-यमबहादुर दुरा
पाल्पाको विकट गाउँ । मगर समुदायको बाहुल्य भएको बस्ती । चाडपर्वमा रातभरि रामरसी चल्थ्यो । गाउँमा मादल घन्कन्थ्यो । गाउँमा गुञ्जिएको लोकभाकाले मन लोभ्याउँथ्यो । गीतमा चुम्बकीय आकर्षण हुन्थ्यो ।
त्यहाँको बृहत् साङ्गीतिक माहोलले कसैको जीवनमा कमलकोटीको भूमिका खेल्यो । उनी पत्तै नपाई साङ्गीत अनुरागी बने । जान्नेबुझने हुन थालेदेखि नै उनको मनमस्तिष्कमा लोकसङ्गीतको झङ्कारले राज गर्न थाल्यो ।
यसरी नै साङ्गीतिक परागसेचन भयो, नेपाली लोकगीतको धरोहर नारायण रायमाझीको दिल–दिमागमा । रायमाझीको सङ्गीतकर्मले नेपालका मौलिक लोकभाकाहरूले लोकजीवनको फराकिलो घेरासम्म विस्तारित हुने मौका पाएको छ । उनले जनमनमा न्यानो ठाउँ पाएका छन् ।
मगर बस्तीको सङ्गीतमय परिवेश । घरमा आमाको मनमुग्घकारी स्वर । रेडियो घन्कने कतिपय मौलिक लोकभाकाहरू । यी सबै योगदानकारी तत्वको गठजोडमा उनीभित्र साङ्गीतिक भोग जाग्दै गयो । लोकगीतप्रतिको रुचि ज्यामितीय दरमा बढ्दै गयो ।
उनी सानैदेखि मौलिक बाजागाजाहरू बजाउन र सङ्ग्रह गर्नमा रुचि राख्थे । उनी हरप्रकारका बाजागाजामा ताल दिन पारङ्गत छन् । मौरी बाजा, मुर्चुङ्गा, मादललगायतका बाजा बजाउन उनको हात रोकिँदैन । सारङ्गीवादनमा उनको विशेष दख्खल छ ।
गन्धर्वइतर समाजमा जन्मेर पनि उनी कसरी सारङ्गीवादनमा पारङ्गत बने ? धेरैको मनमा यही प्रश्न उब्जन्छ । यसको पनि एउटा बेग्लै किस्सा छ । उनलाई सारङ्गी बिछट्टै मन पर्थ्यो । गाउँमा गन्धर्व दाजुभाइ आउँथे । उनी गाउँभरि गन्धर्व दाजुभाइको पछि पछि हिँड्ने, सारङ्गीको धुन सुन्न ।
यस्तैमा गाउँमा एकजना दाइले सारङ्गी बनाइदिए । त्यसमा उनको स्वामित्व कायम भयो । त्यसपछि बिनामेसो सारङ्गी बजाउन थाले । विद्यालय वा मेलपातमा छँदा उनलाई सारङ्गीकै झल्को आउँथ्यो । सारङ्गीवादनको लतले उनी ग्रस्त थिए ।
कतिबेला सारङ्गी बजाऊँ भन्ने उनलाई लाग्थ्यो । घरमा सारङ्गी भित्रिएपछि उनको दिनचर्या केटाकेटीले चराको गुण देखेजस्तै भयो । जतिबेला पनि सारङ्गी हेर्न र छुन चाहने ।
उनका लागि सारङ्गी बजाउन सिक्ने काम गुरुविनाको ज्ञान थियो । वर्षौंको एकल मिहेनतले उनी सारङ्गीमा पारङ्गत भए । ‘घन घोटी बन्चरो’ भने जस्तो । उनको सफलताको राज अरू केही नभएर प्रबल इच्छाशक्तिको करामत थियो ।
गाउँघरको साङ्गीतिक वातावरणमा उनी विस्तारै भिज्दै गएका थिए । रेडियोमा नेपालमा पुगेर गीत गाउने उनको अर्को ठूलो सपना थियो । तर, यो सपना सजिलै पूरा हुने खालको थिएन । दुर्गम गाउँका एउटा ठिटोले चिन्नु न जान्नुसँग रेडियो नेपाल ताक्नु एउटा ठूलै दुस्साहस थियो ।
रेडियोमा बाजागाजासहित मान्छे कसरी अटे होलान् भन्ने सोचाइ राख्ने गाउँले केटोले रेडियो स्टेसनमै पुगेर गीत गाउनु त्यो समयमा सामान्य कुरै थिएन । त्यहाँ गीत गाउन पाइन्छ वा पाइन्न भन्ने पनि उनलाई थाहा थिएन ।
थुप्रै प्रतिकूलता सहेर उनी पाल्पाको झडेवाबाट दश धामा गरेर राजधानी भित्रिए । अन्ततः रेडियो नेपालमा पुगेर गीत गाएरै छाडे । यहाँनेर, फेरि पनि उनको इच्छाशक्तिले नै काम गर्यो । उनले त्यहाँ गीतमात्र गाएनन्, कालान्तरमा त्यही जागिरे पनि भए । रेडियो नेपालमा सङ्गीत संयोजकलगायतका साङ्गीतिक भूमिकामा रहेर भएर लगभग २० वर्ष बिताए ।
यतिञ्जेलसम्म समय धेरै अघि बढिसकेको थियो । उनी नेपाली लोकगीतको दुनियाँमा झलमल्ल उदाइसकेका थिए । लोकगीतका अनुरागीहरूका हृदयमा उसले बास पाइसकेका थिए । उनको स्वरमा लयबद्ध गीत ‘राम्दी पुल तरने बित्तिकै...’, ‘सरर कोइलाखानीमा...’, ‘हासेर बोलिदिऊ माया...’, ‘चिनिनँ मैले सत्ते रामा राम...’ जस्ता दजनौं गीतहरू मौलिकता र भावुकताको कसीमा खरो उत्रिएका लोकभाकाहरू हुन् ।
उनको गीतमा उच्चस्तरको रैथानेपन छ । उनको लय र शब्दमा भान्सामा पाकेको लेकाली रायोको सागको वास्ना टाढैबाट नाकमा ठोक्किन आएजस्तो रैथाने सुगन्ध भेटिन्छ । गीतमा भावना र भावुकताको भयानक गहिरो भुमरी छ ।
लोकगायक दीपक खड्काको दृष्टिमा नारायण रायमाझी गीतमा माधुर्य भर्न सक्ने र गीतलाई न्याय गर्न सक्ने कुशल प्रतिभा हुन् । उनी रायमाझीको साङगीतिक विशेषता केलाउँछन्, ‘उहाँको गीत सेलरोटी जस्तो छ । सेल रोटी शुरुमा त्यति मीठो हुँदैन तर पछि झन् मीठो झन् मीठो हुँदै जान्छ । उहाँका गीत पनि त्यस्तै छन् ।’
गीतको संख्यामा भन्दा गुणस्तरमा ध्यान दिने नारायण रायमाझीले लगभग तीन सय गीत गाएका छन् । तुलनात्मक हिसाबले उनले थोरै गीत गाएका छन् । तर, उनले जति गीत गाएका छन्, अधिकांश मौलिक र भावुक प्रकृतिका छन् ।
उनले रणभूमिका गीत गाएका गाएका छन्, भोको–प्यासी जनसमुदायको गीत गाएका छन् । उनका गीतमा जनस्तरका नगारिकका पीर व्यथा भेटिन्छ, हैरानी र सास्तीका फेहरिस्त भेटिन्छन् । विदेशमा कुल्ली–दरबान भएर जिन्दगी बिताउने धेरै नेपालीका गहिरो पीर–व्यथा उनका गीतमा उनिएका छन् ।
साङ्गीतिक करिअरमा अघि बढ्दा उनले जनजीवनमा उठेका भावनाका ज्वारभाटाहरू निरन्तर देखिरहे । लोकजीवनका असंख्य अनुभव र अनुभूतिहरू पत्रेचट्टानझैं उनको चेतन मन र अवचेतन मनमा थुप्रिएका छन्, जुन कहिसक्नुको छैन ।
उनको गीत सुनेर असंख्य स्रोता/दर्शक द्रवीभूत हुन्छन् । उनले स्टेजमा चढेर गीत पीर–वेदनाको गीत गाउँदा हिक्का छोडेर अश्रुधारा बगाउने कति आमाहरूको आँखा ओबानो हुन मुस्किल पर्छ । उनका गीत सुन्दा भावुकतावश एकआपसमा अङ्गालो मारेर रुने आफन्तीहरूको कथा बताइनसक्नुको छ । उनको सङ्ग्रहमा यस्ता थुप्रै भिडियोहरू छन् ।
नारायाण रायमाझी रैथाने अनुभूतिका सङग्रह नै हुन् । उनीभित्र ग्रामीण अनुभूतिहरू खिलिएर बसेका छन् । मनमा अनुभूतिको थुप्रो छ भने घरमा ‘एन्टिक आइटम’ हरूको थुप्रो छ । ग्रामीण चेलीबेटीहरूले प्रेमपूर्वक समर्पण गरेका झोला, गलबन्दी, खुर्पेटो, टोपीजस्ता सम्झना कोसेली उनीकहाँ छन्, जसले विगतको ममतापूर्ण राग अलापिरहेका छन् ।
दुनियाँको दृष्टिमा उनले गीतसङ्गीत र सांस्कृतिक गतिविधिमा लोभलाग्दो प्रगति गरिसकेका छन् । तर, उनी आफैंलाई भने त्यस्तो लाग्दैन । उनलाई ले केही गर्न नसकेको जस्तो लाग्छ । उनलाई लाग्छ, ‘मैले धेरै काम गर्न बाँकी नै छ ।’
उनको मनमा रहेको कार्यसूची धेरै लामो छ । आफूले गाएका चुनिन्दा लोकगीतको भिडियो बनाउनु छ । आफ्ना पुराना गीतलाई कम्तिमा पुनः स्वराङ्कन गर्नु छ । आफ्नै भिडियो प्रोफाइल बनाउनु छ । गाउँघरको मौलिक संस्कृतिलाई चलचित्रमा उतार्नु छ ।
उनका दिगागमा यस्ता धेरै रचनात्मक कार्यसूचीको खिचडी छड्किरहेका छन् । उनका धेरै कार्ययोजनाहरू पाइपलाइनमा छन् । तर, यी योजना चाहेजसरी अघि बढेका छैनन् । कतिपय योजना त अलपत्रै छन् ।
निजी स्वार्थमा मात्र भुलेर उनी आफू असामाजिक बन्न चाँदैनन् । उनी घरपरिवार, साथीसंगी, सामाजिक संघसंस्थालाई पर्याप्त समय दिन्छन् । नतिजा उही हो, उनको योजना यता कतै बीचतिर अड्केका छन् ।
आफ्ना कार्ययोजनाहरूबारे कुरा गर्दागर्दै उनी सोचमग्न हुन पुग्छन् । अनि, गम खाँदै गहिरो विचार पोख्छन्, ‘अहिलेको जस्तो अनुभव र ३० वर्ष अघिको जस्तो जाँगर भएको भए धेरै काम गर्न सक्थेँ हुँला ।’
‘गोर्खा पल्टन’, ‘परदेशी’ जस्ता चलचित्र निर्देशन गरिसकेका रायमाझी आधा मन चलचित्र जोडिएको छ । आजकल उनलाई आरोप लाग्ने गरेको छ, ‘नारायण रायमाझी लोकगीत छाडेर चलचित्रतिर लहसियो ।’
सानैदेखि नाटक र चलचित्रतिर पनि दिलचस्पी राख्ने उनीचाहिँ लोकगीत र चलचित्रलाई एकअर्काका परिपूरक मान्छन् । उनको मान्यता छ – लोकगीतले समेट्न नसकेका पक्षलाई चलचित्रले समेट्छ र चलचित्रले समेट्न नसकेकालाई लोकगीतले समेट्छ । मूल कारणबाट आफू चलचित्रमा जोडिन पुगेको उनको तर्क छ ।
आधुनिकताको बाढीले मौलिक लोकभाकालाई कुनै अञ्जान ठाउँतिर हुत्याउँदै लगेको छ । यस पृष्ठभूमिमा उनको प्रष्ट धारण छ, ‘स्रष्टाले माटोको सुवास आउने गीत समाजलाई दिनुपर्छ । यसबाट देशको संस्कृतिलाई पनि योगदान पुग्छ । यसले स्रष्टा आफैंलाई पनि बचाउँछ ।’
नारायण रायमाझीप्रति बहुसंख्यकको अपेक्षा छ, नेपालका श्रुतिमधुर र भावप्रधान लोकभाकाहरूको श्रीवृद्धिका लागि उनले आउँदा दिनमा स्नेही र प्रेरणादायी कदम दृढतापूर्वक चाल्नेछन् ।
[साभार: लोकसंवाद । २०७६ साल असार १३ गते । तस्बिर: गुगल ।]