Saturday, June 27, 2015

सञ्चार सिद्धान्त जन्माउने त्यो घटना

–यमबहादुर दुरा


अमेरिका । सन् १९३८ अक्टोबर ३० तारिखको साँझ । ‘हलोविन’ पर्वको पूर्वसन्ध्या । अर्थात् अमेरिकीहरूले धुमधामसँग मनाउने 'हलोविन'पर्वको अघिल्लो साँझ । अमेरिकीहरू स्वाभाविक ‘फेस्टिभ मूड’ मा थिए । सबै कुरा ठीकठाक चलिरहेको थियो । यस्तैमा त्यही साँझे बजे अमेरिकी रेडियो नेटर्वकमा गजबको रेडियो नाटक प्रसारण भयो । नाटक साँझ ८ बजे कोलम्बियन ब्रोडकाष्टिङ सिस्टम (सीबीएस) बाट एक घण्टासम्म प्रसारण भएको थियो, जसको  शीर्षक थियो,  ‘द वार अफ द वर्ल्ड्स्’ ।


नाटकमा मंगल ग्रहका प्राणीहरू पृथ्वीमा आएर हमला गरेको प्रसंग थियो, त्यो पनि अमेरिकाको न्यू जर्सी राज्यको गोभर्स् मिल
भन्ने ठाउँमा ।  नाटक प्रख्यात लेखक एच जी वेल्स (सन् १८६६–१९४६) ले सन् १८९८ मा प्रकाशन गरेको विज्ञान उपन्यास ‘द वार अफ द वर्ल्ड्स्’ मा आधारित थियो । नाटकको प्रस्तुति संवाददाताले कुनै घटनाको प्रत्यक्ष वर्णन (प्रसारण) शैलीमा थियो ।

त्यस नाटकले अमेरिकी समाजमा नचिताएको परिणाम ल्यायो । नाटकको विषयवस्तु नितान्त काल्पनिक थियो । तर पनि बीचमा नाटक सुन्नेहरूले त्यसलाई भ्रमवश सत्य ठाने । उक्त नाटकको प्रसारण अमेरिकाभरमा १ करोड २० लाख मानिसले सुनेकोमा १० लाखले त्यसमा वर्णित घटनालाई सत्य ठानेको विश्वास गरिन्छ ।

अमेरिकी क्यालेन्डरमा ‘हलोविन’ एउटा भुत्याहा पर्व हो । अमेरिकीहरू ‘हलोविन’ पर्वको पूर्वसन्ध्यामा आफ्ना मृत पूर्खाहरू पृथ्वीमा झर्छन् भन्ने विश्वास गर्छन् । यसप्रकारको विश्वासले पनि उनीहरूलाई नाटकको प्रसंग सत्य हो भन्ने लाग्यो ।

नाटक सुनेर अमेरिकीहरू हुनसम्म आतङ्तिक बने । गृहिणीहरू चिच्याउँदै घरबाहिर निस्कन थाले । मानिसहरू घर छाडेर सुरक्षित स्थानमा निस्कन थाले । कतिपयले पृथ्वीमा आक्रमण गर्न आउने मंगलग्रहका प्राणीलाई हान्न भनेर बन्दुकमा गोली लोड गर्न थाले । कोलाहाल मच्चियो । शहरमा अचम्मसँग ट्राफिक जाम हुन थाल्यो ।

भोलिपल्ट अमेरिकी समाचारपत्रहरूमा अघिल्लो दिनको साँझको नाटकले पारेको भ्रम र त्यसबाट भएको भागदौडबारे भंगेरे अक्षरमा हेडलाइन छापिए । नाटक निर्माता तथा उत्पादकरूले अमेरिकी नागरिकमा पर्न भ्रमप्रति माफी माग्नुपर्‍यो । अमेरिकी प्रसारण इतिहासमा यो घटना ज्यादै कुख्यात मानिन्छ ।


त्यो घटनाको प्रभाव सञ्चारशास्त्रीहरूमा पनि नपर्ने कुरै थिएन । यही घटनाको आधारमा उनीहरूले सञ्चारसम्बन्धी नयाँ सिद्धान्त प्रतिपादन गरे । ‘द वार अफ द वल्र्डस्’ नाटकले स्रोतागणमा पारेको प्रत्यक्ष र सीधा असरका आधारमा उनीहरूले मिडियाको अडियन्समाथि सीधा, प्रत्यक्ष र शक्तिशाली असर रहन्छ भन्ने मान्यता अघि सारे ।

यो सिद्धान्त 'बुलेट थ्योरी', 'म्याजिक बुलेट थ्योरी', 'हाइपोडर्मिक निडल थ्योरी', 'प्यारासुट थ्योरी' आदि नामले चिनिन्छ । अमेरिकी समाजलाई आतङ्कित तुल्याउने त्यस घटनाले सञ्चारको एउटा नयाँ सिद्धान्तलाई जन्म थियो । यस सिद्धान्तले आमसञ्चार माध्यमबाट चाहेको सन्देश अडियन्स (स्रोता, दर्शक तथा पाठक) समक्ष अचुक रूपमा सम्प्रेषण गर्नसक्छ भन्ने मान्यता राख्छ । जस्तै : कुशल निसानाबाजले हानेको गोलीले ताकेकै ठाउँमा लागेझैं, सिरिञ्जमार्फत पठाइएको औषधि सीधै रक्तप्रवाहमा मिसाउन सकिएझैं, प्यारासुटबाट जम्प गर्दा अपेक्षित स्थानमा अवतरण गर्न सकिएझैं ।








त्यस सिद्धान्त प्रतिपादनको प्रतिपादनमा अरू घटनाक्रमहरूले पनि सहयोगी भूमिका खेलेको देखिन्छ । त्यतिबेला उकालो लाग्दै गरेको रेडियो र टेलिभिजनको लोकप्रियताको ग्राफ, जर्मनीमा हिटलरले सञ्चार माध्यममा कायम गरेको एकाधिकार (जुन 'गोयबल्स सिद्धान्त' नामबाट परिचित छ) , चलचित्रको चुलिँदो लोकप्रियता एवम् विज्ञापन र प्रोपगण्डा उद्योगले जनमनमा पारेको गहिरो प्रभावले त्यसमा योगदान दिएको देखिन्छ ।

आजभन्दा ७७ वर्षअघि भएको ‘द वार अफ द वर्ल्ड्स्’ नाटकको प्रसारणले निम्त्याएको आतङ्क र जन्माएको सञ्चार सिद्धान्त सञ्चार-अध्येताहरूबीच आज पनि उत्तिकै रोचक र प्रेरणादायी प्रसंग हुन पुगेको छ ।



[साभार : नेपालपाटी (असार १२, २०७२) । परिमार्जित संस्करण । इन्टरनेटमा उपलब्ध सामग्रीहरूमा आधारित । ग्राफिक्स : गुगल ।]

Tuesday, June 16, 2015

‘बार बारे तिल जोगिन्छ’

–यमबहादुर दुरा

मनसुन शुरु भइसकेको छ । समान्यतया, नेपालमा मनसुन जुनको दोस्रो सातादेखि शुरु भएर सेप्टेम्बरको तेस्रो सातासम्म कायम रहन्छ । लगभग चार महिनासम्म कायम मनसुनी वर्षाले नेपालमा हरेक वर्ष बाढीपहिरो निम्त्याउने गरेको दृष्टान्त छ । यसबाट जनधनको क्षति हुँदै आएको तथ्य पनि जगजाहेर नै छ । मनसुनको शुरुवाती दिनहरूमै पूर्वी नेपालको ताप्लेजुङमा बाढीपहिरोबाट जनधनको क्षति भइसकेको छ ।

यसपटकको मनसुन बाढीपहिरोको दृष्टिले विगतको तुलनामा अझ बढी जोखिमयुक्त हुनसक्ने अनुमान गरिएको छ । यसप्रकारको अनुमान विशेषज्ञले मात्र होइन, जनसाधारणले पनि गरिरहेका छन् ।

यसका पछाडि केही निश्चित कारण छन् । २०७२ साल वैशाख १२, १३ र २९ गते आएका भूकम्पबाट ठाउँ ठाउँका जमिन धाँजा फाटेका छन् भने कतिपय ठाउँमा सुख्खा पहिरो गएको छ । यसरी वर्षात् अघि नै कमजोर बनेको भूस्वरूपमा मनसुनी वर्षाले बाढीपहिरोको जोखिम निम्त्याउने अनुमान सामान्य बुभाइ (‘कमन सेन्स’) कै कुरा हो ।
ग्राफिक्स : गुगल

विगतका अनुभवले पनि यही वास्ताविकतसँग नाता गाँसेको पाइन्छ  । सन १९३४  (वि. सं. १९९०) मा आएको भूकम्पले पनि बाढीपहिरो निम्त्याएको थियो । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) द्वारा प्रकाशित ‘अ सर्ट रिभ्यू अफ ल्याण्डस्लाइड इन नेपाल’ नामक अध्ययन प्रतिवेदनमा १९९० को भूकम्पपछिको वर्षायाममा नेपालको पहाडी भाग र भारतको गंगा मैदान बाढीपहिरोको चपेटामा परेको उल्लिखित छ (पृ.२५) ।
सोही प्रतिवेदनमा नेपालको सुदूरपश्चिम क्षेत्रमा सन् १९५३ र १९६९ आएको  भूकम्पले भूस्खलन बढाएको निष्कर्ष निकालिएको छ ।  यिनै दृष्टान्तलाई ध्यानमा यसपटकको वर्षातमा थप सचेत हुनुपर्ने देखिन्छ ।

वर्षात्को समयमा कमजोर भूबनोट भएको पहाडी बस्ती, पुरानो पहिरो भएको स्थान, कमजोर नहर, खोलाको छेउछाउ आदि स्थानमा रहेका बस्तीहरू बाढीपहिरोको जोखिममा पर्न सक्छन् । यस्ता जोखिमयुक्त स्थानहरूको समयमै पहिचान गरी आवश्यक कदम चाल्न आवश्यक छ ।

राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो अनुगमनको आधारमा गोरखाका १४ वटा गाविसका बासिन्दा पहिरो जोखिम रहेको निष्कर्ष निकालेर उनीहरूलाई अन्यत्र सुरक्षित स्थानमा सानुपर्ने सुझाव दिएको छ ।
खानी तथा भूगर्भ विभाग, नापी विभाग र इसिमोडले  भर्खरै गरेको एक अध्ययनले बाढीपहिरोको सम्भावित जोखिमलाई ध्यानमा राखेर पाँच जिल्लाका ४३ बस्तीलाई तत्कालै अन्यत्र सार्नुपर्ने निष्कर्ष निकालेको छ ।

भूकम्प प्रभावित १४ जिल्लामध्ये गोरखा, नुवाकोट, रसुवा, सिन्धुपाल्चोकलगायत ५ जिल्लाका ४३ गाविस र २ नगरपालिकाको स्थलगत अध्ययनका यसप्रकारको निष्कर्ष निकालिएको अध्ययन प्रतिवेदनमा उल्लिखित छ ।
अध्ययन क्षेत्रभित्र नपरेका स्थानहरूको अवस्था कस्तो छ, यसै भन्न सकिन्न । ती ठाउँ पनि बाढी पहिरोको दृष्टिले जोखिमयुक्त हुन सक्छन् । भूकम्प प्रभावित जिल्ला र अन्य स्थानको थप अध्ययन अनुसन्धान गर्ने हो भने बसोबास गर्न नमिल्ने बस्तीहरू सूची अरू लम्बिन सक्छ । यसबारे हामी सचेत हुन आवश्यक छ ।

सामान्य अवस्थामा पनि हरेक वर्षको मनसुनी वर्षाले बाढी पहिरोको समस्या निम्त्याउने गरेको छ । यसबाट हरेक वर्ष जनधनको क्षति हुँदै आएको छ । २०७० सालमा बाढी पहिरोमा परी ५० जनाको मृत्यु भएको १९ जना बेपत्ता भएको, १५ जना घाइते, ७९७  परिवार विस्थापित भएको तथ्यांक गृह मन्त्रालयको वेबसाइटमा  छ ।

कमजोर भूबनोट भएको पहाडी बस्ती, पुरानो पहिरो भएको स्थान, कमजोर नहर, खोलाको छेउछाउ आदि स्थानमा रहेका बस्तीहरू बाढीपहिरोको जोखिममा पर्न सक्छन् । समयमै यस्ता स्थानहरूको पहिचान गरी आवश्यक कदम चाल्न आवश्यक छ ।

विनाशकारी भूकम्पछि आउने मनसुनी वर्षाले निम्त्याउन सक्ने प्राकृतिक विपत्तिका सम्बन्धमा विभिन्न तहमा चिन्ता र चासो प्रकट नभएका होइनन् । राष्ट्रिय मानव अधिकार आयोगले भूकम्प प्रभावित क्षेत्रको अनुगमनपछि यही सन्दर्भमा चासो प्रकट गरेको छ ।

आयोगले वैशाख २४ गते जारी गरेको प्रेस विज्ञप्तिमा भूकम्पबाट बाटो तथा पडाहमा चिरा परेको देखिएकोले वर्षायाममा भूस्खलन तथा पहिरोको सम्भावना रहको भन्दै यसतर्फ ध्यान दिन सरोकारवालाहरूको ध्यानाकर्षण गरेको छ ।

भूकम्पपछिको वर्षात्ले जनजीवनमा पार्न सक्ने असर र सम्भावित प्राकृतिक विपत्तिसँग जुध्न सरकार कुन हदसम्म तयार छ भन्नेबारे आमसञ्चार माध्यमहरूले धेरथोर पहरेदारी गरेको छ । तर तीे पहरेदारी पर्याप्त छैनन् । यसबारे स्थलगत अध्ययनका आधारमा थप खोजमूलक र बोधगम्य सामग्रीहरू जनसमक्ष प्रस्तुत गर्न आवश्यक छ ।

नेपाल अहिले विशेष परिस्थितिबाट गुज्रिरहेको छ । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका नागरिक पालमुनि रात बिताइरहेका छन् । केहीले अस्थायी घर बनाए पनि कतिपयले कम्तिमा यस वर्षात्भित्र घर बनाउन सक्ने अवस्थामा छैन । भूकम्पबाट प्रभावित नागरिक अस्थायी रूपमा बसोबास गर्दै आएका स्थान बाढीपहिरोको दृष्टि कति सुरक्षित छन्, सोंचनीय छ ।

यातायातको कुरा गर्ने हो भने जनस्तरका नागरिकले बढी मात्रामा प्रयोग गर्ने सडक वर्षात् अघि नै जोखिममा रहेका समाचार आएका छन् । भूकम्पका कारण पासाङ ल्हामु राजमार्ग, अरनिको राजमार्ग जोखिममा रहेको जानकारी सार्वजनिक भइसकेका छन् ।

नेपालको भौगोलिक बनोट र वर्षात्का कारण मनसुनको समयमा हवाइ यातायातले पनि थुप्रै समस्या झेल्ने आएको छ । कुनै कारणले सडक यातायात बन्द भएमा आपत–विपतको बेलामा राहत तथा उद्धार कार्य प्रभावित हुनपुग्छ । यसबारे सरकार र नागरिकले समयमै सचेत हुनुपर्ने अवस्था छ ।

भूकम्पको विनशलीला र त्रासदीबाट विस्तारै मुक्त हुन लागिरहेको र मनसुनले निम्त्याउने सम्भावित विपत्तिको नजिक पुग्न लागिरहेको बेलामा सरकारले के गरिरहेको छ भन्नेबारे नागरिकले जानकारी पाउन आवश्यक छ ।
सम्भावित विपत्तिसँग जुध्न सरकारले गरेको तयारीबारे सार्वजनिक रूपमा सूचना सम्प्रेषण हुन आवश्यक छ । प्राकृतिक विपत्तिको घडीमा कहाँ र कसरी सम्पर्क गर्नेलगायतका जानकारी सर्वसाधारणको पहुँचमा पुर्याउनु सरकारको दायित्वभित्रै पर्छ ।  सम्भावित विपत्तिलाई ध्यानमा राखेर सरकारले आफ्नो संयन्त्रलाई तम्तयार र सजग अवस्थामा राख्नुपर्ने बेला आएको छ ।

सरकारले आफूले गरिरहेको तयारी र नागरिकले अपनाउनुपर्ने सावधानीबारे आमसञ्चार माध्यमहरूको उपयोग गरेर बढी भन्दा बढी नागरिकलाई सूचना प्रवाह गर्नुपर्ने अवस्था आएको छ । यसका लागि आवश्यकता अनुसार रेडियो, टेलिभिजन, छापा माध्यम तथा अनलाइनको उपयोग गर्न सकिन्छ । यसैगरी मोबाइलको एसएमएस सेवाआफू पनि आवश्यक सूचना सम्प्रेषण गर्न सकिन्छ ।

पृष्ठभूमिका देखापरेका तमाम घटनाक्रमलाई ध्यानमा राखेर भविष्यमा हुनसक्ने जोखिमप्रति सावधान रहनुपर्ने आवश्यकता छ । एउटा भयानक प्राकृतिक विपत्तिको अवस्थाबाट गुज्रिरहेको हामीे नेपाली भविष्यमा हुनसक्ने अर्को प्राकृतिक विपत्तिप्रति समयमै सचेत बन्नैपर्छ । यसका लागि समन्वयात्मक प्रयास अपरिहार्य छ ।
सम्भावित विपत्तिबाट बच्न राज्यस्तर र जनस्तरबाट सचेत र इमान्दार प्रयास आवश्यक छ । संभावित प्राकृतिक विपत्तिलाई पूरै रोक्न नसकिएला तर हाम्रो सचेत प्रयासबाट जनधनको क्षतिलाई न्युनीकरण अवश्य गर्न सकिन्छ । भनाइ नै छ, ‘बार बारे तिल जोगिन्छ ।’


[साभार : गोरखापत्र (असार १, २०७२)]

Saturday, May 9, 2015

भूकम्पका सामाजिक प्रकम्पनहरू


–यमबहादुर दुरा

ग्राफिक्स् :  गुगल


लोकतन्त्र दिवसको सुन्दर क्षणमा रमाएका नेपालीहरूका खुसीयाली एक दिन बित्न नपाउँदै पानीको फोका फुटेजस्तै भयो । २०७२ साल वैशाख १२ गते बिहान ११ः५६ बजे नेपाली भूगोलको गर्भमा भएको हलचलले नेपालीजनका सारा खुसीयाली क्षणभरमै हरेर लग्यो ।

त्यस निष्ठुर भौगर्भिक घटनाले के के मात्र गरेन ! नेपाली परिवारका हजारौं प्रियजनलाई खोसेर कालको मुखमा पुर्याइदियो, थुप्रै कर्मजीवीलाई बैशाखीको साहराले हिँड्ने अवस्थामा पुर्यायो, घरलगायतका भौतिक संरचनामाथि रीस पोख्यो, धराहरालगायतका ऐतिहासिक धरोहरहरूलाई धुलिसात बनाइदियो । अन्ततः नेपालीलाई गहिरो मानसिक चोट उपहार दिएर गयो ।

नेपाली भूगोलमा सहसा विनाशलीला मच्चाउन सफल त्यस भौगर्भिक घटनाले भौगोलिक प्रकम्पनमात्र ल्याएन, सामाजिक जीवनमा पनि प्रकम्पन र तरङ्गहरू ल्याएरै छाड्यो । नेपाली समाज फेरि एक अभूतपूर्व रूपमा तरङ्गित हुन पुग्यो । हरेक घर, चोक, गल्ली र चिया पसलमा भूकम्पबाट पैदा भएका कारुणिक र विस्मातपूर्ण अवस्थाबारे कुरा खापाखाप भए । भूकम्पबाट सिर्जित परिस्थितिबारे  ‘फेसबुक’ जस्ता सामाजिक सञ्जालहरूमा थुप्रै चर्चा–परिचर्चा भए, थुप्रै विचार र जवाफी विचार आए ।

भूकम्पले जनजीवनलाई दुःखित, त्रस्त र आतङ्कित तुल्याएको बेलामा सामाजिक परिदृश्यमा मानवीय र दानवीय दुवै प्रवृत्ति देखा परे । कोही आफन्तजन गुमाएका र सम्पत्ति सर्वनाश भएकालाई माया–ममता र सदभावरूपी भुवादार रुमालले आँसु पुछिदिनतिर लागे भने कोहीचाहिँ तिनै प्रकृतिबाट ठगिएका निरीह नेपालीजनको विवशतालाई माध्यम बनाएर नाजायज फाइदा उठाउन पनि पछि हटेनन् ।

सामाजिक परिदृश्यमा देखापरेका यी दुवै प्रवृत्तिको सेरोफेरोमा सामाजिक सञ्जालका बहस केन्द्रित थिए ।


***

मौकाको फाइदा उठाएर व्यापारीहरूले तेब्बर–चौबर दाममा उपभोग्य वस्तु बेचेको खबर अनलाइन समाचार पोर्टलहरूमा आए । व्यापारीहरूका यस्ता अनैतिक र सम्वेदनाहीन कार्यशैलीप्रति जनस्तरमा चर्को आक्रोश देखापरे । १९९० सालमा आएको भूकम्पको बेलामा पनि व्यापारीहरूले यस्तै व्यवहार देखाएका रहेछन् ।
तत्कालीन प्रधानमन्त्री जुद्ध शमसेरले नाजायज फाइदा उठाउने त्यस्ता व्यापारीहरूलाई पाँचजनालाई साक्षी राखेर काटिदिए हुन्छ भनेका रहेछन् । उनको त्यस्तो भनाइलाई धेरैले ‘फेसबुक’ मा सेयर गरे । हुकुमी शासनकालका प्रधानमन्त्री जुद्ध शमसेरको भनाइलाई लोकतान्त्रिक नेपालका कतिपय नागरिकले एकदमै जायज ठहयाए भने कतिले क्रुर व्यवहार भनेर टिप्पणी गरे ।

भूकम्पछिको राजधानी शहर काठमाडौं कोलाहल, आतङ्क र अनिश्चयको राजाधानीझैं बन्नपुग्यो ।  न बिजुली, न यातायात, न दैनिक उपभोग्य वस्तुको सहज उपलब्धता । थियो त केवल त्रास, आतङ्क र अनिश्चतता । धेरै मानिस संकटग्रस्त राजधानीको उकुसमुकुसपूर्ण वातावरण उम्किन खोजिरहेका थिए । उनीहरू राजधानीबाट बाहिरिन हतारिँदै थिए ।

अनिश्चयपूर्ण वातावरण । तुलनात्मक रूपमा सवारी साधानको न्यून उपलब्धता । त्यसमा पनि एकैचोटि भनायक ठूलो जनसमूह राजधानीबाट बाहिरिन खोज्दा सवारी साधानको अभाव हुनु स्वाभाविकै थियो । अनि त मौकाको ताकमा बसेका केही यातायातकर्मीहरूका दिन खुलिहाल्यो । अनिश्चिय र विवशताको पहाडले थिचिएका यात्रुहरू । त्यतिबेला पाँच सय भाडा लाग्नेमा २५०० सय रूपैयाँसम्म भाडा तिर्न उनीहरू बाध्य भएको समाचार आयो ।

त्यही समयमा केही उदारमना व्यक्ति, संस्था र यातायात व्यवसायीहरूले काठमाडौंदेखि पोखरासम्म निःशुल्क बससेवा सञ्चालन गरे । यो काम लोभीपापी र बैगुनीहरूका कार्यशैलीलाई निःशब्द जवाफ बन्यो । निःशुल्क बससेवा समाजसेवाको आफैंमा एउटा सुन्दर उदाहरण बन्यो । यसपछि बढी भाडा असुल्ने यातायातकर्मीले सामाजिक सञ्चालहरूमा कटु आलोचना भेटे भने निःशुल्क बससेवा सञ्चालन गर्नेहरूले वाहवाही पाए ।

भूकम्पले धुलिसात पारिदिएको ऐतिहासिक धरोहरहरूमध्ये भीमसेन थापाकालीन धरहरा धेरैको चासोको विषय बन्यो । कतिपयले ढलेको धरहरा परिपरि घुम्ने, पोज दिएर सेल्फीे खिच्ने र त्यसलाई ‘फेसबुक’ मा पोष्ट गर्ने काम गरे । यसलाई कतिपयले टेढो नजरले हेर्न थाले । राष्ट्रिय स्मारक धुलिसात भएकोमा खुसियाली मनाएको सम्झे । धराहरामा 'सेल्फी' खिच्नेहरूमाथि सम्वदेनाहीन बनेको आरोप लाग्यो । उनीहरूका अगाडि नैतिक प्रश्न खडा गर्ने गर्ने काम भयो ।

धरहरा प्रकरण यतिमै अन्त्य भएन । एउटा अनलाइन न्युज पोर्टलले धरहराका इटा चोरी भइरहेको समाचार पोष्ट गर्‍यो । त्यस पोर्टलले इटा चोरी गर्ने काममा एकजना उच्चपदस्थ सरकारी अधिकृतको समेत संलग्नता रहेको समाचार विवरण भिडियो सहित प्रकाशन गर्यो । समाचार कति यथार्थपरक हो, त्यो थप अनुसन्धानको विषय हुनसक्छ । जेहोस्, यसले राष्ट्रिय सम्पत्तिको उचित संरक्षण र पहरेदारी नभएकोतर्फ ध्यानाकर्षण गरेर गुन लगायो ।

***

भूकम्पपछि मदिराको व्यवसायी व्यवहार पनि चर्चाको विषय बन्यो । मदिरा व्यवसायीको संस्थाले भूकम्पबाट क्षति हुन पुगेको मदिराको क्षतिपूर्तिबारे दैनिक अखबारमा सूचना प्रकाशन गर्‍यो  । यो सूचना सर्वत्र आलोचनाको विषय बन्यो । राष्ट्रिय विपत्तिको घडीमा मदिराको क्षतिपूर्ति माग्ने हो कि प्राकृतिक विपत्तिबाट बेहाल हुन पुगेका असहायहरूका सेवामा जुट्ने हो भनेर धेरैले सामाजिक सञ्जालमा प्रश्न राखे । एकजनाले मदिरा व्यवसायीको व्यवहारप्रति टिप्पणी गर्दै ‘फेसबुक’ मा लेखे, ‘कसैलाई के धन्धा, घरज्वाइँलाई खानको धन्दा भनेको यही हो ।’

यही समयमा केही लेखकहरू पनि सामाजिक सञ्जालहरूमा तिखा आलोचनाको निसाना बने । आलोचनाको विषय थियो, देश विपतको बेलामा राहत र उद्धार कार्यमा लाग्नुको सट्टा धर्नामा बस्नु । लेखकहरूको एक झुण्ड २०७२ साल वैशाख १५ गते प्रधानमन्त्री निवास नजिक धर्ना बसेका थिए । धेरैको आरोप थियो,  सधैभरि चर्चामा आउन चाहने यी लेखकहरू भूकम्पलाई माध्यम बनाएर चर्चा बटुल्ने नाजायज प्रयास गरिरहेका छन् ।

भूकम्प आएपछिका दिनहरूमा हल्लाको खेती पनि राम्रैसँग सप्रियो । भूकम्पले सिङ्गो देशलाई कम्पयमान बनाएको बेलामा फैलिएको हल्लाले नेपाली जनजीवनलाई अर्कै किसिमले कम्पयमान बन्यो । भूकम्पले विनाशलीलाले मच्चाएर जनजीवन त्रस्त भएको बेलामा अझ ठूलो भूकम्प आउँदैछ भन्ने हल्ला मच्चियो । हल्ला डढेलोको आगोसरी फैलियो । हल्ला  ‘भाइरल’ बन्यो । यसलाई निस्तेज पार्न जिम्मेवार निकायले हल्लाको पछि नलाग्न सूचना प्रवाह गर्नुपर्ने अवस्था आयो ।

पीडाको आहलमा डुबेका नागरिकलाई सान्त्वना दिनुपर्नेमा थप आतङ्क थप्नेहरूप्रति जनआक्रोश चुलिँदै गयो । जनआक्रोश बढ्दै गएपछि त्यस्तो कुकृत्य मच्चाउने व्यक्तिहरूको खोजी हुन थाल्यो । तीमध्ये केही समातिए । एकजनाले त आक्रोशित नागरिकबाट रामधुलाई भेटेछन् । रोचक कुरा के थियो भने समातिनेमध्येमा अनलाइन पत्रकारहरू पनि थिए । सही समयमा सही सूचना प्रवाह गरेर नागरिकलाई सुसूचित तुल्याउने जिम्मेवारी पाएका पत्रकारबाटै यस्तो हुनु आफैंमा लज्जास्पद कार्य थियो । प्रहरीले सार्वजनिक गरेको दुईजना आरोपीको तस्बिर एकजना रेडियो पत्रकारले ‘ट्वीटर’ मा पोष्ट गरिन् । उनले ‘ट्वीटर’ मा आक्रोश पोखिन्, ‘फाँसी दिनुपर्ने यी दुष्टलाई ।’

लोभीपापी मनस्थितिबाट निर्देशितहरूका आचरण नै बेग्लै । समाचार आयो, भारतबाट आएको राहत सामग्री व्यापारीको गोदाममा पुग्यो । त्यस्तै अर्को समाचार आयो, राहतस्वरूप आएको त्रिपाल व्यापारीको हातमा पुग्यो र त्यसलाई लाजै नमानी बिक्री गरियो । इमानजमान नै स्वार्थको बन्धक बनेपछि यस्तै निर्लज्ज देख्नुपर्ने र सुन्नुपर्ने हुन्छ । भूकम्पले इमानजमान हराएको समाचार सतहमा ल्याइदियो ।

***

सञ्चार माध्यमले नेपालको भूकम्पबारेका थुप्रै समाचार प्रकाशन/प्रसारण गरे । ती समाचारमाध्ये एउटा थियो, भूकम्प आएको तीन दिनपछि घरको भग्नावशेषबाट एक महिलाबारे । घरको गर्भबाट निकालिएकी ती महिलाले आफ्नो गर्भबाट एक बालिकालाई जन्म दिइन् । उनको नाम राखियो, भुइँचालो । हालका दिनहरूमा नयाँ घटनाक्रमलाई समेटेर नाम चलन बढेको छ । यही चलनको नवीनतम् दृष्टान्त बनिन्, नवजात शिशु ‘भुइँचालो’ ।

भूकम्पको समयमा ‘नागरिक पत्रकारिता’ ले अतुलनीय भूमिका खेल्यो । भूकम्प पीडितहरूको तस्बिर सार्वजनिक गर्ने, पल पलमा क्षतिको विवरण जनसमक्ष ल्याउने, पीडितले राहत पाए–नपाएकोबारे रखबारी र पहरेदारी गर्ने, बढी भाडा लिने सवारी साधनको नम्बर प्लेट देखिने तस्बिर गरी तस्बिर पोष्ट गर्ने, महङ्गोमा सामान बेच्ने व्यापारीको कर्तुत सार्वजनिक गर्नेजस्ता लोकहितैषी काम ‘नागरिक पत्रकारिता’ ले गर्यो ।

कतिपय अवस्थामा त मूलधारका सञ्चार माध्यमभन्दा अगाडि देखियो, ‘नागरिक पत्रकारिता’ । विपतको घडीमा मूलतः ‘फेसबुक’ र ‘ट्वीटर’ मार्फत भएका ‘नागरिक पत्रकारिता’ ले लगाएको गुन प्रशंसायोग्य ठहरियो । धन्य छ, चौबीसै घण्टा आँखा झिमिक्कसम्म नगरी पहरेदारी गर्ने 'सोसल मिडिया' ।

नेपालको भूकम्पबारे रिपोर्टिङ गर्न भारतीय टेलिभिजन च्यानलका संवाददाताहरू नेपाल भित्रिए । भूकम्पले पारेको प्रभावबारे रिपोर्टिङ गरेर उनीहरूले राम्रै गुन लाए भन्नुपर्छ । यति हुँदाहुँदै पनि ‘प्यारासुट जर्नलिष्ट’ का रूपमा नेपाल भित्रिएका उनीहरूको रिपोर्टिङमा अफवाह फैलाउन काम पनि गरे । उनीहरू पाकिस्तानले नेपाललाई पठाएको राहत सामग्रीमा ‘बिफ मसला’ पनि समावेश थियो भनेर उनीहरूले रिपोर्टिङ गरे ।
यसबारे पाकिस्तानले तत्कालै प्रेस विज्ञप्ति जारी गरेर आफूविरुद्ध अफवाह फैलाएर बद्नाम गर्ने प्रयास भनी समाचारको खण्डन गर्‍यो । रिपोर्टिङका क्रममा भारतीय समाचार च्यानलहरूले मानवीय सम्वेदनालाई ख्याल नगरेको र विषयवस्तुलाई अतिरञ्जनापूर्ण ढङ्गले प्रस्तुत गरेको आरोप पनि लाग्यो ।

 नेपाली बुद्धिजीवीहरूले भारतीय सञ्चार माध्यमको यसप्रकारको रवैयाको विरोध गरे । यसमा कलाकारहरू पनि मिसिए । ती कलाकारले साङ्केतिक रूपमा विरोध प्रदर्शन नै गरे । सामाजिक सञ्जालहरू भारतीय समाचार च्यानलहरू आलोचनाको विषय बने । नेपाली नागरिक भारतीय समाचार च्यानलहरूप्रति आक्रोशित भएको समाचार बीबीसी र सीएनएनका वेबसाइटमा पनि आए ।

त्यही बेला नेपालीहरू उग्रराष्ट्रवादी बनेको र भारतीय समाचार च्यानलको विरोध गरिरहँदा नेपाली सञ्चार माध्यमको कमजोरीबारे आँखा चिम्लिएको आवाज केही नेपालीले  झिनो स्वरमा भए पनि उठाए । यद्यपि मिडिया सधैँभरि निरपेक्ष र निर्विवाद रहन सक्दैन । मिडियाको मर्म र धर्मबारेको बहस अनन्त रूपमा चलिरहन सक्छ ।

***

विपत्तिमा मानिसको सही पहिचान हुन्छ । यस राष्ट्रिय विपतको घडीमा कसले नायकको भूमिका खेल्यो, कसले खलनायकको व्यवहार देखायो भन्ने प्रष्ट भयो । कसले मानवीय व्यवहार देखायो र कसले दानवीय प्रवृत्ति अपनायो, त्यो पनि प्रष्ट भयो । समग्रमा भन्दा भूकम्पले नेपाली समाजमा विद्यमान तीतो र मीठो दुवै पक्षलाई उजागर गरिदियो ।

पृष्ठभूमिमा जेजस्ता दृश्य देखा परे पनि नेपाली मनको मानवीय भावनाले समाजलाई सर्लक्कै छोप्यो । समाजलाई विपत्तिले घेरा हालेको बेलामा नेपालीे भाइचारा फेरि एकपटक जुर्मुरायो । ‘जिउँदाको जन्ती, मर्दाको मलामी’ भन्ने भनाइको व्यवहारिक रूप देखापर्‍यो ।

स्वदेश तथा विदेशमा रहेका मनकारी नेपालीहरू भूकम्पपीडितका लागि राहत संकलनमा जुटे ।  उनीहरू मर्माहत मनहरूमा आशा र भरोसा पुनर्बहाली गर्न तल्लीन रहे । कतिपय अस्पतालले औषधोपचारको निःशुल्क व्यवस्था मिलाए । कतिपय होटलले बिचल्लीमा परेकाहरूलाई निःशुल्क दाल–भात उपलब्ध गराए । यही हो, हाम्रो भाइचाराको मर्म ।

यिनै हुन्, भूकम्पले नेपालमा ल्याएको केही सामाजिक प्रकम्पन र तरङ्गहरू । यसबाट नेपाली भाइचाराको परीक्षण गर्ने मौका मिल्यो । भूकम्पपछि देखापरेका यी सामाजिक प्रकम्पन र तरङ्गहरूले नेपाली जनजीवनको बदलिँदो तस्बिर प्रस्तुत गर्नुका साथै नेपालको सामाजिक नक्शा बदलिँदै गइरहेको छ भन्ने सन्देश पनि दिएका छन् ।

[साभार : राजधानी  (वैशाख २६, २०७२) पृ.९ । सामान्य परिमार्जन सहित ।]

Monday, May 4, 2015

दुई दिनको रैछ र ...

-यमबहादुर दुरा

गिरी सर अर्थात् गिरीबहादुर दुरा । शिक्षक, संगीतका पारखी, खेलकुदप्रेमी । हाँसोठट्टा गर्न रुचाउने विनोदी  स्वभावका व्यक्ति । यिनै सुकर्मको आलोकमा उहाँको परिचय चम्केको थियो । उहाँको परिचय यतिमा सीमित छैन । उहाँ हाँसोठट्टा गर्न रुचाउने, जोकोहीसँग सजिलै घुलमिल हुनसक्ने अनि सुखदुःखका क्षणहरूमा दिलोज्यान दिएर साथ दिने एउटा दिलदार व्यक्ति हुनुहुन्थ्यो । हृदयमा गाँठो पारेर भन्नु परिरहेको छ, यस्ता दिलदार व्यक्ति तथा बहुआयमिक व्यक्तित्वका धनी हामीबीच हुनुहुन्न ।

धेरै भुक्तभोगीहरू भन्ने गर्छन्, कसैको अभाव उसको अनुपस्थितिमा मात्र प्रष्ट रूपमा अनुभूत हुन्छ । यतिबेला म यस्तै अनुभूतिबाट गुज्रिरहेको छु । उहाँको अनुपस्थितिले एकप्रकारको शून्यता छाएको अनुभूति भइरहेको छ । उहाँ जीवनका तीतामीठा सम्झनाहरू हामीलाई छाडेर एउट बेग्लै यात्रामा निस्कनुभयो । अब उहाँसँग भेट हुने छैन ।

उहाँसँग मेरा बग्रेल्ती  सम्झनाहरू गाँसिएका छन् । समय क्रममा उहाँसँग मेरो नाता गाँसिन पुग्यो । उहाँ मेरो कान्छो ससुरो बन्न पुग्नुभयो । नाताले ससुरा–ज्वाइँ भए पनि हाम्रो सम्बन्ध औपचारिकताको साँगुरो घेराभित्र सीमित रहेन । हाँसोठट्टा गर्न पर्ने स्वभावको मान्छे । कतिपय अवस्थामा मलाई नै ठट्टाको विषय बनाएर रमाइलो गर्नुहुन्थ्यो ।
अब सम्झनामात्रै : गिरीबहादुुर दरा ( वि.सं. २०१३-२०७२) भारतको नैनीतालमा खिचिएको भनिएको यो तस्बिरको खास मिति थाहा छैन,  लगभग एक दशक अगाडि खिचिएको अनुमान छ ।

एकपटक हामी पाउँदीको ढिकमा थियौंँ । डुम्रे आउँदा हो कि डुम्रे जाँदा हो, सम्झना छैन । एउटा पसलमा रेडियोमा लोकगीत बजिरहेको थियो । गीतमा कोठीको प्रसंग थियो  : ‘फूल खसेको, गालैको कोठीमा दिल बसेको’ । यो गीत सुनेर उहाँ मतिर फर्किएर स्वाइयाँ हाँस्नुभयो । त्यतिबेला मेरो देब्रे गालानिर कोठी थियो ।

उहाँ रहर भनेपछि पासोमै पर्ने खालको मान्छे हुनुहुन्थ्यो । जसरी भए पनि 'रहरेको खहरे' धाएरै छाड्ने स्वभाव । नाँचेर, गाएर कहिल्यै नथाक्ने । हार्मोनियम, मादल र अन्य वाद्ययन्त्र बजाउन निपूर्ण । गाउँमा हुने विहाबटोल, पञ्चबलिजस्ता सामाजिक जमघटमा पञ्चैबाजा टोलीमा मिसिन पनि पछि नपर्ने ।

उहाँ कहिले दमाहा बजाएर, कहिले ढलकीमा मस्त भएर त कहिले सनाह फुकेर रामरमिताको हिस्सा बन्नुहुन्थ्यो । न कुनै लाज, न त कसैको टीका–टिप्पणीको निसाना बनिएला भन्ने डर । उहाँले एउटा निष्फिक्री जिन्दगी जिउनुभयो ।

आफूलाई सांगीतिक दुनियाँमा समाहित गर्ने सुर चढेमा घरैमा 'सांगीतिक महफिल' जमाउन पनि पछि नपर्ने उहाँको स्वभाव थियो । साथीभाइ जम्मा गर्ने, उनीहरूसँगै जानी–नजानी गीतको भाका उराल्ने, गीतको तालमा कम्मर मर्काउने । बीचबीचमा हास्यरस थपेर सांगीतिक माहोललाई थप रोचक र घोचक बनाउने उहाँको बानी थियो ।

म आफू केटाकेटी छँदाको क्षणहरू सम्झन्छु । उहाँको नेतृत्वमा गाउँमा नाँचगानका कार्यक्रम हुन्थे । सिंदुरे ढुङ्गाको बजार, सर्वोदय माविको वार्षिकोत्सवजस्ता जमघटहरूमा उहाँको नेतृत्वमा आधुनिक शैलीका नाँचगानका कार्यक्रम भएको हुन्थे । स्थानीय जनजिब्रोमा 'थेटर' भनेर चिनिने यसप्रकारका नाँचगानको श्रीवृद्धिमा उहाँको उल्लेखनीय योगदान छ ।

उहाँ संगीतका साथै खेलकुदमा पनि उत्तिकै कहलिएको व्यक्ति हुनुहुन्थ्यो । फुटबल र भलिबलमा उहाँको राम्रो पकड थियो । भलिबलमा त उहाँले राष्ट्रिय खेलाडीको हैसियत पाउने अवस्था थियो । तर निरन्तरता र अवसरको अभावमा त्यो सुन्दर सम्भावना त्यसै टरेर गयो । उहाँले २०३९ सालदेखि ३० वर्षभन्दा बढी समय दुराडाँडास्थित सर्वोदय माविमा सेवारत रहनुभयो । उहाँले आफ्नो सेवाकालको ठूलो हिस्सा विद्यार्थीहरूको खेलकुदको उन्नतिमा व्यतित गर्नुभयो ।

उहाँ साथीसंगी र इष्टमित्रको बीचमा असाध्यै प्यारो व्यक्ति हुनुहुन्थ्यो । मनको कुबेर हुनुहुन्थ्यो ।  नपाउँदो व्यक्ति  । घरमा पुगेको जोकोहीलाई बिमुख पठाउनुहुन्नथ्यो । अरुले हजारको सत्कार गरेको ठाउँमा लाखको स्वागत-सत्कार गर्नुहुन्थ्यो । स्वागत-सत्कारमा कसैले जित्नै नसक्ने । अरुबाट लिएर होइन, अरुलाई दिन पाउँदा खुसी हुने उहाँको स्वभाव थियो ।

उहाँको जिन्दगीलाई एउटा विडम्बनाले अन्तिम घडीसम्म पछ्याइरह्यो । उहाँ एउटा शिक्षक । शिक्षक र नशापानी बीच त्यति घनिष्ट नाता नजोडिनुपर्ने हो । तर उहाँले  नशासँग गहिरो नाता जोड्नुभयो । उहाँले नशामुक्त जीवन जिएर भावी पुस्तालाई असल बाटोमा डोर्‍याउनुपर्ने हो । तर त्यसो हुन सकेन । विडम्बनावश, उहाँ आफैं  नशामा डुब्नुुभयो ।  अन्तत: नशाले नै उहाँको जीवन चुँडेर लग्यो ।

बितेको दुई–तीन वर्षयता नशाप्रतिको उहाँको मोह हदैसम्म बढेर गएको थियो । उहाँ पूरापुर नशाकै शरणमा पुग्नुभएको थियो । उहाँ बेला–कुबेला नशामै झुमिरहेको देखिन्थ्यो । हामीले थुप्रै पटक नशामुक्त हुन आग्रह गर्यौं । चाँडै छोड्छु भनेर ‘लिप सर्भिस’ पनि थुप्रै पटक दिनुभयो । उहाँलाई नशाले यतिसम्म गाँजेको थियो, उहाँको बुद्धि–विवेक पनि नशाकै बन्धक बनिसकेको थियो ।

रोचक कुरा के छ भने उहाँले १२ वर्ष जति नशापानी छाड्नुभयो । त्यतिबेला उहाँको स्वास्थ्य निकै राम्रो भएको थियो । एउटा वनभोजले नशापानीसित छुटेको नातालाई फेरि जोडिदिएछ । त्यसपछि त उहाँ नशापानीको चक्रव्यूहमा नराम्ररी फस्नुभयो । त्यसबाट जीवनभर उम्कन सक्नुभएन ।

वर्षमा दुई तीन पटकमात्र गाउँमा पुग्ने भएकोले उहाँसँग मेरो भेटघाट निकै पातलो थियो । २०७१ सालमा पोखरामा सम्पन्न ‘दुरा सेवा समाज’ को एक्काइसौं वार्षिकोत्सवमा उहाँसँग भेट भएको थियो । त्यतिबेला नै उहाँको ज्यान मक्किसकेको थियो । अनुहारमा कुनै चमक थिएन । त्यतिबेला पनि मैले नशापानी छोड्न अनुरोध गरेको थिएँ । उहाँले छिट्टै छाड्ने बचन पनि दिनुभएको थियो । उहाँको बचन बनावटी हो भन्ने कुरा मलाई पनि थाहा थियो, उहाँलाई पनि थाहा थियो ।

२०७१ सालको दशैंमा घर पुग्दा उहाँको अवस्था झन् बिग्रिएको थियो । उहाँँ नशाको दुनियाँमा चुर्लुम्मै डुब्नुभएको थियो । यतिञ्जेलसम्म उहाँभित्र रक्तचाप र मधुमेह सप्रिदै गएको थियो । उहाँभित्रको रोग थप शक्तिशाली र उहाँ अझ कमजोर भएको प्रष्टै देखिन्थ्यो । नशापानी  छोड्ने मेरो बारम्बारको अनुरोधलाई ‘भोलि छोड्छु, पर्सि छोड्छु’ भनेर भाका राखेर टार्ने काममात्र गर्नुभयो । उहाँ कसै गरे पनि नशामुक्त हुन सक्नुभएन । कतिपय अवस्थामा त बहानाबाजीमा पनि उत्रनुभयो । लुकीलुकी नशापानी लिने तर हाम्रो अगाडि नशा त्यागेको देखाउन पनि पछि पर्नुभएन ।

उहाँ निकै रसिक र रहरिलो मान्छे । गीत गाउन र नाच्नु उहाँको लागि कुनै आइतबार थिएन । उहाँ लोकगीतका भाका झिकिरहनुहुन्थ्यो । पछिल्लो घडीमा  उहाँले बारम्बार एउटै गीत गाउनुहुन्थ्यो : ‘डाँडै घुम्यो चिल, दुई दिनको रैछ र ज्यादी बस्यो दिल ।’यो गीत सुन्दा मलाई कताकता ननिको लाग्थ्यो । एकतिर बढ्दो नशामोह र अर्कोतिर रोगले विस्तारै पासो हाल्दै लगेको अवस्था । उहाँको गीतबाट मेरो मनमा चिसो परेको थियो । त्यसमा मैले अनिष्ट स्थितिको आभास पाएको थिएँ । उहाँको जिन्दगीसित नाता टुट्दै जाने र मृत्युसितको नाता प्रगाढ बन्ने क्रममा तीव्रता आएको मेरो पापी मनले चुपचाप अनुभूति गरिरहेको थियो ।उहाँको बिरही भाका सुनेर मेरो पापी मन बेसरी कुर्लियो ।

किन हो कुन्नि, रोगले च्याप्दै ल्याए पनि उहाँलाई उपचार गर्ने मन पनि भएन । जिन्दगी देखेर किन हार खानुभयो, थाहा छैन । बिरामी भएको थाहा पाएर छोरी–ज्वाइँ पटक पटक लिन आउँदा जान्न भनेर अड्डी लिनुभयो । छोरी–ज्वाइसँग चरचर्ती बाझ्नुभयो तर उपचारका लागि अस्पताल जान तयार हुनुभएन ।

रोगले साह्रै भएपछि उपचारका लागि पोखरा पठाउने योजना बन्यो । त्यसमा पनि उहाँले हुनसम्म आनाकानी गर्नुभयो । उहाँ एउटा सर्तमा मात्र पोखरा जान तयार हुनुभयो । त्यो हो, उहाँको श्रीमती पनि साथैमा जानुपर्ने । तर यतिञ्जेलसम्म उपचारको चाँजोपाँजो निकै ढिलो भइसकेको थियो ।

आफ्नो गाउँ तुर्लुङकोटबाट गाडी चढ्दाको बेलामा उहाँले श्रीमतीलाई भन्नुभएको रहेछ, ‘सुमित्राको आमा,  अब म फर्किन्न । घर त तँ मात्रै फर्किने हो ।’

हुन पनि जस्तो भन्नुभएको  थियो, त्यस्तै भयो । उहाँ घर फर्कनुभएन । व्यथाले भात भएर पोखरा पुगेको एक हप्ता बित्दानबित्दै उहाँले  असंख्य साथीसँगी र शुभचिन्तकरूलाई चकित तुल्याएर  ५८ वर्षको उमेरमै २०७२ साल वैशाख ४ गते संसार छाड्नुभयो । मुढा भएको उहाँको शरीर आगोको मुस्लोले खरानीमा परिणत गर्दै गरेको अवस्थामा कर्णेल गोकुल दुरा र म पनि पोखराको रामघाट पुगेका थियौँ । दनदनी बलिरहेको चिता अगाडि हामी मूकदर्शक बनेर उभिरहेका थियौं ।

उहाँले सांसारिक मोहजालबाट उम्केर परलोक पुगेको तेस्रो दिनमा म तुर्लुङकोट पुग्दा त्यहाँ शोकको माहोल थियो । उहाँका साथीसँगी र समबैंशेको शिर ठाडो थिएन, आँखा ओबाएको थिएन । उनीहरू गहिरो शोकमा थिए । उहाँको ठट्यौलो स्वभाव सम्झेर उनीहरू घरीघरी रुञ्चे हाँसो हाँसिरहेका थिए, परेलीभित्रै आसु लुकाएर । उनीहरूले गिरी सरलाई सम्झेर उही गीत गुनगुनाइरहेका थिए : ‘डाँडै घुम्यो चिल, दुई दिनको रैछ र, ज्यादी बस्यो दिल ।’

[अद्यावधिक:  २०७२।०१।२२,२०७२।०१।२३, २०७२।०२।०५, २०७२।०३।२३,  २०७२।०५। २४ ]



Wednesday, March 25, 2015

विकास सञ्चार

–यमबहादुर दुरा

‘विकास सञ्चार’ । शुरुवाती घडीमा पश्चिमी गोलार्द्धका विकास योजनाकारहरूले प्रयोग गरेका प्राविधिक शब्दावली । समयक्रममा यो शब्दावली सञ्चारशास्त्रको एउटा महत्वपूर्ण विधा बन्न पुग्यो । अहिले विश्वका सबैजसो विश्वविद्यालयमा कुनै न कुनै रूपमा ‘विकास सञ्चार’ सम्बन्धी पढाइ भइरहेका छन् । आर्थिक विकासविद, सञ्चारविद तथा समाजशास्त्रीहरूले ‘विकास सञ्चार’ लाई विभिन्न किसिमबाट परिभाषित गरेका छन्,  जसमा एकमतीय र एक सूत्रीय दृष्टिकोणचाहिँ पाइँदैन ।
ग्राफिक्स्: गुगल

सञ्चार क्षेत्रका अमेरिकी विद्वानत्रय विरबल स्राम (सन् १९०७–१९८७), ड्यानियल लर्नर (सन् १९१७–१९८०) र एभेरट रोगर्स् (सन् १९३१–२००४) को नाम ‘विकास सञ्चार’ को क्षेत्र मा विशेष श्रद्धापूर्वक लिइने गरिन्छ । यी विद्वानले ‘विकास सञ्चार’ को अवधारणालाई मूर्त रूप दिन महत्वपूर्ण भूमिका खेलेका छन् ।

‘विकास सञ्चार’ को सन्दर्भमा एशियामा नोरा कोब्रलको नाम पनि अगाडि आउँछ । ‘विकास सञ्चारको आमा’ को रूपमा परिचित कोब्रलले सन् १९७५ मा  ‘मिडिया एशिया’ जर्नलमा ‘डिभलपमन्ट कम्युनिकेशन, ह्वेयर डज इट स्ट्यान्ड टुडे’ शीर्षकमा लेख लेखिन् । उनले त्यसमा व्यक्त गरेको ‘विकास सञ्चार’ सम्बन्धी धारणा निकै चर्चित हुन पुग्यो । उनले त्यतिबेला व्यक्त गरेको धारणा अहिले पनि उत्तिकै महत्वका साथ उध्रृत भएको छ ।

‘युनिभर्सिटी अफ द फिलिपिन्स’ मा विकास सञ्चार पढाएका नोरा कोब्रलले ‘विकास सञ्चार’ लाई  देशलाई गरिबीको अवस्थाबाट  गतिशील आर्थिक वृद्धितर्फ उन्मुख गर्न उपयोग गरिएको मानव सञ्चारको कला र विज्ञान भनेर अथ्याएकी छिन् । उनले भनेकी छिन्, ‘विकास सञ्चारले बृहत्तर आर्थिक विकास र सामाजिक समानता सम्भव तुल्याउन र मानवीय उन्नतिका सम्भावनाहरूलाई साकार पार्न सहयोग गर्छ ।’

विश्व बैंकद्वारा सन् २००८ मा प्रकाशित पुस्तक ‘डिभलपमन्ट कम्युनिकेशन सोर्सबुक : ब्रोडेनिङ बाउन्डरिज् अफ कम्युनिकेशन’ ले ‘विकास सञ्चार’ लाई धेरै क्षेत्र (बहुविधा) को ज्ञान र अनुभवलाई समेट्दै विकासका प्रयासमा सकारात्मक परिवर्तन ल्याउन सहजीकरण गर्ने विधाको रूपमा परिभाषित गरेको पाइन्छ । उक्त पुस्तकमा ‘विकास सञ्चार’ लाई समाजमा समानता, सहमति र समभाव विकास गर्ने अभिप्रायले ज्ञान र सूचना प्रवाह गर्ने विधाको रूपमा पनि चित्रण गरिएको छ । यसले स्थानीय आवश्यकतालाई स्थलगत अनुसन्धानमा आधारित सूचना तयार पारेर प्रभावकारी प्रवाहमा मात्र जोड दिँदैन, विकासका सरोकारवाला (साझेदार) हरूबीच दोहोरो सञ्चार प्रणाली स्थापित हुनुपर्नेमा पनि उत्तिकै जोड दिएको छ (पृ.८) ।

‘युनिभर्सिटी अफ द फिलिपिन्स’ मा सूचना तथा सञ्चार विषयका प्राध्यापक अलेक्जेण्डर फ्लोरले ‘लिङ्कइन’ नामक बेटसाइट (अगष्ट २८, २०१४) मा पोष्ट गरेको लेखमा समृद्धि, जीवनस्तर र मानवीय सम्भावनाहरूलाई उचाइमा पुर्‍याउन  सघाउने जुनसुकै सूचनाको आदानप्रदानलाई ‘विकास सञ्चार’ भनिएको छ ।

समग्रमा भन्दा विकासका दृष्टिले बञ्चितीकरणमा परेका नागरिकहरूको समग्र विकासका लागि सञ्चारका रणनीति र तथा सिद्धान्तहरूको प्रयोग गरेर उनीहरूको सामाजिक तथा आर्थिक विकासमा सहयोग गर्ने कार्य नै विकास सञ्चार हो । यसले पछौटेपना र सीमान्तीकरणमा नागरिकको जीवनस्तर सुधार्ने लक्ष्य राख्छ ।

अर्को शब्दमा भन्दा विकास प्रक्रियामा विशेष गरी अधिकारविहीन तथा अवसरविहीन नागरिकको सहभागिता बढाउन तथा उनीहरूको चौतर्फी उन्नतिका लागि सञ्चारको माध्यम र विधिको प्रयोग गर्ने कार्य नै ‘विकास सञ्चार’ हो ।

‘विकास सञ्चार’ विभिन्न नामले चिनिन्छ । जस्तै :  विकास सहयोग सञ्चार (Development Support Communication),  विकासका लागि सञ्चार (Communication for Development), सामाजिक व्यवहार परिवर्तनसम्बन्धी सञ्चार (Social Behavior Change Communication) र व्यवहार परिवर्तनसम्बन्धी सञ्चार (Behavior Change Communication) । यद्यपि यी शब्दावली र तिनले दिने सन्दर्भगत भिन्न अर्थ र विषयगत विविधताबारे बहस पनि जारी नै छ ।

यी परिभाषाले प्रत्यक्ष वा परोक्ष रूपमा मानिसको आर्थिक तथा सामाजिक समृद्धिमा सहयोग पुर्‍याउने  सञ्चारकर्मलाई ‘विकास सञ्चार’ को रूपमा चित्रण गरेको पाइन्छ । ‘विकास सञ्चार’ ले समाजका सबै तह र तप्काका वर्गको उन्नति चाहे पनि मूल रूपमा सीमान्तकृत वर्ग र अवसरहरूबाट बञ्चित समुदायको उन्नतिमा विशेष रूपमा जोड दिएको पाइन्छ ।

विकास सञ्चारले सामाजिक श्रेणीमा तल्लोस्तरमा रहेका नागरिकको आर्थिक तथा सामाजिक विकासको अतिरिक्त धनी तथा गरिबबीच सम्पत्तिको न्यायोचित वितरण, सामाजिक न्याय एवम् मानव विकास अर्थात् मानिसको सोंचाइमा सकारात्मक परिवर्तनमा पनि जोड दिन्छ ।

अहिले ‘विकास सञ्चार’ को क्षेत्र व्यापक र अपरिमित हुँदै गएको देखिन्छ । शुरुका दिनमा यो विधा समाजको भौतिक विकासमा बढी केन्द्रित भएको देखिन्थ्यो । भौतिक उन्नतिले मात्र समाजको विकास हुन नसक्ने कुरा अनुभवसिद्ध भएपछि अहिले ‘विकास सञ्चार’ ले समाजको भौतिक तथा अभौतिक (मानिसको मनस्थिति) दुवै विकासमा जोड दिएको देखिन्छ ।

यसबाट ‘विकास सञ्चार’ को दायरा झन झन फराकिलो हुँदै गएको देखिन्छ । पछिल्लो घडीमा ‘विकास सञ्चार’ ले मानव विकास (Human Development) मा जोड दिएको पाइन्छ । मानव विकासमा नपर्ने कुरा शायदै कुनै होला । प्राध्यापक अलेक्जेण्डर फ्लोरले (पूर्वोल्लिखित) लेखमा भनेका छन्, ‘विकास सञ्चार प्रक्रिया हो, सञ्चार बहुआयमिक विषय हो,  त्यसैले विकास सञ्चार सीमित घेरामा अडिन सक्दैन ।’

‘विकास सञ्चार’ बारे उपलब्धसन्दर्भ सामग्री अध्ययन गर्दा यसको अवधारणा दोसो विश्वयुद्धपछि विकास अस्तित्वमा आएको पाइन्छ । दोसो विश्वयुद्धले थुप्रै मुलुकका भौतिक सडक, पुल, मानव बस्ती, विमानास्थललगायत भौतिक संरचनाहरू ध्वस्त बनायो । यसले विकासको बहसलाई अभूतपूर्व रूपमा अघि बढायो । युद्ध थामिएपछि विश्वशक्ति राष्ट्र मानिएका बेलायत तथा अमेरिकाले युद्ध, गरिबी, भोकमरीजस्ता समस्याबाट ग्रस्त बनेका ‘तेस्रो मुलुक’ को भौतिक पूर्वाधार पुनःनिर्माण गर्न र उनीहरूको जीवनस्तर सुधार्नका लागि भनेर ठूलो मात्रामा आर्थिक सहयोग उपलब्ध गराउन थाले । यसलाई ‘विकास सहयोग’ (Development Aid) भन्न थालियो । तर उक्त ‘विकास सहयोग’ को नाममा उपलब्ध गराइएको आर्थिक सहयोग अपेक्षित रूपमा नतिजामुखी बन्न सकेन ।

यसपछि दाता राष्ट्रहरू सोंच्न बाध्य भए । उनीहरूले यसको कारण खोतल्न थाले । आर्थिक सहयोग किन प्रभावकारी हुन भन्नेबारे उनीहरूले थुप्रै चिन्तन–मनन गरे । अन्त्यमा उनीहरूलाई लाग्यो— विकासको नाममा आर्थिक सहयोग उपलब्ध गराएरमात्र हुँदैन, आर्थिक सहयोग कसरी सदुपयोग गर्ने भन्नेबारे ‘सञ्चार रणनीति’ पनि तयार पार्नुपर्छ । त्यसपछि उनीहरूले ‘सञ्चार रणनीति’ तयार पारेर सोही अनुसार आर्थिक सहयोग परिचालन गर्ने नीति बनाए । उक्त ‘सञ्चार रणनीति’ कालान्तरमा ‘विकास सञ्चार’ नामले परिचित हुन थाल्यो ।

‘विकास सञ्चार’ को उदगमबारे नोरा कोब्रलले अलि बेग्लै धारणा अघि सारेकी छिन् । उनले उक्त शब्दावली पहिलो पटक एशियामा (त्यसमा पनि ‘कृषि सञ्चार’ बाट) अस्तित्वमा आएको बताएकी छिन् । कृषिको विकासको साथमा राष्ट्रिय विकासका अन्य आयामहरू (पोषण, स्वास्थ्य, शिक्षा, आवास एवम् रोजगार) को विकास पनि उत्तिकै महत्वपूर्ण ठानियो । यी सबै पक्षलाई समेट्न एउटा छाता शब्दावलीको खाँचो महसूस गरियो, जुन खाँचो ‘विकास सञ्चार’ ले पूरा गर्‍यो । भारतीय सञ्चारविद उमा नरूलाले आफ्नो पुस्तक ‘डिभलपमन्ट कम्युनिकेशन : थिअरी एण्ड प्राक्टिस्’ मा नोरा कोब्रलको भनाइ उधृत गर्दै यो प्रसंग अघि सारेकी छिन् (पृ.१८) ।


‘विकास सञ्चार’ उद्देश्यमूलक तथा नतिजामुखी सञ्चार मानिन्छ । यसले एकतर्फी सञ्चारलाई भन्दा दुइतर्फी र अन्तरक्रियात्मक सञ्चारलाई प्राथमिकता दिन्छ । यसैगरी, तहगत अर्थात् ठाडो (Vertical Communication) सञ्चार प्रणालीलाई भन्दा समतामूलक अर्थात् क्षैतिजीय (Horizontal) सञ्चार प्रणालीलाई बढी प्राथमिकता दिन्छ । तर यसमा ठाडो (Vertical) सञ्चार प्रणालीले स्थान नै पाउँदैन भन्नेचाहिँ होइन । ‘विकास सञ्चार’ का अग्रणीमध्येका एक विद्वान विलबर स्रामले ग्रामीणस्तरमा तहगत अर्थात् ठाडो सञ्चार प्रणाली अन्तरगत तलदेखि माथि (Bottom-Up)  तथा समतामूलक अर्थात् क्षैतिजीय सञ्चार प्रणाली उपयुक्त हुने धारणा राखेका छन् । उनले सरकार र ग्रामीण तहबीच माथिदेखि तल (Top-Down)  को सञ्चार प्रणाली राम्रो हुने मान्यता राखेका छन् ।

विभिन्न सन्दर्भमा ‘विकास सञ्चार’ आलोचना पनि हुने गरेको पाइन्छ । पश्चिमी मुलुकले विकासको आफ्ना वस्तु तथा सेवा गरिब मुलुकमा बेच्न र सहयोग दिने नाममा कवाडी गरिब मुलुकमा ‘डम्प’ गर्न ‘विकास सञ्चार’ को अवधारणा अघि सारेको भनाइ कतिपय आलोचकहरूको छ । विश्व बैंकजस्ता नाफामुखी संस्थामा निर्धन मुलुकहरूमा आफ्नो प्रभाव जमाउन पनि ‘विकास सञ्चार’ को अवधारणा ल्याइएको टिप्पणी हुने गरेको छ ।

नेपालमा ‘विकास सञ्चार’ को अवधारणा २०२८ सालतिर अस्तित्वमा आएको देखिन्छ । नेपाल सरकारले २०२८ सालमा ‘राष्ट्रिय सञ्चार नीति’ ल्यायो । त्यसमा ‘विकासका लागि सञ्चार’ भन्ने शब्दावली उल्लिखित थियो । यस अनुरूप जिल्ला–जिल्लामा  भएका विकासका गतिविधिबारे जानकारी दिनका लागि रेडियो नेपालबाट ‘जिल्ला समाचार’ प्रसारण हुन थालेको थियो ।

कृषकहरूलाई कृषिसम्बन्धी सूचना दिएर उनीहरूलाई सबल बनाउन २०३२ सालदेखि रेडियो नेपालले ‘कृषि कार्यक्रम’ प्रसारण गर्न थालेको देखिन्छ । गाउघरका गतिविधिबारे जानकारी दिनका लागि ‘गोरखापत्र’ दैनिकमा ‘गाउँघर’ स्तम्भ शुरु भएको पनि पाइन्छ । यसैगरी, नेपाल टेलिभिजनको प्रतीक चिन्ह (Logo) मा एउटा उक्ति देख्न सकिन्छ : ‘विकासका लागि सञ्चार’ ।

‘विकास सञ्चार’ को अवधारणा र सिद्धान्तहरू व्यवहारमा के कसरी लागू भइरहेका छन् ? यसबारे व्यापक खोजअनुसन्धान गर्न सकिने ठाउँ छ ।

[साभार : नवीन सन्देश मासिक (वर्ष ७, अङ्क ८, चैत, २०७१)]