Tuesday, January 27, 2015

लाहुरे अर्थतन्त्र

यमबहादुर दुरा

इतिहासकार डा. रमेश ढुङ्गेलको भनाइलाई विश्वास गर्ने हो भने नेपाल नामको भूखण्ड अस्तित्वमा आएको तीन हजार वर्षभन्दा बढी भइसकेको छ ('नयाँ पत्रिका' पुस २७, २०७१, पृ. ६) । समयको यो लामो फेरोमा नेपालीहरू कहिलेदेखि वैदेशिक रोजगारीमा जान थाले, उनीहरू रोटो र भोटोको खोजीमा कहाँ कहाँ भौंतारिन पुगे, यसबारे कुनै स्पष्ट इतिहास भेटिँदैन । तर पनि नेपालीहरू भारतका मुगल शासक (शासनकाल सन् १५२६-१८५७) को दरबारमा काम गर्न जान्थे र यहीबाट विदेशलाई मुगलान र विदेश जाने व्यक्तिलाई मुगलानी (मौलानी) भन्न थालियो भन्ने अपुष्ट भनाइ जनस्तरमा प्रचलित छ ।
 तस्बिर: डेली मेल

नेपालीहरू वैदेशिक रोजगारीमा गएको स्पष्ट इतिहासचाहिँ दुई सय वर्ष पुरानो देखिन आउँछ । नेपाल र अङ्ग्रेजबीच लडाइँ चर्किरहेकै बेला (सन् १८१५ तिर) नै नेपालीहरू 'सिरमूर' को सेनामा भर्ती भएको पाइन्छ । तत्कालीन समयमा एक स्वतन्त्र अधिराज्य रहेको 'सिरमोर' हाल भारतको हिमाञ्चल प्रदेशमा पर्दछ । त्यतिबेला खडा भएको सैनिक दस्ता हाल 'सिरमोर' राइफल्स' नामले चिनिन्छ, जुन अङ्ग्रेजसँग लडाइँ भइरहेको बेलामा नेपाली सेना छाडेर गएका सैनिकहरूको रेजिमेन्ट हो भन्ने विश्वास गरिन्छ । दुर्गाप्रसाद अधिकारी (जन्म: वि.सं. २००९) द्वारा लिखित पुस्तक 'कर्मवीर मणिसिंह गुरुङ जीवनी र योगदान' (वि.सं. २०६०) मा शिमला नजिकको सबत्थुमा २४ अप्रिल १८१५ मा गोर्खा पल्टन गठन गरिएको उल्लेख छ ( पृ.१)।

वैदेशिक रोजगारी (खासगरी 'लाहुरे रोजगारी') को औपचारिक इतिहासचाहिँ नेपाल-अङ्ग्रेज लडाइँ (सन् १८१४-१८१६) सकिएसँगै शुरु भएको पाइन्छ । 'लाहुरे रोजगारी'सँग राष्ट्रिय स्वाभिमान र ढाक्रे मनहरूको विरोधाभासपूर्ण किस्सा जोडिएको छ । नेपाल-अङ्ग्रेज लडाइँमा नेपालको पराजय भयो । युद्ध बिसाउनका लागि सन् १८१६ मा गरिएको 'सुगौली सन्धि' अनुसार नेपालले आफूले चर्चेको एक तिहाइ भूभाग अङ्ग्रेजलाई सुम्पनुपर्‍यो । यसबाट आत्मास्वाभिमानमा विश्वास गर्ने नेपालीहरूको मनमा गहिरो चोट लाग्यो । नेपाल-अङ्ग्रेज लडाइँमा भएको पराजयबाट विकसित परिस्थितिले नेपालको राष्ट्रिय जीवनमा गहिरो निराशा र विरक्ति छाडेर गयो । धेरै स्वाभिमानी देशभक्तहरू विरक्तिए ।

यसरी विरक्तिनेमा अङ्ग्रेजविरुद्ध बहादुरीपूर्वक लडेका बलभद्र कुँवर पनि थिए । हरुवा कमाण्डर भएकोले उनलाई राजदरबारले कख्याएन भन्ने भनाइ छ । यिनै दुःखदायी परिस्थितिबाट गुज्रिएर ढाक्रे बन्न पुगेका उनी पञ्जाबका महाराजा रणजीत सिंहको सेनामा भर्ती भए । परिस्थितिले पेटमा लात हानेपछि उनी आफूमात्र हैन, एक बटालियनभन्दा बढी गोर्खा सैनिकहरूलाई साथमा लिई लाहोर भन्ने ठाउँमा पुगेर भर्ती भए । तत्कालीन शिख राज्यको राजधानी 'लाहोर' हाल पाकिस्तानमा पर्छ ।

बलभद्र कुँवर विदेशी सेनामा भर्ती भएपछि उनको पाइला पछ्याउँदै विदेशी भूमिमा पाइला हाल्ने अरू युवाहरूको पनि लर्को लाग्यो । यसपछि विदेशी सेनामा भर्ती हुन जानेहरू 'लाहुरे' नामले परिचित हुन थाले । बलभद्र कुँवरले शुरु गरेको 'लाहुरे संस्कृति' ('लाहुरे रोजगारी') को विरासत दुई सय वर्षको लामो कालखण्डसम्म पनि कायमै छ ।

विदेशमा गुर्खा वा गोर्खा भनेर चिनिने लाहुरेहरू अहिले बेलायती सेना, भारतीय सेना र 'सिंगापुर पुलिस फोर्स' (गुर्खा कन्टिन्जेन्ट) मा कार्यरत छन् । यसका अतिरिक्त बेलायती सेनाबाट निवृत्त सैनिकहरूको सानो टुकडी ब्रुनाईका सुल्तानको सेवामा पनि कार्यरत छ । बेलायती समकक्षी सरह समान अधिकारका लागि गरिएको आन्दोलनको फलस्वरूप धेरैजसो गोर्खाहरू बेलायत पुगेका छन् । अहिले उनीहरूका बेलायती सेनाकबाहेक (नेपाल सेना तथा भारतीय सेना) का गोर्खाहरूले पनि सुल्तानको सेवा गर्ने अवसर गर्ने अवसर पाएका छन् ।

एक तथ्याङ्कअनुसार अहिले भारतीय सेनामा करिब ३५ हजार तथा बेलायती सेनामा ३ हजार लाहुरेहरू सेवारत छन् । भारतीय सेनाबाट लगभग १ लाख ५० हजार नेपालीले पेन्सन पाइरहेका छन् । लाहुरेहरूले नेपाली अर्थतन्त्रमा कति योगदान पुर्‍याएका छन्, यसबारे स्पष्ट तथ्याङ्क पाउन कठिन छ । 'द इकनमिष्ट' को अनलाइन संस्करण (जुन ३०, २००९) मा प्रकाशित एक रिपोर्टअनुसार लाहुरेहरूबाट भित्रिने रिमिटयान्सबाट देशको कुल आम्दानीमा १७ प्रतिशत योगदान पुगेको छ ।

नेपालमा वैदेशिक रोजगारीका अन्य पाटाहरू मौलाउँदो क्रममा रहे पनि 'लाहुरे अर्थतन्त्र' चाहिँ क्रमिक रूपमा टाक्सिँदै गएको देखिन्छ । प्रथम तथा दोस्रो विश्वयुद्धको समयमा गल्लावालहरूले घर घरमा पुगेर सोझासीधा नेपाली युवालाई भेडाबाख्रा सरी लगेर भर्ती गराए पनि अहिले त्यस्तो अवस्था छैन् । क्षेप्यास्त्रको युगमा लडाइँका लागि धेरै सैनिक नचाहिने अवस्था आइसकेको छ । यही आधारमा बेलायतले पनि गोर्खाहरूको त्यतिविधि आवश्यकताबोध नगरेको हुनसक्छ । यही कारण उसले गोर्खाहरूको भर्तीलाई क्रमिक रूपमा कटौती गर्दै लगेको देखिन्छ ।

आजका सचेत गोर्खाहरूले आफ्ना अधिकारबारे उठाएको आवाज बेलायत सरकारलाई 'टाउको दुःखाइ' बनेको छ । बेलायत गोर्खाहरूबारे थप बोझ उठाउने मनस्थितिमा देखिन्न । उता, भारतले पनि आफ्नो सेनामा नेपालीको सट्टामा दार्जिलिङ, देहरादूनलगायतका क्षेत्रमा बसोबास गर्ने नेपालीभाषी भारतीयहरूलाई बढी प्राथमिकता दिने अघोषित नीति लिएको देखिन्छ ।

गोर्खाहरूको लामो समयको आन्दोलनपछि बेलायतले उनीहरूलाई बेलायत बस्न पाउने सुविधा दिएको छ । यसबाट 'लाहुरे अर्थतन्त्र' थप शिथिल हुन पुगेको छ । केही अपवादबाहेक हिजो बेलायत नेपाल भित्रिने रिमिटयान्स उल्टै नेपालबाट बेलायततिर प्रवाह हुन थालेको छ । नेपाल छाडेर बेलायत जाने क्रममा कतिपय लाहुरे परिवारले घरजग्गालगायतका अचल सम्पत्तिको त के कुरा, कतिपय अवस्थामा त नाक र कानसमेत बुच्चै बनाएर नेपालमा रहेको जायजेथा बेलायततिर लगेको दृष्टान्त छ ।

 'लाहुरे शहर' भनेर चिनिने धरान, पोखरा, बुटवलजस्ता ठाउँहरूमा ब्रिटिश गोर्खाहरू भेट्नै गाह्रो छ । बेलायतले अघि सारेको गोर्खाहरूको पुनर्बाससम्बन्धी प्रावधानका कारण नेपालबाट पूर्वसैनिकहरू रित्तिने क्रम जारी छ । यसबाट  पुरानो नेपाली लोकगीत पुनः सान्दर्भिक हुन गएको छ : 'गयो माया लाहुरे हुनलाई, रेलको झ्यालमा बसेर रुनलाई' ।

यी तमाम घटनाक्रमबाट 'लाहुरे अर्थतन्त्र' ले क्रमिक रूपमा अधपतनको बाटो रोजेको अनुमान गर्न कठिन छैन । हिजो 'गोर्खा भर्ती केन्द्र बन्द गर' भनेर चिच्याउने कम्युनिष्टहरू आज मौन छन् । तर 'गोर्खा भर्ती केन्द्र' को दैलो आफैं बन्द हुने क्रममा छ । यतिबेला 'लाहुरे संंस्कृति' को चाल समुन्द्रमा मिसिन लागेको पानीभन्दा पनि सुस्त छ । यसले 'लाहुरे संंस्कृति' र 'लाहुरे अर्थतन्त्र' को 'अन्त्यको शुरुवात' लाई संकेत गरेको देखिन्छ । लाग्छ, दुई सय वर्ष पुरानो 'लाहुरे संंस्कृति' यतिबेला विघटनको अघोषित चरणबाट गुज्ररिहेको छ ।

[साभार : नेपालीपत्र (माघ १३, २०७१) ]

अद्यावधिक : २०७४।०२।२३