Friday, June 17, 2016

झझल्काहरूमा देउबहादुर दुरा

—यमबहादुर दुरा


देउबहादुर दुरा गण्डकी क्षेत्रको सांगीतिक माहोलमा इष्टदेवता सरह पुजिने व्यक्तित्व हुन् । ठाडो भाका र देउबहादुर दरा एक अर्काका पर्याय बनेका छन् । उनी सांगीतिक क्षेत्रका विलक्षण प्रतिभाका रूपमा चिनिँदै आएका छन् । एक अर्थमा उनी सांगीतिक दुनियाँका तिलस्मी पात्र हुन् ।

देउबहादुर दुरा यस धर्तीबाट अस्ताएको लगभग ८० वर्ष बितिसक्दा पनि उनीबारे अनेक थरिका किस्सा–कहानीहरू दन्त्य कथाझैं सुनिँदै आएको छ । उनको निजी जीवन र सांगीतिक यात्राबारे थरिथरिका कुरा गाउँ समाजमा अझै पनि सुनिन छाडेको छैन ।
 दुर्लभ सम्झना : देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङसहितको गायकी समूहको तस्बिर भनिएको यो ऐतिहासिक तस्बिर पञ्चसुब्बा गुरुङका नाति सोमप्रसाद गुरुङबाट प्राप्त भएको हो ।

उनी सात दिन सात रातसम्म अविश्रान्त गीत गाउन सक्थे । उनी मायामोहले भरिएका यति सुमधुर गीत गाउँथे, तत्कालीन समयका तरुनीहरू उनी देखेर भुतुक्कै हुन्थे । उनको शब्दजाल माकुराको जालभन्दा सुन्दर हुन्थ्यो । उनी आफूसँग जोरी खोज्ने जोकोहीलाई गीतमा यति मर्मभेदी किसिमले शब्द प्रवाह गर्थे, प्रतिद्वन्दी निःशब्द बन्थे ।

देउबहादुर दुराबारे यस्ता किस्सा–कहानी आज पनि सुनिन्छ । उनको बल, बुद्धि र प्रतापबारे पनि रमाइला–रमाइलका किस्सा त्यति नै मात्रामा सुनिन्छन् ।

नाँचगानमा पनि उनी यसै पनि तगडा थिए नै, पाखुराको तागत देखाउन पनि उनी कम थिएनन् । उनले करापुटार फागुपूर्णिमाको जात्रामा गीतको खालबाट उठेर छेलो हान्थे । उनले यति गजबसँग छेलो हान्थे,  गीतको खालमा बसेकाहरूका टाउकैमाथिबाट ढुङ्गा जान्थ्यो । नेपाल (काठमाडौं) मा आयोजित २४ वटा पल्टनका छेलो प्रतियोगितामा उनी प्रथम भएका थिए । यसैगरी करापुटार, तुर्लुङकोट कालिका, ठूलोढुङ्गा (तनहूँ) आदि स्थानमा लाग्ने जात्रामा हुने छेलो प्रतियोगितमा उनी कहिल्यै पनि दोस्रा भएनन् ।

उनी उनी कतिसम्म बलिया थिए भने राँगो बन्न तरखर पाडोलाई उचालेर चौतारीमा राख्थे । उनले चन्द्र शमसेरको दरबार गएर गीत गाएर आफ्नो प्रतिभाको परिचय थिए ।

यी हुन्, देउबहादुर दुराबारे सुनिएका किस्सा–कहानीका केही दृष्टान्त । यी सबै अनुश्रुतिका कुरा हुन् । उनीबारे थोरै कुरामात्र लिपिबद्ध भएका छन् । निकै चर्चित व्यक्ति भएर पनि उनको इतिहास अभिलेखन नहुनु एकप्रकारले दुर्भाग्यपूर्ण अवस्था हो ।

दन्त्यकथाका पात्रजस्ता लाग्ने देउबहादुर दुराबारे धेरै कम लेखिएका छन् ।  कालीभक्त पन्त (हाम्रो सांस्कृतिक इतिहास, २०२८), धर्मराज थापा (‘गण्डकीका सुसेली’, २०३० र ‘लोक–संस्कृतिको घेरामा लमजुङ्ग’), २०४१), ऋषिकान्त अधिकारी (दुरा जातिको परिचय, २०४१) र जगमान गुरुङ (‘नेपालको राष्ट्रिय समीकरणको परिप्रेक्ष्यमा गण्डकीप्रसवणक्षेत्रका तीर्थस्थलहरूको विश्लेषणात्मक अध्ययन’, २०६०) ले देउबहादुर दुराबारे प्रकाश पारेका छन् । देउबहादुर दुरासम्बन्धी लेखनीमध्ये धर्मराज थापाको लेखाइ तुलनात्मक रूपमा विस्तृत देखिन्छ । पछिल्लो समयमा लोकगीतका पारखी कृष्ण गुरुङ (‘जन्मभूमिको ममता’) ले ठाडो भाकाको विकासक्रम र देउबहादुर दुराबारे गहन लेख लेखेका छन् ।

यीबाहेक अरू व्यक्तिले पनि देउबहादुुर दुराबारे नलेखेका होइनन् तर अधिकांश लेखाइ पूर्वोल्लिखित कृतिबाट नै साभार गरिएको देखिन्छ । तिनमा अपेक्षित नयाँ तथ्य भेटिँदैनन् ।

***
‘ठाडो भाका’ लमजुङ, गोर्खा, तनहूँ, कास्की तथा स्याङ्जा जिल्लामा प्रचलित छ । ठाउँ अनुसारमा यसमा केही स्थानीय भेदहरू भेटिन्छन् । कसै कसैले ‘ठाडो भाका’ लाई सालैजू भाकाको एउटा हाँगाको रूपमा लिने गरेको पाइन्छ ।

देउबहादुर दुराले छाडेर गएका साङ्गीतिक कोसेली ‘ठाडो भाका’ अरू विभिन्न नामले पनि चिनिन्छ । यसलाई लमजुङे भाका, कर्पुटारे भाका, दुरा भाकाजस्ता नामले पुकार्ने गरिन्छ ।

‘ठाडो भाका’ को उद्गमस्थल लमजुङ भएकोले ‘लमजुङे भाका’, यसको मुख्य कर्मभूमि कर्पुटार (करापुटार) मुख्य थलो भएकोले ‘कर्पुटारे भाका’ र देउबहादुर दुराले सिर्जना गरेकाले ‘दुरा भाका’ भनियो भन्नेबारे भन्ने अर्थ निकाल्न कठिन छैन ।

कास्की जिल्लाको पूर्वी सीमाना र लमजुङ जिल्लाको पश्चिमी सीमानामा मादी र मिदिमको दोभानमा रहेको करापूटार देउबहादुर दुराको मुख्य सांगीतिक कर्मभूमि मानिन्छ । करापुटारमा लाग्ने फागूपूर्णिमा र शिवरात्री जात्रामा उनको गीतको खाल रामैसित जम्थ्यो ।

देउबहादुर दुरा ठाडो भाकाका मुख्य नायक थिए भन्ने तथ्य उनको नाम जोडेर गाइने गीतले पनि प्रष्ट पार्छ । ‘देउबहादुर दुरा पञ्चसुब्बा गुरुङ करापुमा घमसान’, ‘कहाँ गयौ देउबहादुर दुरा, शून्य भयो करापुटार बजार,’ ‘माइत जाँदा कुरौनी पाहुर, गयो क्यारे देउबहादुर लाहुर’, ‘देउबहादुर दुरा करापुटार झर्यो बूकी फूल लाउँदै लाउँदै...’, ‘देउबहादुर दुराले पञ्चबलि दियो, पैसा राख्यो दुनादुनी’ । यी गीतले देउबहादुर दुराको साङ्गीतिक नायकत्वलाई मात्र संकेत गर्दैनन्, तत्कालीन सामाजिक परिदृश्यलाई झल्काउँछन् ।

देउबहादुर दुरालाई देख्ने–भोग्ने अधिकांश व्यक्ति परलोक भइसकेका र उनीबारे लिखित सामग्री नितान्त कम भएकाले खोज–अनुसन्धान चुनौतीपूर्ण देखिन्छ । देउबहादुर दुरा दुनियाँले बेहद सराहना गरेको व्यक्ति हुन् । उनको गौरवपूर्ण इतिहास छ तर उनको इतिहास मूल रूपमा श्रुतिपरम्परामा आधारित छ, जुन समयक्रमसँगै बिलाउँदै गएको छ । उनीबारेका तथ्यहरू पनि हराउँदै र बाङ्गिँदै गएका छन् ।

उनको जन्म र मृत्यु भएको वास्तविक मिति आजसम्म खुलेको देखिँदैन । उनको जन्म र मृत्यबारे मतभिन्नता छन् । उनको जन्म मिति भिन्न भिन्न व्यक्तिले भिन्न भिन्न उल्लेख गरेको पाइन्छ । जस्तै : वि.सं. १९५०, १९५१, १९५२, १९५३ र १९५४ । यस हिसाबले उनी १९५० देखि १९५४ सालको बीचमा जन्मेको देखिन्छ ।

उनको मृत्युुबारे यस्तै विरोधाभासपूर्ण विवरण भेटिएको छ । उनको मृत्यु कसैले वि.सं. १९९२, कसैले  १९९३ र कसैले १९९४ मा भएको उल्लेख गरेका छन् ।

दुराडाँडासहित लमजुङको विभिन्न भागको स्थलगत भ्रमणपछि जनकवि धर्मराज थापाले लेखेको पुस्तक ‘लोक–संस्कृतिको घेरामा लमजुङ्ग’ मा देउबहादुर दुराबारे थुप्रै प्रसंग छन् ।

पुस्तकमा ‘ठाडो भाका’ का अर्का हस्ती मनिराम दुरा (लमजुङ, ठूलोस्वाँरा) को भनाइ उध्रृत गर्दै भनिएको छ, ‘२०३४ सालको यो वर्षसम्म देउबहादुर दुरा बाँचेको भए असी वर्ष पुग्थ्यो’ (पृ.४३१) ।

धर्मराज थापाको यो लेखाइलाई आधार मान्दा देउबहादुर दुराको जन्म वि.सं. १९५४ भएको देखिन्छ । उनी ४० वर्षमात्र बाँचेको भनाइ गाउँघरमा सुन्न पाइन्छ । यस हिसाबले उनको मृत्यु वि.सं. १९९४ मा भएको देखिन्छ ।

***

आजसम्म देउबहादुर दुराको तस्बिर कतै पनि भेटिएको छैन । त्यतिबेलासम्म फोटोग्राफी प्रचलनमा आइसकेको र उनी देश विदेश डुलेका व्यक्ति भएकाले उनले कहीँ–कतै उनले तस्बिर खिचाएको हुनुपर्ने हो तर आजसम्म उनको तस्बिर पेला पार्न सकिएको छैन । तर उनका कतिपय समकालीन प्रतिभाहरूको तस्बिर भेटिन्छन् । जस्तै : मित्रसेन (वि.सं.१९५२–२००२), पञ्चसुब्बा गुरुङ (वि.सं. १९४७–२०३३), मेलवादेवी (वि.सं.१९५९–२०१२) आदि ।

देउबहादुर दुरा तत्कालीन ब्रिटिस–इन्डियन सेना (१/५ जिआर) मा भर्ती भएको र हाव्टवाज (हालः पाकिस्तान) स्थित पल्टन उनको तस्बिर छ भनिन्छ । यो जानकारी (बर्धान, लमजुङ) का भीमबहादुर दुराबाट प्राप्त गरेको थिएँ । तनहूँको मिर्लुङमा उनको एकजना साथी (मीत ?) सँग उनको तस्बिर सुरक्षित रहेको र तस्बिर लिन आउनू भनेर तारन्तार खबर पठाएको तर कोही पनि तस्बिर लिन नगएकोले त्यो तस्बिर त्यत्तिकै हराएको चर्चा पनि सुनिन्छ । उनको तस्बिर बेलायतको एक संग्रहालयमा छ भन्ने पनि सुनिन्छ ।

‘भन्थे र सुन्थे’ आधारमा आएका यी भनाइमाथि उचित खोज–अनुसन्धान नगरी यसै भन्न सकिने अवस्था छैन ।

देवबहादुर दुराको गीत रेकर्ड नहुनुलाई अर्को विडम्बनाको रूपमा लिन सकिन्छ । नेपालको साङ्गीतिक इतिहासलाई नियाल्दा वि.सं. १९६५ मा नेपाली कलाकार (सेतुराम) को पहिलो गीत रेकर्ड भएको देखिन्छ  । देउबहादुर दुराले कतै गीत रेकर्ड गराए वा गराएन, कुनै जानकारी पाइँदैन । देश विदेश डुलेका उनले कतै गीत रेकर्ड गराएका थिए  कि ? तर आजसम्म यसबारे कुनै अभिलेख भेटिँदैन ।

***

लोकगायक कृष्ण गुरुङ र म २०७१ साल वैशाख ३ गते कास्कीको रबैडाँडा पुगेको थियौँ । हाम्रो उद्देश्य थियो, देउबहादुर दुराको इतिहास खोज्ने । त्यहाँ देउबहादुर दुराका हितैषी दौंतरी पञ्चसुब्बा गुरुङका बुहारी र नातिसँग भेट भयो । हामीले देउबहादुर दुराबारे त त्यति जानकारी पाउन सकेनौं तर उनका अनन्य मित्र पञ्चसुब्बा गुरुङका सम्बन्धमा बाहिर नआएका महत्वपूर्ण जानकारी पाउन सफल भयौँ ।

भ्रमणको फलस्वरूप पञ्चसुब्बा गुरुङको जन्म र मृत्यु भएको पत्ता लाग्यो । उनका नाति सोमप्रसाद गुरुङ (जन्म: वि.सं.२०२०) का अनुसार पञ्चसुब्बा गुरुङको जन्म १९४७ साल माघ २६ गते तथा मृत्यु २०३३ साल माघ १४ गते भएको हो ।

हामीले पञ्चसुब्बा गुरुङको सामूहिक तस्बिर पनि फेला पार्यौं। तस्बिरमा कम्प्युटर टाइप गरेर कागजको लेबल टाँसिएको छ । त्यसमा पञ्चसुब्बा गुरुङ र देउबहादुर दुराको नाम उल्लिखित छ । साथै, सो तस्बिर २००४ साल फागुन ८ गते खिचिएको भनिएको छ । तर तस्बिर कसले खिचेको र कुन ठाउँमा खिचेको हो भन्ने खुलेको छैन ।

महिला र पुरुष गरी ९–१० जना रहेका उक्त तस्बिर एकदमै मधुरो छ, मान्छे चिन्नै कठिन हुने गरी । तस्बिरमा पञ्चसुब्बा गुरुङलाई मात्र चिन्न सकिन्छ । उनी होचा थिए भनिन्छ । उनका नाति सोमप्रसाद गुरुङले आफ्ना बाजे होचा थिए भन्ने सुनेको हामीलाई बताएका थिए ।

लोकसाहित्यविद सत्यमोहन जोशीले आफूले २००२ सालमा पञ्चसुब्बा गुरुङलाई करापुटारमा भेटेको र उनी पुड्को पुड्को कद भएका व्यक्ति थिए भन्ने संस्मरण सुनाएका छन् ।

यी भनाइका आधारमा तस्बिरमा भएका होचा व्यक्ति पञ्चसुब्बा गुरुङ हुन् भन्ने टुङ्गोमा पुग्न सकिन्छ ।

देउबहादुर दुरा अग्लो जिउडाल भएका व्यक्ति थिए भन्ने भनाइ सर्वत्र छ । तस्बिरमा भएका अग्ला व्यक्ति देउबहादुर दुरा हुन् भन्ने अनुमान गर्न सकिन्छ । तर तस्बिरले दोधार पनि पैदा गरेको छ । २००४ सालमा खिचिएको भनिएको त्यो तस्बिरमा देउबहादुर दुरा हुनु असम्भव छ । उनी १९९४ तिर परलोक भइसकेका थिए । तस्बिरमा भएका अग्ला व्यक्ति देउबहादुर दुरा नै हुन् भने सो तस्बिर १९९४ साल अघि नै खिचिएको हुनुपर्छ । विडम्बना के छ भने तस्बिरको तथ्यगत पक्षबारे ठोकेर कुरा राख्न सक्ने व्यक्ति अहिले कोही पनि भेटिँदैन ।

***

जनस्तरमा असाध्यै लोकप्रिय प्रतिभा भए पनि उनको जन्म तथा मृत्युजस्ता आधारभूत पक्षहरूको उचित अभिलेखीकरण नहुँदा उनी मिथकजस्ता बनेका छन् । राष्ट्रकवि माधव घिमिरेले कतै लेखेका छन्—‘देउबहादुर दुराको जीवनी र नेपाली लोकगीतमा उनको योगदानलाई...लिएर भविष्यमा एउटा छुट्टै अध्ययन गर्न सकिन्छ’ (दुरा, २०५८) ।

सरस्वतीका वरदपुत्र देउबहादुर दुरा नाम चलेर पनि एकप्रकारले गुमनाम छन् । देउबहादुर दुराका सम्बन्धमा धेरै तथ्यहरू बाहिर आउन बाँकी नै छ । उनको जीवनशैली र साङगीतिक यात्राबारे विशद खोज–अनुसन्धान हुन बाँकी छ ।

सन्दर्भ सामग्री

अधिकारी, ऋषिकान्त । (२०४१०)।   दुरा जातिको परिचय
थापा, धर्मराज । (२०४१) । लोक–संस्कृतिको घेरामा लमजुङ्ग । काठमाडौं :    साझा प्रकाशन ।
दुरा, यमबहादुर । (मंसिर २८, २०५८ साल) । कहाँ गयौ देउबहादुर दुरा । नेपाल समाचारपत्र

सूचनादाता

सत्यमोहन जोशी । भदौ २३, २०७२ ।
सोमप्रसाद गुरुङ । वैशाख ३, २०७१ ।

[साभार : 'मर्स्याङ्दी वाङ्मय प्रतिष्ठान' को प्रकाशन मर्स्याङ्दी स्मारिका-२०७३ (पृ १९६ - १९८)। सामान्य परिमार्जनसहित]




3 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. This comment has been removed by the author.

    ReplyDelete
  3. Yam dai,
    Namaskar, Sewaro, Ui Ui! Once again thank you very much for this excellent piece of work. I respect you immensely, and appreciate what you have been doing for the benefit of the Dura community and much more for others thorough your effective and creative writing. I have been following you on your blog and I have been always mesmerized by your posts! Please keep it up and all the best for the future.
    If you don’t mind, with your kind permission can I share it on UK Lamjung website so all the Lamjunge can read your post!

    Thank you very much.

    Regards

    ReplyDelete