Friday, September 20, 2019

सांस्कृतिक विविधताका कसीमा संविधान

-यमबहादुर दुरा

देशमा चलेका लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको निसानीको रूपमा २०७२ साल असोज ३ गते जारी भएको संविधान हामीसमक्ष छ । यो संविधान धेरै अर्थमा प्रगतिशील छ । व्यापक सन्दर्भमा कुरा गर्दा यसले लोकतान्त्रिक मूल्य–मान्यतालाई धेरै हदसम्म स्वीकारेको छ ।

अर्को महत्वपूर्ण कुरा, यसले देशको सांस्कृतिक विविधतालाई आत्मासात गरेको छ, जसलाई देशको संवैधानिक इतिहासमा नयाँ आयाम मान्न सकिन्छ । यो संविधान २०४७ सालमा जारी भएको संविधानभन्दा स्वाभाविक रूपमा अग्रगामी छ ।

यति हुँदाहुँदै पनि यो संविधान खोटरहित भने छैन । यसमा यस्ता धेरै छिद्राहरू छन्, जसबाट अलोकतान्त्रिक सोच र व्यवहारहरू छिर्दैछन् । यहाँनेर सांस्कृतिक विविधताको कुरा गरौँ । देशको सांस्कृतिक विविधता संविधानको शब्दमा झल्किएको छ ।  तर, व्यवहारमा अनुवाद हुन सकिरहेको छैन । यद्यपि, संविधान आफैँमा केही होइन । राज्य सञ्चालकहरूले यसलाई कसरी अर्थर्‍याउँछन्  र यसका मर्म र भावनाहरूलाई कसरी व्यवहारमा उतार्छन् भन्ने सवाफ महत्वपूर्ण हो ।

नेपालको संविधान, २०७२ लाई सांस्कृतिक विविधताको कोणबाट हेर्दा मूलतः दुईवटा पक्षहरूलाई चिरफार गर्नुपर्ने देखिन्छ । पहिलो, संविधान निर्माणको चरणमा अलोकतान्त्रिक चालबाजी । दोस्रो, संविधान जारी भाइसकेपछि शासनसत्ताको बागडोर सम्हाल्नेहरूले संविधानको मर्म र भावनाहरूलाई कसरी र कुन रूपमा व्यवहारिक जामा पहिर्‍याउँदै  भन्ने सवाल ।

संविधान निर्माणकै चरणमा देशको सांस्कृतिक विविधतालाई धक्का पुर्‍याउने अभ्यासहरू कतै पर्दापछाडि  त कतै खुलेआम भए । पहिलो संविधानसभाका क्रममा गठित समितिहरूको कतिपय महत्वपूर्ण सिफारिसलाई संविधानमा समावेश गरिएन । यस क्रममा आदिवासी जनजाति समुदायलाई आत्मानिर्णयको अधिकार दिने कुरालाई सर्वाधिक आतङ्क र त्रासको विषय बनाइयो । यस्ता विषयलाई समावेश गर्ने कुरा त परै जाओस्, छलफल गर्नुसमेत देशलाई काटमारको भूमरीमा धकेल्नु हो भनेर चित्रण गरियो ।

यही आधारमा सांस्कृतिक पहिचानका आधारमा प्रदेश निर्माण गर्ने आधारहरू भत्काइए । विगतमा उत्पीडन र बहिष्करणमा परेको समुदायको नामबाट प्रदेशको नामकरण गर्ने प्रावधानलाई ‘जातिवादी सोच’ करार गरेर शुरुमै लत्याइयो । सांस्कृतिक पहिचानको पक्षमा वकालत गर्नेहरूलाई जातिवादी कित्तामा धकेलेर दुत्कार्ने काम भयो ।

तर, उत्पीडन र दमनमा परेको समुदायको नामबाट प्रदेशको नामकरण जमर्कोलाई दुत्कार्दा राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई नै धक्का पुग्छ भन्ने सर्वजनीन तथ्यलाई ख्यालै गरिएन । सांस्कृतिक पहिचानको आधारमा प्रदेशको खाका कोर्ने कार्यलाई कुनै निश्चित समुदायको अस्तित्वमाथिको हमलाको रूपमा बुझ्ने र बुझाउने प्रयास भयो ।

देशको सिङ्गो प्रारूप देशभित्रका तमाम समुदायको गठजोडबाट तयार भएको हो र देशको भाग्यरेखा कोर्न सबै समुदायको सम्मानपूर्ण प्रतिनिधित्व र हिस्सेदारी आवश्यक छ भन्ने तथ्यलाई बलात् लत्याउने काम भयो, जुन दुर्भाग्यपूर्ण थियो । यहाँनेर, भारतको पश्चिम बङ्गाल, पञ्जाब, तमिलनाडुजस्ता प्रान्त पहिचानको आधारमा खडा भएका हुन् भन्ने तथ्य स्मरणयोग्य छ ।

अर्कोतिर, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत विगतमा अभ्यास भइसकेको ५८ प्रतिशत प्रतिनिधित्वलाई घटाएर ४० प्रतिशतमा झारिएको छ । अगाडि नै भएको प्रावधानलाई घटाउँदा संसदमा महिला, आदिवासी जनजाति, दलित, मधेसी, पिछडिएको समुदाय, मुस्लिम, अल्पसंख्यकको राजनीतिक प्रतिनिधित्व स्वाभाविक रूपमा पातलिनेछ । यसले समावेशी लोकतन्त्रको सिद्धान्त र मान्यतालाई चुनौती दिएको छ ।

अब राज्य सञ्चालकहरूको सोच र व्यवहारको कुरा गरौँ । संविधानको मर्म र भावना कसरी पालना भइरहेको छ वा कसरी उपेक्षा भइरहेको छ भन्ने थाहा पाउन देशको शासनसत्ताको बागडोर सम्हाल्नेहरूको कार्यशैली र व्यवहारलाई पनि विश्लेषण गर्नुपर्ने हुन्छ ।

नयाँ संविधान लागू भएपछि गठन भएको एकमना सरकारले २०७४ साल चैत १४ गते केही सार्वजनिक बिदा कटौती गर्‍यो । कटौती गरिएका अधिकांश बिदा जनजाति तथा मुस्लिम समुदायले मनाउँदै आएका चाडपर्वहरूसँग सम्बन्धित छन् । यसबाट अन्तरिम संविधानले दिएको सांस्कृतिक अधिकारको महत्वपूर्ण हिस्सा हरण हुन पुग्यो ।

देशको सांस्कृतिक विविधताको श्रीवृद्धिका लागि थप उत्साहपूर्ण कार्यक्रम ल्याउनुपर्नेमा भएकै अधिकार पनि कटौती हुनु कति दुःखद पक्ष होला ? कार्यदिवस बढाउने भनेर यसो गरिएको सरकारबाट स्पष्टीकरण आयो । कार्यदिवस बढाउन नागरिकको सांस्कृतिक अधिकार कटौती गर्नुपर्ने । यो कस्तो लोकतन्त्र हो ?

लोकसेवा आयोगले २०७६ जेठ १५ गते स्थानीय तहका निम्ति नौ हजार एक सय ६१ कर्मचारीका लागि विज्ञापन गर्‍यो । संविधानतः कुल सिटमध्ये संख्यामध्ये ४५ प्रतिशत सिट आरक्षणतर्फ छुट्याउनुपर्ने थियो । यस अनुसार नौ हजार एक सय ६१ को आरक्षित संख्या चार हजार एक सय २२ हुनुपर्ने थियो । तर, त्यो संख्यालाई दुई हजार दुई सय ६२ मा झरियो । यसबाट नीतिनिर्माताहरूको नियत प्रष्ट भयो ।

संविधानप्रदत्त समावेशिताको सिद्धान्तविपरीत हुने गरी निकालिएको त्यस विज्ञापनको चौतर्फी विरोध भयो । आयोगले गल्ती सच्याउने कुनै सङ्केत नदेखाएपछि अदालतमा मुद्दा पर्‍यो । अदालतले पनि आयोगकै पक्षमा फैसला  सुनायो । यसले नीतिनिर्माण तहमा बस्नेहरू चित्त कस्तो छ भन्ने देखाउँछ । राज्यको सिङ्गो संयन्त्र नै समावेशिताको सिद्धान्तविरुद्ध उत्रिएपछि कसको के लाग्छ ?

अब अल्पसंख्यक समुदायको  प्रसङ्ग कोट्याऔँ। अल्पसंख्यक समुदायका निम्ति स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र बनाउने प्रावधान संविधानमा उल्लिखित छ । संविधानको ५६ (५) मा ‘संघीय कानून बमोजिम सामाजिक सांस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष, संरक्षित वा स्वायत्त क्षेत्र कायम गर्न सकिनेछ’ भनिएको छ । यस विषयमा सरकार मौन देखिएको छ ।

यिनीहरू यस्ता प्रतिनिधि प्रसङ्गहरू हुन्, जसले हाम्रो राज्य सञ्चालकहरू देशको सांस्कृतिक विविधताप्रति कति उदार वा कठोर छन् भन्ने कुरालाई सङ्केत गर्छन् । यहाँ, संविधानलाई मात्र दोष दिनु प्रासङ्गिक पनि हुँदैन, तर्कसंगत पनि हुँदैन । संविधान त प्रगतिशील कागजात हो । संविधानका अक्षर ढुङ्गामा खोपिएका वाणी पनि होइनन् । यो परिवर्तनशील हुन्छ । एक अर्थमा यो बदलिँदो युगको सूचक पनि हो ।

संविधान लोकतन्त्रलाई बचाउने आधारमात्र हो । संविधानभन्दा बढी महत्वपूर्ण पक्ष शासनसत्ताको बागडोर सम्हाल्नेहरूको मनोवृत्ति हो । शासनसत्ताको बागडोर सम्हाल्नेहरू जति उदारचित्तका हुन्छन्, संविधानको मर्म र भावना पनि उति नै राम्रो गरी व्यवहारमा रूपान्तरण हुन्छन् ।

राज्य सञ्चालकहरूले उदारचित्त देखाएर देशका सबै समुदायमा अपनत्वको भावना विकास गर्नुपर्ने थियो । त्यसो हुन सकेन । उनीहरू उदारमना नभएसम्म देशको सांस्कृतिक विविधताको सम्मान हुँदैन, अनेकतामा एकता पनि हुन सक्दैन । शासनसत्ताको बागडोर सम्हाल्नेहरू बुझ्न नचाहेको वा बुझ्न  नसकेको मूलभूत कुरा यही हो ।

अब देशलाई सुल्टो दिशामा अघि बढाउने हो भने शासनसत्ताको बागडोर सम्हाल्नेहरू दुईवटा मूलभूत काम नगरी नहुने अवस्था छ : १, संविधानप्रदत्त अधिकार नागरिकलाई उदारमना भएर दिँदै जाने २, सांस्कृतिक विविधताको प्रतिकूल हुने प्रावधानलाई जनमुखी प्रावधानले प्रतिस्थापन गर्ने दिशामा हरदम प्रयासरत रहने । यसका लागि उनीहरूमा फराकिलो सोच र उदारमना व्यवहार अपरिहार्य छ ।

[साभार : लोकसंवाद । २०७६ साल असोज ३ गते ।]

अद्यावधिक: २०७९।०३।२४

Wednesday, September 18, 2019

पत्रकारिताका आयाम

–यमबहादुर दुरा

गतिशीलताको अर्को पत्रकारिता हो । सही समयमा सही र सान्दर्भिक सूचना सम्पे्रषण गर्नु नै पत्रकारिताको मूल धर्म हो । आफू गतिशील नभएमा पत्रकारिताले यो अहम् भूमिका निर्वाह गर्न सक्दैन । पत्रकारिता गतिशील बन्नैपर्छ । व्यापक सन्दर्भमा कुरा गर्दा पत्रकारिताले समाजबाट सूचना लिन्छ र पुनः समाजलाई नै सम्प्रेषण गर्छ ।

हेर्दा यो काम सामान्यजस्तो लाग्छ । सधैँभरि एउटै प्रकृतिको काम गरेजस्तो पनि देखिन्छ । तर, वास्तविकता त्यस्तो होइन । पत्रकारिता कर्ममा हरदम नवीनतम् सूचनासँग अद्यावधिक हुनुपर्ने चुनौती हुन्छ । यस क्रममा अनेकन् सूक्ष्मतम् गतिविधिमा सरिक हुनुपर्ने हुन्छ । समाजोपयोगी र समसामयिक सूचना सङ्कलन गर्ने, परीक्षण गर्ने, सम्पादन गर्ने र तात्तातै जनसमक्ष सम्प्रेषण गर्नु पत्रकारिताको पेशागत जिम्मेवारी हो ।

यतिले मात्र पुग्दैन । ज्ञान र विचार प्रवाह गर्ने समाजलाई गतिवान् र विचारशील बनाउनु पनि पत्रकारिताको अर्को महत्वपूर्ण जिम्मेवारी हो । यसले सत्ता र शक्तिमा भएकाहरूलाई प्रश्न गर्न प्रेरित गर्छ । अर्को शब्दमा भन्दा यसले नागरिकलाई हरदम सचेत तुल्याउँछ । यस्तो कम चुनौतीपूर्ण छैन । पत्रकारिताले हरदम गतिशीलता, कार्यदक्षता र नयाँ शिल्प–शैलीको माग गर्छ ।

नवीनता पत्रकारिताको प्राण हो । यसले सूचना र शिल्प–शैली दुवैमा नवीनता खोज्छ । यही अनुरूप पत्रकारितामा विभिन्न विधा र शैलीहरू आए । केही उदाहरण हेरौँ । बीसौं शताब्दीको शुरुवाततिरै पैरवी पत्रकारिताले आफ्नो उपस्थिति देखायो । सन् १९६० को दशकमा विकास पत्रकारिताको शुरुवात भयो । सन् १९७० को दशक प्रिसिजन जर्नलिज्म तथा गोञ्जो पत्रकारिता अस्तित्वमा आए । सन् १९९० को दशकमा पब्लिक जर्नलिज्म (सिभिक जर्नलिज्म) देखा पर्‍यो । सन् १९९८ तिर समाधान पत्रकारिता (सोल्युसन्स् जर्नलिज्म) को चर्चा हुन थाल्यो ।

यी त उदाहरणमात्र हुन् । समयको दौडमा पत्रकारिताका अनेकन् विधा तथा शिल्प–शैलीहरू आए । अझै पनि आइरहेका छन् । भोलि पनि आउनेछन् । अब प्रश्न उठ्छ, पत्रकारितामा यतिविधि विधाहरू किन आइरहेका छन् ? आखिर, पत्रकारिताको मूल धर्म भनेको नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्नु नै हो । यत्ति कामका लागि पनि किन यति धेरै विधा चाहिन्छन् ? यसका पछाडि अनेकन् कारण छन् ।

पत्रकारिता ज्ञान र सूचनाको भण्डार हो । अहिले अनुसन्धान परम्पराको दायरा र विद्वत संस्कृति बढ्दो छ । यससँगै ज्ञान उत्पादनमा पनि तीव्रता आएको छ । समयसँगै आएका नयाँ ज्ञानका अगाडि पुरानो ज्ञान असान्दर्भिक देखिने क्रम पनि बढ्दो छ । पत्रकारिता पनि नयाँ ज्ञान उत्पादन हुने क्रम बढ्दो छ । नयाँ ज्ञानले पुरानो ज्ञानलाई असान्दर्भिक बनाउँदै लगेको छ ।

यद्यपि, ज्ञान कहिल्यै पुरानो हुँदैन भन्ने मान्यता छ । तर, ज्ञानको महत्व आफ्नो ठाउँमा रहे पनि सबै ज्ञान सधैँ सान्दर्भिक र उपयोगी नहुन सक्छ । समयसँगै कतिपय पुराना ज्ञान असान्दर्भिक र अनुपयोगी बन्दै जान्छन् । यसका अनेकन् टड्कारो दृष्टान्त छन् । त्रिभुवन विश्वविद्यालयमा भूगोल, संस्कृति, इतिहासजस्ता विषयमा विद्यार्थी भर्नाको घट्दो दरले यही कुराको सङ्केत गर्छ । यसको अर्थ यी विषय महत्त्वहीन छन् भन्नेचाहिँ कदापि होइन ।

पत्रकारिता पेशामात्र नभएर ज्ञानको सागर पनि हो । त्यसैले यो अध्ययनको विधा पनि हो । विश्वविद्यालयमा पत्रकारिताबारे व्यापकस्तरमा अध्ययन–अध्यापन हुँदै आएको छ । पत्रकारिताबारे हुने गरेका अध्ययन–अनुसन्धानले नयाँ नयाँ ज्ञान उत्पादन हुँदै गएका छन् । नयाँ ज्ञानले पुरानो ज्ञानलाई विस्थापन गर्दै गएको पनि छ । यसले पत्रकारिता क्षेत्रमा नयाँ नयाँ विधा र शिल्प–शैली जन्माएको छ ।

अर्कोतिर, प्रतिस्पर्धा जीवनको अभिन्न अङ्ग बन्न पुगेको छ । अहिले नयाँ जानकारी पाउनकै लागि पत्रकारिताको खाँचो पर्दैन । कतिपय अवस्थामा सोसल मिडियाले पत्रकारितालाई उछिनेको देखिन्छ । सोसल मिडियाको दरिलो उपस्थितिले परम्परागत सञ्चार माध्यम (अखबार, रेडियो र टेलिभिजन) नै आवश्यक नपर्ने अवस्था आएको छ । प्रतिस्पर्धी वातावरणले पत्रकारितामा नयाँ विधा र शिल्प–शैलीलाई निम्तो दिएको छ । यसबाट पत्रकारिताको दिशा र दशा नै बदलिँदै गएको छ ।

एकतिर सूचनाको हाटबजारमा तँछाड–मछाडको अवस्था छ भने अर्कोतिर पत्रकारिताको भूमिकाबारे पनि थुप्रै प्रश्न उठेका छन् । पत्रकारिताको आचार संहिता भन्छ, ‘पत्रकारिता जहिले पनि नागरिकको पक्षमा उभिनुपर्छ । यो पत्रकारिताको पहिलो र महत्त्वपूर्ण नैतिक दायित्व हो ।’ तर, यो सजिलो काम भने पक्कै होइन । पत्रकारिता आफ्नो धर्मबाट पर हटेर सत्ता र शक्तिको पृष्ठपोषणमा लागेको जनगुनासो पनि उत्तिकै प्रबल छ ।

कतिपय सन्दर्भमा पत्रकारिताले बद्नामी पनि कमाएको छ । पत्रकारितामा छाएका नकारात्मक प्रवृत्तिहरूलाई जनाउन अनेकन् शब्दावलीहरू प्रयोगमा छन् । जस्तै : पीतपत्रकारिता (बढाइचढाइ र अफवाहपूर्ण पत्रकारिता), ट्याब्लोइड पत्रकारिता (समाजका गम्भीर विषयलाई असरल्ल छाडेर प्रेम, यौनजस्ता हल्काफुल्का विषयमा केन्द्रित रहने पत्रकारिता), प्यारासुट पत्रकारिता (कुनै ठाउँमा अचानक पुगेर सीमित समयावधिमा कुनै विषयमा गरिने रिपोर्टिङ जसमा कुनै गहिराइ हुँदैन), कि–होल पत्रकारिता (अरूको अनावश्यक रूपमा चियोचर्चा गर्ने पत्रकारिता) ।

पत्रकारिता समाजको पहरेदारी गर्ने पेशा हो । एक अर्थमा यो समाज सेवा हो । तर, पत्रकारिता समाज सेवामात्र होइन । अर्को कोणबाट हेर्दा पत्रकारिता व्यावसाय वा उद्योग  हो । पत्रकारिताले व्यावसायिक रूपमा फस्टाउने मौका पाएन भने यसको अस्तित्व सङ्कटमा पर्छ । अर्थलाभ नगरे जनशक्तिलाई कसरी पारिश्रमिक दिने ? दैनिक सञ्चालन खर्च कसरी जुटाउने ? सञ्चार उद्यमीलाई यस्ता प्रश्नले सधैँ घोचिरहन्छन् ।

यी प्रश्नले पत्रकारितालाई आफ्नो कर्पोरेट स्वार्थबारे सोच्न बाध्य तुल्याउँछ । उसले आफ्नो उद्यमशीलता बचाउनका लागि पनि वाणिज्य वृत्त र शक्तिसँग कुनै न कुनै किसिमको सम्बन्ध कायम गर्नैपर्ने हुन्छ । तर, यस्तो सम्बन्ध सन्तुलित हुनुपर्छ । ‘सर्प पनि मरोस लठ्ठी पनि नभाँचियोस्’ भन्ने उखान चरितार्थ हुनुपर्छ ।

पत्रकारिताका लागि यो  चुनौती हो । ती शक्तिसँगको सम्बन्धलाई कर्पोरेट स्वार्थलगायत कतिपय मामलाले असन्तुलित बनाइदिन्छ । यसपछि पत्रकारिताको विश्वसनीयता डगमगाउन थाल्छ । विश्वसनीयता गुमाएको पत्रकारितालाई समाजको सचेत वर्गले पत्याउँदैन ।

यही पृष्ठभूमिमा पत्रकारिताले आलोचना खेपिरहेको छ । यतिबेला हाम्रो छिमेकी भारतमा पनि मूलधारको पत्रकारिता आलोचनाको केन्द्रमा छ, जसमाथि सत्ताको खाँतिरदारी गरेको आरोप लाग्दै आएको छ । एकथरी आलोचकले यस्तो पत्रकारितालाई ‘गोदी पत्रकारिता’ भन्न थालेका छन् । यसको अर्थमा हो, सत्ताको काखमा बसेर गरिने पत्रकारिता ।

सत्ता र पत्रकारिताको साइनो पनि गजबकै छ । कतै मीठो, कतै तीतो । भारतमा सत्ता र मूलधार पत्रकारिता एकआपसमा लहसिएको आरोप लाग्दै आएको छ । उता, विश्वको शक्तिसम्पन्न मानिने मुलुक अमेरिकामा पत्रकारिता र सत्ताको सम्बन्ध विपरीत ध्रुवजस्तै हुन पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त एकथरी पत्रकारलाई ‘जनताको शत्रु’ भनेर हपारेका दृश्य टेलिभिजनका स्क्रिनमा देखिएकै हो ।

सामाजिक, राजनीतिक तथा प्राज्ञिक परिदृश्यमा आएका तमाम परिवर्तनले पत्रकारितालाई यथास्थितिमा रहन दिएको छैन । यसका अतिरिक्त सामाजिक मनोविज्ञानको बदलिँदो स्वरूप, बढ्दो प्रतिस्पर्धा, ज्ञान उत्पादनमा आएको तीव्रता, नवीनतम् ढाँचा र शैलीप्रति मानिसका सदावहार आकर्षणजस्ता तत्त्वहरूले पत्रकारितामा नयाँ नयाँ विधा र शिल्प–शैली आएका हुन् भन्न सकिन्छ ।

पत्रकारिताले पस्कने समाचार तथा अन्य सूचनामूलक सामग्री पनि दैनिक उपभोग्य वस्तुजस्तै वस्तु (कमोडिटी) हुन् । यस्ता वस्तुलाई सर्वग्रह्य तरिकाले बजारमा बिक्री–वितरण गर्न ब्रान्डिङ र बजारीकरण आवश्यक छ । यसका लागि पनि नयाँ शिल्प–शैली आवश्यक पर्छ । यी तमाम कारणले पत्रकारिताको मिजासमा निरन्तरण रूपमा परिवर्तन आइरहेका छन् । पत्रकारिताको मर्म र धर्म उही भए पनि यसको स्वरूप निरन्तर परिवर्तन हुँदै गएको छ ।

[साभार : संवाद नेपाल । २०७६ साल असोज १ गते ।]

Tuesday, September 3, 2019

तीजको बदलिँदो समाजशास्त्र

-यमबहादुर दुरा

नेपाली महिलाहरूबीच खुसीयालीको बहार लिएर आउने चाड यतिवेला निर्घात आलोचित छ । तीजको स्वभाव र शैलीमा आएको तीव्र परिवर्तनले अनेकन् टीका-टिप्पणी निम्त्याएको छ । महिला केन्द्रित यो चाडको मौलिकता हरायो, व्रतालुहरू धार्मिक विधिविधान छाडेर सस्तो मनोरञ्जनतिर लागे, तीजमा अपनाइने व्यावहारमा छाडापन आयो, एक दिनमा मात्र खाइने दर महिनैभरि खान थालियो भन्नेलगायतका टीका-टिप्पणीको बौछार आउन थालेको छ ।

एकपटक सूदुर अतीततिर फकौँ । सम्भवतः तीजको प्रादुर्भाव कृषि युगबाट भएको हुनुपर्छ । कृषि श्रमसाध्य प्रणाली हो । विगतमा महिलाको सहभागिताबिना कृषिकर्मको कल्पनासम्म पनि गर्न सकिने अवस्था थिएन । चुल्होचौकादेखि मेलापातसम्मको व्यापक जिम्मेवारी बहन गर्नुपर्ने बाध्यताले महिलाको बेफुर्सदी र हैरानीले गाँजेको थियो । महिलाको भागमा कामकाज र सन्तान उत्पादनबाहेक अरू कुरा परेको थिएन । स्तन्त्रता कुन चरीको नाम हो, थाहा थिएन । महिलाको जीवन एक किसिमको खुल्ला जेल थियो ।

तीजमा छोरीचेली माइतमा जानु आमचलन हो । सधैँको व्यस्त कार्यतालिकाबाट उम्केर माइतीको आँगन टेक्नु पनि कतिपय महिलाका लागि महाभारत नै थियो । बाटोघाटोको असुविधा र आधुनिक सञ्चार प्रणालीको अभावमा खोलापारि पनि परदेशजस्तै थियो । चेलीबेटीका धेरै खबर बेखबरमा परिणत हुन्थे ।

धेरै पर नजाऔँ । २०४६ अघिको कुरा गरौँ । त्यसबेलासम्म पनि खेतीबालीमा अहिलेको जस्तो विविधता थिएन । पहाडका पाखारेखामा खाद्यान्न उत्पादन सीमित थियो । धेरैलाई पेटभरि खान त के कुरा, प्राण धान्नै गाह्रो थियो । एकसरो लाउन पनि मुस्किल थियो । बहुसंख्यक ग्रामीण महिलाले पैसाको नाममा फुटेको कौडी पनि देख्न गाह्रो थियो । राम्रो लाउन र मीठो खान चाड नै कुर्नुपर्ने अवस्था थियो ।

यसप्रकारको विडम्बनापूर्ण नियतिले घेरिएको बेलामा तीज एउटा यस्तो जीवनदायिनी चाड थियो, जसले कर्मजीवी महिलाका तमाम बेफुर्सदी, बैचैनी र बेखबरपनलाई उल्ट्याइदिन्थ्यो । खुसी र रमाइलोको लालसामा बाँचेका महिलाहरूबीच क्षणिक रूपमै भए पनि हाँसो–खुसी छाउँथ्यो । त्यस समयमा तीजको उच्च महत्व थियो । तीज व्यग्र प्रतीक्षाको चाड थियो ।

आज त्यो अवस्था छैन । देशको आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक परिदृश्यमा नचिताएको परिवर्तन आएका छन् । यससँगै तीजको स्वभाव अकल्पनीय रूपमा बदलिदिएको छ । देशको राजनीतिक, शैक्षिक, आर्थिक एवम् सांस्कृतिक परिवर्तनका सूचकहरूलाई नियाल्दा तीजको स्वाभावमा आनका तान परिवर्तन आएको छ  ।

 नेपालमा अन्य देशको तुलनामा बढी नै राजनीतिक हलचल भइरह्यो । २००७, २०१७, २०३६, २०४६ तथा २०६२-०६३ सालमा भएका तमाम राजनीतिक उतारचढावले सबैमा राजनीतिक तथा सामाजिक चेतनाको दीयो सल्काएरै छाडे । त्यसमा पनि २०४६ पछि आएको खुल्ला राजनीतिक परिवेशले निम्त्याएको अधिकारमुखी आन्दोलनले धेरैलाई आफ्ना अधिकारबारे अभूतपूर्व रूपमा सचेत तुल्यायो ।

अधिकारमुखी आन्दोलनबाट हृदयको गहिराइबाटै प्रभावित हुने तप्कामा महिला पनि थियो । छोराछोरीमा सम्पत्तिको समान हक, आमाको नाममा नागरिकता, समान कामका लागि समान ज्यालाजस्ता महिला अधिकारका आयामहरू ध्रुव्रीकृत र मजबुद हुँदै गए । महिलामाथि हुने विभेदका ‘ग्लास सिलिङ’ हरू नजानिँदो किसिमले तोडिँदै गए ।

एक तथ्याङ्क अनुसार सम्पत्तिमाथिको महिलाको स्वामित्व २६ प्रतिशत, निजामती सेवामा महिलाको प्रतिनिधित्व १७ प्रतिशत, महिलाको श्रम सहभागिता दर ५४ प्रतिशत र महिलाको मानव विकास सूचाकङ्क ०.५२१ पुगेको छ । यी तथ्याङ्कले महिलाको हैसियतमा एकपछि अर्को गरी सुधार आइरहेको सङ्केत मिल्छ ।
देशमा बढ्दो साक्षरता दरले महिलाको शक्तिस्वरूपा स्वभावमा पाइन चढाउँदै लाग्यो । राष्ट्रिय जनगणना २०३८, २०४८, २०५८ र २०६८ मा महिला साक्षरता दर क्रमशः १२.५, २४.७५, ४२.८५ र ५७.४५ छ । महिला साक्षरताको बढ्दो ग्राफले महिलालाई सचेत, आत्मनिर्भर र अझ बढी विचारशील बनाउँदै लग्यो, जुन हुनैपर्ने कुरा थियो ।

नेपालको नीति तथा कानुनले महिलाको राजनीतिक सहभागितालाई प्राथमितकता दिँदै गएको छ । यसमा अधिकारमुखी आन्दोलनले योगदान ठूलो योगदान छ । २०४७ सालको संविधानले संसदीय निर्वाचनमा राजनीतिक दलले कम्तिमा पाँच प्रतिशत महिला उठाउनुपर्ने प्रावधान राख्यो । २०१५ सालको संसदीय निर्वाचनबाहेका विगतमा सम्पन्न संसदीय चुनावमा बाहेक राजनीतिमा महिलाको सहभागिता निरन्तर बढ्दो क्रममा रहेको देखिन्छ ।

२०६४ सालमा सम्पन्न संविधानसभामा ५७५ सिटमध्ये १९१ (३३.२ प्रतिशत) महिला निर्वाचन भए । २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य निर्वाचन र स्थानीय तहको निर्वाचनमा महिलाको संख्या बढ्दो नै देखिन्छ । स्थानीय तहमा कुल जनप्रतिनिधिमध्ये ४१ प्रतिशत महिला रहेको तथ्याङ्क छ । महिलाको बढ्दो राजनीतिक सहभागिताले सामाजिक तथा राजनीतिक परिदृश्यमा व्यापक परिवर्तन आइसकेको छ ।

सन् १९७० को दशक र त्यसको सेरोफेरोमा देशका ९० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा निर्भर थिए । अब नेपालको अर्थतन्त्र कृषिबाट गैरकृषिततर्फ उन्मुख छ । अहिले कृषिमाथिको निर्भरता क्रमिक रूपमा घट्दै गएको छ । आर्थिक सर्वेक्षण २०६९/०७० ले ६६ प्रतिशत नेपाली कृषिमा निर्भर रहेको देखाएको छ । अर्कोतिर, देशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दो छ । आर्थिक वर्ष २०५५/०५६, २०६४/०६५, २०६९/०७० र २०७४/०७५ मा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः ३८ प्रतिशत, ३६ प्रतिशत, ३४ प्रतिशत र २७.६ प्रतिशत छ । कृषिमा घट्दो निर्भरतासँगै महिलाहरू कृषिकर्मबाट बाहिरिँदै गएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्याङ्कलाई आधार मान्दा २०४६ सालको सेरोफेरोमा गैरकृषि रोजगारीमा महिलाको सहभागिता १७ देखि २० प्रतिशतमात्र थियो भने २०७० साल आइपुग्दा गैरकृषि रोजगारीमा महिलाको सहभागिता बढेर ४४.८ प्रतिशत पुग्यो । यस किसिमको ‘एक्सपोजर’ बाट हिजो निरीह ठानिएका महिलाको पारिवारिक, आर्थिक तथा सामाजिक हैसियत एकपछि अर्को गरी सप्रिँदै गएको छ । उनीहरू स्वभाविक रूप आत्मनिर्भर र मुखर हुँदै गएका छन् ।

अब महिलाको रोजगार देशको सरहदभित्रमा सीमित रहेन । यसको दायरा विदेशको फराकिलो दायरामा विस्तार हुन थाल्यो । श्रम तथा वैदेशिक रोजगार प्रवर्धन विभागको अभिलेख अनुसार २०४२ सालको सेरोफेरोमा जम्मा एक सय ६१ जना महिला वैदेशिक रोजगारमा गएको देखिन्छ । यो ज्यादै न्यून संख्या थियो । अहिले लाखौं नेपाली महिला विदेशमा कार्यरत छन् । यसले महिलाको विश्व दृष्टिकोण र आर्थिक हैसियतमा जादुमय परिवर्तन ल्याइदिएको छ ।

यी तमाम राजनीतिक तथा सामाजिक उहापोहले समाजमा तीव्र परिवर्तन ल्याएको छ । तीज पनि अपवाद हुने कुरै भएन । दुनियाँ गतिशील छ, त्यसमा पनि संस्कृति झन गतिशील छ । परिवर्तनशीलता संस्कृतिको एउटा महत्वपूर्ण विशेषता हो । बदलिँदो सामाजिक परिदृश्यसँगै संस्कृति पनि बदलिँदै जान्छ ।

हिजो, तीजमा ग्रामीण परिवेश हावी थियो भने आज शहरी चालढाल हावी हुने क्रम बढेको छ । हिजो गाउँको जनसंख्या धेरै थियो । अहिले गाउँको जनसंख्या घट्ने र शहरको जनसंख्या बढ्ने क्रममा तीव्रता आएको छ ।  विगतमा गाउँको आँगन, चौतारी र हाटबजारमा तीजका अग्र्यानिक स्वादका गीत नाच्थे भने आज शहरका पार्टी प्यालेसमा विदेशी गीतमा छेपारी बटार्ने दिन आयो ।

हिजो दूध, दही र मोहीजस्त विशुद्ध स्थानीय उत्पादनले तीजका पाहुनको घाँटी भिज्थ्यो भने आज विदेशी मदिरा र पेय पदार्थबिना तीज खल्लो हुने अवस्था आइसकेको छ । विगतमा घरमा पाकेका चाम्रे-लट्टेले तीज उम्कन्थ्यो भने आज शहरका ‘प्रफेसनल कुक’ ले पकाएका पकवानले धेरैको मुख खोसेको छ ।

अहिले तीजको गीत व्यापारिक वस्तुसमेत बनेको छ । सङ्गीत उद्योगले तीजको गीत बेचिरहेको छ । हिजो तीजको गीत दु:ख विरेचनको माध्यममात्र थियो भने अहिले उन्माद पोख्ने माध्यम पनि बन्न थालेको टीका टिप्पणी सुनिन थालेको छ । यसलाई अस्वाभाविक घटनाक्रमका रूपमा लिनुपर्ने अवस्था छैन । पूँजीवादबाट संक्रमित मनोरञ्जन उद्योगले तीजलाई ‘उत्पादन’ बेच्ने अवसरबाहेक अरू केही ठान्दैन । यही कारण हो, साउन लाग्न नपाउँदै रेडियो, टेलिभिजन र यु ट्युबमा तीजसम्बन्धी गीतको ‘प्रोमो’ देखपर्छन् ।

तीजको गीत तथा भिडियोमा पुरुषको पनि सहभागिता भएकोमा कतिपयलाई आपत्ति छ । त्योभन्दा अघि बढेर रत्यौलीका भाकामा पनि तीजका गीत देखियो भन्नेहरू छन् । तीजसम्बन्धी म्युजिक भिडियोको छायाङ्कन बलिउड शैलीमा भएकोमा पनि कतिपयले रोष प्रकट गरेका छन् । यहाँनेर, बुझ्नुपर्ने कुरा के हो भने यो पूँजीवादी युग हो । पूँजीवादले जे बिक्छ, त्यही बेच्छ ।

तीजको बदलिँदो स्वभावलाई सांस्कृतिक अपचलन भन्ने कि समयले ल्याएको परिवर्तन भन्ने ? पक्ष वा विपक्षमा विश्लेषण गर्नका लागि पर्याप्त ठाउँ छ । हिजो तीज मूलतः स्थानीय चाड थियो तर अहिले यसमा ‘साइबर फेस्टिबल’ का चरित्र देखिन थालेको छ । अहिलेको तीजसँग विश्वव्यापीकरण, सांस्कृतिक साम्राज्यवाद, सांस्कृतिक वर्णशंकरीकरण, पूँजीवाद, उपभोगवादी संस्कारजस्ता विश्वमा चलेका अरू आयामहरू पनि जोडिन आइपुगेका छन् ।

 तीजको स्वाभाव र शैलीमा भयानक परिवर्तन आएको छ । तीजको खानपान, भेषभूषा र रीतभाँत परिवर्तन आउनुमा परिवर्तनशील समय जिम्मेवार छ । त्यसमा पनि आमसञ्चार माध्यमको बढ्दो प्रभाव र ग्रामीण समाजको बाहिरी दुनियाँसँगको सामाजिक अन्तरघुलनले सामाजिक परिर्वतनमा तीव्रता आएको छ ।

यी तमाम परिवर्तकारी शक्ति हावी भइरहँदा तीज पुरानै अवस्थामा रहन सक्ने अवस्था नै छैन । अब पनि यो चाड पहिलाको जस्तै हुनुपर्छ भन्नु मुढाग्रह मात्र हुन जान्छ । जीवनशैलीमा व्यापक फेरबदल आएको छ । दुनियाँ पल पल बदलिरहेको अवस्थामा पुरानो सोचाइद्वारा निर्देशित तीजसम्बन्धी बहस निरर्थकझैं प्रतीत हुन्छ ।

अब रह्यो, तीजलाई मर्यादित बनाउने कुरा । यो आवश्यक छ, तर सहज छैन । विगतमा समाजलाई नियमन गर्ने थुप्रै प्रसंग आए । सोही अनुसार नियम पनि बने । तर ती नियम कहिल्यै पनि राम्रोसँग कार्यान्वय भएनन् । ती नियम भाषणको विषय बने, व्यावहारिक कार्यान्वयनमा आउन सकेनन् । तीजसम्बन्धी नियम पनि यस्तै हो । जसका लागि नियम बनाएको उसैले व्यावहारमा नउतार्दासम्म यस्ता नियम निरर्थक हुन्छन् ।

एकतिर, सामाजिक विधिविधानको थुप्रो अग्लिँदै गएको छ भने अर्कोतिर समाज निरन्तर व्यक्तिगत स्वतन्त्रताको हिमायति बनिरहेको छ । समयले काँचुली फेर्दै गएको यो घडीमा तीजलाई कुन हदसम्म स्वच्छन्द भएर मनाउने वा मर्यादाको कुन दायराभित्र राख्ने भन्ने कुराको लक्ष्मणरेखा कोर्न सहज छैन ।

सामाजिक व्यावहारलाई नियमन गर्न बनेका सरकारी कानुन-काइदा आफ्नो भूमिका निर्वाह गर्न सधैँजसो असमर्थ छ । तीज पनि यसको अपवाद बन्न सक्ने देखिन्न । यसलाई कुन हदसम्म नियमन गर्ने भन्ने कुरा तीज मनाउनेहरूकै विवेकमा नै निर्भर रहन्छ । अर्को कुरा, व्यक्तिका इच्छा आकांक्षाले देशका कानुन-काइदालाई सधैँभरि उछिनिरहेकै नजिर छ ।

[साभार: नयाँ पत्रिका । २०७६ साल भदौ १७ गते ।]