–यमबहादुर दुरा
प्रथम र दोस्रो
विश्वयुद्ध । सबैलाई
एकपटक सोंच्न बाध्य
तुल्याउने रक्तरञ्जित इतिहास ।
सौभाग्य भनौं वा
दुर्भाग्य, गोर्खा सैनिकहरू इतिहासका
यी रक्तरञ्जित अध्यायहरूका
साक्षी बन्न पुगे
। प्रथम विश्वयुद्धका
भुक्तभोगी गोर्खा सैनिकहरू अब
यस धर्तीमा छैनन्
। दोस्रो विश्वयुद्ध
देख्ने–भोग्नेहरू अझै जीवित
छन्, त्यो पनि
औंलामै गन्न सकिने
जति मात्र ।
उनीहरू डाँडामाथिको घामजस्ता छन्
। आज हो
कि भोलि, कुनै
भरोसा छैन ।
उनीहरू एकपछि अर्को गरी
अस्ताउँदैछन् ।
दोस्रो विश्वयुद्धको दुर्लभ साक्षीमध्येका एक
क्याप्टेन बखानसिंह दुरा केही महिनाअघि यस संसारबाट
बिदा हुनुभयो ।
उहाँ केही वर्षदेखि
पोखरामा बस्दै आउनुभएको थियो
। उमेरले एक शताब्दीमा
टेक्दै गर्दा २०७० साल
भदौ २० गते उहाँ यस धर्तीबाट
सदाका लागि अस्ताउनुभयो
।
उहाँको देहावसनबाट नेपाली समाजले इतिहासको एउटा दुर्लभ साक्षीलाई गुमायो । यससँगसँगै उहाँको लगभग ८० वर्ष लामो दाम्पत्य जीवनको अध्याय पनि अन्त्य भयो ।
उहाँको देहावसनबाट नेपाली समाजले इतिहासको एउटा दुर्लभ साक्षीलाई गुमायो । यससँगसँगै उहाँको लगभग ८० वर्ष लामो दाम्पत्य जीवनको अध्याय पनि अन्त्य भयो ।
उहाँको जीवनकहानी कम घतलाग्दो छैन । फौजी सिंदुर पहिरिएर पहिलो छुट्टीमा घर आउँदा उहाँले मैखु दुरालाई सिंदुर पहिर्याउनुभएको थियो । त्यतिबेला बेहुलाको उमेर २० वर्ष थियो भने बेहुली मैखु दुराको उमेर मात्र १२ वर्ष । अहिले मैखु दुरा ९२ वर्षकी हुनुभयो ।
अहिले क्याप्टेन बखानसिंह दुराका
१४ पनाति, १८
पनातिनी, तीन खनाति
र तीन खनातिनीसहित
८७ जना शाखा–सन्तान छन् ।
उनीरूको नसामा बखानसिंह दुराको
रगत जीवित छ
। उहाँले आठ
दशक लामो दाम्पत्य
जीवन बिताउन पाउनुभयो
र खानाति–खनातिनीसम्मलाई
काखमा खेलाउन पाउनुभयो
। यो चानचुने
कुरा होइन ।
उहाँको जस्तो शौभाग्यपूर्ण जीवन
अबका दिनमा कमैले
भोग्न पाउलान्, ‘लेट
म्यारिज्’ र कम
सन्तान जन्माउने चलनले गाँजेको
वर्तमान घडीमा ।
पल्टनिया सँगीहरूसँग क्या. बखानसिंह दुरा |
सन् १९३९ ।
दोस्रो विश्वयुद्धको नरसंहारकारी आगो सल्किँदै
थियो । पल्टनमा
लडाइँको तयारीसम्बन्धी तालिम चल्दै थियो
। यत्तिकैमा लडाइँको
शंखघोष भयो ।
उहाँ तत्कालीन ब्रिटिश–इन्डियाको तर्फबाट विभिन्न
स्थानमा मर्ने र मार्ने
खेलमा खटिनुभयो ।
यसै मेसोमा सन्
१९४५ मा उनी
जापानसँगको लडाइँमा बर्मामा खटिनुभयो
। त्यतिबेला जापानी
सैनिकले हानेको बमको टुक्राले उहाँको बायाँ
कोखामा निशाना लगायो ।
उहाँको आन्द्र–भुँडी बाहिर
निस्कियो । उहाँको सहकर्मीले त्यसलाई पुनः पेटभित्र
हुलिदियो । उहाँ
पाँच दिनसम्म बेहोश
हुनुभयो ।
युद्ध जारी रहेको
अवस्थामा उहाँलाई तत्कालै अस्पताल पुरयाउने व्यवस्था
हुन सकेन ।
केही दिन क्याम्पमै
घाइते शरीर लिएर
बसेपछि उनलाई ढाका (बंगलादेश)
स्थित अस्पतालमा भर्ना
गरियो । उपचारपछि
निको भएर लडाइँमा
जाने बेलामा एक्सरे
गर्दा पेटमा बमको
छर्रा बाँकी रहेको
भेटियो । डाक्टरको
सल्लाहअनुसार अपरेशन गरेपछि उहाँले
तीन महिना अस्पतालमै
बिताउनुभयो । त्यसपछि
उहाँ तन्दुरुस्त हुनुभयो
। लडाइँमा पुनः
सामेल हुने तयारी
गर्दै गर्दा दोस्रो
विश्वयुद्ध सकिएको घोषण भयो
। उहाँ युद्धको
विभीषिकाबाट बाँच्नुभयो । उहाँको
मुखबाट युद्ध र फौजी
जीवनसँग गाँसिएका यस्ता संस्मरणहरू
श्रृङ्खलाबद्ध रूपमा सुन्न पाइन्थ्यो ।
दोस्रो विश्वयुद्धताका उहाँको तलब
१६ भारतीय रुपैयाँ
थियो । उहाँको
त्यतिबेलाको खर्चको फाँटवारी पनि
कम रोचक छैन
। उहाँले एक
ठाउँमा भन्नुभएको छ, ‘१६ रुपैयाँमध्ये १२ रुपियाँ
परिवारलाई दिइन्थ्यो, ३ रुपियाँ
छुट्टीको लागि काटिन्थ्यो
भने १ रुपैयाँमात्र
हामीले पाउँथ्यौं ।’
उहाँको पल्टनिया गफ निकै
चाखलाग्दो हुन्थ्यो । गाउँघरमा
मारुनी र सोरठी
नाँचेर पल्टनमा पुगेका गोर्खाली
ठिटाहरू विदेशी शैलीको नाँचमा तालमा
ताल मिलाएर नाँच्न
नजान्दा बेढङ्गे देखिन पुगेको,
पानी जहाजमा हप्तौं
यात्रा गर्दा फौजी जवानहरू
‘मोसन सिकनेस’ ले
इन्तु न चिन्तु
भएको, छुट्टीमा घर
फर्कदा ‘ट्रन्जिट
क्याम्प’ मा ‘लैनछोकडी’
को नगदमुखीमा मायामा
भुलेर लाहुरेहरू रित्तो
खल्ती लिएर घर
फर्किएको, गाउँका सोल्टिनीहरूले दिएको
सम्झना–कोसेलीको पोको बोकेर
पल्टने ठिटाहरू आँसु पुछ्दै
हाँजिर हुन गएको
आदि । अब
हत्तपत्त सुन्न नपाइने तत्कालीन
समयको फौजी संस्करणका
यी कहानीहरू आफैंमा
दुर्लभ विषय बनेका
छन् ।
जवान छँदा क्या. बखानसिंह दुरा |
२४ वर्षको पल्टनिया जीवनको
थुप्रै उतारचढाव पार
गरेपछि उहाँ सन्
१९५७ मा सैनिक
सेवाबाट सेवा निवृत्त
हुनुभयो । शुरुमा उहाँको पेन्सन ६० रुपैयाँमात्र थियो । उहाँले
सन् १९६० देखि
१९६८ सम्म पक्लिहवामा
‘असिस्टेन्ट रिक्रुटिङ अफिसर’ (एआरओ)
को रूपमा काम
गर्नुभयो । यस
क्रममा उहाँले रोटो र
भोटोको खोजीमा भौंतारिएका गाउँबस्तीका
थुप्रै बेरोजगार युवाहरूलाई बेलायती
सेनामा भर्ती गराउनुभयो ।
यद्यपि राजनीतिक वृत्तमा गोरखा
भर्ती केन्द्रको पक्ष
र विपक्षमा बहस चलेको बहस आजपर्यन्त कायमै छ ।
एआरओको जिम्मेवारी पूरा गरेपछि
उहाँ पूर्ण रूपमा
समाजसेवामा होम्मिनुभयो । वि.सं.
२०२४ तिर उहाँ
तत्कालीन रत्नदेवी गाउँ पञ्चायतको
कार्यवहाक प्रधानपञ्च समाजको सेवामा
लाग्नुभयो । उहाँ स्थानीय विद्यालयहरू— सर्वोदय मावि (च्यानपाटा),
देवी सदन प्रावि
(तुर्लुङकोट) र सरस्वती
सदन मावि (ठूलोस्वाँरा) — को सञ्चालक समितिमा
रहेर शिक्षा सेवामा
सरिक हुनुभयो ।
वि.सं. २०३९ सालमा
रत्नदेवी गाविस टुक्रिएर पुरानकोट
गाउँ पञ्चायत र
सिंदुरे गाउँ पञ्चायत
बनेपछि उहाँ सिंदुरे
गाउँ पञ्चायतको प्रधानपञ्च
हुनुभयो । त्यसपछि
उहाँ गाउँठाउँको विकासमा
जुट्नुभयो । राजनीतिक
पद लिएर पनि
राजनीति नगरिकनै समाजसेवामा जुट्नुभयो
। उहाँ पाटीपौवादेखि
बाटोघाटोसम्मको स्थानीय आवश्यकताअनुरूपका विकास
निर्माण कार्यमा जुट्नुभयो ।
त्यस क्षेत्रमा उहाँ
निस्वार्थी र कर्मठ
समाजसेवीको रूपमा चिनिनुहुन्छ ।
पहिचानको निम्ति छटपटाइरहेका अल्पसंख्यक दुरा समुदायको इतिहास खोज्ने, शाहवंशीय राजसंस्थाको
स्थापनासँग गाँसिएको लमजुङको दुराडाँडास्थित
ऐतिहासिक स्थल सिंदुरे
ढुङ्गाको उत्थान र विकास,
सिंदुरे ढुङ्गामा फूटबल मैदान
निर्माण, राणाशासनको अवशेषको रूपमा
रहेको बेठबेगारी प्रथा
हटाउनेलगायतका लोककल्याणकारी कार्यमा उहाँको
उल्लेखनीय भूमिका रह्यो ।
क्या. बखानसिंह दुरा श्रीमती मैखु दुराका साथ (तस्बिर : किसान दुरा) |
उहाँको निधनबारे आमसञ्चार माध्यमहरू
बेखबरजस्तै भए ।
भनिन्छ, बेलायतमा सडकमा ‘वार
भेटरान’ हिँडेको देखेमा हरेक
व्यक्तिले श्रद्धापूर्वक ‘स्यालुट मार्ने ' गरिन्छ । तर
यहाँ इतिहास रचयिताको
मृत्युको खबरसम्म पनि आमसञ्चार माध्यममा नआएको
घटनालाई अनौठो मानिँदैन ।
इतिहास रचयिताकै इतिहास नलेखिने विडम्बनापूर्ण अवस्था हामीकहाँ छ
। आफैं इतिहास बनिसक्नुभएका इतिहासका दुर्लभ साक्षी तथा लोकहितैषी क्याप्टेन बखानसिंह दुराप्रति असीम श्रद्धा र लाख लाख 'स्यालुट' ।
[साभार: गोरखपत्र 'शनिबार' (कात्तिक
२३,२०७०)। सामान्य परिमार्जनसहित]
[अद्यावधिक : २०७२।०६।१९ ]
[अद्यावधिक : २०७२।०६।१९ ]
No comments:
Post a Comment