Showing posts with label Nepali folksong. Show all posts
Showing posts with label Nepali folksong. Show all posts

Sunday, December 22, 2013

नेपाली लोकगीतको मर्म

–यमबहादुर दुरा

 लेक–बेंसी, भरा–पर्म, ढिकी–जाँतो, उकाली–ओराली, देउराली–भञ्ज्याङ, पाखा–पखेरा, गोठ आदिबाट ग्रामीण जीवन परिवेशित हुन्छ । यही व्यापक परिवेश र पृष्ठभूमिमा लोकगीतको जन्म हुन्छ । लोकगीत बहुप्रचलित एवम् प्राचीन  कर्णप्रिय संगीत हो । यसले ग्रामीण जनजीवनको प्रतिनिधित्व गर्छ । त्यसैले लोकगीतलाई ग्रामीण जनजीवनको ढुकढुकी भन्ने गरिन्छ । आधुनिक गीतमा जस्तो लोकगीतमा रचनाकार हुँदैन । सिङ्गो लोक वा समाज नै लोकगीतको रचनाकार मानिन्छ । लोकगीत कहिलेदेखि प्रचलनमा आयो भन्ने विषयमा विद्वानहरू एकमत देखिँदैनन् । तैपनि मानव सभ्यताको उत्पत्तिसँगसँगै लोकगीतको जन्म भएको मानिन्छ ।
लोकगीत जति मार्मिक छ, त्यति नै सरल, सरस र बोधगम्य पनि छ । निरक्षर मानिसले पनि लोकगीतको भावना र छनक सजिलै बुझ्न सक्छन् । गाउँघरका लोकगायक तथा लोकगायिकाहरूले नदी बगेभैmँ अबिराम गीत गाउँछन् । लोकगीतको खाल जमेको ठाउँमा बालकदेखि बृद्धसम्मका मानिसहरू झुम्मिन्छन् र आफूलाई भावनामा चुर्लुम्म डुबाउँछन् ।
विवाह, ब्रतबन्ध, न्वारान, पूजाआजाजस्ता सामाजिक तथा धार्मिक उत्सव  एवम् चाडपर्वहरूमा लोकगीत गाइन्छ । कुनै कुनै लोकगीत सदावहार रूपमा गाइन्छ भने कुनैचाहिँ विशेष चाडपर्व र अवसरहरूमा गाइन्छ । अर्कोतिर रोदी, मेलापात, वनपात, आदिलाई लोकगीतको उर्वरभूमि मानिन्छ । ठाउँअनुसार लोकगीतमा भिन्नता आउँछ । नेपालको पूर्वी, मध्य र पश्चिमी भागमा विद्यमान लोकलयको भिन्नतालाई यसको उदाहरणको रूपमा लिन सकिन्छ । नेपालमा हाल मालाश्री, यानीमाया, चुनीमाया, कौरा,देउडा, यानीहो, झयउरे, ठाडो भाका,  लैबरी, देहरादूने, आदि लोकलयहरू प्रचलित छन् । सारङ्गी, मादल, खैंजडी, मजुरा, डम्फू, आदि लोकलयसँग गाँसिएका वाद्यसामग्रीहरू हुन् ।
लोकगीत मानवीय अभिव्यक्ति हो । यसमा सुख–दुःख र हाँसो आँशुका कुराहरू समाहित हुन्छन् । यसमा समाजमा भएगरेका कुराहरू प्रतिविम्बित हुन्छन् ।  लोकगीतको माध्यमबाट व्यक्त भएका केही लोकभावनाहरू यहाँ प्रस्तुत छन् ।
हाम्रो समाजमा छोराले मात्र अंश पाउने प्रचलनलाई तीखो व्यङ्ग्य गर्दै अंशमा ठगिएकी एकजना चेलीले वनको कोइलीको विरही स्वरमा आफ्नो स्वर मिलाउँदै यसो भन्छिन् –
दाजु तिमी अंशको धनी
म बहिनी धुरीको बलेनी ।

हाम्रो समाजलाई गरिबीको क्रूर पञ्जाले गाँजेको छ । एकसरो लुगा लाउन र एकपेट खानका लागि मुग्लान पस्ने युवाहरूको यहाँ कुनै कमी छैन । मन नलाग्दा नलाग्दै पनि मुग्लान पस्न विवश एकजना युवक आमालाई नरुन आग्रह गर्दै यस्तो लोकलय गुञ्जाउँछ–
आमा तिमी नरुनू मेलैमा
मैले डाँडो काटने बेलैमा ।
नेपालबाट भारतीय तथा ब्रिटिश सैनिक सेवामा भर्ती भएर जीवनयापन गर्ने वीर गोर्खाली दाजुभाइहरूको जमात सानो छैन । रेडियोले विदेशमा लडाइँ हुँदा थुप्रै मानिसहरू हताहत भएको समाचार दिँदा सैनिकका प्रियाहरू चिन्तित बन्नु स्वभाविक हो । यस्तो समाचार सुन्दा कतै आफ्नो हृदयको राजालाई गोला–बारुदले निशाना त बनाएन भन्ने आशंकाले उनीहरूलाई हरदम सताइरहेको हुन्छ । यतिखेर उनीहरूको गलाबाट अचानक पीडा मिश्रित स्वर गुञ्जन्छ–
सञ्चै छौ कि विसञ्चो भयौ कि
तातो गोली छातीमा लाग्यो कि ।
उता, युद्धभूमिमा जीवन र मृत्युको दोसाँधमा  रहेर प्रिया र परिवारको यादमा छटपटाइरहेका सैनिक आफ्नो पीडा यसरी पोख्दछ–
हिँड्दैछु नागा हिलैमा
राइफल छ काँधमा पीर शिरैमा ।
काम र मामको खोजीमा मुग्लान पस्ने कतिपय युवाहरू त्यतै हराउने, परदेशमा एकलाशे मरण हुने, यता घर परिवारले दुःख पाउने तथ्य कुनै नयाँ कुरा होइन । यही तीतो यथार्थलाई चिन्तन–मनन गरेर गाउँको बाला आफ्नो प्रेमीलाई विदेश नजान तथा यहीँ दुःखजेलो गरेर जीवन बिताउन आग्रह गर्दछिन्–
यहीँ खनौँला गैची र कोदाली
खाउँला बरु खोलेमा नून हाली ।
लोकगीतमा ऐतिहासिक घटनाक्रमको पनि वर्णन भएको पाइन्छ । यसबाट लोकगीतको मधुर धुनसँगै ऐतिहासिक तथ्य पनि हाँसिल गर्न सक्छौं । विसं १९९० को विष्मयकारी भूइँचालोबारे यस्तो गीत प्रचलित छ–
घुरुमा घुरु परेवा घुर्यो बार्दली कौशीमा
नब्बे है सालमा भूइँचालो गयो सोमबारे औँशीमा
हाम्रो सांस्कृतिको परिचायक मानिने लोकगीतहरू अहिले लोपोन्मुख अवस्थामा छ । यतिखेर हामीकहाँ कोठामा सिर्जना गरिएका नक्कली लोकगीतहरूको बाढी आउन थालेको छ, जसलाई कतिपय हिसाबले जायज भन्न सकिन्न । । समाजलाई सकारात्मक दिशातिर उन्मुख गराउने लोकगीतको भण्डार घट्दो छ । यस्ता विकृतिहरूबाट छुटकारा पाउन तथा लोकगीतको गौरवमय परम्परालाई कायम राख्नका लागि यथार्थपरक लोकगीत खोज, अनुसन्धान र संरक्षण गर्नुपर्ने देखिन्छ ।

[साभार: कान्तिपुर कोसेली (चैत १०, २०५२)]