Saturday, January 15, 2022

आदिवासी ज्ञानको दस्तावेजीकरण

 –यमबहादुर दुरा

आधुनिकतासँगै भित्रिएको पश्चिमी विज्ञान र त्यसबाट निस्रित ज्ञानले हाम्रो जीवनशैलीलाई बहुधा सुखमय बनाएको छ । यसबाट मानव जातिको भौतिक उन्नतिको ग्राफ उकालो लागेको लाग्यै छ । तर पनि, कतिपय प्राकृतिक विपत्तिका सामु आधुनिक समाज घुँडा टेक्न विवश छ । 

बाढीपहिरो, जल–वायु–भूमि प्रदूषण, जैविक विविधतामा ह्रास आदि आधुनिक समाजले भोगिरहेका जल्दाबल्दा जब्बर समस्या हुन् । यस्ता वातारणीय समस्याहरूले आधुनिक युगको चमकधमकपूर्ण माहोललाई बिथोल्दै गएका छन् । समस्त पृथ्वीवासीसँग सीधै नाता गाँस्ने यस्ता समस्याले प्रतिपल बिरानो बन्दै गइरहेकोे परम्परागत ज्ञानलाई नवीकरण गरी व्यवहारमा उतार्नुपर्ने खाँचो अनभूत गराएको छ ।

प्राकृतिक स्रोत-साधानको अधिक दोहन तथा असन्तुलित विकासको लहरले वातावरणीय गडबडीका घटनाहरू बढ्दै गएका छन् । यसबाट आधुनिक समाजको आँखैसामु वातावरणीय समस्याको पहाड खडा हुन पुगेको छ । यसले पनि परम्परागत ज्ञानको महत्त्वबोध गराएको छ ।

परम्परागत ज्ञान मानव समुदायले हजारौँ वर्षदेखि व्यवहारमा उतार्दै ल्याएको र एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको अनुभवसिद्ध ज्ञान हो, जुन प्रकृतिमैत्री हुन्छ भन्ने आमविश्वास छ । परम्परागत ज्ञानले प्रकृति र स्थानीय संस्कृतिसँग आत्मीय सम्बन्ध कायम गरेको हुन्छ । यसो हुँदा मानव र प्रकृतिबीच अस्वाभाविक द्वन्द्व हुँदैन भन्ने विश्वास गरिन्छ ।


परम्परागत ज्ञानको यिनै गुणग्राही पक्षहरूलाई हृदयंगम गरी पत्रकार कुमार यात्रुले ‘परम्परागत आदिवासी ज्ञान’ शीर्षकमा पुस्तककार कृति सार्वजनिक गरेका छन् । नेपालका आदिवासी जनजाति समुदायले परम्परागत ज्ञानलाई कसरी व्यवहारमा उतार्दै आएका छन् ? वर्तमानमा तीव्र विलोपीकरणको नियति भोगिरहेको परम्परागत ज्ञानको संरक्षण र सम्वर्द्धन  गर्न के गरिनुपर्छ ? यी प्रश्नहरूलाई केन्द्रविन्दुमा राखेर कृतिकारले अनेकन् पठनीय विवरण पेश गरेका छन् ।

यस क्रममा कृतिकारले चेपाङ, तामाङ, शेर्पा, लिम्बू, नेवार, मगर, राई, राउटे, गुरुङ, थारू, छन्त्याल, डोल्पो, शेर्पा, माझी, ह्योल्मो, पहरी आदि समुदायमा प्रचलित परम्परागत ज्ञानसँग जोडिएका प्रथा, चालचलन र गतिविधिलाई सान्दर्भिक दृष्टान्तसहित पाठक समक्ष पस्कने प्रयत्न गरेका छन् । 

पुस्तकमा नेपालका आदिवासी जनजाति समुदायले अभ्यासमा ल्याएका खर्क तथा चरिचरण प्रणाली एवम् पानी, कुलो तथा जलाधारको व्यवस्थापनबारे चर्चा गरिएको छ । यसैगरी, कृषि प्रणाली, मेलापर्म, शिकार खेल्ने सीप, परम्परागत ग्रामीण अर्थतन्त्र, हस्तकला, झाँक्री प्रथा, जडीबुटी तथा परम्परागत उपचार–पद्धतिबारे रोचक जानकारी अघि सारेर व्याख्या–विश्लेषण गरिएको छ । 

उदाहरणका लागि आदिवासी ज्ञानले प्राकृतिक स्रोत–साधनलाई मासिने गरी उपयोग गर्न अनुमति दिँंदैन । प्राकृतिक स्रोतलाई नयाँ पुस्तका पनि साँच्न सिकाउँछ । आदिवासी समुदायले शिकार गर्दा पोथी वा माउलाई मार्दैनन् । फुल पार्ने समयमा पनि माछा मारिँदैन । यसप्रकारको प्रकृतिमैत्री अभ्यास खोलामा विषादि प्रयोग गर्ने तथा विष्फोटक पदार्थ पड्काएर जलीय पारिस्थितिक प्रणाली ध्वस्त पार्ने घातक र स्वार्थी प्रवृत्तिका लागि घुमाउरो तरिकाको युगीन पाठ हो भन्ने लाग्छ। 

पुस्तकमा आदिवासी ज्ञानसम्बन्धी सैद्धान्तिक तथा नीतिगत अवधारणालाई केलाउने प्रयत्न गरिएको छ । जलवायु परिवर्तनले आदिवासी समुदायलाई पारेको प्रभावबारे पनि चर्चा गरिएको छ । यसका अतिरिक्त परिशिष्ट खण्डमा राष्ट्रिय, अन्तर्राष्ट्रिय सन्धि, महासन्धि र अभिसन्धिसँग जोडिएका दस्तावेजहरूलाई समावेश गरिएको छ । यसबाट आदिवासी ज्ञानसम्बन्धी कानुनी प्रावधानहरूबारे जान्ने अवसर मिल्छ ।

पुस्तकमा वर्णित आदिवासी समुदायमा प्रचलित परम्परागत कृषि प्रणालीबारे अध्ययन गरिरहँदा विकासे बालीनाली भित्रिनाले रैथाने बीउ मासिँदै गएको, यसबाट किसान वर्ग नजानिँदो किसिमले परनिर्भर हुँदै कङ्गाल बन्ने बाटोतिर लागेको, बढी नाफा कमाउने लालसाले आदिवासी ज्ञानलाई अपहेलना गर्दै रासयनिक मल प्रयोग गर्दा माटो र मानिसको स्वास्थ्य चौपट हुन थालेकाजस्ता वर्तमान युगले भोगिरहेको समस्यातर्फ  पनि मन दौडिन थाल्छ । 

पुस्तकको शुरुदेखि अन्त्यसम्म नजर दौडाउँदा नेपालमा आदिवासी ज्ञानको अवस्थाबारे पाठकको मस्तिष्कमा एउटा नयाँ चित्र कोरिन पुग्छ । अनि, मौखिक वृत्तान्तमा मात्र बाँचेका परम्परागत ज्ञानलाई अभिलेखीकरण गरी नयाँ पुस्तालाई रैथाने ज्ञान हस्तान्तरण गर्ने कृतिकारको सत्प्रयासलाई सलाम गर्न मन लाग्छ ।

आदिवासी ज्ञान विलोपीकरणको दिशातर्फ  उन्मुख हुनुको कारण खोतल्दै कृतिकार  टिप्पणी गर्छन्, ‘आदिवासी जनजातिप्रति सरकारको असहिष्णु नीति, विश्वव्यापीकरण, बजारमुखी अर्थतन्त्र तथा सामाजिक सांस्कृतिक औपविेशक प्रभावका कारण यसप्रकारका ज्ञानहरू लोप हुँदै गएका छन्’ (पृ.५९) ।

आदिवासी ज्ञानको गंगा प्रत्यक्ष वा परोक्ष रूपमा आध्यात्मिकता, सांस्कृतिक इतिहास र राजनीति जोडिएको हुन्छ । यस्ता एकअर्कामा अन्तरसम्बन्धित विषयमा कृतिकारले धेरथोर चर्चा गरे पनि धित् मर्ने गरी विषयवस्तुलाई उधिन्न भने नभ्याएका हुन् कि भन्ने प्रतीत हुन्छ ।


देशको कुल जनसंख्याको लगभग ३६ प्रतिशत हिस्सा ओगट्ने आदिवासी जनजाति समुदायमा प्रचलित परम्परागत ज्ञानलाई केन्द्रीय विषय बनाएर यस कृति तयार पारिएको हो । आफ्नो अध्ययन क्षेत्रको दायरा निर्धारण गर्दा आदिवासी ज्ञानलाई अन्य ज्ञानसँग झिनो रूपमा तुलनात्मक अध्ययन गरिएको भए पनि व्यापकस्तरमा ज्ञान भिडाउने काम भएको देखिन्न, जुन यस कृतिको कमजोरी मान्न सकिन्छ ।

आदिवासी ज्ञानलाई एकतिर परम्परागत ज्ञान, परम्परागत इकोलोजिकल ज्ञान, मौलिक विज्ञान (नेटिभ साइन्स), सामुदायिक ज्ञान, स्थानीय ज्ञान, लोक ज्ञान (फोक नलेज), किसानको ज्ञान, निःशब्द ज्ञान (ट्यासिट नलेज) जस्ता फरक–परक नामबाट चिन्ने गरिएको पाइन्छ भने अर्कोतिर कतिपय अवस्थामा यिनीहरूलाई बेग्लाबेग्लै ज्ञानका रूपमा बुझने र सोही अनुसार व्याख्या गर्ने चलन पनि छ । यस द्विविधापूर्ण अवस्थालाई चिर्न कृतिकारको आफ्नो मौलिक विश्लेषणात्मक दृष्टिकोण पनि आउनुपर्‍थ्यो ।

यहाँनेर, पुस्तकको प्राविधिक पक्षबारे पनि केही चर्चा गर्नु सान्दर्भिक हुन आउँछ । पुस्तकको हरेक अध्याय सन्दर्भ–सूची दिएको छ, जसबाट प्राज्ञिक पुट मिलेको छ । तर सन्दर्भ–सूची त्रुटिविहीन भने छैन । सन्दर्भ–सूचीले निश्चित शैली र व्याकरण अनुसरण नगरेकाले कताकता खल्लो अनुभव हुन्छ ।

पुस्तकमा अर्को पनि टिप्पणी गर्नलायक विषय छ । धेरै मिहेनत गरेर पुस्तक तयार पारिएको छ । सन्दर्भ–सूची दिइसकेपछि अनुक्रमणिका (इन्डेक्स) राख्न कञ्जुस्याइँ नगरेको भए यसको ओज अझ बढ्ने थियो भन्ने सचेत पाठकलाई लाग्नसक्छ । पुस्तकमा बाक्लै भेटिने भाषिक अशुद्धिले पटक पटक आँखा बिझाउँछ । 

यति हुँदाहुँदै पनि पुस्तकले आधुनिकताले रजगज गरेको युगमा पनि परम्परागत ज्ञान, सीप र अनुभव उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण हुनसक्छ भन्ने अनुभूत गराएको छ । परम्परागत ज्ञानलाई अभिलेखीकरण गर्ने, नीति निर्मातालाई झक्झक्याउने र नयाँ पुस्तालाई परम्परागत ज्ञानतिर अभिमुखीकरण गर्ने लेखकको प्रयत्न स्तुत्य छ । 

........

लेखक: कुमार यात्रु

प्रकाशकः इन्डिजिनियस मिडिया फाउण्डेसन

प्रकाशन वर्ष : २०७८

मूल्यः ३९८/- रूपैयाँ


गोरखापत्र (शनिबार) । २०७८ साल माघ १ गते ।


Friday, December 3, 2021

जिते नेता, हारे पत्रकार!

 -यमबहादुर दुरा

पत्रकारबीच हाँसोठट्टा गर्दा यदाकदा सुनिने कथन हो, ‘पत्रकारले अरूको मात्र कमजोरी देख्छ, आफ्नै चाहिँं देख्दैन।’ तर, यो टिप्पणीले वास्तविकता पनि बोकेको छ। हामीकहाँ धेरैजसो पत्रकार र सञ्चारगृहले अरूका थुप्रै कमजोरी औंल्याउँछन्, तर आफू र आफ्ना भ्रातृ समुदायको कमजोरीबारे प्रायजसो आँखा चिम्लिन्छन्। एकाध अपवाद बेग्लै कुरा हो। 


पत्रकार भएको नाममा कतिपयले नैतिक रूपमा उपभोग गर्न नमिल्ने स्वतन्त्रता पनि खुलेआम उपयोग गरिरहेका छन्। यस्तो लाग्छ, पत्रकार भनेका समाजका अन्य वर्गभन्दा विशिष्ट हुन् र उनीहरूले सबै कुरामा उन्मुक्ति पाउनुपर्छ। 

ग्राफिक्स : हिमालखबर


खासमा पत्रकार सूचना व्यवसायी (इन्फरमेशन प्रोफेसनल) हो। सूचनाको शुद्धता नै पत्रकारको पेशागत आधार हो। उसको पेशागत आदर्श र जिम्मेवारी पनि सूचनाको शुद्धतामै अडेको छ। पत्रकारको मनमा जन्मिने आर्थिक तथा राजनीतिक स्वार्थले नागरिक समक्ष शुद्ध रूपमा प्रवाह हुनुपर्ने सूचनालाई बिटुलो बनाइदिन्छ। बिटुलो सूचनाले दुष्प्रचारको रूप धारण गर्छ । दुष्प्रचारलाई समाजलाई दिग्भ्रमित तुल्याउँछ, जसले समाजलाई धेरै अर्थमा क्षति गर्छ।


सूचनाको शुद्धता कायम गर्न नसक्दा हुने बहुआयामिक क्षतिलाई ध्यानमा राखेर पत्रकार कुनै पनि राजनीतिक दलमा आबद्ध हुन हुँदैन भन्ने मान्यता विश्वभर स्थापित छ। यही मान्यतालाई मूल सन्देश बनाएर नेपाली पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महसङ्घले गत ५ मङ्सिरमा विज्ञप्ति जारी गर्‍यो। 


चुनावमा उठेर असफल भएपछि पत्रकारितामा पुनः फर्केका उदाहरण हामीसामु प्रशस्त छन् । यसले पत्रकारिता क्षेत्रलाई बदनाम मात्र गरेको छैन, प्रदूषित पनि तुल्याएको छ। पत्रकारितामा राजनीतिक कार्यकर्ताको उठबसले विशुद्ध सूचनाको यात्रामा काँडेतार लगाइदिएको छ। 

राजनीतिक दलको महाधिवेशनमा पत्रकारहरू धमाधम प्रतिनिधि बनेको समाचार आइरहेको पृष्ठभूमिमा महसङ्घले पत्रकारहरूलाई राजनीतिक दलमा आबद्ध नहुन अपील गर्‍यो, जुन अर्थपूर्ण थियो । महसङ्घले गरेको यस्तो अपीलले नेपाली पत्रकार समुदायको एउटा तप्का दलीय राजनीतिबाट सङ्क्रमित छ भन्ने तथ्यलाई उजागर गर्छ, जुन आपत्तिजनक विषय हो।


यद्यपि, पत्रकार राजनीतिमा समाहित हुनु मात्रै आपत्तिको विषय कदापि होइन। मानिसले जीवनमा आफ्नो कार्यक्षेत्र बदल्न सक्छ। पत्रकारले पनि कार्यक्षेत्र फेर्न सक्छ। ऊ पत्रकारिता कर्म छाडेर पूरापुर राजनीतिमा होमिन्छ भने त्यसमा आपत्ति जनाउने कुनै ठाउँ रहँदैन। तर, ऐन–मौकामा राजनीतिक दौडमा पनि सामेल हुने र दौडमा पछि परेमा पत्रकारितामै फर्कने कुरा चाहिं घोर आपत्तिको विषय हो। 


चुनावमा उठेर असफल भएपछि पत्रकारितामा फर्केका उदाहरण हामीसामु प्रशस्त छन्। यसले पत्रकारिता क्षेत्रलाई बदनाम मात्र गरेको छैन, प्रदूषित पनि तुल्याएको छ। पत्रकारितामा राजनीतिक कार्यकर्ताको उठबसले विशुद्ध सूचनाको यात्रामा काँडेतार लगाइदिएको छ। 


यद्यपि, पत्रकारिता र राजनीतिक वृत्तबीच विद्यमान दृश्य वा अदृश्य नाता–सम्बन्ध नयाँ विषय होइन। राजनीतिक शक्ति र पत्रकारले नेपथ्यमा रहेर एकअर्कालाई सहयोग गर्ने प्रवृत्तिलाई जनाउन ‘क्लाइन्ट पोलिटिक्स’ वा ‘क्लाइन्टलिज्म’ भन्ने शब्दावली प्रयोग भएको पाइन्छ। 


‘क्लाइन्ट पोलिटिक्स’ ले राजनीतिक शक्तिको स्वार्थ बमोजिम समाचार तयार पार्ने परिपाटी बसाउने (‘न्यूज फिक्सिङ’ गर्ने) भएकाले यसले सही सूचनाको स्वतन्त्र प्रवाहमा गतिरोध ल्याउँछ। यसप्रति गहिरो चिन्ता व्यक्त गर्दै विद्वत्जनबाट ‘क्लाइन्ट पोलिटिक्स’ ले पार्ने असरबारे शोधमूलक लेखहरू लेखिएका र छापिएका छन्।


चुनावको पूर्वसन्ध्यामा बन्द कोठामा पत्रकारले राजनीतिक नेतृत्वबाट आशीर्वाद थाप्ने परम्परा ‘खुला रहस्य’ नै बनेको छ। यसले पत्रकार राजनीतिक दलको पोल्टामा छ भन्ने तथ्यलाई प्रकारान्तरले पुष्टि गर्छ। पत्रकार र राजनीतिक शक्तिबीच विद्यमान अवाञ्छित साँठगाँठबाट समाजले कुनै न कुनै रूपमा मूल्य चुकाउनुपर्छ।

स्वाभाविक छ, राजनीतिक वृत्तले पत्रकारलाई हातमा लिन चाहन्छ। पत्रकारलाई आफ्नो मुठीमा राख्दा उसलाई थुप्रै फाइदा छ। आफ्नो विषयमा सक्दो प्रशस्तिगान र प्रचार गराउने, आफू विरुद्धका सूचना वा समाचार लुकाउने वा रोक्ने, विपक्षी दल, गुट र नेताबारे दुष्प्रचार गर्ने आदिमा राजनीतिक शक्तिबाट पत्रकार प्रयोग हुने गरेका छन्। पत्रकारको पेशागत सठनको चुनाव ताका हुने राजनीतिक सलबलाहट र राजनीतिक समीकरणका अभ्यासहरूको रहस्य पनि यही हो। 


चुनावको पूर्वसन्ध्यामा बन्द कोठामा पत्रकारले राजनीतिक नेतृत्वबाट आशीर्वाद थाप्ने परम्परा ‘खुला रहस्य’ नै बनेको छ। यसले पत्रकार राजनीतिक दलको पोल्टामा छ भन्ने तथ्यलाई प्रकारान्तरले पुष्टि गर्छ। पत्रकार र राजनीतिक शक्तिबीच विद्यमान अवाञ्छित साँठगाँठबाट समाजले कुनै न कुनै रूपमा मूल्य चुकाउनुपर्छ।


नेपालमा दृश्य वा अदृश्य रूपमा अमुक दलका लागि काम गर्ने पत्रकारको सङ्ख्या कम छैन। कतिपय पत्रकारले राजनीतिक दलको सदस्यता लिएका छन्, जो पत्रकारिता कर्ममा कम र दलका गतिविधिमा बढी सक्रिय भेटिन्छन्। कति पत्रकारले पत्रकारिता पेशामा बहाल रहेकै अवस्थामा कुनै राजनीतिक दलका नेताको प्रेस सल्लाहकारका रूपमा काम गरेका छन्, जुन पेशागत आदर्शका दृष्टिले मर्यादाहीन व्यवहार हो। 


कसैको प्रेस सल्लाहकार बन्ने हो भने सम्बन्धित पत्रकारले त्यस अवधिका लागि पत्रकारिता पेशा त्याग्नुपर्छ। पत्रकारिता गर्नु र कसैको प्रेस सल्लाहकार हुनु नितान्त फरक कुरा हुन्। यी र यस्ता राजनीतिसँग जोडिएका पत्रकारिताको आयामलाई नेपालको पत्रकार आचारसंहिताले समेटेको देखिँंदैन। 

अमेरिकी पत्रकारहरूको पुरानो संस्था ‘सोसाइटी अफ् प्रोफेसनल जर्नालिस्ट्स’ (एसपीजे) को आचारसंहितामा पत्रकारको राजनीतिक संलग्नता र गैरपेशागत क्रियाकलापले पेशागत आदर्श, निष्पक्षता र विश्वनीयतालाई क्षति गर्ने भएकाले त्यस्ता क्रियाकलापमा लाग्न नहुने उल्लेख छ। यसले पत्रकारको दोहोरो भूमिका तिरस्कार गरेको छ। 


द न्यूयोर्क टाइम्सले आफ्ना पत्रकारका लागि तयार पारेको आचारसंहिता सम्बन्धी हाते किताब (सन् २००४) मा भनिएको छ– ‘पत्रकारलाई मतदान गर्ने अधिकार छ, त्यसभन्दा बढी कुनै पनि राजनीतिक क्रियाकलापमा सहभागी हुन पाउने ठाउँ छैन। राजनीतिक मैदान पत्रकारका लागि होइन।’ 


हरेक सचेत नागरिकले जानेकै कुरा हो, कोही पनि आफ्नो पेशागत आचरणबाट विचलित हुनु हुँदैन। त्यसमा पनि पत्रकारको जिम्मेवारी झन् गहन छ। पल–पल बदलिँदै गएको दुनियाँबारे जिम्मेवार भएर सूचना प्रवाह गर्ने र समाजको सकारात्मक परिवर्तनका लागि नयाँ दृष्टिकोण दिने जिम्मेवारी पाएको पत्रकारले सूचनाको शुद्धता कायम गर्न नसक्दा समाजमा अनेक दुष्परिणाम देखा पर्छन्। 


नेपालमा भने आनन्दै छ। पेशागत चरित्र र जिम्मेवारीको कुरामा न सम्बन्धित क्षेत्रले न त समाजले नै बहस र प्रश्न गरेको छ। सूचना व्यवसायीहरू राजनीतिक कित्तामा उभिँंदा समेत त्यसलाई स्वाभाविक मानिन्छ। सूचना व्यवसायीहरू राजनीतिक मैदानमा पनि उत्रिने र सूचनाको कारोबार पनि गर्ने गरिरहँदा समाजले प्राप्त गर्ने सूचनामा अशुद्धताको तह क्रम स्वभावतः बढ्छ । त्यसले समाजमा नजानिँदो किसिमले पार्ने असरबारे कमैलाई चिन्ता छ। हामीकहाँ सरोकारको कुरा यत्ति छ– जिते नेता, हारे पत्रकार!

हिमालखबर । २०७८ साल मङ्सिर १३ गते ।



Monday, October 25, 2021

कोरानाको सामाजिक प्रकम्पन

 

–यमबहादुर दुरा 

सर्वविदित कुरा हो, सन् २०१९ को अन्त्यतिर चीनमा भयानक सङ्क्रामक व्याधि देखा परेपछि दुनियाँ त्रस्त हुन पुग्यो । कोरोना नामबाट परिचित यो महाव्याधि तीव्र गतिमा संसारभर फैलिएर  लाखौँको ज्यान लिन थालेपछि ‘डिजिटल युग’ को रूपमा सर्वपरिचित एक्काईसौँ शताब्दीको परिचयमा अर्को नयाँ परिचय पनि थपियो । त्यो हो, ‘महाव्याधिको युग’ को युग । विगतका कतिपय शताब्दीजस्तै एकाईसौँ शताब्दी पनि महाव्यधिमुक्त शताब्दी बन्न पाएन ।

....

संसारको हरेक कुनामा विनाशलीला मच्चाउन सफल कोरोना महामारीबाट नेपाली जनजीवन पनि अप्रभावित रहन सकेन । भूकम्पपछि नयाँ प्रकम्पन आएजस्तै समाजमा कोरोनाका पनि अनेकन् प्रकम्पनहरू देखापरे । यसबाट संस्कृतिदेखि प्रविधिसम्म, मेलापातदेखि सभा–सम्मेलनसम्म अनि पारिवारिक अर्थतन्त्रदेखि राष्ट्रिय अर्थतन्त्रसम्म प्रभावित भए । यसले हाम्रा अनुभव र अनुभूतिहरूको किताबमा विल्कुलै नयाँ पानाहरू थपिदिएको छ । 

कोरोनाले मृत्युपर्व नै निम्त्याइदियो । कोरोनाकालले जीवनको क्षणभङ्गुरता राम्र्रैसँग सम्झाइदियो । एक समय त यस्तो पनि आयो, फेसबुक खोल्ने बित्तिकै समवेदना सन्देशका नमीठा शृङ्खलाहरू प्रकट हुन थाले । जताततै समवेदना सन्देश । दश हजारभन्दा बढी नेपालीजनले अकालमा मृत्यवरण गर्नुपर्‍यो, जसमा केही चर्चित व्यक्तिहरू पनि परे । 


पूरातत्वविद साफल्य अमात्य (वि.सं. १९९९–२०७८), सञ्चार उद्यमी महेन्द्र शेरचन (वि.सं. २०१०–२०७८), लोकसाहित्यका अध्येता प्रा.डा. मोतीलाल पराजुली (वि.सं. २०१३–२०७८), साहित्यकारद्वय कृष्णप्रसाद श्रेष्ठ (वि.सं. १९९५–२०७८) तथा राजेन्द्र सुवेदी (वि.सं. २००२–२०७८), गीतकार चेतन कार्की (वि.सं. १९९५–२०७८) आदि व्यक्तित्व कोरोनाका कारण अस्ताए । दुर्भाग्यवश, कोरोनाको मृत्युपर्व अझै  जारी छ ।

....

मनमा पीडाको घाउ बल्झिरहेको बेला समाजमा अरू पनि दुःखलाग्दा घटना घटे । कोरोनाले मानवलाई मात्र मारेन, मानवीय भावनालाई पनि मार्ने काम गर्‍यो । मानिसको आगमनबाट कोरोना सर्ने डरले बाटोघाटोमा भाँजो हालिए । पुलमा काँडेदार लगाइए । खोलाको फड्के भत्काइए । बाटोमा बार लगाइए । यस्ता तस्बिरहरू सोसल मिडियामा पोष्टिन थाले ।

कोरोनाको बिरामीलाई मात्र होइन, बिरामीको सेवामा जुटेका स्वास्थ्यकर्मी छिछि दुरदुर गरिएका समाचार आए । यी यावत् अमानवीय क्रियाकलापबाट हाम्रो सामाजिक मनोविज्ञानको कुरूप तस्बिर प्रकट हुन पुग्यो । जानेर वा नजानेर हामीले आफैँलाई अमानीय क्रियाकलापको सूत्रधार तुल्यायौँ । 

विचलित मनहरूलाई सान्त्वना दिँदै माया–ममता र सदभाव बाँड्नुपर्ने घडीमा किन यस्तो अमानवीय व्यवहार भए ? हामीमा पलाएको अमानीय व्यवहारको स्रोत के हो ? हामीले समतामूलक समाज र सामाजिक न्यायको धरातललाई किन बिर्सियौँ ? कठोर आत्मासमीक्षा गर्नुपर्ने बेला आएको छ । 

....

काकोरोनाकालमा अस्पतालहरूको असुली धन्दा राम्रैसँग मौलायो । अस्पतालले कोरोना बिरामीको उपचार गरेवापत दैनिक ५० हजारदेखि देखि एक लाख रूपैयाँसम्म असुली गरेको तथ्य सार्वजनिक भयो । खोपबाहेक कोरोनाको कुनै पनि भरपर्दो औषधि बनेको छैन । यस्तो अवस्थामा प्रश्न उठ्छ, बिरामीका लागि कुन महङ्गो औषधि चलाइन्छ, जसबाट यति चर्को शुल्क असुल्न परोस् ? जति सोच्दा पनि प्रश्नको चित्तबुझ्दो उत्तर भेटिँदैन ।

कतिले घरखेत बेचेर १५/२० लाख रूपैयाँ बिरामीको स्वास्थ्योपचारमा खर्च गरे । दुर्भाग्यवश, गतिमा धनमा खोलो पनि लगाए, बिरामीलाई गुमाए । कति पीडादायी अवस्था ! सोच्दा दिमाग चक्कराउँछ । मुठ्ठीभर धनवान्हरूका लागि १५/२० लाख रूपैयाँ केही होइन होला, तर दश नङ्ग्रा खियाएर जसोतसो हातमुख जोर्ने अधिकांश कर्मजीवीहरूका लागि दुर्लङ्ध्य पहाड नै हो । 

कोरोनाकालमा अस्पतालहरूले मानवता बिर्सिएर देखाएका द्रव्यमोहले स्वास्थ्य सेवाको निजीकरणको घातक असरबारे सोच्न गहिरिएर बाध्य तुल्यायो । यसले जनस्वास्थ्यबारे सरकारले अख्तियार गरेको नीतिबारे पनि सोच्नुपर्ने अवस्था पैदा गरिदिएको छ । यसबाट स्वास्थ्य–सङ्कटकालले गरिबी कुचक्रमा पिल्सिएका नागरिक भीरको डिलमै पुर्‍याउने रहेछ भन्ने नमीठो सन्देश मिलेको छ ।

...

अब, पीडाको कुरा छाडेर केही रमाइलो कुरा गरौँ । कोरोनाले निम्त्याएको लकडाउनले कतिपय मित्रहरूलाई अनुहारको रूप–रङ्ग बदलिदियो ।सधैँ सफाचट दाह्री–जुँगा काटेर चिटिक्क परेर हिँड्ने कतिपय साथीभाइको अघिपछिभन्दा बेग्लै रूपमा देख्न पाइयो । दुई दुई पटकको लम्बेतान लकडाउनमा उनीहरूका गाला र ओठमा दाह्री–जुँगा निकै बढेछन्, हैर्दै ऋषिमुनिजस्ता देखिने ।

लकडाउनमा बर्खायाममा वनपाखामा साल्मे घाँस बढेझैँ  दाह्री–जुँगा बढेछन् । बढेका दाह्री–जुँगाको तस्बिर फेसबुकका भित्ताभरि पोष्ट भए, जसले डिजिटल दुनियाँमा तहल्का नै मच्चायो । ती तस्बिर हेर्दा यस्तो लाग्थ्यो, उनीहरू अफगानिस्तानमा भर्खरै सत्तारोहण गरेका कट्टरपन्थी तालिबानहरू हुन् । 

....

लकडाउनले जनजीवनका धेरैजसो धमनीहरू बन्द गरिदिए । कतिपय पुस्तक प्रेसमै अड्किए । यद्यपि, यही अभिशप्त समयमै कतिपय लेखक तथा साहित्यकारका लेखन धमनीहरू खुले । उनीहरूले ‘बन्दी समय’ लाई उपयोग गरेर लेखनकर्म पूर्ण गतिका साथ अघि बढेको चर्चा–परिचर्चाले सुनियो । 


लेखक तथा साहित्यकारले लकडाउनको समयमा कोरलेका नयाँ कृतिका तस्बिरसहित समाचार आए । कतिपय लेखकले त भर्चुअल माध्यमबाट कृति विमोचन गर्नसमेत भ्याए । कृति सार्वजनिकीरणको नयाँ परिपाटीप्रति कतिपयले रमाइलो टिप्पणी गरे- राम्रै भयो, खाजा र यातायातको खर्च बच्यो ।  

लकडाउनमा वयस्क लेखक लेखनकर्ममा अग्रसर भइरहेको बेला कलिला लालाबाला पनि लेखनकर्ममा सरिक भएको समाचार आयो । उनीहरू भिडियो कन्फरेन्सिङमार्फत्  बालकथा लेखन प्रतियोगितामा सहभागी भएको समाचार पढ्न पाइयो । सङ्कटले लालाबालालाई नयाँ ‘प्ल्याटफर्म’ जुटाइदिएको घटनालाई सकारात्मक विकासक्रम मान्नैपर्छ । 

लकडाउनले लेखनका अतिरिक्त पठन संस्कृतिलाई प्रवर्द्धन गरेको चर्चाले पनि भाउ पायो । केही पढैया व्यक्तिहरूले लकडाउनको निरस समय धबाउन पढिएका र फुर्सदका समयमा पढनलायक कृतिहरूको लामै पेश गरे । कहिल्यै पनि नदेखिएका वा छुनसम्म नपाइएका कृतिका लोभलाग्दा मुखपृष्ठ सोसल मिडियामा दर्शन गर्न पाइयो ।

....

कोरोना महामारी हाउगुजी बन्न पुग्यो । कोरोनाबारे काल्पनिक कथा बुनिए । सोसल मिडियाका मिडिया आउटलेटमा कोरोनाबारे भ्रामक सूचना प्रवाह गरेर भ्रमजाल तयार पारियो । परिणामतः कतिपय सोझासीधा नागरिकले गलत सूचनालाई आत्मासात गरे । गलत सूचनाका कारण कतिपय सर्वसाधारणले खोप लाउन मानेनन् ।

गलत सूचनाको शिकार बनेर कतिले कोरोनाविरुद्धको खोप लगाउन मानेनन् । कोरोनाको सङ्क्रमण बढदै गएर घातक नतिजा प्रकट हुन थालेपछि खोपको ह्वात्तै माग बढ्यो । समयमा खोप ल्याउन नसकेकोमा सरकारको आलोचना भयो । पहुँचवालाहरूले लुकीलुकी खोप लगाएको सूचना पनि बाहिरिए । 


खोप लाउन नमान्नेहरू नै खोप लगाउन पाउनुपर्छ भनेर प्रदर्शनमा उत्रिए गरे । यसले एउटा लोकोक्तिको सम्झना दिलायो, जसको परिमार्जित संस्करण यहाँ प्रस्तुत गर्न मन लाग्यो : ‘अघि तिम्ले मानिनौ, पछि तिम्ले जानिनौ, बाघ लाग्यो घिच्याउन, तिमी लाग्यो चिच्याउन ।’

....

कोरोना जमघटबाट सजिलै सर्ने व्यथा–व्याधि भएकाले सांस्कृतिक गतिविधि, जमघट र जात्रामात्रामा रोक लागे । युगौँदेखि चलिआएका सांस्कृतिक गतिविधिहरू ठप्प भए । यसबाट पलपल कृष्णपक्षको चन्द्रमा जस्तै बन्दै गएको हाम्रा रैथाने संस्कृतिमाथि थप नकारात्मक प्रभाव पार्ने नै भयो । 

रैथाने संस्कृतिमाथि बाहिरी संस्कृतिको प्रभाव भने यथावत नै रह्यो । वाह्य संस्कृति त भूउपग्रहमार्फत्  भित्रिने हो, जुन हिजो पनि भित्रिएकै थियो, आज पनि निर्वाध रूपमा भित्रिरहेको छ । कोरोना हाम्रो मौलिक संस्कृति विस्थापनका लागि अप्रत्यक्ष रूपमा नकारात्मक भूमिका खेल्यो । 

आखिर, हामी धेरै अघिदेखि नै सांस्कृतिक अतिक्रमण शिकार बन्दै आइरहेका छौँ । हाम्रो चिनारीसँग गाँसिएको मौलिक पहिचान पल–पल मेटिँदै गएको छ । तर, हाम्रो रैथाने पहिचान गुम्दै गएकोमा धेरैलाई चासो नभएको लाग्छ । अझ यसो भनौँ:

 बुझ्नेलाई यो कुरा गैह्रो छ 

घरछेउमा पैह्रो छ

यद्यपि, हाम्रो सांस्कृतिक जीवनमा एउटा अनपेक्षित तर रोचक मोडचाहिँ आएको छ । विगतमा भेटघाटमा हात मिलाउने बेसरी मौलाउँदै गएको थियो, जसलाई कोरोनाले क्वाप्पै निलिदियो भन्दा पनि हुन्छ । आजकल हात मिलाउने भन्दा पनि नमस्कार गर्ने पुरानो चलनको पुनरावृत्ति भएको छ । 

भेटघाटमा हात मिलाउने र अङ्कमाल गर्ने चलन भएका विदेशी नेताहरूले समेत आपसी भेटघाटमा टाढैबाट नमस्ते गरेका दृश्य टेलिभिजनका पर्दामा देखिए । पूर्वीय संस्कृतिलाई पश्चिमी गोलार्द्धमा यति मजासँग विस्तार भएको यो दुर्लभ घटना हो ।

....

कोराना महामारीले अरू क्षेत्रलाई जस्तै ‘मौन तर अविच्छिन्न क्रान्ति’ मानिने शिक्षा जगतलाई बेहाल तुल्याइदियो । भोलि देश चलाउनेहरूको भविष्य अन्योलग्रस्त नहोस् भनेर अनलाइन शिक्षाको विकल्प रोजियो, जुन नेपाली समाजका लागि तुलनात्मक रूपमा नयाँ विषय थियो । 

स्वाभाविक थियो, नेपाली समाजमा अनलाइन शिक्षा अपेक्षित रूपमा प्रभावकारी हुन सकेन । ब्रोडब्याण्ड इन्टरनेट, बिजुली, मोबाइल सेट वा ल्यापटपमा पहुँच नहुनु तथा प्राविधिक ज्ञानको कमीले कतिपय विद्यार्थीका अनलाइन सिकाइमा अनगिन्ती अवरोध आए । 

जतिसुकै कडीकडाउन नियम लागू गरे पनि अधिकांश कलेज तथा स्कुलमा ५० प्रतिशतभन्दा कमै विद्यार्थी अनलाइन कक्षमा सहभागी हुन सके । कति ठाउँमा ३० प्रतिशत पनि विद्यार्थी जुट्न सकेनन् । 

अनलाइन शिक्षाबारे अनेकन् तीतामीठा अनुभव सार्वजनिक हुन थाले । यस्तैमा कलेजका अध्यापकहरूले यस्तो पनि अनुभव सुनाए- कतिपय विद्यार्थी त रुखमा चढेरसमेत अनलाइन कक्षा लिएका लिन विवश थिए । यसले हामीकहाँ ज्ञानको भोक र ‘डिजिटल डिभाइड’ बीचको द्वन्द्व चर्कै छ भन्ने प्रष्ट्याउँछ ।


कोरोनाले निम्त्याएको अनलाइन शिक्षाले नेपाली समाजमा विद्यमान डिजिटल डिभाइड, अनलाइन शिक्षाको स्तर तथा इन्टरनेट सेवाको गुणस्तरबारे गहिरिएर सोच्न बाध्य तुल्यायो । यतिमात्र होइन, अनलाइन शिक्षा गुरुजन, विद्यार्थी र अभिभावकका लागि नयाँ पाठ हुन गएको छ । 

....

महामारीले कुनै जातभात र रूपरङ्ग हेर्दैन । कोरोना महमारीले जोकोहीलाई पनि गाँज्न सक्छ । महामारी फैलाउने  भाइरसको वाहक जो पनि हुन सक्छ । तर, कोरोना चीन (वुहान) बाट शुरु भएकोले सङ्क्रामक भाइरसको पहिलो वाहक चिनियाँ नै हुन् भन्ने आमधारणा थियो । 

त्यसैले दुनियाँ चिनियाँहरूप्रति सशङ्कित थियो । यतिञ्जेलसम्म अमेरिका र बेलायतमा पनि चिनियाँ मुलका मानिसहरूप्रति दुर्व्यवहारका घटना भन्ने समाचार आइसकेका थिए । 

सञ्चार माध्यममा कोरोनाबारे अनेकन् समाचार आइरहेका बेला २०७६ साल फागुन २१ गते साथीभाइको एउटा टोलीसँग मिसिएर भारतको बैङ्लोर प्रस्थान गरेका थियौँ । उद्देश्य थियो, सञ्चारसम्बन्धी सम्मेलनमा सहभागी हुने ।  

दिल्ली, कोची हुँदै हाम्रो टोली बैङ्लोर पुगेको थियो । ट्रान्जिट र स्क्रिनिङले यसै पनि दिक्क लगाइसकेको थियो, त्यसमा पनि मेरो रूप–रङ्ग चिनियाँजस्तो भएकाले मलाई धेरैले आशङ्कापूर्ण नजरले थालिसकेका थिए, जुन दिल्ली एयरपोर्टदेखि नै शुरु भयो । 

एयरपोर्टको इन्ट्री, एक्जिट र काउण्टरमा ममाथिको सोधपुछ र निगरानीका दिक्कलाग्दो शृङ्खलाले मलाई पछ्याइरहे । मलाई देखेर मानिसहरू मुख छोपेर तर्किँदै हिँड्न थाले । मेरा सँगैका साथीले जानकारी गराए– तपाईंलाई हेरेर ती मानिसहरू कानेखुसी गर्दैछन्, मुख पनि छोप्दैछन् । 

एयरपोर्टमा ममाथि भएका व्यवहारबाट वाक्कदिक्क भइसकेको थिएँ । चार–पाँच दिनको छोटो बसाइ पनि झर्कोलाग्दो भइसकेको थियो, मेरा लागि । कहिले घर फर्कौ जस्तो भइसकेको थिएँ । अन्ततः एयरपोर्टमा भएका अनेकन् सोधपुछ र निगरानीलाई छिचोल्दै आफ्नै घर फर्कियौँ । बल्ल पो ढुक्क भएँ ।

....

समग्रमा कोरोना महामारीले राम्रै शिक्षा दियो । रोगव्यधिले निर्माण गर्ने मानवीय मनोविज्ञान, सरकारी नीति र स्वास्थ्यसेवाबीच विद्यमान खाडल, शिक्षा प्रणाली र डिजिटल प्रणालीबीचको बेमेल, अर्थतन्त्रलगायत तमाम विषयमा चिन्तन विषय ठाउँ हामी सामु छाडिदिएको छ । यसबाट पाठ सिक्ने ? त्यो हामीमै भर पर्ने कुरा हो । इति शुभम् ।


[मधुपर्क, कत्तिक, २०७८ ]



Wednesday, September 22, 2021

अफगानी समाजमा महिला स्वतन्त्रताको मिसाल

 –यमबहादुर दुरा

‘कोइलाखानीमा हीरा पनि भेटिन सक्छ’ । बूढापाकाहरूको यो भनाइ अफगानिस्तानको सन्दर्भमा पनि लागू हुन्छ । गृहकलह र शक्तिशाली मुलुकहरूको पटक–पटकको हस्तक्षेपबाट जर्जर बन्न पुगेको अफगानिस्तान महिलामाथि हुने हरप्रकारका हिंसा र अमानवीय व्यवहारका लागि पनि कुख्यात बन्न पुगेको छ । 

अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरूमा साथ देखाइने बुर्का लगाएका महिलाका ताँती, कट्टरपन्थी तप्काले महिलालाई सार्वजनिक स्थलमै हातपात गरेको दृश्य तथा महिला हिंसासम्बन्धी तमाम प्रतिवेदनहरूले अफगानिस्तान महिलाका लागि भयानक खतरनाक ठाउँ हो भन्ने प्रतीत हुन्छ ।

यो सामाजिक तस्बिर धेरै हदसम्म सही नै हो । तर, यो नै सम्पूर्ण वास्तविकता होइन । विगतमा त्यहाँका महिलाले स्वतन्त्रताको उपभोग गरेका बेमिसाल दृष्टान्त छन् । कुनै समयमा त्यहाँका महिलाहरूले युरोपेली महिला सरह स्वतन्त्रता उपभोगका गरेका सुन्दर उदाहरण पनि छ ।

इतिहासको पाना पल्टाउँदा अफगानी समाजमा महिलाले मीठो किसिमले स्वतन्त्रता उपभोग गरेका अध्यायहरू भेटिन्छन् । यही सिलसिलामा अफगानिस्तानका सुधारवादी राजा अमनुल्लाह खान (सन् १८९२–१९६०) लाई श्रद्धापूर्वक सम्झनुपर्ने हुन्छ । उनले सन् १९१९ देखि १९२९ सम्म राजाको रूपमा शासन गरे । 

अफगानी समाजमा सुधारवादी छवि निर्माण गरेका राजा अमनुल्लाह खान महिला स्वतन्त्रता र महिला शिक्षामा विशेष जोड दिए । उनले सार्वजनिक वृत्तमा महिलाको उपस्थिति बढाउने र महिलाको पोशाकमा सुधार ल्याउने कदम अघि बढाए । यतिमात्र होइन, उनले आजभन्दा एक सय वर्षअघि  सन् १९२१ मै बालविवाह, बलजफ्ती गरिने विवाह, पैसा तिरेर दुलही किन्नेजस्ता सामाजिक कुरीति अन्त्य गर्ने कानुन ल्याए ।

रानी सोयारा तार्जी

राजा अमनुल्लाह खानले महिलाहरूलाई बुर्का त्याग्न र पश्चिमी शैलीका पहिरनमा सजिन प्रेरित गरे । उनका रानी सोयारा तार्जी (सन् १८९९–१९६८) ले पनि कदममा कदम मिलाएर राजाको सुधारवादी आन्दोलनलाई खुल्ला दिलले साथ दिइन् । अफगानी रानी सोयारा तार्जी सार्वजनिक स्थानमा बुर्का उतारेर महिला स्वतन्त्रताको उदाहरण बनेकी थिइन् ।  

यसपछि राजपरिवारका महिला सदस्य र प्रधानमन्त्रीका श्रीमती र छोरी एवम् सरकारी कर्मचारीका श्रीमती तथा छोरीले पनि बुर्का लगाउन छाडे । उनीहरू परम्परावादी अफगानी समाजमा बुर्का त्याग्ने पहिलो लहरका महिला कहलिए । राजा र रानीबाटै साथ पाएपछि शहरी क्षेत्रका महिलाहरू बुर्काविहीन भएर सार्वजनिक स्थानमा देखा पर्न थालेका थिए ।

यसप्रकारको सुधारवादी आन्दोलनलाई अर्का राजनेता मोहम्म दाउद खान (सन् १९०९–१९७८) ले पनि असल आशयका साथ अघि बढाए । खानले सन् १९५३ देखि १९६३ सम्म प्रधानमन्त्रीको पद सम्हाले ।  आफू  प्रधानमन्त्री भएपछि उनले कट्टरपन्थी विचारधारालाई नकार्दै महिलाका पक्षमा सुधार ल्याए । 

एकपछि अर्को गरी सुधारवादी कदम अघि बढ्दा अफगानी समाजमा महिलाहरूको अवस्थामा व्यापक सुधार आउन थाल्यो । महिलाहरू वैज्ञानिक, सरकारी कर्मचारी, शिक्षक, चिकित्सकजस्ता पेशामा आउन थाले । त्यही समयको सेरोफेरोमा मिडिया र मनोरञ्जन उद्योगमा महिलाको उपस्थिति हुन थाल्यो । 

यही मेहोरमा सन् १९६० कै दशकमा रुक्साना नामले परिचित हमिदा असिल (सन् १९४०–२०२०) आफूतिर दुनियाँको ध्यान खिच्न सफल भइन् । उनले पहिलो महिला पप गायिकाको रूपमा आफ्नो सार्वजनिक चिनारी बनाइन् । उनी आफ्नो कला र गलाको माध्यमबाट चर्चाको शिखरमा पुगिन् । उनको ग्याल्मरयुक्त तस्बिर अखबारमा छापिए । बीबीसीमा अन्तरवार्ता दिइन् । 

पप गायिका रुक्साना

रुक्सानाले गायन क्षेत्रमा तहल्का मच्चाइरहेको बेला काबुलमा पश्चिमी जीवनशैलीको झल्को दिने नाइट क्लब र डिस्को खुल्न थाले, जहाँ मनोरञ्जन लिन पुग्ने प्रवृत्ति बढेर गयो । सन् १९६० देखि १९७० को दशकमा काबुलको रात्रिजीवन युरोपको कुनै शहरभन्दा कम नभएको पश्चिमी गोलार्द्धका लेखकहरूले चर्चा गरेका छन् । 

१९६० देखि १९७० को कालखण्ड अफगानिस्तान तुलनात्मक रूपमा शान्त मुलुक थियो । त्यसबेला त्यो मुलुक अर्को कारणले पनि चर्चित थियो । त्यो हो, ‘हिप्पी ट्रेल’ । त्यस कालखण्डमा अमेरिका, क्यानडा, बेलायतलगायतका हिप्पीहरू स्थलमार्ग प्रयोग गरेर टर्कीबाट इरान हुँदै अफगानिस्तान आइपुग्थे ।

अफगानिस्तानमा स्वतन्त्र किसिमले विचरण गरेपछि ती हिप्पीहरू पाकिस्तान, भारत, नेपाल, बङ्गलादेश हुँदै थाइल्याण्डसम्म पुग्थे । उनीहरू गाँजाजस्ता मादक पदार्थ सेवन गर्दै मानवतावादी दृष्टिकोणसहित स्वतन्त्र जीवन बिताउन रुचाउने समुदाय हुन् । 

हिप्पी समुदायले अफगानिस्तानलाई ‘हिप्पी ट्रेल’ को एउटा प्रमुख गन्तव्यको रूपमा रोज्नुले पनि त्यस समयको अफगानी जीवनशैलीमा स्वतन्त्रताको पारो बढ्दै गएको सङ्केत गर्छ । 

अफगानी समाज क्रमिक रूपमा स्वतन्त्रताको मार्गमा अघि बढिरहेकै बेला सन् १९७८ अफगानिस्तानमा कम्युनिष्ट शासकले सत्ता हातमा लिए । कम्युनिष्ट सत्ताले पनि महिला स्वतन्त्रतालाई कायमै राख्यो । कम्युनिष्ट प्रधानमन्त्री नुर महम्मद तरकी (सन् १९१७–१९७९) को सरकारले महिलालाई समान अधिकार दियो । तरकी नेतृत्वको सरकारले महिलालाई आफ्नो जीवनसाथी र जीवनवृत्ति (करिअर) रोज्ने अधिकार दियो ।

यस्तैमा सन् १९७९ सोभियत सङ्घले अफगानिस्तानमा हस्तक्षेप गर्‍यो । यसपछि त्यहाँ दुःखका दिन शुरु भयो । देश युद्धभूमिमा परिणत भयो । महिला स्वतन्त्रतालगायत धेरै अधिकार कटौती हुन थाले । यसपछि अफगानी समाजमा फक्रँदै गएको महिला स्वतन्त्रता विस्तारै कृष्णपक्षको चन्द्रमा जस्तै बन्न थाल्यो ।

सन् १९२७ ताका अफगानी महिला

अफगानी भूमिमा सोभियत सैनिकको बुट बजारिएको एक दशकपछि सन् १९८९ अफगानिस्तानले सोभियत सङ्घको खुनी पञ्जाबाट मुक्ति पायो । तर, देशमा अशान्तिको आगो भने दन्किरह्यो । मुजाहिद्दीनजस्ता कट्टरपन्थी समूह जन्मिए । उनीहरूले देशमा हिंसात्मक क्रियाकलाप सञ्चालन गरिरहे । यसबाट महिला सबैभन्दा बढी मारमा परे ।

मुलुक कट्टरपन्थीहरूको रणभूमि बनिरहेको बेला सन् १९९६ मा तालिबान नामक चरमपन्थीहरू शासनसत्ता हातमा लिन सफल भए । उनीहरूको शासन सन् २००१ सम्म जारी रह्यो । पाँच वर्षको अवधिमा धेरै कुरा बिग्रिसकेको थियो । महिला स्वतन्त्रता धेरै हदसम्म हरण भइसकेको थियो ।

यतिञ्जेलसम्म त्यहाँको सामाजिक जीवनमा धेरै नकारात्मक परिवर्तन आइसकेको थियो । महिलाहरूलाई पुनः बुर्काभित्रै लुकाउन थालियो । छोरीहरूलाई स्कुलबाट जबरजस्ती निकालेर घरको चौघेरामा सीमित तुल्याउन थालियो । कामकाजी महिलाहरूलाई पुनः घरगृहस्थीको युगमा फर्काइयो ।

दुई दशकको अवधिपछि उही चरमपन्थी तालिबानहरूको हातमा मुलुकको बागडोर पुगेको छ । उनीहरूको चरित्र र स्वभाव विगतको भन्दा केही सुध्रिएको हो कि भन्ने भनाइ पनि छ । तर, उनीहरूको व्यवहारमा कुनै तात्विक परिवर्तन आएकोचाहिँ देखिन्न ।


यस्तो विषम परिस्थितिमा विगतमा अफगानी महिलाहरूले उपभोग गरेको स्वतन्त्रता एउटा फगत क्षणभङ्गुरपूर्ण मीठो सपनाजस्तो मात्र देखिएको छ । स्वतन्त्रता उपभोग गर्ने अफगानी महिलाहरूको तिर्खा कहिले मेटिने हो ? यसको सहज उत्तर भेट्टाउन अतिशय कठिन छ । 

['फेसनको केन्द्र थियो अफगानिस्तान' शीर्षकमा युवामञ्च (असोज, २०७८) मा प्रकाशित ।  तस्बिर: गुगल । ]


Saturday, September 4, 2021

अफगानी संस्कृतिका निशानी

–यमबहादुर दुरा 

अफगानिस्तान । इतिहासको रक्तरञ्जित अध्यायबाट गुज्रिएको मुलुक । दुनियाँ समक्ष युद्ध, अशान्ति र असुरक्षाको कुरूप विम्ब बन्न पुगेको भूगोल । तर पनि, प्राचीन कला र संस्कृतिको वैभवशाली निशानी च्यापेर बसिरहेको एउटा सभ्यता । 

 शक्तिसम्पन्न मुलुकको हस्तक्षेप र गृहकलहको भुमरीमा परेर अफगानिस्तानले बम र बारुदसँग सामना गर्न परिरहेको छ । यही कारणले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा बरोबर छाइरहने मध्यएशियाली मुलुक अफगानिस्तान फेरि पनि चर्चाको शिखरमा छ । 

 तालिबान (धार्मिक विद्यार्र्थी) नामले परिचित विद्रोही शक्तिले दोस्रो पटक सत्ता कब्जा गरेपछि अफगानिस्तानको भविष्यबारे विश्वव्यापी चिन्ता र चासो बढिरहेको छ । पटक पटक युद्ध र अशान्ति भोग्न अभिशप्त अफगानिस्तानको भविष्य फेरि पनि चौबाटोमा पुगेको छ । 

  अफगान रणभूमिको विगत 

 अफगानिस्तानका लागि युद्ध र हस्तक्षेप कुनै नयाँ विषय होइन । विगत दुई हजार वर्षभन्दा बढी समयदेखि यो मुलुकले युद्धको विभीषिका झेल्दै आएको छ । अफगानिस्तानको इतिहास लामो र जटिल छ । 

अफगानी भूमिमा भएको युद्धको सुदूरपूर्व इतिहासतिर फर्कँदा प्राचीन म्यासेडोनियन सम्राट अलेक्जेण्डर महानले इसापूर्वमा ३३० मा अफगानिस्तानमा आक्रमण गरेको इतिहास छ । यसपछि पनि समयको विभिन्न कालखण्डमा अफगानिस्तानले युद्धको मार निरन्तरजसो झेलिरह्यो । 

विभिन्न अरब शासकले इश्वीको सातौँदेखि नवौँ शताब्दीमा, मङ्गोल सम्राट चङ्गेज खानले तेह्रौँ शतब्दीमा, मुगल सम्राटहरूले चौधौँ र साह्रौँ शताब्दीमा र सिख राजा रञ्जित सिंहले उन्नाइसौँ शताब्दीमा अफगानिस्तानमा युुद्ध मच्चाएको ऐतिहासिक अभिलेख भेटिन्छ । 

 विगतमा अनेकन् शक्तिशाली शासनहरूको घोडचडी फौजले धावा बोलेको अफगानिस्तानमा आधुनिक समयमा पनि शक्तिसम्पन्न मुलुकहरूले निसाना बनाइरहे । उन्नाइसौँ शताब्दीमा बेलायत, बीसौँ शताब्दीमा सोभियत संघ र एक्काइसौँ शताब्दीमा अमेरिकाले एउटा–एउटा कुत्सित अभीष्ट राखेर अफगानिस्तानमाथि गोला–बारुद बर्षाए । 

यद्यपि, यी तीनवटै मुलुकले लज्जास्पद हार बेहोर्नुपर्‍यो । यी तीनवटै ‘मै हुँ’ भन्ने मुलुकले व्यहोर्नुपरेको लज्जास्पादहारबाट अफगानिस्तानको एउटा बेग्लै पहिचान बनेको छ । अफगानिस्तानलाई ‘साम्राज्यवादीहरूको चिहान’ भनेर पुकारिन्छ, जुन बहुधा अर्थपूर्ण र सान्दर्भिक प्रतीत हुन्छ । यो शब्दावलीले अफगानी नागरिकको जुझारुपनलाई पनि सङ्केत गर्छ ।


 वर्तमान तस्बिर 

अफगानी नागरिक जति नै जुझारु भए पनि वाह्य मुलुकको हस्तक्षेप र गृहकलहबाट मुलुक जर्जर बनेको छ । सोभियत कालकालदेखि अहिलेसम्मको युद्धमा बिछ्याइएकामध्ये एक लाख जति विष्फोटक पदार्थ (ल्याण्डमाइन) अझै पनि देशका विभिन्न भागमा छरिएर रहेका छन्, जसबाट समय–समयमा अनाहकमा सर्वसाधारणको ज्यान जाने गर्छ । 

 राष्ट्रसङ्घीय जनसंख्या कोषका अनुसार अफगानिस्तानको कुल जनसंख्या पुग–नपुग ४ करोड छ । मुलुकको जर्जर अवस्थाबाट वाक्क भएर देशै छाडेर जानेहरूको संख्या उच्च छ । यही आधारमा अफगानिस्तान विश्वकै ठूलो शरणार्थी उत्पादक मुलुक मानिन्छ । संयुक्त राष्ट्रसंघका अनुसार शरणार्थीको रूपमा दर्ता भएका नागरिकको संख्या २५ लाख छ, जुन वास्तविक संख्याभन्दा निकै कम मानिन्छ । 

 मुलुकमा भ्रष्टाचारको दर उच्च छ । यसबाट अन्तर्राष्ट्रिय मानकमा अफगानिस्तानको स्थान निकै तल पर्न गएको छ । ‘ट्रान्सप्यारेन्स इन्टरनेसन’ द्वारा सन् २०२० मा प्रकाशित प्रतिवेदनअनुसार पारदर्शिता र आर्थिक सदाचारको कसीमा अफगानिस्तान १६५ औँ स्थानमा छ । 

 मानव विकासमा यो मुलुक पछाडि नै छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) का अनुसार अफगानिस्तानको मानव विकास सूचकाङ्कमा क्रमिक सुधार आए पनि अझै  धेरै सुधार हुन आवश्यक छ । अफगानिस्तानको मानव विकास सूचकाङ्क ०.५११ रहेको छ, जुन विश्व वरीयतामा १६९ स्थानमा पर्छ ।

युएनडीपीकै अनुसार अफगानिस्तानमा १३ प्रतिशत नागरिकले मात्र इन्टरनेट सेवा उपयोग गर्न पाएका छन्, जहाँ इन्टरनेट सेवा तुलनात्मक रूपमा महङ्गो पनि मानिन्छ । नागरिकमा मोबाइल फोनको पहुँच भने उत्साहप्रद छ । त्यहाँका त्यहाँका ९० प्रतिशत नागरिक मोबाइल फोनको पहुँच रहेको आँकडा छ । 

 अफगानिस्तानको साक्षरता दर ४३ प्रतिशत छ । यो मुुलुकले शिक्षामा सबै बालबालिकाको समान पहुँच बढाउन धेरै मेहेनत गर्नुपर्ने अवस्था छ । एक अनुमानअनुसार त्यहाँ ३ं७ लाख युवा शिक्षाको उज्यालो घामबाट बञ्चित भएका छन्, जसमा महिलाको हिस्सा ६० प्रतिशत हुन आउँछ । 

 अन्तर्राष्ट्रिय सञ्चार माध्यममा बुर्का लगाएका अफगानी महिलाहरूको तस्बिर तथा भिडियो बारम्बार देख्दा धेरैलाई लाग्न सक्छ—विगतदेखि नै अफानिस्तान बुर्काभित्र गुटमुटिएको परम्परापरावादी मुस्लिम मुलुक हो । यो बुझाइ आंशिक सत्य हो । सन् १९७० को दशक अघि अफगानिस्तान महिलाहरू शहरिया महिलाहरू बुर्काबिनै हिँडडुल गर्न सक्थे, त्यहाँ खुलेका डिस्को र नाइट क्लबमा उनीहरू जान सक्थे । 

अफगानी समाजलाई नजिकबाट नियालिरहेका कतिपय मानिसका दृष्टिमा तत्कालीन अफगान भूमिको शहरी क्षेत्र युरोपजस्तै थियो । कतिपय अफगानी शासकहरू महिला अधिकारका पक्षमा खुलेर लागेको इतिहास भेटिन्छ । यसको एउटा दृष्टान्त राजा अमानुल्लाह खान (सन् १८९२–१९६०) हुन् ।

उनले महिलालाई बुर्काबाट छुटकारा दिएर पश्चिमी शैलीका पहिरनमा रमाउन प्रेरित गरेका थिए । मुजाहिद्दीन, तालिबानजस्ता कट्टरपन्थीहरूको हातमा शासन गएपछि अफगानी समाज पुनः ‘ब्याक गियर’ मा गएको प्रष्टै देखिन्छ । 

  रेशममार्ग 

प्राचीन रेशममार्ग (सिल्क रोड) को महत्त्वपूर्ण नाकाको रूपमा रहेको अफगानिस्तान नेपालजस्तै भूपरिवेष्ठित मुलुक हो, जुन युरोप र एशियालाई जोड्ने योजक–भूमि मानिन्छ । समयको लामो कालखण्डमा रेशममार्गबाट व्यापारिक वस्तुकमात्र होइन, अनेकन् धर्म, कला र संस्कृति पनि आदानप्रदान भए । यस किसिमको आदानप्रदानको प्रतिविम्ब अफगानी संस्कृतिमा देखिन्छ । 

अफगानिस्तान युरोप र मध्यएशियाका लागि एउटा महत्त्वपूर्ण भौगोलिक कडी मानिन्छ, जहाँबाट पाकिस्तान, भारतलगायतका दक्षिण एशियाली मुलुक छिर्ने ढोका खुल्छ । बाटोघाटो उचित व्यवस्थान नभएको समयमा चर्चित युरोपेली व्यापारी, अन्वेषक तथा यात्री मार्को पोलो (सन् १२५४–१३२४) ले अफगानिस्तानसँग जोडिएको रेशममार्ग हुँदै भारत, मङ्गोलिया, चीनलगायतका एशियाली मुलुकको कष्टसाध्य यात्रा सम्पन्न गरे । 

उनको कायम गरेको कीर्तिमानीको गौरवगाथा इतिहासका पानाभरि भेटिन्छ । आधुनिक समयमा अफगानिस्तानलाई पश्चिमी गोलार्द्धमा चिनाउने काममा स्कटिस् अन्वेषक सर अलेक्जेण्डर बर्नस् (सन् १८०५–१८४१) नाम अग्रपंक्तिमा आउँछ । बर्नस्ले अफगानिस्तन, तुर्कमेनिस्तान तथा इरानको लामो र कष्टप्रद भ्रमणपछि सन् १८३५ मा ‘ट्रभल्स् इनटु बुखारा’ पुस्तक निकाले । 

 रोचक यात्रावृत्तान्तले भरिएको त्यो पुस्तक निस्केपछि उनी त्यस समयमा 'सेलिब्रिटी' नै बने । त्यस पुस्तकमार्फत् पश्चिमी दुनियाँले अफगानिस्तानलगायत मध्यएशियाबारे जानकारी प्राप्त गरे । यसभन्दा अघि अफगानिस्तानबारे पश्चिमा दुनियाँलाई धेरै कम जानकारी थियो भनिन्छ ।

 अथाह प्राकृतिक वैभव
 
 भौगोलिक दृष्टिले रणनीतिक अवस्थितिमा रहेको अफगानिस्तान प्राकृतिक स्रोत–साधनका दृष्टिले पनि वैभवपूर्ण मानिन्छ । त्यहाँ फलाम, तामा, सुन, मार्बल, प्राकृतिक ग्याँस, कोइला, निकेल, कोल्बाटजस्ता प्राकृतिक स्रोतका लागि धनी मुलुक मानिन्छ । 

यतिमात्र होइन, विश्वकै दुर्लभ खजिन मानिने लिथियमको ठूला भण्डारमध्ये एक यही मुलुक मानिन्छ । अमेरिकी टेलिभिजन च्यानल सीएनएनको वेबसाइट (अगष्ट १९, २०२१) मा प्रकाशित एक लेखका अनुसार अफगानिस्तान प्राकृतिक स्रोत–साधनका दृष्टिले अत्यन्त्य वैभवशाली भएर पनि अधिकांश नागरिक दैनिक दुई अमेरिकी डलरभन्दा कम आम्दानीमा जीवन गुजारा गर्छन् ।

 मुलुक विद्यमान अथाह प्राकृतिक सम्पदालाई उपयोग गर्न सक्ने हो र शान्ति सुव्यवस्था कायम हुने हो भने एक दशकभित्रै अफगानिस्तान त्यस क्षेत्रको समृद्ध मुलुकमध्ये एक बन्न सक्छ भन्ने तथ्य लेखमा औँंल्याइएको छ । अफगानिस्तान नशालु पदार्थ अफिमको प्रमुख उत्पादक मानिन्छ, जुन अफगानी अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा मानिन्छ । 

अफगान भूमिमा शक्तिशाली मुलुकहरूले अनेकन् बहानामा पटक पटक हस्तक्षेप गर्नुको मूल ध्येय त्यहाँ अथाह प्राकृतिक सम्पदा हत्याउनु हो भन्ने दृष्टिकोण राख्नेहरू पनि थुप्रै छन् । 

  प्राकृतिक तथा सांस्कृतिक सम्पदा 

अफगानिस्तान कम पानी पर्ने शुष्क जलयुक्त मुलुक हो । झलक्क हेर्दा त्यहाँको शुष्क जलवायुयुक्त प्राकृृतिक परिवेश उतिविधि चित्ताकर्षक देखिँदैनन् । तर पनि, अफगानी भूगोलमा लुकेर रहेको प्राकृतिक सौन्दर्य र मनमोहकपन अद्वितीय मानिन्छ । 

कतिपयले अफगानिस्तानलाई पृथ्वीको स्वर्ग मानेका छन् । भारतमा मुगल साम्राज्यको जग बसाल्ने बादशाह जाहिरूद्दीन मोहम्मद बाबर (सन् १४४३–१५३०) अफगानिस्तानको राजधानी काबुलको उच्च प्रशंसक मानिन्छन् । बाबरले सन् १५०४ मा काबुलमा विजयको ध्वजा फहपराएका थिए ।

 उनले आफ्नो आत्मावृत्तान्त ‘बाबरनामा’ मा काबुलको खुलेर प्रशंसा गरेका छन् । बाबर प्रकृतिप्रेमी थिए । उनले काबुलको हावापानी, भौगोलिक अवस्थिति, यस वरपर भेटिने चराचुरुङ्गी, नदी, तालतलैया तथा फलफूलबारे मीठो वर्णन गरेका छन् । 

उनले आफ्ना कृति ‘बाबरनामा’ मा काबुल वरपर अङ्गुर, कागती, अनार, आरु, स्याउ, आलुबखडा, बयर, बदाम, ओखर, सुन्तला आदि फलफूल पाइने र तिनीहरू हुने बेमिसाल सुस्वादु हुने चर्चा गरेका छन् । अनार अफगानस्तिानको चर्चित फल मानिन्छ । अफगानिस्तानलाई ‘अनारको देश’ भनेर पुकार्ने चलन पनि छ । 

एक तथ्याङ्कअनुसार अफगानिस्तानमा तरभुजा, अंगुरलगायतका विविध प्रकारका १५ लाख टन फलफूल प्रत्येक वर्ष उत्पादन हुने गर्छ । 

 काबुल बाबरले निकै मन पराएको ठाउँ थियो । उनले त्यहाँ १० वटा बगैचा बनाउन लगाए भनिन्छ । उनले बनाउन लगाएका एउटा बगैँचा बाग–ए–बाबर नामले परिचित छ । बाबरको बगैँचा ११.५ हेक्टरमा फैलिएको छ । बाबरको समाधि पनि यही बगैँचामा छ ।

 बाग–ए–बाबर विश्व सम्पदा सूचीमा सूचीकृत भइसकेको छ । बाबरको बगैँचा सन् १८४२ को भूकम्पबाट क्षतिग्रस्त बन्न पुग्यो । युनेस्कोले यसलाई जीर्णोद्दार गरेपछि सन् २००८ मा सर्वसाधारणका लागि खुल्ला गरिएको थियो, जुन एउटा चुम्वकीय आकर्षणयुक्त गन्तव्य मानिन्छ । 

सन् २०१६ मा दश लाख पर्यटकले बाग–ए–बाबरको भ्रमण गरेका ‘फ्याक्टस्’ नामक वेबसाइटमा उल्लिखित छ । काबुलबाहेक कन्दाहार, मजार–ए–सरिफ, जलालावाद, बाख, हेरात, फैजावादलगायतका कैयौँ स्थानमा प्राचीन सभ्यताका डोबहरू भेट्टाउन सकिन्छ । 

यी स्थानको भ्रमण ऐतिहासिक तथा पूरातात्विक अन्वेषणका दृष्टिले महत्त्वपूर्ण मानिन्छ । यसैगरी, संसारको छानो नामले परिचित पामिर, हिन्दुकुश पर्वत शृङ्खलाका अनेकन् भूखण्ड र अन्य विविधतायुक्त भूभाग पदयात्रा तथा दृश्यावलोकनका दृष्टिले मात्र होइन, प्राकृतिक सम्पदा र जीवनशैलीको अध्ययन–अन्वेषणका दृष्टिले परम महत्त्वपूर्ण गन्तव्य हुन् । 

  बामियान उपत्यको वैभव 

 बामियान उपत्यकाको शाब्दिक अर्थ हो, ईश्वरको उपत्यका । यो उपत्यका राजधानी काबुलबाट १३० उत्तर पश्चिममा हिन्दुकुश पर्वत शृङ्खलामा पर्छ । २५०० मिटर उचाइमा अवस्थित बामियान उपत्यका ऐतिहासिक तथा पूरातात्विक दृष्टिले अतिशय अर्थपूर्ण गन्तव्य मानिन्छ । 

 बामियन उपत्यकामा ईश्वीको पाँचौँ शताब्दीतिर निर्मित बुद्धको दुईवटा मूर्ति विशेष चर्चित छन् । ५५ मिटर र ३८ मिटर अग्लो मूर्तिले विश्वको ध्यान खिचेको छ । यी मूर्ति पहाडलाई खोपेर तयार पारिएका हुन् । सन् २००१ मा तालिबानले नष्ट गर्नुभन्दा अघि यी मूर्ति विश्वकै अग्लो र पुरानो बुद्धमूर्ति मानिन्थ्यो । 

बानियाम उपत्यकामा निर्मित अग्लो मूर्तिको उचाइलाई बीस तला अग्लो भवनसँग तुलना गरिन्छ । आधुनिक यन्त्र–उपकरण र प्रविधि विकास नभएको त्यस युगमा यसप्रकारका अद्भूत कलाकृति सिर्जना हुनु निश्यच नै अनौठो घटना हो, जुन अन्वेषकहरूका लागि दिमाग रन्थन्याउने विषय बन्दै आएको छ । 

 बामियान उपत्यकामा यी दुई बुद्धमूर्तिका अतिरिक्त अरू साना मूर्तिहरू छन् । थुप्रै गुफा पनि छन् । ती गुफामा तैलचित्रहरू छन्, जुन विश्वको पुरानो तैलचित्रमध्येकै मानिन्छन् । बामियान उपत्यकामा लोपोन्मुख अवस्थामा रहेका यस्ता सांस्कृतिक तथा पूरातात्विक वस्तुले प्राचीन समयको सांस्कृतिक वैभवबारे मुकभाषामा वर्णन गरिरहेका छन् ।

 हिप्पी ट्रेल 

अनलाइन विश्वकोश ब्रिटानिकाका अनुसार अमेरिकी मूलधारको समाजभन्दा भिन्न जीवनशैली अपनाएका शान्तिप्रेमी र मानवतावादी दृष्टिकोणका हिमायतीहरू नै हिप्पी हुन् । अरूको भन्दा बेग्लै खालको पहिरनमा हिँड्नु, लामो–लामो कपाल तथा दाह्रीजुँगा पाल्नु तथा गाँजाजस्ता लागू औषध प्रयोग गर्नु उनीहरूको थप परिचय हो । 

 सन् १९५० को मध्यदेखि १९७० को दशकसम्म कायम रहेको हिप्पी आन्दोलन जारी रह्यो । यस आन्दोलनमा अमेरिका, क्यानडा तथा बेलायतका युवाहरूको संलग्नता रह्यो । ती युवा युरोप हुँदै एशियाको भ्रमण गरेर जीवनको आनन्द लुट्दै हिप्पी आन्दोलनको सन्देश प्रवाह गर्थे ।

 त्यस कालखण्डमा पश्चिमाहरू टर्कीबाट स्थलगत यात्रा शुरु गरेर इरान, अफगानिस्तान, पाकिस्तान, भारत, नेपाल, बंगलादेश हुँदै थाइल्याण्डसम्म पुग्थे । 

यो रुट ‘हिप्पी ट्रेल’ नामले परिचित थियो, जुन एक समयमा ज्यादै चर्चित थियो । यसरी स्थलगत यात्रा गर्नु वैकल्पिक पर्यटनको अभ्यास पनि थियो । ‘हिप्पी ट्रेल’ मा पर्यटकहरू हिँड्ने समयमा अफगानिस्तान सापेक्षित रूपमा शान्त देश मानिन्थ्यो । 

विविधतापूर्ण भूगोल, मौलिक जीवनशैली, गाँजा–अफिमजस्ता लागू पदार्थको उपलब्धताजस्ता कारणले हिप्पीहरूका लागि अफगानिस्तान आकर्षक गन्तव्य मानिन्थ्यो । 

  अफगानी सङ्गीत 

अफगानिस्तानमा पस्तुन, ताजिक तथा हजारा समुदायमा प्रचलित परम्परागत भावप्रधान रैथाने गीत–सङ्गीत निकै लोकप्रिय मानिन्छन् । अफगानी सङ्गीतमा भारतीय, इरानी तथा अरबी सङ्गीतिक ढबको प्रभाव पनि देखिन्छ । समयको प्रवाहसँगै अफगानी सङ्गीतमा रक तथा पप सङ्गीत पनि भित्रिएको छ । 

आधुनिक इतिहास नियाल्दा सन् १९५० देखि १९७० को कालखण्डलाई अफगानी सङ्गीतको स्वर्ण युग मान्न सकिन्छ । सन् १९९६ मा तालिबानी युग शुरु भएपछि सङ्गीतकर्मीहरूमाथि कुटपिट तथा गीत–सङ्गीत सार्वजनिक कार्यक्रममाथि प्रतिबन्ध हुन थालेपछि कतिपय सङ्गीत देश छाडेर भागे । 

तालिबानी युग (सन् १९९६–२००१) अफगानी साङ्गीतिक परिवेशका अँधेरो युग मानिन्छ । अब, फेरि पनि तालिबानी युग नै शुरु भएको अवस्थामा अफगानी सङ्गीतको भविष्य फेरि पनि दोबाटोमा पुगेको छ । 

  बिसौनी 

 अफगानिस्तानको शासनसत्तामा फेरि पनि तलिबानको हातमा गएको छ । रजगज शुरु भएको छ । यसपटक उदारवादी चेहरा देखाउने प्रयास गरेको छ । अब, पुरानो सभ्यतासँग जोडिएको विराट अफगानी समाज उही बुर्का र लामा लामा दाह्री जुँगाको युगमा फर्कन्छ वा नयाँ सुधारका साथ लोकतान्त्रिक तरिकाले अघि बढ्छ ? अफगानी नागरिकको भविष्यसँग जोडिएको यो प्रश्नको उत्तर समयले मात्र दिन सक्नेछ ।

[गोरखापत्र (शनिवार) । २०७८ साल भदौ १९ गते । ]