-यमबहादुर दुरा
सानो छँदा सामान्य ज्ञानसम्बन्धी पुस्तकमा पढेको थिएँ, महाकाली नदी नेपाल
र भारतबीचको सीमाना हो । साथसाथै मैले यो पनि पढेको थिएँ, चाँदनी र दोधारा
महाकालीपरिको नेपाली बस्ती हुन् । नेपालको भौगोलिक अवस्थितिबारेको
यसप्रकारको विरोधाभाषपूर्ण जानकारीले म आश्चर्यचकित भएको थिएँ । महाकाली
नदीलाई नेपाल र भारत बीचको सीमाना मानिएको अवस्थामा महाकाली नदी पारि कसरी
नेपाली बस्ती कायम हुनसक्छ ? मेरो मनमा यही जिज्ञासा थियो । यद्यपि यो सीमाना सन् १८१६ मा नेपाल र इष्ट इन्डिया कम्पनीबीच भएको "सुगौली सन्धि " पछि निर्धारण भएको हो र यो नेपालको खुम्चिएको भूगोल हो भन्ने तथ्य पनि मनमै छ । समयक्रममा दोधारा र चाँदनीको बारेमा थप चर्चा-परिचर्चा सुन्ने मौका पाएँ । एकतिर मिडिया र अर्कोतिर अनौपचारिक माध्यमहरुमार्फत थप जानकारी बाहिरहरु आए । यस्ता चर्चा-परिचर्चाले पुराना जिज्ञासा मेट्दै गयो र नयाँ जिज्ञासाहरु थप्दै गयो । मैले बेला बखतमा सुन्ने गर्थें - दोधारा र चाँदनीमा नेपाली पैसा चल्दैन, त्यहाँ भारतीय रुपियाँमा कारोबार हुन्छ, त्यहाँ नेपाल सरकारको उपस्थिति छैन, त्यहाँका जनता प्राविधिक रुपमा मात्रै नेपाली हुन्, त्यहाँको जनजीवन भारतीय जीवनशैलीसित गाँसिएको छ, महाकाली नदीमा पुल नहुँदा दोधारा र चाँदनी नेपालको मूलभूमिबाट अलगथलग हुन पुगेका छन् । यी र यस्ता कुराहरु थाहा पाउँदा मभित्रको राष्ट्रियता नराम्ररी छट्पटाउँथ्यो । मन नमिठो गरी दुख्थ्यो ।
चाँदनी र दोधारालाई नेपालसंग जोड़ने पुल । तस्बिर: बीपी अनमोल |
त्यतिबेला नै महाकाली नदीपारिको भारतीय बजार वनबासा घुम्ने समय पनि निकालें । त्यसबेला नेपाल पत्रकार महासंघ (बाँके) का तत्कालीन सभापति निरज गौतमले आफ्नो मोटरमा राखेर वनबासा बजार घुमाइदिनुभएको थियो । वनबासातिर अघि बढ्ने क्रममा महेन्द्रनगरबाट लगभग ६ किलोमिटर पश्चिममा रहेको गड्डा चौकीनेरै भारतीय चेकपोष्ट देख्दा म छक्क परेको थिएँ । महाकाली नदी वारि नै भारतीय चौकी र भारतीय सीमा सुरक्षा बलको उपस्थिति देख्दा मलाई अनौठो अनुभूति भएको थियो ।
एकतिर महाकाली नदी पारिको नेपाली बस्ती र अर्कोतिर महाकाली नदीवारि नै भारतीय चेकपोष्ट । यी विरोधाभाषजस्ता लाग्ने दृश्य देखेर मेरो दिमाग रन्थनाएको थियो । यी परस्पर विरोधाभाषपूर्ण दृश्यले नेपाल र भारतबीचको भूराजनीतिक सम्बन्ध निकै जटिल छ भन्ने तथ्य राम्ररी अनुभूति भयो ।
अब फेरि चाँदनी र दोधारातर्फ नै जाउँ, जुन नेपालको मूल भूमिबाट टाढिएको नेपाली बस्ती हुन् । यसपटक म क्याम्पसको जाडो बिदामा मेची-महाकाली यात्रामा निस्केको थिएँ । यस क्रममा २०६८ साल माघ ३ गते लगभग ६ वर्षको अन्तरालमा चाँदनी गाविसमा पुगेको थिएँ । महाकालीपारि रहेका यी बस्तीको जीवनशैली र जनजीवनका अरु आयामहरु थाहा पाउने हेतुले म त्यता पुगेको थिएँ । महेन्द्रनगरस्थित महाकाली एफएममा कार्यरत बीपी अनमोलले मोटरबाइकमा राखेर चाँदनी गाविसको पूर्वी भागमा पुर्याइदिनुभएको थियो । समयको सीमाबन्दीले त्यस ठाउँभन्दा अघि बढ्न सकिएन ।
महाकाली नदीमाथि हालिएको पुलको पश्चिमी मुख (छेउ) मा दोधारा गाविसका बासिन्दा पप्पु गुरुङसंग चिनजान भयो । उहाँको पुख्र्यौली घर लमजुङ रहेछ । उहाँको पिता भारतीय सेनामा कार्यरत रहँदाको समयमा दोधारामा बसोबास गर्नुभएको रहेछ । उहाँबाट चाँदनी र दोधाराको बारेमा केही जानकारी प्राप्त भयो । उहाँका अनुसार बाटोघाटो र बजारको अभावमा चाँदनी र दोधारा गाविसका कृषि उत्पादन कि त मूल्य घटाघटमा बिक्री हुने गरेको छ कि त सडेर जाने गरेको छ ।
काठमाडौंबाट प्रकाशन हुने एक अंग्रेजी दैनिकले करिब २ वर्षघि दोधारा र चाँदनी गाविसका किसानले भोग्नुपरेको समस्याबारे समाचार छापेको थियो । समाचारअनुसार दोधारा र चाँदनी गाविसमा दैनिक ३ हजार ५ सयदेखि ४ हजार लिटरसम्म दूध उत्पादन हुने गरेको तर बाटोघाटो र बजारको अभावमा सदरमुकाम महेन्द्रनगरमा बिक्री हुने मूल्यभन्दा आधाभन्दा पनि कम मूल्यमा बेच्न बाध्यतामा त्यहाँका नागरिकहरु फसिसकेका छन् ।
यसैगरी, धनगढीबाट प्रकाशन हुने अनुमोदन दैनिकले २०६८ साल माघ ४ गतेको अंकमा चाँदनी गाविसको 'बेलबन्द सामुदायिक वन' मा उत्पादन हुने बेलले बजार नपाएको समाचार छापेको छ । १० बिघा क्षेत्रफलमा लगाइएको वनबाट वार्षिक रुपमा करिब ७ क्विन्टल बेल उत्पादन हुने गरेको भए पनि त्यसले बजार नपाउँदा स्थानीय किसान मर्कामा परेको कुरा पनि सो दैनिकले उठाएको छ ।
यी समस्याहरु त उदाहरणमात्रै हुन् । यहाँका नागरिकहरुले जनजीविका, जीवन रक्षा एवम् राष्ट्रियतासँग गाँसिएका असंख्य समस्या भोग्दै आएका छन् । भारतमा अपराध गरेर यस क्षेत्रमा लुक्न आउने अपराधी प्रवृत्तिका मानिसको खोजीमा भारतीय प्रहरी गर्ने ’रेड’, भारतीय सीमा सुरक्षा बलले बेलाबखतमा दिने यातना, आदिका दुःखद अध्याय यहाँका नागरिकको मनमस्तिष्कमा कम्प्युटरको ’मेमोरी चिप्स’ मा रहेजस्तै गरी साँचिएका छन् । प्रकारको दुःखदायी अवस्थाले मूल भूमिबाट टाढिएका दोधारा र चाँदनी गाविसका नागरिकहरुले उचित एवम् मर्यादित जीवन बिताउन नपाउने अवस्था पनि पैदा गरेको छ । यसबाट देशसँग अपनत्वको भावना टुट्ने खतरा रहन्छ । यस्तो अवस्थाले उनीहरुको मनमा रहेको राष्ट्रियताको भावना मेट्न सहयोग गर्छ, जुन राष्ट्रियताको दृष्टिले घातक हुनसक्छ ।
दोधारा गाविसको सीमावर्ती क्षेत्रका बालबालिकाहरु भारतीय स्कुलमा पढ्ने रहेछन् । अर्को कुरा, त्यस भेगका बासिन्दा बिरामी पर्दा भारतीय अस्पताल नै धाउने रहेछन् । दैनिक उपभोग्य वस्तुहरुको खरिद पनि भारतीय बजारमा नै हुने गरेको पाइन्छ । यहाँनेर, टाढाको आरनभन्दा नजिकको आँसी उध्याउने ढुँगा बढी लाभदायी हुन्छ भन्ने लोकोक्ति चरितार्थ भएको पाइन्छ ।
आउजाउ भएमा टाढाको साइनो पनि नजिकको साइनो बन्छ, आउजाउ नभएमा नजिकको साइनो पनि टाढाको साइनो बन्छ भन्ने भनाइ पनि यहाँ उत्तिकै शिरोधार्य देखिन्छ ।
नेपाली भूमि र नेपाली नागरिकलाई मूलथलोबाट टाढिन नदिन सरकारले विशेष कार्यक्रमहरु अघि सार्नुपर्छ । सन् २००५ अप्रिलमा निर्माण कार्य सम्पन्न भएको महाकाली नदीमाथिको १ हजार ४ सय ५४ मिटर लम्वाइ भएको झोलुङ्गे पुलले चाँदनी र दोधाराका बासिन्दालाई कन्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरसंग जोड्ने काम गरेको छ । अब त्यस पुलको रेखदेख गर्ने र मर्मत सम्भार गर्ने निकाय पनि हुन जरुरी छ । यतिले मात्र पुग्दैन । अब त्यस झोलुङ्गे पुलको सट्टामा मोटर नै गुड्न सक्ने पक्की पुल बन्न पनि आवश्यक छ ।
कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरबाट त्यस झोलुङ्गे पुलसम्मको दूरी १० दशमलव ५ किलोमिटर छ । त्यो बाटो कालोपत्रे भएमा त्यस भेगका नागरिकलाई आवतजावत गर्न सहज हुने देखिन्छ । उक्त बाटो कालोपत्रे गर्न माग गरेर स्थानीय नागरिकले विरोध कार्यक्रम अघि सार्दा पनि जनप्रतिनिधि र सरोकारलवाला निकायबाट यथोचित सुनुवाइ नभएको जानकारी पाइयो । त्यस बाटो पक्की भएमा महाकाली नदीमाथि बनेकोको झोलुङ्गे पुल हेर्न आउने पर्यटकको संख्या बृद्धि भई त्यस क्षेत्रमा सुविधासम्पन्न होटल र रेष्टुराँहरु बन्ने ठहर पत्रकार बीपी अनमोलको छ ।
बाटो कच्ची भएको कारणले सार्वजनिक यातायातका साधन नचल्दा सर्वसाधारण नागरिक महंगा वैकल्पिक माध्यम रोज्न बाध्य भएका छन् । त्यो बाटोमा मोटरबाइकले यात्रु ओसार्ने धन्दा फस्टाएको रहेछ । त्यस भेगका सर्वसाधारण नागरिक मोटरबाइक चालकलाई प्रतिव्यक्ति एक सय रुपियाँ तिरेर महेन्द्रनगर र महाकालीमाथिको पुलसम्म आउजाउ गर्न बाध्य भएका रहेछन् । उनीहरुले भोग्नुपरेको हैरानी र सास्तीप्रति सरकारको ध्यान जान आवश्यक छ ।
मूलभूमि (Mainland) बाट छुटिट्एको अवस्थामा रहेको भूखण्ड (Break-away land) को भूराजनीतिक र सामाजिक प्रभाव संधै गम्भीर र सम्वेदनशील हुने गर्छ । मुख्य भूमिबाट टाढिएका भूखण्डको नागरिकमा राष्ट्रि्रय भावना जागृत गर्न र त्यस भूखण्डलाई सुरक्षित तुल्याउन विश्वका कतिपय मुलुकका विशेष व्यवस्था अपनाएको पाइन्छ । नेपाल सरकार पनि विषयमा गम्भीर हुन आवश्यक छ । चाँदनी र दोधाराका नागरिकमा राष्ट्रिय भावना जागृत गराउन उनीहरुको जीवनवृत्ति (जनजीविका) र आत्मबललाई टेवा मिल्ने गरी विशेष कार्यक्रम अघि सार्नु आवश्यक छ । यसले चाँदनी र दोधारालाई नेपालको भूगोलसंग मात्र होइन, नेपाली मन र मुटुहरुसंग पनि जोड्ने काम गर्नुपर्छ । अनि मात्र संकटमा परेको राष्ट्र र राष्ट्रियतको जगेर्ना हुनसक्छ ।
[साभार : नेपाली पोष्ट (जनवरी २५, २०१२)]
[अद्यावधिक : २०६८ ।१० ।१३, ०६८ ।१० ।१५, ०६८।१०।२९, ०६८।११।१९, २०६९।०१।०७, २०६९।०८।०६]
No comments:
Post a Comment