Monday, December 4, 2023

नचिनिएका अमृत

 -यमबहादुर दुरा

'स्वास्थ्य नै धन हो ।’, यो कथन जति सरल छ त्यति नै मार्मिक र अर्थपूर्ण पनि छ । ‘भौतिक धन’ जीवनभोगका लागि हो भने ‘स्वास्थ्य–धन’ स्वस्थ र सुखी जीवनयापनका लागि हो । ‘भौतिक धन’ र ‘स्वास्थ्य–धन’ बीच एक हदसम्म नाता रहे पनि स्वास्थ्य–धनको उचाइ भौतिक धनले प्राप्त गर्न सक्दैन । 

कोही दीर्घरोगी बनेर थलिनुपर्ने अवस्था आयो भने भौतिक धनले मात्र धेरै सुख दिँदैन । शरीर स्वस्थ रहे ‘भौतिक धन’ आर्जन गर्न सकिन्छ तर ‘भौतिक धन’ बाट ‘स्वास्थ्य–धन’ आर्जन हुन्छ भनेर किटान गर्न सकिन्न । त्यसैले ‘स्वास्थ्य–धन’ धनको पनि धन हो । राम्रो स्वास्थ्यभन्दा ठूलो अर्को धन छैन ।

भौतिक दृष्टिले हाम्रो चोला एकबारको हो । फेरि फेरि नपाइने एक जुनीको मानव चोलामा राम्रो स्वास्थ्यको अपार महत्व छ । अस्वस्थ शरीर र विकारग्रस्त मन लिएर बाँच्नु अतिशय कठिन जीवन भोगाइ हो, जुन आफैँमा अतिशय कठोर सजाय हुन्छ । यस्तो अनुभव भुक्तभोगीहरूबाट सुनिँदै आएको हो । राम्रो स्वास्थ्य कायम गर्नु र भएको राम्रो स्वास्थ्यलाई यथावत् राख्नु सुखद जीवनका लागि अपरिहार्य छ ।

त्यसो हो भने हाम्रो स्वास्थ्य कसरी राम्रो बनाउने रु यस प्रश्नको उत्तर सरल र सहज छ । बहुधा स्वास्थ्यविज्ञको भनाइ छ, उचित आहारविहार नै राम्रो स्वास्थ्यको रहस्य हो । यसलाई अर्को शब्दमा भन्ने हो भने उचित किसिमको खानपिन र जीवनशैलीले नै स्वास्थ्य राम्रो बनाउँछ । 


हामीले ग्रहण गर्ने खानेकुराले नै हाम्रो स्वास्थ्य कस्तो हुने भन्ने निर्धारण गर्छ । हाम्रो शरीरलाई अन्नपानीको शरीर भन्ने भनाइ बहुश्रुत छ । धार्मिक मतानुसार अन्नमा देवतत्व निहित छ । त्यसैले हामीले ग्रहण गर्ने अन्नलाई ‘अन्नब्रह्म’ भन्ने चलन छ । यसै गरी ‘अन्नको परान, नुनको तरान’ यो भनाइ पनि जनस्तरमा बहुतै सुनिएको लोकअभिव्यक्ति हो । अचेल सुनिन थालेको अर्को भनाइ छ ‘जस्तो खाना उस्तै शरीर र मन’ । 

यी सबै लोकअभिव्यक्ति र मतले स्वस्थ जीवनयापनका लागि सही किसिमको खानपिनको महìवलाई दर्साउँछ । स्वाभाविक रूपमा खानपिनले हाम्रो स्वास्थ्यमा गहिरो प्रभाव पार्छ । सही किसिमले पहिचान गरी ग्रहण गर्न जानेमा पृथ्वीतलमा पर्याप्त पोसिलो खाद्यभण्डार छ । धर्तीमा अनेकन् प्रकारका पोसिलो र गुनिलो खानेकुरा उपलब्ध छन्, जसमा प्राकृतिक रूपमै सहज किसिमले उपलब्ध खाद्यपरिकारदेखि कृत्रिम तवरबाट उत्पादित खानेकुरासम्मको लामो सूची पर्छन् । 

जैविक खाद्यवस्तु

विज्ञान र प्रविधिले चरम प्रगति चुमेको एक्काइसौँ शताब्दीमा खाद्यवस्तुका अनेकन् विकल्प छन् । खाद्यविद्हरूका अनुसार संसारमा मूल रूपमा तीन प्रकारका खाद्यवस्तुका स्रोत छन् । तीन हुन्, बोटबिरुवा वा फसलबाट उत्पादित खाद्यवस्तु (plant-based food), जनावरको मासु, दूध–दही तथा अन्डा (animal products)  र प्रशोधित खाद्यवस्तु (processed food) ।

यीमध्ये बोटबिरुवा वा फसलबाट उत्पादित खाद्यवस्तु नै मानव जातिका सबैभन्दा उपयुक्त खानेकुरा हो भन्ने राय पोषणविद्हरूले पेस गर्दै आएका छन् । यिनीहरू नै साँचो अर्थमा जैविक खाद्यवस्तु हुन् । यस्ता खाद्यवस्तुका अनेकन् जीवनदायिनी लाभ छन् । 

सङ्क्षेपमा भन्दा जैविक खाद्यवस्तु ग्रहण गर्दा शरीरको प्रतिरोधात्मक क्षमतामा अभिवृद्धि हुने, क्यान्सरजस्ता घातक रोगको जोखिम कम हुने, शरीरको तौल सन्तुलित तुल्याउन सहयोग पुग्ने, हृदयरोगको जोखिम कम हुनेजस्ता गुणदायिनी लाभ मिल्छ भन्ने पोषणविद्हरूको एकमना निष्कर्ष छ ।

यसका अतिरिक्त जैविक खाद्यवस्तुमा औषधीय गुण पनि अन्तरनिहित छ । सही किसिमले सही खानेकुरा खाएमा खानेकुरा स्वयम् नै औषधि बन्छ, रोग लाग्दैन र औषधिको कुनै दरकार पर्दैन । अर्को शब्दमा भन्दा उपयुक्त खानेकुरा उपयुक्त मात्रामा खाएमा त्यही जीवनदायिनी औषधि बन्छ । खानेकुरालाई औषधिका रूपमा उपयोग गर्ने परिपाटीलाई खाद्य औषधि (food medicine) भनिन्छ । 

एन्टिबायोटिक्सजस्ता आधुनिक औषधिको गलत प्रयोगले जनस्वास्थ्यमा अनेकौँ कहालीलाग्दा दुष्प्रभाव पारिरहेको बेलामा खाद्य औषधिको महत्व बढेर गएको छ । औषधिको गलत प्रयोगले जनधनको अपार क्षति भइरहेको रिपोर्ट आइरहेको छ । यस्तो प्रतिकूल घडीमा खाद्य औषधिको महिमा र गरिमा नबढ्ने कुरै छैन । 

आधुनिक समाजमा ‘अग्र्यानिक खाद्यवस्तु’ भनेर चिनिने जैविक खाद्यवस्तु नै मानव जातिका लागि पहिलो श्रेणीको उपयुक्त खाद्यवस्तु हो भन्ने तथ्य अघि नै आइसकेको छ । जनस्तरको लवजमा मिठोपिठो, साग–सिस्नु, ककरी–मकरी आदि नामले चिनिने अप्रशोधित खाद्यवस्तु नै साँचो अर्थमा जैविक खाद्यवस्तु हुन्, जो हामीले राम्रसँग नचिनेको वा हामीबाट अपहेलित अमृत हुन् भन्न सकिन्छ ।  


प्रशोधित खाद्यवस्तुको अँध्यारो पक्ष

अचेल विकासोन्मुख मुलुकका बहुसङ्ख्यक उपभोक्ता आकर्षक प्याकेट वा डिब्बामा उपलब्ध प्रशोधित खाद्यवस्तुका पछाडि लागेका छन् । हामीकहाँ म्याकडोनाल्ड, केएफसीजस्ता ‘फास्टफुड’ को लोकप्रियता बढेर गएको छ । यस्ता खाद्यपरिकार ग्रहण गर्ने परिपाटीलाई कसै कसैले सम्पन्नताको प्रतीक ९स्ट्यास सिम्बोल० का रूपमा लिने गरेको पाइन्छ । अर्थात् यस्ता खाद्यपरिकार ग्रहण गर्ने व्यक्तिको आर्थिक तथा सामाजिक हैसियत उच्च छ भन्ने सङ्केतका रूपमा बुझ्ने प्रवृत्ति हामीकहाँ छ, जुन उच्चस्तरको भ्रमबाहेक केही होइन । 

गुणस्तरहीन प्रशोधित खाद्यवस्तु (processed food) मूलधारको खाद्यवस्तु बन्ने तरखरमा रहेको प्रतीत हुन्छ । खाद्यवस्तु जीवनशैलीको एक हिस्सा बन्न लागिरहेका बेला यसका अँध्यारो पक्षबारे हामी जानकार बन्नै पर्छ । प्रशोधित खाद्यवस्तु देख्नमा आकर्षक र  जिब्रोका लागि स्वादिलो हुन्छ नै तर प्रशोधित खाद्यवस्तुलाई स्वादिष्ट बनाउन स्वास्थ्यका लागि प्रतिकूल ठहरिएका रसायनलगायतका अखाद्य वस्तु प्रयोग हुन्छन् । यसको मूल्य मानव जीवन नै हुन सक्छ । 

प्रशोधित खाद्यवस्तुमा खाद्यवस्तुको प्रकृति अनुसार अत्यधिक मात्रामा नुन तथा चिनी प्रयोग गरिँदा मानव स्वास्थ्यमा एकपछि अर्को गरी गम्भीर असर परिरहेको चर्चा पनि शिखरमा छ । 

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) द्वारा जारी एक प्रतिवेदनले गुणस्तरहीन प्रशोधित खाद्यवस्तु ग्रहण गर्दा विश्वभरका बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर परेको जनाएको छ । खासगरी गुणस्तरहीन प्रशोधित खाद्यवस्तुले शरीरको प्रतिरोधात्मक क्षमतामा कमजोर हुने, क्यान्सरको जोखिम बढ्ने, शरीरको तौल असन्तुलित हुने, हृदयरोगको जोखिम बढ्ने लगायतका गम्भीर प्रकृतिका स्वास्थ्यसम्बन्धी जोखिम तथ्य पोषणविद्हरूले औँल्याउँदै आएका छन् । 

गुणस्तरहीन प्रशोधित खाद्यवस्तुलगायतका गलत खानपिन र जीवनशैलीसँग सम्बन्धित नसर्ने रोगको ग्राफ उकालो लाग्दै छ, जुन हामी स्वयम्ले निम्त्याएको सङ्कट हो । आधुनिकताको नाममा गलत खानपिन र जीवनशैलीसँग सम्बन्धित रोगले विश्वमा हरेक वर्ष लाखौँ मानिसको जीवनलीला समाप्त हुँदै आएको छ । 

अमेरिकी पत्रिका ‘टाइम’ (अप्रिल ३, सन् २०१९) ले ‘द ल्यानसेट’ जर्नलमा प्रकाशित शोधमूलक लेखलाई उद्धरण गर्दै विश्वका कुल मृत्युमध्ये २० प्रतिशत मृत्यु ‘जङ्क फुड’ लगायत कमसल खालका खानेकुरासँग सम्बन्धित छ भन्ने तथ्य उजागर गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार विश्वमा गुणस्तरहीन तथा कमसल खानेकुराबाट लाग्ने रोगबाट मर्नेको सङ्ख्या सुर्तीजन्य पदार्थ सेवनबाट मर्नेको भन्दा बढी छ ।

तथ्याङ्क अनुसार विश्वमा प्रतिवर्ष एक करोड १० लाख मानिस कमसल खानेकुराबाट लाग्ने रोगबाट मर्छन् भने सुर्तीजन्य पदार्थ सेवनका कारण लाग्ने रोगबाट देहत्याग हुनेको सङ्ख्या जम्मा ७० लाख रहेको छ । ‘द हिन्दुस्तान टाइम्स’ ९अगस्ट २३, सन् २०२३० मा प्रकाशित लेखमा बालबालिकाको स्वास्थ्यमा क्षति पु¥याउने चाउचाउ, गुलियो पेय, प्रशोधित मासुलगायत १० वटा ‘जङ्क फुड’ को सूची दिइएको छ । 

विज्ञापनको भ्रमजाल

हामी विज्ञापनको युगमा बाँचिरहेका छौँ । हामीकहाँ नकारात्मक र गुणस्तरहीन चिजलाई के के न हो जस्तो गरी प्रचार गरेर भ्रम बाँड्ने संयन्त्र तयार भइसकेको छ । गलत चिजलाई गौरवीकरण गरिएका विज्ञापन ९नयिचषष्भम बमक० अहिलेको निर्मम वास्तविकता हो । अचेल आकर्षक तर भ्रामक विज्ञापनबाट सङ्क्रमित पुस्ता तयार भइसकेको छ, जो विज्ञापनमा प्रस्तुत भएका अवास्तविक दुनियाँलाई साँचो ठान्छन् तर वास्तविक भुक्तभोगीका मौलिक जीवन भोगाइबाट निसृत ज्ञानलाई अङ्गीकार गर्न हतपत तयार हुँदैनन् । 

भ्रमयुक्त विज्ञापनले नयाँ पुस्ताको दिमाग एकोहोरो बनाइदिएको हुन्छ । विज्ञापनको सूत्रमय र शानदार प्रस्तुतिले उनीहरूलाई पागलप्रेमी जस्तो एकोहोरो बनाइदिइसकेको हुन्छ । परिणामस्वरूप विज्ञापनले बिछ्याएको भ्रमजाललाई सत्य ठानी गुणस्तरहीन चिजलाई उच्चस्तरीय वस्तु मान्नेहरू पनि हामीकहाँ कम छैनन् । 

विज्ञापनले समाजमा कसरी भ्रमजाल बिछ्याएका छन् र हामी कसरी हुस्सु बनिरहेका छौँ भन्ने जान्न आवश्यक छ । ‘द अनरियालिटी इन्डस्ट्री’ ९सन् १९८९०, ‘नो लोगो’ (सन् १९९९), ‘डिह्युमनाइजेसन अब् अमेरिका’ (सन् १९९२), ‘अम्युजिङ आवरसेल्भस् टु डेथ’ (सन् २००५) आदि पुस्तकले भ्रामक र धोकापूर्ण विज्ञापनले हाम्रो जन, धन र मन  कसरीलाई सिध्याउँदै छ भन्ने मार्मिक दृष्टान्त पेस गरेका छन् । ‘जङ्क फुड’ का पक्षमा खर्च गरिएका करोडौँको खर्चले गजब किसिमले नयाँ पुस्ताको ‘ब्रेन-वास’ गरिरहेको छ । 

चेतनाको दियो

पश्चिमी गोलार्द्धमा खाद्यवस्तुसम्बन्धी मनोविज्ञान हाम्रोभन्दा नितान्त भिन्न देखिन्छ । हामी ‘जङ्क फुड’ को हिमायती बनिरहेका बेला पश्चिमी समाजले म्याकडोनाल्ड, केएफसी आदि ब्रान्डका खाद्यवस्तुलाई सस्तो र कमसल खालका खानेकुरा मान्दछ । उनीहरूले जैविक खाद्यवस्तुलाई गुणस्तरीय र स्वास्थ्यवर्द्धक  खानेकुरा मान्छन् ।

वास्तविकता पनि त्यही हो। पश्चिमी समाज प्रशोधित खाद्यवस्तुलाई त्यागी जैविक खाद्यवस्तुतर्फ  आकर्षित हुँदै गएको छ । परिणामतः त्यहाँ जैविक खाद्यवस्त अकल्पनीय किसिमले महँगो पनि छ । 

हाम्रो समाजमा पनि जैविक खाद्यवस्तुका पक्षमा जनचेतनाको दियो सल्किने क्रम जारी छ । झिनो रूपमा नै सही अचेल जैविक खाद्यवस्तुका पक्षमा जनमत तयार हुँदै गएको छ । हुन त नेपाली समाज मूलभूत रूपमै जैविक खाद्यवस्तु उपभोग गर्दै आएको रैथाने समाज हो । प्रकृतिको निकटमा रहेर प्रकृतिकै काखमा उपलब्ध जैविक खाद्यवस्तु ग्रहण गरी निरोगी र दीर्घजीवी बन्ने परिपाटी हाम्रो समाजको मौलिक चिनारी हो । 

पहिलेका तपस्वीले जैविक खाद्यवस्तुलाई आत्मसात् गरेको पाइन्छ । मातृका तिम्सिनाले तपस्विनी योगमाया न्यौपाने (वि.सं. १९२५–१९९८) बारे लेखेको लेखमा यही प्रसङ्ग कोट्याएका छन् । समाजको विसङ्गति तथा विकृतिविरुद्ध सामाजिक अभियन्ताका रूपमा प्रकटित योगमायाले जैविक खाद्यवस्तुको महìव बुझेकी थिइन् । उनले आश्रम सञ्चालन गर्ने अभिप्रायले ‘भिक्षापत्र’ जारी गरेको इतिहास छ । त्यस ‘भिक्षापत्र’ मा साग, सिस्नो, पिठोको प्रसङ्ग छ । 

महाकवि लक्ष्मीप्रसाद देवकोटाको लोकप्रिय काव्यकृति ‘मुनामदन’ मा साग र सिस्नुको प्रसङ्ग छ । ‘मुनामदन’ मा एउटा मार्मिक हरफ छ, ‘हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले’ । सर्वसाधारणका लागि समेत बोधगम्य ठहरिएका यस हरफमा मौलिक आहारा र आनन्दी मनबीचको सम्बन्धलाई उजागर गरिएको छ । 

‘मुनामदन’ को उपर्युक्त हरफले स्वस्थ जीवनका लागि शरीर र मन दुवै स्वस्थ हुन आवश्यक छ भन्ने सरल तर मार्मिक सन्देश दिएको छ । साथै यसले स्वस्थ जीवनका लागि साग, सिस्नुजस्ता सहजै उपलब्ध हुने खाद्यवस्तु पर्याप्त छ भन्ने शक्तिशाली सन्देश पनि दिएको छ । 

सागकै परिवर्तित रूप गुन्द्रुकलाई धेरैले हेयभावले हेर्छन् तर यसको महत्व आफ्नै किसिमको छ । नेपाल समाचारपत्रमा प्रकाशित डा। प्रकाशराज रेग्मीको एक लेखमा जाडोको समयमा बेलुका गुन्द्रुकको झोल खाने गरेमा यसले जिउ तताउन मद्दत गर्छ भनी उल्लेख गरिएको छ ।

समयको खेल नै मान्नुपर्ला कुनै बेला गरिबको आहारा भनेर चिनिएका र हेला गरिएका गुन्द्रुक, ढिँडो तथा सिस्नुको लोकप्रियता बढेर गएको छ । हिजोका दिनमा फालिएको अवस्थामा रहेका ती खाद्यपरिकार आज सहरका तामझामपूर्ण होटलको मेनु बन्न पुगेका छन् । घरगाउँमा सित्तैमा पाइने ती वस्तु अब महँगो मूल्य चुकाएर मात्र खान पाइने भएको छ । हामीले बेलैमा अमृतलाई चिन्न नसक्दा यस्तो अवस्था आएको हो ।

समस्याको पाटो

जैविक खाद्यवस्तु बहुधा गुणकारी हुँदाहुँदै पनि समस्याविहीन भने रहन सकेको छैन । यसका पछाडि हाम्रै गैरजिम्मेवारपूर्ण व्यवहार जिम्मेवार बनेको छ । अनावश्यक किसिमले रासायनिक मल तथा कीटनाशकको प्रयोगले जैविक खाद्यवस्तु विषालु बन्न पुगेको अवस्था छ । कीटनाशक प्रयोग भएका तरकारी, फलफूल र अन्नबाट जनस्वास्थ्यमा गम्भीर समस्या आइरहेको निष्कर्ष आइरहेका छन् । 

रासायनिक मल तथा कीटनाशकले माटो रुखो बन्नुका साथै जलचर तथा थलचर जस्ता यावत् मित्रजीव क्रमिक रूपमा नासिन पुगेका छन् । यसबाट प्रकृतिको चक्र खल्बलिने अवस्था आएको छ । व्यापारिक प्रयोजनका निमित्त उत्पादित खाद्यवस्तुमा अखाद्य वस्तुको मिसावट अर्को गम्भीर समस्या बनेको छ ।

अर्कोतिर हामी छिटो, छरितो र उब्जाउ बालीनालीका पछि लागेका छौँ । यस क्रममा हामी जिन नै परिवर्तन गरिएका ‘जिएमओ’ फसलका उपासक बनेका छौँ । अब किसानको हातमा बिउ नरहने अवस्था आएको छ । किसानले वर्षैपिच्छे व्यापारीकहाँ बिउ किन्नुपर्ने अभूतपूर्व अवस्था आएको छ । व्यापारिक कम्पनीको ‘मुठीको माखा’ बन्न पुगेका छन् किसानवर्ग । 

एकातिर किसानले आत्मनिर्भरता गुमाउने र अर्कोतिर बहुराष्ट्रिय व्यापारिक कम्पनीको किसानलाई टेकेर नाफा कमाउने । यसलाई हाम्रो नीतिगत असफलता मान्न सकिन्छ । यस प्रकारको दुःखदायी दृष्टान्तलाई गुणकारी रैथाने बालीनालीप्रति गरिएका अत्याचारपूर्ण व्यवहारका रूपमा लिन सकिन्छ । 

‘जिएमओ’ फसलप्रतिको मोहले हाम्रै सेरोफेरोमा रहेका औषधीय गुणयुक्त कतिपय रैथाने बाली हेलाहोचो हुन पुगेका छन् । परिणामस्वरूप कतिपय रैथाने बालीनाली त पूरापूर विलुप्त भइसके भने कतिपय लोप हुने चरणमा छन् । 

यति हुँदाहुँदै पनि पछिल्लो चरणमा रैथाने बालीप्रति झिनो रूपमा भए पनि आकर्षक बढेको छ । रैथाने फसलको माग बढेको छ तर माग पूरा गर्न सकिने अवस्था देखिँदैन । यहाँनेर, एउटा समाचार शीर्षकलाई दृष्टान्तका रूपमा लिन सकिन्छ : ‘गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै’ (बाह्रखरी, असोज २७, २०८० साल) । समाजलाई स्वस्थ रहन सघाउने हो भने रैथाने बालीको खेती बढाउनुको विकल्प छैन ।


यात्रा र ‘जङ्क फुड’

यात्रामा ‘जङ्क फुड’ को प्रयोग भरमार देखिन्छ । बेच्नेले पनि गौरवपूर्ण किसिमले बेचिरहेको र किन्नेले पनि छाती फुलाएर किनिरहेको देखिन्छ । स्वास्थ्यका दृष्टिले अभक्ष ठहरिएका यस्ता खाद्यवस्तु किन्ने, बेच्ने र जनस्वास्थ्यलाई हाकाहाकी ताकमा राख्ने काम भइरहेको छ । ‘जङ्क फुड’ को प्याकेट तथा डिब्बाले वातावरणमा पारेको नकारात्मक प्रभावबारे बेग्लै अध्ययन तथा विश्लेषणको विषय बन्न पुगेको छ । 

यात्रामा निस्कँदा खानपानमा उच्च सतर्कता अपनाउने व्यक्तिले पनि जङ्क फुड खानैपर्ने बाध्यता छ । किनभने मौजुदा खाद्य संस्कृतिमा यसको कुनै भरपर्दो विकल्प उपलब्ध छैन । यस प्रकारको कुचक्र लाई तोड्नैपर्ने अवस्था आएको छ । राजमार्गका व्यापारीले ताजा जैविक खानेकुरा बेच्ने नीतिगत परिपाटी बसाल्न आवश्यक छ । यसबाट किसान, बिक्रेता र उपभोक्तालाई लाभ हुन्छ । 

 

अबको बाटो

सबैभन्दा हामीमा पहिले रैथाने खाद्यवस्तुप्रति प्रेमभाव विकास हुन आवश्यक छ । आकर्षक तर भ्रामक विज्ञापनका पछाडि दौडने परिपाटीमा आमूल परिवर्तन आउन आवश्यक छ । रैथाने जैविक बालीनाली चिन्न र तिनका व्यावहारिक उपयोगबारे व्यापकस्तरमा जनचेतना जगाउन विलम्ब गर्न नहुने अवस्था छ । 

गुणस्तरहीन खाद्यवस्तुको प्रभाव मन्द विषजस्तो गरी  फैलिएको सन्दर्भमा यस्तो कदम अत्यावश्यक भइसकेको छ । अब रैथाने प्रविधिमा आधारित जैविक खाद्यवस्तुको उत्पादन र उपभोग बढाउन प्रेरित तुल्याउने नीतिगत संरचना पनि आवश्यक छ । औषधिको सहारामा जीवन धकेल्नुपर्ने कारुणिक अवस्थाबाट मुक्ति लिएर हाम्रा जन, धन र मनलाई जोगाएर जीवनको लयमा लयबद्ध बनाउने योभन्दा अर्को कुनै सुन्दर र भरपर्दो उपाय छैन ।  


[साभार:  युवामञ्च । मङ्सिर २०८० । ]


Friday, March 3, 2023

चौतारीको एक्लो वर - from @Himal_Khabar

चौतारीको एक्लो वर - from @Himal_Khabar: सन्तानलाई परम्परागत भाका-भजन र वाद्य सामग्री बजाउन नदिने अनि गाउँशहरमा कसका लागि रोदीघर खोल्ने? रुद्रनिधि तिवारीको चिन्ता छ।

Monday, February 27, 2023

देश दुख्छ कि दुख्दैन तपाईँलाई ?

देश दुख्छ कि दुख्दैन तपाईँलाई ?: आर्थिक रूपान्तरको मसिहा बनेर गाउँ पसेको ‘लघुवित्त’ आर्थिक शोषणको भरपर्दो नमुना बनेर प्रस्तुत भएको छ । ‘लघुवित्त’ को आगमनसँगै अधिकांश परिवारमा आर्थिक अवनतिको अकथनीय दुर्दान्तको प्लट तयार भएको छ । 

Thursday, January 26, 2023

निजी जीवनमाथि हस्तक्षेप

 –यमबहादुर दुरा

आजकल शहर–बजारतिर सीसीटीभी क्यामरा (निगरानी क्यामरा) जडान गर्ने चलन उल्लेखनीय रूपमा बृद्धि हुँदै गएको छ । स्कुल तथा कलेज परिसर, सडक, सपिङ मल, सार्वजनिक यातायात, रङ्गशाला आदि स्थानमा निगरानी क्यामरा जडान गर्ने चलनको ग्राफ उकालो लाग्दै गएको छ ।

‘भिजुवल क्यापिटलिस्ट’ वेबसाइटमा प्रकाशित तथ्याङ्कअनुसार सन् २०२१ मा विश्वभर एक अर्बको संख्यामा निगरानी क्यामरा जडान गरिएका थिए । सञ्चार क्षेत्रमा कार्यरत दक्षिण अफ्रिकी संस्था असोसिएसन फर प्रोग्रेसिभ कम्युनिकेसन्स (एपीसी) को वेबसाइटमा प्रकाशित लेखका अनुसार नेपालमा पनि २१ हजारभन्दा बढी निगरानी क्यामरा जडान भइसकेका छन् ।

‘द काठमण्डु पोष्ट’ (अक्टोबर १९, २०१९) मा प्रकाशित एक रिपोर्टका अनुसार काठमाडौँ महानगरपालिकाले जडान गर्ने निगरानी क्यामराको संख्या त्यस समयमा १ हजार चार सय १४ हुने उल्लेख गरिएको छ । अहिले यस्ता क्यामरा संख्या निश्चय नै बढेको हुनुपर्छ ।

सार्वजनिक स्थलमा मात्र होइन, निजी निवासमा पनि निगरानी क्यामरा जडान गर्ने क्रममा बढोत्तरी भएको छ । घरमा जडान गरिएका ‘इन्डोर सेक्युरिटी क्यामेरा’ ले बाहिरै रहेर पनि घरमा रहेका लालाबाजा तथा असक्त ज्येष्ठ नागरिकका गतिविधिमाथि दृष्टि दिन सजिलो भएको छ । निगरानी क्यामराबाट चोरीलगायतका अपराधिक घटनामा प्रमाण जुटाउन र अपराध नियन्त्रणमा सहज हुन गएको छ । 



अपराध नियन्त्रणमा प्रयोग गरिएका निगरानी क्यामराबाट हालमा दिनमा अपराधकर्ममै सहयोग पुग्न गएको तथ्यहरू एकपछि अर्को गरी बाहिर आएका छन् । निगरानी क्यामराको दुरुपयोगबाट यस्तो अवस्था पैदा भएको हो, जुन आधुनिक समाजमा विचारणीय पक्ष हुन गएको छ । 

बार, रेष्टुराँ, फेन्सी स्टोर, फिटनेस सेन्टर, स्वीमिङ पुल, स्पा सलुन आदि स्थानमा जडान गरिएका निगरानी क्यामराको दुरुपयोग गरेर व्यक्तिका अन्तरङ्ग पल र निजी जीवन अनावश्यक रूपमा सार्वजनिक भइरहेका छन् । 

निगरानी क्यामराको दुरुपयोग गरेर सङ्कलन गरिएका भिडियो क्लिप तथा अडियो सामग्रीहरू विभिन्न अश्लील वेबसाइट, यु ट्युब, टिकटकलगायतका सोसल मिडियाबाट सार्वजनिक भइरहेका छन्, जसबाट निरपराध तथा अञ्जान व्यक्तिको निजी जीवनमाथि व्यापक हमला भइरहेका छन् ।

यस क्रममा एउटा सन्दर्भको तयार भएको अन्तरङ्ग पल तथा वार्तालापलाई अर्कै सन्दर्भमा प्रस्तुत गरेर सम्बन्धित व्यक्तिको मानमर्दन गरी समाजका अगाडि तुच्छ देखाउने अनेकन् प्रयत्न भइरहेका छन् । यसबाट व्यक्तिको निजी जीवन र मानव अधिकारमाथि हमला भइरहेको छ ।

संयुक्त राष्ट्रसंघले सन् २०२२ मा ‘डिजिटल युगमा गोपनीयताको हक’ शीर्षकमा जारी गरेको प्रतिवेदनमा ह्याकिङ, इन्स्क्रिप्सनमाथि प्रतिबन्ध, सार्वजनिक स्थल तथा सर्वसाधारणमाथि गरिएका निगरानी, अनलाइन अनुगमनजस्ता विधिबाट मानव अधिकार हुन पुगेको जनाइएको छ ।

व्यक्तिको निजी जीवनमाथि हमला हुने कार्य निगरानी क्यामराबाट मात्र होइन, अन्य प्रविधिको दुरुपयोगबाट पनि भएको छ । आँखाको रेटिना स्क्यान, फिङ्गर प्रिन्ट, हस्ताक्षर, अनुहार पहिचान गर्ने प्रविधिजस्ता बायोमेट्रिक प्रविधि तथा अनेकन् जासुसी कम्प्युटर सफ्टवेयरहरूको प्रयोगबाट व्यक्तिका निजी जीवनमाथि धावा बोल्ने कुकृत्य भइरहेको छ ।

फोन ह्याकिङ, इमेल ह्याकिङ, सोसल मिडियाको अकाउण्ट ह्याकिङ, डेटा चोरीजस्ता अनाधिकृत गतिविधि नागरिकको निजी जीवनमाथि अर्को तहको हमला हुन गएको छ । फेसबुकले आफ्ना लाखौँ प्रयोगकर्ताका निजी तथ्याङ्क बेलायती कम्पनी ‘क्याम्ब्रिज एनालिटिका’ लाई उपलब्ध गराएको तथ्य बाहिर आयो । 

यस घटनाले सोसल मिडियामा निजी जानकारी सेयर गर्नु खतरनाक छ भन्ने तथ्य स्थापित गर्‍यो । साइबर अपराधलगायत यस्ता तमाम निगरानी तथा जासुसी क्रियाकलापले व्यक्तिको इज्जत–प्रतिष्ठामा अपूरणीय क्षति पुर्‍याइरहेका हुन्छन् ।

राजनीतिक तहमा पनि व्यक्तिको निजी जीवनमाथि निगरानी गर्ने कार्य व्यापक रूपमा भएको पाइन्छ । यसका अनेकन् दृष्टान्त छन् ।

सन् २०२१ मा छिमेकी मुलुक भारतमा ‘पेगासस प्रोजेक्ट’ नामक जासुसी सफ्टवेयर प्रयोग गरेर विपक्षी दलका नेता, राजनीतिक रणनीतिकार, पत्रकार आदिका गतिविधिमाथि अनाधिकृत रूपमा निगरानी गरिएको प्रसङ्ग व्यापक बहस र विवादको विषय बन्यो ।

हाम्रो अर्का छिमेकी मुलुक चीनमथि पनि आमनागरिकमाथि व्यापक रूपमा निगरानी गर्ने गरेको आरोप लाग्दै आएको छ । द गार्जियन (सेप्टेम्बर ३०,२०२१) मा प्रकाशित लेखमा चीनको सियानज्याङ प्रान्तमा रहेका वुइगर नामक अल्पसंख्यक मुस्लिम समुदायमाथि निगरानी क्यामरा तथा बायोमेट्रिक प्रविधिबाट व्यापक निगरानी गरिएको र उनीहरूको मानव अधिकार व्यापकस्तरमा हनन भइरहेको उल्लेख छ । वुइगर समुदायमाथि पृथकतावादी गतिविधिमा संलग्न रहेको आरोप लाग्ने गरेको छ ।

नागरिक अधिकारसम्बन्धी संस्था ‘इन्टरनेसनल नेटवर्क अब् सिभिल लिबर्टिज अर्गानाइजेसन्स’ ले ‘सर्भेलेन्स एण्ड डिमोक्रेसी : चिलिङ टेल्स फ्रम अराउण्ड द वर्ल्ड’ शीर्षकमा प्रतिवेदन तयार पारेर १० देशको अवस्थाबारे चर्चा गरेको छ । त्यस प्रतिवेदनमा अमेरिका, रसिया, इजरायल, क्यानडा, अर्जेन्टिना, भारत, हङ्गेरी, आयरल्याण्ड, केन्या र दक्षिण अफ्रिकामा राजनीतिक विरोधीहरूका गतिविधिमाथि गरिएका जासुसीबारे चर्चा गरिएको छ । 

प्रविधिको दुरुपयोग गरेर नागरिकमाथि अनाधिकृत रूपमा निगरानी गर्ने कार्यमा सम्बन्धित देशका सरकार र जासुसी प्राविधिक उपकरण उत्पादक कम्पनीबीच गोप्य किसिमको साँठगाँठ हुने गरेको पाइएको छ ।

यही विषयमा चिन्ता प्रकट गर्दै द न्युयोर्क टाइम्स (नोभेम्बर २,२०२२) मा प्रकाशित लेखमा जासुसी प्राविधिक उपकरण उत्पादक कम्पनी र सरकारी निकायबीचको साँठगाँठले आउँदा दिनमा हाम्रो निजी जीवनमा पर्ने नकारात्मक असरबारे गम्भीर मूल्याङ्कन गर्नुपर्ने तथ्य औँल्याइएको छ ।

प्रविधिको प्रयोग गरी अपराधी समूह तथा सत्तावृत्तबाट हुने अनाधिकृत निगरानीबाट नागरिकको निजी जीवनमाथि हमला त हुने नै भयो, सर्वसाधारण नागरिक अनाहकमा कसैको अचुक निसाना बन्ने खतरा पनि आउन सक्छ ।  

बेलायतमा भएको एक अध्ययनअनुसार निगरानी क्यामराका कारण त्यहाँ गोराभन्दा अश्वेत समुदाय दोब्बर तथा महिलाभन्दा पुरुष तीन गुणा बढी निसानामा पर्ने सम्भावना रहेको निष्कर्ष निकालिएको छ । ती समूह अपराधी भएकाले नभई उनीहरूका सामूहिक पहिचानका कारण यस्तो अवस्था आएको अध्ययन प्रतिवेदनमा जनाइएको छ ।

आधुनिक समाजमा निगरानी क्यामरा तथा अन्य प्रविधिको खाँचोलाई नकार्न सकिँदैन । यस्ता प्रविधिको सञ्जाल व्यापक रूपमा विस्तार हुँदै गएको छ । अब, यस्ता प्रविधिको वुद्धिमत्तापूर्ण प्रयोग कसरी गर्ने भन्ने सवाल खडा भएको छ ।

निगरानी प्रविधिको दुष्प्रभावबाट बच्नका लागि हामी आफैँ सचेत रहनुपर्छ । निगरानी क्यामरा जडित स्थानमा अन्तरङ्ग गतिविधि नगर्ने तथा आफ्ना साइवर क्रियाकलापहरूलाई कसैको जासुसी नजरबाट मुक्त तुल्याउने रचनात्मक उपायहरू खोज्नु श्रेयष्कर हुन्छ ।

युवामञ्च । माघ २०७९ ।

Thursday, November 24, 2022

फुटबलको इतिहास

 यमबहादुर दुरा

विश्वका बहुसंख्यक खेलप्रेमीको मन लोभ्याउने शीर्षस्थ खेलमध्ये एक मानिने फुटबलको आदिम इतिहास थोरैमा दुई हजारभन्दा लामो देखिन्छ । ‘फुटबल हिस्ट्री’ वेबसाइटमा प्रकाशित एक लेखका अनुसार तीन हजार वर्षअघि प्राचीन मध्यअमेरिका (Mesoamerica) मा ढुङ्गाको बल खेलिन्थ्यो । मध्यअमेरिकका आदिवासी एजटेक्स -Aztecs) ले त्यसप्रकारको खेललाई चिटाली  (Tchatali)  भनी नामकरण गरेका थिए । ‘फुटबल हिस्ट्री’ वेबसाइटका अनुसार प्राचीन मध्यअमेरिकी संस्कृतिमा बललाई भगवानको प्रतीक मानिन्थ्यो भने खेलमा हार्ने टिमका सदस्यलाई सोही भगवानको नाममा बलि चढाइन्थ्यो । कुनै ठाउँमा त सत्रु तथा विरोधीको शिरच्छेद गरी टाउकोको फुटबल खेलिन्थ्यो भन्ने भनाइ पनि छ । यद्यपि, यसप्रकारको हिंस्रक अभ्यासलाई खेलकै रूपमा स्वीकारिएको कुनै प्रामाणिक अभिलेखचाहिँ भेटिँदैन ।

मिश्र तथा युनानमा क्रमशः ईसापूर्व २५०० तथा ईसापूर्व ४०० तिर फुटबलको आदिम अभ्यास अस्तित्वमा आएको ‘प्लेयर अन साइट’ वेबसाइटमा उल्लिखित छ । रोमेली तथा युनानीहरूले फुटबलको आदिम संस्करणलाई क्रमशः इपिस्काइरस (Episkyros) र हरपस्टम -Harpastum)  भनी नामकरण गरेका थिए । यसैगरी, अष्ट्रेलियाली आदिवासीहरूले पनि आफ्नै संस्करणका फुटबल खेल्थे, जसलाई मार्न गुक (Marn gook) भनिन्थ्यो । 

सन् १४०८ मा आएपछि मात्र बेलायत राजकुमार हेनरी चतुर्थले फुटबल भन्ने अंग्रेजी शब्द पहिलो पटक प्रयोग गरेको विश्वास गरिन्छ । रोम, युनान तथा अष्ट्रेलियामा प्रचलित फुटबलको आदिम संस्करणबारे धेरथोर चर्चा भए पनि तिनीहरूका शैलीगत पक्ष र नियमको सूक्ष्मतम् विवरणहरू भने उपलब्ध छैनन् ।

हालसम्म प्राप्त सार्वजनिक अभिलेखअनुसार इसापूर्व ३०० देखि २०० ताका चीनमा सुजु (cuju) नामले परिचित एक खेल सैनिक अभ्यासका क्रममा खेलिन्थ्यो । त्यसलाई नै बहुसंख्यक अध्येताले फुटबलको आदिम रूप मानन्छन् । त्यस समयमा छालाको बलभित्र भुवादार वस्तु तथा प्वाँस हालेर बल तयार पारिन्थ्यो भन्ने भनाइ छ । यसको गोलाइ ३० देखि ४० सेन्टिमिटर हुन्थ्यो । खेल खेल्दा खुट्टाले बल प्रहार गरिन्थ्यो । यस क्रममा छाती, पिठ्यु र काँधको प्रयोग गरिन्थ्यो । यही आधारमा यसलाई फुटबलको नजिकको पूर्वज मानिन्छ ।

कालान्तरमा सुजुको परिमार्जित संस्करणको केमरी (kemari) जापानमा प्रचलनमा आयो । चीनमा सुजु प्रचलनमा आएको लगभग छ शताब्दीपछि केमरी प्रचलन आएको अनुमान गरिएको छ, जसबारे कालक्रमगत मतभिन्नता रहिआएको छ । प्राचीन समयमा जनवारका मूत्राशय (bladder), नरिवालका डल्ला तथा यस्तै अन्य गोलाकार फल तथा वस्तुहरूलाई फुटबलका रूपमा प्रयोग गरिन्थ्यो भन्ने भनाइ छ, जुन धेरै हदसम्म तर्कसङ्गत र समयसम्मत छ ।


प्राचीन समया फुटबलका असंख्य स्थानीय संस्करणहरू भेटिन्छन् । त्यस समयमा खेलको कुनै निश्चित नियम नभएको अध्येताहरूको राय छ । कतिपयको भनाइअनुसार एउटै खेलमा १०० भन्दा बढी खेलाडी भिड्थे । खेलमा डण्डाको पनि प्रयोग गरिन्थ्यो । खेल खेल्ने क्रममा समय–समयमा मनमुटाव र झगडा पनि हुन्थ्यो । यसबाट खेलाडी घाइते हुनुका साथै हिंसात्मक झैझगडा पनि हुन्थे । परिणामस्वरूप खेलाडीको ज्यानसम्म जान्थ्यो ।

फुटबलको आदिम संस्करण संसारका कुनाकन्दरामा बाक्लै रूपमा प्रचलनमा रहे पनि यसको क्रमिक र नियमबद्ध विकास भने बेलायतमा भएको इतिहासले देखाउँछ । बेलायतमा मङ्गलबारका दिनलाई फुटबल दिवस मानिन्थ्यो । त्यस दिन दिन मानिस सारा काम छाडेर फुटबल खेल्ने र हेर्ने काममा व्यस्त हुन्थे भन्ने भनाइ छ । फुटबल खेल्ने क्रममा हुलदङ्गा तथा झैझगडा हुने गर्दथे, जसलाई  विभिन्न घटनाक्रमले पुष्टि गर्छन् । फुटबल खेलमा हुने हिंसात्मक झैझगडा र दुर्घटनालाई नियन्त्रण गर्न गर्न विभिन्न कानुनी उपायहरू पनि रचिएको पाइन्छ ।

बेलायती राजा एडवर्ड द्वितीय (सन् १२८४–१३३७) ले १३१४ मा फुटबलमा खेलमा प्रतिबन्ध पाइन्छ । यसपछि उनका उत्तराधिकारी एडवर्ड तृतीय (सन् १३१२–१३७७) ले सन् १३४९ फुटबलखेलमाथि नै प्रतिबन्ध लगाएको इतिहास भेटिन्छ । पछि फुटबल ऐन अन्तर्गत १४२४ मा फुटबल खेलमाथि प्रतिबन्ध लगाएको थियो । तत्कालीन बेलायती महारानी एलिजाबेथ प्रथम (सन् १५३३–१६०३) ले पनि फुटबलमाथिको प्रतिबन्ध जारी राखेको पाइन्छ । खेलमा प्रतिबन्ध लागे पनि अटेर गरी भूमिगत रूपमा खेल्ने परिपाटी भने कायमै रह्यो । सन् १६०५ आएरमात्र बेलायतमा फुटबलले कानुनी मान्यता प्राप्त गरेको देखिन्छ । 

ईश्वीको १९ औँ शताब्दीको पूर्वाद्र्धतिर बेलायतका विद्यालय तथा कलेजहरूमा फुटबल खेल लोकप्रिय भइसकेको पाइन्छ । १८१५ मा बेलायतको इटन कलेजले फुटबल खेलको नियम बनायो । समयक्रममा फुटबल टिमहरू पनि सङ्गठित हुँदै गए र समयानुकूल नियमहरू बन्दै गए । सन् १८५७ मा ‘सेफिल्ड फुटबल’ स्थापना भयो, जुन संसारको सबैभन्दा पुरानो जीवित र सक्रिय फुटबल क्लब हो । यस क्लब फुटबल जगतमा गतिलो ब्रान्ड बन्न पुगेको छ । फुटबलसम्बन्धी घटनाक्रम विकास हुँदै जाँदा सन् १९६३ मा लण्डनमा ‘फुटबल असोसिएसन’ भयो । यससँगै फुटबलको स्थानीय नियमहरूलाई परिमार्जन गरी थप स्पष्ट र दरिलो बनाउने कार्य शुरु भयो  । 

फुटबलको पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा ३० नोभेम्बर १८७२ मा इङल्याण्ड र स्कटल्याण्डबीच भयो । ग्लास्गो शहरको क्वीनन्स पार्क स्टेडियममा सम्पन्न त्यस म्याच बराबरीमा टुङ्गिएको थियो, जुन चार हजार दर्शकले हेरेका थिए भन्ने भनाइ छ । सन् १८८३ मा पहिलो बहुपक्षीय (धेरै टिम प्रतिस्पर्धी रहेको) खेल भएको थियो, जसमा आयरल्याण्ड, इङल्याण्ड, स्कटल्याण्ड र वेल्सका टिमले भाग लिएका थिए । 

समयक्रममा फुटबलको विश्व संस्थाको रूपमा १२ मे १९०४ विश्व फुटबल महासङ्घ (फिफा) स्थापना भयो, जसमा शुरुमा फ्रान्स, बेल्जियम, डेनमार्क, नेदरल्याण्ड्स, स्पेन, स्वीडेन र स्विटजरल्याण्डको सहभागिता थियो यसको मुख्यालय स्विटजरल्याण्डको ज्युरिखमा रहेको छ । यसको स्थापना भने फ्रान्सको राजधानी पेरिसमा भएको थियो । 

फिफाको सदस्य राष्ट्रहरूको संख्या १११ छ, जुन संयुक्त राष्ट्रङ्घको सदस्य राष्ट्रभन्दा बढी हो । हालसम्म संयुक्त राष्ट्रङ्घको सदस्य राष्ट्रहरूको संख्या कुल संख्या १९३ मात्र रहेको छ । यो एउटा रोचक पक्ष हो, जसले फुटबलको सर्वव्यापकता र लोकप्रियतालाई उजागर गर्छ । यसले हरेक चार वर्षमा फिफा विश्वकप आयोजना गर्छ । यस वर्ष विश्वकपको बाइसौँ शृङ्खला कतारको राजधानी हुने तरखरमा छ ।

फुटबल दङ्गा

खेलकुदलाई मैत्रीभाव विकास गर्ने कडी मान्ने गरिन्छ । यति हुँदाहुँदै पनि फुटबलको इतिहास यस्ता थुप्रै तीता प्रसङ्गहरू छन्, जसमा कुटपिट, झैझगडा र मृत्युका पीडादायी शृङ्खला भेटिन्छन् । फुटबल म्याचमा पैदा हुने झैझगडा र हुलदङ्गाको अभिलेखीकरण कहिलेदेखि भयो भन्नेबारे कुनै यकिन अभिलेख भेटिँदैन । तर, फुटबलसम्बन्धी हुलदङ्गालाई दर्साउने शब्दावली फुटबल हुलिगनिजम् (football hooliganism) भन्ने शब्दावली ईश्वीको १९ औँ शताब्दीमा आएरमात्र प्रयोगमा आएको पाइन्छ । 

फुटबल म्याचमा सामान्यदेखि हिंस्रक हुलदङ्गाका असंख्य दृष्टान्तहरू छन् । हालै (अक्टोबर, २०२२) मा इन्डोनेशियाको पूर्वी जाभास्थित फुटबल रङ्गशालामा दुई टिमका समर्थकबीच भएको दङ्गा–फसादमा १२५ भन्दा बढीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । विगतदेखि नै इन्डोनेशिया फुटबलसम्बन्धी दङ्गा–फसादका लागि कुख्यात मानिँदै आएको छ । 

इन्डोनेशिया त एउटा दृष्टान्तमात्र हो, संसारका धेरै भागमा यस्ता दङ्गा–फसाद भइरहन्छ । यसै वर्ष गत जनवरीमा क्यामरुनमा सम्पन्न ‘अफ्रिकन कप अब् नेसन्स’ मा दङ्गा भड्कँदा आठजनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएका थिए । सन् २०१२ मा इजिप्टमा आयोजित फुटबल प्रतियोगितमा दङ्गा मच्चिँदा ७३ जनाको ज्यान जानुका साथै एक हजार जति घाइते भएका थिए । सन् २००९ मा आइभोरी कोष्टमा आयोजित म्याचमा भागदौड मच्चिँदा १९ जनाको मृत्यु भएको थियो । 

यसैगरी, २००१ मा घानाको राजधानी अक्रास्थित फुटबल रङ्गशालामा दुई विरोधी गुटहरूबीच भैmझगडा हुँदा १२० जनाको ज्यान गएको थियो । सोही वर्ष दक्षिण अफ्रिकी शहर जोहानेसवर्गस्थित एलिस पार्क रङ्गशालामा सञ्चालित फुटबल म्याचमा झगडा मच्चिँदा ४३ जनाको ज्यान गएको थियो ।

सन् १९९६ मा ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीमा आयोजित फुटबल म्याचमा विरोधी गुटहरूबीच कुटपिट हुँदा ८० जनाको मृत्यु भएको थियो । सन् १९९१ मा दक्षिण अफ्रिकामा आयोजित फुटबल म्याचमा हमला हमला भएपछि भागदौड चल्दा ४२ जनाको मृत्यु भएको थियो । सन् १९८९ मा बेलायतको हिल्सबोरोह रङ्गशालामा अनपेक्षित भीड बढ्दा मच्चिएको भागदौडमा ९६ जनाको ज्यान गएको थियो । सन् १९८५ मा बेल्जियमको राजधानी ब्रसेल्स आयोजित युरोपिन कपको फाइनलमा हिंसा मच्चिँदा ३९ जनाले ज्यान गुमाएका थिए । 

यहाँ प्रस्तुत गरिएका घटनाहरू फुटबलसम्बन्धी दङ्गा–फसादका केही दृष्टान्तमात्र हुन् । विभिन्न कालखण्डमा विश्वका विभिन्न कुनामा साना–ठूला थुप्रै दङ्गा–फसादका भएका छन् । ती सबै दङ्गा–फसादका न यथार्थ विवरण उपलब्ध छ, न त ती सबैको यकिन विवरण पस्कन नै सम्भव छ । 

फुटबल दुर्घटना

सन् १९९२ मा फ्रान्समा फ्रेञ्च कपको सेमिफाइनल भइरहेको बेला फुरियानी स्टेडियम भत्कँदा १८ जनाको ज्यान जानुका साथै दुई हजारभन्दा बढी घाइते भएका थिए । सन् १९८५ मा बेलायतको भ्याली परेड रङ्गशालामा फुटबल म्याच चलिरहँदा आगलागी हुन गई ५६ जनाको ज्यान गएको थियो । 

सन् १९८५ मा युरोपियन कप शुरु लागेको बेलामा बेल्जियमको राजधानी ब्रसेल्समा रङ्गशालाको पर्खाल खस्दा १४ इटालेली समर्थकहरूले ज्यान गुमाउनु परेको थियो । बेलायतको ब्राडफोर्ड सिटीमा म्याच चलिरहँदा एकजना फुटबल फ्यानले असावधानीपूर्ण तरिकाले चुरोटको ठूटो फालिदिँदा आगलागी भयो, जसबाट ५६ जनाको मृत्यु भएको थियो ।

फुटबल म्याचसम्बन्धी अनिष्टकारी घटनामा नेपालको पनि हिस्सेदारी रहेको छ । २०४४ साल फागुन २९ गते (मार्च १२, १९८८) काठमाडौँस्थित दशरथ रङ्गशालामा जनकपुर चुरोट कारखाना र छिमेकी मुलुक बङ्गलादेशको मुक्तिजोद्धा क्लबबीच प्रतिस्पर्धा चलिरहेको थियो । त्यही समयमा भयानक हावाहुरी तथा असिनापानी आएपछि भागदौड चलेको थियो । सोही क्रममा ९३ जनाले ज्यान गुमाएका थिए । त्यस घटनापछि तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री केशरबहादुर विष्टले नैतिकताका आधारमा राजीनामा दिएका थिए । 

सन् १९५८ मा म्यान्चेष्टर युनाइटेड युरोपियन युरोपियन कपमा सहभागी भई घर फर्कने क्रममा म्युनिखस्थित एयरपोर्टमा इन्धन भरेर उड्ने क्रममा धावनमार्गमा जहाज चिप्लिएर दुर्घटना हुँदा २३ जनाको निधन भएको थियो । फुटबल खेलका क्रममा भएका यस्ता दुःखददायी दुर्घटना केही उदाहरणमात्र हुन् । फुटबल खेलको इतिहासमा यस्ता दुःखदायी घटनाहरूको सूची लामो छ । 

नेपालमा फुटबल

फुटबल नेपालको रैथाने खेल नभए पनि नेपालमा फुटबलको क्रेज कम छैन । विगतदेखि नै नेपालमा फुटबलप्रेमीहरू भेटिन्छन् । विपन्न गाउँबस्तीमा कलिला बच्चाले भोगटेको डल्ला तथा मोजाको फुटबल खेल्ने चलन नयाँ होइन । नेपालमा भारत हुँदै फुटबल खेल भित्रिएको देखिन्छ । नेपालका राणा शासक र भारतमा शासनरत अंग्रेजबीच राम्रो सम्बन्ध थियो । नेपालका खानदानी वर्गले तिनै अंग्रेजहरूबाट फुटबल सिकेको हुनुपर्छ । 

नेपालमा खेलकुदको व्यवस्थित अभिलेख नभएकाले फुटबललगायतका खेलका इतिहास बहुधा अपूरो र विवादास्पद देखिन्छ । गोविन्द रेग्मीले अन्नपूर्ण पोष्ट (चैत १७, २०७४) मा लेखेअनुसार भारत पढ्न गएका नक्सालका सूर्यजङ्ग थापा र ठमेलका नारायणनरसिंह राणाले वि.सं. १९७० मा नेपालमा फुटबल खेल भित्र्याएको थिए । त्यसो त, गाउँबस्तीमा फुटबल खेल भित्र्याउने कार्यमा लाहुरे समुदायको अपरिमित योगदान छ ।

अनौपचारिक स्रोतका अनुसार सन् १९३४ तिरै नेपालमा महवीर ११, जावलाखेल ११, एनआरटी ११ जस्ता फुटबल क्लबहरूको स्थापना भएका थिए । सन् १९४७ मा पदमशमशेरको आदेशमा मदनशमशेरको अगुवाइमा फुटबल समिति गठन भयो । वि.सं. २०११ सालमा ‘शहीद स्मारक ट्रफी’ स्थापना भएको थियो ।

२००८ साल (सन् १९५१) मा नेपालका फुटबल खेलाडीहरूको छाता सङ्ठन ‘अखिल नेपाल फुटबल सङ्घ’ स्थापना भयो । यसले एशियाली फुटबल महासङ्घ, फिफा तथा दक्षिण एशियाली फुटबल सङ्घबाट क्रमशः सन् १९५४, १९७२ र १९९७ मा मान्यता प्राप्त गरेको थियो । नेपालमा नेपालमा स्थानीय तथा राष्ट्रियस्तरका थुप्रै फुटबल टिम गठन भएका छन् ।

नरशमशेर २०२१ सालमा काठमाडौँ र विराटनगरका खेलाडीलाई समावेश गरी तत्कालीन पाकिस्तानको ढाकामा आगाखाँ वर्ल्ड  कप नेपालको सहभागिता जनाए । आरबी सिंहको कप्तानीमा भएको त्यस खेल नेपाल सहभागी भएको पहिलो अन्तर्राष्ट्रिय म्याच थियो ।  २०२७ सालमा अच्युतकृष्ण खरेलको कप्तानीमा नेपालमा आगाखाँ वर्ल्ड  कपमा सहभागी भएको थियो । यसपछि नेपालले विभिन्न देशमा भएका अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आएको छ । 

हालका दिनमा कभर्ड हलभित्र खेलिने फुटबलको अर्काे संस्करण फुटसल शौखिन खेलाडीहरूबीच निकै लोकप्रिय बन्दै गएको छ । यी विवरण त नेपाली नेपाली फुटबलको संक्षिप्त इतिहासमात्र हो । यसको इतिहास विस्तृत र यथार्थ इतिहास लेखिन बाँकी नै छ ।

फुटबलको विकासक्रमको समयरेखा

ईपू दोस्रो वा तेस्रो शताब्दी : चिनियाँ सेनाद्वारा फुटबलको आदिम रूप आविष्कार

१४२४ः स्कटल्याण्डका राजा जेम्स प्रथमद्वारा फुटबलसम्बन्धी नियम अनुमोदन ।

१८६३ः बेलायतमा फुटबल असोसिएसन गठन ।

१८६४ः हातले छोएमा ह्याण्ड हुने व्यवस्था ।

१८७०ः एक टिममा ११ खेलाडी हुनुपर्ने नियम ।

१८७४ः गोल किक र कर्नर किकको नियम ।

१८७५ः पहिलो पटक गोल पोष्टको व्यवस्था ।

१८७७ः फुटबलसम्बन्धी नियम अनुमोदन ।

१८७८ः रेफ्रीद्वारा पहिलो पटक सिटीको प्रयोग 

१८८६ः अफसाइडसम्बन्धी नियममा परिवर्तन

१८८८ः फुटबल लिग गठन ।

१८८८ः पेनाल्टी किकको व्यवस्था ।

१८९५ः महिलाको पहिलो फुटबल प्रतियोगिता ।

१८९१ः लाइनम्यानको व्यवस्था ।

१८९२ः गोलपोष्टमा जाली राख्नुपर्ने नियम लागू ।

१९००ः पहिलो पटक फुटबललाई ओलम्पिक खेलमा सामेल (फ्रान्स, पेरिस) ।

१९०९ः गोलकिपरलाई बेग्लै रङको पोशाक  हुनुपर्ने नियम 

१९३०ः पहिलो पटक फिफा विश्वकप (उरुग्गेको राजधानी मन्टिभिडियो) । 

१९३९ः खेलाडीले नम्बरयुक्त जर्सी लगाउनुपर्ने नियम लागू ।

१९५४ः एशियाली फुटबल महासङ्घ (एफसी) को स्थापना ।

१९६०ः प्रथम युरोपियन च्याम्पियसिप (युरोपिन नेसन्स कप)

१९६६ः फिफा विश्वकपमा पहिलो पटक शुभसङ्केत जनाउने चिह्न (mascot) प्रयोग ।

१९७०ः फिफा विश्वकपमा रातो तथा पहेँलो कार्डको व्यवस्था ।

१९९१ः महिला विश्वकपको प्रारम्भ

(स्रोतः फिफा, फुटबल स्टेडियम्स, टपइण्ड स्पोर्टस् तथा प्लेयर अन साइट ।)

[युवामञ्च । मङ्सिर २०७९ । 'जतिबेला टाउकोको फुटबल खेलिन्थ्यो' शीर्षकमा प्रकाशित । परिमार्जित संस्करण । ]