Sunday, November 5, 2017

रैथाने धुनको आरोह-अवरोह

–यमबहादुर दुरा

नेपालको मूलधारको सङ्गीतभन्दा बाहिर पनि एउटा अर्को साङ्गीतिक दुनियाँ छ, जुन धेरैले ख्याल नगरेको विषय हुनसक्छ । देशका विभिन्न समुदायले जीवनशैलीकै रूपमा हुर्काउँदै–कख्याउँदै आएका सोरठी, घाँटु, सेर्गाजस्ता साङ्गीतिक परम्परा यसका दृष्टान्त हुन् । ‘स्याटलाइट संस्कृति’ को चमकधमकले यस्ता रैथाने साङ्गीतिक परम्परा दिनानु दिन बेखबर बन्दै गएको अनुभव गरिएकै विषय हो ।

अपहेलित अवस्थामा रहेका यस्ता साङ्गीतिक वैभवबारे स्वदेशीजनलाई उतिसारो चासो नभए पनि विदेशीको भने आँखा पर्ने गरेको छ गम्भीर चासो देखाएका छन् । फिनल्याण्डको ‘युनिभर्सिटी अफ द आर्टस् हेल्सिन्की’ अन्तरगत रहेको ‘साइबेलियस अक्याडमी’ का ‘इथ्नोम्युजिकोलजी’ सम्बन्धी लेक्चरर (अहिले प्राध्यापक) पिर्को मोइजालाले गुरुङ समुदायमा प्रचलित सङ्गीतबारे गरेको अध्ययनलाई यसको एउटा उदाहरणको रूपमा लिन सकिन्छ ।

मोइजालाले लमजुङको गिलुङ गाउँका गुरुङ समुदायमा प्रचलित सङ्गीतबारे विशद अध्ययन गरिन् । अध्ययनको विषय थियो, गुरुङ समुदायमा प्रचलित सङ्गीतको निरन्तरता र परिवर्तन । यही सिलसिलामा उनले सन् १९७५ लमजुङको गिलुङ गाउँको पहिलोपटक भ्रमण गरिन् ।

त्यसको लगत्तैपछि सन् १९७६ मा पनि गिलुङ पुगिन् । पहिलो भ्रमणको १० वर्षपछि १९८५ मा फेरि त्यही गाउँमा पुगेर त्यहाँको सङ्गीतिक परम्पराको पुनरावलोकन गरिन् । अन्त्यमा सन् १९९० मा गिलुङ गाउँमा झुल्किइन् र अध्ययन–अनुष्ठानलाई बिट मारिन् ।

पटक पटकको  भ्रमण, स्थानीय समुदायसँगको छलफल र स्थलगत अवलोकनपछि उनले सन् १९९१ गहकिलो शीर्षकमा शोधग्रन्थ प्रकाशन गरिन् । शोधग्रन्थको शीर्षक थियो,  ‘कल्चर कग्निसन इन म्युजिक : कन्टिन्युइटी एण्ड चेञ्ज इन द गुरुङ म्युजिक अफ नेपाल’ । उनले नेपाल र फिनल्याण्डका प्राज्ञिक जर्नलमा यसबारे अनुसन्धानात्मक लेखहरू लेखिसकेकी छिन् ।

मोइजालाको शोधग्रन्थ प्रकाशन भएको २६ वर्षपछि टंक प्रसाद गुरुङले सोही कृतिलाई नेपालीमा अनुवाद गरेका छन्, ‘ग्रामीण गुरुङ साङ्गीतको इथ्नोग्राफिक अध्ययनः निरन्तरता र परिवर्तन’ शीर्षक दिएर ।

मोइजालाले आफ्नो शोधग्रन्थ मूलतः घाँटु, सोरठी, कृष्णचरित्र, झाँक्रीपन्थ, सेर्गा (मृत्युसंस्कारसँग सम्बन्धित सङ्गीत) बारे अवलोकन र विश्लेषण पेश गरेकी छिन् । पछिल्लो समयमा गाउँमा भित्रिएको पपुलर सङ्गीत (थेटर) बारे पनि चर्चा गरेकी छिन् । समग्रमा भन्दा शोधग्रन्थमा गुरुङ समुदायमा प्रचलित परम्परागत साङ्गीतिक परिपाटीको बेलिबिस्तार लगाइएको छ ।

मोइजालाले रोदीलाई गुरुङ समुदायको अभिन्न अङ्गको रूपमा चित्रण गरेकी छिन् । रोदीले गुरुङ समुदायको आधारभूत सामाजिक तथा सांस्कृतिक मूल्य–मान्यता विस्तारमा खेलेको भूमिकाबारे दिलचस्पी ढङ्गमा वर्णन गरेकी छिन् । रोदीघरलाई सङ्गीतिक गतिविधिको महत्वपूर्ण केन्द्र मान्ने उनले रोदीघरको सामाजिक परिवेश पनि अवलोकन गरेकी छिन् ।

उनले विवाहित चेली सामान्यता रोदीमा जाने चलन नभए पनि छोराहरूचहिँ विवाहपछि पनि रा्ेदी बस्न जाने प्रचलन रहेको उल्लेख गरेकी छिन् । उनले रोदीमा सामेल नहुने चेलीलाई एकलकाँटे छोरीको रूपमा बुझ्ने सामाजिक मनोविज्ञानबारे पनि प्रकाश पारेकी छिन् ।

मोइजालाले गिलुङको साङ्गीतिक परिवेशमा १० वर्षका अन्तराल (सन् १९७५ देखि १९८५) मा देखापरेको हेरफेरबारे रोचक वर्णन गरेकी छिन् । सन् १९७५ मा त्यहाँको साङ्गीतिक वातावरण नितान्त प्राकृतिक रहेको चर्चा गरेकी छिन् । त्यस समयमा गाउँको साङ्गीतिक माहोल ढिकी–जाँतोको आवाज, वनपात–मेलापातमा युवायुवतीले उरालेका भाका, बाँसुरी धुन, रोदीघरमा गुञ्जिएका गीतजस्ता प्राकृतिक गुञ्जनबाट भरिएको प्रसंग कोट्याएकी छिन् ।

सन् १८८५ मा गिलुङ गाउँमा पुग्दा त्यहाँको साङ्गीतिक वातावरणमा भिन्नता आइसकेको उनले पाइन् । गाउँमा टेपरेकर्डरको आवाज, रेडियोको गीत, थेटर आदिले बाक्लै प्रवेश पाएको उनले शोधग्रन्थमा लेखिकी छिन् । उनले सन् १९७६ मा अवलोकन गरेको लम्बेतान घाँटु–गीत सन् १९८५ मा पुग्दा  धेरै छरितो भएको पनि उनले पाइन् । उनको सूक्ष्म अवलोकनले रैथाने सङ्गीत आधुनिकताबाट कसरी संक्रमित हुँदैछ भन्ने दृष्टान्त पेश गर्छ ।

मोइजालाले त्यहाँका जनसमुदायको सार्वजनिक व्यवहारमा आएको बदलाबबारे पनि अवलोकन गरेकी छिन् । उनले लेखेकी छिन्, ‘बाह्य मानिस र वातावरणसँगको सम्पर्कले प्रभावका कारण गाउँलेहरू अन्तरक्रियामा खुल्ला भएर प्रस्तुत भएको देखेँ ।’ सञ्चारमाध्यम र लाहुरेबाट उनीहरू पश्चिमी संस्कृतिसँग परिचित हुनपुगेको उनको ठहर छ ।

 अंग्रेजी भाषामा रहेको शोधग्रन्थलाई नेपालीमा अनुवाद गरिएकाले यसले नेपाली पाठकलाई राम्रो गुन लगाएको छ । शोधग्रन्थको मर्म र भावनालाई प्रतिविम्बित गर्न पुस्तकले धेरै प्रयास गरेको देखिन्छ । शोधग्रन्थमा प्रयोग गरिएका नोटेसन, ग्राफिक्स तथा तस्बिरहरूलाई अनुदित कृतिमा पनि हुबहु उतारिएको छ ।

तर पनि पुस्तकमा केही उल्लेखनीय कमजोरीहरू छन् । मौलिक शोधग्रन्थमा सन्दर्भ–सामग्री राखिएको भए पनि अनुदित कृतिमा त्यसलाई हटा्इएको छ । सन्दर्भ–सामग्रीले अनुसन्धानको वैधता र विश्वसनीयतालाई बलियो पार्ने भए पनि त्यसलाई अनुदित कृतिमा ख्याल गरिएको छैन ।

लेखकको भनाइलाई छोट्याउने नाममा अनुवादकले महत्वपूर्ण प्रसंगहरू हटाएका छन् । जस्तो कि, मोइजालाले अनुसन्धानका क्रममा बेलायती इथ्नोम्युजिकलजिष्ट जोन ब्ल्याकिङ (सन् १९२८–१९९०) तथा अमेरिकी इथ्नोम्युजिकलजिष्टहरू एलन मेरियम (सन् १९२३–१९८०), ब्रुनो नेटल (जन्मः सन् १९३०) आदिसँगको सहकार्यका प्रसंगलाई स्थान दिइएको छैन, जुन पाठकका लागि रोचक विषय हुनसक्थ्यो ।

अनुवादकले कतिपय ठाउँमा भावानुवाद गर्नुपर्नेमा शब्दानुवाद गर्दा शब्दार्थ र वाक्य गठन अप्राकृतिक बन्न पुगेको देखिन्छ । शुद्धाशुद्धिका दृष्टिले पुस्तकमा सुधानुपर्ने थुप्रै ठाउँ छन् । कही कही वाक्य लामो र भद्दा हुन पुगेको देखिन्छ । पुस्तक पढ्दै जाँदा कतिपय ठाउँमा वाक्य गठन छरितो भइदिएको भए राम्रो हुने थियो भन्ने पाठकलाई लाग्न सक्छ ।

पुस्तकमा तथ्यगत त्रुटि पनि भेटिएको छ । घाँटुको नायिका (रानी) को नाम कहीँ पम्फावती भनिएको छ भने कहीँ यमावती । यी कमजोरीहरूले पुस्तकको महत्व र गरिमालाई कम आँक्न मिल्दैन । नेपालको परम्परागत साङ्गीतबारे सोधखोज गर्न चाहनेहरूका लागि गतिलो सन्दर्भ सामग्री बन्नेमा शंका छैन ।

कृतिः ग्रामीण गुरुङ साङ्गीतको इथ्नोग्राफिक अध्ययनः निरन्तरता र परिवर्तन
लेखकः पिर्को माइेजाला
अनुवादकः टंकप्रसाद गुरुङ
प्रकाशकः रत्न पुस्तक भण्डार
संस्करण : २०७४ (सन् २०१७)
पृष्ठः २४२ं+५

 [साभारः हिमाल (कात्तिक १९-२५, २०७४) । सामान्य परिमार्जनसहित ।]


No comments:

Post a Comment