Showing posts with label लघुसिनेमा. Show all posts
Showing posts with label लघुसिनेमा. Show all posts

Thursday, August 11, 2022

छोटो भिडियोको संसार

 –यमबहादुर दुरा

डिजिटल युगको तामझामपूर्ण माहोलमा टिकटकको नाम नसुन्ने शायदै कोही होला । दुनियाँका सामु सर्वपरिचित टिकटकलाई ‘प्रतिभा–डबली’ भन्दा पनि फरक नपर्ला । किनभने यसले कलापारखीका लागि प्रतिभा प्रदर्शन गर्ने गतिलो डबली दिएको छ । 

प्रतिभा प्रष्फुटनको अवसर नपाएका कलापारखीलाई रङ्गमञ्च दिएर प्रतिभा अङ्कुरणमा गुन लगाउने टिकटकको गुनिलो देन बिर्सिनसक्नुको छ । यसले सामान्य नागरिकलाई सेलिब्रिटी बनाउने काम गर्दै आएको छ । यसबाट एउटा सामान्य व्यक्तिको परिचय रातारात बदलिन पुगेको छ, जसबाट समाजमा एकप्रकारको हलचल नै आएको छ ।

टिकटकले ल्याएको हलचललाई छोटो भिडियोको युग शुरु भइसकेको सङ्केतको रूपमा पनि लिन सकिन्छ । सामान्य नागरिकको पहुँचमा नभएका स्टुडियोमा निर्मित लामा–लामा भिडियोको आधिपत्य भइरहेको बेलामा सर्वसाधारणको सहज पहुँचमा रहेका छोटा भिडियो एपहरू अस्तित्वमा आएपछि भिडियोजगतको परिदृश्य पूरापुर बदलिएको छ । 

आजकल टिकटकजस्ता सैयौँ छोटो भिडियो एप (डबली) हरू अस्तित्वमा छन् । टिककिक, इन्स्टाग्राम रिल, हिप्पो भिडियो, मेजिस्टो, विस्टिया, फनीमेट, बाइट, भिडियो स्टार, फायरवर्क, लिटलट, ब्युटी भिडियो, जुमर्‍याङ, चिज आदि टिकटकजस्तै छोटो भिडियो डबलीहरू हुन्, जसमार्फत्  हजारौँले आफ्ना प्रतिभा प्रदर्शन गरिरहेका छन् ।

भिडियो ट्रान्सलेटर नामक वेबसाइटमा प्रकाशित एक लेखका अनुसार चर्चित छोटो भिडियो प्ल्याटफर्ममा भिगो भिडियो, टिकटक, लाइकी, म्याजिस्टो लास्सो, भिभा भिडियो, ट्वीच, इन्स्टाग्राम पर्छन् । यीमध्ये लाइकी, इन्स्टाग्राम, टिकटक, भिभो भिडियोले लाइभस्ट्रिमिङको सुविधा पनि दिएका छन् । 

कतिपय देशमा छोटो भिडियोका आफ्नै संस्करणहरू छन् । भिडियोसाइफर नामक वेबसाइटमा प्रकाशित एक लेखमा जनाइएअनुसार छिमेकी मुलुक भारतमा मिट्रन, मोजो, चिङ्गारी, जोश, टिककिट, सेयरच्याट, लिटलट, रोपोसो जस्ता छोटो भिडियो प्ल्याटफर्महरू चल्तीमा छन् ।

परिभाषा

छोटो भिडियो प्रसङ्ग कोट्याउँदा एउटा प्रश्न आउँछ, कति लम्बाइ भएको भिडियोलाई छोटो भिडियो भन्ने ? यसबारे मतैक्य छैन । कतिले १० मिनेटसम्मको भिडियोलाई छोटो भिडियो भन्ने गरेका छन् । तर, अहिलेको बेफुर्सदीको युगमा १० मिनेट त के कुरा, ५ मिनेटको भिडियोलाई समेत लामो भिडियो मान्न थालिएको छ । आजकल त मिनेटमा होइन, सेकेण्डमा सीमित भएको भिडियोलाई छोटो भिडियो आदर्शतम् रूप मान्न थालिएको छ । 


स्प्लाइसएप वेबसाइटमा प्रकाशित एक लेखका अनुसार १० देखि ६० सेकेण्डसम्मको भिडियोलाई छोटो भिडियोको श्रेणीमा राखिन्छ । इन्टाग्राममा १५ सेकेण्डसम्मको भिडियो रेकर्ड गरी पोष्ट गर्ने अवसर उपलब्ध छ, जुन अवसर ट्रिलर, इन्टाग्राम रिल आदिमा ६० सेकेण्डसम्मको छ । यस्तो अवसर टिकटकमा ६० सेकेण्डदेखि तीन मिनेटसम्मको छ ।

इतिहास

छोटो भिडियोको इतिहास लामो छैन । सन् २०१२ मा स्न्यापच्याटले १० सेकेण्ड लामो भिडियो रेकर्ड गर्न सक्ने एप उपलब्ध गरायो, जसमा सन्देश रेकर्ड गरेर साथीसंगीलाई पठाउन सकिन्थ्यो । यसैगरी, सन् २०१३ मा भाइनले ६ सेकेण्डको भिडियो एप उपलब्ध गरायो । 

छोटो भिडियो प्ल्याटफर्महरू एकपछि अर्को गरी आउने क्रममा सन् २०१४ मा म्युजिकल्लीले लिप्सिङ्क सुविधासहितको ६० सेकेण्डको एप उपलब्ध गरायो । सन् २०१६ मा टिकटक अस्तित्वमा आयो, जुन छोटो समयमै सबैलाई उछिनेर संसारभर लोकप्रिय हुन पुग्यो । अहिले पनि टिकटकजस्तै नयाँ–नयाँ छोटो भिडियो डबलीहरू आउने क्रम जारी छ । 

हिजोका दिनमा भिडियो हेर्नका लागि टेलिभिजन सेट नै आवश्यक थियो । अब त्यो असजिलो अवस्था रहेन । स्मार्टफोन आएपछि मोबाइलमै थरीथरीका भिडियो सहजै हेर्न पाइने अवसर पैदा भयो, जुन छोटो भिडियोका लागि एउटा उर्वर भूमि बन्न पुग्यो । 

प्रतिस्पर्धाको घण्टी

छोटो अवधिमै छोटो भिडियो–डबलीको चर्को उपस्थितिले छोटो भिडियो एप उत्पादक कम्पनीहरूबीच तीव्र प्रतिस्पर्धा त छँदैछ, अघि नै ख्याति कमाएका र बजारमा वर्चस्व कायम गरिसकेका कतिपय सोसल मिडिया प्ल्याटफर्महरूले प्रतिस्पर्धाको घण्टी बजेको अनुभव गर्न थालेका छन् । प्रतिस्पर्धाको दौडमा आफू  खरो नउत्रिए पछि परिने भयले उनीहरूले छोटो भिडियोका लागि नयाँ प्ल्याटफर्म सार्वजनिक गरिसकेका छन् । 

उदाहरणका लागि, नेटफ्ल्क्सिले छोटो भिडियो प्ल्याटफर्म ‘फास्ट लाफ्स्’ शुरु गरिसकेको छ भने यु ट्युबले पनि ‘यु ट्युब सर्टस्’ गरिसकेको छ । यसैगरी, स्न्यापच्याटले ‘स्न्यापच्याट स्पटलाइट’ प्रयोगकर्ता सामु ल्याइसकेको छ । फेसबुकले ‘फेसबुक स्टोरी’ मार्फत् तस्बिर तथा छोटो भिडियोलाई स्थान दिँदै आएको छ । यसबाहेक बहुसंख्यक सोसल मिडियाले पनि छोटो भिडियोका लागि अकार्षक प्ल्याटफर्महरू धमाधम खडा गर्दैछन् ।

छोटो भिडियो–डबलीले ल्याएको हलचलले फिचर फिल्म उत्पादन गर्ने चलचित्र उद्योगलाई पनि तरङ्गित तुल्याएको छ । यससँगै छोटो खालका चलचित्र अर्थात् माइक्रोमुभिज् (माइक्रोसिनेमा) को अवधारणा पनि अस्तित्वमा आउन थालेका छन् । 

आजकल छोटो खालका चलचित्र निर्माण हुने क्रमले मूर्त रूप लिइसकेको छ । ‘क्याडिलक’, ‘रुट ६६’, ‘२०८८’, ‘लभ इज अल यु निड’, ‘होल्डिङ द रेन’ । सन् २०१० मा हङकङमा निर्मित चलचित्र ‘क्याडिलक’ पहिलो माइक्रोमुभी मानिन्छ ।

लोकप्रियको रहस्य

एक्काइसौँ शताब्दी सूचना विष्फोटनको युग हो । वर्तमान युगमा सूचनाको कुनै कमी छैन । सोसल मिडियाले मूलतः श्रव्य, लेख्य तथा श्रव्य–दृश्य (भिडियो) माध्यमबाट सूचना सम्प्रेषण गर्छन् । यीमध्ये भिडियोप्रति नै मानिसको आकर्षण बढी छ । सोसल मिडियामार्फत्  धेरै प्रयोगकर्तासम्म पुग्ने लोकप्रिय कन्टेन्ट नै भिडियो भन्ने तथ्य अध्ययनबाट खुलेको छ । मूलतः सोसल मिडियामा प्रयोग हुने सामग्रीमध्ये भिडियोलाई सबै सामग्रीहरूको राजा ९प्ष्लन या बिि अयलतभलत० मान्ने चलन छ ।

भिडियोले यसप्रकारको पद्वी पाउँदापाउँदै पनि सबैले सबै भिडियो हेर्छन् भन्नेचाहिँ छैन । व्यस्त जीवनशैली, चौतर्फी हतारो, विविध रूप–रङ्गका सोसल मिडियाको बाक्लो उपस्थिति आदिले मानिसको एउटै चीजमा ध्यान अडिने समय (attention-span) घट्दै गएको छ । कुनै सामग्रीमा मानिसको छिट्टै ध्यानभङ्ग हुने अवस्था छ । यसलाई ‘ट्याकल’ गर्न छोटो समयमा प्रभावकारी किसिमले सूचना सम्प्रेषण गर्नुपर्ने चुनौती हामीसामु आएको छ ।

छोटो भिडियोको आगमन यसैको जवाफ हो । छिटो, छरितो र प्रभावकारी किसिमले आफ्नो कुरा राख्नका लागि छोटो भिडियो एकदमै उपयुक्त माध्यम मानिएको छ । प्रडक्ट ट्युटोरियल्स्, शैक्षिक सामग्री, ब्राण्ड विज्ञापन, लामो चलचित्रको टिजर, नयाँ उत्पादनको विज्ञापन, पूर्वघटित घटनाको पूर्वस्मृति प्रस्तुतीकरण आदिका लागि छोटो भिडियो अतिशय उपयोगी मानिन्छ ।

यसैगरी, प्रयोगकर्ताबीच तीव्र विस्तार (fast transmission) को सम्भावना,  सामग्री एकदमै छोटो भएकाले दोहोर्‍याइ-तेहर्‍याइ हेर्न सकिने अवस्था, एउटा सोसल मिडिया प्ल्याटफर्ममा भएको सामग्री अर्को प्ल्याटफर्ममा सेयर हुने (cross-platform sharing) तीव्र सम्भावना, प्रस्तुतिमा रोचकपन आदिका कारण छोटो भिडियो एकदमै छिटो भाइरल हुन्छन् । प्रभावकारी किसिमले तयार पारिएको छोटो भिडियो प्रयोगकर्ताको स्मृतिमा लामो समयसम्म रहन सक्छ ।

अर्को कुरा, गुगल सर्च इञ्जिनमा छोटो भिडियोहरू अग्रस्थानमा देखापर्छन्, जुन जानकारी रककन्टेन्ट वेबसाइटमा प्रकाशित एक लेखमा छ । यसरी, छोटो भिडियोको लोकप्रियताका ग्राफ निरन्तर बढिरहेको देखिन्छ । यही भएर होला, हरेक १० जना स्मार्टफोनधारीमध्ये सताजनाले छोटो भिडियो कुनै न कुनै एप प्रयोग गरेको अध्ययनले बताएको छ । 

छोटो भिडियोको अरू सकारात्मक पक्षहरू पनि छन् । पाँच मिनेटको चिया–ब्रेक होस् वा बस पर्खँदाको छोटो समयमा किन नहोस्, यस्ता भिडियो हेरेर मनोरञ्जन लिन सकिन्छ । अर्कोतिर, छोटो भिडियो बनाउन र प्रयोग गर्न पनि सजिलो छ । यस्ता भिडियो बनाउन धेरै योजना बनाउनु पर्दैन । उत्पादन खर्च पनि धेरै लाग्दैन । यसैगरी, छोटो भिडियो शिर्जनशील भिडियोग्राफरहरूका लागि आम्दानीको माध्यम पनि बनेको छ ।

छोटो भिडियोका यिनै गुनिलो पक्षलाई ध्यानमा राखेर यसको बहुपक्षीय उपयोग हुन थालेको छ । यसलाई बजारीकरणको भरपर्दो माध्यमका रूपमा लिन थालिएको छ । एक अध्ययनले ८५ प्रतिशत विदेशी कम्पनीले छोटो भिडियो बजारीकरणको माध्यम (a marketing tool) का रूपमा प्रयोग गरिसकेका छन् । ८४ प्रतिशत ग्राहणले छोटो भिडियोमा आउने विज्ञापन हेरेर सरसामन किन्ने गरेको पनि अध्ययनबाटै खुलेको छ । 

बिसौनीनेर

विगतमा भिडियो उत्पादक तथा प्रयोगकर्ताबीच ठूलो खाडल थियो । छोटो भिडियोको युग आएपछि उत्पादक तथा प्रयोगकर्ताबीच खाडल पुरिँदै गएको मात्र होइन, उनीहरूबीचको सीमारेखाको काँडेतार पनि हट्दै गएको छ ।

आर्थिक वैभवमा रमाएका बिलिनियरदेखि सडकका ठेलागाडा धकेल्ने कर्मजीवी नागरिकसम्मले छोटो भिडियो बनाउन थालिसकेका छन् । सूचना र मनोरञ्जनको उपभोगमा धनी र गरिबबीचको सीमा मेट्न सघाउने यसप्रकारको रोचक डिजिटल घटनाक्रमलाई क्रान्तिकारी फड्कोको रूपमा नस्वीकारी सुखै छैन । 

[युवामञ्च । साउन, २०७९ । पृ.५०-५३]