– यमबहादुर दुरा
दसैँले पस्कने उल्लासपूर्ण परिवेशमा
रोटेपिङको महत्व जबरजस्त रहन्थ्यो । यसले घरआँगनमा दसैंँ आएको भरपाइ गरिदिन्थ्यो ।
रोटेपिङको चचहुइले दसैंको व्यग्र प्रतीक्षामा रहेका लालाबालामाझमा रमझमपूर्ण
पलहरूको वर्षा गरिदिन्थ्यो ।
गाउँका तन्नेरीहरूले रोटेपिङ हाल्ने
सल्लाह गर्दैदेखि हाम्रा कान ठाडा हुन्थे । रोटेपिङ हाल्ने निधो भएपछि तन्नेरीहरू
वनतिर लाग्थे । बञ्चरो बोकेका तन्नेरीहरूका लर्को देखेर हाम्रो मनमा उमङ्ग र
उत्सुकता चुलिन्थ्यो । रोटेपिङ खेल्ने चाहनाले मन चुलबुल हुन्थ्यो । भित्रभित्रै औडाहा हुन्थ्यो ।
तन्नेरीहरूले वनमा रोटपिङको सर्दाम काटेर
ठिक्क पार्थे । ती सर्दाम रोटपिङको बनाउने ठाउँसम्म ओसार्नुपर्थ्यो । आलो काठका
गह्रुङ्गा सर्दाम ओसार्नु बेहद कठिन काम हुन्थ्यो । गाउँभरिका तन्नेरी र
बलियाबाङ्गा मिलेर ती सर्दाम ओसारिन्थ्यो ।
रोटेपिङको सर्दाम (खासगरी मादल र खम्बा) ओसार्दा
निकै कष्ट उठाउनुपर्थ्यो । धेरैका काँधका खालो जान्थे, हातमा ठेला बस्थे । कसैका खुट्टामा ठोसा
रोपिन्थ्यो । धेरैका भोटो र कछाड च्यातिन्थ्यो । उनीहरू पसिनाले निथ्रुक्कै भिज्थे
।
हदैसम्मको कष्ट
उठाएर रोटेपिङको सर्दाम ओसारिन्थ्यो । यसपछि रोटेपिङ खडा गर्ने काम युद्धस्तरमा अघि
बढ्थ्यो । ढिलोमा अष्टमीको दिनसम्म रोटेपिङ तयार हुन्थ्यो । रोटेपिङ चालू हालतमा आएपछि हामीलाई
फेरि एकपटक छटपटी हुन्थ्यो । रोटेपिङ तयार नहुँदासम्म कहिले तयार होला भन्ने छटपटी, तयार भइसकेपछि कतिखेर खेल्न पाइएला भन्ने
छटपटी । कन्याहरूलाई धुरी कटाएर रोटेपिङको उदघाटन हुन्थ्यो । अनि मात्र हाम्रो पालो आउँथ्यो । पिङ खेल्न पाएपछिमात्र हाम्रो मन शान्त हुन्थ्यो ।
होस्टेमा हैंसे गरेर रोटेपिङ खडा भएपछि चेलीबेटीका अनुहार उज्यालो हुन्थे । रोटेपिङ तयार भएको साँझमा चेलीबेटीले माइतीको परिश्रम र कर्मठभावको कदर गर्थे, मीठा मीठा स्थानीय परिकार खान दिएर । ती परिकारमा रोटी, मासु, अचार र बिजुलीपानी पर्थे ।
ग्रामीण जीवनमा रोटेपिङले बहुआयमिक अर्थ
राख्थ्यो । जस्तै : सहकार्य र सहजीवनको मीठो उपज । लालाबालाहरूको मन बहलाउने
माध्यम । बैंशालु मनहरू जमघट हुने ठाउँ । कतिपयले रोटेपिङलाई ‘तरुनी फसाउने पासो’ भनेर पनि हाँसो गर्थे ।
रोटेपिङ तयार भएपछि त्यो ठाउँ सामाजिक
जमघटको केन्द्र बन्थ्यो । त्यो ठाउँ भेटघाट र संवादको बेजोड अखडा बन्थ्यो । अल्लो
गाउँ, पल्लो गाउँ र छरछिमेकका बैंशालु मनहरूको
भेटघाट र संवादले रोटेपिङ जिउँदो जाग्दो बन्थ्यो । त्यतिबेला रोटेपिङले पूरै चोला
फेरेको अनुभूति हुन्थ्यो ।
त्यहाँ गुञ्जने लोकभाका बिछट्टै मीठो
हुन्थ्यो । लोकभाकाको मादकता र मोहनीले शरदकालीन रातलाई छपक्कै छोप्थ्यो । सुमधुर र प्रेमिल लोकभाकाले सबैलाई मोहनी लगाउँथ्यो । गीतले
बूढापाकालाई पनि तानेरै छाड्थ्यो । उनीहरू तन्नेरी–तरुनीका भीडमा दोल्याइ ओढेका बूढापाका मिसिन पुग्थे । गीत सुनेर भरपूर आनन्द
लिन्थे । शायद, त्यतिबेला उनीहरू आफ्ना विगत सम्झिँदा
हुन् ।
हामी किशोर अवस्था पार गरेर तरुण
अवस्थामा प्रवेश गर्दै गर्दा ग्रामीण जनजीवनको
परिदृश्य बदलिँदै थियो । रहरमा भन्दा पढाइ लेखाइ लेखाइ प्राथमिकता दिनुपर्छ भन्ने
जनमत तयार हुँदै थियो । हामीभन्दा अघिल्ला
पुस्ताले बिताएका बिन्दास जीवन हाम्रो भागबाट विस्तारै खोसिँदै थियो । हामीले त्यस्तो जीवन त चौथाइ पनि भोग्न पाएनौँ ।
***
रोटेपिङ खेल्न जाँदा तन्नेरी–तरुनीहरू खुल्ला आकाशमुनि रात बिताउँथे । परिणमस्वरूप कतिपय
तन्नेरी–तरुनी बिरामी हुन पुग्थे । उनीहरू
ज्वरोले इन्तु न चिन्तु हुन पुग्थे । यसप्रकारको बिसञ्चोपनलाई गाउँले भाषामा ‘शीत लागेको’ भनिन्थ्यो । कतिपयले यसलाई ‘पिङ खेलेको निस्केको’ भनेर टिप्पणी गर्थे ।
जुनसुकै कारणले बिरामी भए पनि
झाँक्रीहरूका दिन खुल्थे । खरानी उँडाएर र कुचो शरीर झारेर बिरामीको उपचार शुरु
हुन्थ्यो । बिरामीको नाडी छाम्दै ‘बोक्सी–डाइनु’ लागेको भन्थे । ‘बोक्सी–डाइनु’ लाई भालेको भोग दिनुपर्छ भन्थे ।
झाँक्रीको सिफारिसमा कुखुराको खोरबाट
रोज्जा भाले थुतिन्थ्यो । त्यसलाई दोबाटोमा मन्छाइन्थ्यो । आधा रातमा भाले काटेर
कथित ‘बोक्सी–डाइनु’ लाई भोग दिइन्थ्यो । ‘ढुङ्गा रातो, पेट तातो’ । गजब थियो, त्यतिबेलाको समाज ।
समयक्रममा बिरामी पनि ठीकठाक भइहाल्थ्यो
। अस्पतालको मुखै नदेखी, एउटा ट्याबलेट पनि नखाई भाँक्रीको तन्त्रमन्त्र र
फुकफाकको भरमा बिरामी तंरिन्थे । त्यो उपचार पद्धति गजबकै थियो । त्यसैले गाउँमा
धामी–झाँक्रीको भाउ मानक विन्दुभन्दा माथि
रहन्थ्यो ।
***
रोटेपिङ तयार भएको दिनदेखि हाम्रो तन र
मन त्यतै हुन्थ्यो । जतिखेर पनि पिङमा हाँजिर भइन्थ्यो, रातको चार पहरबाहेक । रोटेपिङ भएपछि
हामीलाई अरू केही चाहिँदैनथ्यो ।
रोटेपिङ हाम्रा लागि मनोरञ्जनको अतिशय प्रिय
माध्यम थियो । नहुन् पनि किन ? त्यतिबेला एकमात्र
एकमात्र माध्यम थियो, त्यही रोटेपिङ । न फुटबल, न त क्रिकेट । ‘भिडियो गेम’ जस्ता अत्याधुनिक मनोरञ्जनका माध्यम त कल्पनाभन्दा बाहिर नै
थियो ।
गोठालो हुँदा पनि गाइवस्तुको वास्ता नगरी
रोटेपिङमा झुण्डिन पुगिन्थ्यो । गाइवस्तुले अरूको धानबारीमा मुख जोतेर बर्बाद
पारिसकेका हुन्थे, हामीलाई वास्ता हुँदैनथ्यो । पछि चर्को
स्वरमा कसैले उल्टो आशिक हाल्दा झल्याँस्स भइन्थ्यो ।
बिहानको अर्नी खाएर घाँस काट्न निस्कँदा
पनि रोटेपिङमा हाँजिर नभई सुखै मिल्दैनथ्यो । भर्खरै कलिलो घाम लागेको बेला पिङमा
पुगेको मान्छे, घाम छिप्पिएर आफ्नै शिरमाथि आउने तर्खर
गर्दा समेत पिङमै मस्त भइन्थ्यो ।
हस्याङ्फस्याङ् गर्दै बारीको कान्लोमा
घाँस काट्न पुगिन्थ्यो । घाँस काट्ने समय रोटेपिङले खाइदिन्थ्यो । बारीमा पुगेर
हतार हतार घाँस काटिन्थ्यो । मुसाको पुच्छरजस्ता साना साना मुठाको भारी गोठमा बिसाइन्थ्यो
। रोटेपिङले हामीलाई काम ठग्न बाध्य तुल्याउँथ्यो ।
भात खाएर चिसै हात रोटेपिङतिर कुदिन्थ्यो
। रोटेपिङ गजबका अड्डा थिए, हाम्रा लागि । कहिले साथीभाइ दुई समूहमा
बाँडिएर पिर्का तानतान गरिन्थ्यो भने कहिले चार–पाँचजना मिलेर धुरी झाट्न गइन्थ्यो । रोटेपिङले कहिल्यै सुख पाउँदैनथ्यो ।
हरेक वर्ष हामीजस्ता चकचके केटालाई केही
न केही चोटपटक लागेकै हुन्थ्यो । कोही रोटेपिङको धुरीबाट खसेर बालबाल बच्थे ।
कसैको हात भाँचिन्थ्यो । कसैको भुइँमा नाक जोतिन्थ्यो । तर पनि रोटेपिङमा रमाउने तिर्सना
मेटिन्नथ्यो ।
***
रोटेपिङसँग सामाजिक जीवनका थुप्रै
पाटाहरू गाँसिएका हुन्थे । समयक्रममा तिनले किस्सा–कहानीको रूप ग्रहण गर्थे । ती किस्सामा सूदुरपूर्वदेखि निकटपूर्वसम्मका
सामाजिक इतिहास अटाउँथ्यो, राजादेखि रङ्कसम्मका प्रसंग समेटिन्थ्यो ।
एउटा प्रसंग छ, राजा वीरेन्द्रको । उनी युवराज छँदै
छद्मभेषी बनेर देश भ्रमणमा निस्केका रहेछन् । यस क्रममा उनी एउटा अपरिचित पाहुनाका
रूपमा दुराडाँडाको तुर्लुङकोट गाउँमा पुगेछन् । रोटेपिङ खेलेछन् । गाउँले
प्रेमपूर्वक दिएको मोही र भुटेको मकै खाएछन् । त्यसपछि उनले बाटो तताएछन् ।
गाउँलेहरू त्यतिबेला चकिए भएछन्, जतिबेला उनी देशका राजकुमार हुन् भन्ने
थाहा पाए । गाउँले उनी हुनेवाला राजा हुन् भन्ने सुइँको पाउँदानपाउँदै उनले डाँडा
काटिसकेछन् ।
त्यो घटनाले राष्ट्रिय संस्कृतिसँग
सुमधुर साइनो गाँसेको छ । पुरानो एक रूपैयाँको नोटमा रोटेपिङको तस्बिर अंकित छ ।
त्यो तस्बिर तुर्लुङकोटको रोटेपिङको छायाँछवि हो भन्ने विश्वास गरिन्छ ।
एवम् रीतले रोटेपिङको किस्सा अनवरत
चलिरहन्थ्यो ।
छिमेकी गाउँमा रोटेपिङ खेल्न जाँदा
किचकन्याले तर्साएको किस्साले हाम्रो आङ सिरिङ्ग हुन्थ्यो । एक गाउँ र अर्को
गाउँबीच झगडा हुँदा रातारात पिङ खाँबो ढालिएको प्रसंगले सामाजिक द्वन्द्वको
दृष्टान्त प्रस्तुत गर्थ्यो ।
छुट्टीमा घर आएका लाहुरेले घरकी जेठीलाई
सुइकोसम्म नदिई रोटेपिङबाटै अर्की टिपेर सुनौली नाका काटेको किस्साले 'एउटा थाप्लोमा दुइटा नाम्लो' हाल्नेहरूको मनोदशा दर्साउँथ्यो । ती सबै
किस्सा हाम्रा लागि रोचक श्रव्यसामग्री हुन्थे ।
कहिलेकाहीँ लोमहर्षक कहानी पनि सुनिन्थ्यो
। राति रोटेपिङ खेल्दा असावधानीवश पिङको डाँडीमा चुल्ठो र मजेत्रो बेरिएर ग्रामीण
बालाको ज्यानै गएको कहानीले हामी त्रस्त हुन्थ्यौँ । हाम्रो समवेदनाको ग्राफ
उच्चतम् विन्दुमा पुग्थ्यो ।
***
दसैंताक खेतबारीमा धान–कोदोले बाला हालिसकेका हुन्थे । रोटेपिङको आवाजले सह जान्छ, बालीनाली भुसिन्छ भन्ने भनाइ छ ।
बूढापाकाहरू तिहारपछि तुरुन्तैपिङ फुकाल्नुपर्छ भन्थे । ढिलोमा एकादशी
कटाउनुहुँदैन भन्थे । तन्नेरीहरू आनाकानी गर्थे ।
हाम्रो भित्री समर्थन पनि तन्नेरीहरूलाई हुन्थे
। जस्तोसुकै समर्थन रहे पनि तिहार सकिएपछि रोटेपिङ पुकाल्ने दिन आइहाल्थ्यो ।
रोटेपिङ पुकाल्ने दिन त्यस वर्षभरिकै नरमाइलो दिन हुन्थ्यो । रोटेपिङ तयार हुँदा
आएको खुसीयालीपूर्ण क्षण रोटेपिङ फुकाल्दा भताभुङ्ग हुन्थ्यो ।
***
त्यो रमणीय कालदेखि वर्तमानसम्म
आइपुग्दा थुप्रै पात्रो फेरिइसके । नेपाली समाज तीव्र गतिमा सामाजिक रूपान्तरबाट
गुज्रिरहेको छ । समयले कोल्टे फेरिसक्यो । समय प्रवाहले विगतलाई निरन्तर पछि धकेलिरहेको छ । आधुनिकताले रोटेपिङलाई छायाँमा पारिसक्यो । त्यसैले उस्तो रौनक छैन । गाउँघरमा रोटेपिङ लोप हुने क्रममा छ ।
दुनियाँको कुनै पनि पसलमा किन्न नपाइने विगतका ती रङभरा पलहरू अब सम्झनामात्र बाँकी छन् ।
[साभार: राजधानी (असोज २३, २०७२ )]
दुनियाँको कुनै पनि पसलमा किन्न नपाइने विगतका ती रङभरा पलहरू अब सम्झनामात्र बाँकी छन् ।
[साभार: राजधानी (असोज २३, २०७२ )]
[अद्यावधिक २०७२।०६।२७, २०७२।०६।२८, २०७२।०६।३०]
No comments:
Post a Comment