Showing posts with label दशैं. Show all posts
Showing posts with label दशैं. Show all posts

Sunday, September 24, 2017

दशैंको चटारो

–यमबहादुर दुरा

'नेपाल पञ्चाङ्ग निर्णयाक समिति' को पात्रोले बेलैमा निम्तो दिए पनि लमजुङको गाउँबस्तीमा आइपुग्न दशैंले निकै गाह्रो मान्थ्यो । गाउँबस्तीका झुपडीहरूले अनेकौं आर्थिक–शारीरिक सकस बेहोरेपछि मात्र त्यो अजुरी-अटेरी दशैं झुल्कन्थ्यो । खुसी  हुनका लागि दशैं शब्द नै काफी हुने त्यसबेलाका हामी भुराभुरीलाई दशैंको आर्थिक तथा सामाजिक वास्तविकता बुझ्न डेढ–दुई दशक लाग्यो ।

तत्कालीन पहाडी समाजमा दशैं हाँसेर मनाउनुपर्ने कष्टसाध्य चाड थियो । दशैंको आगमनले केटाकेटीलाई हर्षोल्लासको बहार ल्याइदिन्थ्यो भने अभिभावकलाई बेचैनी र धपेडी । दश नङ्ग्रा खियाएर बाँच्ने अधिकांश दुःखी–दरिद्रीहरूको दशैं साँच्चै कष्टकर हुन्थ्यो ।

‘मानव विकास सूचाङ्क’ मा पुछारमै रहेको तत्कालीन नेपाली समाजमा एकाध परिवारबाहेक अधिकांशलाई दशैंको खर्च जुटाउनै गाह्रो पर्थ्यो । आर्थिक सकसमाथि दशैंले निम्त्याउने चौतर्फी चटारोको कुरा गरिसाध्य हुन्थेन । मध्यान्तरविहीन कामको सिलसिलाले थिचिएको ग्रामीण जीवनमा दशैंले थप बेफुर्सदी निम्त्याउँथ्यो   । ‘मरेको भोलिपल्ट मात्र फुर्सद हुन्छ’ भन्ने लोकोक्तिको जन्म त्यही बेलादेखि भएजस्तो लाग्छ ।

दशैं मुखमै आइपुग्दा पनि तत्कालीन पहाडी बस्तीहरूमा चामललगायतका अनाज नै हुँदैनथ्यो । लोकतन्त्र पुनःस्थापना भएको डेढ–दुई दशकमै  यो कुरा पत्याइनसक्नु एकादेशको कथा बनेको  छ । सडक सञ्जाल र खाद्य डिपोहरूको अभावमा बेसाहा खोज्न गाउँ-गाउँ डुल्नुपर्थ्यो । बेसाहा खोज्दै हिँड्दा कहिले पाटी त कहिले जंगलमा बास हुन्थ्यो । आज चामलजस्तै पैसा पनि फालाफाल छ । त्यो बेला पैसा अति दुर्लभ वस्तुमा पर्थ्यो ।


मुस्किलले एकाध सय जुटाएर बेसाहा खोज्न निस्केकाहरू घरमा  दशैं पर्खेर बसेका लालाबालालाई सम्झेर दौडन्थे । शिरमा नाम्लोको डाम बसाएर ल्याएको बेसाहाले घरमा दशैंमा बहार ल्याउँथ्यो । पाउको धूलो शिरमा र शिरको पसिना पाउमा पुर्‍याएर ल्याएको बेसाहाले ती लालाबालाको भुँडी हाँस्थ्यो ।

आज हाम्रो समाज पनि शाकाहारको रहर गर्न थालेको छ । यही समाज हो, जहाँ ‘दशैंमा पनि अघाउन्जेल मासु नखाए कहिले खाने ?’भन्ने  मान्यता थियो । अहिलेको जस्तो व्यवसायिक पशुपालन नभएको त्यस समयमा मासुको जोहो गर्न सजिलो थिएन ।

ऋणपान गरेको पैसाले मासुको व्यवस्था गर्न गाउँ–गाउँ  डुल्नुपर्ने डुल्नुपर्थ्यो । बल्लतल्ल भाउ मिलाएर ल्याइएका राँगा-भैंसीहरू कुनै तर्काहा पर्थे, बाटोघाटो केही नहेरी दगुर्ने । कुनै बँधुवा पर्थे, डेग नचल्ने । यस्तालाई साँगुरो–घुम्ती बाटो र खोला–जंघारबाट जोगाएर घरसम्म ल्याउन दाँतबाट पसिना आउँथ्यो ।

गाउँघरको दशैं उत्सवमा पिङले महत्वपूर्ण भूमिका खेल्थ्यो । गाउँका तन्नेरीहरू रोटे र लिङ्गे पिङ हाल्न एकजुट हुन्थे । हेर्दा सामान्य लागेपछि पिङ हाल्नु मामुली काम हुन्नथ्यो । पिङको रहर पूरा गर्न गाउँको एकमुष्ठ बल र सीप चाहिन्थ्यो ।

वनमा पुगेर पिङको सर्दाम काटनु, ती सर्दामलाई गाउँका बलिया–बाङगा एकजुट भई कमिलाले आहरा ओसारेजस्तो गरी ओसार्नु कम कष्टप्रद हुँदैनथ्यो । पिङ निर्माणको इञ्जिनियरिङ नमिल्दा कतिलाई त ठूलै घाउचोट लाग्थ्यो ।

माटोखानीबाट रातो माटो झिक्ने तथा खोलाखोल्साबाट कमेरो निकाल्ने, ओसार्ने  र घर लिपपोप गर्ने काम छोरीबुहारीको जिम्मामा आउँथ्यो ।  माटो झिक्न जाँदा कति त माटोको ढिस्कोले पुरिन्थे । साथीसंगीले हतार हतार उद्दार गर्थे  र बालबाल बच्थे ।

दशैंको सारा चटारो ठूलो भार छोरीबुहारीको काँधमा थुप्रिन्थ्यो । अझ बुहारीहरूलाई घरको दशैं ठिक्क पारेर माइत पनि पुग्नुपर्थ्यो, भन्टाङ–भुन्टुङ र कोसेली सम्हाल्दै ।

धन्न त्यो बेला निकै सुन्दर चलन थियो – बर्खाभर भल–बाढीले बिगारेका गौंडागल्फा र बाटोघाटोलाई दशैंको ठीक अगाडि मर्मतसम्भार गरेर पूर्ववत् अवस्थामा फर्काइएको हुन्थ्यो । अहिले भने यस्तो कल्याणकारी कामलाई सरकारको जिम्मामा छोड्ने प्रचलन बाक्लिएको छ ।

दशैं भित्र्याउन र बिदा गर्न महिलाहरूले भोग्नुपर्ने हैरानी अवर्णनीय छ । ठूलो परिवारका बुहारीका लागि त एउटा दशैं दशा बनेर आउँथ्यो । एक पटकको दशैं उतार्न पूरा एकजुनीकै मिहेनेत गर्नुपर्थ्यो ।

दिनभरिको कामको थकाइ सहँदै राति अबेरसम्मको घरधन्दा सकेर ओछ्यानमा ढल्किन नपाउँदै उठ्नेबेला भइहाल्थ्यो । भालेको डाँकभन्दा अघि नै उठेर ढिकीजाँतो नगर्ने बुहारी काजु मानिँदैनथ्यो ।  उसका उछित्तो काढ्न बेर हुँदैनथ्यो ।

घरको सिंगारपटार, ढिकीजाँतो, मेलापात र भातभान्सादेखि जाँडरक्सी उत्पादनसम्मका काम तिनको ‘ठेक्का’ मा पर्थे । घर सिंगारपटार गर्ने तथा पुरानी भर्ने क्रममा कति त माथिबाट खुर्मुरिन्थे । दशैंभरि कुना पस्थे । ऐया–आथ्यो गर्दैमा तिनको दशैं बित्थ्यो ।

पातीमा कोपिला नलाग्दै जाँडका घैंटाहरूले घरको तला-बुइगल भरिनुपर्थ्यो । पाती फुल्न थालेसँगै घरका छोरीबुहारीले एकपछि अर्को गरी जाँडरक्सीको बाहान उतार्न थाल्थे, जुन घरदेखि माइत–मामलासम्मका पुङ र गिलासमा पुग्थे, दशैंभर ।

अहिलेको जस्तो घरघरै पानीको कलधारा नजोडिएको त्यो समयमा जाँडरक्सीको बाहान उतार्न टाढा–टाढाबाट सयौं गाग्री पानी बोक्नुपर्थ्यो । शारीरिक श्रमले गलेर फतक्कै  भएका छोरीबुहारीहरू सुस्केरा हाल्थे, ‘यो दशैं भन्ने दशा त कहिल्यै नआए हुने ।’

हामी भुराभुरीलाई भने दशैं ‘आउन बेर न जान बेर’ हुन्थ्यो । जमराको टपरी पँधेरामा सेलाउन नपाउँदै एक वर्ष पर कुदिसकेको हुन्थ्यो, दशैं । हामी थक्कथक्क हुँदै दक्षिणा गन्थ्यौं, दशै पटक ।

यतिञ्जेलसम्म धेरै घरधुरीको वसालत असन्तुलित भइसकेको हुन्थ्यो । दशैंको रौनक मत्थर हुन नपाउँदै घरमुलीहरूलाई श्रीपञ्चीको भाकाले पोल्न थालिसकेको हुन्थ्यो – ‘जसोतसो दशैं त टारियो, अब ऋणको सावाँ–ब्याज कहिले चुक्ता गर्ने ?’

नेपाली समाजमा सर्वाधिक महत्व पाएको चाड दशैंले चरम आर्थिक विपन्नताले गाँजेको तत्कालीन समयमा निम्त्याएको आर्थिक र सामाजिक सकस एउटा बेग्लै अध्ययनको विषय बन्नसक्छ ।

[साभार: हिमाल (दशैं अङ्क) । असोज ८-२१, २०७४ । परिमार्जित संस्करण । ग्राफिक्स: गुगल।]

[अद्यावधिक २०७४।०७।०१]