-यमबहादुर दुरा
जीवनले धेरै कुइनेटाहरु पार गर्दै जाँदा बाल्यकालका क्षणहरु झन् झन् मूल्यवान बन्दै जाँदो रहेछ, झन् झन् सम्झनालायक बन्दै जाँदो रहेछ । ती क्षणहरु अब कहिल्यै पनि फर्केर आउँदैनन् तर पनि हृदयको चित्रपटबाट नमेटिने रहेछ । ढुङ्गा खोपेर लेखिएका अक्षरजस्तै चिरस्थायी हुने रहेछन्, ती क्षणहरु । समयलाई साक्षी राखेर बिताइएका ती घतलाग्दा क्षणहरुलाई चाहेर पनि बिर्सन नसकिने रहेछ। बाल्यकालको दशैं पनि यस्तै बिर्सन नसकिने क्षणहरु हुन् ।
जीवनले धेरै कुइनेटाहरु पार गर्दै जाँदा बाल्यकालका क्षणहरु झन् झन् मूल्यवान बन्दै जाँदो रहेछ, झन् झन् सम्झनालायक बन्दै जाँदो रहेछ । ती क्षणहरु अब कहिल्यै पनि फर्केर आउँदैनन् तर पनि हृदयको चित्रपटबाट नमेटिने रहेछ । ढुङ्गा खोपेर लेखिएका अक्षरजस्तै चिरस्थायी हुने रहेछन्, ती क्षणहरु । समयलाई साक्षी राखेर बिताइएका ती घतलाग्दा क्षणहरुलाई चाहेर पनि बिर्सन नसकिने रहेछ। बाल्यकालको दशैं पनि यस्तै बिर्सन नसकिने क्षणहरु हुन् ।
जिन्दगीले
धेरै घुम्तीहरु पार गरिसकेको हालको घडीमा पछाडि फर्केर हेर्दा आफ्नै
बाल्यकाल देखेर एकप्रकारले अचम्म लाग्छ । सानो छँदा अहिलेको जस्तो यातायात
प्रणालीको जालो गाउँबस्तीको भूगोलमा छापिएको थिएन । इन्टरनेट तथा
टेलिभिजनजस्ता जादुमय सञ्चार प्रणालीको उपस्थितिको थिएन । बुबा लाहुरे भए
पनि उहाँसँग लाहुर जाने मौका पनि मिलेन । यिनै कारणले आफूलाई बाहिरी
दुनियाँसँग दाँज्ने कुनै मौका मिलेन ।
अहिले आएर सोंच्दा मेरा बाल्यकालका
धेरैजसो क्षणहरु भौतिक सुखसुविधाको हिसाबले अभावमा बितेका रहेछन् भन्ने
लाग्छ । रोचक कुरा के छ भने अभावमा बाँचेको भए पनि त्यसको चर्को अनुभूति
हुन पाएन । अभाव र प्राचुर्यबीचको भिन्नता दाँज्ने कुनै संयन्त्र उपलब्ध
थिएन । घर बसेर संसार चियाउन सकिने सञ्चार प्रणाली (इन्टरनेट र टेलिभिजन)
उपस्थित नभएकोले आफ्नो अवस्थावलाई सापेक्षतामा हेर्ने अवसर नपाएको हो
भन्ने लाग्छ ।
दशैंको कुरा गर्न खोज्दा बत्तिएर कता
पुगेछु कता । एकजोर नयाँ लुगा लाउन र मिठो मसिनो खान चाडबाड पर्खनुपर्ने
बाध्यताबाट गुज्रेका थुप्रै नेपालीहरुको स्थितिभन्दा हाम्रो गाउँबस्तीको
तत्कालीन परिवेश भिन्न थिएन । त्यसैले दशैंको अधैर्य पर्खाइ संस्कृतिको
एउटा पाटोमात्र नभएर नियति पनि थियो । कुनै वाद र वंशभन्दा पर रहेर
नितान्त अनुभूतिगत पाटोबाट नियाल्दा मनमा दशैंबारे थुप्रै भावनात्मक
ज्वारभाटाहरु आउँछन् ।
दशैंको अधैर्य प्रतीक्षामा रहेका हामीलाई
पाती फुल्न थालेपछि सान्त्वना मिल्थ्यो । पाती फुल्न थालेपछि दशैं आउँछ
भन्ने कुरा हाम्रो बालमस्तिष्कमा भरिएको थियो । पाती फुलेको देखेपछि दशैं
आउन लागेछ भनेर हामी निकै खुसी हुन्थ्यौं । हाम्रो गाउँघरतिर टीका
लगाइदिएपछि जमरासँगै पातीको फूल लगाइदिने चलन छ । हाम्रोतिर दही र
अक्षताको मात्र टीका लगाइन्छ । त्यसमा रातो रङ्ग मिसाइँदैन । पाती फुल्न
थालेपछि दशैंका यावत कल्पनाहरू गरेर स्वप्निल दुनियाँमा हराउन थाल्थ्यौँ।
दशैं नजिकिँदै गर्दा परदेश गएका छोराहरु
फर्कने आशमा आमाहरु चुन्ठो भरिभरि घिउ जम्मा गर्ने तथा खसी बोका एवम्
कुखुराहरू पालेर राख्ने गर्थे । लाहुरे छोराहरू नआउने रे
भनेर दशैंको मुखमा चिठी आएमा आफन्तजन र साथीसंगीहरू खिन्न हुन्थे । चिठी चपेटाबाहेक सञ्चारको अन्य
सहज माध्यम नहुँदा त्यतिबेला परदेशिएकाहरूका हालखबर पाउन सजिलो थिएन ।
धेरैले दशैंमा भेट्ने अपेक्षा राखेका हुन्थे ।
दशैंको माहोल सिर्जना गर्ने क्रममा
बाटोघाटो सफा गरिन्थ्यो । गौंडागल्फा मिलाएर बाटो मर्मत गरिन्थ्यो । हरेक
घर लिपपोत गरिन्थ्यो, रातो माटो र कमेरो माटोलॆ । त्यसमाथि चिटिक्क परेको
पुरानी (कलात्मक रैथाने चित्र) भरिन्थ्यो । घर लिपपोत गर्न आवश्यक पर्ने
माटो ओसार्न चेलीबेटीहरूलाई निकै चटारो हुन्थ्यो ।
हामी सानो छँदा ‘रेडिमेड’ कपडाको चलन
निकै कम थियो । कपडा पसलेकहाँ दशैंका लागि आवश्यक लुगा किनिन्थ्यो र
सूचीकारकहाँ सिउन लगिन्थ्यो । किनमेलका लागि दुराडाँडाको चिहानपाटा बजार
तत्कालीन समयको चर्चित ठाउँ थियो । काभ्रेको धुलिखेलबाट व्यापारको
शिलसिलामा दुराडाँडा पुग्नुभएका दीर्घराज श्रेष्ठ त्यतिबेलाका नाम चलेको
साहू हुनुहुन्थ्यो । उहाँ धुलिखेले माहिला नामले चर्चित हुनुहुन्थ्यो ।
हाम्रो बाले पनि म र दिदीबहिनीहरूलाई उहाँकै पसलमा दशैंको कपडा
किनिदिनुहुन्थ्यो । त्यसपछि स्थानीय सूचीकारकहाँ सिउन दिनुहुन्थ्यो ।
सूचीकारले सिलाइदिएको कपडा ‘ट्रायल’ मात्र गर्न पाइन्थ्यो । ती कपडाहरु
टीकाको दिनमा मात्र लाउन पाइन्थ्यो । नयाँ कपडा लाउनका लागि प्रतीक्षाको
घडी नितान्त लामो र अधैर्य हुन्थ्यो । खसगरी नवमी रात मेरा लागि
महिनाजस्तै लामो हुन्थ्यो । निन्द्राले चाँडै नै छोड्थ्यो । कहिले उज्यालो
होला र नयाँ लुगा लाउन पाइएला भनेर मन अधैर्य बन्न थाल्थ्यो ।
बाल्यकालमा दशैं प्यारो लाग्नुको एउटा
अर्को कारण थियो, पिङ । दशैंमा पिङ हाल्ने चलन भएकोले अब पिङ खेल्न खेल्न
पाइन्छ भनेर म हुनसम्म रमाउँथें । नयाँ पिङ बनाउन १५/२० दिन लाग्थ्यो ।
पिङ तयार पार्न गाउँभरिका तन्नेरी र बाउहरु मिलोमतो गरी तल्लिन रहन्थे ।
पिङ तयार गरेपछि कन्याहरुलाई पिर्कामा चढाएर धुरी कटाएपछि मात्र अरुले पिङ
खेल्न पाइथ्यो । त्यतिाजेलसम्म म अधैर्य प्रतीक्षामा रहन्थें । पिङ खेल्न
जति नै रहर गरे पनि पिर्कामा बसेर धुरी कटेपछि डरले शरीर काम्न थाल्थ्यो ।
पिङ तयार भएपछि त्यो ठाउँ भेटाघाट र
संवादको थलो पनि बन्थ्यो । छिमेकी गाउँका तन्नेरी तरुनीहरु पिङ खेल्न
आउँथे । उनीहरु ‘देशाली’ नामले चिनिन्थे । गाउँका बलियाबाङ्गा तन्नेरीहरु
उनीहरुलाई पिङ खेलाउने काममा व्यस्त हुन्थे । यसका लागि पिङलाई चलयमान
बनाउन आवश्यक हुन्थ्यो । यस क्रममा पिङको खम्बामा चढेर बाहाँलाई पैतलाले
ठेलेर पिङलाई चलयमान बनाउनु पथ्र्यो । यस कामलाई पिङ हल्लाउने भन्ने
गरिन्छ । यसमा धेरै बल खर्च हुने भएकोले पिङ हल्लाउने युवाहरु निकै थाक्थे
। पिङ खेल्न आउनेहरुलाई मजासंग पिङ खेलाइदिनु पथ्र्यो । त्यसो गर्न नसेमा
देशालीको सामुन्ने इज्जत राख्न नसकेको ठहरिन्थ्यो । धेरै शारीरिक श्रम
खर्चेर पिङलाई लामो समयसम्म चलयमान राख्नुपर्दा पिङ हल्लाउने तन्नेरीहरु
कहिलेकाहीं त हैरान हुन्थे ।
पिङ खेल्न आउने देशालीहरुसंग गाउँका
युवायुवतीहरु लयमा लय मिलाएर गीत गाउँथे । त्यहाँको संगीतमय वातावरणले
गाउँभरिका बूढापाका एवम् लालाबालहरुलाई पनि आकर्षित तुल्याउँथ्यो । उनीहरु
गीत सुन्न पिङ हालेको ठाउँमा आउँथे । उनीहरु लोकसंगीतको रसास्वादन गर्न
भुल्दैनथे । यो कुरा अहिले ‘एकादेशको कथा’ बनिसकेको छ ।
दशैंको व्यग्र प्रतीक्षाको अर्को कारण
थियो, टीका लाउँदा प्राप्त हुने दक्षिणा
। धेरै थोरै जे जति भए पनि दशैंको
टीका लाउँदा संकलन भएका रकम हाटबजारमा खर्च गर्नका लागि साँचेर राखिन्थ्यो
।
गाउँघरमा दशैंको बेलामा अन्य सांस्कृतिक
गतिविधिहरु पनि हुन्थे । पूर्णिमाको दिनसम्म नै टीका चल्थ्यो । नाँच
नचाउने, बाह्रमासे घाँटु नचाउने, विवाहित छोरीचेलीको टीका थाप्नेजस्ता
क्रियाकलापहरु त्यतिबेला हुन्थे । दशैंको चहलपहलले नचिताएका
इष्टमित्रहरुबीच भेटघाट गराउँथ्यो ।
तुर्लुङकोट मौलामा फूलपाती भित्र्याउने र
फूलपाती सेलाउने बेलामा ज्यादै मीठो गाउँले जमघट हुन्थ्यो । शाहवंशीय
राजसंस्थाको स्थापना लमजुङमा भएपछि फूलपाती भित्र्याउने परम्परा शुरु भएको
अनुमान गर्न सकिन्छ ।
दशैंलाई समय खर्चेर पर्खिने गरिन्थ्यो तर
दशैं सलाइको काँटी बलेझैं सकिहाल्थ्यो । हेर्दाहेर्दै दशैं पत्तै नपाई
सिध्यिहाल्थ्यो । लामो प्रतीक्षापछि आएको दशैं मिलिक्कै बितेपछि अर्को
वर्षको दशैं कहिले आउला भनेर पर्खिने उपक्रम शुरु भइहाल्थ्यो । दशैं
सकिनेबित्तिकै अर्को वर्षको दशैंका लागि प्रतीक्षाको घडी फेरि शुरु
हुन्थ्यो ।
समयले भाका बदलिसक्यो । धेरै वर्ष भयो
मैले दशैंलाई पर्खिने गरेको छैन । तर पनि आँधीहुरीजस्तै गरेर हरेक वर्ष
दशैं आएरै छाड्छ । मैले नपर्खेर के भो र !
पहिले रहरको दशैं थियो, अहिले बाध्यताको दशैं बनेको छ । पहिलेको दशैंमा हार्दिकता थियो, अहिलेको दशैंमा आडम्बर छ ।
पहिले रहरको दशैं थियो, अहिले बाध्यताको दशैं बनेको छ । पहिलेको दशैंमा हार्दिकता थियो, अहिलेको दशैंमा आडम्बर छ ।
वाद र सिद्धान्तको आधारमा भन्दा पनि
खर्चपर्च र आडम्बरको हिसाबले दशैं विस्तारै प्यारो चाड बन्न छाडेको छ, मेरो
लागि । शायद अरुलाई पनि यस्तै भएको छ कि ? थाहा छैन । समाजमा आडम्बरी प्रवृत्ति बढ्दै जाँदा
चाडवाडलाई उत्सवका रुपमा मनाउन धेरैलाई हम्मेहम्मे परेको छ । ‘आयो दशैं
ढोल बजाइ, गयो दशैं रिन बोकाइ’ भन्ने पुरानो भनाइले नयाँ परिस्थितिको
मर्मलाई पनि राम्रैसँग समेटेको छ । हुनेखानेका लागि मात्र दशैं आउने र
हुँदाखानेका लागि दशा आउने भएपछि कतिले हर्षबढाइँका साथ चाड मनाउलान् ?
पूँजीवादले दुनियाँलाई खर्लप्पै निलेको वर्तमान समयमा वर्ग विभाजनको रेखा
दशैंजस्ता चाडवाडमा अझ प्रष्ट रुपमा दृष्टिगोचर हुने निश्चित छ ।
[ साभार: अनलाइन खबर (असोज २४, २०६९) ]
[अद्यावधिक : २०६९।०७। १७, २०६९।०९।१८]
[ साभार: अनलाइन खबर (असोज २४, २०६९) ]
[अद्यावधिक : २०६९।०७। १७, २०६९।०९।१८]
No comments:
Post a Comment