Monday, December 16, 2013

त्रुटिपूर्ण राजनीतिक विश्लेषण

–यमबहादुर दुरा

‘संविधानसभा सदस्य निर्वाचन, २०७०’ सम्पन्न भएपछि नेपालको बौद्धिक वृत्तमा एउटा बहस शुरु भएको छ । बहसको विषय हो, निर्वाचनको परिणामबारे राजनीतिक विश्लेषकहरूले गरेका क्षणभङ्गुरपूर्ण अतिरञ्जित आँकलन । उहाँहरूले कुनै अमुक दल (हरू) ले चुनावमा धेरै सिट ल्याएर विजयी हुने भविष्यवाणी गर्नुभएको थियो । राजनीतिक प्रचारबाजीजस्ता लाग्ने ती विश्लेषणलाई समयले गलत ठह¥याइदियो । निर्वाचनमा धेरै सिट ल्याएर विजयको झण्डा फराउनेछ  भनिएका दल (हरू) को हविगत कस्तो भयो भन्ने कुरा चुनावी परिणामले नै देखाइसकेको छ । यसबारेमा धेरै बोल्नै परेन । राजनीतिक प्रक्षेपण गलत सावित भएपछि उहाँहरूको विश्लेषकीय क्षमता, विश्लेषणको आधार र लेखकीय इमान्दारीमाथि स्वाभाविक रूपमा गम्भीर प्रश्न उठेका छन् ।
उहाँहरूमा विश्लेषकीय गुण थियो कि थिएन ? उहाँहरूमा विश्लेषकीय गुण भएको भए आखिर किन उहाँहरूको विश्लेषण एकाएक निराधार ठहरियो ? के उहाँहरूको विश्लेषण स्वैरकल्पना थियो वा परीकथाको एउटा हिस्सा थियो ? उहाँहरूको विश्लेषकीय धरातल के हो ? उहाँहरूको विश्लेषणमा कुन त्यस्तो खोट थियो, जसले उहाँहरूको चुनावी प्रक्षेपणलाई ‘खोटो मोहोर’ सावित गरिदियो ? अब जनमनमा उठेका यी प्रश्नहरूको उत्तर खोज्न आवश्यक छ ।
यी तमाम प्रश्नहरूको उत्तर खोज्दै जाँदा एउटा पक्ष स्पष्ट रूपमा दृष्टिगोचर हुन्छ । त्यो हो, राजनीतिक विश्लेषणको नाममा मनोगत (सब्जेक्टिभ) विचारले स्थान पाउनु । राजनीतिक विश्लेषण कुनै काल्पनिक उँडानमा लेखिएको निबन्ध होइन, यो त आधिकारिक दस्तावेजहरूका आधारमा गरिएको तथ्यपूर्ण प्रक्षेपण हो । देश, काल र परिस्थितिको सही चिरफारबाट मात्र राजनीतिक विश्लेषण सम्भव छ ।
सम्बन्धित राजनीतिक विषयवस्तुसँग सरोकार राख्ने तथ्य र तथ्याङ्कको खोज अन्वेषण गर्ने, त्यसको आधारमा परिस्थितिको विश्लेषण गर्ने तथा नागरिकको ‘मुड मापन’ गर्नेसम्मका कार्य पनि राजनीतिक विश्लेषकको कार्यक्षेत्रभित्र नै पर्छ । यसका लागि धेरै मिहेनत गर्नुपर्छ, गहन अध्ययन र विश्लेषकीय क्षमता अपरिहार्य छ । त्यसैले राजनीतिक विश्लेषण सजिलो काम होइन ।
नेपालमा राजनीतिक विश्लेषकहरूको अर्को समस्या हो, निश्चित राजनीतिक दलप्रतिको अपरिभाषित अतिशय माया–महब्बत । कुनै विश्लेषकको कुनै राजनीतिक दलप्रति माया–महब्बत हुनसक्छ । त्यसलाई अन्यथा लिन पनि मिल्दैन । भनिरहनुपर्ने कुरा होइन, लोकतन्त्रमा बिनाहिच्किचाहट राजनीतिक दलप्रति आस्था राख्न पाइन्छ । दार्शनिक अरिस्टोटलले भनेका छन् ‘मानिस स्वाभावैले राजनीतिक प्राणी हो ।’ तर राजनीतिक विश्लेषक र राजनीतिक दलबीचको सम्बन्ध निश्चित आचारसंहिताद्वारा निर्देशित हुन आवश्यक छ । कुनै राजनीतिक विश्लेषकको कुनै राजनीतिक दलप्रति सम्वद्धता छ वा ऊ कुनै दलको शुभचिन्तक हो भने त्यो कुरा खुलस्त सार्वजनिक हुनुपर्छ ।
राजनीतिक विश्लेषकले वस्तुनिष्ठता (अब्जेक्टिभिटी), स्वच्छता र निष्पक्षता कायम राख्नुपर्ने भएकोले ऊ आचारसंहिताको परिधिमा बाँधिन आवश्यक छ । राजनीतिक दलको प्रवक्ता बन्ने कि स्वतन्त्र विश्लेषक बन्ने ? यो उसको छनोटको विषय हो । यस्तोमा स्पष्ट रूपमा ‘कित्ताकाट’ हुनु जरुरी छ । राजनीतिक दलसँग सम्वद्धता छ भने उसले त्यहीअनुरूप खुलस्त परिचय दिनुपर्छ । पाठकले त्यहीअनुसार विश्लेषकप्रति धारणा बनाउने मौका पाउँछ । लुकीचोरीको व्यवहारले सबैलाई दिग्भ्रमित तुल्याउँछ । राजनीतिक दलसँगको संलग्नता हरियो घाँसमा सर्प लुकेकोजस्तो गरी हुनु कदापि राम्रो होइन ।
दलसँगको अदृश्य सम्वद्धताले वस्तुनिष्ठता (अब्जेक्टिभिटी), स्वच्छता, निष्पक्षताजस्ता राजनीतिक विश्लेषकमा नभई नहुने गुणलाई निस्तेज पारिदिन्छ । यसबाट ऊ आकाङ्क्षी बन्दै जान्छ । यसपछि उसमा आग्रह जन्मन थाल्छ । उसको लेखकीय एवम् विश्लेषकीय धर्म मर्दै जान्छ । परिणामस्वरूप ऊ आफ्नो व्यवहारबाट आपैंm कर्तव्यच्यूत हुनपुग्छ । त्यसकारण स्वतन्त्र विश्लेषकीय धर्मलाई जोगाउन कम्तिमा विश्लेषण गर्ने समयमा राजनीतिक दलप्रति निर्मोही बन्नैपर्छ ।
अङ्ग्रेजीमा एउटा शब्द छ, ‘डेमगग्’ । यसको अर्थ हुन्छ, ‘तर्कले नभई भावनात्मक भड्काउमा पारेर जनतालाई उत्तेजित पार्ने नेता ।’ कुरा स्पष्ट छ, राजनीतिक विश्लेषकहरू ‘डेमगग्’ होइनन् । न त उनीहरू कुनै दलको प्रचारक नै हुन् । अब नेपाली नागरिकले चिन्नुपर्ने बेला आएको छ, हाम्रा राजनीतिक विश्लेषकहरू ‘डेमगग्’ हुन् वा होइनन् । राजनीतिक विश्लेषकको काम ‘डेमगग्’ बनेर भावनाको बाढीमा आफू पनि बग्नु अरूलाई बगाउनु हुँदै होइन ।
विश्लेषकको काम तीतो सत्य जनसमक्ष पस्कुनु हो, मीठो भ्रम दिने होइन । लेखमा प्रयोग गरिने मिथकले प्रस्तुतिलाई जरुर रोचक र स्वादिलो बनाउँछ तर यसले सधैँभरि वास्तविकता नै बोल्छ भन्न सकिन्न, न त धारिलो भाषाशैली र रोचक प्रस्तति हुँदैमा परिस्थितिको यथार्थ तस्बिर नै भल्किन्छ । विश्लेषकको गहन जिम्मेवारी हो, परिस्थितिको सग्लो र स्पष्ट तस्बिर जनसमक्ष राखिदिनु । विषयवस्तुसँग सम्बन्धित तथ्य–तथ्याङ्क र परिस्थितिबारे जनमतको विश्लेषण नगरी मिथक र रोचक प्रस्तुतिले मात्र परिस्थितिको सग्लो र स्पष्ट तस्बिर खिच्न सक्दैन । हामीकहाँ राजनीतिक साहित्यलाई राजनीतिक विश्लेषणको रूपमा ग्रहण गरेको अवस्था छ ।
अहिले समाजको हरेक क्षेत्रमा विविधीकरण देखापरेको छ । लेखन क्षेत्र पनि यसबाट अप्रभावित रहने कुरै भएन । ‘लेखकीय मेनु’ मा विविधीकरण आएको छ । लोकतन्त्रमा सबै मार्का, शैली, र रूचिका लेखहरू लेख्न छुट छ । सबैलाई अभिव्यक्ति स्वतन्त्रता छ । कुनै लेखकले कुनै दलप्रति मोहभाव राखेर राजनीतिक साहित्य लेख्नसक्छ तर यसको निश्चित दायरा र थान्कोचाहिँ हुनैपर्छ ।  त्यसप्रकारको लेखलाई निश्चित प्रयोजनका लागि निश्चित सन्दर्भमा लेखिएको हो भनेर ‘लेबल’ लाउनुपर्छ ।  विदेशतिर यस्तो प्रचलन छ । यसो गर्दा समाचारपत्र र लेखकको कार्यगत पारदर्शिता झल्किनुका साथै पाठक पनि भ्रममुक्त हुन्छन् ।
‘लेखकीय मेनु’ विधि र नियमभन्दा बाहिर जान सक्दैन । आजभन्दा करिब ९१ वर्षअघि अर्थात् १९२२ मा अमेरिकी समाचारपत्र सम्पादक समाज (अम्यारिकन सोसाइटी अफ न्यूजपेपर एडिटर्स, आस्ने) ले अखबारमा छापिने समाचारमात्र होइन, सम्पादकीय, समाचार टिप्पणी तथा विश्लेषणात्मक लेखहरू पनि सही र तथ्यपरक धरातलमा आधारित हुनुपर्ने आवश्यकता औंल्याएका थियो । ‘क्यानन्स अफ जर्नलिज्म’ शीर्षकमा जारी उक्त आचारसंहिताको मर्म र भावना राजनीतिक विश्लेषणका सन्दर्भमा पनि उत्तिकै मननीय लाग्छन् ।
अब सम्बन्धित सञ्चार गृहले सम्पादकीय नीति (एडिटोरियल पोलिसी) तयार पार्दा यस्ता पक्षहरूमा पनि ध्यान दिनुपर्ने देखिन्छ । लेख सम्पादन गर्ने जिम्मा पाएका फिचर सम्पादकले पनि यस दिशामा ध्यान दिनुपर्छ । भ्रम बाँडेर पाठकलाई दिग्भ्रमित तुल्याउनु पनि एकप्रकारको अपराध नै हो । पत्रकारिताको सिद्धान्तले पनि यही  भन्छ । राजनीतिक विश्लेषणको नाममा राजनीतिक साहित्यले स्थान पाउनु हुँदैन । अर्को कुरा, संसारका कुनै पनि मानिस अन्तर्यामी होइन । सम्बन्धित विषयवस्तुबारे अनुभव, तथ्य–तथ्याङ्क र उपलब्ध अन्य आधारहरूबाटमात्र विश्लेषकले भोलिको हुने कुराबारे प्रक्षेषण गर्नसक्छ । यसबाहेक उससँग भोलिका बारेमा बताउन सघाउने कुनै चमत्कारपूर्ण शक्ति छैन ।
तथ्यपूर्ण आधारमा गरिएको प्रक्षेपण भोलि गलत सावित भए पनि एकप्रकारले त्यसको दोष लेखकमा जाँदैन । किनभने त्यस्तो विश्लेषणमा लेखकभन्दा तथ्य–तथ्याङ्क नै बढी बोलेको हुन्छ । डा. हर्क गुरुङ, जनकलाल शर्मा, डा.जगदीशचन्द्र रेग्मीजस्ता लेखक जनमनमा छाउनुको एउटा महत्वपूर्ण कारण हो, तथ्यपूर्ण आधारमा गरिएको अकाट्य विश्लेषण । नेपालका राजनीतिक विश्लेषकहरूले पनि उहाँहरूबाट पाठ सिक्नुपर्ने देखिन्छ । यसले उहाँहरूलाई अँध्यारोमा प्रकाश छर्ने आलोक बनाउन सक्छ ।

साभारः राजधानी दैनिक (पुस १, २०७०)

No comments:

Post a Comment