Tuesday, April 26, 2011

चौतारीको बरै ढलेछ...

 –यमबहादुर दुरा

विकास । सबैले रुचाएको शब्द । विकास, विकास र फेरि पनि विकास । सबैजनाको चाहना यही छ । आधुनिकताको दृष्टिले विकास जति प्रिय छ, रैथाने जीवनशैलीका दृष्टिले उति नै अप्रिय र भक्षक पनि छ । विकासले आधुनिक जीवनशैलीका धेरै पाटाहरुलाई हराभरा बनायो होला तर यसबाट रैथाने जीवनपद्धतिका धेरै आयामहरु उजाडिन पुगेका पनि छन् । विकासलाई भित्य्राउँदा तिर्नुपरेको अनुभूतिगत मूल्य चर्को छ ।
यसको ज्वलन्त दृष्टान्तका रुपमा हरपल उजाडिंदै गरेको गाउँठाउँका चौतारीहरुलाई लिन सकिन्छ ।

डाँडाकाँडाहरुमा मोटर गुड्न थालेपछि उकाली ओरालीका चौतारीहरु बिरानो बन्दै गएका छन् । यस सँगसँगै चौतारी र यसले निर्माण गरेको बृहत सामाजिक र सांस्कृतिक परिवेशसँग गाँसिएका जीवन भोगाइका अनुभूतिहरु  विस्मृत बन्दै गएका छन् । बचेखुचेका जिउँदा अनुभूतिहरु पनि घाइते बन्दैछन् र रनाहामा छट्पटिंदैछन् ।

विकासका नाममा बुल्डोजरको थुतुनोले उधिनेर 'बाइरोड' हरु खनिंदैछन् । परिणामस्वरुप बान्की परेका पाखापखेराहरु कुरुप र थोते बन्न पुगेका छन् । यसबाट ठाउँठाउँमा पहिरोको राक्षसी रुप पनि जाग्न थालेको छ ।

उता, पीच रोडहरुको लम्बाइ बढ्दैछ । हिजोका पैदल यात्रीहरु मोटरमा आज सरर गुड्दैछन् । विकास हुनु र नागरिकले गाडीमा यात्रा गर्न पाउनु नराम्रो होइन । तर पनि विकासले पुराना अनुभूतिहरुलाई मेटाइदिंदा कता कता अनुभूतिजन्य छट्पटी हुने रहेछ । डाँडाकाँडाहरुमा मोटर गुड्न थालेपछि पसिना पुछ्दै अनि सुस्केरा काढ्दै उकाली ओराली काटिएका र चौतारीमा थकाइ मारिएका सम्झनाहरु पातलिंदै गएका छन् ।
तारानाथ शर्माले कुनै समयमा लेखेको चर्चित यात्रासंस्मरण 'घनघस्याको उकालो काट्ता' पनि मोटरबाटोका कारण सन्दर्भविहीन बन्न पुगेको समाचार अखबारमा आएका छन् । समग्रमा भन्दा चौतारी सँस्कृतिसंगको नेपाली जनजीवनको नाता बिस्तारै टुट्दै जान थालेको छ ।

समयले काँचुली फेर्दैछ । यस सँगसँगै 'चौतारी संस्कृति' ओझेलमा पर्दै गएको छ । एक हिसाबले यसलाई स्वाभाविक प्रक्रिया नै मान्नुपर्छ । तर पनि शताब्दियौंअघिदेखि अस्तित्वमा रहेको चौतारी संस्कृति र नेपाली जनजीवनको नातासम्बन्ध टुट्ने क्रमको साक्षी बन्नुपर्दा कताकता ननिको लाग्दो रहेछ ।
ग्रामीण जीवनशैलीले घेरिएको हाम्रो भौगोलिक एवम् सामाजिक परिवेशमा चौतारीको बहुआयामिक महत्व छ । चौतारीहरुमा भारीमात्र बिसाइँदैन । चौतारीमा थकाइमा मात्र पनि मारिँदैन । चौतारी सार्वजनिक थलो भएकोले यहाँ ग्रामीण जीवनशैलीका सार्वजनिक पाटोसित गाँसिएका अनगिन्ती क्रियाकलापहरु हुन्छन् । पहिले पहिले भद्रभलाद्मीबीच चौतारीमै कहचरी हुन्थ्यो । गाउँघरका सानातिना मुद्दामामिलाहरु त्यही छिनिथ्यो । अर्कोतिर मध्यपहाडी भेगका कतिपय गाउँमा नचाइने घाँटु चौतारीमै सेलाइन्थ्यो ।

आज पनि फूर्सदको बेलामा चौतारीमा बसेर साथीसंगीहरुबीच बाघचाल खेलिन्छ । गट्टा खेलिन्छ । चौतारीमा नचिनेका बटुवाहरुबीच चिनजानी हुन्छ अनि थकाइका सुस्केराहरुबीच सुखदुःखको कुराकानी हुन्छ ।

चौतारीमा घाँस, दाउरालगायतका ज्यानले बोक्ने सबै किसिमका भारी बिसाइन्छ । तर त्यहाँ ज्यानको भारीमात्र बिसाइँदैन, मनको भारी पनि बिसाइन्छ । साथीसंगीसँग दिल खोलेर कुराकानी गरेर वा होस् गीत गुनगनाएर नै किन नहोस्, त्यहाँ मनको भारी पनि बिसाइन्छ । त्यसैले चौतारी मनको भारी बिसाउने थलो पनि हो ।

चौतारी र त्यहाँ रोपिने रुखवृक्ष (बर, पीपल एवम् लाँकुरी) सँग हाम्रा गाउँबस्तीका नाउँ जोडिएका छन् । यसका थुप्रै उदहारण छन् । हामी थाहै छ, सिन्धुपाल्चोकको सदरमुकामको नाम 'चौतारा' हो । 'आँपपीपल' गोरखाका ६६ गाविसहरुमध्ये एक हो । नेपालको राजनीतिक इतिहासमा भीमसेन थापाको नाम बारम्बार उच्चारण हुने गर्छ, उनको जन्मथलो गोरखाको पीपलथोक (बोर्लाङ) हो । यसैगरी, तनहूँ जिल्लाको ४६ बटा गाविसहरुमध्ये एउटा गाविसको नाम बरभञ्ज्याङ हो, जुन घाँसीकुवा गाविसको छिमेकी हो । पूर्वपश्चिम राजमार्गमा पर्ने 'ढल्केबर' एउटा यस्तै चर्चित नाउँ हो, जुन धनुषा जिल्लामा पर्छ । यी त उदाहरणात्र हुन् । यस्ता अनगिन्ती नामहरु प्रचलनमा छन्, जसले चौतारी संस्कृतिसँगको हाम्रो पुस्तौं पुरानो नातालाई उजागर गर्छ । पीपलटार, पीपलबोट, बरबोट, पीपलथोक, बरभञ्ज्याङ, बेलचौतारा, पीपल चौतारा, लाँकुरीडाँडा, लाँकुरी भञ्ज्याङ, बिचारी चौतारी, लाँकुरीस्वाँरा, लाँकुरी गैह्रा, डिलको चौतारी, आदि हाम्रा गाउँबस्तीका यस्ता मीठा र सुन्दर नाउँहरु हुन्, जसमा ग्रामीण जीवनशैलीको विम्ब र तस्बिरहरु भेटिन्छन् । यी नामहरुले एकातिर चौतारी संस्कृतिको साक्षी बकिरहेको छ भने अर्कोतिर यिनमा हाम्रा जीवन भोगाइ र अनुभूतिका गहिराइहरु भेटिन्छन् ।

चौतारी संस्कृतिसँग गाँसिएको एउटा अर्को मीठो पक्षको बारेमा चर्चा गरौं । चौतारी र त्यहाँ लगाइने बोटवृक्षसँग जोडिएका लोकगीतका अनगिन्ती फाँकी र फुंदाहरु जनजिब्रोमा आजपर्यन्त झुण्डिएका छन् । यसले हाम्रो लोकसंगीतलाई धनी बनाउन पनि सघाएको छ ।

'यो मायाले गरेन वास्ता, चौतारीको छेवैमा मै बस्दा ' :  केटाकेटी छँदा सुनेको  यस लोकगीतमा युवा मनका यन्त्रणा र याचनाहरु छताछुल्ल पोखिएको पाइन्छ । यसले युवा मनलाई मात्र प्रतिनिधित्व गरेको छैन, नेपाली जनजीवनको चौतारीसँग गाँसएको नातालाई प्रस्ट्याउने काम पनि गरेको छ ।

मनमा उत्पन्न भएको ताप वा अशान्तिलाई झल्काउने अनेक तरिका र माध्यमहरु छन् । तर चौतारी संस्कृतिसंग परिचित हुनेहरुले लोकसाहित्यको रसिलो विधा लोकगीतमार्फत मनभित्रको अशान्तिलाई यसरी व्यक्त गरेको पाइन्छ : 'चौतारीमा बर छैन पीपलु, कहाँ गएर होला मन सीतलु ।'

मर्ने दिन अज्ञात छ  तर हाम्रा बूढापाकाले मृत्युको पूर्वाभास पाउँथे भनिन्छ । उनीहरुले निश्चित प्राकृतिक विम्ब वा सूचकहरुका आधारमा आफू संसारबाट विदा हुने दिन थाहा पाउँथे रे । 'अहिले साल मरिन्छ क्यारे, ओइलायो राम्दीमा पीपलु ।' यस गीतले यही जीवनदर्शनलाई चित्रण गर्छ ।

मानव चोला घामछायाँजस्तै हो । जिन्दगी छोंटो छ र अस्थिर पनि । यही वास्तविकतालाई मनमा राखेर हाम्रा अग्रजहरुले मानिसको दुइदिने चोलालाई  लाँकुरी छायाँसँग दाँजेको पाइन्छ : 'किरिमिरे लाँकुरी छायाँ, यो जिन्दगी दुई दिनको रामछायाँ' ।

बर र पीपल शब्द प्रयोग भएका लोकगीतहरुले नेपाली जनजीवनको साक्षी बोलेको पाइन्छ । 'पीपलसंगै बर, पीपलुको छायाँमुनि मायालुको घर' यस लोकगीतको भाव र झङ्कारलाई मनको आँखाले अनुभूत गर्दा हाम्रो आँखासामु बर पीपलको चौतारी र त्यस वरिपरि रहेका ढुङ्गा र माटोले बनेका अनि खरले छाइएका घरहरुका तस्बिरहरु नाँच्न आउँछन् । अर्थात् ग्रामीण परिवेशको एउटा झलक मिल्छ, यसबाट । यसमा हाम्रो माटोको सुवास भेटिन्छ ।

चौतारी संस्कृतिको प्रभाव नेपाली सुगम संगीत एवम चलचित्रमा पनि परेको देखिन्छ । 'चौतारीको बरै ढलेछ...' (शिशिर योगी), 'लहरे बर घुमाउने चौतारी...' (अरुणा लामा), 'चौतारीमा बसेर रुन पाउँ...' (अरुणा लामा),  'जहाँ बरले पीपललाई अंगालेको हुन्छ, तिम्रो हाम्रो साइनो त्यतैतिर सोध...' (चलचित्र 'कान्छी'),   आदिलाई उदाहरणको रुपमा प्रस्तुत गर्न सकिन्छ ।

चौतारी एवम् चौतारीमा लगाइने बोटविरुवाबारेको हाम्रा सामाजिक मान्यत एवम् विश्वास  प्रणाली आफ्नै किसिमको छ ।  ' विवाह नगरेकाले  बर पीपल सार्नुहुँदैन । फाप-नफाप हुन्छ ' भन्ने मान्यता पनि हामीकहाँ छ । चौतारी बनाएमा ' पुण्य मिल्छ ' भन्ने मान्यताबाट हाम्रो पुराना पुस्ता निकै ओतप्रोत छ । परोपकारी भावना भएका हाम्रा पूर्खाहरुले बटुवा एवम् भरियाहरु हिंड्ने डाँडाकाँडा, देउराली र भञ्ज्याडमा चौतारी बनाए । थकित बटुवा र भरियाहरुलाई छहारी र आश्रय दिने काम गरे । उनीहरुले चौतारीमा बर, पीपल, लाँकुरीजस्ता हितकारी वृक्षहरु रोपेर वरत्र र परत्र सुधार्ने काम गरे ।

परिवारको कुनै सदस्य खस्दा उसको सम्झनामा चौतारी बनाउने चलन हामीकहाँ छ । एउटा परिवारभित्र भएको अपूरणीय खतिलाई अर्को ढङ्गले पूरा गर्ने सतत् प्रयास हुन्छ । बृहत्तर समाजिक हितका लागि सिर्जनशील र कल्याणकारी काम गरेर । कति वन्दनीय परम्परा ! कति सुन्दर परम्परा ! यस परम्पराको गुनगान जति नै गाए पनि कम हुन्छ ।

डाँडाकाँडा काटेर हिँड्ने बटुवा र भारीले थिचिएका भरियालाई तिर्खा लाग्छ भनेर चौतारीमा सुख्खा याममा पानीको घैंटो राखिदिने चलन हामीकहाँ छ । अरुको मन चिन्न सक्ने हाम्रो हितकारी परम्पराले हामीले भोगिरहेको तिक्डमपूर्व वर्तमानबारे एकपल्ट गहिरिएर सोंच्न बाध्य तुल्याउँछ ।

हाम्रो परम्परा र संस्कृतिमा मान्छेको मात्र विवाह हुँदैन, भ्यागुताको मात्र पनि विवाह हुँदैन । यहाँ त, वनस्पतिको पनि विवाह हुन्छ । खासगरी बर र पिपलको । चौतारीमा बर र पीपल रोपेर उनीहरुको विवाह गरिदिने चलन छ । प्रतिष्ठा गर्ने र भोजको चाँजोपाँजो गर्ने चलन छ ।

कतिपय अवस्थामा मानिसको जोडी वा प्रेमीप्रेमिकालाई पनि चौतारीको बर पीपलसँग दाँज्ने गरिन्छ । कसैले कसैसँग काँधमा काँध मिलाएरमा बसेमा 'चौतरीको बरपीपलझैं नारिएर बसेको' भन्ने गरिन्छ । 'अलि यता सर न रेशम, चौतारीको बरपीपलझैं बसम्' :  नेपाली जनजीवनको स्पन्दन भेटिने यो लोकगीत गाउँबस्तीहरु आज पनि गुञ्जिँदैछन् ।

हाम्रो समाजले युगल जीवनलाई पनि चौतारीसँग दाँज्ने गरेको पाइन्छ । कसैको जोडी छुटेमा वा श्रीमान् वा श्रीमतीमध्ये कुनै एकको देहान्तमा भएमा वा कुनै कारणले जोडी छुटेर एक्लिन पुगेकालाई 'चौतारीको एक्लो बरजस्तो' भयो भन्ने गरिन्छ ।

उता, कसैको घरजम बसाइदिने कामलाई पनि चौतारी बनाउने कामसँग दाँज्ने चलन छ । यही मान्यताअनुसार आमाबाउले घरजम गरिदिएका छोराछोरीको कुनै कारणवश घरबार बिग्रिएमा 'मैले लाएको चौतारी भत्कियो' भन्दै चित्तदुःखाइ गर्ने चलन हामीकहाँ छँदैछ ।

यी समग्र परिदृश्य र क्रियाकलापहरुले नियाल्दा चौतारी संस्कृति हाम्रो नशा-नशामा भिजेको छ भन्न करै लाग्छ, जुन हाम्रो रैथाने जीवनशैलीको धरोहरहरुमध्ये एक हो ।

यहाँनेर, लाहुरे संस्कृति र चौतारी संस्कृतिको साइनोपात खोतल्ने चेष्टा गरौँ पोखरा र बुटवललाई जोड्ने 'सिद्धार्थ राजमार्ग' बनेपछि गण्डकी अञ्चलका लाहुरेका धेरै अनुभूतिहरु सम्झनामा मात्र सीमित हुन पुगेको छ । छुट्टी पूरा गरेर पल्टनतिर फर्कंदा पोखराबाट बुट्वलसम्मको पैदलयात्रा कम सम्झनायोग्य थिएनन् होला । साथीसंगी र चेलीबेटीबाट प्राप्त सम्झना कोसेलीका पोको पुन्तुरो झोलाभित्र कैद गरेर थुप्रै खोलानाला, देउराली अनि भञ्ज्याङ पार गर्दै बुटवल झर्दा संगालिएका अनुभूति अझै पनि पुराना लाहुरेहरुका मनमा संगालिएका छन् । लामो यात्राले लखतरान परेर चौतारीमा थकाइ मार्दा होस् वा लामो हिंडाइपछि रात छिचोल्न छाप्रे भट्टीमा रात गुजार्दाका क्षणहरु कति रोचक थिए होलान् ।  स्याङ्जाको आँधीखोलाको बाटो भएर लाहुर आउँदा जाँदा लाहुरेहरुलाई आँधीखोलाको फनक्कै घुमेको रुपले निकै प्रभावित तुल्याएको थियो  होला  । त्यसै भएर त लाहुरेहरुले  गीत गाएका होलान् नि : 'आँधीखोला फनक्कै घुमेको, एउटा रुमाल दुइटीले बुनेको ' ।

यो भयो, सिद्धार्थ राजमार्ग बन्नुभन्दा अघिको लाहरे अनुभूति । स्मृति तन्तुहरु जागा हुन्छन्, यी कुराहरु सुन्दा । तर अब ती क्षणहरुको सम्झनामात्र बाँकी छ । सिद्धार्थ राजमार्ग बनेपछि अरु अनुभूति जन्मन सकेन । यस्ता अरु थुप्रै राजमार्गहरुले हाम्रा मौलिक अनुभूतिहरुलाई छेउमा पुर्‍याइदिएको छ ।

यसरी हाम्रो जीवनका नसा-नसामा चौतारी संस्कृतिको प्रभाव देखिन्छ । चौतारीसितको हाम्रो युगौं पुरानो साइनोपातलाई प्रगाढ तुल्याउने अनेकौं दृष्टान्तहरु हाम्रै वरिपरि छरपष्ट छन् ।

समयको बदलिंदो प्रवाहसँगै हाम्रा पितापूर्खाले बनाएका चौतारीहरु बिरानो बन्दैछन् । तिनीहरु संरक्षणको अभावमा भत्किंदैछन् । नयाँ चौतारीहरु बन्ने क्रममा मन्दी आएको छ । सारमा भन्दा हाम्रो चौतारी संस्कृति दिनदिनै विस्मृत बन्दै गएको छ । चौतारी संस्कृतिसँग  गाँसिएका बचेखुचेका अनुभूतिहरु घाइते बन्दैछन् । भौतिक प्रगतिको माझमा घाइते अनुभूति लिएर बाँच्नु साँच्नै पीडादायक हुन्छ । पीडाले आहत भएको मनले उही गीत गुनगुनाउन चाहन्छ, 'चौतारीमा बर छैन पीपलु, कहाँ गएर होला मन सीतलु' ।


[साभार :  नेपाली पोष्ट  (अप्रिल २३, २०११) । 


[अद्यावधिक : २०६८।०६।०५, २०६८।०६।२४, ०६८।१०।२०, ०६८।११।०८, ०६८।११।०९, ०६८।११।१०, ०६८।११।१३, ०६८।११।१४, ०६८।११।२२, २०६९।०३।२१, २०६९।११।१७, २०७०।०४।१०, २०७१।०१।३०, २०७१।०५।१६]

Sunday, November 14, 2010

मिडियाको बदलिँदो स्वरुप

 -यमबहादुर दुरा

निरंकुश राणा शासकको पालामा वि.सं. १९५८ मा शुरु भएको गोरखापत्रको प्रकाशनसंगै बामे सर्दै आएको आधुनिक नेपाली पत्रकारिताले समयको वर्तमान विन्दुसम्म आइपुग्दा अनगिन्ती आरोह-अवरोह पार गरिसकेको छ । यस क्रममा थुप्रै परिदृश्यहरु फेरिएका छन् । पुराना पात झर्छन् र नयाँ पात पलाउँछन् भनेझैं पत्रकारिताका पुराना पद्धति हराउँदै गएका छन् भने त्यसको ठाउँमा नयाँ पद्धति र शैलीहरु आएका छन् ।  गिद्धे प्रेसबाट शुरु भएको अहिले नेपालको छपाइ प्रविधिले लामै फड्को मारेको देखिन्छ । अफसेट प्रेसको आगमनपछि यसले युगान्तकारी फड्को मारेको छ । विगतमा लेटर प्रेसजस्तो झन्झटिलो प्रविधिबाट  मुद्रित पत्रपत्रिका अहिले अफसेट  प्रेसजस्तो अत्याधुनिक र सजिलो प्रविधिबाट  मुद्रण भएका छन् । परिणामस्वरुप पत्रपत्रिकाहरु आकर्षक साजसज्जा र ढाँचासहित पाठकमाझ पुगेका छन् ।  यसबाट पत्रकारको समय बचत हुनुका साथै कार्यदक्षतामा समेत वृद्धि भएको छ ।

अहिले हाम्रो 'पठन संस्कृति' मा पनि परिवर्तन आएको छ । पत्रपत्रिका पढ्नका लागि पत्रिका पसल धाउनुपर्ने वा 'हार्ड कपी' नै किन्नुपर्ने बाध्यता कम्तीमा शहरवासीका लागि विगत बनिसकेको छ । घरकै कोठामा बसेर संसारको जुनसुकै कुनाको पत्रपत्रिकाले छापेको समाचार इन्टरनेटको माध्यमबाट पढ्न सकिने अवसर उपलब्ध छ । झन् अनलाइन पत्रकारिताले त भौगोलिक सीमारेखाहरुलाई बेपत्तासित मेटिदिएको छ । वास्तवमा अनलाइन पत्रकारिता विश्वग्राम अवधारणाको भरपर्दो परिचायकको रुपमा जनसमक्ष प्रस्तुत भएको छ । यसले विश्वको एउटा कुनामा भएको घटनालाई क्षणभरमै संसारभरि फैल्याउन सघाएको छ । 
अहिले  सञ्चारमाध्यमका उपभोक्ताले धेरै कुरामा छनौट गर्ने अवसर पाएका छन् । इन्टरनेटमार्फत कम्प्युटरमा उपलब्ध समाचार वा अन्य सामग्री पढ्न अल्छी मान्ने वा पत्रिका पसलसम्म जान झर्को मान्नेहरुका लागि पनि उपाय निस्किसकेको छ । उनीहरु ओछ्यानमै सुतिसुती दैनिक समाचारपत्रका ताजा खबर रेडियोमार्फत एकाबिहानै सुन्न सक्छन् । देशका विभिन्न भागमा खुलेका एमएम रेडियोहरुले यसमा सघाएका छन् । सूचना प्रविधिको तीव्रतर विकासका कारण कम्प्युटरको अगाडि बसेर रेडियो सुन्न पाइने टेलिभिजन हेर्न पाइने र धर्तीको पल्लो छेउमा छापिएका समाचारपत्र पनि सजिलैसंग पढ्न पाइने असीमित अवसर प्राप्त भएको छ । 'सञ्चार सम्मिलन' (Media convergence) को नामबाट परिचित यस पद्धतिले पत्रकारिताको परम्परागत परिभाषालाई नै बदलिदिएको छ । अनि यसले सूचना र सञ्चारको क्षेत्रमा नचिताएको क्रान्ति ल्याएको छ ।

पत्रकारिताले उन्नति र प्रगतिको फड्को मार्दै जाने क्रममा पत्रकारिता जगतमा नयाँ नयाँ जोश र जाँगर भएका नयाँ नयाँ व्यावसायिक सञ्चारकर्मीहरुको दह्रो उपस्थिति देखिन थालेको छ । आफ्नो कर्मक्षेत्रमा एकदमै दत्तचित्त भएर होम्मिने व्यावसायिक पत्रकारहरुका लागि अवसर र संभावनाका क्षितिज पनि राम्रोसित उघ्रिदै गएको तथ्य पनि कसैसामु छिपेको छैन । उनीहरुले नाम र दाम दुबै कमाएका छन् । अनि इज्जत र प्रतिष्ठा पनि ।

अर्कातिर, पत्रकारिताको नाउँमा पर्चाकारिता गरेर सीमित व्यक्ति वा समूहलाई उचालेर आफ्ना अभीष्ट पूरा गर्न चाहनेहरुको भविष्य भने दिनदिनै धरापमा पर्दै गएको छ । पत्रकारिताको नाउँमा विगतमा खास व्यक्ति दल वा समूहको राग अलाप्ने राष्ट्रियस्तरका साप्ताहिक पत्रिकाहरुको डरलाग्दो अधपतनले यही बताउँछ । यसले आवाजविहीनहरुको आवाज भनिने पत्रकारिता सीमित घटकको आवाज बन्नपुग्दा नतिजा के हुने रहेछ भन्ने कुराको तस्बिर पाठकसमक्ष राखिदिएको छ । विगतमा खोजिखोजी पढ्नुपर्ने पत्रपत्रिका अहिले रोजिरोजी पढ्न पाइएको छ । यसबाट पाठकसामु विकल्पका थुप्रै बाटाहरु खोलिदिएको छ् । यसले एकतिर मिडियाका उपभोक्तालाई बलियो बनाएको छ भने अर्कोतिर लगानीकर्ताहरुलाई सञ्चार उद्योगका सञ्चालन गर्नुभन्दा पहिले गहिरिएर सोंच्नुपर्ने बनाइदिएको छ । यसले उनीहरुलाई पाठकप्रति जिम्मेवार पनि बनाएको छ ।
हाम्रो पत्रकारिता क्षेत्र व्यावसायिक र प्रतिस्पर्धात्मक बन्दै यसमा विविधता पनि थपिंदै गएको छ ।

पत्रकारिताको वृहद छानोमुनि यसका नयाँ नयाँ अवधारणहरु जन्मिरहेका छन् । अहिले पत्रकारिताको एउटा  सींगो कित्तालाई विभिन्न खण्ड र उपखण्ड विभक्त गरेर हेर्ने चलन आइसकेको छ । एउटै पत्रकारले सुन्दरी प्रतियोगिता, क्रिकेट खेल, मजदुर हड्ताल, शेयर बजारमा देखापरेको उतारचढाव, राजनीतिक घट्नाक्रम, बिदेश नीति, गीत-संगीत, द्वन्द्वजस्ता विविध क्षेत्र र विषयको रिपोर्टिङ गर्ने चलन पुरानो हुन थालिसक्यो । अब त एउटा पत्रकारले एउटामात्र बिट क्षेत्र को रिपोर्टिङ गर्ने र त्यसैमा विशेषज्ञता हाँसिल गर्ने परिपाटीले स्थान ओगटिसकेको छ ।

परिणामस्वरुप अहिले विकास पत्रकारिता, शान्ति पत्रकारिता, वातावरण पत्रकारिता, नागरिक पत्रकारिता खेलकुद पत्रकारिता, सार्वजनिक पत्रकारिता, राजनीतिक पत्रकारिता, साँस्कृतिक पत्रकरिता, पर्यटन पत्रकारिता, आर्थिक पत्रकारिता, स्वास्थ्य पत्रकारिता, विज्ञान पत्रकारिता, कला पत्रकारिताजस्ता पत्रकारिताका थुप्रै विधा र उपविधाहरु देखापरिहेका छन् ।  गरिब सञ्चार (Pro-poor communication) सामुदायिक सञ्चार, वैकल्पिक सञ्चार, 'प्रोएक्टिभ समाचार लेखन' जस्ता नवीनतम विधागत अवधारणाहरु नेपाली पत्रकारिता जगतमा पनि बग्रेल्ती भित्रिरहेका छन् ।

यी विशिष्टीकृत विधामा रिर्पोटिङ गर्ने सञ्चारकर्मीहरुको संख्या पनि बढ्दै गएको देखिन्छ । यतिमात्र होइन, एउटै बिट विषयलाई पनि विभिन्न टुक्रमा बिभाजन गर्ने र तीमध्ये एउटा विषयमा मात्र रिर्पोटिङ गर्ने चलन पनि आइसकेको छ । उदाहरणका लागि आर्थिक पत्रकारिताअन्तर्गत पनि उद्योगधन्दा आर्थिक संघ-संस्था, बैंक, शेयर बजार, बिमा कम्पनी आदि लगायत असंख्य क्षेत्रहरु छन् । तीमध्ये कुनै एक क्षेत्रलाई मात्र आफ्नो रिर्पोटिङको विषय बनाउने पत्रकारहरु नेपालमा पनि देखापर्न थालेका छन् । अहिले अस्तित्वमा आउन थालेको विशिष्टीकृत पत्रकारिताले हाम्रो पत्रकारिता जगत परिपक्व बन्दै गएको संकेत पनि दिन्छ ।
यति हुँदाहुँदै पनि यसप्रकारको विशिष्टीकृत पत्रकारिता आगमनले कतिपय विषयमा समाजको सचेत वर्ग मानिने पत्रकारहरुबीच नै धारणागत अस्पष्टता निम्त्याएको देखिन्छ । पत्रकारिताले सिंगो समाज र नागरिकको पक्षमा वकालत गर्ने भएकोले सार्वजनिक पत्रकारिता एवम् नागरिक पत्रकारिताजस्ता छुट्टै विधा किन आवश्यक पर्यो भन्ने प्रश्न पनि बेलाबखतमा नउठेका होइनन् । पत्रकारिता भनेकै के हो भन्ने कुरा राम्रोसँग नबुझेका सर्वसाधारणले यस्ता प्रश्न उठाउनु अस्वाभाविक होइन, तर जीवन र जगतका सबैजसो पाटासँग परिचित हुनुपर्ने कतिपय पत्रकारहरु नै आफ्नै विषयमा अन्यौलग्रस्त बनेर प्रश्न उठाउनुचहिं अहिलेको प्रतिस्पर्धात्मक युगमा खट्किंदो पक्ष हो । यसले हाम्रो वैचारिक गहिराइप्रति प्रश्न उठाएको छ ।

जमाना प्रतिस्पर्धात्मक छ । पत्रकारिता पेसामा लाग्ने व्यक्ति एकदमै अध्ययनशील र  चिंतनशील भएन उसले विषयवस्तुको गहिराइ र गाम्भीर्य बुझ्न सक्तैन । त्यसैले सरकारी जागिर खान नसकेका राजनीतिमा असफल भएका उच्च शिक्षा हाँसिल गर्न नसकेका वा अन्य आकर्षक जागिर खान नसकेका मानिस भेला हुने थलोको रुपमा पत्रकरितालाई चित्रण गरिनुहुन्न । अन्यत्र काम नलागेका व्यक्ति पत्रकारितामा पनि काम लाग्दैन । पत्रकारिता सम्वेदनशील पेसा भएकोले यसमा बुद्धि र विवेकको समान उपयोग गर्न गरिनुपर्छ अन्यथा श्रीषा कार्की आत्महत्या प्रकरण, ऋतिक रोशन प्रकरणजस्ता दुर्घटना निम्तिन सक्छ भन्ने तथ्य पनि कसैको आँखामा छिपेको छैन ।

समाजको विसंगति र विकृतिको बारेमा लेख्ने पत्रकार आफैं पनि शुद्ध र नैतिकवान् हुनुपर्छ अन्यथा अन्यथा ऊ हास्यपात्र बन्नपुग्छ भन्ने कुरा कतिपय सञ्चारकर्मीहरुको द्वैध जीवनशैलीप्रति समाजका प्रबुद्ध वर्गले विभिन्न सन्दर्भमा गरेका तीखो टीका-टिप्पणीले पुष्टि गर्छ । त्यसैले काल्पनिक प्रसंग जोडेर निबन्ध लेखेको, दुई चार मानिसको अगाडि डटेर बोल्न सकेको  वा भ्रष्टाचारको काल्पनिक कथा छापेर निर्दोष मानिसलाई भयभित पार्न खोजकै भरमा कसैले आफूलाई पत्रकार ठान्छ भने उसले पतनको बाटो रोजिरहेको कुरा छ भन्न अप्ठेरो पर्दैन । आफ्नो बुद्धि र विवेकको अधिकतम् उपयोग गरेर समाजको पक्षमा रिपोर्टिङ गर्ने पत्रकारसँग प्रधानमंत्री न्यायाधीशजस्ता शक्तिशाली व्यक्तिहरु पनि थर्कमान हुन्छन् तर आफ्नो पेसाको मर्म र धर्म बिसे्रर पत्रकारिताको नाउँमा पर्चाकारिता गर्नेहरुसँग गल्लीका कुकुर पनि डराउँदैन भन्ने कुरा पनि उत्तिकै मननीय छ ।

[साभार : नेपालगञ्जबाट निस्कने कालपृष्ठ दैनिकमा  २०६२ सालतिर प्रकाशित।

 [अद्यावधिकः २०६९।०९।०१, २०६९।०९।०३, २०७१।०२।२७]

तुर्लुङकोटको लाँकुरी बोट


- यमबहादुर दुरा

मेरा जीवनका आयामहरुसँग मितेरी गाँस्ने थुप्रै अनुभूतिहरुका महासागरमा एउटा पक्ष  छाल बनेर मनको अन्तरकुन्तरलाई छुन सधैँजसो आउँछ । त्यो हो, मेरो बाल्यकाल र हाम्रो सामाजिक परिवेशसँग नाता गास्ने तुर्लुङकोटको लाँकुरी बोट । कुरा यहीनेरबाट शुरु गरौं । लमजुङ दुराडाँडाको सिरानतिर ऐतिहासिक महत्व बोकेको एउटा लाँकुरीको बोट छ । परैबाट सजिलै देखिने, फिरिक्क परेको । शाहवंशीय राज्य स्थापनाको सुदूर इतिहासदेखि हलो क्रान्ति र शैक्षिक क्रान्तिको निकटतम् इतिहासलाई काखीमा च्यापेर सर्लक्क बसेको दुराडाँडामा त्यो लाँकुरीको बोट स्थानीय जीवनशैलीको विम्ब बनेको छ । त्यो लाँकुरीको बोट वनपात गर्ने र बाटोघाटो हिँड्नेहरूले भारी बिसाउने, सुस्ताउने र मनको भारी बिसाउने   थलो हो ।

फेरि पनि त्यही लाँकुरीको बोटकै कुरा गरौं । दुराहरुको बस्ती रहेको तुर्लुङकोट गाउँको थक्क पश्चिमतिर सलल परेको चौरमा लाँकुरीको बोट छ, जुन ठाउँ स्थानीयस्तरमा 'भयँरथला' नामले परिचित छ । त्यहाँको लाँकुरी बोट गोरखा, तनहूँ र लमजुङको विभिन्न भू-भागबाट छर्लङ्गै देखिन्छ । त्यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्यहरू नितान्त मनमोहक देखिन्छन् । यसैगरी त्यस ठाउँबाट गोरखा, तनहूँ, कास्की र लमजुङकै सुन्दर भू-स्वरूपकोको दृश्यापान गर्न सकिन्छ ।

लाँकुरीको बोट नजिकबाट तलतिर हेर्दा पाउँदी खोला सर्पाकार रुपमा बग्दै मर्स्याङ्दीलाई भेट्न पूर्वतिर हान्निएको देखिन्छ । बाइसे-चौबीसे राज्यका भुरेटाकुरे राज्यका गढी र माछीकाँडे डाँडाकाँडाहरु यहाँबाट देख्न सकिन्छ । हालका दिनहरुबाट डोजरले खनेका र पहिरोको स्रोत मानिएका ग्रामीण सडकका धर्साहरू पनि त्यहाँबाट देखिन थालेका छन् । त्यहाँबाट देखिने भूदृश्यहरू मन भुलाउने खालका छन् । यस्ता दृश्यहरूले स्वदेशी र विदेशी पर्यटकको मन लोभ्याउँछन् तर यो ठाउँ पर्यटकको क्यामराबाट अभै पनि टाढा छ ।

तुर्लुङकोटको लाँकुरी बोटले स्थानीय जीवनशैलीसँग गहिरो नाता गाँसेको छ । त्यो लाँकुरीको बोट बटुवा, बेसाहा बोक्ने भरिया, वनपात गर्नेहरु एवम् खेताला-गोठाला सबैको मन-मन्दिरमा बिराजमान छ । यसले थुप्रै बटुवा र भरियाहरुलाई आश्रय र छहारी दिएको छ, धेरैका थकानका र सुस्केराहरू सुनेको छ । त्यसैले त्यो वृक्ष सबैका लागि परिचित छ, प्यारो पनि ।

त्यस लाँकुरीको बोट विगतमा धेरै बटुवाहरु एवम् भरियाहरुका लागि पानीजहाजको 'प्रकाश स्तम्भ' जस्तै बनेको थियो । त्यही लाँकुरीको बोटलाई आधार बनाएर बटुवाहरुले गन्तव्य निर्धारण गर्थे । डुम्रे-बेंसीशहर मोटरबाटो नबन्दासम्मको कुरा बेग्लै थियो । त्यतिबेला डुम्रे, भन्सार र कालीमाटीजस्ता तनहूँका व्यापारिक केन्द्रहरुबाट मालसामानको भारी बोकेर आउने भरियाहरु त्यही लाँकुरीको बोटलाई निशाना बनाएर पाइला अघि बढाउँथे । यसलाई ख्याल गरेर उनीहरु हिँडाइको गति बढाउने वा घटाउने कुरा विचार गर्थे ।

मैले पनि यस्तै अनुभव संगालेको छु । म सानोछँदा चामल बेसाउन बासँग सुन्दरबजार पुग्थेँ । टोपीले पसिना पुछ्दै चामलको भारी बोकेर बाको पछिपछि उकालो लाग्थें, त्यही लाँकुरीको बोटलाई निसाना बनाएर । लाँकुरीको बोटमा कतिबेला पुगिएला र थकाइ मार्न पाइएला भन्दै पसिनाले भिजेको शरीरलाई गन्तव्यतिर धकेलेको सम्झना मानसपटलमा ताजै छ । लमजुङको सुन्दरबाट चामलको भारी बोकेर घरतिर उकालो लाग्दा त्यही लाँकुरीको बोटलाई ताकिन्थ्यो ।

कसैले घर कहाँ हो भनी सोध्यो भने उत्तर हुन्थ्यो- 'उ त्यही पर, फिरिक्क परेको लाँकुरीको बोटैनेर । तुर्लुङकोट नजिक ।' अहिले गाउँ-गाउँमा धुले मोटरबाटो बनेपछि स्थिति बदलिएको छ । विगतका पलहरू विस्मृत बन्दैछन् र आफू हिँडेका पाइलाका डोबहरू मेटिँदैछन् । पुरानो पात झर्ने र नयाँ पात पलाउने क्रम जारी छ ।

विगतमा सम्झना, बिर्सना र निशाना पनि त्यही लाँकुरीको बोट बन्ने गथ्र्यो । खासगरी छुट्टी पूरा गरेर लाहुर फर्किन लागेका लाहुरेहरू अनि रोटो र भोटोका निम्ति मुग्लान पस्नेहरूका लागि । उनीहरु घरबाट बिदा भएर नेटो काट्ने बेलामा परबाट लाँकुरीको बोटलाई अन्तिम पटक आँखाभरि पिएर आँसु पुछ्दै बाटो लाग्थे । घरमा लाहुरबाट नासो पुर्‍याउन पठाइएका साथीहरुलाई दिइएका स्थान पहिचानसम्बन्धी मुख्य निशानाहरुमध्ये त्यो लाँकरीको बोट नै पर्‍थ्यो ।

 
तुर्लुङकोटको त्यो लाँकुरीको बोटको महत्व र वृतान्त यतिमा मात्र सकिन्न । चैत बैशाखको गर्मी याममा चिसो हावा खाँदै चोया-बाता गर्ने घरबारेहरुको प्यारो थलो थियो, त्यो लाँकुरीको बोट । वनपात गर्नेले दाउरा-घाँसको भारी बिसाएर सुस्ताउने र गीत गुनगुनाउने थलो पनि हो । चार-पाँच गाउँका भद्रभलाद्मीहरुबीच सभा-कहचरी गर्ने थलो पनि त्यही हो । भर्ती भएर छुट्टीमा आएका र भर्ती हुन चाहने नौजवानहरुले शारीरिक अभ्यास गर्ने ठाउँ पनि हो । गाउँमा बाघ नलागोस् भनेर प्रत्येक वर्षो फागनु महिनाको कुनै मंगलबारबाघको पूजा गरिन्छ, जुन 'भयँर पूजा' नामले परिचित छ । त्यति बेला गाउँबासीहरू भेला भएर भोज खाने थलो पनि त्यही लाँकुरीको बोट बन्ने गर्छ ।

मध्यपहाडी भागका गाउँबस्तीहरुमा लाँकुरीको बोटको विशिष्टतम् सांस्कृतिक महत्व छ । त्यसमा पनि लमजुङको दुरा बस्तीमा यसको महत्व झन उच्च देखिन्छ । गाउँबस्तीमा नचाइने घाँटु नाँचलाई लाँकुरीको बोट भएको चौतारीमा नै सेलाइन्छ । त्यतिबेला घाँटुसारे (घाँटुका नर्तकी)  हरुले लगाएका श्रीपेचलगायतका वस्तुहरू त्यही लाँकुरीको बोटलाई अर्पिने चलन छ । कतिपय अवस्थामा त घाँटु हेर्न आउने पाहुनालाई त्यही लाँकुरीको फेदमा गुन्द्री ओच्छ्याएर अतिथ्य दिइन्छ ।

उता, हरेक वर्षको वैशाखपूर्णिमा निश्चित लाँकुरीबोट मुनिको चौतारीमा चण्डीपूजा गरिन्छ । यसलाई स्थानीय लवजमा चन्नी पूजा भनिन्छ । चण्डीपूजा गर्ने क्रममा चौतारीको छपनी ढुङ्गामुनि कुखुराको फुल राखिन्छ । अर्को वर्ष वैशाखपूर्णिमामा खोलेर हेरिन्छ । फुलको अवस्थालाई ख्याल गरेर चालू वर्षमा सहकाल-अनिकाल वा शुभ-अशुभ के हुन्छ भनेर भविष्यवाणी गरिन्छ । हरेक वर्ष दशैं हालिने प्रायजसो पिङ लाँकुरीको बोटको छेउछाउ नै हुने गर्छ । लाँकुरीको फूलले दिने शोभा अवर्णनीय छ । पहिले पहिले लाँकुरीको पूल फुल्ने बखतमा गाउँका छोरीचेलीहरूको चुल्ठो र छोरामान्छेहरुको कान लाँकुरीको फूलले सजिन्थे र मनमनै आफूले आफूलाई नै सुन्दर सम्झन्थे । लाँकुरीको फूल कत्तिको सुन्दर हुन्छ भन्ने कुरा लोकप्रिय लोकगायक लोकबहादुर क्षेत्रीको गीतमा प्रयोग भएको विम्बले पुष्टि गर्छ :

'
कसकी छोरी होउ नानी तिमी त, लाँकुरीको फूलझैं लर्केकी'

लाँकुरीको एउटा अर्को मीठो विशेषता छ । हामी सबैलाई थाहा छ, हिउँदमा छहारीको खाँचो पर्दैन । त्यति बेला लाँकुरीले आफ्नो शरीरको सबै पात झारेर सिख्रो बन्छ । जतिबेला घाम चर्किन्छ र बटुवालाई छहारीको खाँचो पर्छ, त्यतिबेला लाँकुरीको बोटमा पात पलाउँछ । यसबाट बटुवा र आश्रय खोज्नेहरुले लाँकुरीको बोटबाट समयानुकूल र वातानुकूल लाभ पाउँछन् । लाँकुरीको यही विशेषताका कारण त्यस भेगका प्रायजसो चौतारीहरूमा बर-पीपलको सट्टामा लाँकुरीलाई सार्ने चलन छ । सम्भवतः भूगोलले निर्धारण गरेको सामाजिक एवम् सांस्कृतिक परिवेश हो, यो।

٭٭٭

दुराडाँडामा जन्मेकी लोकगायिका बीमाकुमारी दुराको पनि त्यो लाँकुरीको बोटसित गहिरो नाता छ । त्यही लाँकुरीको बोटलाई लिएर गीत गाइन् -'तुर्लुङडाँडा लाँकुरी चौतारी, छुट्यो मेरो हितैको दौंतरी ।' यही गीत गाएर उनले २०४७ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा सबै प्रतियोगीलाई उछिनेर प्रथम स्थान हाँसिल गरिन् । यहीबाट वास्तविक रुपमा उनको संगीतिक यात्रा शुरु भयो । उनी लोकसंगीतप्रेमीहरुका माझमा सुमधुर स्वरकी धनीको रुपमा परिचित भइन् । उनले थुप्रै प्रशंसक बटुलिन् । उनको सांगीतिक यात्रामा यो वा त्यो रुपमा तुर्लुङकोटको लाँकुरी बोट जोडिन आउँछ । उनको गीतमा त्यहाँको माटोको सुवास भेटिन्छ । उनको गीतले त्यहाँको सामाजिक परिवेश पनि बोल्छ ।

सांगीतिक यात्रामा ख्याति कमाउँदै जाँदा बीमाकुमारी दुराले एउटा अर्को चर्चित गीत गाइन् । त्यो गीतमा पनि उनले तुर्लुङकोट त्यही लाँकुरीको बोटलाई नै सम्झिइन् । यतिञ्जेलसम्म उनको  जिन्दगीले पनि निर्णायक मोड लिइसकेको थियो । हुनसक्छ, त्यस गीतमा उनको निजी अनुभूतिहरु समेटिएको होस्। चिनो नामको अल्बममा रहेको गीतको बोल थियो- 'लमजुङ तुर्लुङकोट, सरर हावा चल्यो लाँकुरीको बोट...'

यो गीत धेरैका लागि प्रिय छ । यसले जन्मस्थान छाडेर एउटा बेग्लै परिवेशमा घरजम गर्न जाने छोरीचेलीको अनुभूतिलाई समेटेको छ । उनले 'स्टेज' मा उभिएर त्यो गीत गाउँदा गाउँ छाडेर आएकाहरुका मनमा गाउँको सम्झनाको ज्वारभाटा चल्न थाल्छ । धेरैको मनभित्र भूइँचालो जान थाल्छ । उनीहरू द्रविभूत हुन्छन् । गीतमा गीत सुन्दा कतिपयको परेली निथ्रुक्कै भिज्न थाल्छ  । यसो हुनुमा कुनै न कुनै रुपमा तुर्लुङकोटको लाँकरी बोट र त्यसले समेटेको सामाजिक एवम् सांस्कृतिक परिवेश जिम्मेवार छ भन्न करै लाग्छ ।
٭٭٭
अहिले समयमले कोल्टो फेरिसकेको छ । गाउँबस्तीकौ स्वरुप हिजोको जस्तो छैन । बाहुनले हलो जोत्न हुन्छ भनेर हलो क्रान्ति गर्ने, जनताका छोराछोरीले तेस्रो आँखा पाउनुपर्छ भनेर शैक्षिक जागरण ल्याएर बेग्लै इतिहास रच्ने दुराडाँडा अहिले निरन्तर रित्तो बन्दैछ । जनसांख्यिक एवम् बौद्धिक- दुबै हिसाबले । हिजोका वैभवशाली दिनहरूलाई वर्तमानले  पछ्याउन छाडेको छ । आधुनिकताको छालले गाउँबस्तीलाई छ्याप्दै गर्दा गाउँको जनसंख्या निरन्तर घट्दो छ । हुन त यस्तो अवस्था विकासोन्मुख मुलुकका गाउँबस्तीहरुको साझा कथा नै हो ।

पढेलेखेका र पाखुरीमा तागत भएका युवाहरु गाउँमा भेटिँदैनन् । आँखा देख्ने र खुट्टा टेक्नेजति सबैले गाउँ छाड्ने क्रममा तीव्रता आएको छ । स्थानीय चुनाव हुँदा वडाअध्यक्षलगायतका जनप्रतिनिधिहरू नभेटिने खतरा बढेको छ । युवाहरू रहर र वाध्यता दुवै कारणले स्वदेशकै शहर र मुग्लान पसेका छन्। पेन्सन पकाएर शहरबजारतिरै रोकिएका लाहुरे परिवारहरु देशै छाडेर देश बेलायततिर पुगिसकेका छन् । तर उनीहरूले गाउँ छाडे पनि गाउँको माया चटक्कै मार्न भने सकेका छैनन् ।

गाउँघरको मायालाई मुटुभरि सजाउने युवाहरूले सोसल नेटवर्किङ साइट 'फेसबुक' अन्य सामुदायिक साइटहरूमा गाउँका मनमोहक तस्बिरहरु पोष्ट गर्छन् । त्यसमा हृदय नै टाँसेर भावुक 'कमेन्ट' गर्छन्  तर उनीहरु गाउँतिर फर्कने सम्भावना न्यून छ । उनीहरुको हविगत सात समुन्द्रपारि अलग-थलग अवस्थामा रहेका अनलाइन प्रेमी-प्रेमिकाको जस्तो छ । मानौं , उनीहरूबीच एकआपसमा माया बिछट्टै छ, मन र मुटु पनि साटिएको छ तर सशरीर भेटघाट हुने मौका भने कहिल्यै जुट्दैन ।

गाउँघर र उनीहरूको सम्बन्ध पनि त्यस्तै भएको छ । इन्टरनेटको 'भर्चुअल' दुनियाँमा जतिसुकै माया पोखे पनि गाउँ अवस्था शून्यको शून्य नै छ । गाउँको दयनीय अवस्था देखेर एकजना बृद्धाले गरेको टिप्पणीको सम्झना आउँछ । उनले स्थानीय लवजमा भनेकी थिइन्, 'हाइँ मोरेपछि यो धाराको पानी कोले खाला !'

अहिले रित्तिँदै गएको गाउँबस्तीको दुर्दशाको साक्षी बनेको छ, तुर्लुङकोटको लाँकुरीको बोट । लाँकुरीको फेदमा बसेर  लोकलयमा मनको बह  पोख्ने पारखीहरु आजकल भेटिँदैनन् । गोधुली साँझमा लाँकुरीबोट भेला हुने युवाहरू आजकल गाउँमा छैनन् । वनपाखा शून्य छ । बच्चा हुर्किएपछिको चराको गुँणजस्तै भएको छ, त्यो लाँकुरीको बोट । लाँकुरीको फेदमा हुने सभा-कहचरी र दगलफसल हुन छाडेको छ । लाँकुरीको फेदमा दाउरा-घाँसको भारी बिसाउने क्रम मत्थरिँदै गएको छ । लाँकरीको बोट नजिकको भिरालो चौरमा केटाकेटीले चिप्लेटी खेल्न छाडेका छन् । बटुवाहरू भेटिन छाडेका छन् ।

अहिले लाँकरीको बोट एक्लो छ । लाकुरीको बोटलाई हृदयको एउटा कुनामा सजाएर गीत गाउने बीमाकुमारी दुराले गाउँ छाडेको वर्षौं बितिसक्यो । लाँकुरीको बोट सारेर इतिहास रच्ने खलाघरे जेठाले २०२२ सालतिरै सुखको खोजीमा चितवन झरेका हुन् । दुई वर्ष अघि उनी संसारबाट बिदा पनि भइसकेका छन् । दुराडाँडामा २००६ सालमा हलो क्रान्तिसँगै सामाजिक क्रान्ति र शैक्षिक क्रान्तिको शंखघोष गरेर गाउँबस्तीलाई ब्युँझाउने श्रीकान्त अधिकारीले पनि दुराडाँडा छाडिसकेका छन् । उनी पनि राजधानीमा नै सुस्ताउँदैछन् ।

वि.सं. २००९ सालमा स्थापना भएको सर्वोदय माविको भवन जीर्ण अवस्थामा पुगेकोले दुर्घटना निम्तिने डरले विद्यालय भवन भत्काइएको छ । भत्किएको अवस्थामा रहेको विद्यालय भवनले यसका उपजहरुसितसहयोगका लागि हात फैलाइरहेको छ । कुनै बेला सामाजिक चेतना र शैक्षिक उन्नतिका दृष्टिले गुल्जार ठहरिएको दुराडाँडा अहिले शून्यतातिर लम्कँदैछ । स्थानीय जीवनशैली र संस्कृतिको अमूल्य निधिको रुपमा लाँकुरीको बोट र त्यसले समेटेको हराभरा परिवेश क्रमिक रुपमा उजाडिँदै छ ।

यस्तो लाग्छ, लाँकुरीको बोटमा सधैँभरि जाल बुनेर बस्ने माकुरी पनि आजकाल त्यहाँ भेटिँदैन । शून्यतातिर लम्किँदै गएको त्यहाँको समग्र परिस्थितिको शब्दचित्र तयार पार्न गाह्रो छ । वर्तमानमा तुर्लुङकोटको लाँकुरी बोट र दुराडाँडाको समग्र परिवेशमा छाएको शून्यतालाई व्याख्या गर्ने शब्द मेरो शब्दकोशमा छैन । कुनैबेला रेडियो नेपालबाट गुञ्जने लोकगीतका यी हरफले त्यो शून्यतालाई चित्रण गर्न सक्छन् कि ?

कहाँ गयो जाल बुन्ने माकुरी
एक्लो भयो डाँडैको लाँकुरी


[साभार: नेपाली पोष्ट  (अगष्ट १५, २०१०  ।

[अद्यावधिक : २०६८।०६।१३, ०६८।०७।०५, ०६८।०७।२०, ०६८।०७।२८, ०६८१०१८, ०६८।११।०९, २०६९।०९।१८, २०७०।०४।२१, २०७१।०३।०७, २०७२।०७।०८, २०७२।०७।१०]