-यमबहादुर दुरा
इक्काइसौँ शताब्दी मानव समाजको तीव्रतर विकासको परिचायक बनेको छ । अहिलेको तीव्रतर विकासको प्रवाहमा मानव जातिका हरेक क्रियाकलाप छिटो–छरितो वा ‘फाष्ट फरवार्ड’ हुँदै गएको देखिन्छ । सञ्चार, यातायात तथा अन्य जीवनदायिनी प्रविधिको जादूमय विकासले मानिसलाई ‘फाष्ट फरवार्ड’ हुन सघाएको छ ।
यद्यपि मानव जति प्रगति पथमा जति नै तीव्र गतिमा अघि बढे पनि प्रकृतिले हरेक चीजको ‘फाष्ट फरवार्ड’ गतिलाई मान्दैन । प्रकृतिले आफ्नो चक्र (साइकल) पूरा गर्न निश्चित समय लिन्छ । प्रकृतिको नियमलाई छलेर ‘सर्टकट’ बाटो अपनाउँदा गम्भीर सङ्कट निम्तिन सक्छ । यसको दृष्टान्तका रूपमा आधुनिक युगको एउटा महत्त्वपूर्ण परिचायक मानिएको ‘फाष्ट फूड’ लाई लिन थालिएको छ ।
स्रोत : गुगल |
अनेकौँ अध्ययनले ‘फाष्ट फूड’ जनस्वास्थ्यका दृष्टिले हानीकारक रहेको देखाइसकेका छन् । भनाइ नै छ— ‘फाष्ट फूड, फाष्ट डेथ ।’ फाष्ट स्लो फूड मुभमेन्टले जनस्वास्थ्यमा पारेको गम्भीर नकारात्मक असरलाई ध्यानमा यसविरुद्ध भद्र आन्दोलन नै शुरु भइसकेको छ । यसको नाम हो— ‘स्लो फूड मुभमेन्ट’ ।
कसरी शुरु भयो ‘स्लो फूड मुभमेन्ट’ ?
‘स्लो फूड मुभमेन्ट’ को कुरा गर्दा ‘फाष्ट फूड’ को प्रसङ्ग नआई छाड्दैन । ‘फाष्ट फूड संस्कृति’ दोस्रो विश्वयुद्ध पछि मूलतः अमेरिकामा उदय भयो । मध्यम वर्गको उकालो लाग्दो ग्राफ, शहरी संस्कृतिको विस्तार र कार संस्कृतिको उदयबाट ‘फाष्ट फूड संस्कृति’ अभिप्रेरित थियो ।
‘फाष्ट फूड’ उद्योगमा म्याकडोनाल्ड्स, बर्गर किङ, केएफसी जस्ता ठूला कम्पनीको दरिलो उदय भएपछि यिनको विश्वव्यापी नेटवर्क फैलिँदै गयो । ‘फाष्ट फूड रेस्टुराँ’ हरू अमेरिकी जीवनको अभिन्न अङ्ग बन्न थाले । यससँगै ‘फाष्ट फूड संस्कृति’ ले गति लिन थाल्यो ।
‘फाष्ट फूड रेस्टुराँ’ हरूले बेफुर्सदीमा रहेका कामकाजी व्यक्ति तथा यात्रामा निस्केका यात्रुजनलाई छिटो–छरितो किसिमले सस्तो खाद्यपरिकार उपलब्ध गर्न थाल्यो । यी रेष्टुराँले समयक्रममा आफ्ना सेवालाई अमेरिकाका विभिन्न शहर र विश्वका अन्य भागमा पनि विस्तार गर्दै लगे । यसले विश्वव्यापी रूपमै खानपानको ढाँचामा नजानिँदो किसिमले परिवर्तन ल्याइदियो ।
यससँगै ‘फाष्ट फूड चेन’ हरूले आफ्ना खाद्यपरिकारका मेनु र रेष्टुराँ सञ्चालन विधिलाई पनि मानकीकरण गर्दै एकरूपाता दिन थाले, जसबाट ‘फाष्ट फूड’ रेष्टुराँबाट प्राप्त उपलब्ध वस्तु तथा सेवाको पहिचान सबैतिर लगभग एकै किसिमका देखिन थाले । समयको प्रवाहसँगै ‘फाष्ट फूड चेन’ हरू विश्वभर लोकप्रिय हुन थाले, जुन ‘पप कल्चर’ को एक हिस्सा बन्न पुग्यो ।
शुरु शुरुमा ‘फाष्ट फूड संस्कृति’ बहुसंख्यक उपभोक्तालाई हदैसम्म लोभ्याए पनि समय बित्दै जाँदा यसका नकारात्मक पाटा पनि उद्घाटित हुँदै गए । परिकारलाई स्वादिष्ट तुल्याउन ‘फाष्ट फूड’ मा राखिएको चिल्लो, फ्याट, नून, चिनी आदिको अधिक मात्राले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर देखापर्न थाले ।
‘फाष्ट फूड’ उपभोग गर्नाले मोटोपन, मधुमेह, हृदयरोग, क्यान्सर तथा अन्य असाध्य रोगको दर पनि बढ्दै गएको अध्ययनले देखाएको छ । अमेरिकी संस्था नेसनल इन्स्टिच्युट अब् हेल्थको वेबसाइटमा प्रकाशित एक लेखका अनुसार बितेको ५० वर्षमा अमेरिकी समाजमा ‘फाष्ट फूड’ ले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याएको छ ।
लेखका अनुसार अमेरिकामा ७१ प्रतिशत मानिस मोटोपनबाट ग्रसित छन् । अहिले धुम्रपानले भन्दा पनि ‘फाष्ट फूड’ ले तीव्र गतिमा काल निम्त्याएको सोही लेखमा उल्लिखित छ । ‘फाष्ट फूड ले जनस्वास्थ्यमा पारेको नकारात्मक असरबारे अरू कैयन् अध्ययन भएका छन्, जसले खतराको घण्टी बजाएका छन् ।
‘फाष्ट फूड संस्कृति’ ले जनस्वास्थ्यमा गम्भीर असर त निम्त्याएकै छ, यसले रैथाने परिकार, खाद्यसंस्कृति तथा स्थानीय अर्थतन्त्रलाई समेत धरासायी पार्दै लगेकोे छ । यसका अतिरिक्त, ‘फाष्ट फूड’ उद्योगसँग सम्बन्धित फ्याक्ट्री सञ्चालन गर्न हुने वन विनाश र फोहोर उत्पादनबाट वातावरणमा पर्ने नकारात्मक असर पनि सतहमा आउन थालेका छन् ।
यी तमाम कार्य–कारणले विश्वभरका सचेत नागरिक ‘फाष्ट फूड संस्कृति’ बाट वाक्क–दिक्क हुन पुगेका दृष्टान्त भेटिन थालेका छन् । यससँगै ‘फाष्ट फूड संस्कृति’ को प्रतिरोध गर्दै यसको विकल्प खोज्ने कार्य पनि जमानामै शुरु भइसकेको थियो । यसैको नतिजा स्वरूप ‘स्लो फूड मुभमेन्ट’ जन्मियो ।
यस आन्दोलनको झिल्को कसरी शुरु भयो भन्ने थाहा पाउन ‘फाष्ट फूड संस्कृति’ मै ठोक्किनुपर्छ । मानवशास्त्री एलिसन लिचले ‘इथ्नोज’ जर्नल (सन् २००३) मा प्रकाशित आफ्नो शोधपत्रमा ‘स्लो फूड मुभमेन्ट’ को रचनागर्भबारे लेखेका छन् ।
एलिसन लिचले आफ्नो शोधपत्र लेखे अनुसार रोम शहरस्थित ऐतिहासिक स्थल ‘स्पेनिश स्टेप्स्’ नजिक म्याकडोनाल्ड्सको आफ्नो ‘आउटलेट’ खोल्यो । यसप्रति विरोध जनाउँदै इटालेली लेखक र खाद्य अभियन्ता कार्लो पेत्रिनीले ‘फाष्ट फूड संस्कृति’ विरुद्ध जनचेतना जगाउँदै शान्तिपूर्ण आन्दोलनको श्रीगणेश गरे (लिच, सन् २००३) ।
पेत्रिनीले सन् १९८६ मा इटालीको ब्रा शहरमा ‘फाष्ट फूड’ को विकल्पमा ‘सुस्त खाद्यवस्तु’ को अवधारणा अघि सारे । उनले ‘असल, स्वच्छ र न्यायोचित’ खाद्यवस्तुको पक्षमा वकालत गर्दै वैचारिक आन्दोलनको झिल्को पैदा गरे ।
समयको प्रवाहसँगै आन्दोलनले गति लिँदै गयो । यो आन्दोलन अहिंसात्मक र रचनात्मक वैचारिक आन्दोलन थियो । कार्लो पेत्रिनीले यस वैचारिक आन्दोलनको नाम जुराए— ‘स्लो फूड मुभमेन्ट’ । पछि यस आन्दोलन संस्थागत रूपमै अघि बढ्न थाल्यो ।
बहुआयामिक आन्दोलन
सरसर्ती हेर्दा यस आन्दोलन ‘फाष्ट फूड’ को एकोहोरो विरोधमा जन्मिएको जस्तो मात्र देखिन्छ । तर, वास्तविकता त्यस्तो होइन । ‘स्लो फूड मुभमेन्ट’ एउटा बहुआयमिक आन्दोलन हो । यसले कृषिमा बढ्दो औद्योगिकीकरण र वैश्विक खाद्य आपूर्ति प्रणालीमा देखापरेको एकाधिकारले साना किसान मर्कामा परेकामा विरोध गर्छ । यतिमात्र होइन, यसले स्थानीय कृषि अर्थव्यवस्थाको मजबूतीकरणमा पनि जोड दिन्छ ।
अमेरिकी प्राध्यापक मेरी सरिता गाइतानले ‘फूड, कल्चर एण्ड सोसाइटी’ जर्नल (सन् २००४) मा लेखेको शोधपत्रका अनुसार ‘स्लो फूड मुभमेन्ट ले स्वादिष्ट, पौष्टिक तथा वातावरण अनुकूलित खाद्यसंस्कृतिको पृष्ठपोषण गर्छ । यसले अझ गहिरिएर खाद्यपरिकारको कलात्मक आनन्द र सौन्दयका पक्षमा समेत आवाज उठाउँछ । यसले स्थानीय, जैविक र परम्परागत खाद्य–अभ्यासका पक्षमा वकालत गर्दछ ।
आजकल छिटो उत्पादन हुने अन्न, तरकारी, फलफूल तथा मासु प्रचलनमा छ, जुन वर्तमान युगको विशेषता नै भएको छ । यस्ता चीजबीज हेर्दा आधुनिक युगको चमत्कारपूर्ण उपहार जस्तो लागे पनि यिनको रचनागर्भ अप्राकृतिक छ, जससले न मानव स्वास्थ्यलाई हित गर्छ, न त वातावरणलाई नै । यसप्रकारको अप्राकृतिक ‘तीव्र कृषि संस्कृति’ को विपक्ष उभिएको छ— ‘स्लो फूड मुभमेन्ट’ ।
समग्रमा ‘स्लो फूड मुभमेन्ट’ ले गुणस्तरीय, दिगो र स्वस्थ्यवर्द्धक खानपान र खाद्यसंस्कृति संरक्षणमा जोड दिन्छ । यसले रासायनिक मलको प्रयोगविहीन तथा वातावरण अनुकूलित दीगो कृषि प्रणालीलाई मूल मन्त्र मान्छ । यसले जैविक विविधता, स्थानीय खाद्य अर्थव्यवस्था, साना किसानको हित, पशुप्रति उचित व्यवहार तथा कामदारको न्यायोचित पारिश्रमिकका पक्षमा पनि आवाज बुलन्द पार्छ ।
विरासत
आज दुनियाँमा ‘फाष्ट फूड संस्कृति’ को दबदबा देखिँदा ‘स्लो फूड मुभमेन्ट’ कताकता ओझेल परेझैँ प्रतीत हुन्छ । तर, सूक्ष्म किसिमले हेर्ने हो भने यसको विरासत कायमै देखिन्छ ।
स्वस्थ्यवर्द्धक, दीगो र जीवनदायिनी खाद्यप्रणालीका पक्षमा वकालतमा गर्ने अभिप्रायले जग बसालिएको ‘स्लो फूड मुभमेन्ट’ ले स्थानीय खाद्यपरम्परालाई प्रोत्साहन गर्ने, साना किसानलाई साथ र सहयोग दिने, वातावरणीय दृष्टिले जिम्मेवार खाद्यवस्तु उत्पादन विधिलाई प्रवर्द्धन गर्ने लगायतका रचनात्मक काम गर्दै आएको चर्चा माथि नै भइसकेको छ ।
यसबाहेक ‘स्लो फूड मुभमेन्ट’ अरू पनि रचनात्मक काम निरन्तर सम्पादन गर्दै आएको छ । यस क्रममा ‘द आर्क अफ टेष्ट’ एउटा यस्तै रचनात्मक कार्य हो, जुन जैविक विविधताको मर्म र भावनालाई शिरोपर गरी अघि बढाइएको परियोजना हो । ‘स्लो फूड फाउन्डेसन’ द्वारा स्थापित खाद्य–क्याटलग हो— ‘द आर्क अफ टेष्ट’ ।
‘स्लो फूड फाउन्डेसन’ को वेबसाइटमा प्रकाशित जानकारीका अनुसार सन् १९९६ मा शुरु गरिएको यस परियोजनाले विश्वव्यापीकरण, औद्योगिक कृषि र खाद्य उपभोग ढाँचामा आएका परिवर्तनबाट लोप हुने जोखिममा रहेका खाद्य पदार्थहरूको संरक्षणमा पहल गर्छ । यसको उद्देश्य विश्वभरका लोपोन्मुख अवस्थामा रहेका परम्परागत खाद्य पदार्थहरूको पहिचान, संरक्षण र प्रवर्द्धन गर्नु हो ।
‘स्लो फूड मुभमेन्ट’ का संस्थापक कार्लो पेत्रिनीद्वारा लिखित पुस्तक ‘स्लो फूड : द केस फर टेष्ट’ (सन् २००३) मा ‘द आर्क अफ टेस्ट’ क्याटलगमा समाविष्ट खाद्यवस्तुको नालीबेली दिइएको छ । ‘द आर्क अफ टेस्ट’ क्याटलगमा फलफूल, तरकारी र मासुदेखि रोटी र चीजसम्मका हजारौं अद्वितीय उत्पादन समाविष्ट छन, जसमा विश्वका विभिन्न कुना–कन्दराका स्थानीय समुदायका सांस्कृतिक तथा ऐतिहासिक जीवनका पाटाहरू झल्कन्छन् (पेत्रिनी, २०१३) ।
विश्वका विभिन्न भागमा ‘स्लो फूड मुभमेन्ट’ का स्थानीय संस्करणहरू अस्तित्वमा आएका छन् । ‘फाष्ट फूड’ को जननी मानिने अमेरिकामा पनि ‘स्लो फूड मुभमेन्ट’ लाई केन्द्रमा राखेर विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन भइरहेका छन् । त्यहाँ ‘स्लो फूड फेस्टिबल’ पनि सञ्चालन हुने गरेका छन् ।
कतिपय ठाउँमा विद्यालयमा खाद्य शिक्षा अन्तर्गत परम्परागत खाद्यप्रणालीको महत्त्वबारे शिक्षा दिइन्छ । यस अन्तर्गत विद्यालय बगैंचा र परम्परागत पाकशास्त्र लगायतका कार्यक्रम समाविष्ट छन् । यस्ता कार्यक्रमले युवा पुस्तालाई ‘फाष्ट फूड संस्कृति’ ले पारेको नकारात्मक प्रभाव पारिरहेको बेलामा परम्परागत खाद्यप्रणालीको समग्र चक्र बुझ्न सघाएको छ ।
अहिले ‘स्लो फूड मुभमेन्ट’ विश्वका १६० भन्दा बढी देशमा शाखा स्थापना भई रचनात्मक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
आलोचना
‘स्लो फूड मुभमेन्ट’ ले परम्परागत खाद्य प्रथाको श्रीवृद्धिका लागि प्रशंसा कमाए पनि यसलाई विभिन्न कोणबाट आयोजना पनि गरिएको छ ।
स्वाभाविक छ— ‘स्लो फूड मुभमेन्ट’ ले जैविक विधिबाट उत्पादन गरिएका अग्र्यानिक खाद्यवस्तुको वकालत गर्छ । यसप्रकारको खाद्यवस्तु विश्वको कृषिप्रणाली नै बदलिएको अहिलेको समयमा महङ्गो पर्दछ, जुन न्यून आयस्रोत भएका जनसंख्याको पहुँचभन्दा बाहिर हुन्छ भन्ने तर्क आलोचनकहरूले अघि सारेका छन् ।
यसबाहेक, ‘स्लो फूड मुभमेन्ट’ ले परम्परागत र स्थानीय खाद्यवस्तुमा आन्दोलनको ध्यान केन्द्रित गर्दा ग्रामीण जीवन र परम्परागत कृषि प्रणालीको अनावश्यक रोमान्टीकरण हुने जोखिम हुन्छ, जसले विश्व ठूलो जनसंख्यालाई खाद्यवस्तु जुटाउने कृषिको आधुनिकीकरणलाई बेवास्ता गरिरहेका तर्क आलोचकहरूको छ ।
दुनियाँ परिवर्तनशील छ । समयको प्रवाहसँगै खाद्यसंस्कृतिमा क्रमिक परिवर्तन हुने तथ्य पनि स्वाभाविक छ । तर, ‘स्लो फूड मुभमेन्ट’ का अभियन्ताहरूले परिवर्तनशीलताको प्राकृतिक नियमलाई स्वीकार गर्न नसकेको आरोप आलोचकहरूले लगाएका छन् । फ्रान्सेली समाजशास्त्री तथा मानवशास्त्री क्लाउड फिशरले ‘सोसल साइन्स इन्फर्मेसन’ जर्नल (सन् २०११) मा प्रकाशित शोधपत्रमा यस्तै तर्क अघि सारेका छन् ।
फिशरले ‘स्लो फूड मुभमेन्ट’ का अवधारणाकारहरूले खाद्यसंस्कृतिसम्बन्धी स्थिर अवधारणालाई आर्दश मानिरहँदा बसाइँसराइ र सांस्कृतिक आदानप्रदानबाट समयक्रममा खाद्य–अभ्यासमा स्वाभाविक रूपमा परिवर्तन आउने तथ्यलाई बेवास्ता गरिएको विचार पेश गरेका छन् ।
कार्लो पेत्रिनी : ‘स्लो फूड मुभमेन्ट’ का संस्थापक
कार्लो पेत्रिनी ‘स्लो फूड मुभमेन्ट’ का संस्थापक हुन् । उनी इटालेली लेखक तथा खाद्यअभियन्ता हुन् । उनी सन् १९४९ जून २२ मा इटलीको ब्रा शहरमा जन्मिएका थिए । पेत्रिनी सन् १९६० को दशकमा वातावरणीय र सामाजिक न्यायको पक्षमा कार्यकर्ताको रूपमा सक्रिय थिए । यसपछि विस्तारै रैथाने कृषिप्रणाली, खाद्यप्रणाली र पाककलातिर आकर्षित हुँदै गए ।
यस्तैमा पेत्रिनीकै देशको राजधानी रोमस्थित ऐतिहासिक स्थल ‘स्पेनिश स्टेप्स्’ नजिक म्याकडोनाल्ड्सको ‘आउटलेट’ खुल्यो, जुन उनको भावना विपरीतको कार्य थियो । यस घटनाक्रमले उसलाई प्रतिक्रियाविहीन अवस्थामा रहन दिएन । उनले ‘फाष्ट फूड चेन’ मध्ये एक मानिने म्याकडोनाल्ड्सको उपस्थितिको खुलेर विरोध गरे ।
कार्लो पेत्रिनी । स्रोत: गुगल |
ऐतिहासिक धरोहर ‘स्पेनिश स्टेप्स्’ मा व्यापारिक कम्पनी म्याकडोनाल्ड्सको उपस्थितिबाट चोटग्रस्त कार्लो पेत्रिनीले ‘फाष्ट फूड संस्कृति’ विरुद्ध जनचेतनात्मक अभियान शुरु गरे । उनले यस अभियानको नाम ‘स्लो फूड मुभमेन्ट’ राखे ।
कार्लो पेत्रिनी सिद्धहस्त लेखक पनि भएकाले उनले खाद्यसंस्कृति, जैविक विविधता, दीगो कृषि प्रणाली आदि विषयमा व्यापक रूपमा बोल्दै तथा कलम चलाउँदै आएका छन् । उनको पुस्तक ‘स्लो फूड : द केस फर टेष्ट’ (सन् २००३) पठनीय कृति मानिन्छ ।
पेत्रिनीको सतकर्मले उनलाई अन्तर्राष्ट्रिय व्यक्तित्व बनाएको छ । सन् २०१६ मा उनी संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङगठन (एफएओ) को ‘शून्य भोकमरी’ (Zero Hunger) का लागि विशेष राजदूत नियुक्त भएका थिए । सन् २००४ मा विश्वचर्चित टाइम म्यागजिनले उनलाई वर्षपुरुषको सूचीमा सूचीकृत गरेको थियो ।
निष्कर्ष
‘फाष्ट फूड संस्कृति’ ले जनस्वास्थ्यमा नकारात्मक असर पारेको तथ्य घाम जत्तिकै छर्लङ्ग छ । यसैगरी, कृषि क्षेत्रमा भएको यान्त्रीकरण एवम् औधोगीकरणले हाम्रो गुणकारी रैथाने कृषिप्रणाली र खाद्यसंस्कृतिमाथि गहिरो धक्का पुगेको छ । यसबाट स्थानीय खाद्य अर्थतन्त्र र साना किसान बहुधा मर्कामा परेको तथ्य छिपेको छैन ।
यी तमाम वास्तविकताप्रति सजग रहँदै ‘स्लो फूड मुभमेन्ट’ को मर्म र भावनालाई आत्मासात गर्न आवश्यक छ । यो आन्दोलन विकासको गतिलाई पछि पार्ने प्रतिगामी कदम होइन, बरू विकासको गति र हाम्रो कृषि प्रणाली र खाद्यसंस्कृतिलाई सन्तुलित रूपमा अघि बढाउने अभियान हो ।
वर्तमान समयमा जलवायु परिवर्तन र वातावरणीय क्षय जल्दोबल्दो विषय बनेको छ । यसले निम्त्याएको विकराल परिस्थितिसँग लड्न ‘स्लो फूड मुभमेन्ट’ को मर्म र भावना सहायक देखिएको छ, जसलाई हाम्रा राष्ट्रिय नीति तथा कार्यक्रममा पनि समेट्न आवश्यक छ ।
अहिले समाज तीव्र गतिमा विकासपथमा लम्किरहेको देखेर जर्मन समाजशास्त्री हाटमुट रोजाले ‘हाइ स्पिड सोसाइटी’ शब्दावली प्रयोगमा ल्याए । एक्काइसौँ शताब्दीको मानव समाज जति नै तीव्र गतिमा अघि बढे पनि खाद्यसंस्कृतिमा आएका विकृतिहरूसँग लड्न ‘स्लो फूड मुभमेन्ट’ को अवधारणालाई नकार्न सकिने अवस्था छैन । यसलाई हामीले मार्गदर्शक सिद्धान्तका रूपमा अङ्गीकार गर्न आवश्यक देखिन्छ ।
[युवामञ्च । २०८१ मङ्सीर ।]
No comments:
Post a Comment