-यमबहादुर दुरा
खरले छाएको घर। नजिकै गोठ। मखमलको खोल हालेर घरको पालीमा खाँबोमा झुन्ड्याइएको रेडियो। बाल्यकालमा देखेको गाउँघरको विविध दृश्यमध्ये एक हो यो, जुन अझ पनि झलझली आँखामा आउँछ। पालीको खाँबोमा झुन्ड्याइएको रेडियोले घरको शोभा बढाउँथ्यो।
यसले
गीत गाउँथ्यो, देश
विदेशको खबर भन्थ्यो र
थुप्रै समसामयिक जानकारी पस्कन्थ्यो। मलाई
लाग्थ्यो, रेडियो कुनै जादुमय
शक्तिले चलिरहेको छ। रेडियोको त्यही
जादुमय शक्तिले मलाई
पनि रेडियो भएतिरै
पु:याउँथ्यो, चुम्बकले फलामलाई तानेझैं।
साँच्चै ! बाल्यकालमा अचम्मित तुल्याउने वस्तुमध्ये एक
थियो, रेडियो। एउटा
सानो उपकरणभित्र मान्छे
बोल्ने, गीत गाउने
र वाद्ययन्त्र गुञ्जने। म
तीन छक पर्थें,
यस्तो अचम्मको उपकरण
देखेर। मेरो बालमस्तिष्कले सोंच्ने गथ्र्यो- रेडियोभित्र सानासाना मानिस
बस्छन्, जो आवश्यकताअनुसार बोल्छन्, गीत
गाउँछन् र वाद्ययन्त्र बजाउँछन्।
म
सानो छँदा छुट्टीमा आएको
बेला बाले लाहुरबाट रेडियो
ल्याएको सम्झन्छु। सम्भवत: यो नै
रेडियोसँगको मेरो पहिलो चिनजान
थियो। रेडियो देखेपछि मेरो
चकचकेपन बढेर गयो। रेडियो
कसरी चलाउने भन्नबारे कुनै
आधारभूत जानकारीबिना नै रेडियोका बटन
चलाउन पुग्थेँ।
जथाभावी बटन
चलाएर रेडियो बिगारेँ कि
बिगारिनँ, त्यो मेरो सम्झनामा छैन।
त्यसपछि एकैचोटी अर्को दृश्य सम्झन्छु। घरमा
दाइँ-पराल सकेपछि
धान बत्याउने बेलामा
आँगनको मियोमा रेडियो
झुन्ड्याइएको थियो। त्यसमा बजेको
गीत पनि सम्झन्छु : 'रातो
भाले क्वाएँ क्वाएँ,
सुत्केरीलाई ख्वाएँ...।'
रेडियोमा प्रसारण हुने
समाचारले पनि मलाई अचम्ममा पार्थ्यो। मलाई लाग्थ्यो, रेडियोमा खबर
भन्ने व्यक्तिले एउटा
ठाउँमा बसीबसी देश
र दुनियाँको हालखबर
कसरी खरर बताउन
सकेका होलान्? 'महाभारत' को
पात्र सञ्जयले दृष्टिविहीन धृतराष्ट्रलाई कौरव
र पाण्डवबीचको लडाइँबारे सविस्तार विवरण
सुनाएजस्तो गरी रेडियोबाट खबर
भनेको सुन्दा मलाई
आश्चर्य लाग्थ्यो। समाचारवाचकले देश र दुनियाँको खबर
कसरी थाहा पाएको
होला, म चकित
हुन्थेँ।
त्यतिबेला, पर्दापछाडिको कुरा
मलाई कसले बताइदिओस्? समाचारवाचकले अरू
कसैले लेखिदिएको सामग्री पढेको
हो भन्ने कुरा
मलाई कसले अथ्र्याइदिओस्? एउटा
समाचार बुलेटिन तयार
पार्न सिंगो टिमले
मौरीझैं व्यस्त भएर काम
गरेको तथ्य मलाई
के थाहा? समाचार
बुलेटिनलाई मूर्तरूप दिने क्रममा स्वदेशी तथा
विदेशी समाचार संस्था,
स्थानीय संवाददाता तथा समाचार सम्पादकको मत्त्वपूर्ण भूमिका
हुन्छ भन्ने कुरा
म बबुरोलाई त्यतिबेला के
थाहा?
हामी
केटाकेटी छँदा गाउँमा ठूलाबडा र
छुट्टीमा आएका लाहुरेहरूसँग मात्र
रेडियो हुन्थे। त्यसमा
पनि लाहुरेहरूको सान
बेग्लै हुन्थ्यो। उनीहरू
काँधमा रेडियो भुन्ड्याएर ठूलो
ठूलो आवाजमा रेडियो
घन्काउँदै हिँड्थे। अरूको सिको गर्न
हामी केटाकेटीलाई कसले
रोक्ने। हाम्रो काँधमा पनि
रेडियो झुन्डिन्थ्यो। हाम्रो
रेडियो हुन्थ्यो, सलाईको
बट्टा। त्यही सलाईको
बट्टाभित्र झ्याउँकिरीलगायतका
उड्ने हल्लाखोर कीराहरू छोपेर
राखिन्थ्यो।
ती
कीराले कैदमुक्त हुने
प्रयास गर्थे नै।
तिनले बाहिर निस्कने प्रयास
गर्दा सलाईको खोकाभित्र पिँपिँ
गरेको आवाज आउँथ्यो। कताकता
गुनगुन गरेजस्तो आवाज
पनि निस्कन्थ्यो। यस
प्रकारको आवाजले कताकता रेडियो
बजेको भान हुन्थ्यो। सलाईको
बट्टामा धागोको फिता हालिन्थ्यो र
त्यसलाई काँधमा झुन्ड्याएर हिँडिन्थ्यो। कहिलेकहीँ विगततिर विचरण
गर्छु, पुरानो कुरा
सम्झन पुग्छु। आफ्नो
स्वार्थसिद्धिका
लागि ती अबोध
जीवलाई कैद गरेर
आफूले दिएको यातना
सम्झँदा कताकता आत्माग्लानि हुन्छ।
रेडियो
अर्को तरिकाले पनि
बन्थ्यो। केराको थामलाई काटेर
त्यसलाई रेडियोको आकारका काटिन्थ्यो। त्यसमा
काँधमा झुन्ड्याएर उपयुक्त हुने
गरी फिता राखिन्थ्यो। त्यसपछि काँधमा
बोकेर हिँडिन्थ्यो। त्यो
ख्यालख्यालको रेडियो बज्ने कुरै
थिएन। त्यसैले मुखैले
रेडियो बजेजस्तो आवाज
निकालेर रेडियो बजेको आभास
दिने प्रयास निकालिन्थ्यो। यसरी
हामी केटाकेटी पनि
लाहुरेहरूको दाँजोमा पुग्ने प्रयासमा हुन्थ्यौं।
छुट्टी
पूरा गरेर हाजिर
हुन जाने बेला
आफूले ल्याएको रेडियो
बाले कसैलाई दिएछन्। त्यसपछि हाम्रो
घर रेडियोविहीन बन्यो।
म भने रेडियो
सुन्न पल्किसकेको थिएँ।
विद्यालय छुट्टी भएको बेलामा
गाईबस्तु चराउन जाँदा रेडियो
सुन्ने काम
हुन्थ्यो। रेडियो लिएर जाने
गोठालोसँग आफ्नो गाईबस्तु पनि
मिसाउँथे। यसो गर्दा रेडियो
सुन्न पाइन्थ्यो। कसैको
घरमा जाँदा कानै
थापेर रेडियो सुन्थेँ।
रेडियो
बोकेर कुनै पाहुना
हाम्रो घरमा आउँदा
उसैको छेउमा गएर
रेडियो सुन्थेँ। रेडियोमा प्रसारण हुने
हरेक कार्यक्रम मलाई
रोचक लाग्थ्यो। रेडियो
नेपालको प्रसारण सुरु हुने बेलामा
बज्ने शंखध्वनि मिश्रित आरम्भ
धुन मलाई विलक्षण र
दुर्लभ लाग्थ्यो। आज
पनि त्यो धुन
उत्तिकै विलक्षण र दुर्लभ लाग्छ।
आफूसँग
रेडियो हुनेहरूले रूखमा
रेडियो झुन्ड्याएर खेतबारीमा काम
गर्थे। हिउँदकालीन समयको
एक दिनको सानो
दृश्य मेरो स्मृतिपटबाट हराएको
छैन। हिउँदको न्यानो
र पारिलो घाम
वरिपरिको माछीकाँढे डाँडामा झलमल्ल छरिएको थियो।
बारीमा हालिएको छाप्रे
गोठबाट घामका प्रकाश
छिरेका थिए। मेरा
छिमेकीले नजिकैको चिलौनेको रूखमा रेडियो झुन्ड्याएर राखेका
थिए। त्यस रेडियोमा गीत
घन्कियो, 'भैंसी लड्यो है
माया भीरबाट हेर
...।'
गीत
सुन्दा सुन्दा म
अलि बेग्लै किसिमले आनन्दित हुन
पुगेको थिएँ। उफ्रौँजस्तो, नाचौं
जस्तो, बुर्कशी मार्दै
दगुरौंजस्तो, कताकता के के
भएको थियो। त्यतिबेला शब्दमा
व्यक्त गर्न नसकिने
आनन्दबाट गुज्रिएको थिएँ। मनमा नजानिँदो किसिमले उमङ्गको
ज्वारभाटा चलेको थियो। त्यति
नै बेला मेरो
मनको एउटा कुनामा
लागेको थियो, यस्तो
मीठो गीत बज्ने
रेडियो हाम्रो घरमा
पनि भइदिएको भए
... ।
वर्षौंपछि मात्र मैले स्वामित्वमा रेडियो
आयो।
मेरो
मनलाई पुलकित तुल्याउने गायिका
दार्जिलिङकी डेजी बराइली रहिछन्। नेपालबाट प्रकाशित थुप्रै
पत्रपत्रिकामा
समयक्रममा उनको बारेमा थुप्रै
सामग्री छापिए। ती सामग्री रुचिपूर्वक पढेँ,
प्रेमपूर्वक पढेँ। डेजी बराइलीको बारेमा
पढिरहँदा चिलौनेको रूखमा झुन्ड्याइएको रेडियोमा 'भैंसी
लड्यो है माया'
गीत घन्किएको सम्झना
आउँछ। उनको प्रसंग
आउँदा अहिले पनि
त्यही बाल्यकालीन स्मृति
एकाएक ताजा हुन
पुग्छ।
रेडियो
नेपालको लोकसङ्गीतसँग सम्बन्धित कार्यक्रमहरू गाउँबस्तीमा बिछट्टै लोकप्रिय थिए। 'रोदी', 'चौतारी'
जस्ता लोकसङ्गीतसँग गाँसिएका कार्यक्रम ग्रामीणजनका लागि
बिछट्टै रुचिकर थिए। त्यसमा
पनि माटोको सुवास
मगमगाउने आञ्चलिक मिठासले भरिएका लोकगीत बज्दा
ग्रामीणजन प्रफुल्लित हुन्थे। यस्ता गीत बज्दा
उनीहरू चिनी पोखिएको ठाउँमा
कमिला झुम्मिएजस्तो गरी
रेडियोको वरिपरि पोको परेर
गीत सुन्थे।
दु:ख र विरहका
गीत बज्दा आमाहरूका आँखा
रसाउँथे। झलकमान गन्धर्वको गीत
'आमाले सोध्लिन् नि,
खै छोरो भन्लिन्...' रेडियोमा बज्दा
आमाहरूका आँखामा आँसुको भल
बगेको अहिल्यैजस्तो लाग्छ।
हामी
केटाकेटी छँदा गाउँघरमा 'चलचित्र संस्कृति' भित्रिसकेको थिएन।
त्यतिबेला चलचित्र 'स्यानिमा' नामले चिनिन्थ्यो। लाहुरबाट फर्केका लाहुरे-लाहुरेनीहरूले
रोचक पाराले 'स्यानिमा' को
वर्णन गर्थे। उनीहरू
भन्थे : 'स्यानिमा' ले
गीत गाउँछ, गजबसँग
नाच्छ, माया-पिरति
गाँस्छ। उनीहरू 'स्यानिमा' बारे
यस्तै कुरा सुनाउँथे। 'स्यानिमा' पात्र
हो कि माध्यम
हो, उनीहरूको कुरा
गराइमा खुल्दैनथ्यो। 'स्यानिमा' अपरिचित कुरा
थिए। हाम्रा लागि
त रेडियो नै
सबथोक थियो।
त्यतिबेलाको ग्रामीण समाजमा
'स्यानिमा' र 'हिरो-हिरोइन'
को स्थान लोकगीतका लयजीवीहरूले ओगटेको
पाइन्थ्यो। तिनको नाकमुख कस्तो
होला, तिनको स्वभाव
कस्तो होला, आदि
जिज्ञासा ग्रामीणजनहरूका मनमा स्वाभाविक रूपमा
उठ्थे।
रेडियोका लयजीवीका बारेमा
भारापर्म र मेलापातमा सानोतिनो 'गाउँले
गसिप' चल्थ्यो। रेडियो
नेपालका एकाध कलाकारसँग सानोतिनो चिनजान
भएका, राजधानीमा बसोबास
गरेका अनि बेलाबखतमा गाउँघरमा झुल्कने नवसहरियाहरू नै
'गसिप' को स्रोत
हुन्थे। उनीहरूले बढाइचढाइ गरेर कान भरिदिएको भरमामा
ती लयजीवीका बारेमा
धारणा बनाउँथे, ग्रामीणजन।
त्यतिबेला अहिलेको जस्तो
'डेटा स्टोरेज डिभाइस'
उपलब्ध थिएन । न
त नेटबाट गीत
डाउनलोड गरेर राख्ने सुविधका नै
थियो । अहिलेको जस्तो
आफ्नो रुचि र
अनुकूलताअनुसार
'रेकर्डेड' गीत सुन्ने अवसर
हुँदै हुँदैनथ्यो भन्दा
पनि हुन्छ। गाउँघरमा कुनै
लाहुरे परिवारमा कतैकतै
'टेपरेकर्डर' हुन्थे। त्यसमा चक्का
हालेर गीत रेकर्ड
गर्ने र सुन्ने
सुविधा हुन्थ्यो।
'मेमोरी चिप'
को कुरै थिएन ।
'आइप्याड', 'आइपोड', 'ट्याबलेट', 'मोबाइल
सेट' जस्ता 'डेटा
स्टोरेज' क्षमता भएका अत्याधुनिक उपकरणहरू कल्पनाबाहिरका कुरा
थिए। छुट्टीमा आएका
कुनै कुनै ब्रिटिस लाहुरेले 'वाकम्यान' नामक
'डिभाइस' मा 'हेडफोन'
लाएर गीत सुनेको
देखिन्थ्यो।
यस्ता
उपकरणको अभावमा आफूले चाहेको
समयमा चाहेको गीत
सुन्न पाइने सुविधा
आममानिसलाई उपलब्ध थिएन। आफूलाई
मन परेको गीत
सुन्न रेडियो नै
सुन्नुपर्ने बाध्यता थियो । त्यसमा पनि
रेडियोले आफूले भनेको गीत
भनेको समयमा बजाइदिने भए
पो। मन परेको
गीत सुन्नका लागि
रेडियो नेपालमा अनुरोधपत्र पठाउनुपर्थ्यो। त्यतिबेला अनुरोध
गीत (फर्माइसी गीत)
सम्बन्धी कार्यक्रम लोकप्रियताको चुचुरोमा पुगेको थियो। कार्यक्रम सञ्चालकले अनुरोधपत्र पठाउने
देशभरिका श्रोताको लामो सूची पढ्दापढ्दै गीत
बजाउने समय सकिने
अवस्था आउँथ्यो।
कार्यक्रम सञ्चालकले समय
बचाउने अभिप्रायले पृष्ठभूमिमा गीत
बजाएर श्रोताको नाम
पढ्ने काम गर्थ्यो। श्रोताको सूची
यति लामो हुन्थ्यो, उनीहरूको नाम
फलाक्दाफलाक्दै
गीत सकिने अवस्था
आउँथ्यो। अनुरोध गीतको समय
आधा घन्टामात्र हुन्थ्यो। गीत
सुन्दा समय यति
बेपत्ता किसिमले चिप्लिन्थ्यो कि आधा घन्टाको समय
त चुड्की बजाउँदैमा बितेजस्तो लाग्थ्यो। त्यसपछि अधुरो
चाहनालाई पूरा गर्न अर्को
फर्माइसी गीत कार्यक्रमलाई व्यग्रतापूर्वक पर्खने
उपक्रम सुरु हुन्थ्यो।
रेडियोका प्रस्तोताहरूका बोली
ज्यादै मीठो लाग्थ्यो। उनीहरूका बोलीमै
दन्ते मोहनी लुकेको
छ कि जस्तो
लाग्थ्यो। आवाजको दुनियाँका ती
सम्राज- साम्राज्ञीहरूको रूपरंग
कस्तो होला भन्ने
जिज्ञासा मनमा जिज्ञासा उठिरहन्थ्यो।
उनीहरूबारे चासो
राख्ने व्यक्ति ममात्र
रहेनछु। २०४७ सालतिरको एउटा
प्रसंग सम्झन्छु। धरानकी
एक महिला श्रोताले तत्कालीन समयका
चर्चित प्रस्तोता पाण्डव
सुनुवारको रूपरंग थाहा पाउन
चाहेकी रहिछन्। उनले
काठमाडौंमा बस्ने एकजना पत्रमित्रलाई पाण्डव
सुनुवारको तस्बिर पठाइदिन आग्रह
गरेकी रहिछन्। ती
पत्रमित्रले पाण्डव सुनुवारले सञ्चालन गर्ने
लोकप्रिय कार्यक्रम 'फोन इन' मा
बोल्दै धरानकी पत्रमित्रलाई तस्बिर
पठाइदिन आग्रह गरेका थिए।
यस आग्रहलाई पाण्डव
सुनुवारले शिष्ट किसिमले नकारेका थिए।
त्यतिबेला उनले भनेका थिए,
'कतिपय कुरा पर्दाभित्रै रहनु
राम्रो हुन्छ।'
रेडियो
नेपालबाट प्रसारण हुने विभिन्न कार्यक्रममा अरूको
लेख रचना प्रसारण हुँदा
आफ्नो लेख पनि
प्रसारण गर्न पाए हुन्थ्यो भन्ने
मलाई लाग्थ्यो। एउटा
मनले भन्थ्यो, 'मेरो
लेख के प्रसारण होला
र !' फेरि अर्को
मनले भन्थ्यो, 'अरूको
सामग्री प्रसारण भएको ठाउँमा मेरो
लेख कसो प्रसारण नहोला
!' दोधार
दोधारमै हुलाकमार्फत रेडियो नेपालमा लेख
पठाएँ।
मेरो
लेख प्रसारण होला
कि नहोला भन्ने
खुल्दुली मनमा मच्चिरहेको बेला
एक दिन रेडियोले मेरो
नाम फुक्यो : 'अब
हामी प्रस्तुत गर्दैछौं, एउटा
लेख। यो लेख
पठाउनुभएको छ, सिन्दुरे गाविस
वडा नं ५
भाँगुबाट यमबहादुर दुराले।' एकछिन त मलाई
आफूले सुनेको कुराको विश्वास भएन।
रेडियोले आफ्नो नाम फलाक्दा गर्वले
हो वा अनपेक्षित परिस्थितिले हो,
मेरो छाती फुल्यो
र ढुकढुकी बढ्यो।
पछि थाहा भयो,
रेडियोमा प्रसारण भएको लेख रचनाको
पारिश्रमिक पनि पाइन्छ। खुुसीमाथि खुसी थपियो। त्यसपछि त
के चाहियो र
! भुइँमा खुट्टा रहेन।
एक
जमानामा मभित्र रेडियोको भूत
राम्रैसँग चढेको थियो। जतिखेर
पनि मेरो साथमा
रेडियो छुट्दैनथ्यो। खेतबारीमा काम
गर्न जाँदा पनि
रेडियो लिएर जान्थेँ। आली
खन्दा र हलो
जोत्दा पनि रेडियो
साथमै हुन्थ्यो।
जानकारी र
मनोरञ्जनका लागि रेडियोमा मात्र
भर पर्नुपर्ने तत्कालीन ग्रामीण जीवनबाट रक्तबीजझैं सूचना
फैलिएको यो युगसम्म आइपुग्दा 'क्यालेन्डर' का
थुप्रै पानाहरू पल्टिसकेका छन्।
रेडियो युगबाट 'मल्टिमिडिया' को
चमत्कारपूर्ण परिवेशसम्म आइपुग्दा जीवन भोगाइका अनुभूतिहरू खातमाथि खात
लागेका छन्। समयको
यो बिसौनीबाट पछि
फर्किएर त्यो निख्लो रेडियो
युगलाई नियाल्दा आफ्नै
जीवन एउटा दन्त्य
कथाजस्तो लाग्छ।
[साभार: अन्नपूर्ण पोष्ट/ फुर्सद संस्मरण विशेष (असोज ११, २०७१)]
[साभार: अन्नपूर्ण पोष्ट/ फुर्सद संस्मरण विशेष (असोज ११, २०७१)]