Showing posts with label world events. Show all posts
Showing posts with label world events. Show all posts

Monday, December 30, 2019

सन् २०१९ का प्रमुख विश्व–घटनाक्रम

–यमबहादुर दुरा

सन् २०१९ का केही घटनाक्रमहरू :

दक्षिण अमेरिकी कम्युनिष्ट मुलुक भेनजुएला एउटा लामो र कहालीलाग्दो आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । वर्षौंको आर्थिक सङ्कट थामिने कुनै सङ्केत देखिन्न । यसैबीच, त्यहाँका राष्ट्रपति निकोलस मदुरोले जनवरी १० तारिखमा दोस्रो कार्यकालको सपथ लिए । धेरैले उनको विजयको वैधतामाथि प्रश्न उठाएका छन् । अर्थनीति र राजनीति दुवै बिग्रँदै जाँदा त्यहाँका नागरिक नियमित रूपमा सडकमा उत्रिएका छन् । कतिले चरम अव्यवस्था र गरिबी सहन नसकेर देश छाडेर गएका छन् । नयाँ वर्ष २०१९ को नयाँ पलले पनि त्यहाँका निराश नागरिकको ओँठमा खुसीको मुस्कान फक्राउन सकेन । त्यहाँको बिग्रँदो आर्थिक अवस्था कसरी सुध्रिएला ? यसको कुनै सहज उत्तर छैन ।

तस्बिर :  गुगल 
सन् २०१९ मा ब्रजिलको अमेजन जङ्गलमा भयानक आगलागी भयो । आगलागीबाट असंख्य वन्यजन्तुका साथ ९ लाख ६ हजार वन क्षेत्र खाग भए । यद्यपि, त्यहाँको जङ्गलमा आगलागीका घटना सामान्य नै मानिन्छ । यसपटक भने ज्यादै ठूलो स्केलमा लामो समयसम्म आगलागी भइरह्यो । यो असामान्य घटना हो । दक्षिण अमेरिकाका नौवटा देशमा २० लाख वर्गमाइलभन्दा बढी क्षेत्रफलमा फैलिएको  अमेजन जङ्गललाई ‘पृथ्वीको फोक्सो’ उपमा पनि दिइन्छ । यसले पृथ्वीमा २० प्रतिशत अक्सिजन उत्पादन गर्छ । खोरिया फँडानी गरी खेतीपाती गर्ने परम्परागत कृषि प्रणाली र प्राकृतिक कारण दुवै यसका लागि जिम्मेवार मानिएको छ । जनवरीदेखि शुरु भएको आगलागी अहिलेसम्म पनि रोकिएको छैन ।


***

हाम्रा छिमेकी मुलुक भारत र पाकिस्तानबीच सल्किएको दशकौंको वैरभावको आगो निभ्ने कुनै सम्भावना देखिँदैन । सन् १९४७ एउटै भूगोल टुक्रिएर दुई मुलुक बनेका यी  छिमेकीले एकआपसमा धेरै पटक युद्ध खेपिसकेका छन् । भनाबैरीको अनन्त श्रृङ्खला जारी छ । यस्तैमा २०१९ को फेब्रवरीमा यी दुई देश झण्डै झण्डै युद्धको अवस्थामा पुगिसकेका थिए । दुवै एकअर्काको आक्रमणकारी विमान खसालेको दाबी गरे । भारतीय सेनाको एउटा विमान पाकिस्तानी भूमिमा खसाइएपछि त्यसका पाइलट  भाग्य बाँचे । उनलाई भारत फर्काइएको दृश्य टेलिभिजनका स्क्रिनहरूमा देखिएका थिए ।


***


ग्राफिक्स :  गुगल 
लामो वादविवाद र राजनीतिक खिचातानीका बीच मार्च २९ तारिखमा बेलायत युनियनबाट बाहिरियो । यससँगै बेलायत र युरोपियन युनियनबीचको चार दशक लामो भाइचाराको नाता टुटेको छ । युरोपियन युनियन त्याग्नेमा पहिलो सदस्यको राष्ट्रको रूपमा बेलायतको नाम इतिहासमा अङ्कित भएको छ । बेलायतले युरोपियन युनियनबाट बाहिरिन शुरु गरेको लम्बेतान प्रक्रियाबाट शब्दकोशमा एउटा एउटा शब्द नै थपिएको छ । त्यो हो, ‘ब्रेजिक्ट ’ । ‘ब्रेजिक्ट’ ले बेलायतको राजनीतिक जीवनमा हलचल नै ल्याएको छ, जुन अझै  शान्त भइसकेको छैन । त्यो हलचल त्यति सजिलै शान्त हुने अवस्था पनि देखिन्न ।

मार्च महिनामा न्युजिल्याण्डमा रौँ ठाडो पार्ने लोमहर्षक घटना घट्यो । एउटा क्रिस्चियन चर्च मस्जिदमा एकजना व्यक्तिले गोली चलाउँदा ५१ जनाले ज्यान गुमाए भने ४९ जना घाइते भए । यस अपराधिक घटनाको सोसल मिडियामा ‘लाइभ स्ट्रिमिङ’ समेत भयोे । यसले मानिसको अपराधिक मानसिकताको दायरा कति फराकिलो छ भन्ने त सङ्केत गर्छ नै, त्यसमा पनि सोसल मिडियाको कुन हदसम्म दुरुपयोग हुनसक्छ भन्ने तथ्य यस घटनाले अघि सारेको छ ।

सन् २०१९ मा हङकङ अधिकतम् चर्चामा रह्यो । नागरिक अधिकार बहाल नभएको मानिने  कम्युनिष्ट मुलुक चीनको अभिन्न अङ्ग भएर पनि स्वतन्त्रता उपभोग गरिरहेको छ । बेलायती उपनिवेशबाट सन् १९९७ मा मुक्त भएपछि हङकङले ‘एक देश, दुई नीति’ अनुरूप सापेक्षिक रूपमा बढी स्वतन्त्रता उपभोग गरिरहेको छ । तर, स्वतन्त्रताप्रेमी हङकङवासीले यत्तिमै चित्त बुझाएका छैनन् । हङकङवासी मार्च १५ देखि तरङगित हुन थाले । चिनियाँ सरकारले ल्याएको सुपुर्दगी कानुनप्रति असहमति जनाउँदै हङकङवासी सरकारविरुद्ध सडकमा उत्रिए । उनीहरूको असन्तुष्टि र सडक प्रदर्शन थामिने छाँडकाँट देखिन्न । सरकारविरुद्ध निरन्तरको प्रदर्शनमा अहिलेसम्म २ हजार ६ भन्दा बढी घाइते भएका तथा ६ हजारभन्दा बढी पक्राउ परेका तथ्याङ्क सार्वजनिक भएका छन् ।

अप्रिल १५ तारिखमा फ्रान्सको पेरिसस्थित ८ सय ५० वर्ष पुरानो नोटे«डाम क्याथेड्रल (चर्च) को क्षत आगलागी नष्ट भयो । आगलागीको कारण खुलेको छैन । ऐतिहासिक तथा सांस्कृतिक महत्वको त्यस क्याथेड्रलमा कसैले जानाजान आगलागी गराएको भन्ने प्रमाण अहिलेसम्मको अनुसन्धानमा भेटिएको छैन । फ्रान्सका राष्ट्रपति इमान्युल म्याक्रनले पाँच वर्षभित्र क्याथेड्रलको पुनःनिर्माण गर्न आदेश दिएका थिए । तर, विज्ञहरूले यसको निर्माण गर्न दशकौं लाग्ने बताएका छन् ।

अप्रिलमै जापानी सम्राट अकिहितोले राजगद्दी त्यागे । उनी ३० वर्ष राजगद्दीमा रहेका थिए । बितेको २ सय वर्षको इतिहासमा राजगद्दी त्याग्नेमा उनी पहिलो जापानी सम्राट हुन् । अकिहितोले राजगद्दी त्यागेपछि उनका छोरा नरुहितो सम्राट भएका छन् । सन् २०१६ एउटा मा दुर्लभ सार्वजनिक भाषणमार्फत  अकिहितोले आफूलाई राजगद्दी त्याग्न सजिलो हुने गरी कानुन बनाइदिन आग्रह गरेका थिए । सोही अनुरूप त्यहाँको संसदले कानुन बनाइदिएको थियो ।

भारतमा अप्रिल–मे महिनामा सम्पन्न चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) प्रबल बहुमतका साथ पुनः सत्तासीन भएको छ । भाजपा कट्टर हिन्दूवादी–दक्षिणपन्थी दल मानिन्छ । गुजरातको मुख्यमन्त्रीसमेत भइसकेका भाजपा नेता नरेन्द्र मोदी सन् २०१४ मा पहिलो पटक भारतका प्रधानमन्त्री बनेका थिए । यसपटकको चुनावपछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री भएका छन् । देशको सांस्कृतिक विविधताप्रति असहिष्णु बनेको आरोप भाजपा र मोदीमाथि लाग्दै आएको छ । लेखक, पत्रकार, बुद्धिजीवीलगायतका एउटा तप्का मोदी सरकारप्रति आलोचक रहँदै आएको छ ।


***

मार्ग जुकरबर्गले शुरु गरेको लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले पछिल्लो समयमा थुप्रै कानुनी झमेला व्यहोर्दै आएको छ । सन् २०१९ मा पनि यो क्रम जारी रह्यो । अमेरिकाको सङ्घीय वित्त आयोगले फेसबुकले आफ्ना प्रयोगकर्ताहरूको निजी सूचना दुरुपयोग गरेको आरोप लगायो । यही मामिलालाई मिलाउन जुलाईमा फेसबुकले ५ बिलियन अमेरिकी डलरको ठूलो रकम जरिवानास्वरूप तिर्नुपर्‍यो । यो घटनाक्रमले प्रयोगकर्ताहरूको निजी सूचनाको गोपनीयताको मामिला पेचिलो बन्दै गएको सङ्केत गर्छ ।

समय समयमा चर्चामा आइरहने बेलायती राजसंस्था सन् २०१९ मा पनि सानोतिनो चर्चा बटुल्यो । राजकुमार ह्यारी र उनकी जीवनसंगिनी मेघन मर्कललाई सन्तानलाभ भयो । उनीहरूको पहिलो सन्तानले मे ६ तारिखमा यस धर्तीमा पाइला टेके । उनको नाम आर्ची ह्यारिसन राखिएको छ । बेलायती राजगद्दीको उत्तराधिकारीका रूपमा आर्ची अहिले सातौं पंक्तिमा छन् । सन् २०१८ मे १८ तारिखमा राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेघन मर्कल एक भव्य समारोहबीच विवाह बन्धनमा बाँधिएका थिए ।


***

सन् २०१९ मा विश्वसाहित्य जगतले एउटा मूर्धन्य व्यक्तित्व गुमायो । अगष्ट ५ तािरखमा अमेरिकाकी ख्यातिप्राप्त लेखिका टोनी मोरिसन (सन् १९३१—२०१९) को ८८ वर्षको उमेरमा निधन भयो । अमेरिकाकै प्रिन्सटन विश्वविद्यालयमा लामो समयसम्म प्राध्यापन पेशामा रहेर ज्ञान र विचार बाँड्दै आएकी मोरिसनका ‘द ब्जुवेष्ट आइ’ (सन् १९७०), बिलभ्ड (सन् १९८७) लगायत ११ वटा उपन्यास प्रकाशित छिन् । जादुमयी लेखनकलाका लागि चर्चित मानिने उनले सन् १९९३ मा ‘बिलभ्ड’ नामक उपन्यासका लागि नोबेल पुरस्कार हात पार्न सफल भएकी थिइन् । यसबाट साहित्यिक समुदाय जति खुसी थिए, त्यसभन्दा बढी अश्वेत समुदाय खुसी थियो । यसको दरिलो कारण छ ।  यसप्रकारको पुरस्कार हात पार्नेमा उनी पहिलो अश्वेत महिला थिइन् ।

मोदी सरकारले भारतीय संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरी  जम्मु–कश्मिरलाई विशेष दर्जा अगष्ट ५ तारिख  खारेज गर्‍यो । यससँगै जम्मु–कश्मिर केन्द्र–शासित क्षेत्र हुन पुगेको छ । यसले भारतमात्र होइन, पाकिस्तानमा समेत तरङ्गत पैदा गर्‍यो । भारत र पाकिस्तानमा प्रदर्शन भए । यी दुई मुलुकबीच विवादको जडको रूपमा रहेको जम्मु–कश्मिरको भविष्यसँग जोडिएको त्यस निर्णयले विश्व समुदायको ध्यान खिच्यो । यो घटना समाचारमा छाइरह्यो ।


***

दुनियाँमा भयानक मावनीय विपत्ति ल्याउने दोस्रो विश्वयुद्ध पोल्याण्डबाट शुरु भएको मानिन्छ । विष्मयकारी दोस्रो विश्वयुद्ध शुरु भएको सन् २०१९ को सेप्टेम्बरमा ८० वर्ष लागेको छ । यही दुःखद प्रसंगको पृष्ठभूमिमा पोल्याण्डमा विशेष कार्यक्रमसहित दोस्रो विश्वयुद्धको ८० औं वर्षगाँठ मनाइएको छ । दोस्रो विश्वयुद्धमा पोल्याण्डले व्यापक क्षति भोग्नुपरेको थियो । चेतनशील प्राणी मानिसकै कारण मानवतामाथि नै प्रश्न उठेको त्यो भयानक घटनाबाट पोल्याण्डले आफ्नो कुल जनसंख्याको पाँच भागमा एक भाग गुमाउनुपरेको थियो ।


***

भारतले नोभेम्बर तारिखका दिन नेपाली भूभाग लिम्पियाधुरा–लिपुलेकसमेतलाई समेटेर आफ्नो नयाँ नक्शा नक्शा सार्वजनिक गर्‍यो। यसले नेपाल र भारतीय थाँती रहेको सीमा विवादलाई पुनः एकपटक सतहमा ल्याइदियो । भारतीय कदमविरुद्ध नेपालमा प्रदर्शन भए । भारतको ‘बिग्र ब्रदर एटिच्युड’ र नेपालको राष्ट्रिय स्वाभिमानबारे चर्काचर्कीपूर्ण विचार–विमर्श भए । भारतीय कदमको नेपालमा विरोध भइरहँदा भारतीय विदेश मन्त्रालयले नेपालको भूमि आफ्नो नक्शामा नसमेटेको बतायो । भारतले देखाएको व्यावहारले नेपाल–भारतबीच विद्यमान सीमा–समस्या सजिलै समाधान हुने देखिन्न । अहिले आएर यो मामिला सामसुमजस्तै भएको छ ।


***

डिसेम्बर १७ तारिखमा पाकिस्तानको विशेष अदालतले विश्व समुदायलाई नै चकित तुल्याउने गरी पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्डको फैसला  सुनायो । उनलाई राष्ट्रघात गरेको आरोप लगाइएको छ । सन् २००७ मा संविधान खारेज गरी तत्कालीन सैनिक जनरल मुसर्रफ पाकिस्तानको राष्ट्रपति भएका थिए । उनी सन् २०१६ देखि युएईमा रहँदै आएका छन् । उनी अदालतको कुनै पनि सुनुवाइमा उपस्थित भएनन् । पैmसला निम्त्याएको असहज परिस्थितिको कसरी पटाक्षेप होला ? हेर्न बाँकी छ ।

सन् २०१९ निख्रिँदै गर्दा विश्वको ‘सुपरपावर’ मानिने अमेरिका घरेलु राजनीतिका कारण चर्चामा आयो । अनेकन विवादस्पद अभिव्यक्ति दिएर चर्चामा आइरहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोगको प्रस्ताव अघि सारियो । उनको कार्यशैलीबाट लोकतन्त्र र राष्ट्रिय सुरक्षामा चुनौती थपिएको अमेरिकीहरूको बुझाइ छ ।

उनीमाथि शक्ति दुरुपयोग गरेको आरोपमा महाअभियोगको प्रस्ताव अघि सारिएको हो, जुन बहुमतले पारित भयो । डिसेम्बर १८ तारिखमा भएको मतदानमा पक्षमा २३० तथा विपक्षमा १९७ मत परेको थियो । मतदानअघि तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स्’ मा प्रस्तावको पक्ष र विपक्षमा गर्मागर्मी बहस भएको थियो । अमेरिकी सिनेटले उनीमाथिको महाअभियोग प्रस्तावलाई दुई तिहाइ बहुमतले पारित गरेमा उनी पदमुक्त हुनेछन् ।

यता, छिमेकी मुलुक भारतमा नागरिकतासम्बन्धी कानुनका कारण डिसेम्बरको चिसोमा पनि राजनीतिक तापक्रम उच्च विन्दुमा पुग्यो । भारतका विभिन्न भागमा हिंसात्मक प्रदर्शन भए । नागरिकतासम्बन्धी नयाँ कानुनले मुस्लिमबाहेक अन्य आप्रवासीलाई धार्मिक आधारमा नागरिकता दिन सकिने व्यवस्था गरेको छ । यसअघि सन् १९५५ मा जारी भएको नागरिकतासम्बन्धी ऐनले कानुनले गैरकानुनी भनिएका आप्रवासीहरूलाई भारतीय नागरिक हुन बाटो खोलेको थिएन । नयाँ कानुनले अघि सारेको प्रावधानलाई अन्यायपूर्ण र विभाजनकारी भएको भन्दै जनआक्रोश बढेको हो ।

[साभार : लोकसवाद । २०७६ साल पुस १३ गते । परिमार्जित संस्करण । स्रोत : सामाचार ऐजेन्सीहरू ।]

Tuesday, January 1, 2019

सन् २०१८ लाई सरसर्ती नियाल्दा


-यमबहादुर दुरा

समय निरन्तर गतिवान् छ । समयको गतिशीलतासँगै क्यालेण्डरका पानाहरू पल्टिने क्रम जारी छ । यही क्रममा सन् २०१८ का सम्पूर्ण पाना पल्टिसके । अब सन् २०१८ का लागि निर्मित क्यालेण्डरको हैसियत ऐतिहासिक दस्ताबेजभन्दा बढी रहने छैन । यस लेखमा हामीमाझबाट अलग्गिएर भर्खरैमात्र अतीत बनेको सन् २०१८ लाई सरसर्ती नियाल्ने प्रयास गरिएको छ ।

विश्व राजनीतिक रङगमञ्चमा घटित विभिन्न घटनाक्रमका बीचमा नेपालले पनि आफ्नो स्थान सुरक्षित राख्यो । संघीयता लागू हुने चरणमा रहेको अवस्थामा भएको निर्वाचनमा नेपालमा कम्युनिष्ट घटकले  दुई-तिहाइ बहुमत प्राप्त गरे । नयाँ वर्षको पूर्वार्द्ध(फेब्रुवरी १५) मा तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कम्युनिष्टको एकमना सरकार बन्यो ।

सन् २०१८ भरि नै दक्षिण अमेरिकाको कम्युनिष्ट मुलुक भेनेजुएला चर्चामा रह्यो । आर्थिक मन्दी झेलिरहेका भेनेजुयाली नागरिकले हैरानी खेपिरहे । हातमुख जोर्नै नसक्ने अवस्थामा पुगेपछि त्यहाँका नागरिक देश छाडेर छिमेकी मुलुकमा जाने क्रम चलिरह्यो । टेलिभिजनका पर्दा र अखबारका पानाहरू त्यहाँका नागरिकले झेल्नुपरेको अर्थतन्त्रसँग सम्बन्धित पीडाका अनन्त र अवर्णनीय कथाबाट रङ्गिरहे ।


भेनेजुएला सन् २०१० देखि निरन्तर आर्थिक संकटमा फसिरहेको छ । त्यहाँको मुद्रा बोलिभार चर्को किसिमले अवमूल्यन भइरह्यो । महंगीले सर्वसाधारण नागरिकको ढाड सेकाइरह्यो । सँगसँगै बेरोजगारी पनि उर्लिएर गयो । नागरिकले भोगेका आर्थिक मारबाट मुक्ति दिलाउन सरकारले ठूलो मूल्य (एक लाख) को मुद्रा निष्काशन गर्नेलगायतका धेरै कदम चाल्यो । तर ती सबै प्रयास प्रभावहीन बने । त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उनको कम्युनिष्ट सत्ता जनआक्रोशको केन्द्र बनिरहे ।


दक्षिण अमेरिकीका अर्का कम्युनिष्ट मुलुक क्युबा पनि एक मन्द तर जबरस्त राजनीतिक परिवर्तनबाट गुज्रियो । राउल क्याट्रोले राष्ट्रपति पदबाट राजीनामा दिने घोषणा गरे । उनी फिडेल क्यास्ट्रो (सन् १९२६—२०१६) का भाइ हुन् । क्रान्तिकारी छवि बनाएका फिडेल क्यास्ट्रो सन् १९५९ देखि २००८ सम्ममा निरन्तर सत्तामा रहे, जसले अमेरिकासँँग सधैँभरि टक्कर लिइरहे ।

यी कम्युनिष्ट तानाशाहका अडानलाई धेरैले पहरोसँग कुइनो जुधाएको भनेर टिप्पणी गरिरहे तर कहिल्यै हार्न नजान्ने उनको आँटप्रति विश्वसमुदाय दङ्गदास बनिरह्यो । उनै क्रान्तिकारी व्यक्तित्वका भाइ दाइको ठाउँमा आसिन रहे । अन्ततः राउल क्याट्रोले पनि पूर्वघोषित रूपमा अप्रिलमा पदत्याग गरे । यससँगै क्युबामा लगभग छ दशक लामो क्याट्रो युगको अन्त्य भयो । त्यहाँ राजनीतिक व्यवस्था नबलिए पनि वंश भने बदलियो ।

प्रेम र घृणाको सम्बन्धमा रहेका विश्व शक्तिसम्पन्न मुलुक चीन र अमेरिकाको साइनोले सन् २०१८ मा अलिक परक धार समात्यो । विगतमा चीनमा मानव अधिकारको कमजोर रेकर्ड, तिब्बत तथा ताइवानको स्वतन्त्रताजस्ता मामिलालाई अमेरिकाले जोडतोडका साथ उठाउँथ्यो । चीनले त्यसको प्रतिवाद गर्नमै समय खर्च गर्‍थ्यो ।

 मूलतः राजनीतिक मामिलामा रस्साकसी चल्ने यी शक्तिसम्पन्न मुलुकका लागि यस पटकचाहिँ अर्कै विषय शिरदर्द बन्यो । त्यो हो, व्यापारिक विषय । यद्यपि, व्यापारलाई पनि राजीतिकै हिस्सा मान्न नसकिने होइन । चीन र अमेरिका आफैंमा ठूला व्यापार साझेदार हुन् । व्यापारिक वस्तुहरूमा लगाइने करको विषयलाई लिएर दुई मुलुकबीच चर्काचर्की भइरह्यो, भनाबैरी चलिरह्यो । व्यापारिक मामिलाबाट विकसित यस घटनाक्रम ‘व्यापार युद्ध’ नामले परिचित छ ।


सूचना प्रविधिको दुनियाँ सन् २०१८ चर्चाभन्दा बाहिर रहन सकेन । बेलायतस्थित राजनीतिक परामर्शदाता संस्था 'क्याम्ब्रिज एनालिटिका' ले लाखौं प्रयोगकर्ताको प्रोफाइलबाट निजी जानकारी लिएको भेद खुल्यो । यस प्रकरणमा नितान्त राजनीतिक प्रयोजनका लागि लाखौं मानिसका व्यक्तिगत विवरण अनुमतिबिनै प्रयोग गरिएका थिए । यो घटनाले 'फेसबुक' लगायतका सामाजिक सञ्जालबाट मानिसको गोपनीयता जतिबेला पनि भङ्ग हुनसक्छ भन्ने सन्देश दिएको छ ।

बेलायती राजखानदान चर्चाबाहिर रहन सक्दैन । राजकीय जीवनमा धेरै उतारचढाव व्यहोरेको बेलायतको राजखानदानका लागि सन् २०१८ उल्लेखनीय रह्यो । कतै प्रशंसा त कतै आलोचना भोगेका राजकुमार ह्यारीले यसै वर्षको मे १९ तारिखमा घरबार जोडे । लामो प्रेम प्रसंगपछि उनले अमेरिकी अभिनेत्री मेघन मार्कललाई जीवनसाथी रोजे, जो  अगाडि नै वैवाहिक जीवन भोगिसकेकी थिइन् । उनै अभिनेत्रीसँग राजकुमार ह्यारी एक भव्य समारोहबीच विवाह बन्धनमा बाँधिए ।

विवादास्पद जीवनशैलीका कारण असीमित मिडिया कमरेज पाएकी बेलायती राजकुमारी डायनाका छोरा भएकाले पनि हुनसक्छ, ह्यारीको वैवाहिक प्रसंग निकै चर्चामा रह्यो । यद्यपि, ह्यारी स्वयं धेरै हिसाबले सेलिब्रिटी हुन् । उनको चर्चाका लागि उनको कर्म नै काफी छ ।

सधैँभरि सत्ता र शक्तिको वृत्तमा  घुमिरहने रुसी राजनीतिज्ञ भ्लादिमिर पुटिन यस वर्ष पनि चर्चामा रहे । कहिले अमेरिकासँग पौठेजोरी खेलेर त कहिले आन्तरिक राजनीतिक बाघचालमा बाजी मारेर उनी बरोबर चर्चामा आइरहन्छन् । कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपति हुँदै सन् सन् १९९९ देखि निरन्तर सत्ता र शक्तिमा रहिरहेका पुटिन मार्चमा चौथो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भए । पछिल्लो घटनाक्रमले उनको राजनीतिक सौर्यको थप परिचय दिएको छ ।

उता, लामो समयदेखि एकअर्काविरुद्ध धम्कीको भाषा बोलिरहने उत्तर कोरिया र अमेरिकाको सम्बन्धले सन् २०१८ नयाँ मोड लियो । यी दुई मुलुकले दुनियाँलाई चकित तुल्याउने गरी मित्रताको हात बढाए ।

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिंगापुरमा जुन १२ तारिखमा भेटवार्ता गरे । एकअर्कालाई देखिनसहने यी नामुद दुस्मनहरूले अंगालो हालेका र हात मिलाएका तस्बिर र भिडियो फुटेज विश्वभर भाइरल भए ।

बर्माका रोहिज्या मुस्लिम समुदायले भोग्नुपरेका मानवीय समस्या सन् २०१८ मा पनि यथावतै रह्यो । सन् १९४८ देखि नै भुसको आगो बन्दै आएको रोहिज्या मामिला सन् २०१६ आगोको लप्काजस्तै बन्न थाल्यो । हिंसा चर्कन थाल्यो । उनीहरूमाथि हिंसाको श्रृङ्खला चलिरह्यो ।
रोहिज्या समुदायका कतिपय सदस्यलाई जिउँदै जलाइएको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा आए । हिंसाको श्रृङ्खला निरन्तर चुलिँदै जाँदा उनीहरू आफ्ना देशमा बस्नै नसक्ने भएपछि देश छाड्न बाध्य भए । अहिले करिब सात लाखको संख्यामा रोहिज्या मुस्लिम छिमेकी देश बंगलादेशमा शरणार्थी जीवन बिताइरहेका अभिलेख छ ।

रोहिज्या मामिलामा वर्माका नेतृ आङसाङ सुकी नराम्ररी तानिइन् । उनीमाथि रोहिज्या समुदायले भोग्नुपरका मानवीय संकट समाधानका लागि उचित प्रयास नगरेको मात्र होइन, बेवास्ता गरेको आरोपसमेत लाग्न थाल्यो । यसले उनको उज्यालो छवि धुमिल बनायो । अन्तर्राष्ट्रिय समुदायमा उनको व्यापक आलोचना शुरु भयो । उनले पाएका मानसम्मान खोस्नुपर्ने माग उठ्न थाल्यो ।

नभन्दै केही अन्तर्राष्ट्रिय संघसंस्थाले उनलाई दिएको सम्मान फिर्ता लिएको घोषणा गरे । ती संस्थाले उनलाई जसरी सम्मान गरे, त्यसरी नै अपमान पनि गरे । यसबारे उनको धारणा बाहिर आएको पाइँदैन । तर एक समयमा मानव अधिकार र लोकतन्त्रका प्रतिमूर्ति मानिएकी आङसाङ सुकी हेर्दाहेर्दै एक बदनाम पात्र बन्न पुगिन् ।

उनको बद्नामी यतिसम्म चुलियो, शान्तिका लागि सन् १९९१ मा प्राप्त गरेको नोबेल पुरस्कार समेत फिर्ता गर्नुपर्ने माग उठ्यो । तर नर्बेजियन नोबेल पुरस्कार कमिटिले स्पष्ट भाषामा भन्यो—दिइसकिएको नोबेल पुरस्कार फिर्ता लिइने छैन ।

यसले अतिकति भए पनि उनको इज्जत जोगाइदियो ।

अक्टोबर महिनामा साउदी पत्रकार जमल खसोगी (सन् १९५८—२०१८) को रहस्यमय परिस्थितिमा हत्या भयो । शुरुमा साउदी राजघरानासँग नजिकको सम्बन्ध रहेका खसोगीको पछिल्लो समयमा सम्बन्ध चिसिएको थियो । उनले राजघरानाविरुद्ध ‘वासिङटन पोष्ट’ अखबारमा लेख्दै आएका थिए ।

उनको हत्याकाण्डले आलोचना सुन्न नचाहने वर्ग र अभिव्यक्ति स्वतन्तत्राका पक्षधरबीच विद्यमान खाडललाई प्रष्ट्याउँछ । आफ्नो ज्यानलाई ताकमा राखेर भए पनि विचार राख्ने आँट गरेकोमा ‘टाइम’ म्यागजिनले खसोगीलाई  सन् २०१८ को 'वर्ष पुरुष' घोषण गर्‍यो ।

सन् २०१८ निख्रिँदै गर्दा दक्षिण एशियाली मुलुक बंगलादेश राजनीतिक सरगर्मीले तातिन पुग्यो । त्यहाँ भएको निर्वाचनबाट प्रधानमन्त्री शेख हसिना वाजिद लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री क्रममा  छिन् । निर्वाचनका क्रममा भएका हिंसात्मक घटनामा १२ जनाभन्दा  बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै विपक्ष दलले पुनः निर्वाचन माग गरे पनि निर्वाचन आयोगले त्यसलाई अस्वीकार गरिदिएको छ ।

असंख्य उथुलपुथुलपूर्ण घटनाक्रमहरूलाई समयको गर्तमा  धकेलेर सन् २०१८ अतीतका पानामा समाहित भइसकेको छ । अहिले क्यालेण्डरको पाना पल्टिसकेको छ । नयाँ वर्ष २०१९ हामी समक्ष हाँजिर भइसकेको छ । यो वर्ष आशा र भरोसाको उर्वर कालखण्ड बनोस् । आशाहरू फक्रिँदै जाउन्, निराशाहरू मेटिँदै जाउन् । सबैमा शुभकामना !

[साभार: संवाद नेपाल । २०७५ साल पुस १७ गते । तस्बिर: गुगल]