Showing posts with label बहस. Show all posts
Showing posts with label बहस. Show all posts

Monday, October 12, 2015

जातीयताप्रति सच्याउनुपर्ने दृष्टिकोण


–यमबहादुर दुरा

यतिबेला नेपालमा जातभातको कुरा गर्नु भनेको आफूले आफैंलाई भयानक अपराधी बरकरार गर्नुजस्तै भएको छ । जातीय प्रसंग निकाल्नेलाई जातीय सद्भाव बिथोल्ने र देश टुक्रयाउने खेलमा संलग्न खलनायकको रूपमा हेर्ने गरिन्छ । पञ्चायत कालमा सत्तापक्षधरले बहुदल पक्षधरलाई ‘अराष्ट्रिय तत्व’ भनेर भर्त्सना गर्थे । हो, अहिले जातीय कुरा गर्नेलाई यस्तै आशयको शब्दावली प्रयोग गरेर कटाक्ष गरिन्छ । यहाँ सांस्कृतिक अधिकारको प्रसंग उठाउनेलाई नश्लवादी भनेर टिप्पणी गरिन्छ ।
तस्बिर : गुगल

अब प्रश्न उठ्छ, जातीय कुरा उठाउने र जातीय कुरा सुन्नै नचाहनेबीच कुन किसिमको मतभिन्नता छ, जसले यो विरोधाभासपूर्ण अवस्था सिर्जना गरेको छ ? यो प्रश्नको उत्तर खोज्दै जाँदा यसमा नेपाली समाजमा दुइटा पक्ष भेटिन्छ – एउटा हिन्दू अहङ्कारवादबाट ग्रसित वर्ग र अर्को कुनै समयमा सांस्कृतिक अधिकार खोसिएको वर्ग । यी दुई वर्गबीचको वैचारिक टकरावले अहिलेको अवस्था आएको देखिन्छ ।

समाज विकासको क्रमलाई नियाल्ने हो भने हरेक समाजमा 'इथ्नोसेन्ट्रिजम्' (आफ्नो संस्कृतिमात्र ठीक र अरूको संस्कृति बेठीक लाग्ने मनोवृत्ति) विद्यमान देखिन्छ । लामो कालखण्डसम्म 'हिन्दू' नै राज्यधर्म  भएको नेपाली समाज यसको अपवाद बन्न सक्तैन । सरसर्ती हेर्दा पहिलो वर्ग पुरातनपन्थी देखिन्छ । यो वर्गले हिन्दू धर्मलाई सबथोक देख्छ । युगौंदेखि जीवनशैलीको रुपमा रहिआएको धर्म प्यारो लाग्नु अस्वाभाविक होइन  ।  तर आफूले मानिएको संस्कृतिलाई मात्र सबथोक मान्दा समाजका अन्य समुदायमा अन्यायमा पर्छन् भन्ने ख्याल गरिँदैन । यो सोंचनीय पक्ष हो ।

तस्बिर : गुगल
इतिहासलाई नियाल्ने हो भने पहिलो वर्गले सांस्कृतिक रूपमा राज्यबाट बढी संरक्षण पाएको छ भने दोस्रो वर्गले कम । विगतमा हिन्दू धर्मग्रन्थमा आधारित शिक्षा पद्धति र संस्कृत भाषालाई राज्यले विशेष स्थान दियो ।अन्यथा अर्थ नलागोस्, कुनै समयमा हिन्दू धर्मग्रन्थमा आधारित शिक्षा पद्धति (संस्कृत पाठशाला)  मा बाहुनलाई मात्र विशेष सुविधासहित प्रवेश दिएको तथ्य छिपेको छैन । यो त राज्यले गरेको विभेदको एउटा दृष्टान्तमात्र हो ।

राज्यले गरेको विभेदको श्रृङ्खला लामो छ । पञ्चायती व्यवस्थाले अपनाएको ‘एक भाषा, एक भेष’ को नीति अपनायो । यसले सांस्कृतिक विभेदको खाडललाई झन डरलाग्दो बनाइदियो । पञ्चायतले शेतामुराली (शेर्पा, तामाङ, राई, मगर, गुरुङ, राई र लिम्बू) लाई मातृभाषा बोल्न नदिनू भनेर अघोषित उर्दी जारी गरेको तथ्य हरेक समझदार नेपालीको नजरमा लुकेको छैन ।

यो उर्दी प्रतीकात्मक थियो र यसले 'शेतामुगराली' बाहेक अन्य समुदायको सांस्कृतिक अधिकार खोस्न सहयोग गर्‍यो  । राज्यले गरेको भेदवावको ज्वलन्त दृष्टान्त हो यो । यसो भनिरहँदा बाहुन र संस्कृत भाषाका विपक्षमा उभिएको अर्थ नलागोस् । बाहुनलगायत सबै जात र संस्कृतलगायत सबै राष्ट्रभाषाको उचित सम्मान हुनुपर्छ । समतामूलक र सहअस्तित्वपूर्ण समाज समयको माग हो ।

लोकतान्त्रिक मान्यताअनुसार सबै जाति, वर्ग र समुदाय समान हुन् । त्यसकारण जातभातको कुरा गर्नु उचित ठानिँदैन । तर विगतका तमाम विभेदहरूबाट थिलोथिलो भएको नेपाली समाज जातीय कुरा नगरी सुखै छैन । यसका पछाडि देशको सामाजिक र राजनीतिक प्रणाली जिम्मेवार छन् । प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले १९१० सालमा जारी गरेको 'मुलुकी ऐन' जातिपातीमा आधारित व्यवस्था थियो । त्यसले नेपाली समाजलाई बढी मात्रामा जातभातको कुरा गर्न सिकायो । कालान्तरमा छोइछिटो, जातीय उच–नीचदेखिका तमाम भेदभावपूर्ण परिपाटी नै जीवनशैली बन्यो ।  हिन्दू संकीर्णता र हिन्दू अहङ्कारमा आधारित 'मुलुकी ऐन' यसको  कारक तत्व बन्न पुग्यो ।

यसप्रकारको चरम विभेदकारी राज्य व्यवस्थाको अवशेष अझै पनि कायमै छ । लोकतन्त्र आएपछि व्यक्त वा अव्यक्त एवम् प्रत्यक्ष वा परोक्ष रूपमा विभेद जारी छ । विभेदका छिटा अहिलेसम्म पनि पखालिएको छैन । विभेदको ‘ग्लास सिलिङ’ कायमै छ । यसलाई चिर्न पनि जातभातको प्रसंग अघि नसारी सुखै छैन । जातीय विभेदविरुद्ध उभिन जातीय कुरा गर्नैपर्ने अवस्था छ । आगोले पोलेको घाउ आगोमै सेकाउँदा निको हुन्छ भन्ने  भनाइ यहाँनेर प्रासंगिक हुन आउँछ  ।

नेपालमा मात्र होइन, अमेरिकाजस्तो विश्वको विकसित र सर्वशक्तिवान् मुलुकमा पनि जात (रेस) को प्रसंग आजपर्यन्त सान्दर्भिक मानिन्छ । यस सम्बन्धमा एउटा दृष्टान्त पेश गर्न सकिन्छ । सन् १९७८ मा हार्वाड विश्वविद्यालयका प्राध्यापक विलियम जुलियस विल्सनले ‘द डिक्लाइनिङ इम्पोटेन्स अफ रेस’ (नश्लको घट्दो महत्व) शीर्षकमा लेख लेखे । ‘सोसाइटी’ नामक जर्नल लेखिएको लेखमा आर्थिक प्रगतिसँँगै नश्लका कुरा निस्तेज भएर जान्छ भन्ने तर्क गरिएको थियो ।

लेख छापिएपछि प्राध्यापक विलियम जुलियस विल्सनले कटु आलोचना खेप्नुपर्‍यो  । उनको तर्कलाई चुनौती दिँदै अर्का प्राध्यापक चाल्स  विलीले ‘सोसाइटी’ जर्नलमै ‘द इनक्लाइनिङ इम्पोटेन्स अफ रेस’ (नश्लको बढ्दो महत्व) शीर्षकमा अर्को लेख लेखे । उनको तर्क थियो, अमेरिकामा रहेका अश्वेत र अन्य अल्पसंख्यक समुदायमाथि विभेदपूर्ण व्यवहार कायमै रहेकाले नश्लको महत्व घटेको छैन, बढिरहेको छ ।

यो सन्दर्भ नेपालमा पनि उत्तिकै प्रासंगिक छ । यहाँनेर नेपाली समाजको संरचना बुझ्नु आवश्यक छ । नेपाल जापानजस्तो एक भाषा र एक धर्म भएको देश होइन । योे बहुसांस्कृतिक मुलुक हो । त्यसैले यसको परिचय पनि बहुसांस्कृतिक छ । नेपालको मूल (राष्ट्रिय) संस्कृति विभिन्न उपसंस्कृति (जातजाति) हरूको गठजोडबाट बनेको छ ।

राष्ट्रिय संस्कृतिलाई बलियो बनाउन उपसंस्कृतिहरूलाई सम्हालेर राख्नुपर्ने हुन्छ । यही मान्यतालाई आत्मासात गर्दै लोकसाहित्यविद सत्यमोहन जोशीले टेलिभिजन अन्तरवार्तामा भनेका छन्, ‘नेपालको सांस्कृतिक विविधतामा राष्ट्रिय एकता अडेको छ ।’

विविध जातजाति, भाषाभाषी र सम्प्रदायलाई एउटै सूत्रमा बाँध्न नसक्ने हो र उनीहरूलाई राज्यले सम्मानजनक व्यवहार नगर्ने भने देशको राष्ट्रिय एकता छिन्नभिन्न हुने डर रहन्छ । देशको सांस्कृतिक विविधतलाई सम्पत्तिको रूपमा ग्रहण गर्नु र उपसंस्कृतिहरूलाई एउटै सूत्रमा बाँध्ने कार्यमा प्रयत्नशील हुनु राज्यको दायित्व हो ।

हामीकहाँ सबैलाई समान दृष्टिले हेर्न नसक्ने र अरूको अस्तित्वलाई स्वीकार्न नसक्ने वर्ग छ । त्यो वर्गले अरूलाई नश्लवादी देख्छ । दोषारोपण गरेको अर्थ नलागोस्, अरूलाई नश्लवादी देख्ने  त्यही वर्ग नै सबैभन्दा भयानक नश्लवादी हो । अरुलाई मात्र नश्लवादी देख्ने परिपाटीले  राष्ट्रिय एकतामा धक्का पुर्‍याइरहेको छ ।

देशको सांस्कृतिक विविधतालाई ख्यालै नगरी हामीले हिन्दू धर्मलाई मात्रै उच्च प्राथमितकता दिनुपर्छ भन्ने मान्यता राख्ने हो भने भूटानमा नेपालीभाषीहरूमाथि भएको अत्याचारबारे बोल्ने नैतिक हैसियत हामीसँग रहँदैन । किनभने त्यहाँका निरंकुश शासकको दृष्टिमा राज्यधर्मको रहेको 'बौद्ध धर्म' सबथोक हो । त्यसैले हामीले आफ्नो दृष्टिकोण सच्याउनुपर्ने बेला आएको छ ।

जातीय आधारमा संघीय प्रदेशको नामाकरणबारे चुलिएको विवादको चुरो पनि यहीँनेर छ । विगतमा सांस्कृतिक हिंसा भोगेका समुदायको सम्मान गर्दै कुनै उपयुक्त संघीय प्रदेशको नामकरण त्यस जातिको नाममा राख्दा देश टुक्रिँदैन । बरू यसबाट सम्बन्धित जातिले आत्मासम्मान प्राप्त गरेको अनुभूति गर्छ । यसबाट राष्ट्रिय एकता खण्डित होइन, बलियो हुन्छ ।

एकथरिमा गम्भीर आशंका छ, कुनै खास जातिको नामबाट प्रदेशको नामाकरण भएमा अन्य जातिका मानिसहरू धपाइन्छन् । कुनै प्रदेशको नाम कुनै खास जातिको नामबाट राख्दैमा त्यहाँ बसोबास गर्ने अन्य समुदायका मानिस मध्यकालीन समयमा देश निकाला गरेजस्तै गरी धपाइन्छ र तिनका तमाम अधिकार कटौती हुन्छन् भन्ने सोंच्नु गलत हो ।

एक्काइसौं शताब्दीको राज्यव्यवस्था मध्ययुगीन शासन व्यवस्थाजस्तो क्रूर हुन्छ भनेर कसैले पनि कल्पना गर्न सक्तैन । संघीय प्रदेशभित्र अल्पसंख्यक रूपमा रहेका समुदायलाई अझ बढी अधिकार दिनु र तिनलाई सम्मानजनक जीवनयापन गर्न दिनु सम्बन्धित प्रदेशको जिम्मेवारी रहन्छ ।

नेपालमा राज्य संरचनाको बहस उत्कर्षमा पुगिरहेको बेला नेपाली समाज जातीय राज्यको विषयमा नराम्ररी विभाजित छ । रोचक कुरा के छ भने यो विभाजन ज्ञानले भन्दा पनि अज्ञानताले निर्देशित छ । नेताहरूले दिन सार्वजनिक अभिव्यक्ति, चियापसलमा हुने गफ, सार्वजनिक सवारी साधनमा हुने संवाद एवम् सामाजिक सञ्जालमा देखापर्ने टीका–टिप्पणीहरूलाई आधार मान्दा जातीयतासम्बन्धी बहस धेरै हदसम्म हल्ला र अवास्तविक सूचनाबाट निर्देशित छ भन्ने निष्कर्ष निकाल्न कठिन छैन ।

धेरैले ‘फेसबुक’ मा सेयर गरेको एउटा स्ट्याटस छ, ‘म फलानो जाति, म ढिस्कानो जाति, मलाई जातीय राज्य चाहिँदैन, मलाई सिंगो नेपाल चाहिन्छ ।’ यो स्ट्याटस पढ्दा यस्तो लाग्छ, जातीय संघीयताको चाहना राख्नेको मूल काम भनेको देश टुक्रयाउनु नै हो र जातीय आधारमा प्रदेश बन्नेबित्तिकै देश छिन्नभिन्न भइहाल्छ । वास्तविकता के हो भने एकाध पृथकतावादीले बाहेक कुनै पनि जातजातिले आजसम्म नेपाल टुक्रिनुपर्छ भनेका छैनन् । बरू तिनले राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्छ भन्दै आएका छन् ।

तर्क गरिन्छ, ‘नेपालमा एक सय २५ जातजाति छन् । के ती सबैलाई बिलो लगाएजस्तो गरी एउटा–एउटा राज्य दिन सकिन्छ ?'  कुरा स्पष्ट छ : न सबै जातिले राज्य मागेका छन्, न त सबैलाई राज्य दिन मिल्छ । यो भागबण्डाको कुरा होइन, पहिचान र आत्मासम्मान विषय हो । प्रदेशको नामाकरण गर्दा मिल्दासम्म र सम्भव हुँदासम्म विगतमा विभेदमा परेका कुनै जात (समुदाय) लाई आत्मसम्मान अनुभूत गर्ने अवसर दिऔं भन्नेमात्र हो । यसो गर्दा देशको विविधता व्यवस्थापनमा सहयोग पुग्छ ।

कुनै ठाउँको नाम जातको नाममा आएको कारणले नेपाली भाइबन्धुबीच झै-झगडा भएको कुनै इतिहास छैन । दुराडाँडा, दुराथोक, बाहुनडाँडा, जैशीथोक, बोहोराटार यसका दृष्टान्त हुन् । यस्ता अनगिन्ती स्थानीय नाम छन्, जसले जातीय पहिचानसँग गहिरो नाता गाँस्छन् ।जातीय पहिचानकै साइनोपातले गर्दा दुराडाँडाका बासिन्दा भन्न पाउँदा त्यहाँका बाहुनहरू गर्व गर्छन् । यसप्रकारको सदभावपूर्ण सांस्कृतिक परिवेशलाई हामीले बिर्सनु हुँदैन ।

संघीयताको अवधारणा आउनुभन्दा युगौं अघिदेखि जातीय पहिचान झल्कने स्थाननाम र विविध समुदायबीच ममतापूर्ण सम्बन्ध अस्तित्वमा छन् । जातिको नामबाट आएका ठाउँको नाम एकप्रकारले ‘मानका खाँतिर मान’ मात्र हो । रामेछापको एउटा गाविसको नाम नै ‘दुरा गाउँ’ हो । हाल त्यहाँ दुरा समुदायको बसोबास नै छैन । यस्ता नामले कुनै पनि समुदायको कुभलो गरेका छैनन्, बरू देशको सांस्कृतिक विविधतालाई उजागर गरेका छन् । त्यसैले मनमा जातीयताको भूत पालेर बस्नु अर्थहीन छ ।

नेपालको जातीय विषयलाई बिनाकारण जटिल बनाइँदैछ । जातीय प्रसंगलाई एउटा भयानक अपशकुनको रूपमा चित्रण गरिँदैछ । नेपाली समाजको बनोटलाई राम्रोसँग बुझ्ने हो भने यसलाई अपशकुन  ठान्नुपर्ने कुनै कारण छैन । आफूलाई सामाजिक न्याय र सांस्कृतिक अधिकारका पक्षमा उभ्याउने जोकोहीले जातीयताप्रतिको दृष्टिकोण सच्याउन आवश्यक छ । यसबाट विभेदको ‘ग्लास सिलिङ’ तोड्न र देशमा सामाजिक सदभाव कायम राख्न सहयोग पुग्नेछ ।

[साभार: इन्डिजिनियस भ्वाइस (असोज २५, २०७२ )। परिमार्जित संस्करण]