Showing posts with label फुटबलको इतिहास. Show all posts
Showing posts with label फुटबलको इतिहास. Show all posts

Thursday, November 24, 2022

फुटबलको इतिहास

 यमबहादुर दुरा

विश्वका बहुसंख्यक खेलप्रेमीको मन लोभ्याउने शीर्षस्थ खेलमध्ये एक मानिने फुटबलको आदिम इतिहास थोरैमा दुई हजारभन्दा लामो देखिन्छ । ‘फुटबल हिस्ट्री’ वेबसाइटमा प्रकाशित एक लेखका अनुसार तीन हजार वर्षअघि प्राचीन मध्यअमेरिका (Mesoamerica) मा ढुङ्गाको बल खेलिन्थ्यो । मध्यअमेरिकका आदिवासी एजटेक्स -Aztecs) ले त्यसप्रकारको खेललाई चिटाली  (Tchatali)  भनी नामकरण गरेका थिए । ‘फुटबल हिस्ट्री’ वेबसाइटका अनुसार प्राचीन मध्यअमेरिकी संस्कृतिमा बललाई भगवानको प्रतीक मानिन्थ्यो भने खेलमा हार्ने टिमका सदस्यलाई सोही भगवानको नाममा बलि चढाइन्थ्यो । कुनै ठाउँमा त सत्रु तथा विरोधीको शिरच्छेद गरी टाउकोको फुटबल खेलिन्थ्यो भन्ने भनाइ पनि छ । यद्यपि, यसप्रकारको हिंस्रक अभ्यासलाई खेलकै रूपमा स्वीकारिएको कुनै प्रामाणिक अभिलेखचाहिँ भेटिँदैन ।

मिश्र तथा युनानमा क्रमशः ईसापूर्व २५०० तथा ईसापूर्व ४०० तिर फुटबलको आदिम अभ्यास अस्तित्वमा आएको ‘प्लेयर अन साइट’ वेबसाइटमा उल्लिखित छ । रोमेली तथा युनानीहरूले फुटबलको आदिम संस्करणलाई क्रमशः इपिस्काइरस (Episkyros) र हरपस्टम -Harpastum)  भनी नामकरण गरेका थिए । यसैगरी, अष्ट्रेलियाली आदिवासीहरूले पनि आफ्नै संस्करणका फुटबल खेल्थे, जसलाई मार्न गुक (Marn gook) भनिन्थ्यो । 

सन् १४०८ मा आएपछि मात्र बेलायत राजकुमार हेनरी चतुर्थले फुटबल भन्ने अंग्रेजी शब्द पहिलो पटक प्रयोग गरेको विश्वास गरिन्छ । रोम, युनान तथा अष्ट्रेलियामा प्रचलित फुटबलको आदिम संस्करणबारे धेरथोर चर्चा भए पनि तिनीहरूका शैलीगत पक्ष र नियमको सूक्ष्मतम् विवरणहरू भने उपलब्ध छैनन् ।

हालसम्म प्राप्त सार्वजनिक अभिलेखअनुसार इसापूर्व ३०० देखि २०० ताका चीनमा सुजु (cuju) नामले परिचित एक खेल सैनिक अभ्यासका क्रममा खेलिन्थ्यो । त्यसलाई नै बहुसंख्यक अध्येताले फुटबलको आदिम रूप मानन्छन् । त्यस समयमा छालाको बलभित्र भुवादार वस्तु तथा प्वाँस हालेर बल तयार पारिन्थ्यो भन्ने भनाइ छ । यसको गोलाइ ३० देखि ४० सेन्टिमिटर हुन्थ्यो । खेल खेल्दा खुट्टाले बल प्रहार गरिन्थ्यो । यस क्रममा छाती, पिठ्यु र काँधको प्रयोग गरिन्थ्यो । यही आधारमा यसलाई फुटबलको नजिकको पूर्वज मानिन्छ ।

कालान्तरमा सुजुको परिमार्जित संस्करणको केमरी (kemari) जापानमा प्रचलनमा आयो । चीनमा सुजु प्रचलनमा आएको लगभग छ शताब्दीपछि केमरी प्रचलन आएको अनुमान गरिएको छ, जसबारे कालक्रमगत मतभिन्नता रहिआएको छ । प्राचीन समयमा जनवारका मूत्राशय (bladder), नरिवालका डल्ला तथा यस्तै अन्य गोलाकार फल तथा वस्तुहरूलाई फुटबलका रूपमा प्रयोग गरिन्थ्यो भन्ने भनाइ छ, जुन धेरै हदसम्म तर्कसङ्गत र समयसम्मत छ ।


प्राचीन समया फुटबलका असंख्य स्थानीय संस्करणहरू भेटिन्छन् । त्यस समयमा खेलको कुनै निश्चित नियम नभएको अध्येताहरूको राय छ । कतिपयको भनाइअनुसार एउटै खेलमा १०० भन्दा बढी खेलाडी भिड्थे । खेलमा डण्डाको पनि प्रयोग गरिन्थ्यो । खेल खेल्ने क्रममा समय–समयमा मनमुटाव र झगडा पनि हुन्थ्यो । यसबाट खेलाडी घाइते हुनुका साथै हिंसात्मक झैझगडा पनि हुन्थे । परिणामस्वरूप खेलाडीको ज्यानसम्म जान्थ्यो ।

फुटबलको आदिम संस्करण संसारका कुनाकन्दरामा बाक्लै रूपमा प्रचलनमा रहे पनि यसको क्रमिक र नियमबद्ध विकास भने बेलायतमा भएको इतिहासले देखाउँछ । बेलायतमा मङ्गलबारका दिनलाई फुटबल दिवस मानिन्थ्यो । त्यस दिन दिन मानिस सारा काम छाडेर फुटबल खेल्ने र हेर्ने काममा व्यस्त हुन्थे भन्ने भनाइ छ । फुटबल खेल्ने क्रममा हुलदङ्गा तथा झैझगडा हुने गर्दथे, जसलाई  विभिन्न घटनाक्रमले पुष्टि गर्छन् । फुटबल खेलमा हुने हिंसात्मक झैझगडा र दुर्घटनालाई नियन्त्रण गर्न गर्न विभिन्न कानुनी उपायहरू पनि रचिएको पाइन्छ ।

बेलायती राजा एडवर्ड द्वितीय (सन् १२८४–१३३७) ले १३१४ मा फुटबलमा खेलमा प्रतिबन्ध पाइन्छ । यसपछि उनका उत्तराधिकारी एडवर्ड तृतीय (सन् १३१२–१३७७) ले सन् १३४९ फुटबलखेलमाथि नै प्रतिबन्ध लगाएको इतिहास भेटिन्छ । पछि फुटबल ऐन अन्तर्गत १४२४ मा फुटबल खेलमाथि प्रतिबन्ध लगाएको थियो । तत्कालीन बेलायती महारानी एलिजाबेथ प्रथम (सन् १५३३–१६०३) ले पनि फुटबलमाथिको प्रतिबन्ध जारी राखेको पाइन्छ । खेलमा प्रतिबन्ध लागे पनि अटेर गरी भूमिगत रूपमा खेल्ने परिपाटी भने कायमै रह्यो । सन् १६०५ आएरमात्र बेलायतमा फुटबलले कानुनी मान्यता प्राप्त गरेको देखिन्छ । 

ईश्वीको १९ औँ शताब्दीको पूर्वाद्र्धतिर बेलायतका विद्यालय तथा कलेजहरूमा फुटबल खेल लोकप्रिय भइसकेको पाइन्छ । १८१५ मा बेलायतको इटन कलेजले फुटबल खेलको नियम बनायो । समयक्रममा फुटबल टिमहरू पनि सङ्गठित हुँदै गए र समयानुकूल नियमहरू बन्दै गए । सन् १८५७ मा ‘सेफिल्ड फुटबल’ स्थापना भयो, जुन संसारको सबैभन्दा पुरानो जीवित र सक्रिय फुटबल क्लब हो । यस क्लब फुटबल जगतमा गतिलो ब्रान्ड बन्न पुगेको छ । फुटबलसम्बन्धी घटनाक्रम विकास हुँदै जाँदा सन् १९६३ मा लण्डनमा ‘फुटबल असोसिएसन’ भयो । यससँगै फुटबलको स्थानीय नियमहरूलाई परिमार्जन गरी थप स्पष्ट र दरिलो बनाउने कार्य शुरु भयो  । 

फुटबलको पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा ३० नोभेम्बर १८७२ मा इङल्याण्ड र स्कटल्याण्डबीच भयो । ग्लास्गो शहरको क्वीनन्स पार्क स्टेडियममा सम्पन्न त्यस म्याच बराबरीमा टुङ्गिएको थियो, जुन चार हजार दर्शकले हेरेका थिए भन्ने भनाइ छ । सन् १८८३ मा पहिलो बहुपक्षीय (धेरै टिम प्रतिस्पर्धी रहेको) खेल भएको थियो, जसमा आयरल्याण्ड, इङल्याण्ड, स्कटल्याण्ड र वेल्सका टिमले भाग लिएका थिए । 

समयक्रममा फुटबलको विश्व संस्थाको रूपमा १२ मे १९०४ विश्व फुटबल महासङ्घ (फिफा) स्थापना भयो, जसमा शुरुमा फ्रान्स, बेल्जियम, डेनमार्क, नेदरल्याण्ड्स, स्पेन, स्वीडेन र स्विटजरल्याण्डको सहभागिता थियो यसको मुख्यालय स्विटजरल्याण्डको ज्युरिखमा रहेको छ । यसको स्थापना भने फ्रान्सको राजधानी पेरिसमा भएको थियो । 

फिफाको सदस्य राष्ट्रहरूको संख्या १११ छ, जुन संयुक्त राष्ट्रङ्घको सदस्य राष्ट्रभन्दा बढी हो । हालसम्म संयुक्त राष्ट्रङ्घको सदस्य राष्ट्रहरूको संख्या कुल संख्या १९३ मात्र रहेको छ । यो एउटा रोचक पक्ष हो, जसले फुटबलको सर्वव्यापकता र लोकप्रियतालाई उजागर गर्छ । यसले हरेक चार वर्षमा फिफा विश्वकप आयोजना गर्छ । यस वर्ष विश्वकपको बाइसौँ शृङ्खला कतारको राजधानी हुने तरखरमा छ ।

फुटबल दङ्गा

खेलकुदलाई मैत्रीभाव विकास गर्ने कडी मान्ने गरिन्छ । यति हुँदाहुँदै पनि फुटबलको इतिहास यस्ता थुप्रै तीता प्रसङ्गहरू छन्, जसमा कुटपिट, झैझगडा र मृत्युका पीडादायी शृङ्खला भेटिन्छन् । फुटबल म्याचमा पैदा हुने झैझगडा र हुलदङ्गाको अभिलेखीकरण कहिलेदेखि भयो भन्नेबारे कुनै यकिन अभिलेख भेटिँदैन । तर, फुटबलसम्बन्धी हुलदङ्गालाई दर्साउने शब्दावली फुटबल हुलिगनिजम् (football hooliganism) भन्ने शब्दावली ईश्वीको १९ औँ शताब्दीमा आएरमात्र प्रयोगमा आएको पाइन्छ । 

फुटबल म्याचमा सामान्यदेखि हिंस्रक हुलदङ्गाका असंख्य दृष्टान्तहरू छन् । हालै (अक्टोबर, २०२२) मा इन्डोनेशियाको पूर्वी जाभास्थित फुटबल रङ्गशालामा दुई टिमका समर्थकबीच भएको दङ्गा–फसादमा १२५ भन्दा बढीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । विगतदेखि नै इन्डोनेशिया फुटबलसम्बन्धी दङ्गा–फसादका लागि कुख्यात मानिँदै आएको छ । 

इन्डोनेशिया त एउटा दृष्टान्तमात्र हो, संसारका धेरै भागमा यस्ता दङ्गा–फसाद भइरहन्छ । यसै वर्ष गत जनवरीमा क्यामरुनमा सम्पन्न ‘अफ्रिकन कप अब् नेसन्स’ मा दङ्गा भड्कँदा आठजनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएका थिए । सन् २०१२ मा इजिप्टमा आयोजित फुटबल प्रतियोगितमा दङ्गा मच्चिँदा ७३ जनाको ज्यान जानुका साथै एक हजार जति घाइते भएका थिए । सन् २००९ मा आइभोरी कोष्टमा आयोजित म्याचमा भागदौड मच्चिँदा १९ जनाको मृत्यु भएको थियो । 

यसैगरी, २००१ मा घानाको राजधानी अक्रास्थित फुटबल रङ्गशालामा दुई विरोधी गुटहरूबीच भैmझगडा हुँदा १२० जनाको ज्यान गएको थियो । सोही वर्ष दक्षिण अफ्रिकी शहर जोहानेसवर्गस्थित एलिस पार्क रङ्गशालामा सञ्चालित फुटबल म्याचमा झगडा मच्चिँदा ४३ जनाको ज्यान गएको थियो ।

सन् १९९६ मा ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीमा आयोजित फुटबल म्याचमा विरोधी गुटहरूबीच कुटपिट हुँदा ८० जनाको मृत्यु भएको थियो । सन् १९९१ मा दक्षिण अफ्रिकामा आयोजित फुटबल म्याचमा हमला हमला भएपछि भागदौड चल्दा ४२ जनाको मृत्यु भएको थियो । सन् १९८९ मा बेलायतको हिल्सबोरोह रङ्गशालामा अनपेक्षित भीड बढ्दा मच्चिएको भागदौडमा ९६ जनाको ज्यान गएको थियो । सन् १९८५ मा बेल्जियमको राजधानी ब्रसेल्स आयोजित युरोपिन कपको फाइनलमा हिंसा मच्चिँदा ३९ जनाले ज्यान गुमाएका थिए । 

यहाँ प्रस्तुत गरिएका घटनाहरू फुटबलसम्बन्धी दङ्गा–फसादका केही दृष्टान्तमात्र हुन् । विभिन्न कालखण्डमा विश्वका विभिन्न कुनामा साना–ठूला थुप्रै दङ्गा–फसादका भएका छन् । ती सबै दङ्गा–फसादका न यथार्थ विवरण उपलब्ध छ, न त ती सबैको यकिन विवरण पस्कन नै सम्भव छ । 

फुटबल दुर्घटना

सन् १९९२ मा फ्रान्समा फ्रेञ्च कपको सेमिफाइनल भइरहेको बेला फुरियानी स्टेडियम भत्कँदा १८ जनाको ज्यान जानुका साथै दुई हजारभन्दा बढी घाइते भएका थिए । सन् १९८५ मा बेलायतको भ्याली परेड रङ्गशालामा फुटबल म्याच चलिरहँदा आगलागी हुन गई ५६ जनाको ज्यान गएको थियो । 

सन् १९८५ मा युरोपियन कप शुरु लागेको बेलामा बेल्जियमको राजधानी ब्रसेल्समा रङ्गशालाको पर्खाल खस्दा १४ इटालेली समर्थकहरूले ज्यान गुमाउनु परेको थियो । बेलायतको ब्राडफोर्ड सिटीमा म्याच चलिरहँदा एकजना फुटबल फ्यानले असावधानीपूर्ण तरिकाले चुरोटको ठूटो फालिदिँदा आगलागी भयो, जसबाट ५६ जनाको मृत्यु भएको थियो ।

फुटबल म्याचसम्बन्धी अनिष्टकारी घटनामा नेपालको पनि हिस्सेदारी रहेको छ । २०४४ साल फागुन २९ गते (मार्च १२, १९८८) काठमाडौँस्थित दशरथ रङ्गशालामा जनकपुर चुरोट कारखाना र छिमेकी मुलुक बङ्गलादेशको मुक्तिजोद्धा क्लबबीच प्रतिस्पर्धा चलिरहेको थियो । त्यही समयमा भयानक हावाहुरी तथा असिनापानी आएपछि भागदौड चलेको थियो । सोही क्रममा ९३ जनाले ज्यान गुमाएका थिए । त्यस घटनापछि तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री केशरबहादुर विष्टले नैतिकताका आधारमा राजीनामा दिएका थिए । 

सन् १९५८ मा म्यान्चेष्टर युनाइटेड युरोपियन युरोपियन कपमा सहभागी भई घर फर्कने क्रममा म्युनिखस्थित एयरपोर्टमा इन्धन भरेर उड्ने क्रममा धावनमार्गमा जहाज चिप्लिएर दुर्घटना हुँदा २३ जनाको निधन भएको थियो । फुटबल खेलका क्रममा भएका यस्ता दुःखददायी दुर्घटना केही उदाहरणमात्र हुन् । फुटबल खेलको इतिहासमा यस्ता दुःखदायी घटनाहरूको सूची लामो छ । 

नेपालमा फुटबल

फुटबल नेपालको रैथाने खेल नभए पनि नेपालमा फुटबलको क्रेज कम छैन । विगतदेखि नै नेपालमा फुटबलप्रेमीहरू भेटिन्छन् । विपन्न गाउँबस्तीमा कलिला बच्चाले भोगटेको डल्ला तथा मोजाको फुटबल खेल्ने चलन नयाँ होइन । नेपालमा भारत हुँदै फुटबल खेल भित्रिएको देखिन्छ । नेपालका राणा शासक र भारतमा शासनरत अंग्रेजबीच राम्रो सम्बन्ध थियो । नेपालका खानदानी वर्गले तिनै अंग्रेजहरूबाट फुटबल सिकेको हुनुपर्छ । 

नेपालमा खेलकुदको व्यवस्थित अभिलेख नभएकाले फुटबललगायतका खेलका इतिहास बहुधा अपूरो र विवादास्पद देखिन्छ । गोविन्द रेग्मीले अन्नपूर्ण पोष्ट (चैत १७, २०७४) मा लेखेअनुसार भारत पढ्न गएका नक्सालका सूर्यजङ्ग थापा र ठमेलका नारायणनरसिंह राणाले वि.सं. १९७० मा नेपालमा फुटबल खेल भित्र्याएको थिए । त्यसो त, गाउँबस्तीमा फुटबल खेल भित्र्याउने कार्यमा लाहुरे समुदायको अपरिमित योगदान छ ।

अनौपचारिक स्रोतका अनुसार सन् १९३४ तिरै नेपालमा महवीर ११, जावलाखेल ११, एनआरटी ११ जस्ता फुटबल क्लबहरूको स्थापना भएका थिए । सन् १९४७ मा पदमशमशेरको आदेशमा मदनशमशेरको अगुवाइमा फुटबल समिति गठन भयो । वि.सं. २०११ सालमा ‘शहीद स्मारक ट्रफी’ स्थापना भएको थियो ।

२००८ साल (सन् १९५१) मा नेपालका फुटबल खेलाडीहरूको छाता सङ्ठन ‘अखिल नेपाल फुटबल सङ्घ’ स्थापना भयो । यसले एशियाली फुटबल महासङ्घ, फिफा तथा दक्षिण एशियाली फुटबल सङ्घबाट क्रमशः सन् १९५४, १९७२ र १९९७ मा मान्यता प्राप्त गरेको थियो । नेपालमा नेपालमा स्थानीय तथा राष्ट्रियस्तरका थुप्रै फुटबल टिम गठन भएका छन् ।

नरशमशेर २०२१ सालमा काठमाडौँ र विराटनगरका खेलाडीलाई समावेश गरी तत्कालीन पाकिस्तानको ढाकामा आगाखाँ वर्ल्ड  कप नेपालको सहभागिता जनाए । आरबी सिंहको कप्तानीमा भएको त्यस खेल नेपाल सहभागी भएको पहिलो अन्तर्राष्ट्रिय म्याच थियो ।  २०२७ सालमा अच्युतकृष्ण खरेलको कप्तानीमा नेपालमा आगाखाँ वर्ल्ड  कपमा सहभागी भएको थियो । यसपछि नेपालले विभिन्न देशमा भएका अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आएको छ । 

हालका दिनमा कभर्ड हलभित्र खेलिने फुटबलको अर्काे संस्करण फुटसल शौखिन खेलाडीहरूबीच निकै लोकप्रिय बन्दै गएको छ । यी विवरण त नेपाली नेपाली फुटबलको संक्षिप्त इतिहासमात्र हो । यसको इतिहास विस्तृत र यथार्थ इतिहास लेखिन बाँकी नै छ ।

फुटबलको विकासक्रमको समयरेखा

ईपू दोस्रो वा तेस्रो शताब्दी : चिनियाँ सेनाद्वारा फुटबलको आदिम रूप आविष्कार

१४२४ः स्कटल्याण्डका राजा जेम्स प्रथमद्वारा फुटबलसम्बन्धी नियम अनुमोदन ।

१८६३ः बेलायतमा फुटबल असोसिएसन गठन ।

१८६४ः हातले छोएमा ह्याण्ड हुने व्यवस्था ।

१८७०ः एक टिममा ११ खेलाडी हुनुपर्ने नियम ।

१८७४ः गोल किक र कर्नर किकको नियम ।

१८७५ः पहिलो पटक गोल पोष्टको व्यवस्था ।

१८७७ः फुटबलसम्बन्धी नियम अनुमोदन ।

१८७८ः रेफ्रीद्वारा पहिलो पटक सिटीको प्रयोग 

१८८६ः अफसाइडसम्बन्धी नियममा परिवर्तन

१८८८ः फुटबल लिग गठन ।

१८८८ः पेनाल्टी किकको व्यवस्था ।

१८९५ः महिलाको पहिलो फुटबल प्रतियोगिता ।

१८९१ः लाइनम्यानको व्यवस्था ।

१८९२ः गोलपोष्टमा जाली राख्नुपर्ने नियम लागू ।

१९००ः पहिलो पटक फुटबललाई ओलम्पिक खेलमा सामेल (फ्रान्स, पेरिस) ।

१९०९ः गोलकिपरलाई बेग्लै रङको पोशाक  हुनुपर्ने नियम 

१९३०ः पहिलो पटक फिफा विश्वकप (उरुग्गेको राजधानी मन्टिभिडियो) । 

१९३९ः खेलाडीले नम्बरयुक्त जर्सी लगाउनुपर्ने नियम लागू ।

१९५४ः एशियाली फुटबल महासङ्घ (एफसी) को स्थापना ।

१९६०ः प्रथम युरोपियन च्याम्पियसिप (युरोपिन नेसन्स कप)

१९६६ः फिफा विश्वकपमा पहिलो पटक शुभसङ्केत जनाउने चिह्न (mascot) प्रयोग ।

१९७०ः फिफा विश्वकपमा रातो तथा पहेँलो कार्डको व्यवस्था ।

१९९१ः महिला विश्वकपको प्रारम्भ

(स्रोतः फिफा, फुटबल स्टेडियम्स, टपइण्ड स्पोर्टस् तथा प्लेयर अन साइट ।)

[युवामञ्च । मङ्सिर २०७९ । 'जतिबेला टाउकोको फुटबल खेलिन्थ्यो' शीर्षकमा प्रकाशित । परिमार्जित संस्करण । ]