Showing posts with label लाहुरे अर्थतन्त्र. Show all posts
Showing posts with label लाहुरे अर्थतन्त्र. Show all posts

Tuesday, January 27, 2015

लाहुरे अर्थतन्त्र

यमबहादुर दुरा

इतिहासकार डा. रमेश ढुङ्गेलको भनाइलाई विश्वास गर्ने हो भने नेपाल नामको भूखण्ड अस्तित्वमा आएको तीन हजार वर्षभन्दा बढी भइसकेको छ ('नयाँ पत्रिका' पुस २७, २०७१, पृ. ६) । समयको यो लामो फेरोमा नेपालीहरू कहिलेदेखि वैदेशिक रोजगारीमा जान थाले, उनीहरू रोटो र भोटोको खोजीमा कहाँ कहाँ भौंतारिन पुगे, यसबारे कुनै स्पष्ट इतिहास भेटिँदैन । तर पनि नेपालीहरू भारतका मुगल शासक (शासनकाल सन् १५२६-१८५७) को दरबारमा काम गर्न जान्थे र यहीबाट विदेशलाई मुगलान र विदेश जाने व्यक्तिलाई मुगलानी (मौलानी) भन्न थालियो भन्ने अपुष्ट भनाइ जनस्तरमा प्रचलित छ ।
 तस्बिर: डेली मेल

नेपालीहरू वैदेशिक रोजगारीमा गएको स्पष्ट इतिहासचाहिँ दुई सय वर्ष पुरानो देखिन आउँछ । नेपाल र अङ्ग्रेजबीच लडाइँ चर्किरहेकै बेला (सन् १८१५ तिर) नै नेपालीहरू 'सिरमूर' को सेनामा भर्ती भएको पाइन्छ । तत्कालीन समयमा एक स्वतन्त्र अधिराज्य रहेको 'सिरमोर' हाल भारतको हिमाञ्चल प्रदेशमा पर्दछ । त्यतिबेला खडा भएको सैनिक दस्ता हाल 'सिरमोर' राइफल्स' नामले चिनिन्छ, जुन अङ्ग्रेजसँग लडाइँ भइरहेको बेलामा नेपाली सेना छाडेर गएका सैनिकहरूको रेजिमेन्ट हो भन्ने विश्वास गरिन्छ । दुर्गाप्रसाद अधिकारी (जन्म: वि.सं. २००९) द्वारा लिखित पुस्तक 'कर्मवीर मणिसिंह गुरुङ जीवनी र योगदान' (वि.सं. २०६०) मा शिमला नजिकको सबत्थुमा २४ अप्रिल १८१५ मा गोर्खा पल्टन गठन गरिएको उल्लेख छ ( पृ.१)।

वैदेशिक रोजगारी (खासगरी 'लाहुरे रोजगारी') को औपचारिक इतिहासचाहिँ नेपाल-अङ्ग्रेज लडाइँ (सन् १८१४-१८१६) सकिएसँगै शुरु भएको पाइन्छ । 'लाहुरे रोजगारी'सँग राष्ट्रिय स्वाभिमान र ढाक्रे मनहरूको विरोधाभासपूर्ण किस्सा जोडिएको छ । नेपाल-अङ्ग्रेज लडाइँमा नेपालको पराजय भयो । युद्ध बिसाउनका लागि सन् १८१६ मा गरिएको 'सुगौली सन्धि' अनुसार नेपालले आफूले चर्चेको एक तिहाइ भूभाग अङ्ग्रेजलाई सुम्पनुपर्‍यो । यसबाट आत्मास्वाभिमानमा विश्वास गर्ने नेपालीहरूको मनमा गहिरो चोट लाग्यो । नेपाल-अङ्ग्रेज लडाइँमा भएको पराजयबाट विकसित परिस्थितिले नेपालको राष्ट्रिय जीवनमा गहिरो निराशा र विरक्ति छाडेर गयो । धेरै स्वाभिमानी देशभक्तहरू विरक्तिए ।

यसरी विरक्तिनेमा अङ्ग्रेजविरुद्ध बहादुरीपूर्वक लडेका बलभद्र कुँवर पनि थिए । हरुवा कमाण्डर भएकोले उनलाई राजदरबारले कख्याएन भन्ने भनाइ छ । यिनै दुःखदायी परिस्थितिबाट गुज्रिएर ढाक्रे बन्न पुगेका उनी पञ्जाबका महाराजा रणजीत सिंहको सेनामा भर्ती भए । परिस्थितिले पेटमा लात हानेपछि उनी आफूमात्र हैन, एक बटालियनभन्दा बढी गोर्खा सैनिकहरूलाई साथमा लिई लाहोर भन्ने ठाउँमा पुगेर भर्ती भए । तत्कालीन शिख राज्यको राजधानी 'लाहोर' हाल पाकिस्तानमा पर्छ ।

बलभद्र कुँवर विदेशी सेनामा भर्ती भएपछि उनको पाइला पछ्याउँदै विदेशी भूमिमा पाइला हाल्ने अरू युवाहरूको पनि लर्को लाग्यो । यसपछि विदेशी सेनामा भर्ती हुन जानेहरू 'लाहुरे' नामले परिचित हुन थाले । बलभद्र कुँवरले शुरु गरेको 'लाहुरे संस्कृति' ('लाहुरे रोजगारी') को विरासत दुई सय वर्षको लामो कालखण्डसम्म पनि कायमै छ ।

विदेशमा गुर्खा वा गोर्खा भनेर चिनिने लाहुरेहरू अहिले बेलायती सेना, भारतीय सेना र 'सिंगापुर पुलिस फोर्स' (गुर्खा कन्टिन्जेन्ट) मा कार्यरत छन् । यसका अतिरिक्त बेलायती सेनाबाट निवृत्त सैनिकहरूको सानो टुकडी ब्रुनाईका सुल्तानको सेवामा पनि कार्यरत छ । बेलायती समकक्षी सरह समान अधिकारका लागि गरिएको आन्दोलनको फलस्वरूप धेरैजसो गोर्खाहरू बेलायत पुगेका छन् । अहिले उनीहरूका बेलायती सेनाकबाहेक (नेपाल सेना तथा भारतीय सेना) का गोर्खाहरूले पनि सुल्तानको सेवा गर्ने अवसर गर्ने अवसर पाएका छन् ।

एक तथ्याङ्कअनुसार अहिले भारतीय सेनामा करिब ३५ हजार तथा बेलायती सेनामा ३ हजार लाहुरेहरू सेवारत छन् । भारतीय सेनाबाट लगभग १ लाख ५० हजार नेपालीले पेन्सन पाइरहेका छन् । लाहुरेहरूले नेपाली अर्थतन्त्रमा कति योगदान पुर्‍याएका छन्, यसबारे स्पष्ट तथ्याङ्क पाउन कठिन छ । 'द इकनमिष्ट' को अनलाइन संस्करण (जुन ३०, २००९) मा प्रकाशित एक रिपोर्टअनुसार लाहुरेहरूबाट भित्रिने रिमिटयान्सबाट देशको कुल आम्दानीमा १७ प्रतिशत योगदान पुगेको छ ।

नेपालमा वैदेशिक रोजगारीका अन्य पाटाहरू मौलाउँदो क्रममा रहे पनि 'लाहुरे अर्थतन्त्र' चाहिँ क्रमिक रूपमा टाक्सिँदै गएको देखिन्छ । प्रथम तथा दोस्रो विश्वयुद्धको समयमा गल्लावालहरूले घर घरमा पुगेर सोझासीधा नेपाली युवालाई भेडाबाख्रा सरी लगेर भर्ती गराए पनि अहिले त्यस्तो अवस्था छैन् । क्षेप्यास्त्रको युगमा लडाइँका लागि धेरै सैनिक नचाहिने अवस्था आइसकेको छ । यही आधारमा बेलायतले पनि गोर्खाहरूको त्यतिविधि आवश्यकताबोध नगरेको हुनसक्छ । यही कारण उसले गोर्खाहरूको भर्तीलाई क्रमिक रूपमा कटौती गर्दै लगेको देखिन्छ ।

आजका सचेत गोर्खाहरूले आफ्ना अधिकारबारे उठाएको आवाज बेलायत सरकारलाई 'टाउको दुःखाइ' बनेको छ । बेलायत गोर्खाहरूबारे थप बोझ उठाउने मनस्थितिमा देखिन्न । उता, भारतले पनि आफ्नो सेनामा नेपालीको सट्टामा दार्जिलिङ, देहरादूनलगायतका क्षेत्रमा बसोबास गर्ने नेपालीभाषी भारतीयहरूलाई बढी प्राथमिकता दिने अघोषित नीति लिएको देखिन्छ ।

गोर्खाहरूको लामो समयको आन्दोलनपछि बेलायतले उनीहरूलाई बेलायत बस्न पाउने सुविधा दिएको छ । यसबाट 'लाहुरे अर्थतन्त्र' थप शिथिल हुन पुगेको छ । केही अपवादबाहेक हिजो बेलायत नेपाल भित्रिने रिमिटयान्स उल्टै नेपालबाट बेलायततिर प्रवाह हुन थालेको छ । नेपाल छाडेर बेलायत जाने क्रममा कतिपय लाहुरे परिवारले घरजग्गालगायतका अचल सम्पत्तिको त के कुरा, कतिपय अवस्थामा त नाक र कानसमेत बुच्चै बनाएर नेपालमा रहेको जायजेथा बेलायततिर लगेको दृष्टान्त छ ।

 'लाहुरे शहर' भनेर चिनिने धरान, पोखरा, बुटवलजस्ता ठाउँहरूमा ब्रिटिश गोर्खाहरू भेट्नै गाह्रो छ । बेलायतले अघि सारेको गोर्खाहरूको पुनर्बाससम्बन्धी प्रावधानका कारण नेपालबाट पूर्वसैनिकहरू रित्तिने क्रम जारी छ । यसबाट  पुरानो नेपाली लोकगीत पुनः सान्दर्भिक हुन गएको छ : 'गयो माया लाहुरे हुनलाई, रेलको झ्यालमा बसेर रुनलाई' ।

यी तमाम घटनाक्रमबाट 'लाहुरे अर्थतन्त्र' ले क्रमिक रूपमा अधपतनको बाटो रोजेको अनुमान गर्न कठिन छैन । हिजो 'गोर्खा भर्ती केन्द्र बन्द गर' भनेर चिच्याउने कम्युनिष्टहरू आज मौन छन् । तर 'गोर्खा भर्ती केन्द्र' को दैलो आफैं बन्द हुने क्रममा छ । यतिबेला 'लाहुरे संंस्कृति' को चाल समुन्द्रमा मिसिन लागेको पानीभन्दा पनि सुस्त छ । यसले 'लाहुरे संंस्कृति' र 'लाहुरे अर्थतन्त्र' को 'अन्त्यको शुरुवात' लाई संकेत गरेको देखिन्छ । लाग्छ, दुई सय वर्ष पुरानो 'लाहुरे संंस्कृति' यतिबेला विघटनको अघोषित चरणबाट गुज्ररिहेको छ ।

[साभार : नेपालीपत्र (माघ १३, २०७१) ]

अद्यावधिक : २०७४।०२।२३