Showing posts with label Travelogue. Show all posts
Showing posts with label Travelogue. Show all posts

Sunday, March 4, 2012

दुराडाँडामा आशाको त्यान्द्रो

 -यमबहादुर दुरा

गाउँघर रित्तिँदै गएको बेलामा मेरो जन्मथलो दुराडाँडा पुग्दा यसपटक मलाई बेग्लै अनुभूति भयो । गाउँघरमा चहलपहल बढेको पाएँ । गाउँमा पाखुरामा तागत भएका तन्नेरीहरु त खासै भेटिएनन् । तर त्यहाँ बचेखुचेका जे जति जनशक्ति थिए, तिनमा एकप्रकारको उत्साह भेटियो । गाउँघरको हराउँदै गएको कान्ति फेरि फर्किएजस्तो लाग्यो । उनीहरुको ओंठमा मुस्कान फक्रिएको देख्दा कोइलाखानीमा हीरा भेटिएजस्तो लाग्यो ।

लमजुङमा हालसालै शुरु भएको नयाँ पदमार्गको उद्घाटन समारोहमा भाग लिन दुराडाँडा पुग्दा मेरो मनमा उत्साहको सञ्चार  भयो । ठाउँ-ठाउँमा स्वागतद्वार उभ्याइएका थिए । गाउँ छाडेर सुखको खोजीमा देशका अन्य भागमा पुगेका गाम्ले दाजुभाइहरु त्यतिबेला गाउँमै भेटिएका थिए । उनीहरु लागीमिली काम गरिरहेका थिए । उनीहरुको उपस्थितिले गाउँघरको सहकाल फर्किएर आएजस्तो लाग्यो ।

काठमाडौंबाट बाटो लाग्दा मेरो साथमा तीनजना पत्रकार थिए-किशोर पौडेल (एबीसी टेलिभिजन), उद्धव थापा (आर्थिक अभियान)  र अनुप ओझा (द काठमाण्डू पोष्ट) । बाटोमा खाजा खान र भात खान पृथ्वीराजमार्गका होटलहरुमा पस्दा पुरानै अव्यवस्था र महङ्गी कायमै देखियो । त्यहाँ हामीबीच ठट्टा पनि चल्यो -' बाबुरामले अनुगमन टोली खटाउन छाडे, क्यारे ।' 

काठमाडौंबाट खत्रीठाँटी पुगेपछि दुराडाँडाका लागि अर्को बस समात्नुपर्ने थियो । चितवन बन्दले हामी मुग्लिनमा डेड घण्टा जाममा परेका थियौँ। परिणामस्वरुप खत्रीठाँटीबाट दुराडाँडाका लागि बस छुट्ने समय टरिसकेको थियो । भाग्यवश, त्यस दिन दुराडाँडा जाने बस निर्धारित समयमा छुटेको रहेनछ । हामीले बस भेट्टायौं । सिट प्याक भएकोले छतमा बस्यौँ ।  किशोर पौडेल भिडियो क्यामेरा नै लिएर छतमा बसे । अप्ठेरो बाटो । त्यसमा पनि  भिडियो क्यामरा लिएर छतमा बस्नुपर्ने अवस्था । क्यामरा फुट्ने हो कि भनेर चिन्ता लाग्न थाल्यो । मैले उनीतिर फर्केर भनें, 'क्यामरा फुट्ने हो कि?'  तर उनले मलाई उल्टै ढाडस दिए 'केही हुँदैन ।'

छतमा यात्रा गर्दा रुखका हाँगाबिंगाले हामीलाई थुप्रैपटक झापड लगायो । एकपटक रुखका हाँगाले मेरो टोपी नै खसालिदियो । भूइँ चुम्न पुगेको मेरो टोपी किशोर पौडेलले ल्याइदियो । यात्राका यिनै अनुभवहरु मनमा सजाउँदै घरमा पुग्यौँ  । हामीलाई देखेपछि आमा-बा निकै खुसी हुनुभयो । नहोस् पनि किन ! आधुनिकताले निम्त्याएको शहरबास र व्यस्तताले  वर्षमा मुस्किलले तीन चार पटकमात्र उहाँहरुसँग भेट हुने गरेको छ । बहिनीले ढिँडोरोटो पकाएकी थिइन् । भोक र थकाइले चुर भएकोले बेला त्यही ढिँडोरोटो पनि हाम्रा लागि   मिष्टान्न भोजनमा परिणत भयो । घरैमा उत्पादित बिदाइ बिजुलीपानीले करामत देखाउँदै थियो । साथीहरुका बोली लरबराउँदै थियो । उनीहरु छिट्टै निन्द्रादेवीको शरणमा परे ।

= = =

भोलिपल्ट विहान हामी पुरानकोटतिर लाग्यौँ  । घरबाट एक घण्टा जति हिँडेपछि पुरानकोट गाउँमा पुग्यौँ  । पुरानकोट थाप्लोतिर पाइला नाप्दै गर्दा विदेशी पर्यटकहरु पनि भेटिए । थकाइका सुस्केरा फ्याँक्दै करिब १ हजार ९ सय मिटर पुरानकोटको थाप्लोमा पुगेपछि आँखाले मनोरम भूदृश्य तनतनी पिउन थाल्यो । उत्तरतिर दन्तलहर खोलेर मुस्काएका हिमश्रृखला, पूर्वतिर गोर्खा,  दक्षिणतिर तनहूँ र नवलपरासी र पश्चिमतिर कास्कीका मनमोहक भूतरेलीहरु सिनेमाका 'लो सट एंगल' र 'हाइ सट एंगल' का दृश्यहरुझैं आँखा वरिपरि देखिन थाले । यद्यपि तुँवालोको घुम्टो ओढेकी प्रकृति खुल्नुपर्ने जति खुलेकी थिइनन् ।

पुरानकोट थाप्लोमा भग्नावशेषको रुपमा रहेको यशोब्रह्म शाह र उनकी रानीको बेग्लाबेग्लै दरबारलबारे गुरुप्रसाद ढुङ्गाना, दामोदर अधिकारीलगायतका स्थानीय जानकारहरुले दिएको जानकारीले हामीलाई इतिहाससित रुबरु गरायो । त्यस घडीले मलाई मेरा गुरुजनसँग पनि रुबरु गरायो । वर्षौंदेखि अलगथलग हुन पुगेका मेरा गुरुहरु लालबीर गुरुङ र बुद्धिबहादुर गुरुङ भेटिए, त्यहाँ । गुरुहरुसँगको भेटघाटले मन फुरुङ्ग भयो । उहाँहरु मलाई बाल्यकालमा शिक्षा दिने गुरु हुनुहुन्छ । उता पुरानकोटका गुरुङसेनी चेलीबेटीहरुले प्रेमपूर्वक दिएको भुटेको मकै, लट्टे, मह र अचारले तन र मन दुवै पुष्टिँदै थियो ।

पुष्टिएको  तन र मन लिएर पुरानकोटको थाप्लोबाट तलतिर झर्यौँ , 'रक क्लाइम्बिङ वाल' को उद्घाटन कार्यक्रममा सहभागी हुन । 'रक क्लाइम्बिङ वाल' उद्घाटन स्थलमा थुप्रै स्थानीय बासिन्दाहरुले अघि नै भरिभराउ भएको रहेछ । सूचना आयोगका तत्कालीन सचिव सुरेशमान श्रेष्ठ, नेपाल सरकारका सहसचिव कृष्ण रानादेखिका गन्यमान्य व्यक्ति र विदेशी पाहुनाहरु 'रक क्लाइम्बिङ' को रोमान्चक दृश्यमा रमाउन ढुङ्गे पहरामा आँखा जोतेर बसिरहेका थिए । 'च्वाइस इन्टरनेसन' का निर्देशक क्रिस जोन्सनले रक क्लाइम्बिङ वालको उद्घाटन गरेपछि त्यहाँ बेजोडसँग  सिठी बज्न थाल्यो । लगभग १ सय ६० फिटमाथिको ढुङ्गे पहराको टुप्पोबाट दुई युवा तुलबहादुर गुरुङ र राजकुमार गुरुङ डोरीको साहराबाट तलतिर झर्न थाले । त्यस क्षणलाई जीवन्त बनाउन भिडियो क्यामरादेखि मोबाइलसम्मको प्रयोग फोटो खिच्नेहरुको भीड नै उर्लियो ।

त्यतिबेला नै पुरानकोट एक युवा निकै हर्षित हुँदै पत्रकार अमृत भादगाउँलेलाई फोन गर्न थाले । केही वर्षअघि पुरानकोट पुग्दा अमृत भादगाउँलेले 'रक क्लाइम्बिङ' लाई सपना भनेका थिए रे । त्यस सपना पूरा भएको जानकारी दिन अमृतजीलाई फोन गरेर उनी भावुक मनोभावमा वायुतरङ्गमार्फत छताछुल्ल पोख्दै थिए । हुन पनि पुरानकोटको रक क्लाइम्बिङ तान्द्राङकोट-पुरानकोट पदमार्गको मात्र नभई नेपालभरिकै पदमार्गहरु गहना ठहरिन पुगेको छ ।
= = =
पुरानकोटको भव्य कार्यक्रमपछि बिदाइका हात हल्लाउँदै हामी तुर्लुङकोटतिर लाग्यौँ । झमक्कै साँझपरेपछि तुर्लुङकोट आइपुग्दा जाडोको जवानी बेजोड ढङ्गले बढिरहेको थियो । जाडोले हामीलाई सेक्नुसम्म सेक्यो । तर हामी जाडोसँग डराएनौँ । ठाउँ ठाउँमा मुढा जोतिएका थिए । आधुनिक भाषामा भन्नुपर्दा त्यहाँ गाउँले शैलीको 'क्याम्प फायर' गरिएका थिए । त्यतिमात्र कहाँ हो र!  कोदाकॊ खाँट्टी बिजुलीपानीले पाहुनाहरुको भित्री कम्मल बनेर जाडोको दोहोलो काढ्न तम्तयार थियो । त्यहाँ उपलब्ध तातो-तातो चिया र तातो पानी पनि जाडोलाई निस्तेज बनाउन प्रयासरत थिए । खानपिनपछि चलेको नाचगानले त जाडोलाई झनै पर धपाइदिएको थियो । 

विहान खाजा खाएपछि पर्यटक र पत्रकारहरु फोटो खिच्न र गाउँघर डुल्न व्यस्त देखिए । दुराडाँडामा जन्मेकी प्रसिद्ध लोकगायिका बीमाकुमारी दुराको गीतमा उल्लिखित तुर्लुङकोटको लाँकुरीबोटको तस्बिर खिच्नमा व्यस्त थिए,पत्रकार किशोर पौडेल । बिडम्बना नै भन्नुपर्ने हुन्छ, इतिहास रच्न सफल त्यो लाँकुरीबोट रहेको चौतारी बाटो खन्ने बुल्डोजरको निर्मम आक्रमणको निसाना बनिसकेको छ । त्यो चौतारी थोते र कुरुप बनेको छ । 

लमजुङ तुर्लुङकोट
सरर हावा चल्यो लाँकुरीको बोट

बीमाकुमारी दुराको कोइलीजस्तो स्वरले चित्रण गरेको त्यो लाँकुरीबोटको भौतिक अवस्था गीतजस्तो सुन्दर छैन, अहिले । बीमाकुमारी दुरा, कृष्ण गुरुङ, कृष्णसुधा ढुङ्गानाजस्ता लोकप्रतिभा र पाखुरामा जाँगर भएका गाउँले युवाहरुको अनुपस्थितिमा त्यो लाँकुरीको बोट एक्लो छँदैथियो, त्यसमा पनि भत्कन लागेका लाँकुरी चौतारीको दुरावस्था देखेर भित्री मन गहिरो गरी दु:ख्न थाल्यो । हामी खिन्न भएको मन लिएर 'तुर्लुङकोट गढी' हुँदै तुर्लुङकोटकोटको थाप्लोतिर लाग्यौँ  । उकालो लाग्दा देखिएका आँखाको अघिल्तिर नाँच्न आएका मनोरम प्राकृतिक भूदृश्यहरुले दु:खेको मनलाई विस्तारै ओखतीमूलो गर्न थाल्यो । चौतारीको बेहाल देखेर चिमोटिएको मन विस्तारै निको हुँदै गयो । तुर्लुङकोटकोटको थाप्लोमा बाह्रमासे घाँटु, सोरठी, भजन र ठाडो भाकाका खालहरु जमेका थिए । तान्द्राङकोट-पुरानकोट पदमार्ग उद्घाटनको अवसरमा यसप्रकारको सांस्कृतिक एवम् सांगीतिक जनमघट आयोजना गरिएको थियो । यसप्रकारको जमघटमा मिसिन पाउँदा मन फुरुङ्ग भयो । बाल्यकालका सम्झनाहरु ताजा भए । पानी परेपछि  फूलहरु ताजा भएजस्तै ।

= = =

शहरप्रतिको बढ्दो मोह गाउँमा अवसरहरुको अभाव आदि कारणले दुराडाँडा प्रतिपल खाली  बन्दै गएको छ । अहिले मणि हराएको सर्पजस्तै कान्तिहीन बनेको छ, दुराडाँडा । हुन त  दुराडाँडाको यो अवस्था नेपालका अधिकांश गाउँबस्तीहरुको साझा कथा पनि हो । थुप्रै सामाजिक सांस्कृतिक एवम् ऐतिहासिक निधिहरुबाट सजिँदै वैभवशाली विगत बोकेको यो ठाउँ विसर्जित हुनु र बिरानो बन्दै जानु दुर्भाग्यपूर्ण अवस्था हो । यस्तो लाग्छ, हामीले ममतामयी भूगोल र वैभवशाली इतिहासलाई सनैसनै बिर्सदै गइरहेका छौं ।

दुराडाँडा शाहवंशीय राजसंस्थाको उद्गम विन्दु हो । खजे दुरा र उनका तत्कालीन सहकर्मीहरुले दुराडाँडामा शाहवंशीय राजसंस्था स्थापना गरेको इतिहास छ

सांगीतिक निधिको कुरा गर्दा प्रख्यात ठाडोभाका देउबहादुर दुराको जन्मथलो पनि यतै  हो ।  २००६ साल भएको हलो क्रान्ति र त्यसको लगत्तै शुरु भएको शैक्षिक एवम् सामाजिक क्रान्तिका दुराडाँडाले थुप्रै चर्चा र प्रशंसा बटुल्यो । एक समयमा  दुराडाँडा एउटा राम्रो शैक्षिक गन्तव्य बनेको थियो । त्यहाँ छिमेकी जिल्ला र लमजुङकै अन्य भागबाट विद्यार्थी झुत्तिने गर्थे । आज शून्य बन्दै गएको दुराडाँडा त्यही थलो हो, जहाँ वि.सं. २००९ र २०१० सालमा क्रमशः 'राजनीतिक सम्मलेन' र 'शैक्षिक सम्मेलन' आयोजना गरिएका थिए । ती सम्मेलनमा देश सुधारका निम्ति घोषणपत्रहरु जारी गरिएका थिए । सामाजिक एवम् राजनीतिक चेतनाको दीयो बाल्ने दुराडाँडा कुनै समयमा आकर्षणको केन्द्रविन्दु थियो ।

क्रमिक रुपमा बिरानो र शून्य बन्दै गएको दुराडाँडामा अहिले आशाको त्यान्द्रो पलाएको छ । दुराडाँडाकै मेधावी व्यक्तित्व विष्णुहरि अधिकारीले अघि सारेको पर्यटन, समाज कल्याण र समाज विकाससम्बन्धी अवधारणाले हालको रिक्ततालाई  चिर्न  सहयोग गर्छ भन्ने आशा पलाएको छ । उनले अघि 'तान्द्राङकोट-पुरानकोट पदमार्ग', 'होम स्टे' विद्यालय सुधार र समाज सुधारका अन्य कार्यक्रमले विस्तारै गति लिँदै गएको छ ।  यसमा अरुको पनि सहयोग र समर्थन मिल्यो भने यो ठाउँ पुनः गुल्जार बन्नसक्छ । आशा गरौँ, यसले दुराडाँडाको हराएको सहकाललाई फेरि फर्काएर ल्याउनेछ । यहाँबाट बसाइँ सरेर जानेहरु फेरि यतै फर्किउन् । दुराडाँडाको माटोले यही पुकारा गरिहरेको छ ।


[साभार : नागरिक (फागुन २०, २०६८ ) । सामान्य परिमार्जनसहित । तस्बिर: किरण न्यौपाने ]
 

[अद्यावधिक: २०६९ ।०२ ।०३, २०७१।०३।१०, २०७१।०३।११, २०७५।०७।१४ ]

Thursday, January 26, 2012

चाँदनी र दोधारालाई मुटुमा सजाउँदा...

-यमबहादुर दुरा
सानो छँदा सामान्य ज्ञानसम्बन्धी पुस्तकमा पढेको थिएँ, महाकाली नदी नेपाल र भारतबीचको सीमाना हो । साथसाथै मैले यो पनि पढेको थिएँ, चाँदनी र दोधारा महाकालीपरिको नेपाली बस्ती हुन् । नेपालको भौगोलिक अवस्थितिबारेको यसप्रकारको विरोधाभाषपूर्ण जानकारीले म आश्चर्यचकित भएको थिएँ । महाकाली नदीलाई नेपाल र भारत बीचको सीमाना मानिएको अवस्थामा महाकाली नदी पारि कसरी नेपाली बस्ती कायम हुनसक्छ ? मेरो मनमा यही जिज्ञासा थियो । यद्यपि यो सीमाना सन् १८१६ मा नेपाल र इष्ट इन्डिया कम्पनीबीच भएको "सुगौली सन्धि " पछि निर्धारण भएको हो  र यो नेपालको खुम्चिएको भूगोल हो भन्ने तथ्य पनि मनमै छ ।

समयक्रममा दोधारा र चाँदनीको बारेमा थप चर्चा-परिचर्चा सुन्ने मौका पाएँ । एकतिर मिडिया र अर्कोतिर अनौपचारिक माध्यमहरुमार्फत थप जानकारी बाहिरहरु आए । यस्ता चर्चा-परिचर्चाले पुराना जिज्ञासा मेट्दै गयो र नयाँ जिज्ञासाहरु थप्दै गयो । मैले बेला बखतमा सुन्ने गर्थें - दोधारा र चाँदनीमा नेपाली पैसा चल्दैन, त्यहाँ भारतीय रुपियाँमा कारोबार हुन्छ, त्यहाँ नेपाल सरकारको उपस्थिति छैन, त्यहाँका जनता प्राविधिक रुपमा मात्रै नेपाली हुन्, त्यहाँको जनजीवन भारतीय जीवनशैलीसित गाँसिएको छ, महाकाली नदीमा पुल नहुँदा दोधारा र चाँदनी नेपालको मूलभूमिबाट अलगथलग हुन पुगेका छन् । यी र यस्ता कुराहरु थाहा पाउँदा मभित्रको राष्ट्रियता नराम्ररी छट्पटाउँथ्यो । मन नमिठो गरी दुख्थ्यो ।
चाँदनी र दोधारालाई नेपालसंग जोड़ने पुल । तस्बिर: बीपी अनमोल
मलाई मनमनै लाग्थ्यो, चाँदनी र दोधारामा पुगेर त्यस भेगका नागरिकले भोग्नुपरेका पीरमर्कालाई नजिकबाट अनुभव गर्न पाए हुन्थ्यो । तर समय मिलिरहेको थिएन । लामो समयको प्रतीक्षापछि २०६२ सालतिर चाँदनी गाविसमा पाइला टेक्ने साइत जुर्‍यो । नेपाल प्रेस इस्टिच्यूट/क्षेत्रीय सञ्चार स्रोत केन्द्र (नेपालगञ्ज) ले आयोजना गरेको पत्रकारितासम्बन्धी तालिमको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्ने क्रममा महेन्द्रनगर पुगेको थिएँ । त्यतिबेला समय निकालेर चाँदनी गाविसको जमिनमा पाइला टेक्ने काम गरें। लामो र आकर्षक झोलुङ्गे पुल पार गरेर महाकाली पारिको चाँदनी गाविसमा पाइला टेक्न पाउँदा मन प्रफुल्लित थियो ।

त्यतिबेला नै महाकाली नदीपारिको भारतीय बजार वनबासा घुम्ने समय पनि निकालें । त्यसबेला नेपाल पत्रकार महासंघ (बाँके) का तत्कालीन सभापति निरज गौतमले आफ्नो मोटरमा राखेर वनबासा बजार घुमाइदिनुभएको थियो । वनबासातिर अघि बढ्ने क्रममा महेन्द्रनगरबाट लगभग ६ किलोमिटर पश्चिममा रहेको गड्डा चौकीनेरै भारतीय चेकपोष्ट देख्दा म छक्क परेको थिएँ । महाकाली नदी वारि नै भारतीय चौकी र भारतीय सीमा सुरक्षा बलको उपस्थिति देख्दा मलाई अनौठो अनुभूति भएको थियो ।

एकतिर महाकाली नदी पारिको नेपाली बस्ती र अर्कोतिर महाकाली नदीवारि नै भारतीय चेकपोष्ट । यी विरोधाभाषजस्ता लाग्ने दृश्य देखेर मेरो दिमाग रन्थनाएको थियो । यी परस्पर विरोधाभाषपूर्ण दृश्यले नेपाल र भारतबीचको भूराजनीतिक सम्बन्ध निकै जटिल छ भन्ने तथ्य राम्ररी अनुभूति भयो ।

अब फेरि चाँदनी र दोधारातर्फ नै जाउँ, जुन नेपालको मूल भूमिबाट टाढिएको नेपाली बस्ती हुन् । यसपटक म क्याम्पसको जाडो बिदामा मेची-महाकाली यात्रामा निस्केको थिएँ । यस क्रममा २०६८ साल माघ ३ गते लगभग ६ वर्षको अन्तरालमा चाँदनी गाविसमा पुगेको थिएँ । महाकालीपारि रहेका यी बस्तीको जीवनशैली र जनजीवनका अरु आयामहरु थाहा पाउने हेतुले म त्यता पुगेको थिएँ । महेन्द्रनगरस्थित महाकाली एफएममा कार्यरत बीपी अनमोलले मोटरबाइकमा राखेर चाँदनी गाविसको  पूर्वी भागमा पुर्‍याइदिनुभएको थियो । समयको सीमाबन्दीले त्यस  ठाउँभन्दा अघि बढ्न सकिएन ।

महाकाली नदीमाथि हालिएको पुलको पश्चिमी मुख (छेउ) मा दोधारा गाविसका बासिन्दा पप्पु गुरुङसंग चिनजान भयो । उहाँको पुख्र्यौली घर लमजुङ रहेछ । उहाँको पिता भारतीय सेनामा कार्यरत रहँदाको समयमा दोधारामा बसोबास गर्नुभएको रहेछ । उहाँबाट चाँदनी र दोधाराको बारेमा केही जानकारी प्राप्त भयो । उहाँका अनुसार बाटोघाटो र बजारको अभावमा चाँदनी र दोधारा गाविसका कृषि उत्पादन कि त मूल्य घटाघटमा बिक्री हुने गरेको छ कि त सडेर जाने गरेको छ ।

काठमाडौंबाट प्रकाशन हुने एक अंग्रेजी दैनिकले करिब २ वर्षघि दोधारा र चाँदनी गाविसका किसानले भोग्नुपरेको समस्याबारे समाचार छापेको थियो । समाचारअनुसार दोधारा र चाँदनी गाविसमा दैनिक ३ हजार ५ सयदेखि ४ हजार लिटरसम्म दूध उत्पादन हुने गरेको तर बाटोघाटो र बजारको अभावमा सदरमुकाम महेन्द्रनगरमा बिक्री हुने मूल्यभन्दा आधाभन्दा पनि कम मूल्यमा बेच्न बाध्यतामा त्यहाँका नागरिकहरु फसिसकेका छन् ।

यसैगरी, धनगढीबाट प्रकाशन हुने अनुमोदन दैनिकले २०६८ साल माघ ४ गतेको अंकमा चाँदनी गाविसको 'बेलबन्द सामुदायिक वन' मा उत्पादन हुने बेलले बजार नपाएको समाचार छापेको छ । १० बिघा क्षेत्रफलमा लगाइएको वनबाट वार्षिक रुपमा करिब ७ क्विन्टल बेल उत्पादन हुने गरेको भए पनि त्यसले बजार नपाउँदा स्थानीय किसान मर्कामा परेको कुरा पनि सो दैनिकले उठाएको छ ।

यी समस्याहरु त उदाहरणमात्रै हुन् । यहाँका नागरिकहरुले जनजीविका, जीवन रक्षा एवम् राष्ट्रियतासँग गाँसिएका असंख्य समस्या भोग्दै आएका छन् । भारतमा अपराध गरेर यस क्षेत्रमा लुक्न आउने अपराधी प्रवृत्तिका मानिसको खोजीमा भारतीय प्रहरी गर्ने ’रेड’, भारतीय सीमा सुरक्षा बलले बेलाबखतमा दिने यातना, आदिका दुःखद अध्याय यहाँका नागरिकको मनमस्तिष्कमा कम्प्युटरको ’मेमोरी चिप्स’ मा रहेजस्तै गरी साँचिएका छन् । प्रकारको दुःखदायी अवस्थाले मूल भूमिबाट टाढिएका दोधारा र चाँदनी गाविसका नागरिकहरुले उचित एवम् मर्यादित जीवन बिताउन नपाउने अवस्था पनि पैदा गरेको छ । यसबाट देशसँग अपनत्वको भावना टुट्ने खतरा रहन्छ । यस्तो अवस्थाले उनीहरुको मनमा रहेको राष्ट्रियताको भावना मेट्न  सहयोग गर्छ, जुन राष्ट्रियताको दृष्टिले घातक हुनसक्छ ।

चाँदनी र दोधारा गाविसले कञ्चनपुर जिल्लाको चुनावी राजनीतिमा महत्व पनि गहकिलो गरी बोकेको छ । त्यस जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा यी दुई गाविसको मत निर्णायक  हुन्छ । यस क्षेत्रका नागरिकको मत जसको पक्षमा गयो, उसैले चुनाव जित्ने अवस्था रहेछ । यति हुँदाहुदै पनि चाँदनी र दोधारा धेरै अर्थमा अपहेलित अवस्थामा छ ।

दोधारा गाविसको सीमावर्ती क्षेत्रका बालबालिकाहरु भारतीय स्कुलमा पढ्ने रहेछन् । अर्को कुरा, त्यस भेगका बासिन्दा बिरामी पर्दा भारतीय अस्पताल नै धाउने रहेछन् । दैनिक उपभोग्य वस्तुहरुको खरिद पनि भारतीय बजारमा नै हुने गरेको पाइन्छ । यहाँनेर, टाढाको आरनभन्दा नजिकको आँसी उध्याउने ढुँगा बढी लाभदायी हुन्छ भन्ने लोकोक्ति चरितार्थ भएको पाइन्छ ।

आउजाउ भएमा टाढाको साइनो पनि नजिकको साइनो बन्छ, आउजाउ नभएमा नजिकको साइनो पनि टाढाको साइनो बन्छ भन्ने भनाइ पनि यहाँ उत्तिकै शिरोधार्य देखिन्छ ।

नेपाली भूमि र नेपाली नागरिकलाई मूलथलोबाट टाढिन नदिन सरकारले विशेष कार्यक्रमहरु अघि सार्नुपर्छ । सन् २००५ अप्रिलमा निर्माण कार्य सम्पन्न भएको महाकाली नदीमाथिको १ हजार ४ सय ५४ मिटर लम्वाइ भएको झोलुङ्गे पुलले चाँदनी र दोधाराका बासिन्दालाई कन्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरसंग जोड्ने काम गरेको छ । अब त्यस पुलको रेखदेख गर्ने र मर्मत सम्भार गर्ने निकाय पनि हुन जरुरी छ । यतिले मात्र पुग्दैन । अब त्यस झोलुङ्गे पुलको सट्टामा मोटर नै गुड्न सक्ने पक्की पुल बन्न पनि आवश्यक छ ।

कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरबाट त्यस झोलुङ्गे पुलसम्मको दूरी १० दशमलव ५ किलोमिटर छ । त्यो बाटो कालोपत्रे भएमा त्यस भेगका नागरिकलाई आवतजावत गर्न सहज हुने देखिन्छ । उक्त बाटो कालोपत्रे गर्न माग गरेर स्थानीय नागरिकले विरोध कार्यक्रम अघि सार्दा पनि जनप्रतिनिधि र सरोकारलवाला निकायबाट यथोचित सुनुवाइ नभएको जानकारी पाइयो । त्यस बाटो पक्की भएमा महाकाली नदीमाथि बनेकोको झोलुङ्गे पुल हेर्न आउने पर्यटकको संख्या बृद्धि भई त्यस क्षेत्रमा सुविधासम्पन्न होटल र रेष्टुराँहरु बन्ने ठहर पत्रकार बीपी अनमोलको छ ।

बाटो कच्ची भएको कारणले सार्वजनिक यातायातका साधन नचल्दा सर्वसाधारण नागरिक महंगा वैकल्पिक माध्यम रोज्न बाध्य भएका छन् । त्यो बाटोमा मोटरबाइकले यात्रु ओसार्ने धन्दा फस्टाएको रहेछ । त्यस भेगका सर्वसाधारण नागरिक मोटरबाइक चालकलाई प्रतिव्यक्ति एक सय रुपियाँ तिरेर महेन्द्रनगर र महाकालीमाथिको पुलसम्म आउजाउ गर्न बाध्य भएका रहेछन् । उनीहरुले भोग्नुपरेको हैरानी र सास्तीप्रति सरकारको ध्यान जान आवश्यक छ ।

मूलभूमि  (Mainland)  बाट छुटिट्एको अवस्थामा रहेको भूखण्ड (Break-away land) को भूराजनीतिक र सामाजिक प्रभाव संधै गम्भीर र सम्वेदनशील हुने गर्छ । मुख्य भूमिबाट टाढिएका भूखण्डको नागरिकमा राष्ट्रि्रय भावना जागृत गर्न र त्यस भूखण्डलाई सुरक्षित तुल्याउन विश्वका कतिपय मुलुकका विशेष व्यवस्था अपनाएको पाइन्छ । नेपाल सरकार पनि विषयमा गम्भीर हुन आवश्यक छ । चाँदनी र दोधाराका नागरिकमा राष्ट्रिय भावना जागृत गराउन उनीहरुको जीवनवृत्ति (जनजीविका) र आत्मबललाई टेवा मिल्ने गरी विशेष कार्यक्रम अघि सार्नु आवश्यक छ । यसले चाँदनी र दोधारालाई नेपालको भूगोलसंग मात्र होइन, नेपाली मन र मुटुहरुसंग पनि जोड्ने काम गर्नुपर्छ । अनि मात्र संकटमा परेको राष्ट्र र राष्ट्रियतको जगेर्ना हुनसक्छ ।

[साभार : नेपाली पोष्ट  (जनवरी २५, २०१२)]

[अद्यावधिक : २०६८ ।१० ।१३, ०६८ ।१० ।१५, ०६८।१०।२९, ०६८।११।१९, २०६९।०१।०७, २०६९।०८।०६]

Tuesday, October 11, 2011

अमेरिकी समाजलाई आँखीझ्यालबाट चियाउँदा...

 -यमबहादुर दुरा

यसपटक मेरो जीवनमा केही उल्लेखनीय मोडहरु आए । एकतिर धेरैको 'ड्रिमल्याड' मानिएको संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने साइत जीवनमा पहिलोपल्ट जुर्दैथियो भने अर्कोतिर अन्तर्राष्ट्रियस्तरको जागिर खाने अवसर पनि जीवनमै पहिलोपल्ट मिल्दै थियो । मलाई एकतिर सन् २०११ का लागि अमेरिकाको 'डिपार्टमेन्ट अफ स्टेट' ले उपलब्ध गराएको मिडियाको अध्ययनसम्बन्धी विद्वतवृत्ति कार्यक्रममा सहभागी हुने अवसर मिलिरहेको थियो भने अर्कोतिर थाइल्याण्डस्थित च्याङमाइ शहरमा मुख्यालय रहेको एशिया इन्डिजिनियस पिपुल्स प्याक्ट नामक संस्थाको सञ्चार तथा अनुसन्धान संयोजकका रुपमा मेरो नाम छनोट भइसकेको थियो ।

कुन रोजौं, कुन नरोजौं । म फसाद पारिरहेको थिएँ । एउटा व्यक्तिले दुइटा नाउमा खुट्टा राखिरहेको जस्तो अवस्था थियो, मेरो । अमेरिका जाने कि थाइल्याण्ड जाने भन्ने दोधारले म ग्रस्त भइरहेको थियो । अधिकांश साथीहरुले थाइल्याण्ड नै जान सल्लाह दिएका थिए । केही साथीहरुले अमेरिका जाने सल्लाह दिएका थिए । मलाई अमेरिका नै जाने सल्लाह दिने एक मित्र थिए, रघु मैनाली । त्यसैगरी पत्रकार भुवन केसीले पनि अमेरिका नै जान सल्लाह दिएका थिए । 'अमेरिका गएर आउनुहोस् । नेपालमा मिडियाको क्षेत्रमा धेरै काम गर्न सकिन्छ', उनको थियो । अन्ततः मैले अमेरिका नै जाने निधो गरें ।

अमेरिकी सूचना संस्कति

यो रोज्ने कि त्यो रोज्ने भन्ने द्विविधा हटेपछि २०६८ साल असार १९ गते अमेरिकातर्फ प्रस्थान गरें, अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले उपलब्ध गराएको स्टडी अफ द युनाइटेड इस्टिच्यूट अन जर्नलिज्म एण्ड मिडिया नामक छात्रवृत्ति कार्यक्रममा सहभागी हुन । अंग्रेजी अल्फाबेटअनुसार यस कार्यक्रमलाई छोंटकारी 'सुसी' भन्ने गरिन्छ । काठमाडौंबाट थाइल्याण्ड र जापान (नरिता) हुँदै ३६ घण्टाभन्दा लामो झंझटिलो यात्रापछि संयुक्त राज्य अमेरिकाको शिकागो शहर पुगें । म चढेको जहाज शिकागो शहरको 'ओ हेयर अन्तर्राष्ट्रिय विमानास्थलमा अवतरण हुनुभन्दा केही समय अघिदेखि सिट अघिल्तिरका ' मोनिटर' मा विमानास्थलबारे पर्याप्त जानकारी 'डिस्प्ले' भइरहेको थियो । विमानस्थलबाट कुन रुट भएर बाहिरने राष्ट्रिय वा अन्तर्राष्ट्रिय 'कनेक्टिङ फ्लाइट' प्रयोग गर्ने भए कसरी गर्नेलगायतका जानकारीहरु पनि त्यहाँ डिस्प्ले भइरहेका थिए । यसप्रकारका सूचनाहरुले पहिलोपटक त्यहाँ पुगेकाहरुलाई किंकतव्यविमूढ हुनबाट जोगाइरहेको थियो । सही सूचनाले अनिश्चय हटाउँछ भन्ने भनाइ त्यहाँ लागू भइरहेको थियो । यसबाट मलाई भरपूर सूचना मिलिरहेको थियो ।

अरुलाई सहयोग गर्न मन पराउने अमेरिकीहरुको उदार हृदयबाट म अत्यन्तै प्रभावित भएँ । बाटोमा हिंड्दा कोही अल्मलिएको देखेमा 'क्यान आइ हेल्प यू ?' भनेर सघाउन तम्सिनेहरु प्रसस्त भेटिने रहेछन् । आफ्नो कामै छाडेर अरुलाई सघाउन तयार भएको देख्दा उनीहरुको उदारमनाप्रति म नतमस्तक हुन पुगें । आफू अल्मलिएको  बेलामा अरुबाट हार्दिकतापूर्ण सहयोग मिल्दा साह्रै ठूलो गुन लाग्ने रहेछ । ढुँगा खोज्दा देउता मिल्यो भनेजस्तो हुने । यसका अतिरिक्त बाटोमा टाँसिएका 'साइनपोष्ट'हरुले पनि नयाँ मानिसलाई अल्मलिनबाट जोगाउँछ । यस्ता पक्षहरु हाम्रो समाजमा भेटिन गाह्रो छ । यी दृष्टान्तहरुलाई हेर्दा अमेरिकीहरुले 'सूचना संस्कति' लाई राम्रोसंग हुर्काएको अनुभूति हुन्छ ।

हस्पिटलिटी स्विट

शिकागोबाट १ घण्टा लामो उडानपछि ओहियो राज्यको राजधानी कोलम्बसस्थित विमानास्थलमा उत्रिएँ । त्यहाँ स्टडी अफ द युनाइटेड इस्टिच्यूट अन जर्नलिज्म एण्ड मिडिया (सुसी) का निर्देशक तथा प्राडा युसुफ कल्याङगो हाम्रो स्वागातार्थ उपस्थित थिए । उनी ओहाइयो विश्वविद्यालय (इडब्लू स्क्रिप्स स्कुल अफ जर्नलिज्म) का असिस्टेन्ट प्रोफेसर पनि हुन् । केही सहभागीहरु भने अगाडि नै ओहाइयो विश्वविद्यालयको कोर्टयार्ड (निवास) मा पुगिसकेका रहेछन् । म त्यहाँ पुगेको समयको सेरोफेरोमा भारत, युक्रेन, मलेशिया र इन्डोनेशियाका सहभागीहरु आइसकेका रहेछन् । त्यसपछि हामीलाई विमानास्थल नजिकको होटलको सुन्दर कोठामा भेला पार्ने काम भयो । होटलको आकर्षक कोठामा बसाएर किसमिस, फलफूल एवम् पेयपदार्थ खान दिएर हामीलाई स्वागत गरियो । यसप्रकारको परिपाटीलाई उनीहरु 'हस्पिटलिटी स्विट' भन्दारहेछन् ।  विमानास्थलमा 'हस्पिटलिटी स्विट' ग्रहण गरेपछि लगभग तीन घण्टाको कार यात्रा तय गरेर हामी अन्तिम गन्तव्यमा पुग्यौं । हाम्रो अन्तिम गन्तव्य थियो, ओहियो राज्यको एथेन्स जहाँ ओहाइयो विश्वविद्यालय (इडब्लू स्क्रिप्स स्कुल अफ जर्नलिज्म) रहेको छ । यो संस्था म सहभागी भएको कार्यक्रमको 'होस्ट इस्टिच्यूट' थियो । यस कार्यक्रममा नेपाललगायत १७ मुलुकका आमसञ्चार र पत्रकारिता अध्यापन गर्ने व्यक्तिहरुको सहभागिता थियो ।

ओहाइयो विश्वविद्यालयको प्राज्ञिक वातावरण 

ओहाइयो विश्वविद्यालयअर्न्तर्गत रहेको 'इडब्लू स्क्रिप्स स्कुल अफ जर्नलिज्म' मा मेरो धेरैजसो समय बिते । अमेरिकामा पत्रकारिता पढाइ हुने १० उत्कृष्ट कलेजहरुमध्ये एक रहेछ, इडब्लू स्क्रिप्स स्कुल अफ जर्नलिज्म । मैले त्यहाँ नेपालबारे दुइपटक प्रस्तुति गर्ने अवसर पाएँ । ज्ञानको गहिराइ भएका प्राध्यापकहरुको कक्षामा बस्ने मौका पाएँ । कतिपय प्राध्यापकहरुसँग त ' स्काइप' एवम् 'भिडियो कन्फरेन्सिङ ' मार्फत् पनि कुराकानी गर्ने अवसर मिलेको थियो । त्यहाँको प्राज्ञिक वातावरण देखेर निकै लोभिएँ । सुविधासम्पन्न उच्चस्तरको भौतिक संरचना, श्रव्यदृश्य एवम् डिजिटल प्रणालीसहितको अत्याधुनिक पुस्तकालय र ज्ञान प्राप्त गर्न र सिक्न हरदम तयार रहने प्राध्यापक, सहयोगी स्टाफ, खेलकुदको सुविधा आदिका कारणले त्यस विश्वविद्यालयले मलाई लाउनुसम्म मोहनी लगायो । त्यहाँ बसेर लेखपढ एवं विचारविमर्श कुरामा मनै अघाएन ।

ओहाइयो विश्वविद्यालय रहँदा बस्दा इडब्लू स्क्रिप्स स्कुल अफ जर्नलिज्मका थुप्रै प्रोफेसरहरुसँग चिनजान गर्ने र विचार विमर्श गर्ने अवसर पाएँ । त्यहाँ भेटिएका प्राध्यापकहरुमध्ये एक थिए, बिल रिडर । निकै फूर्तिलो ढङ्गमा पढाउने उनको शैलीबाट म निकै प्रभावित थिएँ । उनले मलाई फर्कने बेलामा केही पठनीय पुस्तकहरु दिए । हाम्रो संगतमा आएको अर्को प्राध्यापक थिइन्, अन कुपर चेन । उनले पनि हामीलाई आफ्नै घरमा बोलाएर केही पुस्तकहरु दिइन् ।

आफू रिटायर हुने क्रममा आफूले पढ्दै आएका पुस्तकहरु अरुलाई वितरण गर्ने त अमेरिकी प्रोफेसरहरुको चलनै रहेछ । निवृत्त हुने तरखरमा रहेका एकजना प्राध्यापकले आफ्नो कार्यकक्ष नै खुला गरेर हामीलाई पुस्तक रोजेर लाने मौका दिएका थिए । उनीहरुको यसप्रकारको उदारवादी चलनबाट म पनि लाभान्वित भएँ । अर्थात् डलर तिरेर महंगो किताब किन्न क्षमता नभएको मैले निशुल्क पुस्तक पाएँ ।

अमेरिकालाई 'ल्याण्ड अफ अपरच्युनिटी' पनि भन्ने गरिन्छ । मिहेनती व्यक्तिहरुका लागि यो भनाइ पूरापूर लागू भएको देखिन्छ । यसको एउटा उदाहरण हुन्, युसुफ कल्याङ्गो । उनी अफि्काबाट आएका हुन् । उनी म सहभागी भएको 'सुसी' कार्यक्रमका निर्देशक हुन् । 'इडब्लू स्क्रिप्स स्कुल अफ जर्नलिज्म' मा असिस्टेन्ट प्रोफेसरसमेत रहेका उनी सेन्टर फर इन्टरन्यासनल जर्नलिज्मका निर्देशक समेत छन् । उनले सन् २००८ मा मिजौरी विश्वविद्यालयबाट पीएचडी गरेका रहेछन् । अहिले उनी अमेरिकामै घरबार बसाएर उच्चस्तरको जीवन बिताइरहेका छन् ।

त्यहाँको प्राज्ञिक वातावरण देख्दा मलाई लाग्यो, कुखुरे बैंशमै अमेरिका छिर्न पाएको भए ज्ञान आर्जन गर्ने कुरामा धेरै गर्न सकिने रहेछ ।

गुणस्तरीय सामान र स्वच्छ व्यवहार

त्यहाँका वालमार्टलगागतका ठूला ठूला सपिट कम्प्लेक्समा मानिसहरुको देखिने भीडभाडले सपिङ अमेरिकीहरु जीवनशैलीको एक हिस्सा हो अनुभूति दिन्छ । सरसामानमा कही पनि बार्गेनिङ हुँदो रहेनछ । हरेक सामानमा प्राइस ट्याग टाँसिएको हुँदो रहेछ । खरिद गरिएको सामानको अनिवार्य रुपमा बिल दिइने रहेछ । फर्काउनुपर्ने पैसामा एक सेन्ट (त्यहाँको मुद्राको सबैभन्दा सानो इकाइ) पनि ग्राहकले फिर्ता हुने रहेछ । सामान खरिद गर्दा ग्राहक ठगिने सम्भावना शून्य प्रतिशत हुने रहेछ । बजारमा गुणस्तरहीन सामान राखिंदो रहेनछ । सामानको मूल्य महंगो हुनसक्ने रहेछ, तर त्यो गुणस्तरीय नै हुने रहेछ । सामानको गुणस्तरीयतामा कुनै सम्झौता हुँदो रहेनछ । त्यहाँ पाइने सामानको गुणस्तरबारे एक जना साथीको भनाइ थियो, अमेरिकामा कसै सामानको गुणस्तरीय छ कि छैन भनेर सोध्यो भने उ मूर्ख ठहरिन्छ । किनभने त्यहाँ सबै सामान गुणस्तरीय हुन्छन् । यस्तो हाम्रो देशमा त कहिले होला ?

इतिहास बोल्ने संग्रहालयहरु

कतिपय मानिसहरु भन्ने गर्छन्, पुस्तकले भन्दा संग्रहालयले इतिहास साँचेर राख्छ वा जोगाउँछ । अमेरिकाको विभिन्न संग्रहालयहरु घुमेपछि मलाई यस्तै अनुभूति भयो । अमेरिकामा मैले अफि्रकी अमेरिकीहरुका अधिकार र समग्र नागरिक अधिकारका पक्षमा संघर्ष गर्ने अथक योद्धा मार्टिन लुथर किङ (जुनियर) अमेरिकी र पूर्वराष्ट्रपति जिमी कार्टरसंग सम्बन्धित संग्रहालय र अन्य स्मारकहरु घुम्ने मौका पाएँ । ती स्थानहरमा उनीहरुले प्रयोग गरेका (विभिन्न सन्दर्भ र प्रसंग बुझाउने) सामग्रीहरु त राखिएका छन् नै । त्यसमा पनि 'टचस्क्रिन' सहितका अन्तरक्रियात्मक श्रव्यदृश्य सामग्रीहरु पनि राखिएको पाएँ । त्यहाँ उनीहरुबारे वृत्तचित्र पनि हेर्न पाइने रहेछ । यी र यस्ता कैयन सामग्रीहरुबाट संग्रहालय घुम्न जानेहरुले पूर्वोल्लिखित व्यक्तित्वहरुबारे पर्याप्त जानकारी पाउन सक्ने रहेछ ।

पिट्सवर्गस्थित एक संग्रहालयमा तल्कालनीन समयकी चर्चित अभिनेत्री क्यान्डी डार्लिङद्वारा अभिनित अश्लील भन्न मिल्ने चलचित्रहरु पनि प्रदर्शन भएको पाइयो ।

क्लेभल्याण्डस्थित रक एण्ड रोल हल अफ फेम एण्ड म्युजिक नामक संग्रहालय पूरापूर संगीतसित सम्बन्धित संग्रहालय रहेछ । त्यहाँ पुराना र निकट अतीतका गायकगायिकाहरु जिन्दगी र सांगीतक यात्रा झल्कने सामग्रीहरु राखिएका राखिएका छन् । त्यहाँ उनीहरुका तस्बिर, भिडियो, वाद्ययन्त्र, आदि राखिएका छन् । यतिमात्र होइन, ती कलाकारका गीत रेकर्ड गर्ने क्रममा स्टुडियोमा प्रयोग भएका रेकर्डिङ उपकरण तथा संगीतको कालक्रमगत इतिहास एवम् प्रवृत्ति झल्किने सामग्रीहरु पनि सजाइएको पाइयो । यी सामग्रीहरु देखिसकेपछि नेपालमा पनि यसप्रकारको संग्रहालय बनाउन पाएमा वर्तमानमा गुमनाम बन्न पुगेका पुराना संगीतकर्मीहरुप्रति वास्तविक रुपमा श्रद्धाभाव व्यक्त गरेको ठहरिन्थ्यो भन्ने लाग्यो । यहाँनेर उल्लेख गर्नलायक एउटा पक्ष के पाएँ भने हरेक संग्रहालयमा अनिवार्य रुपमा बिक्री राखिएको हुने रहेछ । शायद, यसले अमेरिकाको पूँजीवादी चरित्रको एउटा नमूना प्रदर्शन गरिरहेको छ ।

प्राध्यापकहरुको भेला र मिडियाको मेला

मेरो छ हप्ता लामो अमेरिका बसाइको अन्तिम हप्ता सेन्ट लुइसमा आयोजित मिडियाका प्राध्यापकहरुको भेलामा सहभागी हुने मौका पाएँ । असोसिएसन फर एजुकेसन इन जर्नलिज्म एण्ड मास कम्युनिकेशन (एइजेएमसी) नामक यो संस्था सन् १९१२ मा स्थापना भएको रहेछ । तर यसको शुरुको नाम बेग्लै थियो । यसको सयौं वार्षिकोत्सव आगामी सन् २०१२ मा शिकागो शहरमा मनाइँदैछ । मैले यस संस्थाको सदस्यसमेत बन्ने मौका पाएँ । यसपटकको भेलामा अमेरिका र संसारका अन्य भागमा आमसंचार र पत्रकारिता अध्यापनरत प्राध्यापकहरुको सहभागिता थियो । भेलामा मिडिया र टिचिङ पेडागोजीका विविध आयाम र पाटाहरुलाई समेटेर अनुसन्धानपत्र प्रस्तुत गरिएका थिए । उनीहरुको अनुसन्धान पद्धति र प्रस्तुति शैलीबाट धेरै कुरा सिक्ने मौका पाएँ । त्यहाँ सिकेका एवम् देखेभोगेका कुराहरुलाई व्यवहारमा उतार्ने प्रयास गर्दैछु ।

त्यस भेलामा सेज पव्लिकेसनजस्ता चर्चित प्रकाशन संस्था, विश्वविद्यालयलगायतका मिडियासम्बन्धी विविध प्रकारका संस्था एवम् सञ्चार परामर्शदाताहरुको ठूलो जमघट थियो । त्यहाँ नेपालमा बसेका काम गरिसकेका र नेपाली भाषासमेत बोल्न सक्ने अमेरिकीहरुसंग पनि भेटघाट गर्ने मौका पाएँ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुको खरेडी

अमेरिका एक हिसावले अत्यन्त उदार र लोकतान्त्रिक मुलुक मानिन्छ । यहाँ सबै विचार, भाषा, परम्परा र संस्कतिको सहअस्तित्व स्वीकारिन्छ भन्ने  मान्यता छ । यहाँ युरोपेली, एशियाली, अफि्रकी एवम् दक्षिण अमेरिकी मुलुकहरुबाट आएका मानिसहरुको साझा थलो मानिन्छ । त्यसैले अमेरिकी समाज निकै विविधतापूर्ण मानिन्छ । यति हुँदाहुँदै पनि एउटा पक्षचाहिं मेरो मनमा नराम्ररी खट्कियो । त्यहाँ सञ्चारमाध्यमको विविधता भने पाइएन । अर्थात् त्यहाँ विदेशी मिडिया आउटलेट (समाचारपत्र, टेलिभिजन, आदि) को अभाव देखियो । अमेरिकामा बीबीसीजस्ता टेलिभिजनहरु सजिलै हेर्न नपाइने रहेनछ । मैले त्यहाँ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रुपमा जापानको टेलिभिजन  च्यानल एनएचकेमात्र हेर्ने अवसर पाएँ । त्योवाहेक अरु कुनै पनि अन्तर्राष्ट्रिय सञ्चार (छापा र प्रसारण) माध्यमको उपस्थिति देखिएन । मैले यो कुरा वासिङटनस्थित स्टेट डिपार्टमेन्टका पदाधिकारीहरुसंगको भेटमा पनि जाहेर गरें । अमेरिकाले के कारण अरु देशको मिडिया प्रडक्ट भित्र्याउँदैन ? यसको भरपर्दो उत्तर मैले पाउन सकेको छैन ।

'आइ लाइक योर ह्याट'
अमेरिकीहरु 'एप्रिसिएटिभ इन्क्वाइवरी' मा विश्वास गर्छन् । उनीहरु अरुको प्रशंसाबाट कुरा शुरु गर्न रुचाउँछन् । म पनि प्रशंसाको पात्र बनें । प्रसंग पिट्सवर्गबाट शुरु हुन्छ । हामी पिट्सवर्ग पुग्दा त्यहाँको मौसम निकै गर्मी थियो । स्थानीय टेलिभिजन च्यानलहरुले हिट एडभिजरी जारी गरिरहेका थिए । बाहिर हिंडदा घामबाट बच्नको लागि सन् ह्याट किनेको थिएँ । त्यसमा पिट्र्सवर्ग लेखिएको थियो । मैले त्यस ह्याट लाएको देखेर हाम्रो टोली नेता बनेर गएकी प्रोफेसर मेरी रोगसले भनिन्, 'आइ लाइक योर ह्याट ।' गाडीमा चढ्ने बेलामा हाम्रो ड्राइभर बनेकी पीएचडी विद्यार्थी सली यानले पनि सोही वाक्य दोहोर्‍याइन् ।

सेन्ट लुइसस्थित एक टेलिभिजन च्यानलका कार्यक्रम निर्माताले पनि त्यसै भने । अरु थुप्रै अमेरिकीहरुले मेरो हयाट राम्रो लागेको बताए । हुँदाहुँदा वासिङटन डीसीबाट जापान आउने बेलामा युनाइटेड एयरलाइन्स नामक अमेरिकी वायुसेवा कम्पनीकी एकजना एयर होस्टेजले पनि मेरो ह्याट मन परेको बताइन्  । उनले भनिन्, 'आइ लाइक योर ह्याट । आइ एम फ्रोम पिट्सवर्ग ।'

सकारात्मक सोंच

सापेक्षिक रुपमा मेरो छोंटो बसाइ र सीमित राज्य (स्टेट) हरुको भ्रमणले मैले अमेरिकालाई आँखीझ्यालबाट चियाएजस्तो मात्र लाग्छ । मैले अमेरिकाका धेरै कुराहरु देख्न र भोग्न बाँकी नै छ । तर आँखीझ्यालबाट अमेरिकी समाजलाई मैले जे जति चियाउन सकें, ती सबैजसो कुराहरु अनुशरण गर्नयोग्य पाएँ । खासगरी अरुको बारेमा अनावश्यक टीकाटिप्पणी नगर्ने र सकारात्मक सोंच राख्ने अमेरिकीहरुको बानी निकै प्रशंसनीय र अनुकरणीय लाग्यो । अमेरिकाले गरेको चमत्कारपूर्ण प्रगतिका पछाडि यी कुराहरु पनि छन् जस्तो मलाई लाग्छ ।

छ हप्ता लामो अमेरिका बसाइमा पत्रकारिता र मिडियाका विविध आयामहरुबारे थप अध्ययन गर्ने अवसर मिल्यो । यसका अतिरिक्त अमेरिकी उच्च शिक्षा प्रणाली, आमसञ्चार प्रणाली र एवम् अमेरिकी समाज, जीवनशैली र सँस्कृतिसित केही हदसम्म परिचित बन्ने अवसर पनि मिल्यो । साथसाथै आमसञ्चार एवम् पत्रकारिताको विविध पक्षबारे अध्ययन गर्ने; सीएनएन, भ्वाइस अफ अमेरिकाजस्ता अमेरिकी मिडियाहरुको मुख्यालय भ्रमण गर्ने, विभिन्न ऐतिहासिक तथा साँस्कृतिक महत्वका स्थल घुमघाम गर्नेजस्ता अवसरहरु प्राप्त भए । मलाई प्राप्त भएका यी अवसरहरुले अमेरिकाप्रतिको मेरो दृष्टिकोणलाई बदल्न सघायो । यसका अतिरिक्त संसारको सबैभन्दा शक्तिशाली मानिएको देशबारेको मेरो बुझाइको क्षितिजलाई फराकिलो पार्न पनि मद्दत गर्‍यो । समग्रमा भन्दा, संसारको सबैभन्दा वैभवशाली मानिएको देशको चर्को उन्नति र घरबारविहीनहरुको समस्यालगायतका सामाजिक जटिलताहरुलाई पनि नजिकबाट नियाल्ने मौका मिल्यो ।

[साभार : नेपाली पोष्ट   (सेप्टेम्बर १७, २०११) । यसको परिमार्जित संस्करण जनपहुँच  मासिक (वर्ष ३ अंक २ भदौ-असोज २०६८)  मा पनि प्रकाशित । ]


[अद्यावधिक :  २०६८।०६।२७, २०६९०२३०, २०६९।०८।०७, २०७०।०२।२९]