Showing posts with label हलो क्रान्ति. Show all posts
Showing posts with label हलो क्रान्ति. Show all posts

Saturday, July 26, 2014

‘हलो क्रान्ति’ को सन्देश


–यमबहादुर दुरा

वि.सं. २००७ को राजनीतिक क्रान्तिको पूर्वसन्ध्यमा लमजुङको दुराडाँडामा तत्कालीन नेपाली समाजलाई चकित तुल्याउने एउटा घटना घट्यो । घटना थियो, व्राह्मणले हलो जोत्नु । अहिलेको आँखाले हेर्दा त्यो सामान्य घटना थियो तर तत्कालीन समयमा त्यो असामान्य घटना थियो । व्राह्मणले हलो जोत्नु परम्परागत मान्यतासँग मेल नखाने कुरा थियो । यद्यपि व्राह्मणले हलो जोत्न हुँदैन भन्ने कुरा कुनै पनि शास्त्रमा लेखिएको थिएन । यही तर्कलाई अघि सारेर २७ जना व्राह्मणले २००६ साल साउन ११ गते दुराडाँडामा अर्चल्यानी भन्ने ठाउँमा हलो जोतेको इतिहास छ । यस कार्यको अगुवाइ गर्नेहरूमा लेप्टेन शेषकान्त अधिकारी (वि.सं. १९५१–२०५१), पण्डित तोयनाथ अधिकारी (वि.सं. १९६५–२०२१), श्रीकान्त अधिकारी (वि.सं. १९८४–२०६९) लगायतका व्यक्तिहरू हुनुहुन्थ्यो ।

आजभन्दा ६५ वर्षअघिको ग्रामीण समाज । त्यतिबेलाको सामाजिक र राजनीतिक परिवेश निश्चय नै आजको जस्तो  थिएन । शताव्दीऔं अघिदेखि कतिपय गुरुपुरोहितद्वारा स्वार्थवश प्रवाहित भाग्यवादी चिन्तनधाराका कारण समाज राजनीतिक हिसाबले जुझारु बन्न सकेको थिएन । सर्वसाधारण नागरिकले भाग्यवादलाई जीवनको मार्गदर्शक सिद्धान्त ठानिरहेका थिए । उनीहरू भाग्यवाद र अशिक्षाले निम्त्याएको वैचारिक अन्धकारमा रुमल्लिरहेका थिए र शासकका प्रत्येक राम्रा–नराम्रा कामहरूलाई चुपचाप शिरोपर बाध्य थिए ।

अज्ञानताबाट मलजल मिलेको भाग्यवादमा आधारित त्यसबेलाको समाज राणा शासकका लागि एकप्रकारले उर्वरभूमि थियो । समाजमा समसामयिक सामाजिक तथा राजनीतिक परिवेशलाई रौंचिरा गर्नसक्ने पढेलेखेका नागरिकको संख्या तुलनात्मक रूपमा न्यून थियो । पढालेखा नागरिक राणा शासकको अत्याचारपूर्ण शासनपद्धति विरुद्ध भित्रभित्रै क्रुद्ध थिए तर तत्कालीन तानाशाही शासनसत्ताको हाकाहाकी विरोध गर्ने तागत कमैमा थियो ।

त्यसबेलाको राजनीतिक परिवेशबारे ‘हलो क्रान्ति’ का अभियन्तामध्येका श्रीकान्त अधिकारीले शब्दचित्र तयार पार्नुभएको छ । उहाँले हंसपुरे सुवेदीले लेख्नुभएको पुस्तक ‘सांस्कृतिक परिवेशमा नेपालको हलोक्रान्ति’ को पृष्ठभूमिमा लेख्नुभएको छ, ‘माथि हुकुमी राणाशाहीको क्रूरसत्ता थियो भने तलतिर...जिम्मावाल, तालुकदार...र तथाकथित पुरोहित पण्डितको छिचोलिनसक्नुको हैकम थियो । बीचमा स्थानीय हाकिम र बडाहाकिमहरूको यस्तै प्रशासन थियो, जसले गर्दा... नयाँ चेतनको हिसाबमा कसैले चूँसम्म गर्ने सामर्थ्य हुँदैनथ्यो’ (पृ.क) ।

यद्यपि समय प्रवाहमय छ । तत्कालीन विश्व परिदृश्य बदलिँदै थियो । विश्व जनमानसलाई राजनीतिक आँधीहुण्डरीले ब्युँझाइसकेको थियो । दोस्रो विश्वयुद्धले विचारहरूको विरोधाभासपूर्ण अवस्थालाई सतहमा ल्यादिएको थियो । छिमेकी मुलुक भारतमा राजनीतिक चेतनाको ज्वारभाटा चर्कै रूपमा चलिसकेको थियो । भारतीय नागरिकले अङ्ग्रेजविरुद्ध ‘भारत छोडो’ आन्दोलन छेडिसकेका थिए । उनीहरूले अङ्ग्रेजविरुद्ध  ‘इन्क्लाब’ गरेर भारतलाई स्वाधीन  बनाइसकेका थिए । नेपालीहरूको शिक्षा आर्जन गर्ने र राजनीतिक आश्रय लिने थलो छँदै थियो, भारत । यसको प्रभाव नेपालमा नपर्ने कुरै भएन ।

यही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पृष्ठभूमिमा ‘हलो क्रान्ति’ भएको थियो । यसको स्थानीय पृष्ठभूमि केही हदसम्म आध्यात्यिक पाटोसँग पनि गाँसिएको देखिन्छ । २००३ सालमा डोटेली व्रह्मचारी चन्द्रप्रसाद र स्वामी कर्पुरानन्दको सत्सङ्गमा दुराडाँडामा महाभारत पुराण लगाइएको, त्यहाँ समाज सुधारका पक्षमा ठोस काम गर्ने सरसल्लाह भएको र त्यही आध्यात्मिक अनुष्ठानको गर्भमा ‘हलो क्रान्ति’ को बीजारोपण भएको प्रसंग श्रीकान्त अधिकारीले कोट्याउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘वास्तवमा हलो क्रान्ति कोरा क्रान्ति नभई...आध्यात्मिक मलजलको माध्यमद्वारा निस्केको जागरण र विकासको.. सामाजिक क्रान्ति थियो’ (ऐ.ऐ. पृ.ख)।

यिनै उत्प्रेरक तत्वबाट मिलेको मनोबलले दुराडाँडामा व्राह्मणले हलो जोत्ने काम शुरु भयो । व्राह्मणले जोतेको कुरा डढेलोको आगोजस्तै जताततै फैलियो । यो कुरा झुपडीदेखि महलसम्म पुग्यो । यसबारे झुपडी र महल दुवैमा बस्नेले आ–आफ्नै तरिकाले प्रतिक्रिया जनाए । झुपडीमा बस्ने सर्वसाधारण नागरिकले परम्परागत मान्यताको विरुद्धमा गएको बात लगाए भने महलमा बस्ने शासकहरूले पनि उही बात लगाए तर भिन्दै अभीष्ट पूरा गर्ने उद्देश्यका साथ ।

राणाहरूले व्राह्मणले हलो जोतेको घटनालाई आफ्नो शासन–सत्ताको प्रतीकात्मक विरोधको रूपमा बुझे । लेप्टेन शेषकान्त अधिकारी, तोयनाथ अधिकारी र श्रीकान्त अधिकारीलाई पक्रेर पोखरास्थित कारागारमा राखियो । उहाँहरू आफूले गरेका कामप्रति अटल रहनुभयो । लोकहितका पक्षमा गरिएका काम भएकोले उहाँहरूमा कुनै हीनताबोध भएन । उहाँहरू आफ्नो उद्देश्यप्रति टसको मस हुनुभएन, बाहुनले हलो जोत्न हुन्न भन्ने कतै नलेखिएको तर्क निडर भई अघि रारिरहनुभयो । आफूहरूलाई बिना पक्राउपुर्जी कारागारमा राखिएकोमा अन्नपानी नखाने घोषणा गर्नुभयो । उहाँहरू ४८ घण्टासम्म अनसन बस्नुभयो ।

‘हलो क्रान्ति’ को प्रभाव जनस्तरमा पनि चर्कै किसिम पर्न थाल्यो । हलो जोतेर परम्परागत मान्यतालाई तोडेको आरोपमा दुराडाँडामा व्राह्मणहरू सामाजिक बहिष्करणमा पर्ने अवस्था आयो । छिमेकी गाउँबस्तीका मानिसहरूले हलो जोत्ने  व्राह्मणहरूसँग सोलीडोली नचलाउने घोषण गर्न थाले । विवाह, ब्रतबन्ध, भोजभतेरजस्ता सामाजिक जमघटहरूमा श्लोकमार्फत व्यङ्ग्य वाण प्रहार हुन थाल्यो । ‘शेषकान्त लेप्टेन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित हलो जोती बिग्रे’ जस्ता श्लोकहरू यत्रतत्र सुनिन थाल्यो ।

सत्ता र जनस्तरबाट ‘हलो क्रान्ति’ विरुद्ध वैरभावपूर्ण प्रतिक्रिया आए पनि यसको गति रोकिएन । दुराडाँडामा भएको ‘हलो क्रान्ति’ को पदचाप पछ्याउँदै लमजुङ (चिसङकु) का श्रीप्रसाद घिमिरे, बलभद्र घिमिरे, चन्द्रशेखर घिमिरे र चन्द्रकान्त घिमिरेले हलो जोत्न थाल्नुभयो । यसैगरी तनहूँ, गोरखा, धादिङ, कास्की, स्याङ्जा, अर्घाखाँची, आदि जिल्लाका व्राह्मणहरूले पनि हलो जोत्ने काम गरे । श्रीकान्त अधिकारीका अनुसार धादिङका देवीप्रसाद पौडेल ‘केबलपुरे किसान’; गोरखाका पूर्णप्रसाद व्राह्मण; तनहूँका रामप्रसाद खनाल, उमाभद्र खनाल, भुवनेश्वर ढकाल र विष्णुहरि खनाल; कास्कीका पण्डित मुक्तिनाथ शर्मा, पण्डित ऋषिकेशव पराजुली र दिलबहादुर भारी तथा अर्घाखाँचीका काशीनाथ गौतमले हलोको अनौ समात्नुभयो ।

व्राह्मणले हलो जोत्ने कामले सामाजिक समयक्रमसँगै वैधता प्राप्त गर्न थाल्यो । शुरुमा सामाजिक बहिष्करण निम्त्याएको त्यो घटना विस्तारै वन्दनीय सामाजिक कार्य बन्न थाल्यो । समयले काँचुली फेर्दै जाँदा हिजो आलोचनाका पात्र बनेकाहरूले प्रशंसक पाउन थाले । समाजको एउटा वर्गले हलो पनि जोत्न नहुने तर सर्वसाधारण जनताले भने ढाड भाँचिने गरी श्रममूलक काम गर्नुपर्छ भन्ने अव्यक्त सामाजिक मान्यतालाई सच्याउने काम ‘हलो क्रान्ति’ ले ग-यो ।  सहअस्तित्वपूर्ण समाज निर्माणको दिशामा ‘हलो क्रान्ति’ का अभियन्ताहरूले देखाउनुभएको साहस कदरयोग्य छ ।

‘हलो क्रान्ति’ को लगत्तै पछि अर्थात् २००७ सालमा राणाविरोधी क्रान्तिपछि देशमा युगान्तकारी राजनीतिक तथा सामाजिक परिवर्तन भए । त्यसबाट नागरिक तथा राजनीतिक अधिकारका क्षेत्रमा नेपाली समाजले थुप्रै उपलब्धिहरू हाँसिल गरिसकको छ । यस हिसाबले वर्तमान घडीमा ‘हलो क्रान्ति’ सन्दर्भहीन देखिन सक्छ । तर समाज विकासको क्रममा ‘हलो क्रान्ति’ एउटा महत्वपूर्ण खुड्किलो थियो भन्न सकिन्छ । स्थानीयस्तरमा भएका रैथाने प्रकृतिका यस्ता असल कार्यका इतिहास अभेलखीकरण हुन आवश्यक छ, जुन नयाँ पुस्तका लागि प्रेरणास्रोत बन्नसक्छ ।

समयले यथास्थितिवादलाई सकार्दैन । समय सधैँ परिवर्तनको पक्षमा रहन्छ ।  समाजको वृहत्तर हितका लागि असल आशयले शुरु गरिएका कतिपय परिवर्तनकामी राम्रा काम वर्तमानमा कताकता असहज देखिन सक्छ । ‘हलो क्रान्ति’ यसको राम्रो दृष्टान्त हो । वर्तमान असहज देखिएका कतिपय कार्यले भविष्यमा सुखी समाजको सुन्दर तस्बिर तयार गर्नसक्छ । आफूले थुप्रै गाह्रोसाह्रो सहेर भए पनि लोकहितैषी काममा लाग्नु हाम्रो लोकधर्म हो । यही नै ‘हलो क्रान्ति’ को केन्द्रीय सन्देश हो ।

[साभार : गोरखापत्र  (साउन १०, २०७१) । तस्बिर : इन्टरनेट]