Showing posts with label Book review. Show all posts
Showing posts with label Book review. Show all posts

Saturday, January 13, 2018

थारू साहित्यको अब्बल अनुसन्धान

–यमबहादुर दुरा

कुनै समयमा तराईमा औलोलाई भयानक स्वास्थ्यसम्बन्धी समस्याको रूपमा लिइन्थ्यो । पहाडका मनिस तराईमा एक रात बिताउन पनि डराउँथे भनेर विदेशीले लेखकहरूले लेखेका छन् । त्यही समयमा थारू समुदाय तराईमा निर्धक्कसँग बसेका थिए । त्यही सौर्यका कारण थारू समुदाय औलो पचाउने रैथाने जाति भनेर चिनिन्छ  । तर औलो पचाएका थारू समुदायका कतिपय सदस्य यतिबेला ‘सिकल सेल एनिमिया’ नामको असाध्य रोगबाट ग्रसित छन् ।


तराईका रैथाने थारू समुदायले नागरिक अधिकारदेखि स्वास्थ्य–समस्यासम्मका तमाम मामिलामा अनेक उहोपहहरू भोग्दै आएका छन् । यो समुदाय राजनीतिक तथा सामाजिक मामिलाका राप र तापमा तातिने र समयान्तरमा सेलाउने गरिरहेको छ । समयको कोखमा जन्मिएका यी अतीतदेखि वर्तमानसम्मका जनउभारसँग सम्बन्धित उच्छ्वासहरू समयका पानामा छताछुल्ल पोखिएका छन् । तिनै उच्छ्वासहरू थारू साहित्यका रूपमा देखापरेका छन्, जुन धेरै हदसम्म अव्यवस्थित र असंगठित रूपमा छरिएर रहेका छन् ।

भारोपेली भाषा परिवार अन्तर्गत पर्ने थारू भाषा नेपाली, मैथिली र भोजपुरीपछिको चौथो ठूलो जनबोली हो । २०६८ सालको राष्ट्रिय जनगणनाअनुसार नेपालमा थारू समुदायको जनसंख्या १७ साल ३७ हजार ४ सय ७० छ, जुन नेपालको कुल जनसंख्याको ६.६ प्रतिशत हुन आउँछ । थारू जाति पूर्वी तराईदेखि पश्चिम तराईसम्म छरिएर रहेको ठूलो समुदाय  भएकाले थारू भाषामा थुप्रै स्थानीय भेद छन् ।

हरेक १० कोशमा एउटै भाषामा पनि फरकपन भेटिन्छ भन्ने भाषा विज्ञानको मान्यता थारू भाषाको हकम पनि पूरापुर लागू भएको पाइन्छ । नेपाल सरकारले जनगणनाका क्रममा थारू भाषलाई डंगौरा र राना गरी दुई समूहमा विभाजन गरेको छ । थारू भाषामा भेटिने फराकिलो विविधतालाई हेर्दा यो विभाजन तर्कसंगत देखिँदैन । मन्त्रीसमेत रहिसकेका अनुसन्धाता गोपाल दहितले थारू भाषालाई नौ भाषिकामा वर्गीकरण गरेका छन्, जुन एक हदसम्म तर्कसंगत देखिन्छ ।

थारू भाषामा विद्यमान स्थानीयपन र विविधताले मानक निर्धारणका सम्बन्धमा थारू समुदायभित्रै बेलाबखतमा मतभिन्नताहरू देखापर्छन् । धेरै विद्वान्ले थारू समुदायबारे लेख्दा ठाउँपिच्छे भेषभूषा, भाषा र जीवनशैलीे फरक पर्दै गएको जाति भनेर वर्णन गरेका छन् । यो विविधतालाई अर्को कोणबाट हेर्दा थारू भाषामा अन्तरनिहित विविधताले थारू समुदायमा इन्द्रधनुषी सौन्दर्य देख्न सकिन्छ ।

थारू समुदायको पहिचानका यो बहुरङ्गी–बहुरूपी सम्पदाको अभिलेखीकरण आवश्यक छ तर यो काम सहज छैन । यसका लागि प्रसस्त अध्ययन–अनुसन्धान र स्थलगत भ्रमण आवश्यक छ । थारू भाषा–साहित्यका छरिएका थुँगाहरूलाई बटुलेर एउटै मालामा उन्ने प्रयास गरेका छन्, लेखक कृष्णराज सर्वहारीले । उनले ‘थारू साहित्यको इतिहास’ कृतिमार्फत् थारू साहित्यको विगतदेखि वर्तमानसम्मको विकासक्रमलाई लिपिबद्ध गर्ने चेष्टा गरेका छन् ।

कृतिको एउटा सुन्दर पक्ष के हो भने लेखनमा अनुसन्धान विधि अनुशरण गरिएको छ । शोध–पद्धतिअनुसार सूचनाको स्रोत उद्धरण गर्नेदेखि सन्दर्भ–सूची राख्ने काममा लेखकले ध्यान दिएका छन् । यसले उनको अनुसन्धानमुखी प्रवृत्तिको परिचयमात्र दिँदैन, कृतिको आधिकारिकता पनि बढेको छ । समयले अनुसन्धानात्मक कृतिहरूको माग गरिरहेको घडीमा उनले समयको आवाजलाई सुनेको प्रतीत हुन्छ ।

नेपालमा पुस्तक लेखन र प्रकाशनको ग्राफ उत्साहजनक किसिमले उकालो लागे पनि अनुसन्धानात्मक कृतिहरूको ग्राफ तलै छ । विगतमा थारू भाषा र साहित्यका अरू आयामबारे पुस्तक नलेखिएका होइनन् तर थारू साहित्यबारे समष्टिगत अध्ययन गरेर पुस्तक प्रकाशन भएको पाइँदैन । हालसम्म भेटिएका प्रमाणअनुसार थारू साहित्यलाई समग्रमा विश्लेषण गरिएको यो पहिलो अनुसन्धानात्मक कृति हो ।

थारू समुदायमा प्रचलित लोकसाहित्यदेखि साक्षर समाजको परिचायक मानिने ‘पपुलर लिट्रेचर’ सम्मका यावत विषय कृतिमा समेटिएका छन् । लोकगीत, लोककथा, कविता, मुक्तक, हाइकु, महाकाव्य, कथा, उपन्यास, निबन्ध, जीवनी, हास्यव्यङ्ग्य, अनुवाद, चलचित्रजस्ता थारू साहित्यका धेरै आयाम समविष्ट छन् । विषयवस्तुको उठान र कृति लेखनमा अपनाइएका अनुसन्धान पद्धतिले कृतिको महत्व उचो भएको छ ।

लेखकले थारू साहित्यको कालविभाजन गरेका छन् । कालविभाजनसम्बन्धी विभिन्न शास्त्रीय मान्यतामा आधारित भएर थारू साहित्यको कालक्रम निर्धारण गरेका छन् । उनले २००७ साललाई उदगमविन्दु मानेर तीन खण्डमा कालविभाजन गरेका छन् । समयको निकटपूर्व समयलाई प्रस्थान विन्दु मानेर यसप्रकारको कालविभाजनमा सबैले चित्त बुझाउँछन् भन्न सकिँदैन । २००७ सालभन्दा अघि थारू साहित्य शून्यमा थियो भन्न गाह्रो छ । अभिलेख अभेटिनु अलग कुरा हो । यद्यपि, यसबारे लेखकले आफ्नो तर्फबाट स्पष्टीकरण दिइसकेका छन्, ‘थारू भाषाजस्तो लेख्य परम्परा उन्मुख भाषाको कालविभाजन वास्तवै दुरूह कार्य हो’ (पृ. २७) ।

कृष्णराज सर्वहारी आफैं पनि थारू साहित्यका हस्ती हुन् । उनले थारू साहित्यका विभिन्न आयामबारे दजनौं अनुसन्धानात्मक पुस्तक लेखेका छन् । थारू साहित्यबारे थुप्रै ‘मिनिरिसर्च’ गरेका छन् । प्रस्तुत कृति पढ्दै जाँदा ठाउँ ठाउँमा लेखक स्वयंले आफ्ना कृतित्वबारे चर्चा गरेका भेटिन्छन् । यस्तो देख्दा लेखक आत्ममोहमा रमाएका हुन् कि जस्तो पनि लाग्नसक्छ । यद्यपि, थारू साहित्यको अभिलेखीकरणका दृष्टिले यसलाई असहज मान्नुपर्ने कारण छैन ।

लेखकले कृति जन्माउने क्रममा धेरै विषयमा सूक्ष्म किसिमले अनुसन्धान गरेको देखिन्छ । केन्द्रीय विषयवस्तुका अतिरिक्त थारू भाषामा प्रकाशित पुस्तक, स्मारिका र पत्रपत्रिकाको सूचीबाट पुस्तक सजिएको छ । थारू भाषामा प्रसारण हुने रेडियो कार्यक्रम र गीति अल्बम पनि सूचीबद्ध गरिएको छ । थारू पहिचान र वाङ्मयसम्बन्धी महत्वपूर्ण ऐतिहासिक घटनाका सूचीले पनि पुस्तकमा स्थान पाएको छ, जसले कृतिलाई अर्थपूर्ण बन्न सघाएको छ ।

कृतिमा स्याबासी पाउनलायक थुपै विषय भए पनि केही खड्किने पक्ष पनि छन् ।

गहन विश्लेषणको अभाव कृतिको मूल कमजोरी हो । धेरै ठाउँमा साहित्यिक घटनाक्रमको विवरण छ तर धित मरुञ्जेलको विश्लेषण छैन । थारू साहित्यलाई अन्य साहित्यसँग तुलना गर्न सकेको भए धेरै कृति उज्यालिने थियो । मैथिली, भोजपुरी, अवधी, लिम्बूजस्ता केही चुनिन्दा राष्ट्रिय भाषाका साहित्यसँग थारू साहित्यको ग्राफ भिडाएर तुलनात्मक अध्ययनको सानो झलक प्रस्तुत गर्न सकेको भए थारू साहित्यको क्षितिज अरू उघ्रिने थियो, कृति थप दृश्यमय हुने थियो । यो काम अनुसन्धानका दृष्टिले कष्टसाध्य भए पनि यसो गर्न सकेको भए पाठकले देशको साहित्यिक नक्शामा थारू साहित्यको अवस्थिति थाहा पाउने थिए ।

थारू साहित्यकारका रचनामा भेटिने रैथानेपन, ‘एक भाषा एक भेष’ को पञ्चयातकालीन नीतिबाट थारू साहित्यमा परेको प्रभाव, थारू साहित्यमा सांस्कृतिक संक्रमण (अकल्चरेशन) को असर, थारू साहित्यमा ‘पपुलर लिट्रेचर’ को संक्रमणजस्ता विषयमा व्यापक विचार–विमर्श हुन जरुरी थियो । यस्ता विषयलाई जरैबाट उधिन्न नसके पनि छेउछाउबाट भए पनि उधिन्नुपर्‍थ्यो । यसमा लेखक धेरै हदसम्म चुकेका छन् ।

कृति लेखनमा अनुसन्धान–पद्धतिलाई शिरोपर गरे पनि उद्धरण गरिएका कतिपय सूचनाको स्रोत सन्दर्भ–सूचीमा फेला पर्दैनन् । पुस्तक सम्पादन र डिजाइनका दृष्टिले पनि कृतिमा बिझाउने किसिमका कमजोरी देखिन्छन् । कृतिमा दिइएको अनुसूचीलाई अझ व्यवस्थित किसिमले राख्न सकिने ठाउँ छ । भाषिक अशुद्धिले कतिपय ठाउँमा दाँतमा ढुङ्गा लागेजस्तो अनुभूति हुन्छ ।

यति हुँदाहुँदै पनि कृष्णराज सर्वहारीले थारू साहित्यको अभिलेखीकरणमा उठाएको कष्टलाई प्रशंसा गर्नैपर्छ । यहाँनेर, अमेरिकी विकास मनोविश्लेषक इरिक इरिक्सन (सन् १९०२–१९९४) को भनाइ उद्धरणीय हुन आउँछ । उनले भनेका छन्, ‘मानव अस्तित्वको सामाजिक जङ्गलमा पहिचानको अनुभूति नहुने हो भने बाँच्नुको कुनै सार हुन्न ।’

लेखकले कृतिमार्फत् थारू साहित्यको पहिचान र आफ्नो अस्तित्वको अनुभूति गराएका छन् । कृतिले बहुसांस्कृतिक नेपालको बृहत्तर राष्ट्रिय पहिचानमा पनि योगदान दिएको छ । प्रस्तुत कृतिलाई नेपाली साहित्य र संस्कृतिको खोज–अनुसन्धानमा एउटा फराकिलो प्रवेशद्वार मान्न सकिन्छ, जहाँबाट छिरेर भविष्यका जनकलाल  शर्मा र डोरबहादुर विष्टहरूले विविधतापूर्ण नेपाली समाजसम्बन्धी माधुर्यपूर्ण कोसेली भेट्टाउन सफल हुनेछन् भन्ने आशा गर्न सकिन्छ ।

[साभार: अन्नपूर्ण पोष्ट 'फुर्सद' । पुस २९, २०७४ ।]

Sunday, November 5, 2017

रैथाने धुनको आरोह-अवरोह

–यमबहादुर दुरा

नेपालको मूलधारको सङ्गीतभन्दा बाहिर पनि एउटा अर्को साङ्गीतिक दुनियाँ छ, जुन धेरैले ख्याल नगरेको विषय हुनसक्छ । देशका विभिन्न समुदायले जीवनशैलीकै रूपमा हुर्काउँदै–कख्याउँदै आएका सोरठी, घाँटु, सेर्गाजस्ता साङ्गीतिक परम्परा यसका दृष्टान्त हुन् । ‘स्याटलाइट संस्कृति’ को चमकधमकले यस्ता रैथाने साङ्गीतिक परम्परा दिनानु दिन बेखबर बन्दै गएको अनुभव गरिएकै विषय हो ।

अपहेलित अवस्थामा रहेका यस्ता साङ्गीतिक वैभवबारे स्वदेशीजनलाई उतिसारो चासो नभए पनि विदेशीको भने आँखा पर्ने गरेको छ गम्भीर चासो देखाएका छन् । फिनल्याण्डको ‘युनिभर्सिटी अफ द आर्टस् हेल्सिन्की’ अन्तरगत रहेको ‘साइबेलियस अक्याडमी’ का ‘इथ्नोम्युजिकोलजी’ सम्बन्धी लेक्चरर (अहिले प्राध्यापक) पिर्को मोइजालाले गुरुङ समुदायमा प्रचलित सङ्गीतबारे गरेको अध्ययनलाई यसको एउटा उदाहरणको रूपमा लिन सकिन्छ ।

मोइजालाले लमजुङको गिलुङ गाउँका गुरुङ समुदायमा प्रचलित सङ्गीतबारे विशद अध्ययन गरिन् । अध्ययनको विषय थियो, गुरुङ समुदायमा प्रचलित सङ्गीतको निरन्तरता र परिवर्तन । यही सिलसिलामा उनले सन् १९७५ लमजुङको गिलुङ गाउँको पहिलोपटक भ्रमण गरिन् ।

त्यसको लगत्तैपछि सन् १९७६ मा पनि गिलुङ पुगिन् । पहिलो भ्रमणको १० वर्षपछि १९८५ मा फेरि त्यही गाउँमा पुगेर त्यहाँको सङ्गीतिक परम्पराको पुनरावलोकन गरिन् । अन्त्यमा सन् १९९० मा गिलुङ गाउँमा झुल्किइन् र अध्ययन–अनुष्ठानलाई बिट मारिन् ।

पटक पटकको  भ्रमण, स्थानीय समुदायसँगको छलफल र स्थलगत अवलोकनपछि उनले सन् १९९१ गहकिलो शीर्षकमा शोधग्रन्थ प्रकाशन गरिन् । शोधग्रन्थको शीर्षक थियो,  ‘कल्चर कग्निसन इन म्युजिक : कन्टिन्युइटी एण्ड चेञ्ज इन द गुरुङ म्युजिक अफ नेपाल’ । उनले नेपाल र फिनल्याण्डका प्राज्ञिक जर्नलमा यसबारे अनुसन्धानात्मक लेखहरू लेखिसकेकी छिन् ।

मोइजालाको शोधग्रन्थ प्रकाशन भएको २६ वर्षपछि टंक प्रसाद गुरुङले सोही कृतिलाई नेपालीमा अनुवाद गरेका छन्, ‘ग्रामीण गुरुङ साङ्गीतको इथ्नोग्राफिक अध्ययनः निरन्तरता र परिवर्तन’ शीर्षक दिएर ।

मोइजालाले आफ्नो शोधग्रन्थ मूलतः घाँटु, सोरठी, कृष्णचरित्र, झाँक्रीपन्थ, सेर्गा (मृत्युसंस्कारसँग सम्बन्धित सङ्गीत) बारे अवलोकन र विश्लेषण पेश गरेकी छिन् । पछिल्लो समयमा गाउँमा भित्रिएको पपुलर सङ्गीत (थेटर) बारे पनि चर्चा गरेकी छिन् । समग्रमा भन्दा शोधग्रन्थमा गुरुङ समुदायमा प्रचलित परम्परागत साङ्गीतिक परिपाटीको बेलिबिस्तार लगाइएको छ ।

मोइजालाले रोदीलाई गुरुङ समुदायको अभिन्न अङ्गको रूपमा चित्रण गरेकी छिन् । रोदीले गुरुङ समुदायको आधारभूत सामाजिक तथा सांस्कृतिक मूल्य–मान्यता विस्तारमा खेलेको भूमिकाबारे दिलचस्पी ढङ्गमा वर्णन गरेकी छिन् । रोदीघरलाई सङ्गीतिक गतिविधिको महत्वपूर्ण केन्द्र मान्ने उनले रोदीघरको सामाजिक परिवेश पनि अवलोकन गरेकी छिन् ।

उनले विवाहित चेली सामान्यता रोदीमा जाने चलन नभए पनि छोराहरूचहिँ विवाहपछि पनि रा्ेदी बस्न जाने प्रचलन रहेको उल्लेख गरेकी छिन् । उनले रोदीमा सामेल नहुने चेलीलाई एकलकाँटे छोरीको रूपमा बुझ्ने सामाजिक मनोविज्ञानबारे पनि प्रकाश पारेकी छिन् ।

मोइजालाले गिलुङको साङ्गीतिक परिवेशमा १० वर्षका अन्तराल (सन् १९७५ देखि १९८५) मा देखापरेको हेरफेरबारे रोचक वर्णन गरेकी छिन् । सन् १९७५ मा त्यहाँको साङ्गीतिक वातावरण नितान्त प्राकृतिक रहेको चर्चा गरेकी छिन् । त्यस समयमा गाउँको साङ्गीतिक माहोल ढिकी–जाँतोको आवाज, वनपात–मेलापातमा युवायुवतीले उरालेका भाका, बाँसुरी धुन, रोदीघरमा गुञ्जिएका गीतजस्ता प्राकृतिक गुञ्जनबाट भरिएको प्रसंग कोट्याएकी छिन् ।

सन् १८८५ मा गिलुङ गाउँमा पुग्दा त्यहाँको साङ्गीतिक वातावरणमा भिन्नता आइसकेको उनले पाइन् । गाउँमा टेपरेकर्डरको आवाज, रेडियोको गीत, थेटर आदिले बाक्लै प्रवेश पाएको उनले शोधग्रन्थमा लेखिकी छिन् । उनले सन् १९७६ मा अवलोकन गरेको लम्बेतान घाँटु–गीत सन् १९८५ मा पुग्दा  धेरै छरितो भएको पनि उनले पाइन् । उनको सूक्ष्म अवलोकनले रैथाने सङ्गीत आधुनिकताबाट कसरी संक्रमित हुँदैछ भन्ने दृष्टान्त पेश गर्छ ।

मोइजालाले त्यहाँका जनसमुदायको सार्वजनिक व्यवहारमा आएको बदलाबबारे पनि अवलोकन गरेकी छिन् । उनले लेखेकी छिन्, ‘बाह्य मानिस र वातावरणसँगको सम्पर्कले प्रभावका कारण गाउँलेहरू अन्तरक्रियामा खुल्ला भएर प्रस्तुत भएको देखेँ ।’ सञ्चारमाध्यम र लाहुरेबाट उनीहरू पश्चिमी संस्कृतिसँग परिचित हुनपुगेको उनको ठहर छ ।

 अंग्रेजी भाषामा रहेको शोधग्रन्थलाई नेपालीमा अनुवाद गरिएकाले यसले नेपाली पाठकलाई राम्रो गुन लगाएको छ । शोधग्रन्थको मर्म र भावनालाई प्रतिविम्बित गर्न पुस्तकले धेरै प्रयास गरेको देखिन्छ । शोधग्रन्थमा प्रयोग गरिएका नोटेसन, ग्राफिक्स तथा तस्बिरहरूलाई अनुदित कृतिमा पनि हुबहु उतारिएको छ ।

तर पनि पुस्तकमा केही उल्लेखनीय कमजोरीहरू छन् । मौलिक शोधग्रन्थमा सन्दर्भ–सामग्री राखिएको भए पनि अनुदित कृतिमा त्यसलाई हटा्इएको छ । सन्दर्भ–सामग्रीले अनुसन्धानको वैधता र विश्वसनीयतालाई बलियो पार्ने भए पनि त्यसलाई अनुदित कृतिमा ख्याल गरिएको छैन ।

लेखकको भनाइलाई छोट्याउने नाममा अनुवादकले महत्वपूर्ण प्रसंगहरू हटाएका छन् । जस्तो कि, मोइजालाले अनुसन्धानका क्रममा बेलायती इथ्नोम्युजिकलजिष्ट जोन ब्ल्याकिङ (सन् १९२८–१९९०) तथा अमेरिकी इथ्नोम्युजिकलजिष्टहरू एलन मेरियम (सन् १९२३–१९८०), ब्रुनो नेटल (जन्मः सन् १९३०) आदिसँगको सहकार्यका प्रसंगलाई स्थान दिइएको छैन, जुन पाठकका लागि रोचक विषय हुनसक्थ्यो ।

अनुवादकले कतिपय ठाउँमा भावानुवाद गर्नुपर्नेमा शब्दानुवाद गर्दा शब्दार्थ र वाक्य गठन अप्राकृतिक बन्न पुगेको देखिन्छ । शुद्धाशुद्धिका दृष्टिले पुस्तकमा सुधानुपर्ने थुप्रै ठाउँ छन् । कही कही वाक्य लामो र भद्दा हुन पुगेको देखिन्छ । पुस्तक पढ्दै जाँदा कतिपय ठाउँमा वाक्य गठन छरितो भइदिएको भए राम्रो हुने थियो भन्ने पाठकलाई लाग्न सक्छ ।

पुस्तकमा तथ्यगत त्रुटि पनि भेटिएको छ । घाँटुको नायिका (रानी) को नाम कहीँ पम्फावती भनिएको छ भने कहीँ यमावती । यी कमजोरीहरूले पुस्तकको महत्व र गरिमालाई कम आँक्न मिल्दैन । नेपालको परम्परागत साङ्गीतबारे सोधखोज गर्न चाहनेहरूका लागि गतिलो सन्दर्भ सामग्री बन्नेमा शंका छैन ।

कृतिः ग्रामीण गुरुङ साङ्गीतको इथ्नोग्राफिक अध्ययनः निरन्तरता र परिवर्तन
लेखकः पिर्को माइेजाला
अनुवादकः टंकप्रसाद गुरुङ
प्रकाशकः रत्न पुस्तक भण्डार
संस्करण : २०७४ (सन् २०१७)
पृष्ठः २४२ं+५

 [साभारः हिमाल (कात्तिक १९-२५, २०७४) । सामान्य परिमार्जनसहित ।]