Showing posts with label लोकगीत. Show all posts
Showing posts with label लोकगीत. Show all posts

Saturday, December 7, 2019

मौलिकता गुमाएको दोहोरीगीत

–यमबहादुर दुरा

यतिबेला लोकगीतको कुनै विधा लोकप्रिय छ भने त्यो दोहोरीगीत नै हो । यसमा कुनै विवाद छैन । शहरका दोहोरी रेष्टुराँदेखि विभिन्न मेला–महोत्सवसम्म दोहोरीगीत एउटा लोकप्रिय साङ्गीतिक परिकार बनिरहेको छ । आधुनकिताको छालले परम्परागत सांस्कृतिक विरासतलाई बढार्दै लगिरहेको यो घडीमा दोहोरीगीत त्यस्तो सांस्कृतिक निधि बनेको छ, जसले आधुनिकतासँग पौठेजोरी खेल्दै सांस्कृतिक विरासत धानिरहेको छ ।

हिजोका दिनमा विशुद्ध मनोविनोदको मात्र माध्यम बनेको दोहोरीगीत अहिले आर्थिक पक्षसँग पनि जोडिएको छ । धेरै कलाकारले दोहोरीगीतबाट रोजगारी पाएका छन् । लोकसङ्गीत उद्योगमा कति कलाकार कार्यरत छन् भन्नबारे कुनै तथ्याङ्क नभए पनि दोहोरी रेष्टुराँ र मेला–महोत्सव एउटा तप्काका कलाकारका लागि अर्थोपार्जनको माध्यम बनेको छ । एक हिसाबले यो खुसीको कुरा हो ।

तर, अर्कोतिरबाट हेर्दा त्यति धेरै खुसी मानिरहनुपर्ने ठाउँ पनि छैन । यो समय सांस्कृतिक अधपतनको युग हो । मौलिक सांस्कृतिक धरोहरहरू धमाधम ढल्दैछन् । भएका सांस्कृतिक धरोहरहरू व्यापारीको हातमा पुगेको छ । यतिबेला दोहोरीगीत पनि व्यापारीकै हातमा पुगेको छ । अब दोहोरीगीत ‘व्यापारिक वस्तु’ बनिसकेको छ ।

दोहोरीगीतमा कतिसम्म व्यापारिक हस्तक्षेप भएको छ भने कतिपय कलाकार नै मेला–महोत्सवमा गायक-गायिका सप्लाइ गर्ने 'एजेन्ट' बनेको गुनासो लोकगीतका कलाकर्मी वृत्तबाटै आवाज उठिरहेको छ । लोकगीतमा देखापरेको यस्तो प्रवृत्तिको भित्रभित्रै विरोध भइरहेको छ ।

दोहोरीगीत ‘व्यापारिक वस्तु’ बन्न थालेपछि यसको मौलिकता पनि हराउँदै गएको छ । परम्परागत  दोहोरीगीत विनशीलता, शिष्टता र मर्यादाको प्रतिरूप हो । तर, अहिले दोहोरीगीत त्यस्तो छैन । यो छाडा र मर्यादाहीन साङ्गीतिक जान्र बन्न थालेको छ । कतिपयले दोहोरीगीतलाई फोहोरीगीत भनेर टिप्पणी गर्न थालिसकेका छन् ।

दोहोरी रेष्टुराँ र मेला–महोत्सवमा चल्ने दोहोरीगीतमा अमर्यादित किसिमका रतिरागात्मक अभिव्यक्तिले खुलेआम स्थान पाइसकेको छ । दोहोरीगीतमा अशिष्ट किसिमका भनाबैरी पनि भित्रिइसकेको छ । यो कुरा दोहोरीगीतका कलाकारले नै अनौपचारिक रूपमा स्वीकारिसकेका छन् । अशिष्ट र अर्मादित अभिव्यक्ति मौलिक दोहोरीगीतको व्याकरणभित्र कहिल्यै पनि पर्दैन । दोहोरीगीत मर्यादित किसिमले भावना साटासाट गर्ने माध्यम हो । तर, अहिले त्यस्तो भइरहेको छैन ।

२०५७ साल दोहोरीगीतका कलाकारहरूको छाता सङ्गठनको रूपमा ‘राष्ट्रिय दोहोरीगीत प्रतिष्ठान’ गठन भयो । संस्था गठन गर्ने बेला संस्थाले लिएको उद्देश्यमध्ये एउटा उदेश्य थियो, दोहोरीगीतको मौलिकतालाई जोगाउनु । त्यही उद्देश्यलाई शिरोपर गर्दै संस्थामा थुप्रै पदाधिकारी आए । त्यसबेलादेखि समयको यो विन्दुसम्म आइपुग्दा थुप्रै पदाधिकारी फेरबदल भइसकेका छन् । तर, दोहोरीगीतको मौलिकताको भने प्रतिपल मर्दैछ ।

दोहोरीगीतको मौलिकता हराउनुमा कलाकारलाई मात्र दोषी देख्नु त्यति जायज हुँदैन । यसमा पूँजीवादी संस्कृति नै मूल रूपमा जिम्मेवार छ । कलाकारले प्रयास गरेमा २० को १९ होला । तर, मूल प्रवृत्ति फेरिएलाजस्तो देखिन्न ।

अघि नै भनियो, दोहोरीगीत ‘व्यापारिक वस्तु’ बनिसकेको छ । ‘व्यापारिक वस्तु’ लाई जसरी सजिलो गरी बेच्न सकिन्छ, त्यसरी नै बेच्नु सम्बन्धित व्यवसायी वा उद्योगीको धर्म हुन्छ । दुनियाँको पूँजीवादी चरित्र नै यही हो । पूँजीवादी चरित्रको आदेश अनुसार नै दोहोरीगीत पनि ‘व्यापारिक वस्तु’ जस्तै गरी बेचिन थालेको छ । यससँगै यसको मौलिकता, विनयशीलता शिष्टता र मर्यादा लोप हुँदै गएको सबैले अनुभूत गर्न थालेका छन् ।

अब दोहोरीगीत लोकसांस्कृतिक निधि नभई साँचो अर्थमा ‘पप कल्चर’ हुन पुगेको छ । ‘पप कल्चर’ मा चीजबीज कसरी व्यापारिक वस्तु बन्छन् भन्नेबारे जर्मनीका दार्शनिकद्वय थियोडोर एडोर्नो (सन् १९०३-१९६९) र म्याक्स होर्खाइमर (सन् १८९५-१९७३) ले राम्रो व्याख्या गरेका छन् ।

सन् १९४७ मा प्रकाशित कृति ‘द कल्चर इन्डष्ट्री : इन्लाइटनमेन्ट एज मास डिसेप्सन’ मा ती दार्शनिकद्वयले ‘पप कल्चर’ मा संस्कृति कसरी कारखानाका उत्पादन सरह बेखबिखन हुन्छन् भन्नेबारे मीठो व्याख्यान दिएका छन् । अहिले दोहोरीगीत पनि कारखानाका उत्पादनजस्तै बनेको छ ।

यतिबेला ‘यु ट्युब’ मा ‘दोहोरी ब्याटल’ र भनाबैरीपूर्ण दोहोरीगीतको लोकप्रियताको ग्राफ उकालो लागिरहेको छ । यसले ‘व्यापारिक वस्तु’ बनिसकेको दोहोरीगीत ‘पप कल्चर’ को एउटा हिस्सा हो भन्ने तथ्यलाई प्रत्यक्ष वा परोक्ष रूपमा पुष्टि गरेको छ ।

विगतमा स्थानीयस्तरमा सुखदुःखको भावना साटासाट गर्ने माध्यमको रूपमा रहेको दोहोरीगीतको दायरा व्यापक फराकिलो भएको छ । दोहोरीगीत स्थानीयस्तरबाट माथि उठेर राष्ट्रियस्तरमा स्तरोन्नति भएको छ । यो खुसीलाग्दो कुरा हो । तर, दोहोरीगीतको घेरा जति फराकिलो हुँदैछ, त्यति नै यसको मौलिकता र शिष्टतामाथि प्रश्न उठेको छ ।

अहिले हाम्रो सांस्कृतिक अधपतनको चरणबाट गुज्रिरहेको देखिन्छ । यस्तो भयानक घडीमा दोहोरीगीतको मौलिकपन र मिजास पूर्ववत अवस्थामा फर्किन्छ भनेर आशा गर्ने ठाउँ छैन । राज्य नै देशको मौलिकको संस्कृतिको संरक्षक बनिदिएको भए केही हदसम्म यस्तो आशा गर्न सकिन्थ्यो । राज्यले हिजोदेखि त्यस्तो भूमिका निर्वाह गर्न सकेन ।

दुर्भाग्यवश, दोहोरीगीतलाई व्यापारीको हातमा पुगिसकेको छ । अब दोहोरीगीत मौलिक संस्कृति नभई बिकाउ वस्तु बन्न पुगेकाले यसमा पाइला–पाइलामा व्यापारिक चरित्र प्रतिविम्बित भइरहेका छन् । यसबाट दोहोरीगीत प्रत्येक क्षण मौलिकताविहीन बन्दै गएको छ । अहिलेको बजारू दोहोरीगीतमा कसैले मौलिकता देख्छ भने त्यो मीठो भ्रमबाहेक केही होइन ।

तर पनि कसैले तमाम सांस्कृतिक अधपतन र व्यापारिक चरित्रलाई चिरेर दोहोरीगीतमा मौलिकताको रस र गुण भर्न सक्छ भने त्यो निश्चय नै लोकअभिनन्दनीय कार्य हुन जान्छ । परम्परागत सांस्कृतिक धरोहरसँग जरा गाँसिएको दोहोरीगीत एउटा गतिलो लोकअभिनन्दनीय कार्यको प्रतीक्षामा छ ।

[साभार : लोकसंवाद । २०७६ साल मङ्सिर २० गते ।]



Friday, November 29, 2019

दोहोरी ब्याटलले उब्जाएको प्रश्न

-यमबहादुर दुरा

हिप हप, र्‍याप, ब्याटल र्‍याप, दोहोरी ब्याटलजस्ता साङगीतिक शब्दाली युवा पुस्तामाझ बिछट्टै लोकप्रिय छन् । यससँगै देउडा, हक्पारे, ठाडो भाका, रोइलाजस्ता लोकपरम्परासँग गाँसिएका साङ्गीतिक शब्दावली बिरानो बन्दै गएको प्रतीत हुन्छ । यसले साङ्गीतिक वातावरणमा आएको जबरजस्त परिवर्तनलाई सङ्केत गर्छ ।
ग्राफिक्स् ; गुगल

सूक्ष्म किसिमले हेर्ने हो भने नेपालको साङ्गीतिक माहोलमा नचिताएको फेरबदल आइसकेको छ । यो क्रम निरन्तर जारी छ । दुनियाँ परिवर्तनशील छ । त्यसमा पनि सङ्गीत त झनै बढी गतिशील र परिवर्तनशील छ । अहिले परम्परागत गीतलाई पछि पार्दै ‘ब्याटल र्‍याप’, दोहोरी ब्याटलजस्ता साङ्गीतिक शैली अस्तित्वमा आइसकेका छन् ।

परिवर्तित साङ्गीतिक परिवेशका सन्दर्भमा दोहोरी ब्याटलकै कुरा गरौँ । दोहोरी ब्याटलचाहिँ पश्चिमा शैली ‘ब्याटल र्‍याप’ बाट प्रभावित देखिन्छ ।

‘ब्याटल र्‍याप’ को कुरा गर्दा यसमा प्रयुक्त ‘ब्याटल’ शब्दले नै धेरै कुरा बोलिसकेको छ । ‘ब्याटल’ को सोझो अर्थ हो, लडाइँ । मूलत : ‘ब्याटल र्‍याप’ शाब्दिक लडाइँ हो । एक अर्थमा यो शब्दको भनाभन हो । यसमा आफ्नो प्रतिस्पर्धीको सातो खाइन्छ । अमेरिकी अश्वेत समुदायमा सन् १९८० को दशकमा र्‍याप ब्याटल शुरु भएको मानिन्छ ।

‘ब्याटल र्‍याप’ मा पक्ष–विपक्षबीच भावना, अनुभूति, व्यङ्ग्य र अनुभवहरू चर्काचर्कीपूर्ण वातावरणमा साटासाट गरिन्छन् । यसमा बेलाबखतमा पक्ष–विपक्षबीच गुलाबी क्षेण हानाहान हुन्छ ।  र्‍याप ब्याटलमा शब्दको तिखो छेणखानी भए पनि  यसमा संलग्न गायक-गायिकाका बौद्धिकता, तर्क शक्ति, वाक्पटुता, भावुकता र कल्पनशीलता पनि झल्किन्छन्, जुन प्रशंसायोग्य पक्ष मानिन्छन् ।

‘ब्याटल र्‍याप’ सङ्गीतप्रधान नभई शब्दप्रधान सङ्गीतिक शैली हो । तर पनि यसले शब्दकै माध्यमबाट बेजोड पाराको रसरङपूर्ण वातावरण तयार पार्छ । ब्याटल र्‍यापमा चलेको शब्दयुद्धबाट दर्शकले भरपूर आनन्द लिन्छन् । अहिले र्‍याप ब्याटलमा संलग्न कलाकारका ‘फ्यान फलोवर’ हरूको संख्या निरन्तर बढ्दो छ ।

अमेरिकी सडकहरूबाट लगभग चार दशक अघि शुरु भएको ‘ब्याटल र्‍याप’ को लोकप्रियता संसारभर फैलिएको छ । विश्वव्यापीकरणको तीव्र प्रभावले छोपेको नेपाल यसको अपवाद हुने कुरै भएन ।

नेपालमा पनि प्रतिभाशाली र्‍यापरहरूको संख्या बढ्दै गएको छ । साथै, फ्यानहरूको भीड पनि भयानक दरमा बढ्दो छ । यु ट्युबमा राखिएका ‘ब्याटल र्‍याप’ का भिडियोहरूको भ्यु उल्लेखनीय रूपमा बढेको छ । ‘ब्याटल र्‍याप’ को श्रीवृद्धिमा यम बुद्ध (वि.सं.२०४४-२०७३) जस्ता र्‍यापरहरूको योगदान देखिन्छ ।

नेपाली सङ्गीत प्रयोग र परीक्षणको चरणबाट गुज्रिरहेको छ । यो विश्वव्यापी ट्रेन्ड नै हो । यस क्रममा नेपाली गीत र पश्चिमा शैलीका गीतबीच दशकौँ अघि नै अन्तरघुलन भइसकेको देखिन्छ । अन्य गीतको तुलनामा लोकगीत पश्चिमा शैलीका गीतबाट कम प्रभावित देखिन्छ । तर, अब त्यो अवस्था रहेन ।

नेपाली लोकगीतमा पनि पश्चिमा शैलीका गीतको ‘फ्युजन’ भइसकेको छ । यसको ज्वलन्त दृष्टान्त हो, दोहोरी ब्याटल । दोहोरी ब्याटल ‘ब्याटल र्‍याप’ बाट प्रभावित साङ्गीतिका शैली (जान्र) हो । यसमा दोहोरी गीत र ‘ब्याटल र्‍याप’ दुवैको विशेषताहरू भेटिन्छन् । यो वर्णशंकर गीत हो ।

एकातिर दोहोरी गीतको फ्लेबर, अर्कोतिर ‘ब्याटल र्‍याप’ फ्लेबर । दोहोरी ब्याटल युवाहरूबीच निकै लोकप्रिय छ । चुलिँदो ‘भ्युवरसिप’ ले यो तथ्यलाई प्रष्ट पार्छ । दोहोरी ब्याटल नेपाली संस्कृति र पश्चिमा संस्कृतिको दोभान बनेको छ । यु ट्युबमा राखिएको छ महिना पुग्दानपुग्दै ‘दोहोरी ब्याटल–२’ को भ्यु १३ मिलियन नाघिसकेको छ ।

यसले परम्परागत दोहोरीगीतलाई पछिल्लो बिसौनीमा छाडेर अघि बढिरहेको छ । नेपालमा लोक फ्लेबरका गीतहरूले सधैँ लोकप्रियताको शिखर चुमिरहेको छ । दोहोरी ब्याटल पनि यसको अपवाद भएन ।

दोहोरी ब्याटल प्रयोग भएका शब्द तथा शब्दावली, आधुनिक पहिरन, संवाद, सुटिङ स्थलको चकमधमकपूर्ण वातावरणले युवापुस्तालाई हदैसम्म आकर्षित तुल्याएको देखिन्छ । भिडियोलाई आकर्षक बनाउन अपनाइएको छलयोजना (म्यानिपुलेटिभ टेक्निक्स्) ले पनि धेरैको मन जितेको देखिन्छ । भिडियो निर्माताको सिर्जनशीलतालाई मान्नैपर्छ ।
ग्राफिक्स् ; गुगल

दोहोरी ब्याटलको अभूतपूर्व लोकप्रियताले नेपालको साङ्गीतिक माहोलमा केही गम्भीर प्रश्नहरू जन्मेका छन् । दोहोरी ब्याटल दोहोरीगीतको 'फ्लेबर' मा आएर पनि यसले मौलिक दोहोरीगीतको जग नै भत्काएको देखिन्छ ।

परम्परागत दोहोरी गीत विनयशीलता र शिष्टता, सार्वजनिक मर्यादाको अर्को नाम हो । मौलिक दोहोरीगीतमा आफूलाई निम्न श्रेणीमा राखेर समकक्षीलाई उच्चकोटिमा राख्ने प्रचलन छ । गीत गाउँदा समकक्षीलाई उच्च सम्मान गरिन्छ । जस्तै :

‘म त हजूर डढेलोको ठूटाजस्तो,
मेरो माया पुर्नेको जूनजस्तो’ ।

यसको विपरीत दोहोरी ब्याटलको परम्परा ठ्याक्कै उल्टो छ । यसले समकक्षी सकेसम्म हेप्ने काम गर्छ । दोहोरी ब्याटलमा अपमान सूचकहरू शब्दहरू भरमार प्रयोग गरिन्छन् ।समकक्षी गायक–गायिकाले एकअर्कालाई सकेसम्म खसाल्नु नै यसको मूल ध्येय हुन्छ । दृष्टान्त :

‘आयो तेरो मिस,
चुप लाग् साला ठिस’ ।

दोहोरी ब्याटल नेपाली साङ्गीतिक परम्पराको विपरीत धारमा अघि बढेको देखिन्छ । यसले लोकगीतमा विद्यमान शिष्ट परम्परालाई पूरै भत्काएको छ । यसले अशिष्ट र अमर्यादित परम्पराको जग बसालेको छ । दोहोरी ब्याटलले निम्त्याएको अशिष्ट शब्दको रणसंग्रामले विनयशीलताको छेलोखेलो भएको दोहोरीगीत परम्परालाई क्षति पुर्‍याएको देखिन्छ ।

यद्यपि, दोहोरी ब्याटलले मात्र नेपाली दोहोरीगीतको शिष्ट परम्परालाई क्षति पुर्‍यायो भन्नु अन्यायपूर्ण हुन्छ । पछिल्लो समयमा दोहोरीगीतमा अशिष्ट र अमार्यादित  किसिमका भनाबैरी चलिसकेको छ । दोहोरी ब्याटलले यो अशिष्ट परम्परालाई थप बल दिएको भने पक्कै हो ।

दोहोरी ब्याटलले नेपालको साङ्गीतिक रङ्गमञ्चमा नयाँ ढाँचा र नयाँ शैली निम्त्याएकोमा खुसी मान्नुपर्ने हो । तर, त्यो भन्दा पनि यसले बसालेको अशिष्ट परम्पराप्रति चिन्ता मान्नुपर्ने अवस्था छ । कतिपय विश्लेषकले यसलाई सांस्कृतिक अधपतनको रूपमा हेर्ने गरेका छन् ।

अर्थशास्त्रीय दृष्टिबाट हेर्दा सङ्गीतमा घुसेको पूँजीवादले दोहोरी ब्याटललाई जन्म दिएको पाइन्छ । अर्कोतिर, कलाकारमा विद्यमान लोकप्रियता कमाउने सर्वजनीन मनोविज्ञानले पनि यसमा बल दिएको देखिन्छ ।

बदलिँदो समयमा यी दुवै पक्षलाई बेठीक भन्न सकिने अवस्था छैन । तर, यसबाट शिष्टताले ओतप्रोत मौलिक लोकगीत जोगाउन चाहनेहरूका लागि भने यक्षप्रश्न खडा भएको छ । अहिले, दोहोरी ब्याटलको यो नयाँ विकासक्रम एउटा गहन चिन्तन–मननको विषय बनेको छ ।

[लोकसंवाद । २०७६ साल मंसिर १३ गते । ]

[अद्यावधिक : २०७७।०३।२०, २०७७।०४।१०]

Friday, July 19, 2019

लोकगीतमा अध्ययन–अनुसन्धानको खरेडी

-यमबहादुर दुरा

‘आफ्नो इतिहास, उत्पत्ति र संस्कृतिको ज्ञानविनाको मानिस जरा नभएको रूखजस्तै हुन्छ ।’ अफ्रिकी–अमेरिकी राजनीतिक अभियन्ता तथा पत्रकार मार्कस गार्भी (सन् १८८७—१९४०) को यो भनाइले मानिसका सांस्कृतिक पहिचान कति महत्वपूर्ण छ भन्ने तथ्यलाई इङ्गित गर्छ ।

हाम्रो सांस्कृतिक पहिचानलाई मजबुत बनाउने कडी लोकसाहित्य र लोकसंस्कृतिसँग जोडिएको छ । यिनीहरूसँग जनजीवनमा वास्तविकताले नाता गाँसेका हुन्छन् । यस्ता पक्षसँग व्यक्ति र समुदायको इतिहास, उत्पत्ति र संस्कृतिका आयामहरू दरिलोसँग गाँसिएका हुन्छन् ।

लोकगीत सांस्कृतिक पक्षको त्यस्तो दरिलो खम्बा हो, जसले व्यक्ति र समुदायको पहिचानसँग गाँसिएका  सांस्कृतिक आयामहरूलाई मजासँग धानेको हुन्छ । लोकगीतले जनताका कथाव्यथा र हाँसो–आँसुलाई समेटेको हुन्छ । त्यसभित्र जनजीवनका अनगिन्ती वास्तविकता र किस्सा–कहानी समेटिएका हुन्छन् । खोजीपसेमा यस्ता किस्सा–कहानीमा जनताका इतिहास, गौरवगाथा र संस्कृतिका थुप्रै पाटाहरू एकपछि अर्को गरी खुल्दै जान्छन् ।

थुप्रै इतिहासकार र अध्येताहरूले लोकगीतलाई इतिहासको स्रोत मानेका छन् । यस विषयमा विश्वका चर्चित जर्नलहरूमा खोजमूलक लेख छापिएका छन् । तर, हामीकहाँ भने लोकगीतको खोज–अनुसन्धान चुत्थो विषय बन्न पुगेको छ । यस्ता विषयमा कमै अध्ययन भएका छन् ।

लोकगीतको अध्ययन–अनुसन्धानले उचित स्थान नपाए पनि व्यक्ति र समुदायको असली पहिचानका लागि यसको अध्ययन–अन्वेषण अत्यावश्यक छ । हेर्दा सामान्यजस्तो लागे पनि लोकगीत एकदमै गहन र व्यापक विषय हो ।

अर्कोतिर, लोकगीत बहुआयमिक विषय हो । यसको अध्ययन–अनुसन्धानमा साङ्गीतिक पक्षको ज्ञानमात्र पर्याप्त छैन । सामाजिक–सांस्कृतिक परिवेश र सामाजिक मनोविज्ञानका तमाम पाटाहरूसँग अध्येता परिचित हुन आवश्यक छ । यो एउटा जटिल विषय हो ।

वाल्टर काफम्यानले आजभन्दा ५७ वर्षअघि सन् १९६२ मा ‘इथ्नोम्युजिकोलोजी’ जर्नलमा ‘फोकसङ अफ नेपाल’ शीर्षकमा लेख लेखेका थिए । उनले त्यसेबला नेपाली लोकगीतलाई धार्मिक तथा निरपेक्ष गरी दुई बृहत भागमा विभाजन गरेका थिए ।

नेपाली लोकगीतलाई यति साँगरो घेरामात्र सीमित गर्दा यसको दायरा अलि सीमित हुन जान्छ । नेपाली लोकगीतको व्यापकतालाई बुझ्न र मापन गर्न नेपाली यसलाई अझ मसिनो गरी केलाउन आवश्यक छ । यस दृष्टिले नेपाली लोकगीतलाई विभिन्न चिरामा विभाजन गर्न सकिन्छ ।

शैलीगत वा विधागत दृष्टिले नेपाली लोकगीतलाई रोइला, ख्याली, ठाडो भाका, चुड्का, तामाङसेलो, मारुनी, देउडा, सालैजोलगायत सयौं विधामा विभक्त गरेर हेर्न सकिन्छ । स्तुति, बालन, मालसिरीजस्ता गीतलाई धार्मिक÷आध्यात्मिक गीतको रूपमा लिन सकिन्छ ।

मैथिली, भोजपुरी, देउडा आदिलाई क्षेत्रीय भाषाका गीतको रूपमा वर्गीकरण गर्न सकिन्छ । नेवार, लिम्बू, राई आदि समुदायमा प्रचलित जातीय संस्कारमा आधारित गीतलाई इथ्नोम्युजिकोलोजी विधामा राख्न सकिन्छ ।

बालन, घाँटु, सोरठीजस्ता लोकनाटकमा विद्यमान गीति पक्ष र कथानकलाई विभिन्न सांस्कृतिक–आध्यातिमक कोणबाट अध्ययन गर्न सकिने पर्याप्त ठाउँ छ ।

यसका अतिरिक्त मौरीबाजा, मादल, सारङ्गी, पञ्चेबाजा, मुरली, मुर्चुङ्गा, बिनायोलगायत थुप्रै स्थानीय र रैथाने लोकबाजालाई लोकगीतको अर्को महत्वपूर्ण पाटोको रूपमा लिन सकिन्छ । यिनीहरूको गहन अध्ययन अर्कै गम्भीर पाटो बन्न पुग्छ ।

म्युजिक अरेञ्ज गर्ने कम्प्युटराइज्ड प्रविधिको विकासले लोकलयको मौलिकतामा पारेको प्रभाव, लोकगीतमा आएका नयाँ नयाँ प्रवृत्ति, प्रतिलिपि अधिकार, लोकगीतमा वाह्य प्रभाव पनि अध्ययनको विषय बन्न सक्छन् । यस्ता विषयमा खासै हात हालिएको छैन ।

यसैगरी भारत, भूटान, बर्मालगायतका देशमा रहेका नेपालीभाषीहरूको लोकगीतको परम्परा अध्ययनको अर्को विषय बन्नसक्छ ।

भाका, कथ्य (भाव), लय र तालको संयुक्त रूप हो, लोकगीत । यस्ता विविध विषयको अध्ययन–अनुसन्धान गर्नु भनेको महासागरमा पौडनु जत्तिकै हो । लोकगीतको गहनता र व्यापकताबारे वर्णन गर्न शब्दहरू अपर्याप्त छन् ।

माथि नै भनियो, सांस्कृतिक पहिचान, विषयगत गहनता, ज्ञान आदिका दृष्टिले लोकगीत व्यापक विषय भए पनि यसको खोज–अनुसन्धान पुग्नुपर्ने जति ध्यान गएको छैन । हाम्रो सन्दर्भमा यो सर्वथा कमजोर पक्ष हो । साथै, दुःखद पक्ष पनि हो ।

नेपालमा पश्चिमी गोलाद्र्धमा जस्तो लोकगीतसम्बन्धी अनुसन्धानको समृद्ध परम्परा पनि छैन । तर पनि  विगतमा सत्यमोहन जोशी (जन्मः वि.सं.१९७७), धर्मराज थापा (वि.सं.१९८१—२०७१), कृष्णप्रसाद पराजुली (वि.सं.१९९२—२०७०), कालीभक्त पन्त, लक्ष्मण लोहनी, हंसपुरे सुवेदी, मोतीलाल पराजुली (जन्मः वि.सं.२०१३) आदिले लोकगीतको खोज–अनुसन्धानलाई केही हदसम्म अघि बढाए ।

उनीहरूभन्दा पछिल्लो पुस्ताका गोविन्द आचार्य, विश्वप्रेम अधिकारी, तुलसी प्रवासजस्ता अध्येताले लोकगीतको खोजबिनमा भरथेग योगदान गरेका छन् ।

यी प्रयासहरू राम्रा हुँदाहुँदै पनि पर्याप्त छैनन् । यी अध्ययनमा गीतले समेटेका बृहत सामाजिक तथा सांस्कृतिक परिवेशको गहन र पर्याप्त विश्लेषणको अभाव देखिन्छ । शब्दिक वर्णनले मात्र गीतको मर्म बोल्न सक्दैन । धेरैजसो अध्ययनमा नोटेसन र अन्य प्राविधिक पक्षको  अभाव देखिन्छ ।

यी तमाम मामिलालाई ख्याल गर्दा लोकगीतको अध्ययन र अन्वेषणका लागि एउटा सिङगो दुनियाँ बाँकी छ । यसमा राज्यस्तर र जनस्तरको संयुक्त प्रयास अपेक्षित छ ।

[साभार: लोकसंवाद । २०७६ साल साउन ३ गते ।]

Saturday, July 13, 2019

लोकभाकामा स्वामित्वको कचिङ्गल

-यमबहादुर दुरा

लोकगीत के हो ? लोकगीतको कसको हो ? यो प्रश्नको सीधा र सरल जवाफ हो, लोकगीत जनताको लय हो- लोकगीत जनताको गीत हो । लोकगीतको सर्जक पनि जनता नै हुन्, प्रयोक्ता पनि जनता नै हुन् । लोकगीत सार्वजनिक सम्पत्ति भएकाले भएकाले त्यसलाई चाहेको बेलामा जसले पनि प्रयोग गर्न सक्छ । लोकगीतमा तेरो र मेरो भन्ने कुरा नै हुँदैन  ।

तर, समयको प्रवाहसँगै लोकगीतको परम्परागत परिभाषामा आमूल परिवर्तन आएको छ । यसको स्वाभाव र चरित्र पनि बदलिँदै गएको छ । लोकगीतमा जनताको स्वामित्व गुम्दै गएको छ । हिजो सार्वजनिक स्वामित्व (‘पब्लिक डोमेन’) मा रहेको मानिने लोकगीत निजी स्वामित्व (‘प्राइभेट डोमेन’) मा पुग्न थालेको छ । यो क्रम निरन्तर बढ्दो छ ।

विगतमा लोकगीत ग्रामीणजनको स्वःस्फूर्त मनोरञ्जनको माध्यम थियो । यसमा व्यापार वा अर्थोपार्जनको कुनै गुञ्जायस नै थिएन । जब विस्तारै रेकर्डिङ प्रविधि र सङ्गीत उद्योगको विकास हुन थाल्यो, तब लोकगीत विस्तारै व्यापारिक वस्तु बन्न थाल्यो । जहिलेदेखि लोकगीत व्यापारिक वस्तु बन्न थाल्यो, त्यहीबेलादेखि नै एउटा वृत्तमा लोकगीत झगडाको बीउ बन्न थाल्यो ।

विकसित मुलुकको तुलनामा नेपालमा धेरै पछिमात्र लोकगीत व्यापारिक वस्तु बन्न थालेको हो । २००७ सालमा राष्ट्रिय प्रसारण संस्था रेडियो नेपालको स्थापना भएपछि वायुतरङ्गमा लोकगीत प्रसारण हुने वातावरण बन्यो । त्यसपछि लोकगीत सङ्कलन, गायन र प्रसारण गर्ने परिपाटीले विस्तारै गति लिन थाल्यो ।

यससँगै नेपाली लोकगीतले वायुतरङ्गतमार्फत यात्रा गर्न शुरु गर्न थाले । यसपछि स्थानीयस्तरमा प्रचलित लोकभाकाहरू फराकिलो दायरामा विस्तार हुन थाल्यो । तत्कालीन समयमा नयाँ प्रविधिको रूपमा देखापरेको रेडियोमा लोकगीतले स्थान पाउन थालेपति  गायक–गायिकाहरूको लोकप्रियताले शिखर चुम्न थाल्यो ।

समयक्रमसँगै रेडियो प्रविधिको  नकारात्मक पक्ष पनि देखा पर्न थाल्यो । कलाकारहरूमा लोभ बढ्न थाल्यो । उनीहरूबीच नजानिँदो किसिमले प्रतिस्पर्धा पनि बढ्न थाल्यो । सार्वजनिक सम्पत्तिको रूपमा रहेको लोकगीतलाई आफ्नो नाममा ल्याउने होड चल्न थाल्यो । त्यसपछि स्वाभाविक रूपमा ‘तेरो र मेरो’ प्रश्न उठ्न थाल्यो ।


२०२४ सालमा रत्न रेकर्डिङ संस्थान स्थापना भएपछि नेपालमा रेकर्डिङ उद्योग बामे सर्न थाल्यो । २०४० को दशकमा निजी क्षेत्रमा रेकर्डिङ स्टुडियो स्थापना हुन थालेपछि एकपछि अर्को गरी लोकगीतका चक्काहरू निस्कन थाले । तिनको सुक्रीबिक्री पनि उत्साहजनक रूपमा हुन थाल्यो । यस्ता गतिविधिले लोकगीत व्यापारिक वस्तुमा परिणत हुँदै गयो ।

सँगसँगै, बजारमा आएका चक्कामध्ये कतिपयका भाका र शब्द अर्काको गीतमा मिलेको भनी सिकायत गर्नेे क्रम शुरु हुन थाल्यो । विवादका नयाँ नयाँ श्रृङ्खलाहरू देखा पर्न थाले । कतिपय अवस्थामा कलाकार–कलाकारबीच र उत्पादक–उत्पादकबीच मनोमालिन्य बढ्न थाल्यो । लोकगीतमा ‘तेरो र मेरो’ प्रश्न झन झन पेचिलो बन्दै गयो । अहिले बेलाबखतमा यस्ता विषयमा तातो बहस  नै चल्ने गर्छ ।

भर्खरैमात्र लोकगीतको मौलिकता र स्वामित्वबारे ठूलै बहस चल्यो । नवस्थापित कलाकार र पुराना कलाकारबीच एउटा चर्चित गीतको लयलाई लिएर शृङ्खलाबद्ध भनाबैरी चल्यो । कलाकारहरु विभिन्न ध्रुवमा उभिन थाले । यसप्रकारको कचिङ्गल कुनै नयाँ विषय होइन, पुरानै कचिङ्गलको नयाँ संस्करणमात्र हो ।

अन्तर्राष्ट्रियस्तरमा पनि सङ्गीतसम्बन्धी स्वामित्वका गम्भीर मामिलाहरू समय-समयमा सतहमा आउँछन् । केसा भर्सेस् डक्टर लुक (सन् २०१४), कोल्डप्ले भर्सेस् जो साट्रियानी (सन् २००८), मेटालिका भर्सेस न्याप्स्टर(सन् २०००),  भनिला आइस भर्सेस् डेभिड बोइ (सन् १९९०), सेली भर्सेस् गिब (सन् १९८४) जस्ता मुद्दामा दोषी ठहरिएका पक्षले लाखौं अमेरिकी डलर क्षतिपूर्ति समेत तिर्नुपरेको दृष्टान्त छ । नेपालमा यस्ता मामिलामा धेरै दन्तबझान भए पनि क्षतिपूर्ति वापत ठूलो रकम तिर्नुपरेको अवस्था छैन ।

आजकल पुराना कलाकारका चर्चित गीत पुनःरेकर्ड गरेर यु ट्युब च्यानलमा राख्ने लहर नै चलेको छ । यो  विषय कलाकार वृत्त र सङ्गीत अनुरागीहरूबीच वादविवादको विषय बनेको छ । साङ्गीतिक  अभिव्यक्तिका दृष्टिले एउटा कलाकार पहिले नै गएका गीत अर्को कलाकारले गाउन पाउन भए पनि प्रतिलिपि अधिकार र आर्थिक-लाभका दृष्टिले निषिद्ध छ,  जसबाट पुराना कलाकार गाएका पुराना कलाकारका चर्चित गीत पुनःरेकर्ड गर्ने प्रवृत्ति कलाकारहरूबीच मनमुटाबको स्रोत बन्न पुगेको छ ।

प्रतिलिपि अधिकारसम्बन्धी कानुनले सम्बन्धित सर्जकको सिर्जनामा कति समयसम्मप्रतिलिपि अधिकार कायम रहने भन्नेबारे विभिन्न प्रावधानहरू राखेको पाइन्छ । अमेरिकी कानुनले  भन्छ – सर्जकको मृत्यु भएको ७० वर्षपछि प्रतिलिपि अधिकार अन्त्य हुन्छ र त्यसपछि त्यो रचना ‘पब्लिक डोमेन’ मा रहन्छ ।

नेपालमा पनि सङ्गीतको प्रतिलिपि अधिकारसम्बन्धमा  केही प्रावधानहरू छन् । ती प्रावधान कति पर्याप्त र मजबुद छन् भन्ने कुरा बेग्लै विश्लेषणको विषय हो ।  २०७४ सालमा संशोधित ‘प्रतिलिपि अधिकार ऐन, २०४९’ ले नाटक, नाट्य-संगीत, मुक चित्र र यस्तै किसिमले मञ्चनका लागि तयार गरिएका रचना एवम् शब्दसहित वा शब्दरहित सांगीतिक रचनालाई प्रतिलिपि अधिकारको दायरामा ल्याएको छ ।

‘राष्ट्रिय वौद्धिक सम्पत्ति नीति, २०७३’ ले लोकगीतबारे स्पष्ट शब्दमा नभने पनि कला, साहित्य, संस्कृति, परम्परागत ज्ञान, परम्परागत सांस्कृतिक अभिव्यक्ति आदिको रचनात्मकतालाई प्रोत्साहन गर्ने कुरा गरेको छ । तर, यस्ता नीति-नियम र कानुनले लोकगीतमा उठेका नैतिक प्रश्नलाई साम्य पार्न सकेका छैनन् ।

लोकगीतको मौलिकता र प्रतिलिपि अधिकारबारे अनेकन् जटिलता छन् । मूल कुरा के हो भने लोकगीत युगौंदेखि पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदा हो ।  यसको मौलिकता र मौलिक रचनाकारको पहिचान खुट्याउन सहज छैन ।

त्यसमा पनि डिजिटल प्रविधिको आगमनले मौलिक रचनालाई सजिलै परिमार्जन गर्ने र आफ्नोजस्तो देखाएर प्रस्तुत गर्ने कार्यलाई सहज तुल्याइदिएको छ । यसले थप जटिलता निम्त्याएको छ ।

जति जति समय बित्दैछ, उति उति सार्वजनिक दायरामा रहेको लोकगीत व्यक्तिको खल्तीमा पुग्दैछ । अर्को शब्दमा भन्दा पूँजीवादले लोकगीतमा रहेको आर्थिक सम्भावनालाई पूरापुर दोहन गरिरहेको छ ।जनजीवनमा यसको नकारात्मक प्रभाव पर्न थालिसकेको छ । वनपाखामा युगौँदेखि गुञ्जिँदै आएका कोकिलकण्ठे भाकाहरूलाई जनताले आफ्नो गीत भन्न नपाउने अवस्था छ ।

यही पृष्ठभूमिमा लोकगीतको स्वामित्वबारे उठेका विवादले लोकगीतका सर्जकहरू थप रचनात्मक र विवेकशील हुनुपर्ने तथ्य औंल्याएकोमात्र छैन, उनीहरूको नैतिक धरातल पनि मजबुत हुनुपर्छ भन्ने  सूक्ष्म किसिमको सन्देश दिएको छ ।

लोकगीतमा ‘तेरो र मेरो’ बारे विवाद चुलिँदै गर्दा दूरगामी महत्वको एउटा गम्भीर प्रश्न उठेको छ । त्यो प्रश्न हो, ‘लोकगीत कसको हो ?’ यसको उत्तर खोज्ने जिम्म तपाईँ–हाम्रै हो ।

[लोकसंवाद । २०७६ साल असार २७ गते ।]

[अद्यावधिक : २०७६।०४।२०, २०७६।०८।१२, २०७७।०३।२९, २०७७।०४।१२, २०७७।०८।०४]

Friday, June 21, 2019

पुराना भाकाहरूको पुनरागमन

यमबहादुर दुरा

पुराना पात झर्छन्, नयाँ पात पलाउँछन् । पुराना जान्छन्, नयाँ आउँछन्, जुन दुनियाँको सर्वजनीन तथा सर्वविदित रीत हो । तर, यो शाश्वत रीत सधैँ सही नहुने रहेछ । ‘ यु ट्युब’ मा धमाधम अपलोड भइरहेका पुराना नेपाली लोकगीत देख्दा यस्तै लाग्छ ।

अहिले सयौंको संख्यामा पुराना नेपाली लोकगीत  'यु ट्युब’  मा अपलोड भइसकेका छन् । यो क्रम जारी नै छ । यस्ता गीतको भ्यु पनि लाखौंको संख्यामा पुगेका छन् ।

‘यु ट्युब’ मा मास्टर मित्रसेन (वि.सं. १९५२—२००२), मेलवादेवी गुरुङ (वि.सं. १९५९—२०१२) जस्ता कालातीत कलाकारका गीत पनि भेटिन्छन् । उनीहरू पछिका कलाकारहरू धर्मराज थापा (वि.सं. १९८१—२०७१), हीरादेवी वाइबा (सन् १९४०—२०११), भलकमान गन्धर्व (वि.सं. १९९२—२०६०) आदिका पुराना गीत ‘यु ट्युब’ को विशाल भण्डारमा पनि सजिलै भेटिन्छन् ।

कविता आले, मन छञ्त्याल, लोकबहादुर क्षेत्री (वि.सं. १९१८—२०५०), बमबहादुर कार्की, कृष्णसुधा ढुङ्गाना, हरिदेवी कोइरला, माया गुरुङ, बीमाकुमारी दुराजस्ता कलाकारका पुराना लोकगीत पनि ‘यु ट्युब’ मा भेटिन्छन् । यी नाम त ‘यु ट्युब’ मा अपलोड भएका पुराना गीतका दृष्टान्तमात्र हुन् ।

सङ्गीत एकदमै चञ्चल र चलयमान विधा मानिन्छ । ख्यातिप्राप्त सङ्गीतकार अमर गुरुङ (वि.सं. १९९४—२०७३) भन्ने गर्थे, सङ्गीतमा समयानुकूल परिवर्तन र नयाँ शैली सधैँ अपेक्षित रहन्छ । सङ्गीतिक महफिलमा एकपछि अर्को गरी देखापरेका नवीनतम् शैली र ट्रेन्डले यही वास्तविकतालाई पुष्टि गरिरहेका छन् ।

गतिशील र परिवर्तनशील साङ्गीतिक दुनियाँमा पुराना गीतको स्थान कति छ ? ‘एन्टिकरेन्ट’ जस्तो देखिने गरी आएका पुराना लोकगीतको लहरले कुन सांस्कृतिक तथा साङ्गीतिक समीकरणलाई उद्घाटन गर्छ ? यसको समाजशास्त्रीय वा अर्थशस्त्रीय नाता–सम्बन्ध के हो ? यसबारे घोत्लिन आवश्यक छ ।

अमेरिकामा पनि पुराना लोकगीतको पुनरागमन भएको थियो । त्यहाँ लोकगीतको पुनरागमन सन् १९४० को दशकमा शुरु भएर १९६० को दशकमा चुचुरोमा पुगेको अभिलेख भेटिन्छ ।

अमेरिकामा सन् १९२० देखि शुरु भएको रेडियो प्रसारण सन् १९४० को दशकसम्म आइपुग्दा  लोकप्रिय सञ्चार माध्यम बन्न पुग्नु, त्यसमा रैथाने लोकगीतले स्थान पाउनु, अमेरिकाका अश्वेत समुदायले सञ्चालन गरेको नागरिक अधिकारसम्बन्धी आन्दोलनमा लोकगीतलाई ‘प्रोटेष्ट सङ’ का प्रयोग गर्नुलाई त्यहाँ लोकगीतको पुनरागमन हुनुको मूलभूत कारण मानिएका छन् ।

नेपालमा वि.सं. २०५० को दशकमा एफएम रेडियो स्थापनाको उभार आयो, जुन २०६० को दशकमा उत्सर्गमा पुग्यो । देशभरि स्थापना भएका स्थानीय रेडियोहरूले लोकगीतलाई उच्च स्थान दिए । यसबाट लोकगीत लोकप्रियता हाँसिल गर्‍यो । यससँगै सङ्गीत उद्योगले पनि राम्रो प्रगति गर्‍यो ।

अहिले समयले नयाँ मोड लिइसकेको छ । अहिले ‘एफएम युग’ को क्रेज पातलिँदै गएको छ भने ‘यु ट्युब युग’ को क्रेज बाक्लिँदै गएको छ ।

यससँगै सङ्गीतकर्मी र सङ्गीत उद्योगको कार्यशैली र रणनीति बदलिएको छ । उनीहरूको ध्यान ‘यु  ट्युब’ तिर केन्द्रित हुन थालेका छन् । अहिले गीतको लोकप्रियता ‘यु ट्युब’ को ‘भ्युवरसिप’ निर्धारण गर्न थालेको छ ।  हिजो यस्तो थिएन । यो नयाँ ट्रेन्ड हो ।

सङ्गीत उद्योगको अर्थशास्त्र पनि यु ‘यु ट्युब'को भ्युवरसिपसँग नै जोडिएको छ । भिडियो सेयरिङ साइट ‘यु ‘‘यु ट्युब’ ले मनिटाइजेसनको प्रावधान ल्याएपछि ‘यु ट्युब’ मा भिडियो अपलोड गर्ने होड नै चलेको छ, जसमा कलाकार स्वयं र सम्बन्धित म्युजिक कम्पनी सामेल छन् ।

पुराना गीत अपलोड गर्ने क्रममा पुराना गीतले पनि राम्रै प्राथमिकता पाउन  थालेका छन् । कतिपय ‘यु ट्युबर  ले अरूका गीत आफ्ना च्यानलमा अनाधिकृत रूपमा राख्ने प्रवृत्ति देखापरेको छ ।

हालका दिनमा पुराना लोकगीत खोजीखोजी अपलोड गर्ने प्रवृत्ति बढेको छ । यसो हुनुमा ‘यु ट्युब' को मनिटाइजेसन नीतिलाई कारक तत्व मान्न सकिन्छ । यद्यपि, कतिपयले गीत मन परेर अर्थोपार्जन गर्ने मनाशय नराखी पुराना लोकगीत अपलोड गरेका छन् । योे तथ्यलाई पनि भुल्न मिल्दैन ।

कतिपय यु ‘यु ट्युबर’ ले आफ्ना च्यानलमा राखेका पुराना लोकगीत प्रतिलिपि अधिकारका दृष्टिले कति नियमसम्मत छ ? त्यो बेग्लै विश्लेषणको विषय हुनसक्छ । तर, ‘यु ट्युब’ भरि छताछुल्ल पुराना गीत सुनेर मनोरञ्जन लिन चाहनेको मनोकांक्षा पूरा हुन थालेको छ ।

'यु ट्युब' मा पुराना लोकगीत अपलोड गर्ने परिपाटी सम्पदा अभिलेखीकरण र विस्तारीकरणको एउटा महत्वपूर्ण हिस्सा बनेको छ, जुन प्रविधिले दिएको सुन्दर वरदान हो । यसबाट मौलिक साङ्गीतिक सम्पदाको श्रीवृद्धिमा योगदान पुगेको छ ।

‘यु ट्युब’ मा नयाँ नयाँ ट्रेन्डका गीत टनाटन छन् । संसारभरबाट ‘यु ट्युब’ मा भिडियो अपलोड भइरहँदा प्रत्येक मिनेट तीन सय घण्टाको भिडियो अपलोड हुने तथ्याङ्कले देखाएको छ ।

त्यसमा नेपालको हिस्सेदारी कति छ, त्यसबारे कुनै यकिन आँकडा छैन । तर, नेपालबाट पनि उत्साहजनक किसिमले भिडियो अपलोड भएका छन् ।

‘यु ट्युब’ मा अपलोड भएका पुराना लोकगीतलाई एउटा अडियन्सले मन पराएका छन् । त्यसमा भ्युअरसिप पनि उत्साहजनक निकै बढेको छ । उनीहरूबाट प्रेमपूर्ण प्रतिक्रिया पनि आइरहेका छन् ।

चेतमान गुरुङ, नायाण रायमाझी, लक्ष्मी न्यौपाने र चन्द्र गुरुङको स्वरमा रहेको स्वरमा गुञ्जिएको ‘शिरमा रिबन’ बोलको गीतमा प्रवीण दर्लामी मगरले प्रतिक्रिया लेखेका छन्, ‘यो गीत २०–२५ पटक सुनिसकेँ । अझै धित मरेको छैन ।’

त्यही गीतमा विजय सिंहले गीत जति सुने पनि मन नभरिएको प्रतिक्रिया दिँदै फेरि पनि यस्तै गीत ल्याउन आग्रह गरेका छन् ।

समयले पछि पारेका तर जनमनमा अमिट छाप पार्न सफल यस्ता गीतको पुनरागमनले लोकसङ्गीत अनुरागी तथा अध्येताहरूका अगाडि सुन्दर अवसर ल्याइदिएको छ ।

त्यो हो, पुराना लोकसम्पदाबाट अनुप्राणित हुने र तिनलाई विभिन्न दृष्टिबाट विश्लेषण गर्ने । ‘सिलिकन भ्याली’ को अत्याधुनिक ‘क्लाउड स्टोरेज’ बाट उदाएका यी सांस्कृतिक सम्पदा हाम्रा लागि अनुपम उपहार हुन् ।

यस्ता सांस्कृतिक सम्पदाको उभारले सांस्कृतिक चेतको विकास र मौलिक लोकगीतको श्रीवृद्धिमा रचनात्मक योगदान पुग्नेमा झिनो आशा पलाएको छ ।

[साभार: लोकसंवाद । २०७६ साल असार ६ गते ।]

Friday, May 24, 2019

शिष्टाताको बाटो बिराउँदै लोकगीत

यमबहादुर दुरा

लोकगीत मानव अभिव्यक्तिको एउटा सुन्दरतम् माध्यम हो । असली लोकगीतको शब्द, लय र भावमा सुन्दरताको भुमरी भेटिन्छन् । यहीँनेर लोकगीतको सुन्दरता र भव्यता जोडिएको छ ।

लोकगीतले दिने यस किसिमको सौन्दर्यात्मक आनन्द  (Aesthetic joy) का कारण आमनागरिक लोकगीतप्रति हुरुक्क हुन्छन् ।

लोकगीतको परम्परागत प्रवृत्तिलाई हेर्ने हो भने लोकगीत शिष्टता, मर्यादा र विनयशीलताको खानी हो । ‘मै गीत गाउँ कि सुनखानीमा पितलु मिसाउँ कि’, ‘म त हजूर डढेलोको ठूटोजस्तो, मेरो माया पूर्नेको जूनजस्तो’ । यी लोकगीतका त्यस्ता हरफ हुन्, जसमा शिष्टता, मर्यादा र विनयशीलता छचल्किन्छन् । नेपाली लोकगीतको मूल प्रवृत्ति यही हो ।

तर, समयको यो विन्दुमा आइपुग्दा नेपाली लोकगीतको स्वाभावमा अपत्यारिला परिवर्तनहरू आएका छन् । विगतमा लोकगीत मूलतः आत्मिक सुख र शान्तिको सुन्दर माध्यम बनेको थियो । लोकगीत अहिले व्यापारिक वस्तु बन्न थालिसकेको छ । यससँगै लोकगीतमा शिष्टता, मर्यादा र विनयशीलता क्षयीकरण हुँदै गएको छ, जुन लोकगीतका बहुसंख्यक अनुरागीहरूले अनुभूत गर्दै आएका छन् ।

यतिबेला, नेपाली लोकगीत प्रश्नहरूको घेरमा छ । लोकगीत प्रश्नहरूको घेराबन्दीमा रहेको बेला यसबारे अनेकन् टीका–टिप्पणी सुनिन थालेको छ : लोकगीत विकृतिग्रस्त हुन थाल्यो, लोकगीतमा अश्लीलता बढ्न थाल्यो, लोकगीत व्यापारिक वस्तु बन्न थाल्यो, लोकगीतले बाटो बिरायो, आदि ।

यद्यपि, नेपाली लोकगीत हिजोको आजै विकृतिग्रस्त बनेको भने पक्कै होइन । यो कालखण्डसम्म आइपुग्दा लोकगीतले धेरै उतारचढाव भोगेको छ । लोकगीतको मुहान विगतदेखि नै विकृत बन्दै आएको देखिन्छ ।

उदाहरणका लागि देशको राष्ट्रिय प्रसारण संस्था रेडियो नेपालबाट बज्ने लोकगीतहरूलाई लिन सकिन्छ । रेडियो नेपालले एकतिर देशको कुना–कन्दरामा प्रचलित मौलिक लोकभाकाहरूलाई उजागर गर्ने गर्‍यो भने अर्कोतिर सुन्न असहज लाग्ने गीतहरू लोकगीतका नाममा प्रसारण गरेर विकृतिलाई प्रश्रय पनि दियो ।

यसभन्दा अघिका कालखण्डहरूलाई हेर्ने हो भने लोकगीतमा उतारचढाव आएका छन् । सन् १८१६ मा इष्ट इन्डिया कम्पनीसँग भएको सुगौली सन्धिबाट नेपालको राष्ट्रिय स्वाभिमानमा ठूलो चोट लाग्यो । त्यसपछि लोककविहरूको रचनाकारिता भक्तिमार्गतिर मोडिएको देखिन्छ ।

राणाकालमा चेतनाका गीत र कवितामा प्रतिबन्ध लागेपछि त्यस समयका रचनाहरू श्रङ्गारिक धारतिर प्रवाहित भएको देखिन्छ । यद्यपि, सबै श्रङ्गारिक गीत वा रचनाहरू विकृतिग्रस्त हुन्छन् भन्ने कदापि होइन ।

अहिलेको सूचना क्रान्तिको युगमा दुनियाँले धेरै ठूलो फड्को मारेको छ । मानिसका अभिव्यक्ति शैली र प्रवृत्तिहरूमा व्यापक परिवर्तन आएको छ । अहिलेका दोहोरीगीत सुन्दा र लोकगीतसम्बन्धी म्युजिक भिडियोहरू हेर्दा लोकगीतले ठूलै वेग हानेको अनुभूति हुन्छ ।

अहिलेका दोहोरीगीतको शैली हेर्दा सीधै जोरी खोज्ने, सोझै लान्छु–लैजान्छु भन्ने, सीधै दागा धर्ने, खसालेर बोल्ने, अश्लील र अशिष्ट शब्दावली प्रयोग गर्नेजस्ता प्रवृत्तिको बाढी देखिन्छ । यसबाट सामाजिक शिष्टता, मर्यादा र विनयशीलतामा तीव्र क्षयीकरण भइरहेको छ ।

यसका पछाडि विभिन्न कारक तत्वहरू छन् । विश्वव्यापीकरणको लहरसँगै आएको खुलापनले यस्तो प्रवृत्तिलाई थप बल दिएको छ । त्यसमा पनि, हरेक कुरालाई बिकाउ वस्तु (Commodity goods) को रूपमा बेच्ने पूँजीवादी परिपाटीले लोकगीतलाई पनि बिकाउ वस्तुकै रूपमा देख्छ । सोही अनुसारको व्यवहार भइरहेको छ ।

शहरमा खुलेका दोहोरी रेष्टुरेष्टहरूले ग्राहक पल्काउन सस्तो मायाप्रेमका गीतलाई प्राथमिकता दिएका छन् । विभिन्न महोत्सवमा हुने दोहोरीगीत पनि विकृतिको स्रोत बनेको छ, जहाँ कलाकारहरूले भीडलाई तताउन र उत्तेजित पार्न सोही अनुसारका उत्ताउला गीत गाउँछन् । यसबाट पनि लोकगीतको शिष्टता र मर्यादामा नपत्याउँदो किसिमले धक्का पुगेको छ ।

यहाँनेर, फ्रयाक्फर्ट स्कुलका थिङ्क ट्याङ्क थियोडोर अडोर्नो (सन् १९०३–१९६९) र म्याक्स होर्खामर (सन् १८९५–१९७३) ले ‘कल्चर इन्डष्ट्री’ शीर्षकको लेखमा  हाम्रा सांस्कृतिक अवयवहरू कसरी व्यापारिक वस्तु बन्दैछन् भन्ने सम्बन्धमा दिएका व्याख्यान सान्दर्भिक हुन आउँछ ।

हाम्रा सांस्कृतिक अवयवहरू व्यापारिक वस्तु बनेका छन् र आमसञ्चार माध्यमले तिनीहरूलाई फराकिलो घेरामा विस्तार गर्नमा सहयोगी भूमिका खेलेका छन् भन्ने उनीहरूको निष्कर्ष छ । वास्तविकता पनि यही हो ।

अहिले हाम्रा लोकगीतहरू पनि निर्धक्क किसिमले व्यापारिक वस्तु बनिसकेका छन् । व्यापारको नियम नै हो-जसो गर्दा ती व्यापारिक वस्तु बिक्छन्, सोही अनुकूलका सूत्र अपनाएर वस्तु बेचिन्छ ।

यतिबेला, संस्कृतिलाई वस्तुको रूपमा बेच्ने काम व्यापक रूपमा भइरहेको छ । यसको नतिजा के भएको छ भने लोकगीतको अनुहारमा औद्योगिक पूँजीवादको प्रतिविम्ब स्पष्ट रूपमा देखिन थालेको छ  ।

परम्परागत रूपमा सीधा घोचपेच, अश्लील शब्द र अशिष्ट व्यवहार लोकगीतमा उचित मानिँदैनथ्यो । तर, अहिले त्यही उचित नमानिएको व्यवहारलाई नै अहिले अनुकरण गर्न थालिएको छ । यसले लोकगीतको मर्ममाथि सीधा प्रहार गरेको छ ।

विष्णुनारायण भातखण्डे (सन् १८६०–१९३६), पण्डित विष्ण दिगम्बर पलुस्कर (सन् १८७२–१८३१) जस्ता चर्चित भारतीय सङ्गीतज्ञ भारतको सङ्गीतिक परम्पराको गहिरो अध्ययन गरे । उनीहरूले भारतको विभिन्न भागको भ्रमण गरी आ–आफ्नै ढङ्गले लोकगीतका विभिन्न पक्षको अध्ययन गरे ।

उनीहरूले अध्ययनका क्रममा लोकगीतसँग जोडिएको एउटा रोचक तथ्य फेला पारे । उनीहरूले के पाए भने उच्चघरानाका मानिसहरूले लोकगीतका कलाकारसँग दूरी राख्थे । उनीहरूले आफ्ना छोराछोरीलाई लोकसङ्गीत सिक्न पनि दिँदैनथे ।

यसो हुनुको कारण थियो, तत्कालीन समयमा लोकगीतमा व्यक्त भएका सस्तो मायाप्रेमका प्रसंग र अश्लील गीतहरू । यो कुरा थाहा  पाएपछि ती अध्येताको ध्यान लोकगीतका विकृतिहरू मेट्नतिर केन्द्रित भयो ।

हाम्रा सांस्कृतिक पहिचानको रूपमा रहेको लोकगीतले पनि प्रत्यक्ष वा परोक्ष रूपमा यस्तै नियति भोगिरहेको छ । यस्तै विकृतिहरू मौलाइरहेका छन्, जुन दुःखद विषय हो ।

लोकगीत सार्वजनिक अभिव्यक्तिको माध्यम हो । सार्वजनिक अभिव्यक्तिमा शिष्टता, मर्यादा र विनयशीलता उच्च स्थान पाउनुपर्छ । लोकगीतमा यस्ता तत्वहरूको प्रचुरता रहेमा लोकगीत र सङ्गीत उद्योग दुवैका लागि हितकर हुनेमा द्विविधा छैन ।

[साभार: लोकसंवाद । २०७६ साल जेठ १० गते । परिमार्जित संस्करण ।]

Friday, May 17, 2019

जगमगाउँदा–मगमगाउँदा सांस्कृतिक निधि

-यमबहादुर दुरा

‘सारङ्गीको तारले मेरो मनको गीत गाउँछ, लेकदेखि बेसीसम्म गाइने गीत गाउँछ’ साहित्यकार मनबहादुर मुखियाले रचेको यो गीतको हरफले नेपालका गन्धर्व समुदायको साङ्गीतिक कर्म र गरिमा उजिल्याएको छ । गीतको यो हरफले गाउँघर डुल्दै युद्ध–विभीषिकादेखि मायामोहसम्मका लयदार गीत गाउँदै हिँड्ने गन्धर्व समुदायबारे थोरै शब्दमा धेरै तथ्य बोलेको छ ।

राष्ट्रिय जनगणना, २०६८ का अनुसार नेपालमा गन्धर्व समुदायको जनसंख्या ६ हजार ७ सय ९१ छ । जनसंख्याको दृष्टिले सानो भए पनि गन्धर्व समुदायले समाजमा छाडेको साङ्गीतिक प्रभाव व्यापक र गहिरो छ ।
तस्बिर:  गुगल

नेपाल एकीकरणको समयमा गन्धर्वहरूले खेलेको सूचना सम्वाहकको भूमिकालाई इतिहासको पानामा मुक्तकण्ठले प्रशंसा गरिएको पाइन्छ । कास्की हेम्जाकी हीरादेवी गाइनेनी, मणिराज गाइने घटनाप्रधान गीत कर्खा गाउनमा चर्चित ठहरिन्छन् । नेपालको साङ्गीतिक परिदृश्यमा बखतवीर बूढापिर्थीको नाम सम्मानपूर्वक लिइन्छ । उनले चक्रपाणि चालिसेले लेखेको राष्ट्रिय गीतमा सङ्गीत भरेको इतिहास छ ।

उनीभन्दा पछि नेपालको साङ्गीतिक परिवेशमा उदाएका झलकमान गन्धर्व (वि.सं. १९९२–२०६०), तीर्थबहादुर गन्धर्व (वि.सं. २०१०–२०७०), जङ्गबहादुर गन्धर्व (वि.सं. २००७–२०७०) जस्ता साङ्गीतिक शिल्पीहरूले साङ्गीतिक क्षेत्रमा योगदान प्रशंसनीय छ ।

उनीहरूले मूलतः नेपाली लोकगीतको ‘पपुलर’ धारमा दिएका योगदान अहिले अध्ययनको विषय बनेको छ ।  मिडियामा छाउने शौभाग्य नपाएका तर गाउँबस्तीलाई आफ्ना कला र गलाले अतिशय प्रभावित तुल्याएका अन्य गन्धर्व प्रतिभाहरूको खोजी झन ठूलो विषय हो ।

एक समयमा गन्धर्व समुदाय नवीनतम् सूचनाको स्रोत मानिन्थे । गाउँबस्ती डुल्दै हिँड्ने भएकाले उनीहरूलाई समाजमा विकसित घटनाक्रमको जानकारी हुन्थ्यो । उनीहरूले कुनै व्यक्तिले बाघ मारेको बहादुरीपूर्ण घटनादेखि तथा  जुवाडे बाउले आफ्नै छोरीको ज्यान लिएको नृशंस हत्याकाण्डहरूलाई घटनाप्रधान गीत बनाउँथे । त्यस्ता गीतलाई गाउँ–गाउँ डुलेर गाउँथे । यातायातको नेटवर्क विस्तार नभएको र आमसञ्चार माध्यमको विष्फोटक उपस्थिति नभएको त्यस समयमा उनीहरू समाचारको स्रोत मानिन्थे ।

उनीहरूको यस्ता सूचनाप्रधान गतिविधिलाई अवलोकन गरेर कतिपय विदेशी अनुसन्धाताले गन्धर्व समुदायलाई ‘जिउँदो समाचारपत्र’ भनेर नामकरण गरेको पाइन्छ । व्यक्तिको हात हातमा मोबाइल फोन पुगेको वर्तमान घडीमा मानिसलाई सूचनाको कमी छैन । हिजोका दिनामा नयाँ सूचनका लागि धेरैले गन्धर्वहरूको मुख ताक्थे ।

पुरानो समयमा गाउँबस्तीमा सुनिने जङ्गबहादुरको कर्खा, चन्द्रशमसेरको कर्खा, सिंहदरबारमा आगलागीसम्बन्धी कर्खा यिनै घटनाप्रधान गीतहरूको श्रृङ्खला हुन् ।

एक समयमा गण्डकी भेगका लाहुरे समुदायबीच गन्धर्वहरू लोकप्रिय थिए । ठूला ठूला आकारका टेप रेकर्डर लिएर गन्धर्वका कर्खा र त्यस समयका पपुलर शैलीका गीत रेकर्ड गर्न गन्धर्वहरूको बाक्लो वासस्थान पोखरा पुुग्थे । रेकर्ड गरिएका चक्का लाहुरेसँगै विदेश पुग्थे । ती गीत छाउनीमा घन्कन्थे । त्यसबाट लाहुरेहरूले भरपूर  मनोरञ्जन लिन्थे ।

नेपालका लोकभाकाहरू विविधतापूर्ण छन् । यहाँ, हरेक खोल्छा र डाँडामा भाका फेरिन्छ भन्ने भनाइ छ । यी लोकलयहरूलाई एउटा गाउँबाट अर्को गाउँसम्म विस्तार गर्ने र त्यसलाई युगानुकूल परिमार्जित संस्करणमा ढाल्ने कार्यमा पनि गन्धर्व समुदायको उल्लेखनीय भूमिका रह्यो । विगतमा गीत नयाँ थेगो र रहनी थपेर त्यसलाई रसिलो र श्रुतिमधुर बनाउने दिशामा उनीहरूसँग कमैको प्रतिस्पर्धा हुन्थ्यो । माङ्लिक कार्यमा श्लोक हाल्ने र मालाश्री गाउने कार्यमा गन्धर्वहरूले दिएका योगदान स्मरणीय छ ।

वीर रसदेखि श्रृङ्गार रससम्मका गीत गाउन जान्ने यो समुदायको साङगीत विरासत यतिबेला संकटमा छ । अहिले ‘बूढा मरे भाका सरे’ भन्ने उखान अहिले असत्य जस्तो देखिएको छ । स्याटलाइट संस्कृति र ‘साइबर फेस्टिबल’ को आगमनले उनीहरू छायाँमा पर्न थालेका छन् ।

देशले सधैँभरि अभिनन्दन गरे पनि कम हुने यो समुदायको सामाजिक हैसियतचाहिँ कमजोर नै छ । शहरबजारका कुनाकाप्चा र राजमार्गका गाडीमा भेटिने यो समुदायलाई वर्तमान नेपाली लोकगीतको अनौपचारिक राजदूत भन्न सकिन्छ ।

तर, तहगत सामाजिक संरचनामा आधारित नेपाली समाजले उनीहरूलाई डुल्दै हिँड्ने र मागेर खाने जाति भनेर हेप्दै आएको छ । अहिले पनि मागेर नल्याए चुल्हो नबल्ने अवस्थामा कतिपय गन्धर्व परिवार छन् । उनीहको आर्थिक अवस्था सुधार्न विशेष कार्यक्रम ल्याइनु आवश्यक छ ।

गीत गाउने भएकाले हुनसक्छ, उनीहरू परम्परागत रूपमा ‘गाइने’ नामले चिनिन्छन् । ‘गाइने’ भन्दा उनीहरूले अपमानित अनुभूत गरेकाले पछि गन्धर्व भन्न थालियो । गन्धर्व शब्द हिन्दू धर्मग्रन्थ उल्लिखित शब्द हो । सन्दर्भ सामग्रीहरूमा वर्णित प्रसंग अनुसार गन्धर्व सङ्गीत र कलामा विशिष्ट शक्तियुक्त मानवेतर प्राणी हुन् । गन्धर्वलाई मानव र देवता सूचना आदानप्रदान गर्ने खबरदूतको रूपमा पनि चित्रण गरिएको पाइन्छ ।
तस्बिर:  गुगल

गन्धर्व शब्दको अंग्रेजी समानार्थी शब्द मिन्स्ट्रल हुन सक्छ । मिन्स्ट्रल शब्दले मध्यकालीन युरोपमा गीत गाएर मनोरञ्जन दिने साङ्गीतिक समुदायलाई जनाउँछ ।

जतिसुकै सम्मानसूचनक शब्द प्रयोग गरिए पनि समाजले देखाउने हेयकारी व्यवहारबाट नेपालका गन्धर्वहरू मुक्त छैनन् । उनीहरूले सम्मानित अनुभूत गर्न पाएका छैनन् । लोकगीतको माध्यमबाट देशको सांस्कृतिक धरोहर धान्ने शिल्पीहरूप्रति हुने यस्ता व्यवहार ग्राह्य छैन ।

देशको विविधतापूर्ण सांस्कृतिक कोलाजमा सुन्दर रङ थप्ने र लोकगीतलाई समृद्ध बनाउने दिशामा उनीहरूको योगदान वन्दनीय छ । उनीहरू देशकै सम्पत्ति हुन् । उनीहरू जगमगाउँदा–मगमगाउँदा सांस्कृतिक निधि हुन् ।

राज्यले उनीहरूलाई साङ्गीतिक अवसरहरू मार्फत रोजगारी दिनुपर्छ । यसबाट देश र गन्धर्व समुदायलाई हित हुन्छ । यसका अतिरिक्त, उनीहरूको साङ्गीतिक विरासत र साङ्गीतिक प्रवृत्तिहरूबारे संस्थागत रूपमै खोजअनुसन्धान अघि बढाउनुपर्छ ।  यसो गरेमा देशका साङ्गीतिक शिल्पीहरूप्रति सही सम्मान गरेको ठहरिन्छ ।

[साभार: लोकसंवाद । २०७६ साल जेठ ३ गते । परिमार्जित संस्करण ।]

अद्यावधिक २०७६।०१।०६

Saturday, May 11, 2019

सङ्गीतमा चन्द्रमा दाहिने हुने आशा

-यमबहादुर दुरा

दोलखाको ग्रामीण परिवेश । त्यहाँका वनपाखा र मेलापातमा स्वाभाविक रूपमा लोकभाकाहरू गुञ्जन्थे । त्यहाँ प्रतिध्वनित हुने लोकभाकाहरूमा उनकै आमाको स्वर पनि मिसिन्थ्यो । उनी आमाको कला र गलाबाट प्रभावित थिइन् । उनलाई आफ्नै आमाले हालेको भाका बिछट्टै मनमोहक लाग्थ्यो ।

लक्ष्मी बस्नेत लोकगीतको क्षेत्रमा एक किसिमको पहिचान बनाएकी प्रतिभा हुन् । आमाले वनपात र ढिकीजाँतो गर्दा गुनगुनाएका गीतका भाका र शब्दले उनको मनमस्तिष्कमा बसेका थिए । यसबाट नजानिँदो किसिमले लोकगीतप्रति उनको मोहभाव बढ्दै गयो । यस्तैमा उनी मुटुभरि अनेकन् सपना सजाएर राजधानी भित्रिइन् । उनको सपनाहरूको चाङमा गीत गाउने सपना पनि थियो । लोकगीतप्रति मोहभाव भए पनि यस क्षेत्रमा उत्पात गरिहाल्छु भन्ने उनलाई लागेको थिएन ।

तर पनि लोकप्रतिको मोहभाव प्रकट भरहन्थ्यो । लोकगीतप्रतिको उनको रुचि देखेर उनका अग्रज डीबी गुरुङले रेडियो नेपालमा गीत गाउने चाँजोपाँजो मिलाइदिए । उनी रेडियो नेपालले २०५० सालमा आयोजना गरेको अधिराज्यव्यापी लोकगीत प्रतियोगितामा प्रतिस्पर्धी बनिन् । उनी प्रतियोगितामा दोस्रो भइन् । उनले त्यतिबेला गीतको बोल थियो : ‘मखमली फूल दाजु मखमली फूल...’। त्यस समयममा त्यो गीत धेरैको जिब्रोमा झुण्डियो ।

यससँगै उनको लोकप्रियता पारो चढ्दै गयो । चिनजानको दायरा बढ्दै गयो । छोटो समयमै ज्यामितीय दरमा उनको साङ्गीतिक उन्नयन भयो । गीत गाउने अफरको आउन थाल्यो । पछि पछि त चलचित्रमा खेल्ने अफर पनि आयो । उनले राम थापा, कृष्णसुधा ढुङ्गाना, शम्भु राईलगायतका अग्रज कलाकारहरूसँग गीत गाएर गाउँबस्तीका लोकभाकाहरूलाई जन–जनसम्म विस्तार गर्न सघाइन् । उनले २०५० देखि २०५३ सालम्म राष्ट्रिय नाचघरमा गायिकाको रूपमा काम गरिन् । त्यस समयमा उनी साङ्गीतिक गतिविधिहरूमा व्यस्त भइन् । उनका लागि त्यो समय निकै उर्वर थियो । उनको साङ्गीतिक सिर्जना मौलाउँदै गए ।

दोहोरीगीत प्रतियोगिताहरूमा पनि फटाफट विजयी बन्दै गइन् । सरगम केन्द्र, नेपाल अपाङ्ग व्यवसायिक महासंघ र लाइन्स क्लब अफ काठमाडौंले क्रमशः २०५०, २०५० र २०५२ सालमा आयोजना गरेका दोहोरीगीत प्रतियोगितामा प्रथम  भइन् । अफिसको काम, रेकर्डिङ र स्टेज कार्यक्रमहरूमा व्यस्त हुन थालिन् । चन्द्रमा दाहिने परेको बेला थियो । उनलाई भ्यान–नभ्याई थियो ।

यस्तैमा कताकता उनको दिल–दिमागमा विदेश जाने भूत सवार भयो । विदेश जाने साइत पनि जुरिहाल्यो । उनी आफ्ना सारा साङ्गीतिक गतिविधिहरू थाती राखेर जापानतिर लागिन् । राष्ट्रिय नाचघरमा कार्यरत रहेको अवस्थामा उनको पाइला विदेशी भूमितिर बढ्यो । त्यसपछि केही वर्ष बेलायततिर भुलिन् । परदेश पलायनले निरन्तर प्रगतिततर्फ उन्मुख भइरहेको उनको साङ्गीतिक यात्रामा ब्रेक लगाउने काम गर्‍यो  ।

उनी २०५९ सालमा नेपाल फर्किइन् । त्यतिञ्जेलसम्म धेरै क्यालेन्डरका पानाहरू पल्टिसकेका थिए । समयले भाका फेरिसकेको थियो । नेपाल फर्कँदा उनी आफैंलाई बिरानो जस्तो पाइन् । साङ्गीतिक रङ्गमञ्च थुप्रै नयाँ प्रतिभाहरूले भरिभराउ भइसकेको थियो । उनलाई लाग्यो, ‘मेरो साङ्गीतिक परिचान संकटमा पर्दैछ ।’ वास्तविकता पनि त्यही थियो ।

एफएम रेडियोलगायत सञ्चार माध्यमहरूको उभार, पहिल्लो समयमा यु ट्युवजस्ता सोसल मिडियाहरूको दरिलो उपस्थिति, यस्ता मिडियामा नयाँ पुस्ताको उत्साहजनक उपस्थिति र समयसँग बदलिएको अडियन्सको टेस्टले साङ्गीतिक क्षेत्र अरू क्षेत्रजस्तै प्रतिस्पर्धात्मक बनिरहेको छ । लक्ष्मी बस्नेत यो वास्तविकतासँग पूरापुर जानकार छिन् । उनी कसैसँग प्रतिस्पर्धा गर्ने मुडमा छैनन् । न त यो कुनै बुद्धिमत्तापूर्ण व्यवाहार हो । तर, उनी समयले मधुरो बनाउँदै गएको आफ्नो साङ्गीतिक पहिचानलाई चहकिलो बनाउने सोचमा छिन् । यसअनुसार उनी केही हदसम्म अगाडि पनि बढिसकेकी छिन् ।

उनले लगातार दुई वर्ष तीजसम्बन्धी गीत निकालिन् ।  २०७४ र २०७५ साल क्रमशः मा ‘हे शिव भगवान’  र ‘भाइरल भुन्टी’ शीर्षकमा म्युजिक भिडियो निकालिन् । उनले घमेस दुलालसँग अल्बम निकालिन् । उनले गाएको गीतको एउटा लाइन यस्तो थियो : ‘गाईवस्तु बाँधेको किला, माया लाउन मिल्ला कि नमिल्ला’ । यी रमाइलो प्रकृतिका गीत हुन् । उनले विक्रमबाबु विश्वकर्मासँग मिलेर ‘आसुको विजेता’ शीर्षकमा गम्भीर प्रकृतिका साङ्गीतिक कोसेली अडियन्स समक्ष पस्किइन् । यसैगरी, तिहारको सांस्कृतिक पक्ष झल्कने गरी ‘देउसी–भैली’ म्युजिक भिडियो ल्याइन् । नरहरि प्रेमीसँग सहकार्य गरेर उनले यो सांस्कृतिक कोसेली  ल्याएकी थिइन् । साङ्गीतिक क्षेत्रमा उनको पुनरागमन भइसकेको छ ।

एकाग्र भएर लोकसङ्गीत साधनामा तल्लीन समयले अनुमति दिइरहेको छैन । अब उनी विशुद्ध कलाकारमात्र रहिनन् । उनी एक गैरसरकारी संस्थामा पूर्णकालीन कर्मचारी हुन् । उनको अधिकांश समय कार्यालयका गतिविधिले खाइदिन्छ । कहिले अफिसको डेक्स वर्क त कहिले स्थलगत भ्रमण । बचेको समयमा उनले कलासाधना गर्ने हो ।  यस्तो अवस्थामा उनका अगाडि चुनौतीको पहाड खडा भएको छ । तर, उनीसँग हिम्मत छ । ‘वर्षमा एउटा गीत निकाल्ने योजना छ’, उनी कार्ययोजना सुनाउँछिन् । आशा गरौं, उनको फेरि पनि चन्द्रामा दाहिने हुनेछ ।

[साभार: लोकसंवाद ।२०७६ वैशाख २७ गते ।]

Saturday, May 4, 2019

पीपलसँगै बर

-यमबहादुर दुरा

समय प्रवाहमय छ । समयको सतत् प्रवाहमा लोकजीवनका धेरै पाटाहरू ओझेलमा पर्दैछन् । सँगसँगै जनजीवनका नवीनतम् पाटाहरू नयाँ रूपरङ्गमा दृष्टिगोचर हुँदैछन् । अहिले डिजिटल चौतारीहरूको उभार आएको छ । डिजिटल चौतारी (सोसल मिडिया) मा थकाइ मार्ने, गफगाफ गर्ने, नयाँ साथीसंगी–दौंतरीहरूसँग भेटघाट गर्ने क्रम बढ्दो छ ।

डिजिटल चौतारीले बलवान् समयको साथ पाएर स्वर्ण युगततर्फ उन्मुख छ । तर, हाम्रा बाउबाजेले बनाएका वास्ताविक चौतारी भने अधपतनतर्फ उन्मुख छ । माकुराको जालो जस्तो गरी बनेका मोटरको बाटोले चौतारीलाई बिरानो बनाउँदै लगेको छ । अब, नयाँ चौतारी बन्ने सिलसिला धेरै हदसम्म अन्त्य भएको छ । भएका  धेरैजसो चौतारीहरू मर्मत–सम्भारको अभावमा जीर्ण हुँदै गएका छन् । भए-गरेका चौतारी पनि बटुवा, खेतला–गोठाला र भरियाको अभावमा शून्य र निष्प्रण बन्दैछन् ।

विगतमा चौतारी लोकजीवनको अभिन्न अङ्ग थियो । हामीकहाँ एउटा उखान प्रचलित छ, ‘चोरलाई चौतारो साधुलाई सूली’ । यसले हाम्रो सामाजिक मनोविज्ञानलाई त इङ्गित गरेको छ नै, चौतारी न्याय निसाफ छिन्ने थलो पनि थियो भन्ने दर्साउँछ ।  हुन पनि, विगतमा चौतारीमै कहचरी बसिन्थ्यो, त्यही न्याय-निसाफ छिनिन्थ्यो । 

विगतमा चौतारी बहुउद्देश्यीय जमघटको थलो थियो । चौतारी भेटघाट र जमघटको उर्वर थलो थियो ।  बटुवा, खेतला–गोठाला र भरियाले चौतारीमा थकाइ मार्थे । उनीहरूबीच एकआपसमा वार्तालाप हुन्थ्यो । हुने जमघटले असंख्य रसिलो-भरिलो लोकगीत जन्माउन सघायो  । प्रस्तुत लोकगीत चौतारीले नै जन्माएको प्रतीत हुन्छ:
 यो मायाले गरेन वास्ता
 चौतारीको छेवैमा मै बस्दा

 चौतारीमा एकआपसमा मनको वह पोखिन्थ्यो । स्थानीय जनजीवनसँग जोडिएका घटनाक्रमबारे सूचना आदानप्रदान हुन्थ्यो । विगतमा चौतारी विश्रामस्थल वा आश्रयस्थलमात्र नभएर सूचना केन्द्र पनि थियो ।  अल्लो गाउँ पल्लो गाउँका बासिन्दा र चेलीबेटी-माइतीको सूचना आदान प्रदान गर्नमा चौतारीको भेटघाटले ठूलो भूमिका खेल्थ्यो ।

धर्मभीरु नेपाली समाजमा चौतारीको बेग्लै महत्व छ । चौतारी बनाउँदा पूण्य मिल्छ भन्ने आममान्यता छ । विगतमा पूण्यात्माहरूले ठाउँ ठाउँमा चौतारी बनाउथे । त्यसमा बरपीपलको बोट सार्थेे । बरलाई बेहुला र पीपललाई बेहुली बनाएर विवाह गरिदिन्थे । सानोतिनो भोजभतेरको चाँजोपाँजो मिलाइन्थ्यो । चैत–वैशाखको याममा बटुवाका तिर्खा मेट्न घैंटामा चिसो पानीको व्यवस्था गरिन्थ्यो ।

चौतारी संस्कृतिमा जोडिएको बरपीपलको प्रसङ्गलाई लिएर अनेकन् लोकगीत रचिएका छन् । धेरैले सुनेको एउटा गीत छ, जसले चौतारी र ग्रामीण जीवनको अन्तरसम्बन्धबारे जीवन्त तस्बिर उतारेको छ :
 
पीपलसँगै बर
पीपलुको छायाँमुनि मायालुको घर 

बर-पीपलको गाथा यत्तिमै सकिँदैन । हिन्दू धर्ममा बर-पीपलको निकै महत्व छ । पूजापाठमा बरपीपलको पात अनिवार्य मानिन्छ । देवात्मा, अश्वत्थ, वृक्षराज आदि नामले परिचित पीपलको वृक्षमा देवताको बास हुन्छ भन्ने मान्यताले गहिरोसँग जरो गाडेको छ ।

यही मान्यतामा आधारित भएर कतिपय देवीदेवताका थान पीपलमुनि स्थापित छन् । पीपलको विरुवा सार्दा र पीपलको वृक्षलाई दाहिने पारेर घुम्दा शुभघडी आउँछ मान्यता पनि उत्तिकै बलियो छ । प्रस्तुत गीतले यही वास्तविकता उजागर गर्छ :
  डाँडैमा पीपल सारेर
 भेट हुन आउनू है मायालु त्यही पीपल दाहिने पारेर 

गुणी वृक्ष बर–पीपलसँग धेरैको सम्झना जोडिएका छन् । ग्रामीणजनहरूका कुराकानीमा लहरे पीपल, ढल्के बर आदि शब्दावली सुनिन्छन्, जुन गीतमा पनि प्रतिविम्बित हुन्छन् । नीता पुन मगरले यिनै शब्दावली प्रयोग भावुक गीत गाएकी छिन् :

‘लहरे पीपल ढल्के बरैको, 
कर्मघर जुन ठाउँमा भए नि झल्को आउँछ, माइतीघरैको 

चेतनशील प्राणी हुनुको नाताले मृत्युचेत मानिसमा प्रबल छ । उसका लागि मृत्यु सबैभन्दा ठूलो सत्य  पनि हो । हरेक व्यक्तिमा मृत्युचेत भए पनि कसै यो चेत धेरै नै बढी हुन्छ । हाम्रा बूढापाकाहरूले आफ्नो मृत्युको तिथिमिति मिलाउँथे भन्ने भनाइ पनि गाउँघरमा सुनिन्छ । चौतारीमा सारिने पीपलको पीपलको वृक्षलाई विम्ब र सूचक मानेर मृत्युचेतबारे गीत रचिएका छन् । त्यही भएर त बूढापाकाले भन्ने गर्थे: 
अहिले साल मरिन्छ क्यारे 
ओइलायो राम्दीमा पीपलु

चौतारी संस्कृति र यससँग जोडिएका विविध पक्षबारे असंख्य गीत भेटिन्छन् । तर, ती गीत सग्लो रूपमा छैनन् । चौतारी संस्कृतिलाई मात्र केन्द्रमा राखेर गीत रचिएको भने त्यति पाइँदैन । अहिलेसम्म भेटिएका गीतले आंशिक रूपमा मात्र चौतारी संस्कृतिलाई छोएको पाइन्छ । जस्तैः ‘देउरालीमा पीपलु चौतारी, पाइनँ मैले हितैको दौँतरी’ । यो गीतमा पीपलु चौतारीको प्रसङ्गलाई ‘पाइनँ मैले हितैको दौँतरी’ भन्ने सन्देश प्रवाह गर्नका लागि मात्र अघि सारिएको देखिन्छ । धेरैजसो नेपाली लोकगीत अन्त्यानुप्रासयुक्त हुनाले अन्त्यानुप्रास मिलाउनका लागि मात्र यहाँ ‘देउरालीमा पीपलु चौतारी’ को प्रसंग आएको छ ।

धेरैजसो अंग्रेजी गीत कुनै खास विषयमा मात्र केन्द्रित भएर बनाइएका हुन्छन् । उदाहरणका लागि कुनै हिमाल, नदी, ताल आदिमा सिङ्गो गीत समर्पित हुन्छन् । नेपाली लोकगीतमा यस्तो परम्परा नभएको होइन तर एकदम कम छ । कुनै निश्चित विषयमा केन्द्रित भएर गीत बनाउने परम्परामा वृद्धि हुन आवश्यक आवश्यक छ । यसो भएमा चौतारीलगायत असंख्यमा विषयमा गाथामूलक गीत तयार हुन सक्थे ।

चौतारी संस्कृति कति पुरानो हो, यसको लेखाजोखा गर्न सहज छैन । चौतारीसँग गाँसिएका तमाम लोकविश्वास र अनुष्ठानलाई अवलोकन गर्दा यो हजारौं वर्ष परम्परा हो भन्न सकिन्छ । यसलाई नेपाली लोकगीतले कति गहिराइका साथ समेटेको छ, यसबारे विशद अध्ययन हुन बाँकी नै छ । गहन खोज अनुसन्धानपछि मात्र लोकगीत र चौतारी संस्कृतिको अन्तरसम्बन्धबारे धेरै पक्ष पटाक्षेप हुन सक्छ । अहिलेलाई यति नै ।

लोकसंवाद । २०७६ साल वैशाख २० गते । ]

[अद्यावधिक : २०७७।०३।१५, २०७८।०७।१२, २०७८।१०।१७]

Friday, April 26, 2019

एउटा विद्रोही स्वर

-यमबहादुर दुरा

फौजी जीवन बीचैमा टुङ्ग्याएर आएका सिपाही । त्यसमा पनि कम्युनिष्ट विचारधाराका अनुयायी । मनमा विद्रोहको राँको सल्काएर गाउँबस्ती चाहर्न मन पराउने नवयुवक । समाजमा विद्यमान भेदभाव र असमानतामाथि चर्को आक्रोशको भाव । तिनै आक्रोशलाई लोकसङ्गीतका ताल र सुरहरूमा उनेर जनजागरणका गीत गाउन रुचाउने एउटा सिर्जनशील व्यक्ति ।

यो सहज बाटो थिएन । तर पनि, प्रचण्डबहादुर बुढाथोकी मगरले यही बाटो रोजे । उनी २०१४ सालमा १६ वर्षको उमेरमै आसाम राइफलमा भर्ती भए तर उनलाई पल्टनमा बुट बजार्ने कुनै रहरै भएन । उनी त्यहाँ एक वर्ष पनि टिक्न सकेनन् । पल्टनको जागिर बीचैमा छाडेर घर फर्किए ।

उनको मनभित्र अर्कै कुराको हुटहुटी चलिरहेको थियो । पल्टनियाँ जीवन त्यागेपछि उनले जनजागरणको गीत गाउन थाले । फौजी जिन्दगी भोगिसकेका उनले युवाहरूलाई लाहुर नजान आग्रह गर्दै गीत गाए । उनले गाएका गीतको हरफ ‘लाहुरे हुन नजाऊ दाइ अब त, खेर गयो नेपाली रगत’, ‘फर्किआऊ दाइ छकछके रेलैमा, देशमा जनता जागेको बेलै’, ‘यो देशको हालचाल कस्तो छ, छाती पिटी रोइरहुँ जस्तो छ’ अझै पनि धेरैको स्मृतिमा ताजै छ ।

उनले शुरु शुरुमा भजन, सोरठी सवाइ पनि गए । पछि क्रान्तिकारी गीतमा दिल बस्यो । उनले देश उचाल्ने तागत भएका युवा वर्गको मनोबल बढाउने किसिमका आवाज बुलन्द गरे । ‘युवा तिम्रो काँधमा देश उचाल्ने शक्ति छ, युवा तिम्रो मुटुमा देशको श्रद्धा भक्ति छ’, ‘युवा तिम्रो हातमा वैज्ञानिक जुक्ति छ, तिम्रो हातमा सर्वाहारा गरिबको मुक्ति छ’ जस्ता उनका गीत निकै चर्चित छन् ।

उनी सधैँभरि ‘यथास्थितिवाद’ को विरुद्धमा उभिए । ‘यथास्थितिवाद’ लाई चिर्न उनले क्रान्तिको झिल्को पार्ने गीत गाइरहे । देश र दुनियाँलाई ब्युँझाउन आवाज बुलन्द पारिरहे । अनि, धेरै नरोजेको बाटो रोजेर उनले आफ्नो पृथक परिचान दिए ।

जतिबेला उनले फिल्डमै देखिएर गीत गाउन थाले, त्यतिबेला कलाकारको संख्या नितान्त न्यून थियो । त्यसमा पनि विद्रोहको स्वर उराल्ने कलाकारको संख्या नगन्य थियो । उनी क्रान्तिको गीत गाउने दर्बिलो आवाज भएर अगाडि आए । पछि हटेनन् । उनी ‘जनगायक’ हुनकाु पछाडि एउटा गतिलो पृष्ठभूमि छ ।


अर्घाखाँचीको खिदिममा जन्मेका प्रचण्डबहादुर बुढाथोकीको परिवार बेलैमा नवलपरासी झरेको थियो । नवलपरासीमा उनको र मोदनाथ प्रश्रितको घर टाढा थिएन । उनीहरू एकआपसमा सम्पर्कमा आइरन्थे । उनीहरूबीच राजनीतिक विषय विचारविमर्श भइरहन्थ्यो । विचारविमर्शको निष्कर्ष स्वरूप उनीहरूले माक्र्सवादलाई मार्गदर्शक सिद्धान्तको रूपमा अपनाउने अठोट लिए । सँगै हिँड्ने डुल्ने अन्य साथीसंगीले पनि यसैमा सहमति जनाए ।

उनीहरूको अठोट पहाडको ठाडो खोलाजस्तो जर्कटो थियो । बुढाथोकीले २०२२ सालदेखि विद्रोही गीत गाउन शुरु गरे । यसपछि उनको परिचय ‘जनगायक’ का रूपमा दरिन थाल्यो । उनले अन्याय, अत्याचार र भेदभावविरुद्ध गीतमार्फत आवाज उठाउन थाले । ‘पूर्वमा रातो लालीमा छाउँदैछ, धुरुमा धुरु नरोऊ साइँला हाम्रो दिन आउँदैछ’, ‘पहेँलो धान झारिदियो परेर असिना, कति दिन खेर जाला यो हाम्रो पसिना’ जस्ता गीतले उनभित्र उम्लिरहेको क्रान्तिकारीपनको परिचय दिन्छन् ।


क्रान्तिकारी गीत गाएकाले उनीमाथि राज्यको बक्रदृष्टि परिरहेको थियो । ‘शासक वर्गले आफूहरूलाई शोषक–सामन्ती भनेर गीत गाउँछन् भनेर हामीप्रति बक्रदृष्टि राख्थे’ उनी विगत सम्झन्छन् । शासकको दृष्टिमा अराष्ट्रिय तत्व ठहरिए पनि उनलाई धुरी मानेर लोकङ्गीतको क्षेत्रमा अघि बढ्नेहरूको संख्या पनि कमी थिएन ।

चर्चित लोकगायक लोकबहादुर क्षेत्री उनका अनुयायीमध्ये एक हुन् । क्षेत्री उनलाई गुरु मान्थे, जसबाट उनी निकै प्रभावित थिए । क्षेत्रीको स्वरमा गुञ्जिने लोकप्रिय गीत ‘छोरीलाई नगर हेला, पढ्ने बेला घरधन्दा झमेला’ प्रचण्डबहादुर बुढाथोकीले नै रचेका गीत हुन् ।

उनले राष्ट्रिय प्रसारण संस्था रेडियो नेपालमा धोको फेरेर गीत गाउनै पाएनन् । रेडियो नेपालमा उनका चार–पाँचवटा मात्र गीत छन् । रेडियो नेपालमा गीत सेन्सर गर्ने प्रणाली भएकाले धेरै गीत गाउन पाएनन् । उनका धेरैजसो गीत क्रान्तिकारी प्रकृतिका थिए, जुन व्यवस्था विरोधी आवाज बन्न सक्थ्यो । यही कारण उनका धेरै गीत त्यहाँ रेकर्ड हुन पाएनन् ।

‘ओरालीमा जो झरे पनि मेरै माया झरेझैं लाइरनी भन्थी सानीले’, ‘डरलाग्दो कालीपार पैह्रो, पैह्रोभन्दा पीरति झन गैह्रो’ उनले रेडियो नेपालमा स्वराङ्कन गराएका गीत हुन् । यी गीत उनले नगन्य मात्रामा गाएका मायाप्रीतिका गीतमध्ये पर्छन् ।

प्रचण्डबहादुर बुढाथोकी गायनका अतिरिक्त अभिनयमा पनि खप्पिस थिए ।उनी नाटकमा पनि अभिनय गर्थे ।  त्यस समयमा मोदनाथ प्रश्रितले ‘पचास रुपियाँको तमसुक’ शीर्षकमा नाटक लेखेका थिए । उनी नाट्य टोलीमा सहभागी भए । २०२५ सालतिर त्यो नाट्य टोली पूर्वोत्तर भारतको सिलोङ, आसामजस्ता नेपालीभाषीहरू भएको ठाउँमा पुग्यो । टोलीले गोरखपुरको पीपलडाँडामा पनि नाटक प्रस्तुत गर्‍यो ।

पूर्वोत्तर भारतको भ्रमणको मौकामा उनलाई अर्को मौका पनि जुर्‍यो । उनले  रेडियो खर्साङमा गीत गाउने मौका पाए । उनको त्यहाँ मीठो स्वागत भयो ।  त्यतिबेला उनले रेडियो नेपाल र रेडियो खर्साङबीच एउटा कुरामा तात्विक भिन्नता पाए । ‘रेडियो नेपाल गीतमा गीत गाउन चाकडी गर्नुपर्ने तर त्यहाँचाहिँ गीत गाइदिन उनीहरूबाटै अनुरोध आउने’ उनी दुईवटा विरोधाभाषपूर्ण प्रवृत्तिको स्मरण गर्छन् । पूर्वोत्तर भारतका नेपालीभाषीले उनको गीत निकै मन पराए । त्यहाँ उनको ख्याति चुलियो ।

जतिबेला उनले क्रान्तिको झिल्का पार्ने गीत गाउँदै थिए, त्यतिबेला दलविहीन पञ्चायती व्यवस्था उन्मत्त हुँदै थियो । पूर्वोत्तर भारतको नाटक प्रदर्शन गरेर फर्किएपछि मोदनाथ प्रश्रित पक्राउ परे । अरू साथीहरू पनि पक्राउ परे । प्रचण्डबहादुर बुढाथोकीमाथि पनि राज्यको निगरानी बढ्यो । उनी कहिले भूमिगत त अर्धभूमिगत हुँदै हिँड्न थाले । घरको मियो नै हल्लिएपछि घरपरिवारले सास्ती भोग्नुपर्‍यो ।

जीवनमा धेरै उतारचढाव भोगेका उनको जीवन घामछायाँजस्तो रह्यो । कहिले एउटा भूमिका, कुनै बेला अर्को भूमिका । उनी शिक्षक २७ वर्ष ६ महिना शिक्षण पेशामा संलग्न रहेर २०६० सालमा सेवानिवृत्त भए । जनसांस्कृतिक महासंघका संस्थापक सदस्य रहेका उनी कवि, गीतकार र थुप्रै कृतिका सर्जक हुन् । उनका एक दर्जनभन्दा बढी कृति छन्, जसमध्ये अधिकांश गीत र कविता छन् । उनका थुप्रै कृति अप्रकाशित छन् ।

उनले स्थानीयस्तरका ३० वटा पुरस्कार पाएका छन् । उनी नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानबाट २०७२ सालमा पुरस्कृत भएका छन् । देश र नागरिकका लागि उनले के दिए, उनको प्रतिभाको कसरी लेखाजोखा भयो, उनले कति सम्मान पाए, समाजले उनबाट कति ज्ञान र सीप पाए, यी सबै बेग्लै विश्लेषणको विषय हुनसक्छ । तर, यतिचाहिँ निर्धक्क भन्न सकिन्छ- उनी आफैंमा एउटा पाठ हुन् ।

उनका समकालीन, अनुयायी र अनुजहरूले उनको जीवनधारालाई विभिन्न कोणबाट विश्लेषण गरेका छन् । कवि वुँद रानाले ‘रेडियो जनता’ सँग कुराकानी गर्दै उनलाई जनगायकको उपाधि दिएका थिए । रानाले उनलाई राज्यले संरक्षण गर्नुपर्ने प्रतिभा हुन् भनेका छन् ।

जनमनमा थुप्रै अमिट छाप छाडेर २०७६ साल वैशाख २ गते उनी यस क्षणिक दुनियाँबाट नाता तोडे । दुनियाँसँग नाता तोड्नुको निहुँ थियो, निमोनिया र कमलपित्त । अब उनी हामीबीच छैनन् । उनको साङ्गीतिक विरासत थाम्ने जिम्मा अनुयायी र अनुजहरूको काँधमा आएको छ । उनका साङ्गीतिक विरासतलाई समाजको बृहत्तर हितमा लगाउनु नै उनीप्रति सही श्रद्धान्जलि दिएको ठहरिनेछ ।

[साभार: लोकसंवाद । २०७६ साल वैशाख १३ गते ।]

Friday, April 19, 2019

पहाडी गुञ्जन


-यमबहादुर दुरा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘पहाडी जीवन’ निबन्धमा पहाडको अर्ग्यानिकपन र संघर्षशील जीवनको मीठो वर्णन गरेका छन् । उनले लेखेका छन्, ‘यहाँ कृतिमता छैन...। जीवन प्राकृतिक छ, चाल रसिलो, फराकिलो । ... काम नगरी खान कसैको बूता हुँदैन...।’

कूल भूभागको ८३ प्रतिशत हिस्सा डाँडाकाँडाले ढाकेको नेपालको पहाडी भूभाग लोकगीतको खानी हो । त्यहाँ सुमधुर सङ्गीत छ । पहाडको उकाली–ओराली र देउराली–भञ्ज्याङका देवीदेउरालीसँग सङ्गीतले युगौंदेखि मितेरी साइनो गाँस्दै आएको छ । गाउँमा आधुनिकताको लहर आउनुभन्दा अघि रैथाने लोकभाकाहरूको रन्कोले पहाडी जनजीवनमा रौनक थपिदिन्थ्यो ।

सङ्गीतसम्बन्धी विदेशी अध्येताहरूले भन्ने गरेका छन्, नेपालका पहाडी भेगका गीत धेरै सुमधुर हुन्छन् । नेपालको पाखा–पखेरामा गुञ्जिने मोहनी लोकभाकाहरू यसका साक्षी हुन् । नेपालको साङ्गीतिक वातावरणलाई गुल्जार बनाउँदै जनजनको गलामा गुञ्जिएका धेरैजसो लोकभाका पहाडकै भावभूमिमा कोरलिएका छन् । ती लोकभाकामा पहाडी जीवनको जीवन्त तस्बिर प्रतिविम्बित हुन्छन् ।

देवकोटा पहाडको नृत्य र गीतको मुक्तकण्डले प्रसंशा गर्छन् । उनी ‘पहाडी जीवन’ निबन्धमै लेख्छन्, ‘नृत्यमा नै पहाडी जीवनको सभ्यता छ, नृत्यमै यसको प्राकृतिक चाल छ, मानिसका गोडा कल झैं ओर्लन्छन्, हावा झैं चढ्दछन् र कामबाट फुर्सद पाउना साथ ती गोडा नाच्तछन् । पुराना–पुराना गीतहरू मुरलीमा बज्दछन्, कोरस चल्दछ र श्रमको जीवन संङ्गीतमय बनेर सबै पहाडी चिडियाका स्वर मिलेझैं अविदित अर्थले गुनगुनाउन थाल्दछन् ।’

संसारभर पहाडका गीत गाइन्छन् । खासगरी पहाडी भूश्रङ्खला भएका ठाउँमा पहाडका गीत भरनाले पैदा गरेको सङ्गीत झैं गुञ्जिन्छन् । रकी माउन्टेन, आल्पस पर्वतजस्ता विश्वचर्चित पर्वत श्रृङ्खलाहरूबारे धेरै गीत बनेका छन् । ‘हाइ अन अ माउन्टेन’, ‘रकी टप’, ‘ब्लु रिज माउन्टेन्स्’, ‘टेनिसी माउन्टेन होम’, ‘बिग रक क्यान्डी माउन्टेन’, ‘रकी माउन्टेन वे’, ‘फगी माउन्टेन ब्रेकडाउन’ जस्ता पहाडसँग नाता गाँस्ने  गीतहरू चर्चित छन् । अमेरिकी गायक मार्ले ट्राभिस (सन् १९१७–१९८३) ले सन् १९४७ मै  पहाडी लोकगीतहरूको संगालो  ‘फोकसङ्ग अफ द हिल्स’ निकालेका थिए । यस्ता गीतहरूको सूची निकै लामो छ ।

नेपालमा २०२४ सालमा लेकाली समूह गठन भयो, जसमा हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ, गणेश रसिक, तीर्थ सेरचन, न्युच्छेबहादुर डङ्गोल र नीरा श्रेष्ठ सामेल भएको अभिलेख भेटिन्छ । हाल क्रियाशील नरहेको यो समूहले पहाडी पाखारेखाका जीवनशैली झल्कने गीत गाएर लोकहृदयमा आफ्नो ठाउँ सुरक्षित राख्यो ।

पहाड जति सुन्दर र मनोरम छ, त्यति नै क्रूर पनि । संर्घष नचिन्नेको अस्तित्वलाई पहाडले स्वीकार नै गर्दैन । चुनौती र संर्घषलाई आत्मसात गर्नेहरूलाई मात्र पहाडले माया गर्छ र उसको अस्तित्व स्वीकार्छ । त्यसैले, पहाडको अर्को नाम संघर्ष पनि  हो । घामसँग छायाँ आएजस्तै पहाडी जीवनसँग स्वाभाविक रूपमा संघर्ष  जोडिएर आउँछ ।


पहाडका बासिन्दा पहाडको सुन्दर काखमा रमाए पनि कतिपय अवस्थामा पहाड (डाँडाकाँडा) प्रति उनीहरूको एकप्रकारको विद्रोहभाव पनि छ । पहाडले आवगमनमा बाधा पैदा गर्छ, सञ्चारमा अवरोध पैदा गर्छ । कतिपय अवस्थामा कतिपयले पहाडको उपस्थितिलाई रूचाएको पाइँदैन । ‘तिम्लाई हाम्लाई छेकने डाँडोलाई लगे हुन्थ्यो पैह्रोले सलल’, ‘अल्को डाँडा नभए हुनिथ्यो, मै बोलेको मायाले सुन्निथ्यो’ जस्ता गीतमा पहाडप्रति प्रत्यक्ष वा परोक्ष किसिमको विद्रोही भाव भेटिन्छन् ।

'यो  प्रविधिले साथ दिएको युग हो । सात समुन्द्रपारि भएका आफन्तजनसँग अनुहार अनुहार हेर्दै भिडियो च्याट गर्ने जमाना आइसक्यो । हिजो कहाँ यस्तो थियो र ? एउटा सानो डाँडोले छेकिदिँदा हितैषीसँग वर्षौं देखभेट हुन नपाउने अवस्था आउँथ्यो । ‘धान-धान पहेँलै, यो पापी डाँडाले छेक्यो मायालाई’, ‘न त तिम्ले न मैले देखने, अल्को डाँडा बीचैमा छेकने’ जस्ता गीत त्यसै बनेका होइनन् ।

नेपाली जीवनमा पहाड यथार्थ हो । हाम्रो पहाड भन्नाले अग्ला पर्वत वा हिमालय श्रङ्खला मात्र बुझिँदैन । पहाडको दायरा फराकिलो छ । सामान्य बुझाइमा अग्लाहोचा डाँडाकाँडा पनि पहाडमै पर्छन् । पहाडले जीवनका सबै आयामलाई छुन्छ । एकतिर पहाडले जीवनदायिनी प्रभाव छाड्छ भने अर्कोतिर यसले चुनौतीकको पहाड पनि खडा गर्छ ।

पहाडले भौगोलिक विकटता जन्माउँछ । कतिपय अवस्थामा पहाड मौन ‘भिलेन’ भएर उभिन आइपुग्छ । आफ्नो मानिससँग भेटघाट गर्न सजिलो हुन्न । यस्तो अवस्थामा आफ्नो हितैषीलाई पाउन कोही क्रान्तिकारी रूपमा देखाउँदै डाँडै फोर्न तयार हुन्छन् भने कोहीचाहिँ सम्झौतापरस्त बनेर आफ्नो मान्छेलाई घरै सार्न सल्लाह दिन्छन् । ‘यो मायालाई मै लान्छु चोरेर अल्को डाँडा मेसिनले फोरेर’ र ‘तिम्लाई टाढा मलाई नि टाढा, माछीकाँडे डाँडैमा घर सार’ ले क्रमशः क्रान्तिकारी भाव र सम्झौतापरस्त भाव झल्काउँछन् ।

हाम्रा लोकगीतमा पहाड (हिमाल वा डाँडा) झुल्किरहन्छ । कहिलेकाहीँ गीतको अन्त्यानुप्रास मिलाउनका लागि मात्र गीतमा पहाड झुल्किन्छ । गीतको मूल भाव अर्कैतिर लक्षित रहन्छ । ‘हिमालचुली पल्लोपट्टि छङछङ गर्ने खोला, लुकीचोरी लाको माया नभन्दिनू होला’, ‘तुर्लुङडाँडा लाँकुरी चौतारी, छुट्यो मेरो हितैको दौंतरी’ जस्ता गीत यही श्रेणीमा पर्छन् ।

हरेकको जीवन पहाडसँग जोडिन्छ । छोरीचेली अपवाद बन्ने कुरै भएन । गाउँबस्तीका छोरीचेलीले आफ्ना जीवन र डाँडाकाँडालाई घोलेर भाका हाल्दै आएका छन् । लोकगायिका कविता आलेले छोरीचेलीको मर्मलाई गीतमा बेजोड किसिमले समेटेकी छिन् । कुनै समयमा उनको स्वरमा रेडियो नेपालबाट बज्ने ‘सरमा सर सुइटरै बुन्नु फलामे सुइरोले, डाँडामा बसी घर हेरुँ भन्दा छेक्यो नि कुइरोले’, ‘सिर्सिरे डाँडाको फिर्फिरे हावा उडायो पछ्यौरी, सातडाँडा काटी दिएर बाबा रुवायौ यसरी’ जस्ता  गीतका हरफमा बलात् पराइघरमा हुत्याइएकी चेलीको मनोभाव उर्लिएका छन् ।

यी गीत अहिलेको डिजिटल युगमा त्यतिविधि सान्दर्भिक छैैनन् । तर, समयको कुनै कालखण्डमा भयानक सान्दर्भिक थिए । विगतमा सम्पर्कका लागि न कुनै माध्यम थियो, न त सुविधायुक्त बाटोघाटो नै । एउटा सानो झलुङ्गो नहुँदा एउटै खोलाको अल्लो र पल्लो किनारा एक-अर्कामा परदेश जस्तो बन्थ्यो । ज्यान हत्केलामा राखेर ज्यानमारा खोला तर्नुपर्‍थ्यो। वर्तमानले असान्दर्भिक बनाउँदै लगे पनि विगतमा यी गीतको मर्म निकै सघन किसिमको थियो ।

हाम्रा असंख्य पहाड–पर्वतले नेपालीजनको सुस्केरा युगौंदेखि सुन्दै आएका छन् । यी सुस्केरा पहाडहरूमा प्रतिध्वनित हुँदै आएका छन् । पहाडका पाखारेखा र कुना–कन्दरामा गुञ्जिँदै आएका यी लोकसुस्केराहरूको अभिलेखन र खोज–अनुसन्धान अपेक्षित छ, जसले हाम्रा भावी सन्तानलाई पहाडी जीवनशैलीबारे चिरपर्यन्त मार्गदर्शन गर्न सकुन् ।

[साभार : लोकसंवाद । २०७६ साल वैशाख ६ गते । परिमार्जित संस्करण ।]

[अद्यावधिक : २०७६।०१।१५, २०७७।०४।०७]

Friday, March 8, 2019

स्वरकी रानी

—यमबहादुर दुरा

उनको बैठक कोठामा भित्ताभरि प्रंशसापत्र र अभिनन्दनपत्र सजिएका छन् । विभिन्न संस्थाले दिएका थरीथरीका मायाको चिनाले तख्ता भरिएका छन् । उनको फेसबुक प्रोफाइलमा साङ्गीतिक जमघटका अनगिन्ती तस्बिरहरू पोष्ट भएका छन् । यी परिदृश्यहरूले लोकगायिका बीमाकुमारी दुराको समृद्ध साङ्गीतिक जीवनको साक्षी बक्छन् ।

लोकगीतको दुनियाँमा वाहवाही लुटिरहेकी उनको बाल्यकाल वनपात र मेलापातमै बित्यो । उनलाई विद्यालय जाने अवसर जुटेन ।  उनले विद्यालय गएर साउँ अक्षर सिक्नुको सट्टा वनपात र मेलापातमा लोकभाकाको सिकिन् । यद्यपि, उनले सङ्गीतको औपचारिक ज्ञान पनि कहिल्यै पाइनन् ।

जानीनजानी मुखको सरस्वती जगाउन थालिन् । समयक्रममा लोकभाका र रैथाने जीवनधाराका विविध आयामहरूसँग परिचित हुँदै गइन् । वनपात र मेलापातमा साथीसंगीसँग गीत गुनगुनाउन ग्रामीण जीवनको रीत थियो, बसिबियालो पनि । उनले लोकजीवनको रीत पालना गर्दै गइन् ।

जुनबेला उनी लमजुङ (दुराडाँडा) को पाखापखेरोमा हुर्किँदैथिइन्, त्यसबेला गाउँघर टेलिसंस्कृतिको प्रभावबाट मुक्त थियो । तत्कालीन समाजमा बाहिरी संस्कृतिको प्रभाव र अनुकरणको कुनै गुञ्जायस थिएन । उनले तत्कालीन समाजबाट जे पाइन्, जे सिकिन्, ती पूरापुर अर्ग्यानिक थिए् । उनको गीतमा ठेटपन भेटिनुको मूलभूत रहस्य यही हुनुपर्छ ।

समयको लयमा बयली खेल्दै जाँदा लोकभाकाहरूसँग पत्तै नपाई  नाता गाँसिँदै गयो । लोकगीतमा रस बस्दै गयो । आफूभन्दा अघिल्ला दाइदिदीहरूको साथ लागेर गीतको खालमा उपस्थिति जनाउन थालिन् । लोकगीतका पारखीहरूले उनको स्वरमा बेग्लै मिठास र जादू देख्न थाले । उनीहरूले बीमामा प्रचुर सम्भावना देख्न थाले । विस्तारै स्थानीय जमघटमा उनको स्वरको प्रशंसा हुन थाल्यो ।

स्थानीय र जिल्लास्तरीय साङ्गीतिक जमघटहरूमा हाँजिर हुन थालिन् । २०४३ सालमा सोरठी नृत्यको टोलीमा मिसिएर पोखरा पुगिन् । सम्भवत : उनको लागि यो पहिलो फराकिलो डबली थियो । २०४५ सालमा दोहोरीगीत प्रतियोगितामा भिड्न साथीसंगीको दस्तासहित काठमाडौं आइन् । त्यतिबेला बमबहादुर कार्की र प्रेमराजा महतबाट पाएको हौसला र आत्मीय सहयोग वन्दनीय थियो । बीमा उनीहरूप्रति अतिशय आभारी छिन् ।

उनीहरूकै साथ र संयोजनबाट ‘सिंदुरे ढुङ्गा’ शीर्षकमा अडियो अल्बम निस्कियो । आमस्रोतका लागि उनको यो पहिलो साङ्गीतिक कोसेली थियो । उनको तत्कालीन साङ्गीतिक सहयात्रीहरू रत्ना दुरा, बुद्धिसरा दुरा, लालकुमारी दुरा गाउँघरतिरै घरधन्दामै अल्मलिएका छन् । ती प्रतिभावान् साथीहरू उतै छुटेकोमा उनको मन पोल्छ ।

यता, बीमाको साङ्गीतिक क्षितिज उघ्रिने क्रम जारी रह्यो । रेडियो नेपालद्वारा २०४७ सालमा आयोजित राष्ट्रव्यापी लोकगीत प्रतियोगितमा उनले दरिलो सहभागिता जनाइन् । प्रतियोगितमा उनी प्रथम भइन् । त्यसबेला उनको गलाबाट गुञ्जेको गीत थियो, ‘तुर्लुङडाँडा लाँकुरी चौतारी, छुट्यो मेरो हितैको दौंतरी’ । यो गीत लोकगायक कृष्ण गुरुङले तयार पारेका थिए ।

उनको ख्यातामा दिन दुगुना, रात चौगुना बढ्दै गयो । उनको स्वरको बखान हुन थाल्यो । उनी साङ्गीतिक जमघटको हिस्सा बन्न थालिन् । रेकर्डिङ स्टुडियोमा आउजाउ बाक्लिन थाल्यो । भकाभक अडियो अल्बम निस्कन थाले । साङ्गीतिक यात्राको वर्तमान घुम्तीमा आइपुग्दा उनले स्वदेश र विदेशका असंख्य साङ्गीतिक जमघटहरूमा उभिएर हजारौं हजार स्रोता–दर्शकलाई भावुक तुल्याइसकेकी छिन् । सँगसँगै, नेपाली लोकगीतको अघोषित राजदूत बनेकी छिन् ।

अहिलेसम्म बीमाले हजारौंको संख्यामा गीत गाएकी छिन् । ‘सम्झी फर्क साइँलो दाइ...’, ‘लमजुङ तुर्लुङकोट...’, ‘खैरेनीमा गेट...’, ‘छुटयो मायाजाल...’, ‘सरर कोइलाखानीमा...’, ‘फुल्यो निमपत्ता...’ आदि धेरै मन पराइएका गीतमा पर्छन् । अहिलेसम्म आफूले गाएका गीतको यथार्थ हिसाबकिताब उनीसँग छैन । पाँच हजारभन्दा बढी गीत गाएको अनुमान लगाउँछिन् । सयौं संघसंस्थाबाट अभिनन्दित बीमाकुमारी दुराले रेडियो नेपालबाट प्रतिष्ठित गायिकाको प्रमाणपत्र प्राप्त गरेकी छिन् ।

पूर्वी पहाडका मौलिक लोकभाकाहरू रेडियो नेपालमा ल्याउनुमा जसरी हीरादेवी वाइवा, कविता आलेजस्ता प्रतिभाको योगदान रह्यो, त्यसरी नै गण्डकी भेगका ठेट लोकभाकालाई फराकिलो दायरामा विस्तार गर्नुमा बीमाकुमारी दुराको पनि उल्लेखनीय योगदान रह्यो । शावित्री शाह, युक्त गुरुङ, कृष्ण गुरुङ, कृष्णसुधा ढुङ्गाना, हरिदेवी कोइराला, तीर्थबहादुर गन्धर्व आदिको पदचाप  पछ्याउँदै उनले गण्डकी भेगका लोकभाकाको विस्तारमा योगदान पुर्‍याइन् ।

उनी जुन जनु पुग्छिन, ती कार्यक्रम विशेष बन्न पुग्छन् । उनले पाइला टेक्दैमा कार्यक्रम विशेष बन्न पुग्छ, त्यसमा पनि उनको स्वर गुञ्जन थालेपछि माहोल अर्कै बन्छ । कार्यक्रम स्थलबाट परपरसम्म पुग्नुपर्ने ग्रामीण स्रोता–दर्शकहरू उनकै गीत सुन्नका लागि झुम्मिन्छन्, घरधन्दा असरल्लै पारेर । उनको स्वर रहेको जादू र शब्दमा भरिएको मिठास र भावुकताले चुम्वकीय आकर्षण पैदा गर्छन् ।

नेपाली लोकगीतको विम्ब बनेकी बीमा लोकगीतको मूलधारमै छिन्, तर उनको गीत अहिलेको मूलधारको गीतभन्दा आधारभूत रूपमै भिन्न छ । अहिलेको मूलधारको गीत स्रोता–दर्शकलाई उफार्ने किसिमका छन् भने उनको गीतचाहिँ दुनियाँलाई भावुक तुल्याउने खालका छन् । एक हिसाबले उनी नेपाली लोकगीतको एउटा विरहिणी विम्ब हुन् । उनको गीत सुन्दा धेरै द्रवीभूत हुन्छन् । उनको गीतमा बैंशालु मनहरूमा भूइँचालो ल्याउने मैमत्तपन र उन्मादको लेस पनि भेटिन्न । उनको गीतहरू नितान्त सरिफ र शिष्ट छन् ।

उनको गीतमा नेपाली लोकजीवन प्रतिविम्बत हुन्छन् । उनको स्वरमा लयबद्ध गीतमा परदेश पुगेका सन्तान घर फर्कने आशामा आँगनको डिलमा बसेर बाटोभरि नजर बिछ्याउने बृद्धबृद्धाको कथा बुनिएका छन्, जन्मघर छाडेर पराइघर पुग्नुपर्ने चेली नियति झल्किन्छ, लालाबालाको नाङ्गो शरीर छोप्न र भोको पेट शान्त पार्न अँधेरो कोइलाखानीमा घण्टौं श्रम गर्न बाध्य भाइ-छोराहरूको सुस्केरा भेटिन्छन् र लोकजीवनको भाँकी झल्किन्छन् ।

उनको जिन्दगी उतारचढावपूर्ण रह्यो । उनको जीवन  कतिपय आयामखएक अर्थमा सुखद रहेनन् ।
उनी २०५३ सालमा विवाह बन्धनमा बाँधिइन् । तर यो नाता-सम्बन्ध लामो समयसम्म टिकेन । विवाह-बन्धन बिछोडमा पुगेर टुङ्गियो । समयको एउटा विन्दूमा अर्जापिएको त्यो नाता-सम्बन्धको निसानी बाँकी छ । उनको छोरी त्यो निसानी साँचेकी छिन् । अहिले अमेरिकामा उच्चशिक्षा अध्ययन गर्दैछिन् । यता, आमाचाहिँ एक्लो जीवन बिताउँदैछिन् । परिवारको सदस्यको रूपमा घरमा कुकुर छ । सन्तानको माया त्यही कुकुरमाथि खन्याउँछिन् । यतिबेला त्यही कुकुर उनको साथी र सन्तान दुवै भएको छ ।

५० को दशकको अन्त्य र ६० को दशकको शुरुवाततिर उनी मिडियामा ‘हट केक’ बनिन् । कारण थियो, उनले ‘अब म गीत गाउँदिनँ’ भनेर घोषणा गर्नु । स्वरको जादूले दुनियाँलाई लठ्याउने एउटा ख्यातिप्राप्त गायिकाले यस्तो घोषण गर्नु आफैंमा हलचलपूर्ण घटना थियो । एक हिसाबले उनको यो घोषणा माछाले पानीमा नबस्ने घोषणा गर्नुजस्तै दुस्साहसिक कदम थियो ।

उनको त्यो उद्घोष हठातपूर्ण थियो । उनले गीत नगाएर सुखै थिएन । अन्ततः उनी गायनको दुनियाँ फर्किएरै छाडिन् । पारिवारिक तनावले घेरिँदा उनी यस्तो घोषणा गर्न बाध्य भएकी थिइन् । उनको जीवनमा यो एउटा भयानक साङ्गीतिक दुर्घटना थियो ।

सङ्गीत वृत्तमा उनको कला र गलाको अतिक्ति उनको स्वाभावबारे पनि बेलाबखतमा चर्चा हुने गर्छ । उनी हक्की स्वभावकी छिन् । आफूलाई लागेको कुरा नचपाई प्वाक्कै भनिहाल्ने । उनको यही स्वाभावलाई कसैले सबल पक्षको चित्रण गर्छन् भने कसैले कमजोरीको रूपमा हेर्छन् । कुनै पनि कुरा पूरापुर सही वा गलत हुन सक्दैन । हेराइ आफ्नो आफ्नै हो ।

उनी भर्खर भर्खर गायन क्षेत्रमा आउँदा अनालग प्रविधिमा गीत रेकर्ड हुन्थे । अहिले रेकर्डिङ प्रविधिमा व्यापक परिवर्तन आएको छ । डिजिटल प्रविधिले रेकर्डिङलाई आनका तान फरक पारिदिएको छ । गायन टोलीले सँगै गीत गाउनु नपर्ने । केटाले आफ्नो भाग गाएर हिँडे हुने । केटीले एक्लै आफ्नो भाग गाए पुग्ने । बाजाको धुन पनि पछि मिसाए पुग्ने । तर उनलाई भने लाइभ रेकर्डिङ नै बढी मन पर्छ । गायन टोलीले सँगै गाउँदा मुड बन्ने र गीत जीवन्त बन्ने उनको धारणा छ ।

ठाडो भाका उनलाई मन पर्ने भाका हो । ठाडोभाका गायनमा उदाएका नवप्रप्रतिभाको प्रशंसा गर्छिन् । तर उनीहरूको स्वर र शब्दमा अपेक्षित मौलिकपन आउन नसकेको उनको ठहर छ । यसका लागि उनीहरूले पर्याप्त मेहेनत गर्नुपर्ने उनको सुझाव छ । उनी आफैं पनि ठाडो भाका गाउन सिक्दैछिन् । ठाडो भाकाको रेकर्ड निकाल्ने रहर छ ।

कतिपय सञ्चारकर्मीको व्यवहारबाट उनी वाक्कदिक्क छिन् । कतिपयले अनौपचारिक वार्तालापमा भएका कतिपय कुरालाई तीलको पहाड बनाएर प्रस्तुत गर्ने र मानिसको निजी जीवनको कुनै सम्मानै नगरी प्रस्तुत हुने गरेको उनको गुनासो छ । व्यक्तिको इज्जत र प्रतिष्ठालाई दाउमा राखेर आफ्ना ‘मिडिया प्रडक्ट’ लाई बिकाउ वस्तुमात्र सम्झने कतिपय सञ्चारकमीले सामाजिक उत्तरदायित्व बिर्सने गरेका उनको आरोप छ  ।

उमेरले चार दशकको अन्त्यतिर लाग्दै गर्दा उनको मनको कुनामा जीवन भोगाइका अनेकन् अनुभवहरू बटुलिएका छन् । उनको दृष्टिमा साङ्गीत वृत्तामा हिजो अधिक हार्दिकता र माया–ममता थियो, जुन अहिले दुब्लाउँदै गएको छ । अहिले प्रतिस्पर्धाको भावना बढी र हार्दिकता कम भएको उनको अनुभव छ । प्रतिस्पर्धाले हिजोको हार्दिकता र माया–ममता लाई झिनो बनाउँदै लगेको उनको बुझाइ छ ।

अहिले परिचयका लागि उनको नामै काफी छ । उनी लोकगीतको दुनियाँमा ‘स्वरकी रानी’ उपमाले परिचित छिन् । वनपाखाबाट माथि उठेर एउटा अपठित ग्रामीण बालाले आफ्नो राष्ट्रिय छवि निर्माण गर्न सफल हुनु आफैंमा एउटा भयानक उपलब्धि होे । सफलता प्राप्तिका दिशामा अघि बढिरहेका नयाँ पुस्ताका लागि उनी एउटा उर्जाशील प्रेरणास्रोत हुन् ।

[साभारः लोकसंवाद । २०७५ साल फागुन २४ गते ।]


Saturday, February 23, 2019

फूलमा भमरा

—यमबहादुर दुरा

वनपाखामा चरो लखेट्दै हिँड्ने एउटा चुलबुले केटो । लोकगीत भनेपछि सानैदेखि कान ठाडो पार्नेे । आमाको फरिया समातेर हिँड्दैदेखि लोकगीत भनेपछि हुरुक्कै हुने । कहिले चिलाउनेको पात  बजाउने, कहिले वनपाखामा नै घन्कने गरी मनको बह पोख्ने । यस्तै थियो, उनको दिनचर्या ।

त्यो चुलबुले केटोले अरूभन्दा बेग्लै छाँटकाँट देखाउँछन् । उनी किशोरवयमा प्रवेश गर्नुअघि नै रोदीघर, सत्यनारायण पूजाजस्ता स्थानीय सामाजिक जमघटमा मुखको सरस्वती पोख्न तम्सन्छन् । रत्यौलीमा केटीको भेषमा केटीकै स्वर निकालेर गीत गाउँछन् । छरछिमेक र अग्रजले उनको स्वरमा जादु भेट्छन् ।

समयले काँचुली फेर्दै जान्छ । स्थानीय जमघटमा गीत गाउन अग्रसर रहने त्यही चुलबुले केटो आफ्नो स्वरले दुनियाँलाई मोहनी लगाउन सफल हुन्छन् । उनको ख्याति विस्तारै फक्रिँदै जान्छ । अन्त्यमा उनी ख्यातिप्राप्त दोहोरी गायकका रूपमा दरिन पुग्छन् । यही हो, अहिले गुलावी रौनक बटुलिरहेका चर्चित दोहोरी गायक राजु परियारको अभ्युदयसँग गाँसिएको छोटो किस्सा ।

‘लालुपाते नुङ्यो भूईतिर...’, ‘गर्नु गर्‍यौ बलराम भैंसी पालेर...’, ‘मिर्मिरेको घाम...’, ‘मौरी फूलमाथि...’, ‘फूलमा भमरा...’,‘झिमझिम सानु नझिम्कयाऊ परेली...’, ‘धोका दिनेलाई के भनौँ र खै...’, ‘लमजुङ जाने दाइ...’ जस्ता गीतमा गुञ्जिएको जादुमय स्वरले उनको प्रसिद्धि चुलियो । उनका ‘फ्यान’ हरू एकपछि अर्को गरी ज्यामितीय दरमा बढ्न थाले ।

कुनै समय यस्तो पनि थियो, उनको फोटो नटाँसिएको दोहोरीगीतको कुनै अल्बम हुँदैनथ्यो, उनको नाम प्रचार नगरिएको महोत्सव नै हुँदैनथ्यो,  शहरमा गुड्ने छोटो दूरीमा माइक्रोबसदेखि राजमार्गमा हुइँकिने बसमा उनका गीत नघन्किएको कुनै क्षण नै हुँदैनथ्यो ।

लोकप्रियता शिखर आरोहण गर्दा उनी दन्त्यकथाका पात्रजस्तै भएका थिए । उनबारे अपत्यारिला कुरा सुनिन्थ्यो । उनले एकै दिनमा १३ वटासम्म गीते रेकर्ड गराएका र गीतै गाएर एक दिनमै डेढ लाखसम्म कमाएको चर्चा चल्थ्यो । उनको ख्याति देखेर कतिपयले उनलाई चर्चित क्यानाडेली गायक जस्टिन बिबरसँग तुलना गर्न थालिसकेका थिए ।

हुन पनि उनले छोटो समयमै असीमित ख्याति कमाएका थिए । प्रवल जनसेवा श्री चौँथो विभूषण, डा. नातिकाजी युवा प्रतिभा पुरस्कार, डा. अम्बेडकर पुरस्कार (भारत) जस्ता सयौं सम्मान र विभूषण हात पारिसकेका थिए । अस्ट्रेलिया, एशिया र युरोपका धेरैजसो मुलुकमा पुगेर आफ्नो प्रतिभा पस्किसकेका थिए । लोकगीतका अनुरागीहरूबाट वाहवाही लुटिरहेका थिए । सर्वसाधारणदेखि शक्तिशाली व्यक्तिसम्मका मन जितिरहेका थिए ।

लोकगीतको महफिलमा यतिविधि सुनाम कमाएका राजु परियारको जीवनमा समयले ‘सकुनी खेल’ खेलिदियो । उनी दुनियाँलाई रनभुल्ल पार्दै एकएक अन्तरध्यान भए । २०६८ देखि २०७२ सालसम्मको अवधिमा सार्वजनिक जमघटहरूमा देखा परेनन् । उनी कहाँ बस्छन्, के गर्छन्, कसैलाई पत्तो हुँदैनथ्यो । उनको मोबाइल हरदम स्विच अफ हुन्थ्यो ।

उनको अनुपस्थितिले पैदा भएको खाली ठाउँ हल्लाले भरिन्थ्यो । भए—नभएका कुराले उनका शुभचिन्तक र ‘फ्यान’ का कान भरिन्थे : राजुले गीत गाउन छाडे, पारिवारिक झमेला परे, श्रीमतीसँग मनमुटाव बढ्यो, गीत गाएर जोडेको चल अचल सम्पत्तिमा खोलो लाग्यो, मदिराभोगी बने आदि ।

पृष्ठभूमिमा उनीबारे चाहिँदा नचाहिँदा चर्चा चलिरहेकै थियो । यस्तैमा साथीसंगीले उनी कहाँ छन् भन्नेबारे सोधपुछको सिलसिला चलाए । अखबारहरूमा उनीबारे खोजबखर आउन थाले । तर कसैको केही सीप चलेन । उनको हालखबर सधैँ बेखबरमा परिणत भइरह्यो । समय भुक्तान भएपछि मात्र उनी आफैं सार्वजनिक भए ।
उनी भूमिगत हुनुको पछाडि लुकेको लामो कथाको सार थियो, श्रीमतीसँग मनमुटाव बढ्नु र मनमुटाव पारो बढ्दै जाँदा उनीहरूका सम्बन्ध नदीको दुई किनारजस्तो हुन पुग्नु । यही मूलकथाको सेरोफेरोमा अरू थुपै्र उपकथाहरू जोडिएका थिए ।

अहिले उनको घरेलु मामला सप्रिएको छ । अघिल्लो श्रीमती एक छोरा र एक छोरी दिएर अर्कै बाटो लागेकी छिन् । राजुले पनि अर्कैसँग घरबार जोडेका छन् । अहिलेकी श्रीमतीसँग छोरो जन्मिएको छ, जसको उमेर भर्खर सात महिना पुग्दैछ । अहिलेकी श्रीमती सबै लालाबाला सम्हालेर बसेकी छिन् । राजु रेकर्डिङ र साङ्गीतिक जमघटहरूमा व्यस्त छन् । उनको जिन्दगीले फेरि लय समातेको छ ।

जिन्दगीमा नपत्याउँदा आँधीहुरीको सामना गर्नुअघि उनी दुई थान सपना बोकेर २०५४ सालतिर लमजुङको गाउँशहर (चिसापानी) बाट राजधानी भित्रिएका थिए । उनको सपना थियो, मौका पाएमा नेपाली सेनामा भर्ती हुने, त्यसो हुन नसके गीत गाउने । सेनामा भर्ती हुने सपना तुहियो, गीत गाउने सपना सप्रियो ।

उनी एक साँझ सुन्धाराको गल्लीतिर टहलिँदै थिए । उनले कतै मादलको तालमा लोकभाका गुञ्जिएको सुने । यसबाट उनीभित्रको लोकसङ्गीतको मोह फेरि एकपटक ब्युँतिएर आयो । आवाज पछ्याउँदै जाँदा उनी ‘पुकार दोहोरी साँझ’ पुगे, जुन नेपालकै पहिलो दोहोरी साँझ हो । उनी दर्शकदीर्घामा पुगेर गीत सुन्न थाले । त्यहाँको साङ्गीतिक माहोल देखेरमा उनमा गीत गाउने इच्छा जाग्यो । उनले अनुमति मागेर गीत गाए ।

उनले एउटा गीतमात्रै के निकालेका थिए, सबैजना मन्त्रमुग्ध भए । उनलाई ‘पुकार दोहोरी साँझ’ का मालिकले उनको प्रतिभा पहिचान गरिहाले । दोहोरी साँझका मालिकले उनलाई आफ्नो दोहोरी साँझमा गीत गाउन आग्रह गरे । उनले त्यही दोहोरी साँझमा गीत गाउन थाले । उनको गीतका प्रशंसकहरू थपिन थाले । त्यो घटना उनको जीवनमा कोशेढुङ्गा सावित भयो । उनको परिचय र सम्पर्कको दायरा फराकिलो हुँदै गयो । उनी दोहोरीको दुनियाँमा स्थापित हुँदै गए । समयक्रममा एक पछि अर्को गरी अडियो अल्बम निस्कन थाले । अनि त उनलाई नचिन्ने र नजान्ने मान्छे नै भएन ।

राजुको साङ्गीतिक यात्रामा दुई दशकतिर लम्किँदैछ । यस क्रममा उनको स्मृतिपटलमा अनेकन् संस्मरणको खात लागेका छन् । एकपटकको दोहोरी प्रतियोगितामा उनले तनहूँकी गायिका उत्तम गुरुङसँग दोहोरी गाउनुपर्‍यो । गीत दिदी–भाइको लाइनमा अघि बढ्यो ।

उनले गीत निकाले, ‘रैछ जीवन हावा र हुरीको, सुन्नुुस् कथा टुहुरा र टुहुरीको’ । उत्तम गुरुङ तत्कालै द्रवीभूत भइन् । उनी गाउनै नसक्ने अवस्थामा पुगिन् । निर्णायक मण्डल र दर्शकदीर्घा रहेका सबै स्तब्ध भए । राजु पनि पनि अक्क न बक्क भए । पछिमात्र थाहा भयो, केही महिनाअघि मात्र उत्तमकी आमा परलोक भएकी रहिछन् ।

उनले गायन यात्रामा संगालेका थुप्रै संस्मरणमध्ये एउटा संस्मरण उनको ‘फ्यान’ सँग सम्बन्धित छ । लगगभ ८ वर्ष अगाडि बुटवल महोत्सवमा उनी स्टेजमा गीत गाइरहेका थिए । विवाहित भए पनि  स्टेजमा गीत गाउँदा उनले आफूलाई ‘कन्य–कुमार’ को रूपमा प्रस्तुत गरिरहेका थिए । यत्तिकैमा स्टेजमा एउटी केटी उक्लन खोजी । उनलाई कसैले रोके ।

पछि त्यही केटी एकजना महिलालाई लिएर उनी बसेको होटलमै आइन् । उनीसँग आएकी महिला उनको आमा रहिछन् । लामो समयदेखि त्यो केटी राजुको ‘डाइहार्ड फ्यान’ रहिछन् । मौका मिलेमा राजुसँग विवाह गर्ने मनस्थितिमा रहिछन्, तिनी । त्यस भेटघाटमा आमामार्फतविवाहको प्रस्ताव आयो । राजुले आफू विवाहित भएकोले प्रस्ताव स्वीकार्य नहुने तर दाजु–बहिनीको नाता भने कायम रहन सक्ने बताए ।

त्यो केटीको अपेक्षामा तूषारापात भयो । तर नाता अर्कै किसिमले अघि बढ्यो । उनीहरूबीच दाजु–बहिनीको नाता कायम भयो । ‘अहिले पनि दाजु-बहिनीको रूपमा फोनवार्ता भइरहन्छ ।’ उनी संयोगवश जोडिएको नाता–सम्बन्धको धागो फुकाउँछन् ।

उनलाई गण्डकी क्षेत्रमा प्रचलित ठाडो भाका निकै मन पर्छ । ‘मलाई ठाडो भाका सुनेपछि अरू गीत सुन्न मन लाग्दैन’ उनी ठाडो भाकाप्रतिको मोहभाव प्रकट गर्छन् । उनी ठाडो भाकामा जस्तो लालित्य र भावनाको ज्वारभाटा अरू गीतमा भेट्दैनन् । ठाडो भाका अलि अलि गाउँछन् पनि । उनी हाक्पारे, देउडा तथा हुड्क्यौली गीतमा पनि नेपाली समाज बोलेको पाउँछन् । यी गीतप्रति असीम श्रद्धाभाव देखाउँछन् ।

दोहोरी गाउँदा तत्क्षण शब्दजाल बुन्न बुन्नैपर्छ । त्यो शब्दजाल माकुरीको जालजस्तै कलात्मक हुनुपर्छ । उनको अनुभवमा शिवु गिरी र केशरबहादुर अधिकारी शब्दजाल बुन्नमा खप्पिस पारखीका हुन् । यसका अतिरिक्त उनका दृष्टिमा प्रजापति पराजुली, बद्री पराजुली, सिर्जनाविरही गुरुङ, शिला आले, सकुन्तला थापा आदि यो मामलामा उत्तम प्रतिभाहरू हुन् । उनी झलकमान गन्धर्व र बीमाकुमारी दुराका स्वरमा बेजोड मार्धुय र विलक्षणपूर्ण झङ्कार पाउँछन् ।

आफू लोकगीतप्रति अनुरक्त हुनुमा लमजुङको सङ्गीतमय वातावरणलाई श्रेय दिन्छन्, उनी । यसमा उनका बुबा मंगलसिंह परियार र आमा सन्तमाया परियार उत्तिकै श्रेयभागी छन् । दुवैजना लोकगीतका अनुरागी । उनले अभिभावकबाट प्रत्यक्ष वा अप्रत्यक्ष प्रेरणा पाए । यिनै प्रेरणादायी तत्वहरूको गठजोडबाट उनी साङ्गीतिक दुनियाँमा छाएका हुन् ।

राजु गुरुङ मिश्रित समुदायमा हुर्किएका व्यक्ति हुन् । उनीको घर परिपरि गुरुङ गाउँ छ । बहुसांस्कृतिक समाजमा हुर्कँदा उनले कमाएको अमूल्य सम्पत्ति हो, गुरुङ भाषा । उनी गुरुङ भाषा खररै बोल्छन् । गुरुङ गाउँमा हुने साङ्गीतिक जमघटमा गुरुङ भाषामा गीत गाउँछन् । त्यतिमात्र होइन, मौका पर्दा गुरुङ भाषामै मन्तव्य दिन्छन् । उनले गुरुङ भाषाको चलचित्रमा पनि गीत गाएका छन् । गुरुङ भाषामा गीत पनि लेखेका छन् । उनी गुरुङ समुदायमा प्रिय व्यक्ति हुन् ।

उनमा विद्रोही चेत छ । जातभातको सिंढीदार सामाजिक संरचनाप्रति उनी स्वभाविक रूपमा आलोचक छन् । उनी जातभातले निम्त्याएको उचनीच व्यवहारप्रति विद्रोहको स्वर ओकल्छन् । ‘सुनपानीले छर्क मायालु’, ‘यो खोलीको पानी कोई नखानू मैले छोको छु’, ‘अछुतले नै हो मूर्ति कुँदेको, पुजारीले छ छैन बुझेको’ जस्ता गीतमा उनका विद्रोही चेत मजासँग सल्बलाएका छन् ।

उनले पछिल्लो समयमा पनि जातभातले जालोले छोपिएको समाजलाई तरङ्गित पार्ने गीत गाए : ‘कति राम्रो दमाइको छोरो’ ।  यसमा उनले ताली र गाली दुवै पाए । कतिले यस्तो गीत गाउन हुँदैनथ्यो भने, कतिले गाएकामा राम्रो माने । उनलाई भने सामाजिक वास्तविकता उजागर गर्ने गीत गाएर ‘ठीक गरेँ’ भन्ने लागेको छ । तर, ‘कति राम्रो दमाइको छोरो’ भनेर गीत गाउने उनी दलित शब्दलाई शब्दकोशबाटै हटाउनुपर्छ भन्छन् । उनको दृष्टिमा शब्दकोशमा दलित शब्द रहँदासम्म भेदभावको बीउ रहिरहन्छ ।

उनको जीवन–घडीको सुई चार दशक नजिक-नजिक सोझिन लाग्दैछ । उर्वर समय अझै बाँकी छ । उनीबाट धेरै आशा गर्ने ठाउँ छ । उनी आशा र भरोसाहरू उमार्दै साङ्गीतिक यात्रामा अग्रसर छन् । उनका शुभचिन्तक र ‘फ्यान’ हरूको अपेक्षा र सुझाव एउटै छ, विगतका अलमल र बाँझो समयको क्षतिपूर्ति हुने गरी उनको साङ्गीतिक यात्रा अघि बढ्नुपर्छ ।

[साभार : लोकसंवाद । २०७५ साल फागुन १० गते ।]