Showing posts with label Language learning process. Show all posts
Showing posts with label Language learning process. Show all posts

Saturday, September 6, 2014

भाषिक ज्वरो

–यमबहादुर दुरा

परिदृश्य १

म सानो छँदा गाउँघरमा छुट्टीमा आएका लाहुरेहरूले पल्टनिया गफ गरेको सुन्थेँ । उनीहरूको गफको त्यतिविधि भेउ पाउँदैनथेँ । उनीहरूले बोलेका अङ्ग्रेजी शब्द कानमा ठोक्किन्थे मात्र, तिनका अर्थ बुझिँदैनथे । त्यसबेला उनीहरूले उच्चारण गरेका अङ्ग्रेजी शब्द क्याजुलिभ (क्याजुल लिभ), सलोट (स्यालुट), बिर्काप (ब्रेक अप), फालिन (फल इन) आदि शब्द एकदमै अपरिचित लाग्थे । ती अपभ्रंशपूर्ण अङ्ग्रेजी शब्दका अर्थ अङ्ग्रेजी बुझ्ने भएपछि थाहा पाएँ । भाषा र सन्दर्भसँग परिचित नहुँदा यस्तो समस्या आएको रहेछ ।

परिदृश्य २

त्यतिबेला रेडियो नेपाल देशको एकमात्र राष्ट्रिय प्रसारण संस्था थियो । रेडियो नेपालको  समाचारमा प्रयोग भएका धेरैजसो गहकिला शब्दको अर्थ बुझ्दिनथेँ । तीमध्ये पनि ‘मौसुफ', जुनाफ’, ‘अनुकम्पा’ लगायतका थुप्रै शब्दको अर्थ नबुझेर म हैरान हुन्थेँ ।

परिदृश्य ३

मेरो गाउँमा नेपाली भाषा नै बोलिन्थ्यो । नेपाली भाषा नै बोले पनि दुरा समुदायका मानिसले प्रयोग गरेका कतिपय शब्द अन्य समुदायका मानिसले प्रयोग गरेको पाउँदिनथेँ । जस्तै : माकुली (इन्द्रेणी), गुमा (माइजू), मुसी (सानीमा), कोर्जे (दस्तुर) । समुदायगत तहमा शब्द प्रयोगमा आएको भिन्नताले मलाई अचम्मित तुल्याउँथ्यो । पछिमात्र थाहा भयो, यी शब्द मेरा मातृभाषाका बचेखुचेका अवशेष रहेछन् ।

परिदृश्य ४

प्राथमिक तहको परीक्षामा लेख्न बस्दा प्रश्नपत्रमा प्रयोग भएका ‘उल्लेख गर’ भन्ने पदावलीले मलाई निकै अल्मल्याउँथ्यो । शिक्षकले अरूबेला उच्चारण नगरेका तर एकैचोटि  परीक्षामा प्रयोग गरेका यसप्रकारका अपरिचित शब्द देखेर म किंकर्तव्यविमुढ हुन्थेँ । विद्यालयमा भर्ना भएर शब्द उच्चारण गर्न जान्ने भएदेखि नै मैले अर्को विरोधाभाषपूर्ण परिस्थिति सामना गर्नुपर्‍यो ।

पुस्तकमा प्रयोग भएका भाषा र गाउँघरमा बोलिने भाषा निकै भिन्नता पाउँथे । म फेरि पनि अलमलमा पर्थेँ । जस्तै : उचाइ भएको व्यक्तिलाई गाउँमा अल्को भनिन्थ्यो भने पुस्तक अग्लो । घाँस काट्न प्रयोग हुने औजारलाई गाउँमा आँसी भनिन्थ्यो भने पुस्तकमा हँसिया भनिन्थ्यो ।

मेरो अपरिपक्क दिमागका कुराहरू छड्किन थाल्थे, किन यस्तो हुन्छ (?) । मचाहिँ पुस्तकमा लेखिएको भाषालाई मात्र सही ठानेर त्यसलाई नै बोलचालमा उतार्न खोज्थेँ । यसको पनि निश्चित कारण थियो । मलाई लाग्थ्यो, पुस्तकमा लेखिएको भाषा सही हो र त्यसलाई अनुसरण गर्नुपर्छ । त्यतिबेला म बबुरोलाई के थाहा, हरेक भाषाको स्थानीयपन हुन्छ वा हरेक भाषाको भाषिका हुन्छ, जुन मानक भाषामा समेटिन सक्दैन ।

000000

अहिले आएर थाहा हुन्छ, यी अलमल र विरोधाभाषपूर्ण परिस्थितिले म हुर्किरहेको अन्तरसांस्कृतिक परिवेश बोलिरहेको रहेछ । म त्यही अन्तरसांस्कृतिक परिवेशमा भाषा सिकिरहेको रहेछु ।

क्रमिक रूपमा कक्षा उक्लिँदै गएपछि अगाडिका अलमल विस्तारै हट्दै गए । त्यसको ठाउँमा नयाँ अलमल जन्मिन थाल्यो । चार कक्षामा पुगेपछि अङ्ग्रेजीको ‘अल्फाबेट’ सिक्न थालियो । अङ्ग्रेजीका शब्द उच्चारण र सामान्य वाक्य संरचनासँग परिचित हुन पनि समय लाग्यो । ‘कमल इज अ सपकिपर’, ‘गोरे इज अ फ्याट म्यान’ जस्ता वाक्य उच्चारण गरेर अङ्ग्रेजीको औपचारिक पढाइको श्रीगणेश भयो ।  अङ्ग्रेजी ‘अल्फाबेट’ का अक्षरहरू ‘पीयूटी’ मिलेर बनको शब्दको उच्चारण ‘पुट’ हुन्छ भने ‘बीयूटी’ को उच्चारण ‘बुट’ किन हुँदैन वा ‘सीयूटी’ को उच्चारण ‘कुट’ किन हुँदैन भन्नेजस्ता बेमेलपूर्ण व्याकरणीय नियमसित सम्बन्धित प्रश्नले मेरो दिमागलाई बारम्बार हमला गरिहरन्थे ।
ग्राफिक्स : गुगल

विद्यालय तहको पढाइ सकेपछि क्याम्पसमा भर्ना भएपछि त्यो अङ्ग्रेजीले त्यति काम दिएन । यद्यपि विद्यालयमा म अङ्ग्रेजीको राम्रै विद्यार्थी ठहरिन्थे । सरकारी विद्यालयमा अङ्ग्रेजी पनि नेपाली माध्यममा पढेर गएको व्यक्तिलाई अङ्ग्रेजीमा लेखिएका मोटामोटा पुस्तक पढ्नुपर्दा ‘बाउको विहे’ देख्ने अवस्था आयो ।

मलाई थाहा भयो, विद्यालयमा पढिएको अङ्ग्रेजीको ‘लेभल’ आवश्यकता भन्दा धेरै तल रहेछ । तर यो मेरोमात्र समस्या थिएन, दूरदराजका विद्यालयमा पढेर क्याम्पस भर्ना हुन आएका अधिकांश ग्रामीण विद्यार्थीहरू यही समस्याबाट ग्रसित थिए र छन् ।

अङ्ग्रेजीमा लेखिएको पुस्तक छिचोल्न नसेकपछि नेपाली भाषामा लेखिएका पुस्तक र ‘गाइड’ को साहरा नलिई धरै पाइएन । ती ‘गाइड’ मा लेखकको नाम हत्तपत्त उल्लेख हुँदैनथ्यो । लेखकको नाम हुन्थ्यो, ‘एक अनुभवी प्राध्यापक’ । वास्ताविक लेखकको नाम कता लुकेको हुन्थ्यो कता । यसैबाट थाहा हुन्थ्यो, स्तरहीन पुस्तक पढ्दैछु ।

 साथै यो पनि थाहा हुन्थ्यो, ती ‘गाइड’ विद्यार्थीको दिमाग भुट्नका लागि निकालिएका हुन् । तर बाध्यता आवश्यकता बनेर उभिएको हुन्थ्यो । नाफाखोरी अभिप्रायबाट निकालिएका ती ‘गाइड’ ले परीक्षामा उत्तीर्ण हुन त जसोतसो सघाउँथ्यो, तर अङ्ग्रेजी राम्रो बनाउने सम्भावनालाई निकै पर हुत्याइदिन्थ्यो ।

अङ्ग्रेजीमा राम्रो दख्खल नहुँदा समयक्रमसँगै अरु झट्का लाग्न थाले । ‘इङ्लिस मुभी’ हेर्दा नबुझेर अलमल पर्ने, बाटोमा भेटिएका पर्यटकसँग खुलेर गफ गर्न नसकिनेजस्ता समस्या त आफ्नो ठाउँमा छँदैथिए, तीभन्दा पनि गम्भीर पक्ष अरू थिए । राम्रो  ‘करिअर’ बनाउने होडमा कसैको ख्याल नगरी आफूमात्र अघि बढ्ने प्रवृत्तिले गाँजेको युगमा अङ्ग्रेजी कमजोर भएकै कारणले आफू पछि पर्ने अवस्था निम्तिँदै थियो ।

शहरका विद्यालयमा अङ्ग्रेजी माध्यममा पढेकाहरूका अगाडि हामी निरीह बन्नुपर्ने अवस्था थियो । यसबाट रोजगारका आकर्षक अवसरहरू भुस्सिने क्रम पनि निरन्तर जारी रह्यो । थुप्रै बाध्यता र विवशताका बीचमा मुटुभरि सपना सजाएर शहर छिरेका हामीजस्ता गैरअङ्ग्रेजी शिक्षापद्धतिमा हुर्केका ग्रामीणजनका लागि यो एउटा पीडादायी अवस्था थियो । अङ्ग्रेजी जान्नेलाई के के हो भन्ठान्ने तर अङ्ग्रेजी नजान्नेलाई मान्छे नै होइनजस्तो व्यवहार गर्ने प्रवृत्तिको आफू साक्षी बनियो । भाषाकै कारणले दुईथरी नागरिक तयार भइरहेको देख्दा मुटुको एउटा छेउ चसक्क दुख्थ्यो ।

यस्ता कुराहरूले मलाई सोंच्न बाध्य बनायो । यसपछि म अङ्ग्रेजीबारे गम्भीर हुन थालेँ । तर अङ्ग्रेजी सुधार्नका लागि आफूलाई भनेजति खुला बनाउन सकेको थिइनँ । अङ्ग्रेजी सिक्नका लागि ‘ल्याग्वेज इन्स्टिच्युट’ धाउने चाहना ममा थिएन । अहिलेको जस्तो इन्टरनेटको सुविधा भएको भए कुरा बेग्लै हुन्थ्यो । इन्टरनेटले कसैले थाहा नपाउने गरी स्वाध्ययनबाट भाषा सिक्ने अवसर दिएको छ, अहिले । इन्टरनेटमा उपलब्ध अङ्ग्रेजी भाषाका हजारौं कोर्सहरूले अङ्ग्रेजी सिक्ने काम सहज भएको छ । अङ्ग्रेजी सुधार्न भनेर म जुर्मुराइरहेको बेलामा इन्टरनेट अस्तित्वमा आइसकेको भए पनि अहिलेको जस्तो व्यापक थिएन ।


मनमा अङ्ग्रेजी सुधार्ने हुटहुटी थियो । किन हो किन, मलाई बाहिर देखिएरै अङ्ग्रेजी सिक्नै मन लागेन । मलाई स्वाध्याय नै उपयुक्त विकल्प लाग्यो । त्यतिबेला म अङ्ग्रेजीको गुरुविहीन चेला थिएँ । मेरा न कोही मार्गदर्शक थिए, न त कम्प्युटरको विन्डोमा खुरुखुर हाँजिर अनलाइन गुरु वा युट्युबका भिडियो कोर्स नै उपलब्ध थिए । म नितान्त एक्लो यात्री थिएँ, अङ्ग्रेजी सिकाइको ।

अङ्ग्रेजीमा लेखिएका पुस्तक तथा पत्रपत्रिका हरेस नखाई पढ्ने बानी बसाल्न थालेँ । अङ्ग्रेजी शब्द भेटने बित्तिकै नोट गरेर शब्दकोशमा अर्थ हेर्न थालेँ । पढ्दा नबुझिएका शब्दको अर्थ जान्न अङ्ग्रेजी–नेपाली शब्दकोश तथा अङ्ग्रेजी शब्दकोश किनेँ । व्याकरण सुधार्न व्याकरणसम्बन्धी  स्तरीय पुस्तकरू पनि किनेँ  ।

 नबुझेका शब्दको अर्थ थाहा पाउन शब्दकोश पल्टाउन गाह्रो मानिनँ । राजनारायण प्रधानले निकाल्नुभएको ‘आधुनिक नेपाली–अङ्ग्रेजी शब्दकोश’ प्रयोग गर्न थालेँ । मलाई अहिलेसम्म सबैभन्दा बढी मन परेको नेपाली–अङ्ग्रेजी हो यो ।

स्वाध्यायका आफ्नैखाले समस्या थिए । शब्दार्थ, शब्दको उच्चारण, बाक्यको बनोट, शब्दको वाक्यमा प्रयोगलगायतका विषयमा गाँसिएका सयौं प्रश्नहरू मनमा उब्जन्थे । प्रश्नको उत्तर दिने व्यक्ति मेरो अगाडि हुन्थेन । त्यतिबेला मेरो सम्पर्कमा कुनै घागडान ‘अङ्ग्रेजबाज’ थिएनन् । मेरो प्रश्न मनमै रहन्थे । किताबले समाधान गर्न नसकेका जिज्ञासाहरू अनुत्तरित नै रहन्थे ।

ती अनुत्तरित प्रश्नका उत्तर समयले नै दिनेछ आशा राखेर अङ्ग्रेजी सिक्ने अभियानलाई निरन्तरता दिइरहेँ । अङ्ग्रेजीमा लेखिएका पुस्तक तथा पत्रपत्रिका पढ्ने क्रमसँगै रेडियो तथा टेलिभिजनका अङ्ग्रेजी बुलेटिन ध्यान दिएर सुन्न र हेर्न थालेँ । सर्ट वेभमा बीबीसी विश्वसेवा सुन्न थालेँ । कति सालतिर हो कुन्नि, रेडियो सगरमाथाले बीबीसी विश्वसेवा (४५ मिनेट) प्रसारण गर्न थाल्यो । केही वर्षपछि रेडियो नेपालले एफएम ब्याण्डको १०३ मेगाहर्जमा बीबीसी विश्वसेवा प्रसारण गर्न थाल्यो । यी सबै अवसरलाई मैले फुत्कन दिइनँ ।

एक समय यस्तो पनि आयो, अङ्ग्रेजी सिक्ने नाउँमा नेपाली पत्रपत्रिका नै पढ्न छाडिदिएको थिएँ । एकप्रकारले म अङ्ग्रेजीको ‘ दिवाना’ बनेको थिएँ । एकपटकको ‘वर्ल्ड कप’ को नारा थियो : ‘फुटबलमा खाऔंँ, फुटबलमै सास फेरौंँ, फूटबलमै निदाऔं ।’ म पनि त्यस्तै हुन थालेको थिएँ ।
यही दिवानापनले होला, मेरो अङ्ग्रेजीमा क्रमिक सुधार आएको अनुभव गर्न थालेँ । आत्माविश्वासको तह बढ्दै गयो । बोलाइ, लेखाइ, सुनाइ र बुझाइ भाषाको महत्वपूर्ण पक्ष रहेछन् । अङ्ग्रेजीका यी पक्षमा प्रगति भएको पाएँ । आत्माविश्वासको तह बढेकाले हिजोका अलमल र त्रास विस्तारै पाखा लाग्न थाले ।

समय र परिस्थितिले अङ्ग्रेजी वातावरणतिर घचेट्दै लग्यो । २०५८ सालमा नेपालमा पहिलोपटक आमसञ्चार र पत्रकारिताको स्नातकोत्तरको पढाइ शुरु भयो । पूर्वाञ्चल विश्वविद्यालयको उक्त पढाइका धेरैजसो विषयहरू अङ्ग्रेजीमा पढाइ हुन्थे । जाँच पनि अङ्ग्रेजीमै दिन थालियो । यसले पनि अङ्ग्रेजी सुधार्न धेरै सहयोग गर्‍यो ।

समयक्रममा विदेशी दातृ निकायले सहयोग गरेको मिडियासम्बन्धी संस्थामा ‘नेपाल प्रेस इन्स्च्यिुट’ काम गर्ने अवसर जुटयो । त्यसपछि विदेशी दातृनिकायको सहयोगमा सञ्चालित मिडियासम्बन्धी अरु परियोजनाहरूमा पनि जिम्मेवार पदमा रहेर काम गर्ने मौका पाएँ । यस क्रममा परियोजना प्रस्ताव तयार पार्ने, प्रगति प्रतिवेदन बनाउने र दाताहरूसँग ‘डिलिङ’ गर्ने अभिभारा काँधमा थपियो । यसप्रकारका गतिविधिले पनि नजानिँदो किसिमले अङ्ग्रेजी सिकायो । अङ्ग्रेजी नजान्दा मनमा सवार त्रास विस्तारै भाग्दै गयो ।

यद्यपि मेरो अङ्ग्रेजी सिकाइको रफ्तार धिमा थियो भन्ने लाग्छ । यसका पछि केही निश्चित कारण छन् । मेरो सिकाइ मूलतः पुस्तकमा मात्र आधारित थियो । यस्तो सिकाइले अपेक्षित प्रतिफल नदिने रहेछ । पौडीबारे सैद्धन्तिक ज्ञान सिक्नुभन्दा सीधै पोखरीमा हाम्फाल्दा छिटो सिकिन्छ भनेजस्तै किताबी ज्ञानबाट भन्दा भाषाको व्यवहारिक प्रयोगबाट भाषा छिटो सिकिनेरहेछ । त्यसैले अङ्ग्रेजी मातृभाषीहरूसँगको संगत र  श्रव्य–दृश्य सामग्रीहरूको प्रयोगबाट सिकिएको अङ्ग्रेजी प्रभावकारी हुने रहेछ । अर्थात् ‘रियल लाइफ सिचुएसन’ बाट भाषा छिटो सिकिने रहेछ ।

जीवन–भोगाइले मलाई अर्को महत्वपूर्ण कुरा सिकाएको छ, संस्कृति भाषाको अर्को महत्वपूर्ण पक्ष रहेछ । संस्कृति र भाषा एक–अर्काका परिपूरक रहेछन् । संस्कृति नबुझी भाषा सिकिँदोरहेनछ । संस्कृति नबुझी सिकिएको भाषा एकाङ्की हुँदो रहेछ । यसको एउटा दृष्टान्त छ : अहिले नेपाली मिडियाले पश्चिमी दुनियाँमा प्रयोग हुने ‘फर्स्ट लेडी’ को गलत प्रयोग भएको पाइन्छ । 'फर्स्ट लेडी’ को सांस्कृतिक अर्थलाई ख्याल नगरी सोझो शाब्दि अर्थमात्र दिने गरेको देखिन्छ, जुन सर्वथा गलत छ । ‘फर्स्ट लेडी’ को सोझो अर्थ हुन्छ, ‘प्रथम महिला’ ।

प्रथम महिला भन्ने बित्तिकै सामान्य व्यक्तिको मनमा प्रश्न उठ्छ, कस्तो प्रथम महिला ? सगरमाथा चढ्ने ‘प्रथम महिला’ ? जहाज उँडाउने ‘प्रथम महिला’ ? ‘फर्स्ट लेडी’ को सांस्कृतिक अर्थ बेग्लै छ । सामान्यतया अमेरिकाका राष्ट्रपति वा गभर्नरकी श्रीमतीलाई ‘फर्स्ट लेडी’ भन्ने गरिन्छ । अहिले आएर जुनसुकै देशका राष्ट्रपतिकी श्रीमतीलाई ‘फर्स्ट लेडी’ भन्ने चलन बसेको छ । यसलाई त्यही अनुसार अर्‍थ्याउनुपर्ने हुन्छ, शाब्दिक अर्थ दिएरमात्र पुग्दैन । शब्दको सांस्कृतिक अर्थलाई अलग्याएर शाब्दिक अर्थमा दिँदा अर्थको अनर्थ हुनसक्छ ।

अहिले आएर मेरो चेत खुलेको छ, भाषा सिनित्तै पारेर सिक्न सकिने कुरा कहाँ रहेछ र । यो त जीवन पर्यन्त सिकिरहनुपर्ने कुरा रहेछ । मैले अहिलेसम्म सिकेको अङ्ग्रेजी सामान्य बोलचालको भाषा ‘कम्युनिकेटिभ ल्याङ्ग्वेज’ भन्दा बढी छैनजस्तो लाग्छ । यसको गहिराइ नाप्ने काम मेरो लागि एकप्रकारले असम्भव छ ।

अझै पनि सिक्नुपर्ने कुरा त कति छन् कति । यसप्रकारको स्वीकरोक्ति दिँदा मलाई कुनै लाज लाग्दैन । हामीलाई थाहै छ, मानिसले दुनियाँ छाडेको दिनमा भाषिक सीपलगायत ज्ञान–विज्ञानका धेरै पक्षहरू अधुरै छाडेर जान्छ । त्यसैले आजकल ‘एक महिनामै अङ्ग्रेजी, चिनिया एवम् जापानी भाषा फरर बोल्न सिक्नुहोस्’ भन्ने विज्ञापन 'सफेद झुट' को राम्रो नमूना लाग्छ ।

अहिले पछि फर्केर हेर्दा आफूले खाएको हण्डर सम्झन्छु । अनि त्यही हण्डर सम्झना बनेर आँखा वरिपरि नाँच्न थाल्छ । अङ्ग्रेजीमा बोल्न र लेख्न नजान्ने कतिपय भाइबहिनी देख्दा आफ्नै विगत डुबुल्की मार्न पुग्छु र उनीहरूप्रति ‘इम्प्याथेटिक’ बन्न पुग्छु । साथसाथै, देशमा अङ्ग्रेजी जान्ने र नजान्ने दुईथरी वर्ग उत्पादन गर्ने देशको शिक्षा नीतिको ‘साइड इफेक्ट’ देखेर मन चिमोटिन पुग्छ ।

जेहोस्, अङ्ग्रेजी ‘लाइब्रेरी ल्याग्वेज’ र ‘डोनर ल्याग्वेज’ दुवै हो । हामीजस्ता ‘परनिर्भर संस्कृति’ मा बाँचेकालाई अङ्ग्रेजी नजानी सुख छैन । तर अङ्ग्रेजीमात्र सबथोक होइन रहेछ । संस्कृत, प्राकृत, पालीलगायतका प्राचीन भाषाहरू ज्ञानको अथाह भण्डार रहेछन् । यी भाषा जान्न नसकेकोमा ज्ञानको क्षितिज र भाषिक क्षमताको दायरा निकै खुम्चिएको अनुभूति हुन्छ ।

संसारका सबै भाषा सिक्न सम्भव नभए पनि जातीय पहिचान जोगाउने मातृभाषा (वा क्षेत्रीय भाषा), देशभित्रका विविध समुदायलाई एउटै सूत्रमा बाँध्न सघाउने सम्पर्क भाषा (नेपाली) तथा अन्तर्राष्ट्रिय समुदायलाई जोड्ने अङ्ग्रेजी भाषा जान्नैपर्ने रहेछ । अहिले एकतिर विश्वव्यापीकरणको दायरा फराकिलो हुँदै गएको छ भने अर्कोतिर आफ्नोपनको राजनीति अर्थात् ‘पहिचानको राजनीति’ को ग्राफ पनि उकालो लाग्दैछ ।

यस्तो अवस्थामा 'त्रिभाषिक शिक्षा नीति' को खाँचो गहिरोसँग महसूस हुन थालेको छ । विश्वले नै स्वीकारेको त्रिभाषिक भाषा शिक्षा नीतिलाई व्यवहारमा उतार्दा ज्ञान र सम्भावनाका क्षितिज अरू फराकिलो हुनसक्छ । यसो गर्दा मातृभाषा (स्थानीय भाषा), राष्ट्रिय सम्पर्क भाषा र अन्तर्राष्ट्रिय सम्पर्क भाषा जान्नैपर्ने न्यूनतम आधारभूत मापदण्ड पूरा हुन्छ । जिन्दगीको खुल्ला भाषिक प्रयोगशालाबाट सिकिएको पाठ  यही हो ।

[राजधानी दैनिक (भदौ २१, २०७१) । परिमार्जित संस्करण । ]

[अद्यावधिक : २०७१।०५।२६, २०७७।०४।०६]