनसंख्या ५१६९ मात्र रहेको छ । तर दुरा सेवा समाजद्वारा २०५४ सालमा प्रकाशित ‘दुरा जातिको आर्थिक तथा सामाजिक पक्षको एक अध्ययन’ नामक अध्ययन प्रतिवेदनले दुरा जातिको जनसंख्या ५६७६ रहेको तथ्य सार्वजनिक गरेको छ (दुरा सेवा समाजको ब्रोसर, सन् २००७) ।

२०६८ सालको राष्ट्रिय जनगणनाअनुसार दुरा समुदयको जनसंख्या ५३९४ रहेको छ । यसमध्ये १०९४ जना शहरमा बस्छन् भने बाँकी गाउँमा बसोबास गर्छन् । गाउँ छाडेर शहर पस्ने परिपाटीले तीव्रता पाएको छ । परिणामस्वरूप गाउँघर दिनदिनै खाली हुने क्रम बढेको छ ।

दुरा जातिको मुख्य बस्ती लमजुङ हो, जहाँ दुराहरूको कुल जनसंख्याको लगभग ७२ प्रतिशत बसोबास  गर्छन् । लमजुङको खजेगाउँ, तुर्लुङकोट, भाँगु, मकैस्वाँरा, ठूलोस्वाँरा, कानेश्वाँरा, बासपानी, नेटा, कुन्छा, तान्द्राङ, बर्धान, हाँडीखोला, नास्के, लाङ्दी, पतरी, सिस्ठानी, सम्ले, सानोस्वाँरा, भदौरे, रामबजार, भोर्लेटार आदि गाउँहरुमा दुराहरुको बसोबास रहेको छ (दुरा सेवा समाजको ब्रोसर, सन् २००७) । 

यसैगरी दुरा जातिको दोस्रो ठूलो बस्ती तनहूँ  हो, जहाँ दुराहरूको कुल जनसंख्याको मोटमोटी १६ प्रतिशत बसोबास गर्छन् । तनहूँको शिसाघाट, राम्चे, धरमपानी, सत्रसय, चिसापानी, तनहूँसुर, रामथुम्की, क्यामिन आदि गाउँमा दुराहरूको बस्ती रहेको छ । तनहूँको सदरमुकाम दमौली पनि दुराहरूको नयाँ बस्तीहरूमध्ये एक मानिन्छ (ऐ.ऐ.) ।

प्राप्त आँकडाअनुसार अहिले दुराहरू कास्की, चितवन, नवलपरासी, ओखलढुँगा, डोटी, काठमाडौं, ललितपुर, कैलाली, रौतहट, रामेछाप लगायत देशका १२ जिल्लामा छरिएर बसेका छन् । यसबाहेक देशका अन्य भागमा पनि दुराहरू छन् भन्ने सुनिन्छ, तर तिनको उचित खोज–अनुसन्धान हुन सकेको छैन (ऐ.ऐ.) ।

बेलायत सरकारले गोर्खा सैनिकका लागि आवासीय भिसा दिएपछि दुरा समुदायका बेलायती सेनामा सेवा गरेको थुप्रै लाहुरे परिवार बेलायतमा बसोबास गर्न पुगेका छन् । यसबाहेक रोजगारी र अन्य अवसरको खोजीमा नयाँ पुस्ताका युवाहरूले अष्ट्रेलिया, हङकङ, अमेरिकालगायत भूगोलमा पाइला सोझ्याएका छन् ।

२. विषय प्रवेश

संस्कृति व्यापक र गहन विषय हो । संस्कृति गतिशील, तरल र चलयमान हुन्छ । त्यसैले संस्कृतिको परिभाषा दिन सजिलो छैन । समग्रमा भन्दा जीवनशैली नै संस्कृति हो । ज्ञान, अनुभव, मूल्य–मान्यता, मनोवृत्ति, धर्म, समयसम्बन्धी अवधारण, सामाजिक सम्बन्ध, व्रह्माण्डसम्बन्धी अवधारणा, व्यक्ति तथा समूहको स्वामित्वमा रहेको भौतिक वस्तु आदिको गठजोडलाई धेरैले संस्कृति मान्ने गरेका छन् ।

समाजशास्त्री एडवार्ड वी टेलर (सन् १८३२–१९१७) ले सन् १८७१ मा प्रकाशित पुस्तक ‘प्रिमिटिभ कल्चर’ मा संस्कृतिलाई साङ्गोपाङ्गो रूपमा परिभाषित गरेका छन् । उनका अनुसार मानिसले समाजको सदस्यको नाताले आर्जन गर्ने ज्ञान, विश्वास, कला, कानुन, नैतिकता, प्रथा, सामर्थ्य र बानी–व्यहोराको समग्रता नै संस्कृति हो । उनले संस्कृतिलाई एउटा जटिल विषय ठानेका छन् ।

सभ्यताको लामो यात्रासँगै मानव संस्कृतिले सम्पदाको रूप धारण गरिसकेको छ । सांस्कृतिक सम्पदालाई मूर्त र अमूर्त गरी दुई भागमा वर्गीकरण गरिएको पाइन्छ । कुनै कुनै सन्दर्भमा यसलाई भौतिक र अभौतिक सम्पदा भनेर पनि विभाजन गरेको पाइन्छ ।

मूर्त सम्पदाले मानव सिर्जनाका भौतिक उत्पादनहरूलाई नै जनाउँछ, जुन एकपटक सिर्जना गरेपछि केही समयमात्र रहन्छ वा हस्तान्तरित हुँदैन । अमूर्त सांस्कृतिक सम्पदा तुलनात्मक रूपमा गतिशील हुन्छ र एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण भइरहन्छ (लिम्बू, २०७१)।

मूर्त र अमूर्त संस्कृतिको एक सिक्काका दुई पाटाजस्तै हुन् । एउटाको अनुपस्थितिमा अर्कोको अस्तित्व असम्भवप्राय छ । अमूर्त सांस्कृतिक सम्पदाको संरक्षक र वहाक मानव मस्तिष्क र शरीर नै हु्न् ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले अमूर्त सांस्कृतिक सम्पदाका दायरा निर्धारण गरेका छन् । युनेस्कोका अनुसार मौखिक परम्परा तथा अभिव्यक्ति; अभिनय कला; सामाजिक व्यवहार, अनुष्ठान तथा चाडपर्वका उत्सव; प्रकृति तथा व्रह्माण्डसँग सम्बन्धित ज्ञान तथा व्यवहार; र परम्परागत कलाकौशलहरू अमूर्त सांस्कृतिक सम्पदा अन्तर्गत पर्दछन् ।
 
३. दुरा समुदायमा विद्यमान अमूर्त सांस्कृतिक परम्पराहरू

दुरा समुदाय जनसांख्यिक एवम् भौगोलिक फैलावटको हिसाबले नितान्त सानो समुदाय भएकाले यस समुदायमा विद्यमान सांस्कृतिक सम्पदाहरू अरू ठूला (Non-dominant) समुदायबाट कुनै न कुनै रूपमा प्रभावित भएका देखिन्छन् । यस दृष्टिले दुरा समुदाय विद्यमान कतिपय सांस्कृतिक सम्पदाहरूको उदगमविन्दु दुरा समुदाय नै हो भन्न सकिने अवस्था छैन ।

दुरा समुदायमा प्रचलित सोरठी, सती घाँटु, कृष्ण चरित्रजस्ता सांस्कृतिक सम्पदा गुरुङ तथा मगर समुदायमा पनि प्रचलित छन् ।

दुरा समुदायमा प्रचलित लोकविश्वास, रीतिरिवाज, चाडवाड, लोकगाथा, लोककथा, लोककथन, लोकधर्म, लोकमनोविज्ञान, लोकप्रहसन, लोककला, लोकसंगीत, लोकनाटक, लोकमन्त्र, लोकपद्य, श्रुतिपरम्परा, परम्परागत खेल, परम्परागत ओखतीमूलो तथा उपचार विधि एवम् परम्परागत ज्ञान–सीप कति अरूबाट प्रभावित भए वा तिनले कुन हदसम्म अरूलाई प्रभावित तुल्याए ? समयको प्रवाहसँगै तिनमा कति परिमार्जन र रूपान्तरण भए ? हिसाब–किताव बुझाउन कठिन छ ।

विश्वव्यापीकरण तथा पश्चिमा संस्कृतिको बढ्दो प्रभावबाट दुरा समुदाय पनि मुक्त हुने कुरै भएन । दुरा समुदायमा बचेखुचेका अमूर्त सांस्कृतिक सम्पदाको उचित संरक्षण, अभिलेखीकरण तथा विस्तार हुन नसक्दा निरन्तर क्षति व्यहोर्नुपर्ने अवस्था आइरहेको छ ।

३.१ धर्म

दुरा समुदाय हिन्दू, बौद्ध तथा बोन धर्मको प्रभाव देखिन्छ । यो समुदायले दशैंजस्ता हिन्दू धर्म आधारित चाडवाड मान्ने, बौद्ध धर्ममा आधारित कतिपय संस्कारलाई आत्मसात गर्ने तथा प्रकृतिपूजा गर्ने गरेको पाइन्छ । यस आधारमा यिनीहरूमा हिन्दू, बौद्ध तथा बोन धर्मको प्रभाव देखिन्छ ।

३.१ भाषा

जनसांख्यिक हिसाबले दुरा समुदाय लोपोन्मुख अवस्थामा रहेजस्तै मातृभाषाको दृष्टिले पनि यो समुदाय संकटापन्न अवस्थामा रहेको देखिन्छ । दुरा जातिको मातृभाषा प्रचलनमा रहेको पाइँदैन । यो भाषा भोट–बर्मेली भाषा परिवारको एक सदस्य मानिन्छ । दुरा समुदायमा अहिले नेपाली भाषा नै बोलीचालीको भाषा बनेको छ । यद्यपि नेपाली भाषा बोल्दा यदाकदा दुरा समुदायका मानिसका मुखबाट दुरा भाषाका शब्दहरू उच्चारण हुने गरेको पाइन्छ । जस्तै  : गुमा (माइजू), माकुली (इन्द्रेणी), झना (तरुनी), कोर्जे (दस्तुर), मैखु (आमा), मुसी (सानिमा) आदि (दुरा, २०७१ः १७४) ।

दुरा समुदायका आठ-नौ दशक नाघिसकेका बूढापाकाहरूले आफ्ना आमा–बाले आंशिक रूपमा दुरा भाषा बोल्ने गरेका र तथा बाजे बज्यैले पूरापूर रूपमा दुरा भाषा बोल्ने गरेका जानकारी दिने गरेको पाइएको छ । यस हिसाबले करिब १५० वर्ष अघिसम्म दुरा भाषा दुरा समुदायमा बोलीचालीको भाषा थियो भन्ने अनुमान गर्न सकिन्छ (ऐ.ऐ.) ।

अनौपचारिक रूपमा दुरा भाषाको चर्चा परिचर्चा भए पनि यसबारे खोजअनुसन्धानको सिलसिला भने धेरै पछि शुरु भएको पाइन्छ । दुराडाँडाका ऋषिकान्त अधिकारीले २०४१ सालमा ‘दुरा जातिको परिचय’ नामक पुस्तिका प्रकाशन गरेपछि दुरा भाषाका शब्दहरू लेख्य रूपमा जनसमक्ष आएको पाइन्छ । उक्त पुस्तिकामा दुरा भाषाका केही शब्दहरूका सूची प्रस्तुत गरिएका थिए । तर यसभन्दा अघि नै वि.सं. २०३३ सालतिर नै केशबहादुर दुराले दुरा भाषाका शब्दहरू संकलन गरेको पाइन्छ । ती शब्द अप्रकाशित रूपमा थिए । यसैगरी दुरा जातिको भाषा र संस्कृतिका अध्येता बीरबहादुर दुराले पनि दुरा भाषाका शब्दहरू संकलन गरेको पाइन्छ (ऐ.ऐ.)  ।

केशबहादुर दुराले संकलन गरेका दुरा भाषाका शब्दहरू तथा आफ्नै स्थलगत अध्ययनका आधारमा मुक्तिनाथ घिमिरे (२००९ सालमा जन्म) ले २०४९ सालमा ‘दुरा भाषाको व्याकरणात्मक स्वरूप’ शीर्षकमा शोधपत्र तयार पारेको भेटिन्छ । ‘दुरा सेवा समाज’ ले २०५७ सालमा ‘दुरा जातिको भाषा, परम्परा र संस्कृति’ नामक पुस्तक प्रकाशन गर्‍यो । उक्त पुस्तकमा जातिको सांस्कृतिक पक्षका अतिरिक्त दुरा भाषाका केही शब्द र सामान्य वाक्यहरू समावेश गरिएका थिए । यसपछि ‘दुरा सेवा समाज’ ले २०५९ सालमा दुरा भाषाको ‘संक्षिप्त व्याकरण तथा शब्दावली’ शीर्षकको पुस्तक तयार गर्‍यो , जुन अप्रकाशित कृतिको रूपमा रहेको छ (ऐ.ऐ.) ।

‘दुरा सेवा समाज’ ले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा २०६० सालमा ‘दुरा भाषाको शब्दकोश’ प्रकाशन गर्‍यो  । उक्त शब्दकोशमा करिब एक हजार ५०० शब्द र २७७ वाक्य रहेका छन् । दुरा भाषाका शब्दको अर्थ नेपाली भाषामा दिइएको भए पनि उक्त शब्दकोशमा अङ्ग्रेजीमा अर्थ दिइएको छैन (ऐ.ऐ.)  ।

४.  लोककला

४.१. ठाडो भाका
ठाडो भाका गण्डकी क्षेत्रको साङ्गीतिक कण्ठहार मानिन्छ । यो भाका मूल रूपमा लमजुङ, गोर्खा, तनहूँ, कास्की तथा स्याङ्जामा प्रचलित छ । कर्पुटारे भाका, लमजुङे भाका, दुरा भाका आदि नामले समेत चिनिने ठाडो भाकाको अधिष्ठाता लमजुङ (दुराडाँडा, बर्धान) का देउबहादुर दुरा हुन् । उनी साङ्गीतिक क्षेत्रका भयानक प्रतिभा थिए ।

देउबहादुर दुराको सौर्य र क्षमताको बयान सुन्दा उनी दन्त्यकथाका पात्रभन्दा कम तिलस्मी थिएनन् भन्ने पत्ता लाग्छ । उनले कर्पुटारको शिवरात्रि र फागुपूर्णिमा लाग्ने जात्रामा गीत गाएर थुप्रै ‘डाइहार्ड प्यान’ बटुलेका थिए भन्ने चर्चा सुनिन्छ । कास्की रबैडाँडाका पञ्चसुब्बा गुरुङ (वि.सं. १९४७–२०३३) उनका दौतरी थिए । उनी पनि निकै कहलिएका प्रतिभा थिए ।

विडम्बना नै भन्नुपर्छ, देउबहादुर दुरा जन्मेको र उनले मृत्युवरण गरेको यकिन मिति पत्ता लागेको छैन । उनको जन्म वि.सं. १९५१ देखि १९५४ को बीचमा भएको र उनको मृत्यु १९९१ देखि १९९४ को बीचमा भएको मानिन्छ । उनी  चालीस वर्षमात्र बाँचेका थिए भन्ने भनाइ छ । आजसम्म उनको तस्बिर पनि भेटिएको छैन जबकि उनका थुप्रै समकालीन प्रतिभाहरूका तस्बिर भेटिन्छन् ।

देउबहादुर दुरा यस धर्तीमा नभए पनि उनको अमर छ । उनको नाम जोडेर गाउँबस्ती आज पनि थुप्रै गीत  गाइन्छ । जस्तै : ‘कहाँ गयो देउबहादुर दुरा, शून्य भयो कर्पुटार बजार’, ‘माइत जाँदा कुराउनी पाहुर, गयो क्यारे देउबहादुर लाहुर’, ‘देउबहादुर दुरा पञ्चसुब्बा गुरुङ करापुमा घमसान’, ‘बर्धानको डाँडाडाँडै देउबहादुर कर्पुटार झर्‍यो  बुकी फूल लाउँदै लाउँदै’ आदि ।

अहिले ठाडो भाका गाउनेहरूको संख्या तीव्र गतिमा घट्दो छ । नयाँ पुस्ताका युवाले यो गीत गाउन जान्दैनन् । चालीस उमेर कटेकामध्ये पनि औंलामा गन्न सकिने व्यक्तिहरूले मात्र ठाडो भाका गीत गाउन सक्छन् ।
तत्कालीन समयमा लमजुङ (दुराडाँडा, बर्धान) का देउबहादुर दुरा र उनीहरूभन्दा पछिका पेचेरे दुरा, मैरानी दुरा, लक्षिमा (लक्ष्मी) दुरा, मनिराम दुरा, भक्तिमाया दुरा (वि.सं. १९८४–२०६९), सकुन्धरा दुरा (ढाँडथोकी माहिली), शुनबहादुर दुरा, धनमाया तामाङ, ज्ञानीमाया थापा आदि स्थानीयस्तरमा चर्चित प्रतिभा थिए । उनीहरू अहिले यस दुनियाँमा छैनन् ।

 वर्तमानमा दीर्घराज अधिकारी ‘भेँडीखर्के साहिँला’ (१९९० सालमा जन्म), नन्दमाया दुरा, बुद्धिमान दुरा (२०१२ सालमा जन्म), यमबहादुर दुरा (पंक्तिकार होइन), उत्तम गुरुङ आदिले ठाडो भाकाको विरासत थामिरहेका छन् ।

हालका दिनमा मखमली स्वरकी धनी लोकगायिका बीमाकुमारी दुराले नेपाली लोकसंगीतको क्षेत्रमा गरिमामय उपस्थिति देखाएकी छिन् । यसका साथै तेजेन्द्र दुरा, भीमबहादुर दुरा, बिमला दुरा आदि लोकप्रतिभले पनि लोकसंगीतमा योगदान दिएका छन् ।

४.२ सोरठी

सामान्यतया, यो नाच दशैंताक शुरु गरी फागुनतिरमा समापन गरिन्छ । यो नाच शरद ऋतुदेखि शुरु हुन्छ । हिउँद लागेको आभास दिलाउँछ । नाचमा सहभागी हुने मारुनीहरूले फरिया, मखमली चोली, मखमली मुजेत्रोमा सजिने गर्छन् भने फुर्सुङे (बिझमारे) सेतो फरिया, भोटो, आसकोट टोपी र साफामा सजिने गर्छन् ।

४.३ कृष्ण चरित्रः

यो नाचको नाच्ने शैली, तरिका सोरठी नाचसँग मिल्दोजुल्दो हुन्छ । मुख्य फरक यसमा चार जना नाच्ने गर्दछन् । यसको लय ढिलो हुन्छ । श्रीकृष्ण तथा राधाको जीवनलीलामा आधारित यो नाच शरद ऋतुदेखि नै शुरु हुन्छ ।

४.१.४ सती घाँटु

सती घाँटु ग्रीष्मकालीन नृत्य हो । सती घाँटु अभिनयप्रधान लोककला हो, जसमा नृत्य, गीत र वाद्यवादनको संयोजन रहन्छ । सामान्यतया, वैशाख औंसीबाट शुरु भएर वैशाख पूर्णिमासम्म नाच्ने चलन छ । चण्डीपूर्णिमाको दिन यसलाई समापन गरिन्छ ।

सती घाँटु राजा परशुराम र रानी यम्फावतीको संघर्षपूर्ण जीवनगाथामा आधारित छ । यसमा रजस्वला नभएका दुई कन्याहरूलाई नचाइन्छ, जसमा एकजनाले राजाको र अर्कोले भूमिका निर्वाह गर्छन् । सती घाँटुको इतिहास ५ सय वर्षभन्दा पुरानो मानिन्छ तर यसको ऐतिहासिकतबाारे कुनै ठोस प्रमाण भेटिँदैन ।

सती घाँटुको अतिरिक्त बाह्रमासे घाँटु पनि दुरा समुदाय प्रचलित छ । बाह्रबासे घाँटु वर्षैभरि नचाउन मिल्छ ।

५. चाडपर्व

दुरा समुदायले वैशाख पूर्णिमा, साउने संक्रान्ति, दशैं, तिहार, पुसे पन्ध्र (म्हैप्रु नकुमा), माघे संक्रान्ति, चैते दशैँ चाडपर्वहरू भव्यतापूर्वक मनाउँछन् ।

६. पूजाआज

दुरा समुदायले ऋतुअनुसार भूमिपूजा, उभोली-उधौली, नार्खु पूजा, पितृ पूजा, कुलपूजा, सिकारी पूजा, वायुपूजा, शनिश्चरे पूजालगायतका विविध प्रकारका आध्यात्मिक शक्तिको पूजाअर्चना गरेको पाइन्छ ।

७. केही रोचक चालचलन

७.१ चिङ (चियाँ) हेर्ने

कुनै देवीदेवताको नाउँमा भाकल गरेर पाठो वा कुखुराको भालेलाई बलि दिएपछि तिनको कलेजो हेरेर भविष्यमा हुने शुभ–अशुभ घटनाबारे भविष्यवाणी गरिन्छ । यसलाई चिङ (चियाँ) हेर्ने भनिन्छ । समयक्रमसँगै चिङ हेरेर सोही अनुसार अर्थ लाउनसक्ने व्यक्तिहरूको संख्या घट्दै गएकाले यो चलन समापनको संघारमा पुगेको छ ।

७.२ सियो राख्ने

किशोर अवस्थाबाट बयस्क उमेरतिर लम्कँदै गरेका केटाकेटीहरूको उपनाम राखिन्छ । यसलाइै सियो राख्ने भनिन्छ । यस क्रममा केटालाई रामसाई, श्यामसाई, फूलसाई, डिलसाई आदि नाम दिइन्छ भने केटीहरूलाई राउरानी, सिरुमैरानी, मैरानी, दैरानी आदि नाम दिइन्छ । पछि उनीहरूलाई तिनै नामले पुकारिन्छ ।

७.३ अन्य

असिना पर्दा गाउँ बार्ने, नाच–घाँटुका गुरुबाउ मान्ने, रोदी बस्ने, रोदीआमा मान्ने, माइती राख्ने, रिसियाँ खाने, ख्वाइ खाने, लोबारे खाने, वायु बोलाउनेलगायतका चालचलन दुरा समाजमा विद्यमान छन् (थिए)। तर समयले ल्याएको परिवर्तनले यिनीहरूमध्ये धेरैको अस्तित्व नामेट पारिदिएका छन् ।

८. उपथर

दुरा समुदायमा पाँच उपथर छन् । ती हुन् : धिङ्गल, पुहीँ, पाचे, क्याउसा र दोर्धे । यीमध्ये धिङ्गल, पाचे र दोर्धे भाइ–भाइ हुन् भने पुहीँ र क्याउसा यिनीहरूका कुटुम्ब हुन् । त्यसकारण धिङ्गल, पाचे र दोर्धेबीच बिहेवारी चल्दैन । त्यसैगरी पुहीँ र क्याउसा पनि भाइ–भाइ भएकाले उनीहरूबीच सोलीडोली चल्दैन ।

९. नयाँ विकासक्रम

९.१ खजे दुरा स्मृति दिवस

समयको परिवर्तनसँगै दुरा समुदायमा विद्यमान अमूर्त सांस्कृतिक सम्पदामा केही नयाँ आयामहरू थपिएका छन् । हरेक वर्षको कात्तिक २३ गते खजे दुरा स्मृति दिवस मनाइन्छ । खजे दुरा दुराले नेपालमा शाहवंशीय राजसंस्थाको स्थापनामा महत्वपूर्ण भूमिका खेलेको इतिहासबाट खुल्दछ । संक्षेपमा भन्दा खजे दुरा तथा तत्कालीन हर्ताकर्ताहरूले यशोव्रह्म शाहलाई लमजुङको सिंदुरे ढुङ्गा भन्ने स्थानमा सिंदुरजात्रा गरी लमजुङको राजा थापेको इतिहास छ । यही सम्झनामा खजे दुरा स्मृति दिवस मनाइन्छ ।

समाजसेवी श्रीकान्त अधिकारीको नेतृत्वमा २०३३ सालदेखि नै  खजे दुरा जयन्ती मनाउन थालिए पनि ‘दुरा सेवा समाज’ (दुसेस) ले २०५० को दशकमा यो दिवस मनाउन थालिएको हो ।  शुरुमा यसलाई खजे जयन्ती भनियो । तर खजे दुरा जन्म तथा मृत्युबारे हालसम्म कुनै पनि अभिलेख नभेटिएकोले यसलाई खजे जयन्ती भन्नुभन्दा खजे दुरा स्मृति दिवस भन्न उपयुक्त हुने ठहर ‘दुरा सेवा समाज’ले गरेकोले पछिल्लो समयमा यसलाई खजे दुरा स्मृति दिवस थालिएको हो ।

९.२ दुसेस वार्षिकोत्सव

दुरा समुदायको छाता संगठन स्थापना गर्ने प्रयास २०२८ सालेदखि नै भए पनि यसले दुई २०५१ साल वैशाख २ गतेमात्र यसले मूर्त रूप पाएको देखिन्छ । लामो समयको चिन्ता र चासोपछि दुरा समुदायको छाता संगठन स्थापना भएकोमा तत्कालीन समयमा दुरा समुदायका शुभचिन्तक तथा बुद्धिजीवीहरूले खुसी व्यक्त गरेका थिए । यही खुसीयालीमा प्रत्येक वर्षमा बडादशैंको पूर्णिमाका दिन ऐतिहासिक स्थल सिंदुरे ढुङ्गामा भेला भई  ‘दुरा सेवा समाज’ को वार्षिकोत्सव मनाउने परम्परा शुरु भएको थियो ।

पछि ‘दुरा सेवा समाज’ स्थापना भएको दिन अर्थात् प्रत्येक वर्षको वैशाख २ गते दुसेसको वार्षिकोत्सव मनाउन थालियो, त्यो पनि घुम्ती वार्षिकोत्सव । यस अनुरूप हरेक वर्षको वैशाख २ गते दुरा समुदायको बसोबास रहेका ठाउँहरूमा पालैपालो वार्षिकोत्सव मनाउने गरिन्छ । हालसम्म ‘दुरा सेवा समाज’ ले बाइसौं वार्षिकोत्सव मनाएको अभिलेख छ ।

१०. उपसंहार 

दुरा समुदायमा बचेखुचेका अमूर्त सांस्कृतिक सम्पदाहरू अन्य समुदायका सांस्कृतिक सम्पदाजस्तै निरन्तर लोप हुने क्रममा छ । दुरा समुदायमा विद्यमान सांस्कृतिक सम्पदाबारे सामान्य खोज–अनुसन्धान र सामान्यस्तरका अभिलेखनका प्रयास भए पनि व्यापकस्तरमा खोज–अनुसन्धान र अभिलेखन हुन सकेका छैनन् । जनस्तरमा भएका यस्ता प्रयास पर्याप्त छैनन् । राज्यले नै यस्ता सांस्कृतिक सम्पदाको संरक्षण र सम्वद्र्धनको दिशामा उचित ध्यान नदिने हो भने अभिलेखन पनि नभइकन यिनीहरू समयको गर्भमा विलिन हुने निश्चित छ ।

सन्दर्भ सामग्री 

दुरा सेवा समाज : एक चिनारी (ब्रोसर) । (सन् २००७) । काठमाडौं : दुरा सेवा समाज ।

दुरा, यमबहादुर । (२०७१) । दुरा भाषाको संक्षिप्त अध्ययन । (२०७१) । सम्पदा १ (१) । काठमाडौं : भाषा तथा लोकसाहित्य मञ्च, नेपाल ।

दुरा, यमबहादुर । (२०७०) । दुरा समुदायमा प्रचलित घाँटु  । शोधमाला  ७ (२) । काठमाडौं : मगर अध्ययन केन्द्र ।

लिम्बू आङ्बुङ, डीबी । (२०७१) । लिम्बू जातिको अर्मूत सांस्कृतिक सम्पदा संरक्षण । तान्छोप्पा २० (३) । ललितपुर : किरात याक्थुम चुम्लुङ ।

What is Culture? (n.d.). Retrieved on August 2, 2015, from http://anthro.palomar.edu/culture/culture_1.htm

What is Intangible Cultural Heritage? (n.d.). Retrieved on August 2, 2015, form UNESCO, http://www.unesco.org/services/documentation/archives/multimedia/?id_page=13&PHPSESSID=cdf1c1b605ebc498950fa399d2ed8658 
  
(‘नेपाली वाङमय परिषद’ द्वारा २०७२ साल भदौ ९ गते राजधानीमा आयोजित अमूर्त संस्कृतिसम्बन्धी अन्तरविमर्श कार्यक्रममा प्रस्तुत कार्यपत्रको परिमार्जित संस्करण ।)

No comments:

Post a Comment