Friday, January 15, 2016

दुरा समुदायमा प्रचलित पूजाआजाहरू


–यमबहादुर दुरा

१. परिचय

नेपालका अल्पसंख्यक जतिमध्ये एक मानिने दुरा समुदायले पूजाआजालाई जीवनशैलीको एक हिस्साको रूपमा आत्मासाथ गरेको पाइन्छ । यस सुमदायले कुनै न कुनै हिसाबबाट वर्षैभरि पूजा–अर्चनागरेको देखिन्छ तर पनि दुराहरूको ‘पूजा–अर्चना चक्र’ साउने संक्रान्तिदेखि शुरु भएर चैते दशैंको सेरोफेरोमा अन्त्य भएको देखिन्छ ।

दुरा समुदायमा विद्यमान विविध प्रकृतिकापूजाआजाहरूः प्रकृति पूजा (Nature worship), भाकल (Intercession), पितृपूजा (Ancestor worship), मूर्ति पूजा (Idolatry) जनवार पूजा (Animal worship)आदिबारे संक्षेपमा प्रकाश पार्नु यस लेखको मूल उद्देश्य हो ।

यस लेखमा प्रयोग भएका जानकारीहरू मूलतः पर्यवेक्षणमूलक (Observational) र अनुभूतिमूलक (Empirical) नै छन् । यसमा थोरै मात्रामा द्वितीयक स्रोत (Secondary source) पनि प्रयोग भएका छन् ।

२. दुरा जातिमा प्रचलित पूजाआजाहरू

२.१ प्रकृति पूजा

व्यक्ति तथा समाजको सुुख, शान्ति र समृद्धिमा प्राकृतिक तत्वले प्रभाव पार्दछन् भन्ने घोषित वा अघोषित विश्वास दुरा समुदायमा रहेको पाइन्छ । असिना पर्दा असिना गाउँ बार्ने चलन छ । घर–गोठमा चट््याङ पर्दा लामा वा बाहुन पुरेत बोलाएर ग्रह–शान्ति गर्ने चलन छ । कसैको घरमा आगलागी भएमा सोही प्रक्रिया अग्निको आराधना गर्ने परम्परा छ । नयाँ बाली भित्र्याउनुभन्दा अघि देवीदेउताको नाम पारेर अन्नबाली चढाउने चलन छ । भात खाने बेलामा पनि सबैभन्दा पहिले भन्छेली आमाले देउतालाई एक चैली भारत अर्पण गरेपछिमात्र घरका सदस्यहरूलाई भात पस्कने चलन पनि छ ।

पँधेराको रुख नकाट्ने तथा घर बनाउने वा कुनै प्रयोजनका लागि रुख काट्नुपर्दा रुखको पूजा गर्ने चलन पनि दुरा समुदाय छ ।

२.२ भाकल 

कोही सिकिस्त बिरामी हुँद धामी झाँकी, लामा तथा पुरेत कहाँ पुगी उसको लेखान्त र भाग्यबारे हेरखोर गर्ने गरिन्छ । मानुचामल हेराउँदालामा वा पुरेतले दिएको सल्लाहअनुसार बिरामी छिटो निको होस् भन्दै देवीदेवतालाई भाकल गरी पूजा–अर्चना गर्ने चलन पनि छ ।

कसैको घरमै रहेका वा घरभन्दा टाढा रहेका परिवारजनको सुस्वास्थ्य, उत्तरोत्तर प्रगति र दीर्घायुको कामना गरी स्थानीय र गाउँभन्दा परका देवीदेवताको पूजा–अर्चना गर्ने चलन पनि छ । यसैगरी, कसैको लालाबालाको बाक्य नफुटेमा तथा अन्य मानसिक र शारीरिक समस्या देखिएमा सम्बन्धित देवीदेवतालाई भाकल गरी पूजापाठ गर्ने गरेको पनि पाइन्छ ।

२.३ पितृ पूजाः

दुरा समुदायले विभिन्न समयमा विधि र प्रक्रिया अपनाएर पितृ पूजा गरेको पाइन्छ । प्रत्येक वर्षको ठूलो दशैंको अष्टमीको दिन राति पितृलाई विशेष रूपमा सम्झने गरिन्छ । यस क्रममा घरमुली (महिला वा पुरुष) दिनभरि उपवास बस्छन् । नुहाइ–धुवाइ गरी चित्तशुद्ध र मनशुद्ध गर्छन् । घरमुली पुरुष भए कपालसमेत कटाउँछन् । बेलुका माता–पिता तथा अन्य पूर्खालाई सम्झेर भात, तरकारी, मासु, माछा, रक्सी, जाँड, फलफूल आदि घरको मुख्य ठाउँ (फैंसा) मा सजाएर राखिन्छ । यस्ता चीजबीज राख्ने कार्यलाई ‘ख्यामा राख्ने’ भनिन्छ ।

यस अवसरमा कसै कसैले कुखुराको भालेको बलि दिएको पनि पाइन्छ । ‘ख्यामा’ राखिएको चीजबीज घरको मानिसले खान हुँदैन भन्ने मान्यता पनि छ । भोलिपल्ट बिहान विवाहित छोरीबेटी आएर ती चीजबीज उठाउने गर्छन् । त्यसलाई ‘ख्यामा उठाउने’ भनिन्छ । छोरीबेटीले ती चीजबीजआफ्नो घर लान्छन् । उँखुको लाँक्रो, अदुवाको बोट, फूल आदि सामग्री पँधेरा वा कुनै पवित्र ठाउँमा सेलाउने गर्छन् ।

२.३.१ वायु पूजाः

परिवारमा कुनै परिवारजनको निधन भएमा उसको नाउँमा वायु स्थान निर्माण गरी हरेक वर्ष वैशाख पूर्णिमाको दिनमा ‘वायु पूजा’ गरिन्छ । मृत व्यक्ति कहाँ कस्तो अवस्थामा बसेका छन् थाहा पाउन भाइखलकको जेठोबाठो व्यक्ति झाँकीका रूपमा देउता बस्ने (शरीर कमाएर बोल्ने) गर्छन् । त्यस्तो व्यक्तिलाई ‘डाङ्ग्रे’ भन्ने गरिन्छ । ‘डाङ्ग्रे’ को शरीरमादिवंगत सदस्यको आत्मा चढ्छ भन्ने विश्वास गरिन्छ । दिवंगत व्यक्तिले ‘डाङ्ग्रे’ मार्फत व्यक्त भावनालाई यथासम्भव करद गरिन्छ । तर ‘डाङ्ग्रे’ बस्ने प्रचलन लगभग हराइसकेको छ ।

लामा पुरेतलाई बोलाएर दिवंगत व्यक्तिको बौद्ध परम्पराअनुसार अर्घौं गरिन्छ । अर्घौं सम्पन्न भएपछि उसलाई पूजा गर्नुनपर्ने चलन छ । अर्घौं दुई किसिमको हुन्छ – आलोअर्घौं र पुरानो अर्घौं । मृत व्यक्तिको सदगत गर्नेबित्तिकै गरिएका अर्घौंलाई ‘आलो अर्घौं’ भनिन्छ भने भाइसल्लाह गरेर फुर्सदमा गरिने अर्घौंलाई ‘पुरानो अघौं’ भनिन्छ ।

अर्कोतिर, देश–परदेशमा रहेका कुनै परिवार सदस्यको परस्त्रीसँग संसर्ग भई गर्भ तुहिएमा वा बच्चा जन्मिएर गुपचुप अवस्थामा मरेमा घर–परिवारमा कसैलाई दुःख–बिमार हुने गर्छ भन्ने विश्वास छ । त्यस्तो घटना झाँक्रीले थाहा पाउँछन् । त्यसरी मरेको भ्रूण वा बच्चालाई ‘काँचो वायु’ भन्ने गरिन्छ । त्यसरी गुपचुप जीवन गुमाएका मानव भू्रण वा बच्चालाई परिवारको सदस्य मानी ‘वायु पूजा’ गरिन्छ र अन्त्यमा अर्घौं  गरिन्छ  । अर्घौं   गरेपछि मृत व्यक्तिको स्वर्गमा बास हुन्छ भन्ने विश्वास गरिन्छ ।

दुरा सुमदायमा जल चढाउने चलन पनि छ । साँझको खानपिन सकिएपछि घरकी छोरी वा बुहारीद्वारा चूल्हो लिपपोत गरिन्छ । त्यसपछि एक अंखोरा पानी पितृको नाममा राखिन्छ ।परिवारको दिवंगतसदस्यलाई सपनामा देखेमा बिहान उठेर कसैसँग नबोली तीन अञ्जुली जल चढाउने चलन पनि छ ।

२.४ कुल पूजा

दुरा समुदायमा अन्य समुदायले जस्तै भाइखलक मिलेर सामूहिक रूपमा कुल देवताको पूजा गर्ने चलन छ । यो पूजा सम्भव भए हरेक वर्ष नभए तीन वा सात वा बाह्र वर्षमा गर्ने चलन छ । कुलपूजाको अवसरमासमय र परिस्थितिअनुसार भेडा, कुखुरा, बोका र कुखुराको बलि दिइन्छ । दुरा समुदायको भाषा र संस्कृतिका अध्येता केशबहादुर दुरा (वि.सं. २०००) का कुलपूजा गर्दा बलि दिइने पंछी वा जनवार सकेसम्म सेतो रङ्गको भए राम्रो मानिन्छ । कुल पूजा गर्दा छोरी–ज्वाइँ तथा नाता–कुटुम्बलाई बोलाई भोज खुवाउने चलन पनि छ । साथै कुलको ढुङ्ग्रो बाँध्ने चलन पनि छ ।

२.५ मूर्ति पूजा

दुरा समुदायले विशेष रूपमा मूर्तिकै मात्र पूजा नगरे पनि ढुङ्गालाई ईश्वरको प्रतीक मानेर पूजा गर्ने चलन छ । यसलाई मूर्ति पूजा भन्ने वा नभन्ने विषयमा एकमत पाइँदैन । मूर्ति स्थापना गरिएका देवीदेउताको पनि पूजा–अर्चना गर्ने भएकोले दुरा समुदायले मूर्ति पूजालाई एकप्रकारले आत्मसात गरेको पाइन्छ ।

२.६ भूमि पूजा

बसन्त ऋतु लागेपछि खेतीबाली लगाउनुभन्दा अगाडि भूमि पूजा गरिन्छ ।  मंगलबार पारेर यो पूजा गरिन्छ । भूमि पूजा गर्नाले जमिनको उब्जाउ शक्ति बढने तथा सहकाल आउने विश्वास गरिन्छ । साथै, भूमिपूजागर्दा असिना, कीरा, मुसा आदिले बालीनाली नोक्सान गर्दैनन् भन्ने विश्वास गरिन्छ । भूमि पूजा गर्दा गाउँको नजिक कुनै पवित्र स्थानमा ढुङ्गालाई देवता बनाई बोका र भालकोे भोग पारिन्छ । पूजा गर्ने दिनको अघिल्लो दिन भोलि पूजा गर्ने भनी कटवाल कराउन लगाई सबैलाई जानकारी दिइन्छ ।

पूजा हुने दिनको बिहानसम्म बलिका लागि आवश्यक पर्ने बोका र कुखुरा खरिद गरिसकिएको हुन्छ । पूजा गरेपछि बोका तथा कुखुराको मासु एकै ठाउमा पकाई बेलुका हरेक घरबाट एक एकजना प्रतिनिधिजम्मा एकै ठाउँमा बसेर खाने गरिन्छ ।

भूमि पूजा गरेको दिन गाउँ बार्ने चलन छ । गाउँ बार्दा ढिकी–जाँतो गरिँदैन । खेतबारीमा खनजोत गरिँदैन । मेलापात चल्दैन । यतिमात्र होइन, दाउरा वा काठ काट्ने काम पनि गरिँदैन । घाँसपास गर्न मिल्छ । गाउँ बार्दा व्यस्त कार्यतालिकाबाट फुर्सद निस्कने भएकोले कतिपय गाउँलेहरू यस मौकामा हाटबजार गर्न जान्छन् ।

२.७ उभोली–उधौली पूजा

यो पूजा स्थानीय भगवती मन्दिरमा गरिन्छ । स्थानीय भगवतीको मन्दिरमा बोका र कुखुराको भाले बलि दिइन्छ । चैत र कात्तिक महिनामा गरिने पूजालाई क्रमशः उभौली र उधौली भनिन्छ । यो पूजा पनि मंगलबार नै गरिन्छ । उभौली खेतीबाली लगाएपछि असिना, अतिवृष्टि, खरेडी, कीरा–फट्याङ्ग्रा अाि प्रकृतिजन्य तत्वबाट खेतीबाली नोक्सान नहोस् भनी गरिन्छ भने उधौली कुनै प्राकृतिक प्रकोपबाट बाली थन्क्याउने काममा बाधा नहोस् भनी गरिन्छ । उभौली–उधौली पूजा सञ्चालन र प्रसाद खाने पद्धति भूमिपूजा सरह नै हुन्छ । उभौली–उधौली पूजामा पनि गाउँ बार्ने पनि चलन छ ।

२.८ हरेलो पूजा

अन्य समुदायमा पनि प्रचलित यो पूजा भदौ वा असोज महिनाको मंगलबार गरिन्छ । यो पूजा माटोको भाँडो (हाँडी) मा धानको भुस, भोजपत्र, ढिकी–जातोको काठको खुर्केको धुलो हाली आगो सल्काई धुप हालिन्छ । ‘हरेलो दोहोलो दोहोलो’ भनी खेतको डिलमा, रुखमा वा खम्बामा गाडी झुण्डाएर राखिन्छ । हरेलो पूजा गर्नाले धान बालीमा कीरा, पतेरो, मुसा जीवजन्तुले दुःख दिँदैनन् भन्ने जनविश्वास छ । 

२.९ नार्खु पूजाः

यो पूजा अलि भिन्न प्रकृतिको छ, जुन तुर्लुृङकोट गढी नजिक रहेको स्थानमा गरिन्छ । बसन्त ऋतु शुरु भई बालीनाली लाउने तथा खनजोत गर्ने बेलामालामो समयसम्म खरेडी पर्दा नार्खु पूजा गरिन्छ । यो पूजामा भैंसीको भोग दिइन्छ । डाँडामा अवस्थित नागको थानमा रगतले जुठो पार्दा चोखिने प्रयोजनका लागि नागराजाले पानी पार्दछन् भन्ने जनविश्वास छ ।

यसरी पूजा गर्दा सोही दिन वा तीन दिनभित्र पानी पर्ने गरेको अनुभव स्थानीय वासिन्दासँग छ । यस पूजामा दुराडाँडा भेगका दुरा, क्षेत्री, बाहुन तथा दलित समुदायको सहभागिता रहन्छ (दुरा, २०५६ः १४)। दुराडाँडा (तुर्लुृङकोट) बाहेक अन्य दुराबस्तीमा नार्खु पूजा गरेको पाइँदैन ।‘नार्खु’ शब्दले कुन स्थान वा परिपाटीलाई संकेत गर्न खोजेको हो भन्ने प्रष्ट भएको छैन ।

२.१० भयँर पूजा

चैत महिनाको कुनै मंगलबार भयँर पूजा गरिन्छ । गाउँ नजिकको निश्चित ठाउँमा बाख्राको पाठी बलि दिएर यो पूजा गरिन्छ । पूजाको प्रसाद घरमा लगिँदैन । पूजा गर्नुभन्दा अघि उपयुक्त समयदूरी कायम गरी भातको जाँड राखिन्छ । यसका लागि हरेक घरधुरीबाट एक–एक माना चामल उठाइन्छ । पूजाको दिनमा हरेक घरका एक एक जना प्रतिनिधिले एक एक माना चामल ल्याई सामूहिक रूपमा भात पकाइन्छ दुरा ।

यसपछि जाँड, मासु र भात खाइन्छ । भयँर पूजाको दिनमा गाउँका बाउहरूले खाइपिई गरेर निकै रमाइलो गर्छन् । खानपिन सकिएपछि टिमुर चपाएर भुइँमा बनाइएको खोपिल्टामा थुक्ने चलन छ । यसपछि गाउँको जेठोबाठो व्यक्तिले उसको ढाडमा तीनपटकसम्म काँढाले पुछ्ने चलन पनि छ ।

दुरा समुदायको अध्येता देवबहादुर दुरा (वि.सं. २०२२) भयँरीका दिनमा बाउहरूले बोलीचालीमा अघिपछिका दिनमा भन्दा बढी स्वतन्त्रता प्रयोग गर्छन् । भयँरीका बाउ र रत्यौलीका आमाहरूको चर्तिकला देखेर एउटा उखानै बनेको छ, ‘भयँरीको बाउ, रत्यौलीको आमा’ । यो पूजा गर्दा गाउँमा बाघको भय हुँदैन भन्ने जनविश्वास छ । पूजा सम्पन्न भएपछि तीन दिनसम्म गाउँ बार्ने चलन छ । भयँर पूजा सम्पन्न भएको सात दिनमा धूप हालिन्छ । त्यस दिन पनि गाउँ बार्ने चलन छ ।

२.११ बाटो छेक्ने

चैतमहिनाको कुनै शनिबारका दिन बाटो छेक्ने पूजा गरिन्छ । कुनै गाउँमा वैशाखमा पनि यो पूजा गर्छन् । दुराडाँडास्थित भाँगु गाउँका स्थानीय वासिन्दा भेजमान दुरा (वि.सं. २०१२) सँग आफ्नो गाउँमा वैशाख महिनामाबाटो छेक्ने पूजा हुने गरेको अनुभव छ । गाउँको चार किल्लामा भक्यौंलाको काठ काठी प्रवेशद्वार बनाइन्छ । सोही प्रवेशद्वारमा काठबाट निर्मित पुरुष र स्त्री जनेन्द्रीय झुण्ड्याइन्छ । गाउँमा कुनै पनि प्रकारको देशान (रोग–व्याध), छेद, भेद आदि अहितकारी तत्व नभित्रियोस् भन्ने अभिप्रायले यो पूजा गरिन्छ ।

यो पूजामा हरेक घरधुरीबाट एक–एक माना कोठोको पिठो उठाइन्छ । त्यसमा बलि दिइएको खुकुराको मासु मिसाई प्रसादको रूपमा ग्रहण गरिन्छ (दुरा, २०५६ः १३) । शनिबारको दिन गरिने पूजा भएकोले कसै कसैले ‘शनिसरे पूजा’ पनि भन्ने गरेको पाइन्छ ।

२.१२ शिकारी पूजाः

शिकार खेल्न जाँदा रित्तो हात फर्कन नपरोस् भनेर शिकारी पूजा गरिन्छ भन्ने मान्यता छ । २० वटा शिकार गरेपछि शिकार नलाग्ने विश्वास छ । अतः यसपछि  शिकारी पनि पूजा गरिन्छ । यसलाई ‘दर्जन पूजा’ पनि भनिन्छ । बन्दुक, भाला, बाँसको धनुषकाँड राखी कुखुराको भालेपोथी भोग दिई ‘दर्जन पूजा’ गरेको पाइन्छ । यो पूजा अहिले लगभग हराइसकेको छ ।

२.१३ जनवार पूजाः

दुरा समुदायले कुनै विशेष रूपमा जनवार पूजा गरेको पाइँदैन । तर पनि तिहारको समयमा काग, कुकुर र गाईको पूजा गर्ने नेपाली आमप्रचलन दुरा समुदायमा पनि विद्यमान छ ।

२.१४ चियाँ हेर्ने 

चिया हेर्ने कार्य आफैंमा कुनै पूजा नभए पनि यो पूजाआजासँग सम्बन्धित छ । विभिन्न देवीदेवतालाई बोका, कुखुरा आदिको बलि दिंँदा तिनीहरूको कलजो हेरी भोलि हुनसक्ने शुभ–अशुभ पक्षको विश्लेषण तथा भविष्यवाणी गरिन्छ । यस्तो कार्यलाई ‘चियाँ हेर्ने’ भनिन्छ । कलेजोको स्थितिले शुभ–अशुभ घटना, आँटेको कामको सफलता–विफलता, छोराछोरीको विवाहवारी हुने–नहुने अदि पक्षबारे पूर्वसंकेत दिन्छ भन्ने मान्यता छ ।
कलेजो लुलो भएमा धन प्राप्त गर्न नसकिने; कलेजो छियाछिया परेको भए परिवारमा कुनै अशुभ घटना हुने, कलेजोको शीर लत्रेको छ भने मान–सम्मानमा क्षय हुने; पित्त ठूलो भएमा असिना आउने, अतिवृष्टि हुने, पहिरो जानेजस्ता प्राकृतिक विपत्ति आउने विश्वास गरिन्छ । पित्त सानो भएमा खरेडी पर्ने विश्वास गरिन्छ । यस्ता संकेतहरू व्यवहारमा मिल्न गएकोे बूढापाकाहरूको भनाइ छ ।

कलेजो हेरेर थाहा पाइने अरू थुप्रै संकेत छन् तर यसलाई विश्लेषण गरेर भविष्यवाणी गर्नसक्ने व्यक्तिहरू निरन्तर कम हुँदै गएका छन् ।

२.१५ थासो (ग्रह) फाल्ने 

दुरा समुदायमा वर्षमा दुई पटकर कत्तिक र चैतमहिनामा मूलतः लामा पुरोहित बोलाएर ग्रहदशा हेर्ने, रख्खे–डोरो गर्ने र ग्रह फाल्ने चलन छ । ग्रह फाल्ने कार्यलाई ‘थासो फाल्ने’ भनिन्छ । घर परिवारको नौंथरि अन्न, नौथरि फूल, पानी, नौथरि कपडा पुछेर लामाले आफ्नो ग्रन्थ पढी कोदोको ढिडोबाट बनेको कैदु बनाएर दोबाटोमा लगेर बिसर्जन गरिन्छ । ग्रह बिसर्जन गर्ने काम ज्वाइँ र लामाले गर्छन् ।

२.१६ अन्य पूजाः

माथि उल्लिखित गरिएका पूजा बाहेक दुरा समुदायले सामूहिक र व्यक्तिगत रूपमा अन्य विभिन्न पूजाहरूगर्छन् । दुरा समुदाय सेतो भैरव (गाँडावाज), आइतबारे पूजा, परिभित्ता पूजा, नाग पूजा, खहरे खोला पूजा, भनेर गौडी पूजा, भीमसेनलगायत विभिन्न पूजाआजामा सरिक भएको पाइन्छ । साउने संक्रान्ति र माघे संक्रान्तिलाई पनि पूजा–अर्चनाको विधि अपनाएर मनाएको पाइन्छ । दुरा सेवा समाजका पूर्वअध्यक्ष लोकबहादुर दुरा (वि.सं. २००५) का अनुसार पूजाको विधि र प्रकृतिमा ठाउँअनुसार स्थानीयपन र विविध संस्करणहरू पनि भेटिन्छन् ।

३. उपसंहार 

दुरा समुदायमा प्रचलित पूजाआजाबारे विगत दुई दशकको अवधिमा केही लिखित दस्ताबेज उपलब्ध भए पनि तिनमा समाजशस्त्रीय तथा मानवशास्त्रीय दृष्टिले गहन विश्लेषण पाइँदैनन् । दुरा समुदायमा पूजाआजामा हिन्दू, बौद्ध तथा बोन धर्म गरी तीन किसिमका धर्मको प्रभाव परेको देखिन्छ ।

यद्यपि दुरा समुदायमा चलिआएको पूजा–अर्चना पद्धतिबारे पूर्वोल्लिखित तीनै धर्मसम्बन्धी सिद्धान्त र मान्यताहरूको कसीमा राखेर विशद खोजअनुसन्धान हुन बाँकी नै छ । त्यसैले अहिले सतहमा देखिएका अभ्यासहरूलाई मात्र हेरेर दुरा समुदायको पूजाआजाको इतिहास, वर्तमान र भावी दिशाबारे यसै भन्न सकिने अवस्था छैन ।

सन्दर्भ सामग्री

दुरा, गोकुल । (२०५६)। दुरा जातिको संस्कृति । काठमाडौँ : (प्रकाशक : लेखक स्वयम्) ।

कुराकानी/ सूचनादाता

लोकबहादुर दुरा । पुस १८, २०७२ ।
भेजमान दुरा । पुस १८, २०७२ ।
देवबहादुर दुरा । पुस १८, २०७२ ।



[साभार: समाज शोधमाला  (पूर्णाङ्क १०, २०७२)]

No comments:

Post a Comment