Showing posts with label अमूर्त सांस्कृतिक सम्पदा. Show all posts
Showing posts with label अमूर्त सांस्कृतिक सम्पदा. Show all posts

Sunday, August 9, 2015

अमूर्त सांस्कृतिक सम्पदा संरक्षणको सवाल

–यमबहादुर दुरा

संस्कृति व्यापक र गहन विषय हो । संस्कृतिको अर्थ हामीले सामान्य अर्थमा बुझ्ने  गरेको नाँचगान तथा झाँकीभन्दा बृहत छ । त्यसैले संस्कृतिलाई परिभाषित गर्न पनि त्यति सजिलो छैन । संस्कृतिको परिभाषालाई लिएर मानवशास्त्रीहरूबीच पर्याप्त मदभेद छन् । तर पनि मानिसले सिकेका तमाम मानवीय व्यवहारलाई संस्कृति भनेर धेरैले परिभाषा दिएका छन् ।

समाजशास्त्री एडवार्ड वी टेलर (सन् १८३२–१९१७) ले सन् १८७१ मा प्रकाशित पुस्तक ‘प्रिमिटिभ कल्चर’ मा संस्कृतिलाई साङ्गोपाङ्गो रूपमा परिभाषित गरेका छन् । उनका अनुसार मानिसले समाजको सदस्यको नाताले आर्जन गर्ने ज्ञान, विश्वास, कला, कानुन, नैतिकता, प्रथा, सामर्थ्य र बानी–व्यहोराको समग्रता नै संस्कृति हो । उनले संस्कृतिलाई एउटा जटिल विषय ठानेका छन् ।

ज्ञान, अनुभव, मूल्य–मान्यता, मनोवृत्ति, धर्म, समयसम्बन्धी अवधारण, सामाजिक सम्बन्ध, व्रह्माण्डसम्बन्धी अवधारणा, व्यक्ति तथा समूहको स्वामित्वमा रहेको भौतिक वस्तु आदिको गठजोडलाई धेरैले संस्कृति मान्ने गरेका छन् ।

सभ्यताको लामो यात्रासँगै मानव संस्कृतिले सम्पदाको रूपधारण गरिसकेको छ । विश्व सांस्कृतिक सम्पदा संरक्षणबारे भएका प्रयासको ऐतिहासिक पृष्ठभूमिलाई नियाल्दा खासगरी प्रथम विश्वयुद्धको विभीषिका पछि यससम्बन्धी अवधारणा अस्तित्वमा आएको देखिन्छ । धिमाल (सन् २०१४) का अनुसार सांस्कृतिक सम्पदासम्बन्धी बहस सन् १९२०/१९३० को दशकदेखि नै चलेको थियो ।

सन् १९६५ मा वासिङटन डीसीमा ‘विश्वसम्पदा ट्रष्ट’ स्थापना भयो । सन् १९७२ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को सहयोगमा विश्व सांस्कृतिक तथा प्राकृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि पारित भयो ।

सांस्कृतिक सम्पदालाई मूर्त र अमूर्त गरी दुई भागमा वर्गीकरण गरिएको पाइन्छ । कुनै कुनै सन्दर्भमा यसलाई भौतिक र अभौतिक सम्पदा भनेर पनि विभाजन गरेको पाइन्छ । डीबी आङबुङ लिम्बूले मानवशास्त्री डा. क्रिष्टिना अमेस्कुवालाई उध्रृत गर्दै मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाको परिभाषा दिएका छन् ।

उनले भनेका छन् : ‘मूर्त सम्पदाले मानव सिर्जनाका भौतिक उत्पादनहरूलाई नै जनाउँछ, जुन एकपटक सिर्जना गरेपछि केही समयमात्र रहन्छ वा हस्तान्तरित हुँदैन । तिनीहरूलाई वर्तमान तथा भविष्यका सन्ततिहरूले उपयोग र आनन्दका लागि... बचाउन सकिन्छ । ती... विशेष सामाजिक–ऐतिहासिक चिनोहरू हुन् । यसले समयको प्रवाहसँगै हामीलाई अघि बढाउँछ ।... तर, यो अनन्तसम्म रहन सक्दैन ।’

डीबी आङबुङ लिम्बू लेख्छन्, ‘तुलनात्मक रूपमा अमूर्त सांस्कृतिक सम्पदा गतिशील हुन्छ र निरन्तर चलिरहन्छ । यो धेरै सन्ततिहरूसँगै विगतमा रहेजस्तै अहिले पनि जीवित रहन्छ । यो एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरित भइरहन्छ । यसको आफ्नै हस्तान्तरित हुने क्षमता वा गुण हुन्छ ।’ उनका अनुसार समय र परिस्थितिअनुसार यसमा परिवर्तन आइरहन्छ ।

मूर्त र अमूर्त संस्कृतिको एक सिक्काका दुई पाटाजस्तै हुन् । एउटाको अनुपस्थितिमा अर्कोको अस्तित्व असम्भवप्राय छ । अमूर्त सांस्कृतिक सम्पदाको संरक्षक र वहाक मानव मस्तिष्क र शरीर नै हु्न् ।
युनेस्कोले कुनै जाति वा समुदायका अमूर्त सांस्कृतिक सम्पदाका दायरा निर्धारण गरेका छन् ।

युनेस्कोका अनुसार मौखिक परम्परा तथा अभिव्यक्ति; अभिनय कला; सामाजिक व्यवहार, अनुष्ठान तथा चाडपर्वका उत्सव; प्रकृति तथा व्रह्माण्डसँग सम्बन्धित ज्ञान तथा व्यवहार; र परम्परागत कलाकौशलहरू अमूर्त सांस्कृतिक सम्पदा अन्तर्गत पर्दछन् ।

युनेस्कोद्वारा जारी ‘अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि, २००३’ ले अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी प्रावधान अघि सारेको छ । ‘नेपालको राष्ट्रिय सास्कृति नीति, २०६७’ ले पनि अमूर्त सांस्कृतिक सम्पदा संरक्षणको दिशामा बोलेको पाइन्छ । ‘नेपालको अन्तरिम संविधान, २०६३’ को धारा १७ मा शिक्षा र संस्कृति सम्बन्धी हकको व्यवस्था गरिएको छ ।

नेपाल कृषि युगबाट आधुनिकतातिर विस्तारै बामे सर्दै गरेको लोकजीवनप्रधान समाज हो । त्यसैले नेपाली समाजमा प्रकृति, कृषि र लोकजीवनका झलकहरू पर्याप्त भेटिन्छन्, जुन आफैंमा मूर्त तथा अमूर्त संस्कृतिका खानी हुन् ।

त्यसैगरी, नेपाल सांस्कृतिक हिसाबले धनी मानिने जनजातिहरूको घर पनि हो । विविध सांस्कृतिक एवम् सामाजिक पृष्ठभूमि भएका जनजातिका संस्कृति र जीवनशैली असंख्य मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाबाट सिंगारिएका छन् । यी विविध सांस्कृतिक सम्पदाहरूको सम्मिश्रण तथा गठजोडबाट नेपालको साझा संस्कृति बनेको छ । प्रत्येक जात वा समुदायमा विद्यमान सांस्कृतिक सम्पदाको संरक्षण नभई नेपालको साझा संस्कृति मजबुद हुन सक्दैन ।

सांस्कृतिक दृष्टिले विविधतापूर्ण मुलुक भएकोले नेपालको अमूर्त सांस्कृतिक सम्पदा वैभवशाली छ । यहाँका विविध भाषाभाषी, भौगोलिक क्षेत्र र सामाजिक पृष्ठभूमिका नागरिकका श्रुतिपरम्परा, चाडवाड, गीतसंगीत, अनुष्ठान एवम् कलाकौशलहरू बेहिसाब छन् । नेपालको हिमालदेखि तराइसम्मका प्रत्येक समुदायमा विद्यमान लोकविश्वास, रीतिरिवाज, चाडवाड, लोकगाथा, लोककथा, लोककथन, लोकधर्म, लोकमनोविज्ञान तथा लोकप्रहसन अमूर्त सांस्कृतिक सम्पदा हुन् ।

यसैगरी लोककला, लोकसंगीत, लोकनाटक, लोकमन्त्र, लोकपद्य, श्रुतिपरम्परा, परम्परागत खेल, परम्परागत ओखतीमूलो तथा उपचार विधि एवम् परम्परागत ज्ञान–सीप पनि अमूर्त सांस्कृतिक सम्पदा अन्तर्गत पर्छन् । सामान्यतया, यस्ता सम्पदाहरू एउटा पुस्ताबाट अर्को पुस्तामा स्वस्फूर्त रूपमा हस्तान्तरण हुन्छन् । तर बढ्दो विश्वव्यापीकरणले अमूर्त सांस्कृतिक सम्पदा नयाँ पुस्तामा हस्तान्तरण हुने क्रममा क्रमभङ्गता पैदा भएको छ ।

अमूर्त सांस्कृतिक सम्पदालाई देख्न वा छुन सकिँदैन । एकप्रकारले यिनीहरू कम्प्युटरका ‘सफ्टवेयर’ जस्तै हुन् । ‘सफ्टवेयर’ को अभावमा कम्प्युटर चल्न नसकेजस्तै अमूर्त सांस्कृतिक सम्पदाबिना हाम्रो सामाजिक जीवन चल्दैन । चले पनि निरस र एकलकाँटे हुन पुग्छ । त्यसले यिनीहरूको उचित संरक्षण  हुन आवश्यक छ । बढ्दो विश्वव्यापीकरणसँगै अमेरिकी तथा पश्चिमा संस्कृति मौलाउँदै गएको वर्तमान पृष्ठभूमिमा हाम्रा रैथाने अमूर्त सांस्कृतिक सम्पदाहरू दिनानु दिन जोखिममा पर्दै गएका छन् ।

हुन त, अमूर्त सांस्कृतिक सम्पदा सधैँ तरल र गतिशील हुन्छ । यिनीहरू समयसँगै परिवर्तन भइरहन्छन् । यही कारण यिनीहरूको मौलिकता जोगाउन सहज छैन । तर यसो भन्दैमा संरक्षण  कार्यलाई बेवास्ता गर्न मिल्दैन । सांस्कृतिक सम्पदाहरूसँग कुनै पनि समुदायको पहिचान जोडिएको हुन्छ । सांस्कृतिक सम्पदा हराउँदा त्यससँगै हाम्रो पहिचान पनि हराउँछ । पहिचान हराएपछि सम्बन्धित समुदायको अस्तित्व संकटमा पर्छ ।

दुनियाँ एक्काइसौं शताब्दीमा प्रवेश गरिसकेको छ । देशमा लोकतन्त्रको बिहानी झुल्किसकेको छ । तर पनि शासन–सत्ताको बागडोर सम्हाल्नेहरूको सांस्कृतिक चेत राम्रोसँग खुलिसकेको छैन । उनीहरूले नेपालको सांस्कृतिक विविधतालाई दिलदार बनेर कख्याउन सकेका छैनन् । यसबाट विविधतापूर्ण नेपाली समाजको अमूर्त सांस्कृतिक सम्पदाले नजानिँदो किसिमले अभिभावकत्व गुमाइरहेका छन् ।

अमूर्त सांस्कृतिक सम्पदामा समयको पदचाप भेटिने, स्थानीय जीवनशैलीको छायाँछवि देखिने र समाजको सामाजिक तथा सांस्कृतिक इतिहास पाइने भएकाले यिनीहरूको संरक्षण आवश्यक हुन्छ ।

देशको सांस्कृतिक सम्पदा संरक्षण  गर्ने दिशामा शासन–सत्ताको बागडोर सम्हाल्नेहरू उदार बन्नैपर्छ । देशको सांस्कृतिक विविधता सबैको साझा सम्पत्ति हुन् भन्ने तथ्यलाई सत्तासीन र नीतिनिर्माताहरुले आत्मासात नगरेसम्म सांस्कृतिक सम्पदाको उचित संरक्षण हुन सक्दैन ।

देशको सांस्कृतिक  विविधताप्रति उनीहरूको दृष्टिकोण सफा हुनैपर्छ । यसप्रति उनीहरू उदार हुनेबित्तिकै समाजको ‘सफ्टवेयर’ मानिएको अमूर्त सांस्कृतिक सम्पदा संरक्षणको ढोका खुल्दछ  । सत्तामा रहेकाहरू उदारमना भएमा र ‘ग्रासरूट’ मा रहेका नागरिक सक्रिय भएमा यसलाई धेरै हदसम्म जोगाउन सम्भव छ ।

सन्दर्भ सामग्री 

धिमाल, सोम । २०१४ (अक्टोबर २४) । अभौतिक सांस्कृतिक सम्पदा र आदिवासी जनजातिका सवालहरू ।   ब्लग पोष्ट । अगष्ट २, २०१५ मा अध्ययन गरिएको ।

http://dhimaljatiofnepal.blogspot.com/2014/10/intangible-cultural-heritages-ich-of.html

लिम्बू आङ्बुङ, डीबी । (२०७१) । लिम्बू जातिको अर्मूत सांस्कृतिक सम्पदा संरक्षण । तान्छोप्पा २० (३) ।     ललितपुर : किरात याक्थुम चुम्लुङ । 

What is Culture? (n.d.). Retrieved on August 2, 2015, from 
 http://anthro.palomar.edu/culture/culture_1.htm

What is Intangible Cultural Heritage? (n.d.). Retrieved on August 2, 2015, form UNESCO, http://www.unesco.org/services/documentation/archives/multimedia/?id_page=13&PHPSESSID=cdf1c1b605ebc498950fa399d2ed8658   


[साभार : हिमाली आवाज (साउन २१, २०७२, पृ.२, वर्ष ३३, अंक ३) ]