Wednesday, April 10, 2013

लोकतन्त्रका विरोधाभाषपूर्ण दृश्य

–यमबहादुर दुरा

लोकतन्त्र सुल्टो बाटोमा हिंडेमा देशमा कानुन बोल्छ, नेताका मुखबाट नागरिकका इच्छा–आकांक्षाहरू उच्चारित हुन्छन्, नेताका निजी स्वार्थहरू पैतलामुनि दबिन्छन् र राजनीतिक दलहरू देश र नागरिकको संरक्षक ठहरिन्छन् ।

दुर्भाग्यवश, नेपालको लोकतन्त्र त्यस्तो देखिएको छैन । नेपालमा लोकतन्त्रको मिजास बदलिएको छ । जलवायु परिवर्तन कारण हावापानीमा अनौठा–अनौठा लक्षण देखापरेझैं  नेपालको लोकतन्त्रमा पनि अस्वाभाविक र अनौठा लक्षणहरू देखा पर्न थालेका छन् । विसं २०४६ सालको जनआन्दोलनमा ‘प्रजातन्त्र’ र  २०६२/०६३ को ‘अप्रिल क्रान्ति’ पछि ‘लोकतन्त्र’ भनेर चिनिएको शासन पद्धतिमा अनपेक्षित अशुभ लक्षणहरू देखिएका छन् । अहिले कानुन मौन बस्न थालेको छ; नेताहरू बढी बोल्न थालेका छन् र तिनको मुखबाट देश र नागरिकका हितविपरीत निजी स्वार्थ ओकलिन थालेका छन्; नागरिकका इच्छा–आकांक्षाहरू पैतलामुनि दबिन थालेका छन्; राजनीतिक दलहरूसँग नागरिक डराउनुपर्ने अवस्था आएको छ ।

विसं २०४६ को राजनीतिक परिवर्तनपछि नेपालको राजनीतिक परिदृश्य विरोधाभाषपूर्ण दृश्यहरू देखापर्न थाले । २०४६ सालको जनआन्दोलन सफल भएपछि जनआकांक्षा दबाउन भूमिका खेल्नेहरूबारे छानबिन गर्न ‘मल्लिक आयोग’ गठन भयो । आयोगले थुप्रै  प्रभावशाली व्यक्तिहरूलाई दोषी ठह¥यायो । ती व्यक्तहरूमाथि कारबाही हुन त परै जाओस्, प्रतिवेदन सार्वजनिकसम्म पनि गरिएन । पछि तिनै व्यक्तिहरू नेपालको राजनीतिक मैदानमा सच्चा नायकका रूपमा देखापरे । यसबाट एकतिर नागरिकको मनोबल गि¥यो भने अर्कोतिर खलनायक ठहरिएका व्यक्तिहरू राजनीतिक वृत्तमा सच्चा नायकका रूपमा प्रकट हुने आधारभूमि तयार भयो ।

यसैगरी, ‘अप्रिल क्रान्ति’ भनेर चिनिएको २०६२/०६३ लोकतान्त्रिक आन्दोलन दबाउन हरूबारे छानबिन गरी कारबाहीको सिफारिश गर्न ‘रायमाझी आयोग’ गठन गरियो । यसले पनि थुप्रै  प्रभावशाली व्यक्तिहरूलाई दोषी ठहर गरी कारबाहीको दायरामा ल्याउन सिफारिश  गर्यो  । दुर्भाग्यवश, ‘रायमाझी आयोग’ ले पनि ‘मल्लिक आयोग’ कै नियति भोग्नुपर्यो  । ‘रायमाझी आयोग’ ले दोषी ठह¥याएका व्यक्तिहरूले उन्मुक्तिमात्र पाएन, लोकतान्त्रिक भनिएका सरकारले तिनलाई पुरस्कृत पनि गर्यो  । लोकतान्त्रिक आन्दोलनमा गोली वर्षाउने सेना र प्रहरीका उच्चपदस्थ अधिकृतहरूलाई  बढुवाको फूली  लगाएर स्यावासी दिने र सुनपानी छर्केर चोख्याउने काम गरियो । आन्दोलन दबाउन निर्देशन दिने तत्कालीन सत्ताका हर्ताकर्ताहरू अहिले सच्चा लोकतन्त्रवादीझैं  प्रस्तुत भइरहेका छन् ।

नागरिकका इच्छा–आकांक्षाहरू पैतलामुनि दबिन थालेको यस घडीमा अर्को नेपालीमा राजनीतिमा अर्को अनिष्टकारी र विरोधाभाषपूर्ण दृश्य देखापरेको छ । ‘रायमाझी आयोग’ ले दोषी ठह¥याएको र अख्तियार दुरुपयोग निवारण आयोगले भविष्यमा सरकारी सेवामा काम गर्न अयोग्य ठह¥याएको लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग निवारण आयोगकै प्रमुखको रूपमा ल्याउन आफूलाई क्रान्तिकारी पार्टी ठान्ने नेकपा माओवादीले नै सिफारिश गर्यो  । कार्कीलाई सिफारिश गरिएकोमा जनस्तरबाट विरोध हुँदा त्यस पार्टीका जिम्मेवार नेताले उल्टै उनी उपयुक्त व्यक्ति हुन् भनेर प्रतिक्रिया दिएर जनअपेक्षालाई कुल्चने र दण्डहीनतालाई प्रश्रय दिने काम भएको छ ।

राजनीतिक दलको यसप्रकारको अकर्मन्यतापूर्ण कार्यशैलीबाट ‘चोरलाई चौतारो, साधुलाई सूली’ भन्ने लोकोक्ति चरितार्थ भएको छ । नेपालको लोकतन्त्रमा विधिको शासन सुखान्त हिन्दी चलचित्रजस्तो भएको छ, जहाँ अन्यायी एवम् अत्याचारीहरूमाथि काँचको पर्दामा मात्र कारबाही हुन्छ, वास्तविक जीवनमा होइन ।

२०४६ सालको राजीतिक परिवर्तनले सामाजिक न्याय, जनजीविका र राष्ट्रियताको सवालमा अपेक्षित उपलब्धी ल्याउन नसकेको पृष्ठभूमिमा २०५२ फागुन १ नेकपा माओवादी सशस्त्र विद्रोहमा होम्मियो । परिणामस्वरुप धेरैको सिउँदो पुछियो, काख रित्तियो, घरबार उजाडियो, मनामा निको नहुने घाउ लाग्यो । नेपाली नागरिकले चर्को मूल्य चुकाएपछि  २०६२/०६३ को १९ दिने जनआन्दोलन हुँदै माओवादीको सशस्त्र विद्रोह शान्ति सम्झौतामा टुङ्गियो । यसपछि नेकपा माओवादीको सत्तारोहण भयो । उसले अरू दललेजस्तै पनि सत्ता र सुखभोगको अन्तिम अभीष्ट प्राप्त गर्यो  । सशस्त्र द्वन्द्वको आडमा सुविधाभोगी एउटा वर्ग उदायो । शासन बदलियो, संस्कार बदलिएन ।

प्रायः सबैजसो पार्टी सरकारमा पुगे तर सामाजिक न्याय, जनजीविका र राष्ट्रियताको सवालका सवाल ज्यूँका त्यूँ नै छ । ती पार्टीले नागरिक समक्ष गरेका प्राण खोटो मोहरजस्तै भएको छ । को अपराधी र को सज्जत भन्ने कुराको भेद हुन छाडिसक्यो । थुप्रै अपराध र बात लागेर नागरिकको नजरमा गिरिसकेका व्यक्तिहरू राजनीतिक दलको संरक्षण पाएकैले हुँकार गर्दै हिंडिरहेका छन् । यसबाट सामाजिक न्याय र विधिको शासनको धज्जी उँडेको छ ।

जनजीविकाको हविगत उस्तै छ । व्यापारिक क्षेत्रमा एकाधिकार र यातायात क्षेत्रमा सिण्डिकेटरूपी दादागिरी जारी छ । शिक्षा एवम् स्वास्थजस्ता अत्यवाश्यक सेवाहरू धनाढ्यहरूको हातमा गएको छ । अप्राकृतिक रूपमा  महङ्गी बढेको बढेकै छ ।

राष्ट्रियता भगवान भरोसामा अडेको छ । नेपालको सीमा स्तम्भहरू हराएका र सीमा मिचिएका समाचार आएकै आएका छन् तर यस्ता समाचारले राजनीतिक दलहरूलाई छोएको देखिंदैन । बरु उल्टै राष्ट्रियतामाथि आघात पर्ने गरी पर्दापछाडि तानाबाना बुनिएका प्रसंगहरू चरबाट बाहिर आएका छन् ।  फाटीमर्नुको अवस्था आएको छ ।


यसो भएपछि देशको राजनीति हाँक्ने दलहरूबाट नागरिकले के आशा गर्ने ? नागरिकले असंख्य सास्ती र हैरानी भोगिरहँदा राष्ट्रियता र जनजीविका नारा फलाक्ने दलहरू राजनीतिक तानाबाना बुन्नमै व्यस्त छन् । मानौं, राजनीतिक तानाबाना बुन्नुबाहेक उनीहरूको अरु काम नै छैन । पूँजीपति वर्ग र नाफाखोरहरूको साँठगाँठमा सवारी भाडा र दैनिक उपभोग्य वस्तुहरूको भाउ बढाउने कामले निरन्तरता पाइरहेकै छ । नागरिकको विवशताबाट फाइदा उठाएर हाकाहाकी लुटतन्त्र मच्चाइएको छ । सर्वसाधारण नागरिकमाथि अन्याय र अत्याचारका श्रृङ्खला जारी छ तर नागरिकको अभिभावकको जिम्मेवारी पाएका राजनीतिक दलहरू मौन देखिएका छन् । उनीहरूको ‘वाचडग’ भूमिका हराएको छ ।

यी सबै दृश्य लोकतन्त्रमा देखिएका विरोधाभाषपूर्ण झलकहरू हुन् । नेपाली राजनीतिमा देखापरेका यस्ता विरोधाभाषपूर्ण दृश्यले लोकतन्त्रको उपहास गरेको त छ नै, लोकतन्त्रलाई नयाँ ढङ्गले परिभाषित गर्नुपर्ने अवस्थासमेत आएको छ ।  अब्राहम लिंकनले जनताद्वारा जनताकै लागि स्थापित जनताको व्यवस्थालाई लोकतन्त्र भनेका थिए । अब ‘जनताद्वारा नेता र हुनेखाने वर्गका लागि स्थापित व्यवस्था’ लाई लोकतन्त्र भन्नुपर्ने बेला आएको छ ।

[ साभार: राजधानी दैनिक ( चैत २८, २०६९ ) ]

Friday, March 29, 2013

Communication Through Music


-Yam Bahadur Dura

German philosopher Friedrich Nietzsche had rightly opined, 'Without music, life would be a mistake.' Human life would have been boring if there were no music. Music is one of the greatest creations of human, which gives us relief in pain and help us to reduce the stress in the hustle-bustle of daily life. In a real sense, music is life and life is music. Everybody under the sun loves music. It is scientifically proved fact that listening to music helps our brain work better.  Not only this, music makes us smarter as well. That's why music is as considered soul and driving force of human life.

The whole saga of music remains incomplete if we don't talk about communication. Human life is impossible without communication. Music has much to do with communication. In other words, music itself is communication and it communicates sorrows and joys of human beings opening floodgates of human feelings and emotions.   Music and communication go hand in hand and they cannot be separated.

Being the universal language, music facilitates the process of conveying human feelings and emotions.  For instance, western music is superseding homegrown music and vice versa. Given the fact youths are following various genres of music, communication barrier is just rare. Music can communicate many dimensions of human life ranging from love to war.

History says that Prithivi Narayan Shah, the founding father of unified Nepal, used music to communicate message of 'Nepal unification campaign'. He utilized Gandarvas, the traditional musician caste, to sing in favor of united Nepal during 'Nepal unification campaign'.  This fact makes us to believe that music was the part of 'Nepal unification campaign'.

Gandarvas used to travel from village to village playing Sarangi and spreading news long before newspaper, radio and television came into being. Even after the arrival of radio and television, the role of Gandarva was in place. Karka, an eventful song sung by Gandarvas, was one of the key sources of information in rural areas of Nepal. Karkha, was consisted of news regarding killing, natural disaster, arson, famine, and so on. For this reason, Gandarvas were considered as oral newspapers in nooks and corners of rural Nepal. Their traditional role of spreading news is being sharply replaced by the modern communication tools like, newspapers, radios, TVs, online, mobile sets.

We all know that Rubin Gandarva who sang influential songs during April Movement of 2006 and he proved himself as a celebrity. His song communicated a strong sense uprising to the silent masses, which ultimately assisted to hammer  autocratic system and it became one of the forces that played a key role to topple king Gyanendra's direct rule.

Jhalakman Gandarva, a noted folksinger, sang an epoch-making song called 'Aamaile sodhlin ni, khai chhoro bhanlin...' The tear-jerker song is based on a real story. The story is about a laahure, an army, of Armala Village in Kaski who was killed in the World War II. The song represented the sentiments of ill-fated laahure families and Jhalakman Gandarva became a household name overnight. It proved that music is a powerful tool of communication.

Experts say that music plays a vital role in child education. Nursery rhyme, nursery song, lullaby, ballad, etc. are those musical media that communicate knowledge to the children keeping them happy and open-minded. According to experts, music helps children to develop listening skills, to recognize words, to build vocabulary, to develop creativity and imagination. Experts recommend that children should be taught through music.

According to a website content developed by National Literacy Trust, a UK based organization; babies can recognize their mother's heartbeat and voice from when they are in the womb. The website called 'Talk To Your Baby' further says that newborn babies come into this world able to hear and with a sense of rhythm.

The website reads, '...They recognise sounds and enjoy making their own. From the day one babies communicate and they enjoy using music to express themselves.'

Religious and spiritual orators use Bhakti Sangit, devotional music, while preaching. Devotional music is supplementary to their preaching. On many occasions, devotional music gives the meanings of the points that orators missed out to deliver in the course of preaching.  In addition, it gives a visual image of the things that the orators talked about. The message communicated by music is powerful and leaves a lasting impression on audiences and take them to a spiritual world.

Music is a cultural heritage, and communication gives life to it.  Communication and culture are inseparable.  Communication scholars have lots more to do with inseparable aspects of communication and music. Nepal lacks research works about relationship between communication and music. Clock is ticking. It is indicating that we need to discover different facets of correlation between communication and music. Let's explore the largely unexplored world. And, let's learn to communicate through music.

[Courtesy : Media Newsletter  (March, 2013) ]

Monday, March 11, 2013

नेपाली राजीतिमा इमान्दारिता

-यमबहादुर दुरा

धेरैजसो विश्लेषकहरूले राजनीतिलाई सत्ता र शक्ति आर्जन गर्ने कूटनीतिक खेल भनेर परिभाषित गरेका छन् । राजनीति मूलतः सत्ता र शक्ति हत्याउने खेल नै हो, जसमा सम्झौता र षडयन्त्र समानान्तर रूपमा सँगसँगै चलिरहन्छ भन्ने गरिन्छ । सबैले भन्ने गरेका छन्, राजनीतिमा साम, दाम, दण्ड र भेद प्रयोग हुन्छ । त्यसैले राजनीतिको शब्दकोश असम्भव भन्ने केही पनि हुँदैन भन्ने गरिन्छ । मिथकीय 'महाभारत' को कथादेखि  जहानियाँ राणा शासनको उदयसँग गाँसिएको 'कोतपर्व' सम्मको उथुलपुथुलपूर्ण घटनाक्रमहरूले राजनीतिको कठोर भाषा बोलेका छन् ।

अङ्ग्रेजीमा एउटा भनाइ छ, 'पोटिक्स् गभर्न्स एभ्रिथिङ ।' अर्थात हरेक कुरा राजनीतिबाट सञ्चालित हुन्छ । राष्ट्रप्रमुखदेखि रङ्कसम्म अनि प्रधानमान्त्री कार्यालयदेखि र कर्मजीवी किसानको झुपडीसम्म राजनीतिले प्रभाव नजमाई छाड्दैन । राजनीतिको सर्वव्यापकताका सम्बन्धमा अर्को भनाइ पनि छ, 'पोटिक्स् इज एभ्रिहृवेर ।' अर्थात् राजनीति जताततै छ । त्यसलै अराजनीतिक नागरिकमा राजनीतिको प्रभाव परिरहन्छ । यसलाई कसै गरी पनि पञ्छाउन सकिँदैन । राजनीतिलाई नतमस्तक भएर शिरोपर गर्नुको विकल्प छैन ।

अर्कोतिर, राजनीति सबै नीतिहरूको मूल नीति मानिन्छ । राजनीतिबाट नै देशका सम्पूर्ण नीतिहरू सञ्चालन हुन्छन् । मूल नीति ठीक नभएमा अरु नीति पनि ठीक हुनै सक्तैन । हाम्रो दिमाग ठीक नभएमा शरीरको अन्य अङ्ग प्रयोजनविहीन भएजस्तै । नेपालको अवस्था पनि लगभग यस्तै भएको छ । नेपालको राजनीतिक अस्थिरता र बेइमानीपनको प्रतिविम्ब जनजीवनका हरेक आयाम र पाटाहरूमा देखिन थालेको छ । यस घडीमा राजनीतिले थुपरेको सामाजिक कुप्रभाव हटाउन राजनीति नै सच्चिनु आवश्यक छ ।

राजनीतिमा साम, दाम, दण्ड र भेद प्रयोग हुने भए पनि राजनीतिक खेलको निश्चित नियमहरू छन् । शिकार खेल्ने क्रममा बास बसेको वा निदाएको प्राणीमाथि आक्रमण गर्नहुँदैन भन्ने नैतिक संहिता हाम्रो समाजमा भएजस्तै राजनीतिक गर्नेहरूले पनि राजनीतिक मैदानमा उत्रँदा आधारभूत आचार संहिता पालना गर्नुपर्छ । 'बहुजन हिताय, बहुजन सुखाय' को मर्म र भावनालाई व्यवहारमा उतार्नु नै राजनीतिक कर्मभूमिमा उत्रिएकाहरूले पालना गर्नुपर्ने मूलभूत आचार संहिता हो ।

बिडम्बना नै भन्नुपर्छ, नेपालका राजनीतिकर्मीहरू 'बहुजन हिताय, बहुजन सुखाय' को मर्म र भावनाको विपरीत हुने गरी चलेको पाइन्छ । उनीहरू नितान्त सीमित स्वार्थका लागि बहुसंख्यक नागरिकलाई सास्ती दिने काममा उद्धत् भएको पाइन्छ । उनीहरू व्यक्तिगत स्वार्थ र दलगत स्वार्थभन्दा माथि उठ्न सकेको देखिंदैन । आफ्नो दल सबैभन्दा बढी लोकतान्त्रिक भएको, लोकतान्त्रिक आन्दोलनमा आफ्नो दलले बढी योगदान गरेको, आफ्ना नीति र कार्यक्रम अरूको भन्दा बढी जनपक्षीय भएकोजस्ता आधारहीन गुड्डी हाँकेर आत्मप्रशंसामा रमाउनु र नगारिकलाई दिग्भ्रमित तुल्याउनु नै उनीहरूको नित्यकर्म बनेको प्रतीत हुन्छ ।

राजनीतिको मूल उद्देश्य देश र जनताको वृहत्तर हितका लागि आफूलाई कर्मक्षेत्रमा होमेर समाज सेवा गर्नु नै हो । आफ्ना व्यक्तिगत स्वार्थलाई तिलाञ्जलि दिएर शोषण, अन्याय, अत्याचार, अज्ञान, रोग र भोकका विरुद्ध आफूलाई समर्पित तुल्याउनु उनीहरूको धर्म हो । दुःखको कुरा, नागरिकको दु:खकष्ट अन्त्य गर्नुमा नभई सत्ता प्राप्ति र सुखभोगमा नेपाली राजनीति केन्द्रित भएको पाइन्छ । कतिपय अवस्थामा राजनीति गर्नेहरू नै नागरिकमाथि भएका शोषण, अन्याय र अत्याचारको कारकतत्व बन्न पुगेका छन् । राजनीति गर्नेहरूको उपस्थितिबाट नागरिकले संरक्षकत्वको अनुभव गर्नुपर्ने हो तर त्यसो नभई नागरिक थर्कमान हुनुपर्ने अवस्था आएको छ । यस्तो भएपछि नागरिकले उनीहरूबाट के आशा गर्ने ?

नेताहरूमा राजनीतिक इमान्दारिता क्षय हुँदै गएकोले उनीहरूद्वारा उच्चारित राष्ट्रवाद, राष्ट्रियता, जनजीविका र वृहत्तर राष्ट्रिय हितका सवाल हात्तीको देखाउने दाँतभन्दा बढी हुन सकेको छैन । नागरिकको पक्षमा बोलेर कहिल्यै नथाक्ने नेताहरू साँचो अर्थमा नागरिकका काम गर्छन् त ? अहिलेसम्मको उनीहरूको व्यवहारले त्यसलाई पुष्ट गर्दैन । राष्ट्रघाती सन्धि-सम्झौता गर्न रातरात एकजुट हुने तर राष्ट्रनिर्माणको अभियानमा चाहिँ सँधै फुटपरस्त भइरहने कार्यशैलीले उनीहरूले आफ्नो असली परिचय दिइरहेका छन् ।

राजनीति गर्नेहरूले सही तरिकाले देशको दिशा निर्धारण गर्नुपर्छ । देशको दिशा निर्धारण गर्ने क्रममा उनीहरूले 'बहुजन हिताय, बहुजन सुखाय' को मर्म र भावनालाई मनमा लिएर दृढनिश्चयी भई लक्ष्यमा अघि बढ्नुपर्ने हो तर उनीहरू बोलीमा लगाम नभएको दोधारे र दुइजिब्रे देखिएका छन् । उनीहरूको मनोदशा र मनोवेग यस्तै रहने हो भने नागरिकले अपेक्षा गर्ने ठाउँ रहँदैन ।  राजनीतिक इमान्दारिताको अभाव नै उनीहरूको सबैभन्दा ठूलो कमजोरी हो । नागरिकले उनीहरूबाट भाषण र खोक्रो आश्वासनको थुप्रो होइन, त्याग र तपस्या चाहेका छन् । सीमित स्वार्थलाई त्यागेर नागरिकको वृहत्तर हितका लागि आफूलाई समर्पित गरेमा मात्र देशले सही दिशा लिन्छ । यहाँनेर उनीहरूलाई राजनीतिक इमान्दारिता देखाउन अवसर छ ।

महर्षि व्यासले भनेका थिए, 'इमान्दार मानिस इश्वरको सर्वोत्कृष्ट नमूना हो ।' हाम्रा नेताहरूले पनि आफूलाई इमान्दार सावित गरेर देशको राजनीतिक परिदृश्यमा आफूले आफैंलाई सर्वोत्कृष्ट राजनेता तुल्याउन आवश्यक छ । आफूलाई सर्वोत्कृष्ट तुल्याउने साँचो अरू कोहीसँग नभई नेताहरूसँग नै छ ।

[साभार : नेपाली पोष्ट  (मार्च १०, २०१३)] 

अद्यावधिक: २०७१।१०।१३ 

Saturday, March 9, 2013

बाहुबली यातायात र भाडा वृद्धि

-यमबहादुर दुरा
 
नेपालको सार्वजनिक यातायात प्रणाली चरम अव्यवस्था र लापरबाहीबाट गुजि्ररहेको बेला पछिल्लोपटक भएको भाडा  बृद्धिले सर्वसाधारणलाई थप पीडा दिएको छ । जगजाहेर नै छ, सवारी प्रणालीमा विद्यमान अव्यवस्थाले सर्वसाधारणले वर्षौंदेखि सास्ती भोगिरहेका छन् र यो क्रम अटुट छ । मनोमानी भाडा उठाउने, अपशब्द बोलेर यात्रुलाई दुव्र्यवहार गर्ने, सवारी नियम उल्लङ्घन गर्ने, असुरक्षित सडकजस्ता पक्षहरू नेपालको सार्वजनिक यातायात प्रणालीको विशेषता नै मानिन्छन् ।

हरेक महिनाजसो ठूला सवारी दुर्घटनामा सर्वसाधारण नागरिकले ज्यान गुमाएको दुःखद समाचार आइरहन्छन् । एउटा प्लेन दुर्घटना हुँदा जाँचबुझ आयोग गठन हुन्छ तर सडक दुर्घटनामा  परेर महिनौंजसो यात्रु मर्दा कसैको ध्यान जाँदैन । मानौं, उनीहरू मान्छे नै हैनन् । नेपालको असुरक्षित र अव्यवस्थित सडक यातायात प्रणालीबारे विदेशी वृत्तचित्र निर्माताहरूको समेत ध्यान गएको छ । उनीहरूले ‘विश्वकै खतरनाक सडक यातायात’ शीर्षक दिएर नेपालको असुरक्षित यातायातबारे वृत्तचित्र बनाएका छन् ।

अब यहाँ स्वाभाविक रूपमा प्रश्न उठ्छन्, नागरिकले खेप्नुपरेका हैरानी र सास्तीले सरोकारवाला निकायहरूलाई किन छुँदैन ? सार्वजनिक यातायात प्रणालीलाई यथाशक्य सुधार्दै जाने भन्ने आˆना घोषित प्रतिबद्धताविरुद्ध सरकार र यातायात व्यवसायीहरू किन भाडा वृद्धिमा केन्द्रित भइरहेका छन् ? नागरिकको पीर-मर्कालाई वेवास्ता गरेर ‘काले काले मिलेर खाऊँ भाले’ को किस्सा उनीहरू किन पुनरनवृत्ति गरिरहेका छन् ? के नागरिकको पीर-ब्यथालाई एकतिर पञ्छाएर अप्राकृतिक रूपमा भाडा बृद्धि गर्नुमात्र सरकार र यातायात व्यवसायीहरूको काम हो ? जनउत्तरदायी निकाय भएकाले उनीहरूले यी प्रश्नको उत्तर दिन आवश्यक छ ।
सवारी साधनको समयानुकूल भाडा वृद्धि हुनुपर्छ । यसमा दुइमत छैन तर भाडा बृद्धिका आधारहरू प्रष्टसँग खुलाउन आवश्यक छ । सरकार र यातायात व्यवसायीबीचको अनुचित मिलोमतोमा अप्राकृतिक रूपमा भाडा वृद्धि गरिन्छ भन्ने जनगुनासो विगतदेखि वर्तमानसम्म निरन्तर छ । कमिसनको लोभमा पारेर होस् वा युनियनको धम्की देखाएर नै किन नहोस्, २०४६ सालको राजनीतिक परिवर्तनपछि यातायात व्यवसायीहरूले सरकारलाई अटुट रूपमा घुँडा टेकाइरहेको देखिन्छ । यसबाट सर्वसाधारण नागरिक मर्कामा परिरहेका छन् । लोकतन्त्रमा पनि बाहुबलीहरूकै हैकम चल्ने हो र नागरिक फेरि पनि निरीह प्राणी बन्ने हो भने सहअस्तित्वपूर्ण र शोषणरहित समाजको नारा किन फलाक्ने ?

सवारी साधनमा यात्रुहरू कोचाकोच गरेर राख्न नपाइने लगायतका विषयमा सरकार र यातायात व्यवसायीबीच भएको सम्झौता लागू भएको पाइँदैन । दशैंजस्ता धेरै मानिस आवतजावत हुने याममा यात्रुको विवशताबाट फाइदा उठाएर मनलाग्दी भाडा उठाउने, विद्यार्थीलाई सहुलियत नदिनेजस्ता अराजकता सार्वजनिक यातायात प्रणालीको दीर्घकालीन रोग हुन् । लोकतान्त्रिक मूल्य-मान्यताको विरुद्ध हुनेगरी भएका क्रियाकलापप्रति सरकार मूकदर्शक बनेको देखिन्छ ।

सरकारले कहिलेकाही अनुगमन गरिहाले पनि देखाउनका लागि मात्र गरेको प्रतीत हुन्छ । सार्वजनिक निकायमा हुने गतिविधिको अनुगमन गर्नु सरकारको नियमित काम हो तर यो एउटा निश्चित याममा आउने पर्वको क्षणिक तामझामजस्तो मात्र बनेको छ । सार्वजनिक यातायात प्रणालीमा वैज्ञानिक भाडा निर्धारण गर्ने भनेर इन्जिनियरिङ क्याम्पसमार्फत् गरिएको अध्ययन पनि हात्तीको देखाउने दाँतभन्दा बढी हुन सकेन । यसले नागरिकको पक्षमा गरेको देखिएन ।

अब नागरिक समाजलगायत सबै सरोकारवाला निकायहरूको सम्मानजनक सहभागितामा सरकार र यातायात व्यवसायीहरूले भाडा वृद्धिबारे संयुक्त रूपमा ‘स्वेतपत्र’ जारी गर्नुपर्ने बेला आएको छ । यसो गरिएमा यातायात क्षेत्रमा लोकतान्त्रिक अभ्यासको थालनी हुनुका साथै गुमेको जनविश्वास केही हदसम्म भए पनि फर्कनसक्छ । यस कार्यमा सरकारको इच्छाशक्तिको मुख्य भूमिका रहन्छ ।

पारदर्शिता र उत्तरदायित्व लोकतान्त्रिक समाजको आधारस्तम्भ मानिन्छ, जुन हरेक नागरिक र निकायमा हुनुपर्ने अत्यावश्यक गुण मानिन्छ । त्यसमा पनि सार्वजनिक सरोकारका निकायमा त पारदर्शिता र उत्तरदायित्व झन बढी आवश्यक हुन्छ । इमान्दारितामा मात्र पारदर्शिता र उत्तरदायित्व बाँच्न सक्छ । सवारी भाडा वृद्धिबारे पनि सरकार र यातायात व्यवसायीहरूले इमान्दारिता देखाउन आवश्यक छ । यसो भएमा मात्र उनीहरूको व्यवहारमा पारदर्शिता र उत्तरदायित्व झल्कनेछ ।

[ साभार: अनलाइन खबर  (फागुन २६, २०६९) ]

Monday, February 11, 2013

नेपाली लोकगीतमा मौलिकताको प्रश्न

-यमबहादुर दुरा

लोकसंगीतसँग हाम्रो जीवनशैली गाँसिएको छ ।  त्यसैले होला, कसै कसैले यसलाई जीवनको गीत  गरेका छन् । लोकगीत हाम्रो माटोमा उब्जिएकोले यसमा  माटोको सुवास भेटिन्छ । यसमा समाजको स्पन्दन धड्किन्छ  । संगीतकार अम्बर गुरुङले एउटा अन्तरवार्तामा भन्नुभएको थियो, 'वास्तविक गीत कलमले होइन, हृदयले लेखिन्छ ।'  हो, लोकगीत हृदयले लेखिएको गीत हो । लोकगीतमा छिपेको अवैयक्तिक व्यक्तित्वले समाजको साझा अभिव्यक्ति बोल्छ । विश्वव्यापीकरणको छालले नभेटेको पुस्ताका लागि लोकगीत प्राण जत्तिकै प्यारो छ । यतिविधि प्यारो मानिएको लोकगीतको मिजास समयको प्रवाहसँगै बदलिंदै गएको छ र यसको आत्म मानिएको मौलिकता हराउँदै गएको छ । एक हदसम्म यसलाई स्वाभाविक  मान्न सकिन्छ किनभने संसार परिवर्तनशील छ  ।

आमसञ्चारको कुप्रभाव
आमसञ्चारको क्षेत्रमा एउटा भनाइ प्रचलित छ, 'आमसञ्चारका माध्यम दुइधारे तरबार हुन् ।' यसलाई सही ढंगले प्रयोग गर्न सके राम्रो काम गर्छ, प्रयोग गर्न नजाने खती पनि गर्छ । लोकसंगीतको सन्दर्भमा यही कुरा लागू हुन्छ । नेपालको पुरानो प्रसारण संस्था 'रेडियो नेपाल' कै कुरा गरौं न । यसले विगतमा हाम्रा गाउँबस्तीका श्रुतिमाधुय, सरस एवम् मौलिक लोकसंगीतलाई वायुतरङ्गमार्फत् स्वदेश र विदेशमा विस्तार गर्न सघायो । अहिले त्यही 'रेडियो नेपाल' ले शहरमा बनेका लोकगीतलाई गाउँघरतिर विस्तार गरिरहेको छ । चाहे रेडियो नेपाल होस वा स्थानीय एफएम नै किन नहोस्, सवैले 'हाइफाइ सेलिब्रिटी' लाई उच्च प्राथमिकता दिने काम गरेका छन् । यसका पछाडि बजारशास्त्रसित गाँसिएका थुप्रै पक्षहरु होलान् । कारण जेसुकै होस, यसले गाउँका श्रष्टाहरुलाई ओझेलमा पारेको छ, स्थानीय लोकसंगीतको मुहान सुकाउने काम गरेको छ । अहिले गाउँघरमा हुने सामाजिक जमघट एवम् वनपातमा पनि शहरमै बनेका लोकगीतहरू  नै गुञ्जन थालेका छन् । गाउँमा लोकगीत जन्मनै छाडिसक्यो । आमसञ्चारका माध्यमबाट बज्ने 'रेडिमेड लोकगीत ' ले गाउँघरको कोख नै बाँझो बनाइदियो । यसले लोकगीतको स्वाभाविक जन्म हुने प्रक्रियालाई बन्द गरिदियो । लोकसंगीतको उर्वरभूमि मानिने गाउँघर थारो गाईजस्तो पो हुन थालेको छ ।

पूँजीवादी संक्रमण
हिजोका दिनमा लोकगीत भावना साटासाट गर्ने, मन भुलाउने एवम् मन बुझाउने विशुद्ध माध्यममात्र थियो । त्यसमा व्यापार मिसिएको थिएन । अहिले लोकगीतले व्यापारिक वस्तुको रूप धारण गरेको छ । आज नाफा आर्जनसहितको अर्थलाभको विषय बनेको छ, लोकगीत । यसले मनको मझेरीसँग नाता गाँस्न छाडेर नाफा-नोक्सान बहीखातासँग आत्मीयता कायम गरेको छ । अहिले संगीत उद्योगको एउटा महत्वपूर्ण  हिस्सा बनेको छ, लोकगीत । अरू उद्योगजस्तै संगीत उद्योग पनि चर्को प्रतिस्पर्धाबाट गुज्रिरहेको छ । त्यसैले संगीत उद्यमीहरुका अगाडि एउटा बाध्यता खडा भएको छ, आफ्नो उत्पादनलाई 'बिकाउ वस्तु' बनाउनैपर्ने लगानीकर्ताहरुको आँखाबाट हेर्दा यसलाई गलत भन्न नसकिने अवस्था छैन किनभने लगानी उठाउने र नाफा कमाउने हो भने यसो नगरी सुखै छैन । परिणामस्वरुप लोकगीतमा पनि 'बिकाउ सूत्रहरु' प्रयोग हुन थालेका छन् । यसबाट लोकगीत 'मसालेदार' बन्न थालेको छ । लोकगीतका 'म्युजिक भिडियो' हरु निकै 'मसालेदार' र 'हट' भएका छन् । लोकसंगीतमा मौलिकताको स्थान 'मिर्च-मसला' ले ओगट्दै गएको देखिन्छ । यिनीहरुमा गाउँबस्ती र वनपाखाको स्वाभाविक सुसेलीहरु भेटिन्नन् । लोकगीतका 'म्युजिक भिडियो' हरुले गाउँबस्तीको जीवनशैलीलाई पञ्छाएर 'हलिउड' र 'बलिउड' को धारलाई पछ्याएका छन् । भिडियोको स्क्रिनमा  देखिने नर्तक–नर्तकीको पहिरन र जिउको कर्काइ-मर्काइमा कुनै रैथानेपन भेटिन्न । यस्ता 'म्युजिक भिडियो' हेर्दा लेकबेंसीका गुलाबी झझल्को आउँदैन, बरु फिल्मी दुनियाँका 'मसालेदार' कहानीको पुनरावृत्ति गराउँछ । अब लोकगीतमा मौलिकता कहाँनेर छ भनेर खोज्नुपर्ने बेला आएको छ । अहिलेको लोकगीत कागजको फूलजस्तो भएको छ, जुन हेर्दा सुन्दर देखिए पनि सुवासविहीन हुन्छ। शायद, समयले नै लोकगीतको मौलिकता हरण गर्दैछ र लोकगीत पूँजीवादबाट नराम्ररी संक्रमित हुँदै गएको छ ।

पुस्तान्तरण
दुनियाँ परिवर्तनशील छ । रूखको पुरानो पात झरेर नयाँ पात पलाएजस्तै पुरानो पुस्ताको ठाउँमा नयाँ पुस्ता आएको छ । हरेक नयाँ पलले केही न केही नयाँ कुरा लिएर आउँछ । संधै परिवर्तनको बाटोबाट गुज्रिरहने दुनियाँको शाश्वत नियमबाट लोकगीत अछुतो रहने कुरै आएन । हिजोका दिनमा लोकगीत वनपात र मेलापातमा सुनिन्थ्यो भने आजका लोकगीत टेलिभिजनको पर्दामा देखिन थालेको छ । अहिले शहरका दोहोरी साँझहरूमा लोकभाका घन्कन थालेको छ, पूँजीवाद रूप र रङ्ग लिएर । हिजोको लोकगीत मूलतः ग्रामीण परिवेशमा उब्जिन्थ्यो । ती लोकगीतमा प्रकृतिसंग नाता गाँस्ने देउराली, भञ्ज्याङ, चौतारी आदिको प्रसंग जोडिन्थ्यो । समाज निरन्तर रूपमा आधुनिकतातर्फ लम्किरहेको छ । आजकलका लोकगीत अर्धग्रमीण एवम् शहरिया परिवेशमा बन्न थालेका छन् । यसको छाप लोकगीतका फाँकी पुFmदाहरुमा पर्न थालेको छ । लोकगीतमा 'मोबाइल' 'गेट' 'टाइ' जस्ता गैरनेपाली शब्द बग्रेल्ती भित्रिन थालेका छन्, जुन एकप्रकारले स्वाभाविक छ किनभने लोकगीत समय र समाजको प्रतिविम्ब हो ।

सूचना प्रविधिको विकास, आमसञ्चारमाध्यमको विस्तार एवम् यातायात प्रणालीको विकासले तीव्रतर गतिमा दुनियाँ परिवर्तन भइरहेको छ । घरको पिंढीमा बसेर अमेरिकी 'रक स्टार' को 'म्युजिक कन्सर्ट' प्रत्यक्ष हेर्न सम्भव हुने वर्तमान घडीमा गाउँबस्तीका लोकभाकाले कतिञ्जेल आफ्नो अस्तित्व जोगाउन सक्लान् ? त्यसमा पनि परिवर्तनको छालबाट निथ्रुक्कै भिजेको अहिलेको 'एमटीभी पुस्ता' ले वनपाखाका लोकगीतलाई कुन हदसम्म कख्याएर राख्लान् ? प्रश्न पेचिला छन् । नयाँ पुस्ताका मानिसहरु शहरमै जन्मछन्, शहरमै हुर्कन्छन् र शहरमै बस्छन् । गाउँबस्तीले उब्जाएका लोकगीतका अधिकांश प्रसंगहरु उनीहरुका लागि विरसिलो र असान्दर्भिक हुन पुग्छन् । पुराना पुस्ताका मानिसका लागि 'हिपहप' र 'र्‍याप' अर्थहीन भएझैं ।

'पैयूँ फुल्दा माइत जानू, आरु फुल्दा घर फर्कनू' ।  पुरानो जमानामा बुहारीहरुलाई निर्देशन दिने यस भनाइको अर्थ नयाँ पुस्तालाई सजिलै बुझाउन सकिंदैन । उनीहरु अबुझ भएर यस्तो भएको होइन, परिवेश फरक परेर हो । हाम्रा मौलिक लोकसंगीतमा यस्ता थुप्रै प्रसंगहरु छन्, जुन नयाँ पुस्ताले हत्तपत्त बुझ्न सक्तैन । यसमा उनीहरुको कुनै दोष छैन । समयको परिवर्तनशील चक्र, पुस्तान्तरण र बदलिंदो परिवेशले नयाँ पुस्ता र मौलिक लोकगीतबीचको नाता तोडिंदै गएको छ । 'बूढा मरे, भाका सरे' भन्ने  भनाइलाई लोकगीतको सर्न्दर्भमा अलिकता सच्याएर बुझ्नुपर्ने अवस्था आएको छ । अब त 'बूढा मरे, भाका पनि मरे' पो भन्नुपर्ने भएको छ । पुस्तान्तरणबाट हाम्रा लोकगीतका कतिपय आयामहरू बिरानो र सर्न्दर्भहीन बन्न पुगेका छन् । एक अर्थमा यसलाई स्वाभाविक प्रक्रियाको रूपमा लिनुपर्ने हुन्छ ।

विश्वसंगीतको प्रभाव
हिजोको तुलनामा हाम्रो सांगीतिक क्षितिज अरू उघ्रिएको छ । आमसञ्चार माध्यमको व्यापकता र सात समुन्द्र पारिसम्मको आउजाउले हामीले विदेशी संगीतको रसास्वादन गर्ने अवसर पाएका छौं । रक, हिप–हप, ब्लुज, रक एण्ड रोलजस्ता विदेशी संगीतको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव नेपाली लोकगीतमा पनि पर्न थालेको छ । यसले एक हदसम्म राम्रै गरेको छ किनभने यसले सांगीतिक  'मेनु' मा नयाँ 'आइटम' हरू थपेको छ । चाहेर वा नचाहेर नेपाली लोकसंगीत आधुनिकताको पथमा अघि बढिरहेको छ । यस क्रममा नेपाली लोकसंगीतमा पनि नयाँ प्रवृत्ति र शैलीहरू भित्रिन थालेका छन् । अहिले नेपाली लोकगीतमा विदेशी वाद्ययन्त्रहरु प्रयोग हुन थालेका छन् । यसले नेपाली संगीतको मौलिकतामा असर पारिरहेको छ । यसलाई नयाँ प्रयोगको रूपमा पनि लिन सकिएला तर ठेट नेपालीपनको कुरा गर्दा यसबाट नेपाली लोकगीतको मौलिकतामा धक्का पुगेको देखिन्छ । यसबाट परम्परागत नेपाली बाजाहरू विस्थापन हुने चरणमा पुगेको छ । अर्कोतिर नेपाली लोकगीतमा विदेशी भाका, लय र तालको प्रभाव भेटिएका छन् । यसबाट नेपाली लोकगीतको मिजास बदलिंदै गएको देखिन्छ । विश्वसंगीतको प्रभाव गहिरिंदै गएको छ ।

उपसंहार
यी विविध कारणहरुले लोकगीतको मौलिकता हराउँदै गएको छ । समयको प्रवाहसँगै लोकसंगीतमा आउने परिवर्तनलाई न रोक्न सकिन्छ, न त रोक्ने दुस्साहस गर्नु नै बुद्धिमानी हुन्छ । परिवर्तनशील दुनियाँको विधानविपरीत जाने तागत कसैसँग छैन । यसको अर्थ पुराना लोकगीतलाई बेवास्ता गर्नुपर्छ भन्ने पनि होइन । पुराना लोकसंगीत हाम्रो सम्पदा हो । भावी पुस्ताका लागि यसको संरक्षण गर्न आवश्यक छ । यही प्रयोजनका लागि भने पनि लोकसंगीतको अभिलेखीकरण गर्न आवश्यक छ । यसो भएमा भावी पुस्ताले पुरानो लोकसंगीतबारे थाहा पाउने एवम् खोज अनुसन्धान गर्ने वातावरण तयार हुन्छ । भनिन्छ, लोकसंगीतको जरा विगतसम्म फैलिएको हुन्छ र यसमा वर्तमानका नयाँ पालुवाहरु पलाएका हुन्छन् । यही भनाइको मर्मलाई आत्मसात गरेर लोकगीतको विभिन्न आयाम र पाटाहरुबारे विशद अध्ययन गरिनुपर्छ । यस उद्देश्य परिपूर्तिका लागि पश्चिमी गोलार्द्धमा जस्तै हाम्रा विश्वविद्यालयहरुमा पनि लोकसंगीतको पढाइ हुनुपर्छ । यस दिशामा राज्य र जनस्तरबाट संगठित प्रयासहरु थालनी गरिनुपर्छ ।

[साभार : नेपाली पोष्ट (फेब्रुवरी१०, २०१३) मधुपर्क (पुस, २०६९ ) मा प्रकाशित लेखको परिमार्जित संस्करण ।]
[अद्यावधिक :  २०६९।११।०१, २०६९।११।० २, २०६९।११।०३, २०६९।११।०८]