Wednesday, August 15, 2018

न्यायालयबारे बहस

—यमबहादुर दुरा

यतिबेला देशको न्यायालय चर्चाको शिखरमा छ । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीसँग जोडिएका प्रकरणले न्यायालयबारे सार्वजनिक बहसलाई निम्तो दिएको छ । यसभन्दा अघि पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको आचरण र कार्यशैलीले पनि लामै वादविवादपूर्ण बहस निम्त्यायो  । यसले न्यायालयबारे नेपथ्यमा हुने संवादलाई चौबाटोमा मञ्चन भएको संवाद जस्तै खुलस्त पारिदिएको छ । नागरिक सचेतनाका लागि यस्ता बहस हितकर छन् ।
ग्राफिक्स: अन्नपूर्ण पोष्ट । 

नागरिकको न्यायिक अधिकारलाई चुस्त—दुरुस्त राख्न न्यायालयबारे सार्वजनिक बहस हुनैपर्ने थियो । बहसको ढोका खुलेको छ । सार्वजनिक वृत्तमा भएको बहसले नागरिकलाई न्यायालयबारे थप सचेत र जानकार तुल्याएको छ । हालका दिनमा विकासित घटनाक्रमले न्यायालयमा थुप्रिएका जटिलता र विकृतिलाई छताछुल्ल पारिदिएको छ । यस्ता बहसले नागरिकको न्याय सम्पादन हुने ठाउँ कति विकृतिग्रस्त छ भन्ने तथ्य बाहिर आएको छ । सार्वजनिक बहसबाट यस्ता अरू थप तथ्य बाहिर आउनुपर्छ ।

आजभन्दा ११ वर्षअघि सन् २००७ मा सदाचारसम्बन्धी अन्तर्राष्ट्रिय निकाय ‘ट्रान्स्पेरेन्सी इन्टरनेसनल’ ले सार्वजनिक गरेको ‘ग्लोबल करप्सन रिपोर्ट’ नेपालमा न्यायालय सबैभन्दा भ्रष्ट निकाय हो भनेर उद्घोष गरिसकेको थियो । अहिले न्यायाधीशका आचरणगत पक्ष, तिनका शैक्षिक योग्यता, जनसाधारणको अहित हुने गरी गरिएका विवादास्पद पैmसला आदिका तमाम फेहरिस्त एकपछि अर्को गरी बाहिर आइरहेका छन् । यी त्यस्ता भयानक दृष्टान्त हुन्, जसले न्यायपालिकामा विकृतिग्रस्त छ भन्नका लागि पर्याप्त आधार दिएका छन् ।

न्यायालय न्यायको मन्दिर भएकाले यसले गरेका फैसला वृहत्तर सामाजिक हितततर्फ परिलक्षित हुनुपर्छ । न्यायालयको फैसला नागरिकले गौरव गर्ने खालका हुनुपर्छ । उच्चतम् नैतिक धरातल भएका विवेकशील न्यायाधीशले मात्र यस्तो मर्यादित फैसला गर्न सक्छन् । न्यायालय आमनागरिकको अनुभूति र अपेक्षाभन्दा पर जान सक्दैन ।

 विगतमा नागरिकको अपेक्षाविपरीत पथभ्रष्टको छवि भएका व्यक्ति वा संस्थका पक्षमा निर्लज्ज किसिमको फैसला भएका छन् । यसबाट न्यायालप्रति जनआक्रोशको ग्राफ बढेको छ । अदालतले नागरिकबाट पाउनुपर्ने सम्मान र आस्था गुमारहेको छ । न्याय सम्पादनका क्रममा न्यायाधीशले नैतिक धरातल गुमाएका दृष्टान्त सप्रमाण सञ्चारमाध्यममा आएका छन् । सचेत समाजले न्यायालयको यस्ता विसंगत पक्षप्रति आँखा चिम्लन मिल्दैन ।

विगतमा न्यायालयबारे हुनुपर्ने जति विचार—विमर्श भएको थिएन ।  २०४६ सालको राजनीतिक परिवर्तनको पछिसम्म पनिन्यायालय एकप्रकारको अभेद्य चट्टानजस्तै थियो । नागरिकले न्यायालयको कार्यसम्पादनसम्बन्धी विधि र प्रक्रियाबारे धेरै कुरा थाहा पाएका थिएनन् तर  ‘अदालतको मानहानी’ बारे भने जानकार थिए । विगतमा यसलाई एउटा मनोवैज्ञानिक अस्त्रको रूपमा प्रयोग गरिएको थियो । यसको मूल सन्देश थियो, अदालतबारे टीकाटिप्पणी गर्नुहुँदैन ।

न्यायालयबारे मुख खोल्नै नपाइने हुँदै होइन । कोही पनि कानुनभन्दा माथि छैन । न्यायमूर्ति र न्यायालयबारे आधारहीन टिप्पणी गर्न पाइँदैन तर प्रमाण पुर्‍याएमा टीकाटिप्पणी गर्न पाइन्छ । यो आधारभूत कुरा बुझ्न र बुझाउन पनि धेरै समय लाग्यो । अदालतबारे आवश्यक टीकाटिप्पणी गर्नुपर्छ । यो नागरिकको नैसर्गिक अधिकार हो । यसले न्यायालयको विसंगति र विकृति हटाउन सहयोग गर्छ ।

यो वास्तविकता जन—जनको फराकिलो घेरासम्म पुग्न धेरै समय लाग्यो । सर्वसाधारण नागरिकको त कुरै छाडौं, समाजको सचेत वर्ग भनेर चिनिने पत्रकारिता जगत पनि ‘अदालतको मानहानी’ भन्ने वाक्यांशसँग त्रस्त थियो । आफूसँग कुस्त प्रमाण भए पनि पत्रकारहरू न्यायालयबारे लेख्न डराउँथे । ‘अदालतको मानहानी’ गरेको अभियोगमा विगतमा पत्रकारहरूले जेल सजाय भोगेका दृष्टान्त छन् । अहिले परिस्थितिमा सुधार आएको छ । विगतको तुलनामा न्यायालयको विकृतिबारे धेरै कुरा बाहिर आएका छन् तर पर्याप्त रूपमा आएका छैनन् । न्यायालयबारे अझै पनि धेरै तथ्य बाहिर आउन बाँकी छ ।

न्यायालयका विकृतिबारे श्रृङ्खलाबद्ध रूपमा खोजीनीति गर्ने र तिनलाई जनसमक्ष पस्कन सकिने ठाउँहरू छन् । यसमध्ये न्यायाधीशको नैतिक आचरण एउटा पक्ष हो । सबै पेशा—व्यवसायमा आचार संहिताको पालना गर्नैपर्छ । त्यसमा पनि उच्चतम् आदर्शमा बाँच्नुपर्ने न्यायमूर्तिहरूले आचार संहिताको कति पालना गरेका छन् ? यो एउटा पेचिलो प्रश्न हो ।

‘न्यायाधीश आचार संहिता, २०६५’ को प्रस्तावनाको तेस्रो बुँदामा भनिएको छ, ‘न्याय पद्धतिप्रति जनआस्था र विश्वास अभिवृद्धि गर्न निरन्तर प्रयास गर्दै तथा न्यायपालिकाको प्रतिष्ठालाई उच्च राख्ने सन्दर्भमा व्यक्तिगत तथा सामूहिक रूपमा समेत न्यायाधीशहरूद्वारा न्यायिक पदलाई सार्वजनिक उत्तरदायित्वको पदको रूपमा सम्मान गर्ने परिपाटी विकास गर्दै न्यायाधीशको व्यक्तित्व एवं वैधानिक हितको समेत संरक्षण गर्न’ आचार संहिता जारी गरिएको हो ।

सोही आचार संहिताको दफा ३ (६) मा लेखिएको छ, ‘न्यायिक स्वतन्त्रताको लागि अपरिहार्य रहेको न्यायपालिकाप्रतिको जनआस्था तथा जनविश्वासको अभिवृद्धि गर्न न्यायाधीशले उच्चस्तरको न्यायिक आचरण प्रदर्शन र प्रवद्र्धन गर्नुपर्दछ ।’ यसप्रकार आचार संहिताले न्याय पद्धतिप्रति जनआस्था अभिवृद्धि गर्न र न्यायिक पदलाई सार्वजनिक उत्तरदायित्वको पद बनाउन न्यायाधीशमाथि धेरै गहन जिम्मेवारी सुम्पेको छ । तर व्यवहारमा त्यस्तो पाइँदैन ।

यसको एउटा दृष्टान्तको रूपमा न्यायमूर्ति र राजनीतिक शक्तिको अपवित्र गठबन्धलाई लिन सकिन्छ । यसलाई न्याय सम्पादनको क्षेत्रमा देखिएको भयानक गलत प्रवृत्तिको रूपमा लिन सकिन्छ । विगतमा राजनीतिक भागबण्डाका आधारमा न्यायाधीशहरू नियुक्त गरिएको तथ्य खुल्ला रहस्य नै बन्यो ।

यससँगै, राजनीतिक आशीर्वाद प्राप्तिका लागि न्यायाधीशहरू पार्टी कार्यालयमा शरणागत भए भन्ने समाचारले अखबारका पाना रङ्गिए । यसले न्यायमूर्तिहरूको निष्ठा र सदाचारमाथि गम्भीर प्रश्न उठाएको छ । उच्चतम् आदर्श र निष्पक्षता अपनाउनुपर्ने व्यक्ति पार्टीको खल्तीमा पुगेपछि यसको नतिजा के हुन्छ ? भनिरहनु नपर्ला ।

तत्कालीन कायम मुकायम न्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइमा पनि राजनीतिक गन्ध भेटियो । न्यायाधीशलाई राजनीतिक कित्तामा उभ्याउने भयो । संसदीय सुनुवाइका बेला राजनीतिक आस्थाका आधारमा न्यायाधीशलाई कसैले बोक्ने र कसैले पछार्ने गरेको प्रष्टै देखियो ।

राजनीतिक वृत्तले सुल्टो बाटो पहिल्याएको भए न्यायाधीशको गुण र दोषको आधारमा समर्थन र विरोध गर्नुपथ्र्यो तर त्यसो भएन । न्यायाधीशलाई राजनीतिक आस्थाका आधारमा पृष्ठपोषण वा विरोध गर्ने काम भयो । यसबाट राजनीतिक वृत्त गलत धरातलमा उभिएको प्रष्टै देखिन्थ्यो ।

लोकतन्त्रमा न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाबीच शक्ति पृथकीकरण र सन्तुलन अपरिहार्य छ भन्ने चर्चा चलिरहन्छ  । जगजाहेर नै छ, लोकतन्त्रको श्रीवृद्धिका लागि यी तीन निकायबीच शक्ति सन्तुलन हुनु आवश्यक छ ।  तर नेपालको सन्दर्भमा यी निकायको रचनागर्भमै दोष देखिएको छ । परिणमस्वरूप शक्ति सन्तुलन सहज हुन सकेको छैन । राजनीतिक वृत्त नीतिपरायण नभएसम्म शक्ति सन्तुलन सम्भव छैन ।

 राजनीतिक लाभ—हानिका लागि पर्दापछाडिको खेलमा सामेल भइरहेका छन् । परिस्थितिवश पासा अर्कैतिर पल्टिएपछि भाका फेर्ने चलन छँदैछ । न्यायालयमाथि आक्रमण भयो भनी टिप्पणी राजनीतिक वृत्तबाट आएको टिप्पणीलाई यसैको दृष्टान्त मान्न सकिन्छ ।

यतिबेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले न्यायालयको स्वतन्त्रताको पक्षमा बोलिरहेको छ । स्मरणीय छ, उसको इतिहास पनि चोखो छैन । त्यही नेपाली कांग्रेसले न्यायालयबाट स्वार्थपूर्ति नभएपछि तत्कालीन नेकपा माओवादीसँँग मिलेर तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध २०७४ साल वैशाख १७ गते महाअभियोग प्रस्ताव पेश गर्‍यो ।

यो घटना पुरानो भइसकेको छैन । परिआउँदा कसैले पनि स्वार्थपूर्ति गर्न छाडेका छैनन् । आफू नीतिपरायण नबनेसम्म अरूलाई मात्र दोष दिनुको कुनै तुक छैन । राजनीतिक शक्ति जीत—हारको खेलमा सामेल भएपछि त्यसको नतिजा स्वीकार्नुको विकल्प छैन ।

राजनीतिक शक्तिले न्यायालयमाथि गरेको हस्तक्षेपबारे चर्चा गर्दा न्यायालयमा विद्यमान थप बेथितिबारे चर्चा गर्नैपर्ने हुन्छ । यहाँनेर एउटा दृष्टान्त छ । लामो कार्यकाल पूरा गरेर ‘करिअर’ को अन्तिम बिसौनीतिर प्रस्थान गर्न लागेका न्यायाधीशको शैक्षिक योग्यता विवादको विषय बन्यो । यो लोमहर्षक विषय हो । न्याय सेवामा प्रवेश गर्ने बेलामै यस्तो विषयको छिनोफानो हुनुपर्ने हो । यो प्रकरणले न्यायाधीशको ‘रिक्रुट’ गर्ने संयन्त्रको नियत र कार्यक्षमतामाथि पनि प्रश्न उठ्छ । यसले हाम्रो न्यायालयमा छिदै्रछिद्रा छन् भन्ने पुष्टि गर्छ ।

सतहमा आएका तमाम टीकाटिप्पणीले न्यायालयको न्याय सम्पादनसम्बन्धी हैसियत र विधिमाथि आशंका निम्त्याएको छ । न्यायिक दृष्टिले नागरिकको आड—भरोसाको सर्वोच्च शिखर बन्नुपर्ने न्यायालय प्रश्नको घेरामा पर्नु दुःखद पक्ष हो । न्यायालय यस्तो अवस्थामा पुग्नुमा न्यायमूर्ति स्वयम् र राजनीतिक शक्तिको आचरणगत पक्ष नै धेरै हदसम्म जिम्मेवार देखिन्छ । न्यायालयको गुमेको प्रतिष्ठा पुनप्र्राप्तिका लागि यी दुवै पक्ष नीतिपरायण हुनैपर्छ । यिनीहरूमा व्यापक शुद्धीकरण आवश्यक छ । यो नै न्यायालय सुधारको पहिलो सर्त हो ।

[साभार : अन्नपूर्ण पोष्ट । २०७५ साल साउन ३० गते ।]

Sunday, August 12, 2018

घरेलु मदिरा निषेधको अर्थराजनीति

-यमबहादुर दुरा

तस्बिर : गुगल ।
प्रहरीले घरेलु मदिरा नष्ट गरेको प्रसङ्ग नेपाली सञ्चारमाध्यममा बरोबर दोहोरिरहने खबर हो । सामाजिक अभियन्ताहरूको उपस्थितिमा प्रहरीले मदिरा भुइँमा पोखेको दृश्य फेसबुकलगायतका सामाजिक सञ्जालमा सगौरव सेयर गरिन्छन् र कमेन्ट सेक्सनमा वाहवाही लुटिन्छन् । उनीहरूलाई लाग्दो हो, आफ्नो सुधारवादी छवि हिमालसरी चुलिँदै गएको छ । आफ्नो जयगान सुनेर देखेर प्रहरी-प्रशासन र सामाजिक अभियन्ताहरू आफैंसँग मगनमस्त हुँदा हुन् । क्या बात ! कसले छुने उनीहरूलाई !?

प्रहरी-प्रशासन र सामाजिक अभियन्ताहरूले वाहवाही लुटिरहँदा मेरो हृदय भने नराम्ररी चिमोटिन्छ । यहाँनेर, मैले अरूको सुधारवादी कामको डाह गरेको अर्थ नलागोस् । मेरो हृदय चिमोटिनुको कारण हो, घरेलु मदिरा नष्ट गरिँदा सर्वसाधारण नागरिकका आर्थिक तथा सांस्कृतिक अधिकारप्रति गरिएको ठाडो बेवास्ता ।
तस्बिर : पिक्साबे ।

 यो लोकतन्त्र हो । सही लोकतन्त्रमा नागरिकका सांस्कृतिक अधिकारको उच्च सम्मान गरिन्छ । तर हाम्रो लोकतन्त्र त्यस्तो अनौठो शासन पद्धति
हुन पुगेको छ, जसले नागरिकका सांस्कृतिक अधिकार एकपछि अर्को गरी खोसिरहेको छ । घरेलु मदिरा नियन्त्रण यसको एउटा भरपर्दो दृष्टान्त हो ।

राज्यका बागडोर सम्हाल्नेहरू साँचो अर्थमा विवेकशील छन् भने तिनले देशको सांस्कृतिक गर्भाशयलाई राम्रोसँग चिन्नुपर्छ । देशका मतवाली समुदायको जीवन पद्धति मदिराबिना ठप्प हुन्छ । वि.सं. १९१० मा जंगबहादुर राणाले जारी गरेको हुकुमी शासनको प्रतीक ‘मुुलुकी ऐन’ ले पनि उनीहरूको सांस्कृतिक अधिकारलाई स्थान दिएको थियो ।

हुन पनि मतुवाली समुदायलाई मदिराले जीवनपर्यन्त पछ्याइरहन्छ । जन्मसँग सम्बन्धित कर्मकाण्डको क्रममा बच्चाको मुखमा मदिराको थोपा चुहाइन्छ । अतिथि सत्कारको क्रममा पाहुना समक्ष घरपालुवा मदिरा टक्र्याइन्छ  । मृत्यु संस्कारमा पनि मदिरा अपरिहार्य छ । मृत व्यक्तिको चिहानमा मदिरा चढाइन्छ । यो उनीहरूको सांस्कृतिक रीत हो ।

विडम्बनावश, सरकारी कानुन घरेलु मदिराप्रति एकदमै असहिष्णु छ । ‘मदिरा ऐन, २०३१’ ले घरेलु मदिरा उत्पादन गर्नेहरूविरुद्ध जासुसी दस्ता खडा गर्ने काम गरेको छ । ऐनको दफा १५ (क) ले घरेलु मदिरा उत्पादन गर्नेहरूबारे सुराकी दिने र सबुत प्रमाण दिनेलाई पुरस्कारको प्रावधान राखेको छ । यो कानुनलाई सांस्कृतिक हिंसाको दरिलो दृष्टान्त मान्न सकिन्छ ।

संस्कृतिलाई कानुन लगाएर घिच्याउन मिल्दैन । हाम्रो देशमा बहुपति प्रथा छ । कतिपय समुदायमा मामाचेली र फुपू चेलीबीच विवाह हुन्छ । मुस्लिम समुदायमा एउटै कुलको चेली बुहारी बन्न सक्छे । देशमा मदिरा नछुने समुदाय पनि छ, पाइला-पाइलामा मदिरा नभइनहुने समुदाय पनि छ । यही हो, हाम्रो सांस्कृतिक विविधता । देशका नीतिनिर्माताहरूले सांस्कृतिक मामिलामा विधिशास्त्रीय न्याय र विवेक प्रयोग गर्न जान्नुपर्छ । संस्कृतिलाई कानुनी चश्माले मात्र हेरियो भने त्यहाँ भयानक अन्याय हुन्छ ।

घरेलु मदिराको अर्को मार्मिक पाटो पनि छ । सरकारी तथ्याङ्कले देशमा गरिबको संख्या घटिरहेको देखाए पनि एकथरी गरिबको अवस्था ज्यूँका त्यूँ छ । उनीहरू कोशौं परबाट पानी ओसार्छन् र दाउराको कुहिरीमण्डल धुवाँमा रग्मगिएर मदिरा उत्पादनकर्ममा जुट्छन् । स्थानीय बजारमा मदिरा बेच्छन् । त्यसबाट आएको दुई चार पैसाले छोराछोरीलाई स्कुल पठाउँछन्, नूनतेल किन्छन् र एकसरो लुगाफाटो व्यवस्था गर्छन् । जसोतसो जिन्दगी चलाउँछन् । तर प्रहरी-प्रशासनको कदमले गरिखाने निमुखा वर्गको पेटमा लात हान्ने काम गरेको छ । गरिबले पसिना बगाएर पनि खान नपाउने ? यो कस्तो लोकतन्त्र हो ?

घरेलु मदिरा नियन्त्रण अभियान धेरै अर्थमा सही जँच्दैन । हो, व्यापारिक प्रयोजनका लागि हानिकारक तत्वहरू राखेर मदिरा उत्पादन गर्ने गरिएको खबर बेलाबखतमा आउने गर्छ । भनिरहनु पर्दैन, यो निन्दनीय धन्दा हो । यसप्रकारको मदिरामा कडा नजर राखिनुपर्छ । यस्ता हानिकारक मदिरा उत्पादकलाई कानुनी कठघरामा ल्याइनुपर्छ । यो निर्विवाद विषय हो । तर बाँकी अवस्थामा घरेलु मदिरामाथि अङ्कुश लगाउनु नितान्त विवेकहीन र अलोकतान्त्रिक कदम हुनजान्छ ।

घरेलु घरेलु मदिरा नियन्त्रण अभियानले निम्त्याउने नकारात्मक असरलाई बुँदागत रूपमा यसरी राख्न सकिन्छ : १. सांस्कृतिक अधिकारमाथि दमन, २. अनौपचारिक स्थानीय अर्थतन्त्रमाथि आक्रमण, ३. वातावरणमैत्री परम्परागत मदिरा उत्पादन प्रविधिलाई दुरुत्साहन, ४. बहुराष्ट्रिय कम्पनीका महङ्गो मदिरालाई खुल्ला निम्ता ।

प्रहरी-प्रशासनले घरेलु मदिरालाई घरेलु हिंसा, अपराध, पारिवारिक विचलन, आर्थिक विश्रृङ्खलताको स्रोत मानेको छ । सैद्धान्तिक रूपमा यसमा असहमति जनाउने ठाउँ छैन । तर, यहीँनेर तर्क-वितर्क गर्ने ठाउँ पनि छ ।  प्रहरी-प्रशासनको व्यवहारबाट प्रश्न उठ्छ, यस्ता नकारात्मक पक्षको स्रोत घरेलु मदिरामात्र हो ? बहुराष्ट्रिय कम्पनी र अन्य स्वदेशी कम्पनीले उत्पादन गरेका मदिराले सबैको हित गरेको छ ? यसबारे प्रहरी-प्रशासन किन मौन छ ? यहाँ किन घरेलु मदिरालाई मात्र तारो बनाएको छ ? देशका सचेत नागरिकले यी प्रश्न नीति-निर्माताहरूलाई सोध्नैपर्ने भएको छ ।

घरेलु मदिराको बदख्वाइँ भइरहेको बेलामा सिलबन्दी मदिरा खाएर उपभोक्ता गम्भीर किसिमले बिरामी भएका र कतिपय अवस्थामा त ज्यानै गुमाएका घट्ना  सतहमा आउँछन् । यस्ता मदिरा उत्पादकलाई कानुनी दायरामा ल्याइयो कि ल्याइएन ? कानुनी दायरामा ल्याएको भए उनीहरूमाथि के कस्ता कारबाही भए ? यस्ता कुराहरू कहिल्यै पनि ‘पब्लिक डोमेन’ मा आउँदैनन् । यी प्रश्नले प्रहरी-प्रशासनको नियतमाथि नै प्रश्न उठाउनुपर्ने अवस्था छ । कतै उनीहरू घरेलु मदिरा उत्पादकमाथि अरिङ्गलझैं खनिएर अरू मदिरा उद्योगलाई उकेरो लगाइरहेका छैनन् ? उनीहरूबीच नेपथ्यमा ‘डिलिङ’ भइरहेको त छैन ? अब यस्ता प्रश्नको उत्तर खोज्नुपर्ने बेला आएको छ ।

अब, बहुराष्ट्रिय कम्पनी र अन्य स्वदेशी कम्पनीले उत्पादन गरेका मदिरा र घरेलु मदिराको तुलनात्मक अध्ययन गरौँ । घरेलु मदिराभन्दा अन्य मदिरा कम्तिमा चार गुणा महङ्गो छ । बहुराष्ट्रिय कम्पनी र अन्य स्वदेशी कम्पनीले उत्पादन गरेका मदिराले पार्ने वातावरणीय असर चर्को छ । यस्ता कम्पनीले मदिरा उत्पादन गर्दा प्रयोग गरेका केमिकल र अन्य पदार्थले स्थानीय वातावरणमा पक्कै पनि नकारात्मक असर पारेका छन् । यसबारे व्यवस्थित अध्ययन पनि भएको पाइँदैन । यसको तुलनमा घरेलु मदिराले स्थानीय प्राकृतिक वातावरणमा पार्ने असर नगण्य छ । बहुराष्ट्रिय कम्पनीका मदिराको कारोबारबाट स्वदेशी मुद्रा बाहिरिएको छ । घरेलु मदिराले स्थानीय अर्थतन्त्रलाई योगदान दिएको छ ।

देशमा व्यापार घाटा चुलिँदो छ । नेपालको निर्यातभन्दा आयात १३ गुणा बढी छ । आयात गरिने महङ्गा वस्तुमा मदिरा पनि पर्छ । एक अनुमानअनुसार नेपालले हरेक वर्ष १८ अर्बको मदिरा आयात गर्छ । समाचारमा आए अनुसार देशका एक बोतलको पाँच लाख मूल्य पर्ने मदिरा पनि उपलब्ध छ । मदिराकै कुरा गर्दा नेपाल सरकारले जारी गरेको ‘राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति, २०७३’ बारे पनि कुरा गर्नैपर्ने हुन्छ । यसले घरेलु मदिरा उत्पादन र बिक्री वितरणलाई निरुत्साहित गरेको छ भने अन्य मदिराको बिक्री वितरणलाई खुल्ला छुट दिइको छ ।

सरकारी नीति कति विवेकहीन र हास्यास्पद छ भन्ने कुराको प्रमाण यसैबाट मिल्छ । व्यापार घाटा बढ्नुको मूल कारण हो, निर्यात कम हुनु । आफ्नो उत्पादनलाई दुरुत्साहन गर्ने, अरूको उत्पादनलाई खुलेआम प्रोत्साहन गर्ने । नीतिनिर्माताहरूको मति नै यस्तो छ भने व्यापार घाटा किन बढ्दैन त ? व्यापार घाटा बढिरहेको बेलामा घरेलु मदिरालाई उद्योगको रूप दिएर विदेश निर्यात किन नगर्ने ? विदेशीले प्लेनमै मदिरा बेच्न मिल्छ भने हाम्रा रैथाने उत्पादनलाई ब्राण्डिङ गरेर किन विदेश निर्यात किन मिल्दैन ? हाम्रा नीतिनिर्माताहरू यतातिर किन सोच्दैनन् ?

यो सम्झाइरहनुपर्ने कुरा होइन, राज्य संस्कृतिको रक्षक बन्नुपर्छ । दुर्भाग्यवश, निषेधको नीति अपनाएर राज्य नै संस्कृतिको भक्षक बनिरहेको छ । लोकतन्त्रमा निषेधको राजनीति ज्यादै घातक हुन्छ । त्यसमा पनि सांस्कृतिक पक्षको निषेध झन विष्फोटक हुनसक्छ । सरकारले देशमा सांस्कृतिक सहिष्णुताको संस्कार विकास गर्ने हो भने घरेलु मदिरालाई निषेध गर्ने तमाम कानुन र नीति तत्काल खारेज गर्नुपर्छ । प्रहरी-प्रशासनको बेलगाम व्यवहार पनि सच्याइनुपर्छ । यस्तो जनहितैषी काम गरेमात्र सरकारको छवि सुध्रिन्छ  ।

साभार : परिसंवाद डट कम । २०७५ साल साउन २७ गते ।

अद्यावधिक: २०७९।०३।२४