Friday, October 13, 2017

पत्रकारितामा पुरस्कार

–यमबहादुर दुरा

सामाजिक सञ्जाल ‘फेसबुक’ मा पोष्ट हुने ‘कन्टेन्ट’ हरूमा तस्बिरकै प्रचुरता छ ।  ती तस्बिरको भीडमा सम्मान/पुरस्कार ग्रहण गरिएका दृश्यले ठूलै हिस्सा ओगट्छ । त्यस्ता दृश्यमा पत्रकारका हँसिला अनुहार पनि पर्छन् ।

सामाजिक सञ्जाल र सञ्चार माध्यममा पत्रकार पुरस्कृत भएका तस्बिरसहित समाचार बरोबर आइरहन्छन् । समाजको पहरेदारी गर्ने एउटा सचेत वर्ग पुरस्कृत हुनुलाई सोझो अर्थमा बेठीक भन्न मिल्दैन । तर पत्रकारले पुरस्कार ग्रहण गरेको प्रसंग समाजका चिन्तनशील समूहका अघिल्तिर प्रश्नविहीन अवस्थामा रहन सक्तैन ।

आफूलाई सत्यको खोजीमा समर्पण गर्नुपर्ने जिम्मेवारी बोकेको पत्रकारले पुरस्कार थाप्दै हिँड्दा उसको नैतिक र पेशागत धरातल धर्मराउँछ भन्ने एकथरीको मान्यता छ । त्यसैले, पत्रकारले पुरस्कार ग्रहण गरेमा समाजका सचेतले वर्गले सजिलै र सहजै स्वीकारेको पाइँदैन ।

पत्रकार आचारसंहिताले पनि पत्रकारले पुरस्कार लिने कुरालाई त्यति प्रोत्साहन गर्दैन । ‘प्रेस काउन्सिल नेपाल’ र ‘नेपाल पत्रकार महासंघ’ ले संयुक्त रूपमा जारी गरेको ‘पत्रकार आचारसंहिता, २०७३’ ले पेशागत मर्यादा र दायित्वमा प्रतिकूल असर पर्ने गरी पुरस्कार लिन नहुने प्रष्ट पारेको छ ।

उक्त आचारसंहिताको दफा १३ मा भनिएको छ, ‘पत्रकार तथा सञ्चार माध्यमले पेशागत मर्यादा तथा दायित्वमा प्रतिकूल असर पर्ने गरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक प्रतिष्ठान, संघसंस्था वा व्यक्तिबाट कुनै पनि प्रकारका पुरस्कार, उपहार वा सम्मान वा विशेष सुविधा लिनु हुँदैन ।’

 यस्ता पुरस्कार वा सम्मान पेशागत मर्यादाविपरीत भए-नभएको मूल्याङ्कन गर्ने जिम्मेवारी पनि पत्रकारकै हो ।

पुरस्कार ग्रहण गर्ने कुरा आफैंमा कुनै अनिष्टकारी प्रसंग होइन तर यसका लागि नेपथ्यमा हुने खेल अनिष्टकारी हुन सक्छ । पुरस्कार दिने संस्था वा व्यक्तिको भित्री अभीष्ट, त्यस्ता व्यक्ति वा संस्थाको पुरस्कार पाउने व्यक्तिसँगको सम्बन्ध र पुरस्कारका लागि व्यक्ति छनोट गर्ने प्रक्रियामा अपनाइने विधिले पुरस्कारको समग्र अभीष्ट र स्तर निर्धारण गर्छ ।

पत्रकारलाई प्रदान गरिने पुरस्कारप्रति सभ्य समाजले सधैँ स्वस्थ्य किसिमले आशंका गर्छ । कतिले त यसप्रति एकदमै आलोचनात्मक दृष्टिकोण पनि राख्छन् । अमेरिकी प्राध्यापक  नोम चोम्स्की (जन्म: सन् १९२८) का अनुसार पुरस्कारले आमसञ्चार माध्यम र पत्रकारको विवेकमा नजानिँदो किसिमले लगाम लगाइदिन्छ ।

पुरस्कारसँग सम्बन्धित रोचक एउटा पाटो रोचक छ । प्राध्यापक तथा अनुसन्धाताहरूले पनि समाजलाई प्रत्यक्ष वा परोक्ष रूपमा गहिरो गुन लगाएका हुन्छन् तर उनीहरू कमै पुरस्कृत हुन्छन् । कारण स्पष्ट छ, उनीहरूका हातमा पत्रकारको जस्तो ठूलो शक्ति हुँदैन । आमसञ्चार माध्यममार्फत् जनसमुदायलाई नियन्त्रण गर्न सकिने भएकोले शक्तिकेन्द्रहरू पत्रकारलाई हातमा लिन चाहन्छन् । पुरस्कार एउटा उपाय हो, जसले पत्रकारलाई आफ्नो पक्षमा उभ्याउन सहयोग गर्छ । पुरस्कारसम्बन्धी राजनीतिको नाभी यहीनेर अवस्थित छ ।

नेपालमा व्यापारिक घराना, राजनीतिक दल एवम् गैरसरकारी संस्थाहरूले विभिन्न बहाना र आवरणमा पत्रकारलाई पुरस्कृत गरिरहेका छन् । सरकारले प्रदान गर्ने पुरस्कार पनि प्रेमपूर्वक ग्रहण भइरहेका छन् । पुरस्कार दिएर पत्रकारको मन राख्ने र इष्ट बढाउने क्रम चलिरहेकै छ ।

देशको अर्थतन्त्रमै प्रभाव जमाउन सक्ने व्यापारिक घरानाले सञ्चारगृहको विज्ञापन तथा अन्य यस्तै प्रकृतिको आम्दानीमाथि प्रभुत्व नजमाउने कुरै भएन । त्यसमा पनि तिनीहरूबाटै पुरस्कृत भएपछि तिनका कर्तुत उजागर गर्न पत्रकारलाई गाह्रो पर्छ ।

राजनीतिक दलले दिने पुरस्कारले पत्रकारलाई कार्यकर्ताको हैसियतमा थन्क्याउन चाहन्छ । संघसंस्थाले दिने पुरस्कारले उसप्रतिको आलोचनात्मक क्षमता भुत्ते बनाइदिनसक्छ । सरकारले दिने पुरस्कारले उसका गलत रवैयाहरूप्रति आँखा चिम्लिन पत्रकारलाई प्रेरित तुल्याउँछ ।

पुरस्कारको ओइरोले पत्रकारको सत्य खोज्ने जिम्मेवारी र विकृतिप्रति आलोचनात्मक बन्ने क्षमतामा धक्का पुर्‍याउँछ  भन्ने मान्यताबाट प्रेरित भई पुरस्कार नस्वीकारिएका दृष्टान्त पनि छन् ।

भारतीय पत्रकार निखिल चक्रवर्ती (सन् १९१३–१९९८) ले सन् १९९० को ‘पद्म भूषण’ सम्मान अस्वीकार गरेका थिए, जुन सरकारी स्तरबाट प्रदान गरिने तेस्रो उच्च सम्मान हो । अर्का भारतीय पत्रकार खुसवन्त सिंह (सन् १९१५–२०१४) ले  आफूले सन् १९७४ मा पाएको ‘पद्म भूषण सम्मान–१९७४’ सन् १९८४ मा फिर्ता गरेका थिए । अमृतसरस्थित स्वर्णमन्दिरमा घटित घटनामा सरकारले ज्यादती गरेको भन्दै सम्मान फिर्ता गरेका थिए, उनले ।

जर्मनीको लोकप्रिय अखबार ‘स्वीटड्वेच जाइटुङग्’ ले चर्चित जर्मन पत्रकार हेनरी नानेन (सन् १९१३–१९९६) को नाममा स्थापित पत्रकारिता पुरस्कार अस्वीकार गरेको थियो । अमेरिकाको पुलिट्जर पुरस्कारकै हाराहारीकै सम्मानजनक मानिने उक्त पुरस्कार खोजी पत्रकारिताका लागि सन् २०१२ मा दिने घोषणा गरिएको थियो । ‘द टाइम्स अफ इन्डिया’ का पत्रकार अक्षय मुकुलले प्रतिष्ठित ‘रामनाथ गोयन्का पत्रकारिता पुरस्कार, २०१६’ अस्वीकार गरेका थिए ।

प्रस्तुत दृष्टान्तले पुरस्कारप्रतिको आलोचनात्मक दृष्टिकोणको पृष्ठपोषण गर्छ  । अर्कोतिर, नेपालजस्तो राजनीतिक अस्थिरता, पत्रकारले न्यून वेतनमा काम गर्नुपर्ने अवस्था एवम् सामाजिक असुरक्षा कायम रहेको मुलुकमा पत्रकारलाई पुरस्कृत गर्ने कार्यले आशंका जन्माउँछ । पुरस्कार दिने र लिने दुवैले ‘कुरोको चुरो’ नबुझेका होइनन् तर सबै ‘तैँ चुप मै चुप’ छन् ।

पत्रकारलाई दिइने पुरस्कारबारे यसप्रकारको टीकाटिप्पणी गरिरहँदा पुरस्कारको गरिमा र प्रतिष्ठामाथि प्रश्न उठाएको अर्थ नलागोस् । निर्मल विचारले प्रदान गरिएका पुरस्कारबारे केही भन्नु छैन । पत्रकारिताको निष्पक्षतामा प्रभाव नपर्ने गरी स्पष्ट मापदण्ड तयार गरेर स्वतन्त्र तरिकाले प्रदान गरिएका पुरस्कारको महत्वलाई नकार्न सकिन्न ।

[साभार: अन्नपूर्ण टुडे । असोज २७, २०७४ ।]


Sunday, October 8, 2017

दोहोरीका किंवदन्ती

–यमबहादुर दुरा

भदौरे झरीले निथ्रुक्कै भिजेको काठमाडौंमा एक बिहान भेट हुँदा अमरविरही  गुरुङ हाँसीखुुसी देखिन्थे । धेरैलाई अतीतप्रति गुनासो हुन्छ, तर भने अतीत सम्झेर वर्तमानमा रमाइरहेका रहेछन्, भविष्यको चिन्ता अन्त कतै छाडेर ।

‘स्याउली पलाइछ, नरोऊ न निरमाया सुख कोलाई छ’, ‘सलल बग्यो गण्डकी...’, ‘खोली रसायो...’, ‘मौरी भुल्यो फूलको रसैमा...’,  ‘गोगनपानीमा...’ जस्ता गीतले लोकगीत अनुरागीहरूलाई भुतुक्कै पारेका उनी यतिबेला शान्त छन् । ६३ वर्षको उमेरले पनि गुरुङलाई यो अवस्थामा पुर्‍याएको हुनुपर्छ । तर, जसै कसैले विगत सम्झाइदिन्छन्, उनी रौसिहाल्छन् ।

‘त्यो जमानाको कुरै बेग्लै । परालको टौवामुनि बसेर तीन दिनसम्म गीत गाइन्थ्यो । सम्झँदा कथाजस्तो लाग्छ’,  ५० भन्दा बढी लोकदोहोरी अल्बममा स्वर भरेका उनी भन्छन्, ‘अहिलेका भाइबहिनीहरूले ‘तीनदिनसम्म पनि गीत गाइन्छ र’ भन्छन ।’ गुरुङका दृष्टिमा मनोरञ्जनका धेरै विकल्प नभएको त्यतिबेलाको समाजमा लोकगीतले उच्चस्थान ओगटेको थियो । कला र गला भएका प्रतिभाहरू पनि प्रशस्त थिए ।

‘मलाई त गाउँघरकै पुराना गायिकाहरूसँग गाउन मन पर्छ । कालो अक्षर नचिनेका उनीहरूको मुखको सरस्वतीको बास छ ।’ उनी मनोभाव  प्रकट छन् । गायिका भनेर नचिनिएका ती गायिकाहरूको श्लील, सरल, विनयशील र भावुक व्यवहारबाट आज पनि उनी असाध्यै प्रभावित छन् । तिनका हृदयमा छचल्किएका भावुकताको छालले उनको हृदयको अन्तरकुन्तरलाई छोइरहन्छ ।

तिनका गलाबाट नपत्याउँदो किसिमले निस्कने उच्चकोटिको भावुक र विनयशील भावोद्गार सम्झेर उनको मन गाउँघरतिरै पुग्छ । ‘मेरो माया काँबाट आउनुभो, मेरो लागि के दुःख पाउनुभो’, ‘मै गीत गाउँ कि, सुनखानीमा पितलु मिसाउँ कि’, ‘मायासँग भेट भयो बेलुकी, रेशम–गोली धागोले जेलुम् कि’, ‘यो मायालाई देखने बित्तिकै, लाग्यो मलाई झुल्केघाम जत्तिकै’ जस्ता मर्मैमर्मले भरिएका भावोद्गार प्रकट गर्ने गुमनाम गायिकाहरूप्रति उनी असीम श्रद्धाभाव पोख्छन् ।

आफ्ना छोरी–बुहारीहरूलाई आमा–बा र सासू–ससुराले नै गीत गाउन प्रेरित गर्ने उदार समाज पनि उनले धेरै देखे । गीतको जातै मोहनी । गीतको माध्यमबाट भावना साटासाट गरेपछि थाहै नपाई भावनात्मक सामीप्य बढ्न जाने । घर फर्कने बेलामा छुट्टिन नसकेर रुवाबासी चल्ने । उनी यस्तै किस्सा सुनाउँछन् ।

‘गीतको खालबाट छुट्टिएर बिदावादी हुने बेलामा असाध्यै मुश्किल हुने । केटीहरूका आँखा आँसुले भरिएका हुन्थे । गीत सुनेर बसेका केटीका आमा–बा पनि सँगसँगै रुन्थे’, उनी विगत सम्झेर भावुक हुन्छन् ।

‘नजाउन् भनेर उनीहरू बाटो छेक्न आउँथे । हामीले घर फर्किने कुरामा अड्डी कसेपछि परपरसम्म छोड्न आउँथे । कहिलेकाहीँ त छुट्टिन नसकेर त्यहीबाटै फेरि उतै फर्किन्थ्यौँ ।’ उनी अतीतलाई सम्झेर नोष्टाल्जिक बन्छन् ।

२०४१ सालमा उनले रेडियो नेपालमा पहिलो पटक स्वराङ्कन गराए । त्यतिबेला स्वराङ्कित गीतको बोल थियो, ‘स्याउली पलाइछ, नरोऊ न निरमाया सुख कोलाई छ’ । स्रोताले निकै मन पराए । तर गीतको शब्द त्रुटिपूर्ण रहेछ । उनले आफ्नी आमा धनमाया गुरुङबाट यस्तै सुनेर रेडियोमा गाएका थिए । तर उनले पछिमात्र थाहा पाए, आमाले ‘प्याउली’ भनी गाउँदा उनले ‘स्याउली’ सुनेछन् ।

गुरुङलाई कोठामा बसेर रचना गरिएका गीतभन्दा  गाउँबस्तीमै गुञ्जने अर्ग्यानिक गीत मनपर्छ । उनलाई मनपर्ने गीतमध्ये एउटा टुक्का यस्तो छ,  ‘मेरो माया छ भने बोल, शिला–पत्थर ठोकेको मन खोल’ । मेलापातमा सुनेको यो गीत उनले जस्ताको तस्तै  रेडियो नेपालमा स्वराङ्कन गराएका थिए ।

गुरुङसँग यस्ता संस्मरण र किस्साको त खात नै छ । कुराकानीका क्रममा उनले एउटा अपत्यारिलो सत्य पस्किए । लगभग दुई दशकभन्दा अघिको प्रसंग । उनीसँग धीत मरूञ्जेल गाउन नपाएका गायिकाहरू मौका पर्खेर बसेका रहेछन् । यस्तैमा पाँच गायिकाले उनलाई झुक्याएर एकाबिहानै नगरकोट पुर्‍याए  । ‘पाँचदिनसम्म गायनको कठाघरा बसेर उनीहरूसँग लगातार दोहोरी गाउनुपर्‍यो। सम्झँदै अनौठो लाग्छ' -सुन्दा किंवदन्तीजस्तो लाग्ने प्रसंग सुनाउँदै उनी मुस्कुराउँछन् ।

रामरमितामा भुल्ने रौसे स्वभावका गुरुङले आफ्नो थरको अघिल्तिर नसुहाउने ‘विरही’ शब्द थपे । किन ? ‘अमर गुरुङ मात्र भन्दा अरुसँग नाम जुध्ने भएकाले मले यसो गरेँ । मेरो नाम र स्वभाव मिल्दैन ।’ उनी स्पष्टीकरण दिन्छन्, ‘अहिले विरही नाम नराखेको भए हुने थियो जस्तो लाग्छ । मेरो सिको गरेर पछिल्लो पुस्तका गायकगायिकाले विरही नाम राख्न थालेका छन् ।’

समयले काँचुली फेर्‍यो । समयको प्रवाहसँगै लोकगीतले पनि बाटो फेरेको छ । यसबारे उनी बेखबर छैनन् । हिजो स्वच्छ मनोरञ्जनका लागिमात्र गाइने लोकगीत अहिले बजारू सूत्रमा बाँधिएकोमा उनी चिन्तित छन् । उनको विश्लेषण छ, ‘हिजोको लोकगीतको ध्येय माया र सदभाव साट्नु थियो, अहिले जसरी भए पनि बिक्रीयोग्य बनाउनु नै यसको ध्येय बनेको छ ।’

गुरुङ २०३९ सालमा प्रतियोगितात्मक दोहोरीगीतको क्षेत्रमा प्रवेश गरेका हुन् । मेलापात, रोदीघर र अन्य सामाजिक जमघटहरू बाहेक व्यावसायिक गायकमा प्रवेश गरेकै ३५ वर्ष नाघेको छ । उनी २०५७ सालमा स्थापित 'राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपाल' को संस्थापक अध्यक्ष समेत हुन् ।

दोहोरीगीतको क्षेत्रमा होमिएर उनले के पाए, के गुमाए ? हिसाब–किताब गाञ्जागोल छ । तर, एउटा कुराचाहिँ प्रष्ट छ, उनले स्रोताबाट माया र सद्भाव पाए । रेडियो नेपालमा ६० भन्दा बढी लोकगीत स्वराङ्कन गराएका गुरुङ विभिन्न संघसंस्थाबाट अभिनन्दिन भएका छन् । राष्ट्रले उनलाई गोरखा दक्षिणबाहु (चौथो) बाट विभूषित गरेको छ ।

३१ भदौमा उनी ‘अमरविरही गुरुङ एकल साँझ’ मा गुञ्जिए, जुन उनको पहिलो एकल साँझ थियो । उनको गलाबाट गीत सुनेर स्रोता/दर्शक पुनः एकपटक विगततिर पर्किए ।

उनी तीन छोरा, दुई छोरी र आठ नाति–नातिनाका धनी हुन् । लमजुङको घरपोखरामा जन्मिएका उनी यतिबेला धर्मपत्नी इन्द्रमाया गुरुङका साथ गैंडाकोटमा बस्छन् । जीवन बु्ढ्यौली पयतिर ढल्कँदै गए पनि उनको सक्रियतामा विराम लागेको छैन । ‘बाँकी समय लोकगीतकै विकासमा खर्च गर्छु ।’ उनी आफ्नो भावी योजना दृढतापूूर्वक अघि सार्छन् ।

[साभार: हिमाल । असोज २२-२८, २०७४ । सामान्य परिमार्जनसहित ।]

[अद्यावधिक: २०७४।०६।२५]