Friday, August 11, 2017

कपी एडिटरका कथा

–यमबहादुर दुरा

पत्रकार वृत्तमा आजकल एउटा गम्भीर प्रकृतिको चर्चा चल्न थालेको छ । चर्चाको विषय हो, पत्रकारितामा  प्रतिबद्ध जनशक्तिको घट्दो दर ।

यसबारे खासै शोधखोज (रिसर्च) नभए पनि पत्रकारिताको प्रतिबद्ध जनशक्ति निरन्तर घट्दै गइरहेको दैनिक व्यवहारमै महसूस गर्न थालिएको छ । समाचार संकलन (रिपोर्टिङ) मा जनशक्तिको आजपर्यन्त खासै अभाव महसूस नगरिए पनि सम्पादन (डेक्स वर्क) गर्नेहरूको अभाव बढ्दो क्रममा रहेको धेरैले प्रष्टै अनुभव गर्न थालेका छन् ।

विगतमा मिडियासम्बन्धी औपचारिक जनशक्ति उत्पादन नभएको बेला यस्तो महसूस गरिएको थिएन । त्यतिबेला एक से एक राम्रा र प्रतिबद्ध सम्पादनकर्मी (कपी एडिटर) हरू थिए । अहिले विश्वविद्यालयबाट मिडियासम्बन्धी जनशक्ति निरन्तर उत्पादन भइरहँदा पनि किन यस्तो अवस्था आयो ? प्रश्न पेचिलो छ ।
२०४६ सालअघि नेपाली मिडियाको आयतन फैलन पाएको थिएन । बजार सानो थियो । मिडियाको दुनियाँमा सरकारी सञ्चार माध्यमको एकछत्र रजाइँ थियो । निजी क्षेत्रमा प्रसारण माध्यम थिएन । निजी स्मामित्वका छापा माध्यम मूलतः मिसन पत्रकारिताको अभियानमा थियो ।

दलविहीन पञ्चायती व्यवस्था ढलेपछि आएका ‘राष्ट्रिय सञ्चार नीति, २०४९’ र ‘राष्ट्रिय सञ्चार ऐन, २०४९’ ले निजी क्षेत्रका प्रसारण माध्यमका बाटो खोलिदिए । सँगसँगै ब्रोडसिट दैनिकहरू पनि जन्मन थाले । समयक्रममा रेडियो र टेलिभिजन आए । पछिल्लो समयमा अनलाइन न्युज पोर्टलहरूको बाढी नै आएको छ ।

हिजो कुवाजस्तै संकीर्ण दायरामा रहेको नेपाली मिडिया आज समुद्रजस्तै विस्तीर्ण हुन पुगेको छ । मिडिया अर्थतन्त्रको दायरा फराकिलो बनेको छ । अवसर र सम्भावनाहरू बढेको छ । मिडियालाई ‘करिअर’ बनाउनेहरूको कुनै कमी छैन । नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघसँग आबद्ध पत्रकारहरूको संख्या १२ हजारभन्दा माथि छ ।

मिडियामा यस्ता उत्साहप्रद पक्षको उभार हुँदाहुँदै पनि पत्रकारितामा दक्ष र प्रतिबद्ध जनशक्ति ऋणात्मक दिशातर्पm उन्मुख भइरहेको महसूस गरिँदैछ । त्यसमा पनि न्युजरूममा दक्ष र प्रतिबद्ध कपी एडिटर अभाव टड्कारै देखिन थालेको छ । संवाददाता र कपी एडिटर पत्रकारिताका दुई बलिया स्तम्भ हुन् । यीमध्ये संवाददाताहरू बढी चलयमान् छन् । उनीहरू बाइलाइनको फाइदा उठाउन सक्छन् । कपी एडिटरलाई यस्तो लाभ प्राप्त हुँदैन ।

कपी एडिटरहरू पर्दापछाडिका नायक हुन् । संवाददाता वा लेखकको पाण्डुलिपिमा रहेका त्रुटि सच्याएर लेखाइमा बान्की थपिदिने काम कपी एडिटरको हो । तर पनि उसले जस पाउँदैन । धेरैको दृष्टिमा कपी एडिटिङ श्रेयविहीन काम (थ्याङ्कलेस जब) हो । न्युजरूममा एउटा भनाइ प्रचलित छ,  'कपी एडिटरको काम त्यतिबेला मात्र ख्याल गरिन्छ, जतिबेला सम्पादनका क्रममा गम्भीर गल्ती भेटिन्छन् ।'

संवाददाताको तुलनामा कपी एडिटरलाई ‘एक्सपोजर’ को अभाव छ । कुनै शक्ति, समूह वा व्यक्तिको अभीष्ट पूरा गरिदिएबापत कुनै खास पृष्ठ वा संस्करण हेर्ने निश्चित कपी एडिटरले क्याण्डल–लाइट डिनर, विदेश सयर वा यस्तै प्रकृतिका ‘बनञ्जा’ पाउने बाहेक  धेरैले ‘तर मार्न’ पाउँदैनन् । अधिकांशको अवस्था ‘विचरा’ नै छ ।

कपी एडिटरले ‘एक्सपोजर’ नपाए पनि उसको काँधमा जिम्मेवारी ठूलो हुन्छ । कपी एडिटिङ प्राविधिक र सिर्जनशील काम हो । उसले अरुले तयार पारेको झर्कोलाग्दो सामग्रीलाई रुचिकर र पठनीय बनाउनुपर्छ । त्यो पनि समयसीमाभित्रै  । यो चानचुने काम होइन । लरोतरो जाँगर, ज्ञान र सीपले यस्तो जिम्मेवारी पूरा गर्न सकिन्न । असल कपी एडिटर भाषिक हिसाबले शब्दशिल्पी र ज्ञानको गहनताको दृष्टिले इन्साइक्लोपिडिया बन्नुपर्नेमा दुईमत छैन ।

अरुको प्राणहीन रचनालाई जीवन्त बनाउन कपी एडिटरले धेरै मिहेनत गर्नुपर्छ । ऊ उर्जावान्, सिर्जनशील, कल्पनाशील र विचारवान् हुन आवश्यक छ । उसका लागि दिलबहलाव आवश्यक छ ।

यसका लागि उसले प्रशस्त अवसर र समय पाउनुपर्छ । मिडिया हाउसले उसको कामको चरित्र र प्रकृति बुझिदिनुपर्छ । विदेशतिर कपी एडिटरलाई आकर्षक पारिश्रमिक र पर्याप्त बिदा दिने चलन छ । नेपाली न्युजरूममा यस्तो परिपाटीको अभाव छ ।

कपी एडिटरको कामबारे कुरा गरिरहँदा हाम्रो शिक्षा पद्धतिबारे चर्चा गर्नुपर्ने हुन्छ । राम्रा स्कुलमा अंग्रेजीमा माध्यममा पढेकाहरू सामान्यता यो दुनियाँमा आउँदैनन् । कोही आएमा त्यो अपवादमात्र हुन्छ । जगजाहेर नै छ, उनीहरू कि त पश्चिमा दुनियाँमा भासिन्छन् कि त स्वदेशमै आइएनजीओको कारिन्दा बन्न पुग्छन् ।
नेपाली न्युजरूममा खपत हुने जनशक्ति मूलतः सरकारी विद्यालय वा सामान्य बोर्डिङ स्कुलमा पढेकाहरू नै हुन्छन् । सामान्यता उनीहरूको भाषिक दक्षता र ज्ञानको गहिराइ सरदर नै देखिन्छ ।

यही जनशक्ति न्युजरूममा पुग्छ । त्यसको नजिता के हुन्छ, भनिरहन नपर्ला । अहिलेको न्युजरूम जनशक्तिका दृष्टिले मात्र होइन, गुणवत्ताका दृष्टिले पनि शून्यतातर्फ लम्कँदैछ भन्नेहरू पनि भेटिन थालेका छन् । न्युजरूमले प्रतिभावान् जनशक्ति माग गर्छ तर बजारले सरदर खालको जनशक्ति उपलब्ध गराइरहेको छ ।

यहाँनेर, पत्रकारिताप्रतिको सामाजिक मनोविज्ञानबारे सानो चर्चा गर्नुपर्ने हुन्छ । धेरैको बुझाइ छ, पत्रकारिता ‘लो पेड जब’ हो । वास्तविकता पनि लगभग यस्तै छ । टेलिभिजनको स्क्रिनमा अनुहार देखाउने, रेडियोमा स्वर सुनाउने र अखबार (बाइलाइन) मा छाउने रोमाञ्टिक आकांक्षाले मात्र पत्रकारिताको दुनियाँमा प्रवेश गर्नेहरू छिट्टै ‘स्याचुरेसन पोइन्ट’ मा पुग्छन् ।

धेरै मिहेनत गरेर पनि अपेक्षित आम्दानी नहुँदा उनीहरू कालान्तरमा निराश बन्छन् । अन्ततः दुई दिनको पाहुनाजस्तो बनेर बाहिरिन्छन् । सुन्दा अप्रिय लागे पनि वास्तविकता यही हो ।'

बाहिरबाट खासै जटिल नेदेखिए पनि भित्रभित्रै बिकराल बन्दै गएको जनशक्तिसम्बन्धी समस्याले मिडिया उद्योगको अस्तित्व र गुणवत्तामा धक्का  दिन सक्छ । पत्रकारितालाई आशा र भरोसाको केन्द्र बनाउन सम्बन्धित निकायको रचनात्मक भूमिका अपेक्षित छ ।

साभार: अन्नपूर्ण टुडे । साउन २७, २०७४ ।

No comments:

Post a Comment