Showing posts with label सार्वजनिक सवारी. Show all posts
Showing posts with label सार्वजनिक सवारी. Show all posts

Tuesday, July 19, 2022

सार्वजनिक सवारीमा लोकहितैषी नीति

 –यमबहादुर दुरा 

इन्धनको मूल्य वृद्धिभएसँगै यातायातकर्मीहरूले मनलाग्दी भाडा असुलेका समाचार आइरहेको छ । बढी भाडा असुली प्रकरण त सतहमा देखिएको एउटा सानो विषयमात्र हो । यातायात क्षेत्रमा अन्वेषण गरी उजागर गर्नुपर्ने अरू धेरै पक्षहरू छन्, जसप्रति नीतिनिर्माताहरूको उचित ध्यान पुगेको देखिँदैन ।

यात्रुले भाडादरबारे भद्र शैलीमा जिज्ञासा राख्दा सही जवाफ पाइँदैन । यस्तो बेलामा कुनै लिखित भाडादर नदेखाई फलानो ठाउँदेखि फलानो ठाउँसम्मको भाडा यति हो भनेर मौखिक रूपमा जवाफ दिइन्छ । भाडादरबारे प्रश्न उठाउँदा यात्रुलाई अपमान गरिएका थुप्रै दृष्टान्त छन् । 

अपमान सहनुपर्ने भयले यात्रुहरू बाध्य भएर गाडीवालाले भनेको शुल्क तिर्न बाध्य हुन्छन् । पर्ने भाडाभन्दा बढी तिर्नुपर्ने अवस्थाले यात्रु ठगिने र हेपिने क्रम निरन्तर जारी छ । 



भाडा उठाउने क्रममा निर्धारित दरभन्दा बढी भाडा लिन अनेकन् प्रपञ्च रचिन्छ । ‘तेल महङ्गो छ’ भनेर कुरा शुरु गरिन्छ । तर, इन्धनको मूल्य घटेको तेल सस्तो भएको कुरा उठ्दैन । यस्तो बेलामा भाडाको सूची पनि सितिमिति टासिँदैन । किन नटाँसेको भनेर सोध्दा जवाफ आउँछ, ‘सरकारबाट आएकै छैन ।’ 

लामो दूरीका सवारी साधनले विद्यार्थीले पाउने छुटलाई पनि लत्याइएको पाइन्छ । नियमअनुसार विद्यार्थीले नियमअनुसार पाउने छुटबारे आग्रह गर्दा पहिल्यै कोटा पूरा भइसक्यो भन्ने बनिबनाउ जवाफ दिएर सामाजिक दायित्वबाट उम्केको अनेकन् दृष्टान्त भेटिन्छन् । विद्यार्थी पाउनुपर्ने छुट कल्याणकारी राज्यव्यवस्थाको एउटा सानो दृष्टान्त हो । हामी कल्याणकारी राज्यव्यवस्थाको चर्चा गर्छौँ । तर, व्यवहारमा त्यसलाई पूरै लत्याइएको पाइन्छ । 

यातायात क्षेत्रमा देखिने यसप्रकारको अनाचार अनैतिक त हुँदै हो, विधिको शासनप्रतिको उपहास पनि हो । यात्रुबाट अनावश्यक रूपमा रकम असुल्ने र उनीहरूप्रति गरिने दुव्र्यवहारजस्ता अनाचारका कुरा मिडियामा खासै आउँदैन ।

 गाडीमा क्षमताभन्दा बढी यात्रु राख्दा सर्वसाधारण पाउने सास्तीको किस्सा बेग्लै छ  । सडकको इन्जिनियरिङ पक्षलाई बेवास्ता गरी बनाइएको ग्रामीण बाटोको दुरावस्था र सवारी दुर्घटनाका कहालीलाग्दो शृङ्खला बेग्लै विश्लेषणको विषय बन्नसक्छ । समग्रमा, यात्रुले भोगेका हैरानी र सास्ती अहिले मिडियामा आएभन्दा बढी छ ।  

रह्यो भाडादर निर्धारणको कुरा । भाडादर कति र कसरी बढ्ने भन्नेचाहिँ निश्चय नै जनसरोकारको विषय हो । ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ मा सवारी भाडाबारे केही कुरा भएपछि पनि कुन संयन्त्रले कसरी भाडा निर्धारण गर्छ भन्नेबारे स्पष्ट रूपमा खुलाइएको पाइँदैन । जनसरोकारका यस्ता विषयमा स्पष्ट कुरा बाहिर आउनुपर्छ ।

अहिले पनि तालुकवाला सरकारी निकायले भाडा कसरी निर्धारण गर्छ भन्नेबारे कुनै प्रष्ट विधि र प्रक्रिया सार्वजनिक अभिलेखमा भेटिँदैन । भाडा निर्धारणको विधि र प्रक्रिया पारदर्शी देखिँदैन । क–कसको रोहबरमा कसरी भाडा निर्धारण गरिएको हो भन्ने तथ्य सार्वजनिक हुनुपर्छ । यस्ता विषयमा नागरिकलाई जानकारीमा दिइनुपर्छ, जसप्रति सूचनाको हकसम्बन्धी ऐनका प्रावधानहरू आकर्षित हुन्छन् ।

यातायात क्षेत्रमा भएको बेथिति भनिसाध्य छैन । लामो दूरीमा चल्ने सवारी साधनले पूरै रुटलाई विभिन्न खण्ड खण्डमा विभाजन गरेर सोहीअनुसार भाडा असुलेको पाइन्छ । आधा बाटोबाट गाडी चढ्दा पनि सवारी साधनले पनि गाडी छुटेकै ठाउँबाट भाडा उठाएको पाइन्छ । यसरी भाडा असुल्दा यात्रुले अनाहकमा आपूmले यात्रा नगरेको दूरीभन्दा बढी भाडा तिर्नुपर्ने बाध्यता आएको छ । 

कतिपय सवारी साधनले भाडाको सूची टाँसेकै हुँदैनन् । टाँसिहाले पनि मनमौजी किसिमले बीसौँ किलोमिटर पर पर्ने मुख्य–मुख्य ठाउँको मात्र टाँसिएको पाइन्छ । बीचमा पर्ने ठाउँको भाडा त्यहाँ उल्लेख गरिएको हुँदैन । यसबाट यात्रुहरूलाई सीधै गुमराहमा पार्ने काम भएको छ । ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा ९६ मा तोकिएबमोजिम भन्दा बढी भाडा लिन पाइने छैन भनिएको छ । व्यवहारचाहिँ ऐनविपरीत भाडा उठाउने काम छ्याप्छ्याप्ती भइरहेको छ ।

उचित सेवाको उचित शुल्क तिर्नु यात्रुको कर्तव्य हो । तर, यात्रुहरू अनुचित शुल्क तिर्न विवश भइरहेका छन् । यातायात क्षेत्रमा हाल भइरहेका यसप्रकार अनाचारको जवाफदेहिता कसको हो ? सर्वसाधारण यात्रुमा अनावश्यक बोझ बोकाइनु कानुनी तथा नैतिक दृष्टिले सही व्यवहार हो ? यस्ता प्रश्नको जवाफ सरोकारवाला पक्षहरूले दिनुपर्छ । साथै, यस्ता जनसरोकारका विषयमा सार्वजनिक वृत्तमा व्यापक विचार–विमर्श गरिनुपर्छ । 

सार्वजनिक यातायातमा विद्यमान तमाम बेथितिलाई दृष्टिगत गर्दा यस क्षेत्र सरकारको कडा निगरानी हुनुपर्ने देखिन्छ । यस पृष्ठभूमिमा मौजुदा ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ नितान्त फिलतो देखिन्छ । यस ऐन समसामयिक छैन र हुनुपर्ने जति यात्रुमैत्री पनि छैन । ऐनको दफा १५७ मा यातायात सेवा कानुन बमोजिम नियमन भए नभएको निरीक्षण गर्न नेपाल सरकारले ‘यातायात निरीक्षक’ नियुक्त गर्न सक्नेछ भन्ने बडो फितलो प्रावधान राखेको पाइन्छ ।

व्यवहारमा ‘यातायात निरीक्षक’ नियुक्त भएको पाइँदैन । कानुनलाई अझ दरिलो बनाएर ‘यातायात निरीक्षक’ मात्र होइन, तालुकवाला सरकारी निकायले एउटा गतिलो ‘अनुगमन संयन्त्र’ नै खडा गरेर कर्मचारीहरूलाई नियमित रूपमा फिल्डमा खटाउनुपर्ने आवश्यकता देखिएको छ । यसो गरिएमा मात्र यातायात क्षेत्रमा भएका मनमौजी व्यवहारमा पनि लगाम लाग्ने थियो । 

‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ दफा १५४ मा ‘यातायात व्यवस्थापन समिति’ को व्यवस्था छ । समितिमा यातायात व्यवस्था कार्यालय रहेको जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी कार्यालयका प्रमुख, यातायात व्यवसायीको प्रतिनिधि, यातायात मजदूरहरूको प्रतिनिधि तथा यातायात व्यवस्था कार्यालयको प्रमुख सदस्य सचिव रहने व्यवस्था छ । 

ऐनमा व्यवस्था भएबमोजम समिति गठन भएको वा नभएको र त्यसले यातायात क्षेत्रमा विद्यमान बेथितिलाई न्यूनीकरण गर्न कुनै रचनात्मक काम गरेको वा नगरेको कुनै विवरण सार्वजनिक अभिलेखमा आएको पाइँदैन । समिति सक्रिय हुनुपर्छ र यसका कामकारबाही सार्वजनिक जानकारीमा आउनुपर्छ ।

अब, यातायात क्षेत्र परम्परागत शैलीमा चल्नुहुँदैन । समयको बदलिँदो चक्रसँगै यातायात क्षेत्र जनहितकारी र सेवामुखी हुनुपर्छ । यस विषयमा तालुकवाला निकायले रचनात्मक किसिमले सोच्नुपर्छ । अब, सरोकारवाला निकायसँग देशभरका सबै यातायात रूटको लम्बाइ, बाटो अवस्था, भाडा परिवर्तित भाडालगायत सम्पूर्ण विषयमा अद्यावधिक विवरण सरकारसँग हुनुपर्छ । 

प्रचलित यातायातका रूटमा भएका गतिविधि तथा सवारी साधनहरूलाई डिजिटल प्रविधि प्रयोग गरेर ट्र्याक गर्ने व्यवस्था गर्नुपर्छ । यसका लागि सरकारल विज्ञहरू खटाएर विवरण सङ्कलन गर्नुपर्छ । यातायात क्षेत्रको दीगो व्यवस्थापनका लागि यो नगरी नहुने काम हो । सार्वजनिक यातायातको भाडा निर्धारण गर्नेे कार्यलाई वैज्ञानिक बनाउन आवश्यक छ । 

बृहत्तर जनहितका लागि यातायात क्षेत्रमा आमूल परिवर्तन आवश्यक छ । यसका लागि लोकहितैषी नीति बन्न जरुरी छ । यस विषयमा नीतिनिर्माता र कानुन निर्माताहरू चिन्तनशील बन्नैपर्छ ।

[नयाँ पत्रिका ।पृ =४२०७९ साल साउन ३ गते ।]]