Showing posts with label प्रोफाइल. Show all posts
Showing posts with label प्रोफाइल. Show all posts

Saturday, June 29, 2019

मौलिकता र भावुकताको दोभान

-यमबहादुर दुरा

पाल्पाको विकट गाउँ । मगर समुदायको बाहुल्य भएको बस्ती । चाडपर्वमा रातभरि रामरसी चल्थ्यो । गाउँमा मादल घन्कन्थ्यो । गाउँमा गुञ्जिएको लोकभाकाले मन लोभ्याउँथ्यो । गीतमा चुम्बकीय आकर्षण हुन्थ्यो ।

त्यहाँको बृहत् साङ्गीतिक माहोलले कसैको जीवनमा कमलकोटीको भूमिका खेल्यो । उनी पत्तै नपाई साङ्गीत अनुरागी बने । जान्नेबुझने हुन थालेदेखि नै उनको मनमस्तिष्कमा लोकसङ्गीतको झङ्कारले राज गर्न थाल्यो ।
यसरी नै साङ्गीतिक परागसेचन भयो, नेपाली लोकगीतको धरोहर नारायण रायमाझीको दिल–दिमागमा । रायमाझीको सङ्गीतकर्मले नेपालका मौलिक लोकभाकाहरूले लोकजीवनको फराकिलो घेरासम्म विस्तारित हुने मौका पाएको छ । उनले जनमनमा न्यानो ठाउँ पाएका छन् ।

मगर बस्तीको सङ्गीतमय परिवेश । घरमा आमाको मनमुग्घकारी स्वर । रेडियो घन्कने कतिपय मौलिक लोकभाकाहरू । यी सबै योगदानकारी तत्वको गठजोडमा उनीभित्र साङ्गीतिक भोग जाग्दै गयो । लोकगीतप्रतिको रुचि ज्यामितीय दरमा बढ्दै गयो ।

उनी सानैदेखि मौलिक बाजागाजाहरू बजाउन र सङ्ग्रह गर्नमा रुचि राख्थे । उनी हरप्रकारका बाजागाजामा ताल दिन पारङ्गत छन् । मौरी बाजा, मुर्चुङ्गा, मादललगायतका बाजा बजाउन उनको हात रोकिँदैन । सारङ्गीवादनमा उनको विशेष दख्खल छ ।

गन्धर्वइतर समाजमा जन्मेर पनि उनी कसरी सारङ्गीवादनमा पारङ्गत बने ? धेरैको मनमा यही प्रश्न उब्जन्छ । यसको पनि एउटा बेग्लै किस्सा छ । उनलाई सारङ्गी बिछट्टै मन पर्‍थ्यो । गाउँमा गन्धर्व दाजुभाइ आउँथे । उनी गाउँभरि गन्धर्व दाजुभाइको पछि पछि हिँड्ने, सारङ्गीको धुन सुन्न ।

यस्तैमा गाउँमा एकजना दाइले सारङ्गी बनाइदिए । त्यसमा उनको स्वामित्व कायम भयो । त्यसपछि बिनामेसो सारङ्गी बजाउन थाले । विद्यालय वा मेलपातमा छँदा उनलाई सारङ्गीकै झल्को आउँथ्यो । सारङ्गीवादनको लतले उनी ग्रस्त थिए ।

कतिबेला सारङ्गी बजाऊँ भन्ने उनलाई लाग्थ्यो । घरमा सारङ्गी भित्रिएपछि उनको दिनचर्या केटाकेटीले चराको गुण देखेजस्तै भयो । जतिबेला पनि सारङ्गी हेर्न र छुन चाहने ।

उनका लागि सारङ्गी बजाउन सिक्ने काम गुरुविनाको ज्ञान थियो । वर्षौंको एकल मिहेनतले उनी सारङ्गीमा पारङ्गत भए । ‘घन घोटी बन्चरो’ भने जस्तो । उनको सफलताको राज अरू केही नभएर प्रबल इच्छाशक्तिको करामत थियो ।

गाउँघरको साङ्गीतिक वातावरणमा उनी विस्तारै भिज्दै गएका थिए । रेडियोमा नेपालमा पुगेर गीत गाउने उनको अर्को ठूलो सपना थियो । तर, यो सपना सजिलै पूरा हुने खालको थिएन । दुर्गम गाउँका एउटा ठिटोले चिन्नु न जान्नुसँग रेडियो नेपाल ताक्नु एउटा ठूलै दुस्साहस थियो ।

रेडियोमा बाजागाजासहित मान्छे कसरी अटे होलान् भन्ने सोचाइ राख्ने गाउँले केटोले रेडियो स्टेसनमै पुगेर गीत गाउनु त्यो समयमा सामान्य कुरै थिएन । त्यहाँ गीत गाउन पाइन्छ वा पाइन्न भन्ने पनि उनलाई थाहा थिएन ।

थुप्रै प्रतिकूलता सहेर उनी पाल्पाको झडेवाबाट दश धामा गरेर राजधानी भित्रिए । अन्ततः रेडियो नेपालमा पुगेर गीत गाएरै छाडे । यहाँनेर, फेरि पनि उनको इच्छाशक्तिले नै काम गर्‍यो । उनले त्यहाँ गीतमात्र गाएनन्, कालान्तरमा त्यही जागिरे पनि भए । रेडियो नेपालमा सङ्गीत संयोजकलगायतका साङ्गीतिक  भूमिकामा रहेर भएर लगभग २० वर्ष बिताए ।

यतिञ्जेलसम्म समय धेरै अघि बढिसकेको थियो । उनी नेपाली लोकगीतको दुनियाँमा झलमल्ल उदाइसकेका थिए । लोकगीतका अनुरागीहरूका हृदयमा उसले बास पाइसकेका थिए । उनको स्वरमा लयबद्ध गीत ‘राम्दी पुल तरने बित्तिकै...’, ‘सरर कोइलाखानीमा...’, ‘हासेर बोलिदिऊ माया...’, ‘चिनिनँ मैले सत्ते रामा राम...’ जस्ता दजनौं गीतहरू मौलिकता र भावुकताको कसीमा खरो उत्रिएका लोकभाकाहरू हुन् ।

उनको गीतमा उच्चस्तरको रैथानेपन छ । उनको लय र शब्दमा भान्सामा पाकेको लेकाली रायोको सागको वास्ना टाढैबाट नाकमा ठोक्किन आएजस्तो रैथाने सुगन्ध भेटिन्छ । गीतमा भावना र भावुकताको भयानक गहिरो भुमरी छ ।

लोकगायक दीपक खड्काको दृष्टिमा नारायण रायमाझी गीतमा माधुर्य भर्न सक्ने र गीतलाई न्याय गर्न सक्ने कुशल प्रतिभा हुन् । उनी रायमाझीको साङगीतिक विशेषता केलाउँछन्, ‘उहाँको गीत सेलरोटी जस्तो छ । सेल रोटी शुरुमा त्यति मीठो हुँदैन तर पछि झन् मीठो झन् मीठो हुँदै जान्छ । उहाँका गीत पनि त्यस्तै छन् ।’

गीतको संख्यामा भन्दा गुणस्तरमा ध्यान दिने नारायण रायमाझीले लगभग तीन सय गीत गाएका छन् । तुलनात्मक हिसाबले उनले थोरै गीत गाएका छन् । तर, उनले जति गीत गाएका छन्, अधिकांश मौलिक र भावुक प्रकृतिका छन् ।

उनले रणभूमिका गीत गाएका गाएका छन्, भोको–प्यासी जनसमुदायको गीत गाएका छन् । उनका गीतमा जनस्तरका नगारिकका पीर व्यथा भेटिन्छ, हैरानी र सास्तीका फेहरिस्त भेटिन्छन् । विदेशमा कुल्ली–दरबान भएर जिन्दगी बिताउने धेरै नेपालीका गहिरो पीर–व्यथा उनका गीतमा उनिएका छन् ।

साङ्गीतिक करिअरमा अघि बढ्दा उनले जनजीवनमा उठेका भावनाका ज्वारभाटाहरू निरन्तर देखिरहे । लोकजीवनका असंख्य अनुभव र अनुभूतिहरू पत्रेचट्टानझैं उनको चेतन मन र अवचेतन मनमा थुप्रिएका छन्, जुन कहिसक्नुको छैन ।

उनको गीत सुनेर असंख्य स्रोता/दर्शक द्रवीभूत हुन्छन् । उनले स्टेजमा चढेर गीत पीर–वेदनाको गीत गाउँदा हिक्का छोडेर अश्रुधारा बगाउने कति आमाहरूको आँखा ओबानो हुन मुस्किल पर्छ । उनका गीत सुन्दा भावुकतावश एकआपसमा अङ्गालो मारेर रुने आफन्तीहरूको कथा बताइनसक्नुको छ । उनको सङ्ग्रहमा यस्ता थुप्रै भिडियोहरू छन् ।

नारायाण रायमाझी रैथाने अनुभूतिका सङग्रह नै हुन् । उनीभित्र ग्रामीण अनुभूतिहरू खिलिएर बसेका छन् । मनमा अनुभूतिको थुप्रो छ भने घरमा ‘एन्टिक आइटम’ हरूको थुप्रो छ । ग्रामीण चेलीबेटीहरूले प्रेमपूर्वक समर्पण गरेका झोला, गलबन्दी, खुर्पेटो, टोपीजस्ता सम्झना कोसेली उनीकहाँ छन्, जसले विगतको ममतापूर्ण राग अलापिरहेका छन् ।

दुनियाँको दृष्टिमा उनले गीतसङ्गीत र सांस्कृतिक गतिविधिमा लोभलाग्दो प्रगति गरिसकेका छन् । तर, उनी आफैंलाई भने त्यस्तो लाग्दैन । उनलाई ले केही गर्न नसकेको जस्तो लाग्छ । उनलाई लाग्छ, ‘मैले धेरै काम गर्न बाँकी नै छ ।’

उनको मनमा रहेको कार्यसूची धेरै लामो छ । आफूले गाएका चुनिन्दा लोकगीतको भिडियो बनाउनु छ । आफ्ना पुराना गीतलाई कम्तिमा पुनः स्वराङ्कन गर्नु छ । आफ्नै भिडियो प्रोफाइल बनाउनु छ । गाउँघरको मौलिक संस्कृतिलाई चलचित्रमा उतार्नु छ ।

उनका दिगागमा यस्ता धेरै रचनात्मक कार्यसूचीको खिचडी छड्किरहेका छन् । उनका धेरै कार्ययोजनाहरू पाइपलाइनमा छन् । तर, यी योजना चाहेजसरी अघि बढेका छैनन् । कतिपय योजना त अलपत्रै छन् ।

निजी स्वार्थमा मात्र भुलेर उनी आफू असामाजिक बन्न चाँदैनन् । उनी घरपरिवार, साथीसंगी, सामाजिक संघसंस्थालाई पर्याप्त समय दिन्छन् । नतिजा उही हो, उनको योजना यता कतै बीचतिर अड्केका छन् ।

आफ्ना कार्ययोजनाहरूबारे कुरा गर्दागर्दै उनी सोचमग्न हुन पुग्छन् । अनि, गम खाँदै गहिरो विचार पोख्छन्, ‘अहिलेको जस्तो अनुभव र ३० वर्ष अघिको जस्तो जाँगर भएको भए धेरै काम गर्न सक्थेँ हुँला ।’

‘गोर्खा पल्टन’, ‘परदेशी’ जस्ता चलचित्र निर्देशन गरिसकेका रायमाझी आधा मन चलचित्र जोडिएको छ । आजकल उनलाई आरोप लाग्ने गरेको छ, ‘नारायण रायमाझी लोकगीत छाडेर चलचित्रतिर लहसियो ।’

सानैदेखि नाटक र चलचित्रतिर पनि दिलचस्पी राख्ने उनीचाहिँ लोकगीत र चलचित्रलाई एकअर्काका परिपूरक मान्छन् । उनको मान्यता छ – लोकगीतले समेट्न नसकेका पक्षलाई चलचित्रले समेट्छ र चलचित्रले समेट्न नसकेकालाई लोकगीतले समेट्छ । मूल कारणबाट आफू चलचित्रमा जोडिन पुगेको उनको तर्क छ ।

आधुनिकताको बाढीले मौलिक लोकभाकालाई कुनै अञ्जान ठाउँतिर हुत्याउँदै लगेको छ । यस पृष्ठभूमिमा उनको प्रष्ट धारण छ, ‘स्रष्टाले माटोको सुवास आउने गीत समाजलाई दिनुपर्छ । यसबाट देशको संस्कृतिलाई पनि योगदान पुग्छ । यसले स्रष्टा आफैंलाई पनि बचाउँछ ।’

नारायण रायमाझीप्रति बहुसंख्यकको अपेक्षा छ, नेपालका श्रुतिमधुर र भावप्रधान लोकभाकाहरूको श्रीवृद्धिका लागि उनले आउँदा दिनमा स्नेही र प्रेरणादायी कदम दृढतापूर्वक चाल्नेछन् ।

[साभार: लोकसंवाद । २०७६ साल असार १३ गते । तस्बिर:  गुगल ।]

Saturday, May 11, 2019

सङ्गीतमा चन्द्रमा दाहिने हुने आशा

-यमबहादुर दुरा

दोलखाको ग्रामीण परिवेश । त्यहाँका वनपाखा र मेलापातमा स्वाभाविक रूपमा लोकभाकाहरू गुञ्जन्थे । त्यहाँ प्रतिध्वनित हुने लोकभाकाहरूमा उनकै आमाको स्वर पनि मिसिन्थ्यो । उनी आमाको कला र गलाबाट प्रभावित थिइन् । उनलाई आफ्नै आमाले हालेको भाका बिछट्टै मनमोहक लाग्थ्यो ।

लक्ष्मी बस्नेत लोकगीतको क्षेत्रमा एक किसिमको पहिचान बनाएकी प्रतिभा हुन् । आमाले वनपात र ढिकीजाँतो गर्दा गुनगुनाएका गीतका भाका र शब्दले उनको मनमस्तिष्कमा बसेका थिए । यसबाट नजानिँदो किसिमले लोकगीतप्रति उनको मोहभाव बढ्दै गयो । यस्तैमा उनी मुटुभरि अनेकन् सपना सजाएर राजधानी भित्रिइन् । उनको सपनाहरूको चाङमा गीत गाउने सपना पनि थियो । लोकगीतप्रति मोहभाव भए पनि यस क्षेत्रमा उत्पात गरिहाल्छु भन्ने उनलाई लागेको थिएन ।

तर पनि लोकप्रतिको मोहभाव प्रकट भरहन्थ्यो । लोकगीतप्रतिको उनको रुचि देखेर उनका अग्रज डीबी गुरुङले रेडियो नेपालमा गीत गाउने चाँजोपाँजो मिलाइदिए । उनी रेडियो नेपालले २०५० सालमा आयोजना गरेको अधिराज्यव्यापी लोकगीत प्रतियोगितामा प्रतिस्पर्धी बनिन् । उनी प्रतियोगितामा दोस्रो भइन् । उनले त्यतिबेला गीतको बोल थियो : ‘मखमली फूल दाजु मखमली फूल...’। त्यस समयममा त्यो गीत धेरैको जिब्रोमा झुण्डियो ।

यससँगै उनको लोकप्रियता पारो चढ्दै गयो । चिनजानको दायरा बढ्दै गयो । छोटो समयमै ज्यामितीय दरमा उनको साङ्गीतिक उन्नयन भयो । गीत गाउने अफरको आउन थाल्यो । पछि पछि त चलचित्रमा खेल्ने अफर पनि आयो । उनले राम थापा, कृष्णसुधा ढुङ्गाना, शम्भु राईलगायतका अग्रज कलाकारहरूसँग गीत गाएर गाउँबस्तीका लोकभाकाहरूलाई जन–जनसम्म विस्तार गर्न सघाइन् । उनले २०५० देखि २०५३ सालम्म राष्ट्रिय नाचघरमा गायिकाको रूपमा काम गरिन् । त्यस समयमा उनी साङ्गीतिक गतिविधिहरूमा व्यस्त भइन् । उनका लागि त्यो समय निकै उर्वर थियो । उनको साङ्गीतिक सिर्जना मौलाउँदै गए ।

दोहोरीगीत प्रतियोगिताहरूमा पनि फटाफट विजयी बन्दै गइन् । सरगम केन्द्र, नेपाल अपाङ्ग व्यवसायिक महासंघ र लाइन्स क्लब अफ काठमाडौंले क्रमशः २०५०, २०५० र २०५२ सालमा आयोजना गरेका दोहोरीगीत प्रतियोगितामा प्रथम  भइन् । अफिसको काम, रेकर्डिङ र स्टेज कार्यक्रमहरूमा व्यस्त हुन थालिन् । चन्द्रमा दाहिने परेको बेला थियो । उनलाई भ्यान–नभ्याई थियो ।

यस्तैमा कताकता उनको दिल–दिमागमा विदेश जाने भूत सवार भयो । विदेश जाने साइत पनि जुरिहाल्यो । उनी आफ्ना सारा साङ्गीतिक गतिविधिहरू थाती राखेर जापानतिर लागिन् । राष्ट्रिय नाचघरमा कार्यरत रहेको अवस्थामा उनको पाइला विदेशी भूमितिर बढ्यो । त्यसपछि केही वर्ष बेलायततिर भुलिन् । परदेश पलायनले निरन्तर प्रगतिततर्फ उन्मुख भइरहेको उनको साङ्गीतिक यात्रामा ब्रेक लगाउने काम गर्‍यो  ।

उनी २०५९ सालमा नेपाल फर्किइन् । त्यतिञ्जेलसम्म धेरै क्यालेन्डरका पानाहरू पल्टिसकेका थिए । समयले भाका फेरिसकेको थियो । नेपाल फर्कँदा उनी आफैंलाई बिरानो जस्तो पाइन् । साङ्गीतिक रङ्गमञ्च थुप्रै नयाँ प्रतिभाहरूले भरिभराउ भइसकेको थियो । उनलाई लाग्यो, ‘मेरो साङ्गीतिक परिचान संकटमा पर्दैछ ।’ वास्तविकता पनि त्यही थियो ।

एफएम रेडियोलगायत सञ्चार माध्यमहरूको उभार, पहिल्लो समयमा यु ट्युवजस्ता सोसल मिडियाहरूको दरिलो उपस्थिति, यस्ता मिडियामा नयाँ पुस्ताको उत्साहजनक उपस्थिति र समयसँग बदलिएको अडियन्सको टेस्टले साङ्गीतिक क्षेत्र अरू क्षेत्रजस्तै प्रतिस्पर्धात्मक बनिरहेको छ । लक्ष्मी बस्नेत यो वास्तविकतासँग पूरापुर जानकार छिन् । उनी कसैसँग प्रतिस्पर्धा गर्ने मुडमा छैनन् । न त यो कुनै बुद्धिमत्तापूर्ण व्यवाहार हो । तर, उनी समयले मधुरो बनाउँदै गएको आफ्नो साङ्गीतिक पहिचानलाई चहकिलो बनाउने सोचमा छिन् । यसअनुसार उनी केही हदसम्म अगाडि पनि बढिसकेकी छिन् ।

उनले लगातार दुई वर्ष तीजसम्बन्धी गीत निकालिन् ।  २०७४ र २०७५ साल क्रमशः मा ‘हे शिव भगवान’  र ‘भाइरल भुन्टी’ शीर्षकमा म्युजिक भिडियो निकालिन् । उनले घमेस दुलालसँग अल्बम निकालिन् । उनले गाएको गीतको एउटा लाइन यस्तो थियो : ‘गाईवस्तु बाँधेको किला, माया लाउन मिल्ला कि नमिल्ला’ । यी रमाइलो प्रकृतिका गीत हुन् । उनले विक्रमबाबु विश्वकर्मासँग मिलेर ‘आसुको विजेता’ शीर्षकमा गम्भीर प्रकृतिका साङ्गीतिक कोसेली अडियन्स समक्ष पस्किइन् । यसैगरी, तिहारको सांस्कृतिक पक्ष झल्कने गरी ‘देउसी–भैली’ म्युजिक भिडियो ल्याइन् । नरहरि प्रेमीसँग सहकार्य गरेर उनले यो सांस्कृतिक कोसेली  ल्याएकी थिइन् । साङ्गीतिक क्षेत्रमा उनको पुनरागमन भइसकेको छ ।

एकाग्र भएर लोकसङ्गीत साधनामा तल्लीन समयले अनुमति दिइरहेको छैन । अब उनी विशुद्ध कलाकारमात्र रहिनन् । उनी एक गैरसरकारी संस्थामा पूर्णकालीन कर्मचारी हुन् । उनको अधिकांश समय कार्यालयका गतिविधिले खाइदिन्छ । कहिले अफिसको डेक्स वर्क त कहिले स्थलगत भ्रमण । बचेको समयमा उनले कलासाधना गर्ने हो ।  यस्तो अवस्थामा उनका अगाडि चुनौतीको पहाड खडा भएको छ । तर, उनीसँग हिम्मत छ । ‘वर्षमा एउटा गीत निकाल्ने योजना छ’, उनी कार्ययोजना सुनाउँछिन् । आशा गरौं, उनको फेरि पनि चन्द्रामा दाहिने हुनेछ ।

[साभार: लोकसंवाद ।२०७६ वैशाख २७ गते ।]

Friday, April 26, 2019

एउटा विद्रोही स्वर

-यमबहादुर दुरा

फौजी जीवन बीचैमा टुङ्ग्याएर आएका सिपाही । त्यसमा पनि कम्युनिष्ट विचारधाराका अनुयायी । मनमा विद्रोहको राँको सल्काएर गाउँबस्ती चाहर्न मन पराउने नवयुवक । समाजमा विद्यमान भेदभाव र असमानतामाथि चर्को आक्रोशको भाव । तिनै आक्रोशलाई लोकसङ्गीतका ताल र सुरहरूमा उनेर जनजागरणका गीत गाउन रुचाउने एउटा सिर्जनशील व्यक्ति ।

यो सहज बाटो थिएन । तर पनि, प्रचण्डबहादुर बुढाथोकी मगरले यही बाटो रोजे । उनी २०१४ सालमा १६ वर्षको उमेरमै आसाम राइफलमा भर्ती भए तर उनलाई पल्टनमा बुट बजार्ने कुनै रहरै भएन । उनी त्यहाँ एक वर्ष पनि टिक्न सकेनन् । पल्टनको जागिर बीचैमा छाडेर घर फर्किए ।

उनको मनभित्र अर्कै कुराको हुटहुटी चलिरहेको थियो । पल्टनियाँ जीवन त्यागेपछि उनले जनजागरणको गीत गाउन थाले । फौजी जिन्दगी भोगिसकेका उनले युवाहरूलाई लाहुर नजान आग्रह गर्दै गीत गाए । उनले गाएका गीतको हरफ ‘लाहुरे हुन नजाऊ दाइ अब त, खेर गयो नेपाली रगत’, ‘फर्किआऊ दाइ छकछके रेलैमा, देशमा जनता जागेको बेलै’, ‘यो देशको हालचाल कस्तो छ, छाती पिटी रोइरहुँ जस्तो छ’ अझै पनि धेरैको स्मृतिमा ताजै छ ।

उनले शुरु शुरुमा भजन, सोरठी सवाइ पनि गए । पछि क्रान्तिकारी गीतमा दिल बस्यो । उनले देश उचाल्ने तागत भएका युवा वर्गको मनोबल बढाउने किसिमका आवाज बुलन्द गरे । ‘युवा तिम्रो काँधमा देश उचाल्ने शक्ति छ, युवा तिम्रो मुटुमा देशको श्रद्धा भक्ति छ’, ‘युवा तिम्रो हातमा वैज्ञानिक जुक्ति छ, तिम्रो हातमा सर्वाहारा गरिबको मुक्ति छ’ जस्ता उनका गीत निकै चर्चित छन् ।

उनी सधैँभरि ‘यथास्थितिवाद’ को विरुद्धमा उभिए । ‘यथास्थितिवाद’ लाई चिर्न उनले क्रान्तिको झिल्को पार्ने गीत गाइरहे । देश र दुनियाँलाई ब्युँझाउन आवाज बुलन्द पारिरहे । अनि, धेरै नरोजेको बाटो रोजेर उनले आफ्नो पृथक परिचान दिए ।

जतिबेला उनले फिल्डमै देखिएर गीत गाउन थाले, त्यतिबेला कलाकारको संख्या नितान्त न्यून थियो । त्यसमा पनि विद्रोहको स्वर उराल्ने कलाकारको संख्या नगन्य थियो । उनी क्रान्तिको गीत गाउने दर्बिलो आवाज भएर अगाडि आए । पछि हटेनन् । उनी ‘जनगायक’ हुनकाु पछाडि एउटा गतिलो पृष्ठभूमि छ ।


अर्घाखाँचीको खिदिममा जन्मेका प्रचण्डबहादुर बुढाथोकीको परिवार बेलैमा नवलपरासी झरेको थियो । नवलपरासीमा उनको र मोदनाथ प्रश्रितको घर टाढा थिएन । उनीहरू एकआपसमा सम्पर्कमा आइरन्थे । उनीहरूबीच राजनीतिक विषय विचारविमर्श भइरहन्थ्यो । विचारविमर्शको निष्कर्ष स्वरूप उनीहरूले माक्र्सवादलाई मार्गदर्शक सिद्धान्तको रूपमा अपनाउने अठोट लिए । सँगै हिँड्ने डुल्ने अन्य साथीसंगीले पनि यसैमा सहमति जनाए ।

उनीहरूको अठोट पहाडको ठाडो खोलाजस्तो जर्कटो थियो । बुढाथोकीले २०२२ सालदेखि विद्रोही गीत गाउन शुरु गरे । यसपछि उनको परिचय ‘जनगायक’ का रूपमा दरिन थाल्यो । उनले अन्याय, अत्याचार र भेदभावविरुद्ध गीतमार्फत आवाज उठाउन थाले । ‘पूर्वमा रातो लालीमा छाउँदैछ, धुरुमा धुरु नरोऊ साइँला हाम्रो दिन आउँदैछ’, ‘पहेँलो धान झारिदियो परेर असिना, कति दिन खेर जाला यो हाम्रो पसिना’ जस्ता गीतले उनभित्र उम्लिरहेको क्रान्तिकारीपनको परिचय दिन्छन् ।


क्रान्तिकारी गीत गाएकाले उनीमाथि राज्यको बक्रदृष्टि परिरहेको थियो । ‘शासक वर्गले आफूहरूलाई शोषक–सामन्ती भनेर गीत गाउँछन् भनेर हामीप्रति बक्रदृष्टि राख्थे’ उनी विगत सम्झन्छन् । शासकको दृष्टिमा अराष्ट्रिय तत्व ठहरिए पनि उनलाई धुरी मानेर लोकङ्गीतको क्षेत्रमा अघि बढ्नेहरूको संख्या पनि कमी थिएन ।

चर्चित लोकगायक लोकबहादुर क्षेत्री उनका अनुयायीमध्ये एक हुन् । क्षेत्री उनलाई गुरु मान्थे, जसबाट उनी निकै प्रभावित थिए । क्षेत्रीको स्वरमा गुञ्जिने लोकप्रिय गीत ‘छोरीलाई नगर हेला, पढ्ने बेला घरधन्दा झमेला’ प्रचण्डबहादुर बुढाथोकीले नै रचेका गीत हुन् ।

उनले राष्ट्रिय प्रसारण संस्था रेडियो नेपालमा धोको फेरेर गीत गाउनै पाएनन् । रेडियो नेपालमा उनका चार–पाँचवटा मात्र गीत छन् । रेडियो नेपालमा गीत सेन्सर गर्ने प्रणाली भएकाले धेरै गीत गाउन पाएनन् । उनका धेरैजसो गीत क्रान्तिकारी प्रकृतिका थिए, जुन व्यवस्था विरोधी आवाज बन्न सक्थ्यो । यही कारण उनका धेरै गीत त्यहाँ रेकर्ड हुन पाएनन् ।

‘ओरालीमा जो झरे पनि मेरै माया झरेझैं लाइरनी भन्थी सानीले’, ‘डरलाग्दो कालीपार पैह्रो, पैह्रोभन्दा पीरति झन गैह्रो’ उनले रेडियो नेपालमा स्वराङ्कन गराएका गीत हुन् । यी गीत उनले नगन्य मात्रामा गाएका मायाप्रीतिका गीतमध्ये पर्छन् ।

प्रचण्डबहादुर बुढाथोकी गायनका अतिरिक्त अभिनयमा पनि खप्पिस थिए ।उनी नाटकमा पनि अभिनय गर्थे ।  त्यस समयमा मोदनाथ प्रश्रितले ‘पचास रुपियाँको तमसुक’ शीर्षकमा नाटक लेखेका थिए । उनी नाट्य टोलीमा सहभागी भए । २०२५ सालतिर त्यो नाट्य टोली पूर्वोत्तर भारतको सिलोङ, आसामजस्ता नेपालीभाषीहरू भएको ठाउँमा पुग्यो । टोलीले गोरखपुरको पीपलडाँडामा पनि नाटक प्रस्तुत गर्‍यो ।

पूर्वोत्तर भारतको भ्रमणको मौकामा उनलाई अर्को मौका पनि जुर्‍यो । उनले  रेडियो खर्साङमा गीत गाउने मौका पाए । उनको त्यहाँ मीठो स्वागत भयो ।  त्यतिबेला उनले रेडियो नेपाल र रेडियो खर्साङबीच एउटा कुरामा तात्विक भिन्नता पाए । ‘रेडियो नेपाल गीतमा गीत गाउन चाकडी गर्नुपर्ने तर त्यहाँचाहिँ गीत गाइदिन उनीहरूबाटै अनुरोध आउने’ उनी दुईवटा विरोधाभाषपूर्ण प्रवृत्तिको स्मरण गर्छन् । पूर्वोत्तर भारतका नेपालीभाषीले उनको गीत निकै मन पराए । त्यहाँ उनको ख्याति चुलियो ।

जतिबेला उनले क्रान्तिको झिल्का पार्ने गीत गाउँदै थिए, त्यतिबेला दलविहीन पञ्चायती व्यवस्था उन्मत्त हुँदै थियो । पूर्वोत्तर भारतको नाटक प्रदर्शन गरेर फर्किएपछि मोदनाथ प्रश्रित पक्राउ परे । अरू साथीहरू पनि पक्राउ परे । प्रचण्डबहादुर बुढाथोकीमाथि पनि राज्यको निगरानी बढ्यो । उनी कहिले भूमिगत त अर्धभूमिगत हुँदै हिँड्न थाले । घरको मियो नै हल्लिएपछि घरपरिवारले सास्ती भोग्नुपर्‍यो ।

जीवनमा धेरै उतारचढाव भोगेका उनको जीवन घामछायाँजस्तो रह्यो । कहिले एउटा भूमिका, कुनै बेला अर्को भूमिका । उनी शिक्षक २७ वर्ष ६ महिना शिक्षण पेशामा संलग्न रहेर २०६० सालमा सेवानिवृत्त भए । जनसांस्कृतिक महासंघका संस्थापक सदस्य रहेका उनी कवि, गीतकार र थुप्रै कृतिका सर्जक हुन् । उनका एक दर्जनभन्दा बढी कृति छन्, जसमध्ये अधिकांश गीत र कविता छन् । उनका थुप्रै कृति अप्रकाशित छन् ।

उनले स्थानीयस्तरका ३० वटा पुरस्कार पाएका छन् । उनी नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानबाट २०७२ सालमा पुरस्कृत भएका छन् । देश र नागरिकका लागि उनले के दिए, उनको प्रतिभाको कसरी लेखाजोखा भयो, उनले कति सम्मान पाए, समाजले उनबाट कति ज्ञान र सीप पाए, यी सबै बेग्लै विश्लेषणको विषय हुनसक्छ । तर, यतिचाहिँ निर्धक्क भन्न सकिन्छ- उनी आफैंमा एउटा पाठ हुन् ।

उनका समकालीन, अनुयायी र अनुजहरूले उनको जीवनधारालाई विभिन्न कोणबाट विश्लेषण गरेका छन् । कवि वुँद रानाले ‘रेडियो जनता’ सँग कुराकानी गर्दै उनलाई जनगायकको उपाधि दिएका थिए । रानाले उनलाई राज्यले संरक्षण गर्नुपर्ने प्रतिभा हुन् भनेका छन् ।

जनमनमा थुप्रै अमिट छाप छाडेर २०७६ साल वैशाख २ गते उनी यस क्षणिक दुनियाँबाट नाता तोडे । दुनियाँसँग नाता तोड्नुको निहुँ थियो, निमोनिया र कमलपित्त । अब उनी हामीबीच छैनन् । उनको साङ्गीतिक विरासत थाम्ने जिम्मा अनुयायी र अनुजहरूको काँधमा आएको छ । उनका साङ्गीतिक विरासतलाई समाजको बृहत्तर हितमा लगाउनु नै उनीप्रति सही श्रद्धान्जलि दिएको ठहरिनेछ ।

[साभार: लोकसंवाद । २०७६ साल वैशाख १३ गते ।]

Saturday, March 30, 2019

दोहोरीका उम्दा स्वर

-यमबहादुर दुरा

दोहोरीगीतको आयतन विस्तार भएको छ । यसको आयतन विस्तार हुने कार्यको बीजारोपण पञ्चायतकालमै भएको थियो । दोहोरीगीतलाई राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएपछि यसले मूलधार समातेको धेरैको विश्लेषण छ । मूलतः गाउँबस्तीका सर्वसाधारण नगारिकबीच भावना आदानप्रदानको माध्यमको रूपमा रहेको दोहोरीगीत नेपाल अहिले राष्ट्रिय संस्कृतिकै एक हिस्साको रूपमा स्थापित छ ।

दोहोरीगीत मूलधारमा आएपछि गाउँबस्तीका असंख्य प्रतिभाले राष्ट्रियस्तरमै नाम कमाउन थालेका छन् । दीपक खड्का दोहोरीमा नाम कमाउँदै गरेका दा उम्दा प्रतिभा हुन् । दोहोरीगीतमा उनले आफ्नो परिचय निर्माण गरिसकेका छन् । रेडियो नेपालद्वारा २०६० सालमा आयोजित दोहोरीगीत प्रतियोगितमा प्रथम स्थान हाँसिल गर्न सफल खड्काले आफ्नो कीर्तिमानीलाई कायम गर्दै २०६१ सालमा टुबोर्ग दोहोरीगीत प्रतियोगितामा पनि प्रथम भए । यसभन्दा अघि उनी स्थानीयस्तरका थुप्रै दोहोरीगीत प्रतियोगितामा थुप्रै पटक पुरस्कृत भइसकेका थिए ।

आफू दोहोरीगीतको रङ्ग–रेशममा ‘कसरी आएँ’ भन्नेबारे कुनै खास प्रसंग उनको स्मरणमा छैन । समग्रमा भन्दा आफू जन्मेहुर्केको सांस्कृतिक परिवेशले नै दोहोरीगीतको दुनियाँमा आउन सहयोग गरेको उनको बुझाइ छ । यही प्रसंग कोट्याउँदै गर्दा उनी बाल्यकालीन सम्झनामा डुब्न पुग्छन् । उनी हजूरबाको पछि लागेर गोठालो जान्थे । हजूरबाले मीठो गरी पात बजाउँथे । गीत पनि गाउँथे । उनको जिज्ञासा चुलिन्थ्यो, पात कसरी बजाउने होला, गीत कसरी गाउने होला ? उनले जानीनजानी हजूरबाको सिको गर्थे ।

उनको घर नवलपरासीको गैंडाकोट हो । उनको घर नजिक कुमाल समुदायको बस्ती छ । उनीहरूको जीवनशैली अझैपनि रैथाने प्रकृतिको छ । कुमाल समुदायको जीवनशैली सङ्गीतमय छ । बच्चाको न्वारन गर्दा पनि गीत गाउने, छेवर गर्दा पनि गीत गाउने, हुँदा हुँदा भैंसी ब्याउँदा पनि गीतै गाउने । बडो गबजको जीवनशैली छ । यस्तो सामाजिक तथा सांस्कृतिक परिवेशमा हुर्केका उनको साङ्गीतिक चेत खुल्दै गयो । लोकगीतप्रतिको मोहभाव बढ्दै गयो ।

उनले टोल–छिमेकमा हुने सामाजिक जमघटमा जम्ने गीतको खालमा सहभागिता जनाउन थाले । विद्यालयमा हुने लोकगीत प्रतियोगितामा सहभागिता जनाउन थाले । विद्यालयमा हुने हरेक दिनको हाफ छुट्टीमा पनि साथीहरूसँग दोहोरी गाएर बस्थे । स्थानीय धार्मिक अनुष्ठानहरूमा पनि उनी गीत गाउन पुग्थे ।  सत्यनारायण कथावाचन समारोहमा दोहोरीको खाल जम्थ्यो । रातभरि गीत दोहोरी गाउँथे । कुनै बेला त एकै रात दुई तीन ठाउँमा चाहरेर गीत गाउँथे ।

एकपटक सत्यनारायण कथावाचन अनुष्ठानमा असामान्य घटना भयो । त्यहाँ रातभरि गीत गाए । भोलिपल्ट पनि गीतको खाल जम्यो ।  गीतमा स्वाभाविक रूपमा भावना साटासाट भए । घर फर्कन बेलामा फसाद प¥यो । गीत गाउने केटीले उनको पिछा गर्न थालिन् । उनले दीपकलाई जीवनसाथीको रूपमा रोजिसकेकी रहिछन् । उनी सम्झाइ बुझाइ गरेर तर्किए । त्यतिबेला उनी अविवाहित नै थिए । सच्चा हृदय भएकी ती ग्रामीण बालाको भावनाको कदर गर्न नसक्दा उनलाई कताकता ननिको लाग्छ । गीतमा व्यक्त भएको ‘चोखो माया, फुको ठट्टा’ ले जन्माएको त्यो असामान्य घटना उनी बिर्सन सक्दैनन् ।

उनी आफूले भर्खर भर्खर गीत गाउन शुरु गर्दा र अहिलेको सामाजिक परिवेशमा धेरै परिवर्तन आएको देख्छन् । त्यतिबेलाका केटीहरूले शुरुमै एकैचोटि गीत निकाल्दैनथे । गीत गाउने बेसरी मन भए पनि केटीहरू हत्तपत्त अघि नसर्ने । केटाले पाँच छ टुक्का भनेपछि बल्ल गीत निकाल्थे ।  गीत झिक्न थालेपछि गीतका शब्द धेरै मार्मिक र भावुक प्रकृतिका हुन्थे । गीतमा रन्थन्याउने खालका भावुकता र विनयशीलता हुन्थे । गीतको भाव एकदमै साङ्केतिक हुन्थे । तर, अहिले परिस्थितिमा आनका तान फरक आएको छ । अहिले केटीहरू नै पहिला गीत निकाल्छन् । गीत पनि साङ्केतिक नभई सीधै घोच्ने खालका हुन्छन् । यो उनले अवलोकनबाट बटुलेको अनुभव हो ।

नेपाली लोकगीतको क्षेत्रमा उनी नारायण रायमाझीबाट एकदमै प्रभावित छन् । रायमाझीलाई गीतमा माधुर्य भर्नसक्ने र गीतलाई न्याय गर्न सक्ने कुशल प्रतिभाको रूपमा चित्रण गर्छन् । उनी रायमाझीको साङगीतिक विशेषता केलाउँछन्, ‘उहाँको गीत सेलरोटी जस्तो छ । सेल रोटी शुरुमा त्यति मीठो हुँदैन तर पछि झन् मीठो झन् मीठो हुँदै जान्छ । उहाँका गीत पनि त्यस्तै छन् ।’

दीपक खड्का आफैं पनि धेरैको नजरमा राम्रो दोहोरी गायक हुन् । अग्रज दोहोरी गायक अमरविरही गुरुङका आँखामा दीपक खड्का कुशल दोहोरी गायकमात्र होइन, अग्रज र अनुज  दुवै पुस्तालाई सम्मान गर्न जान्ने व्यक्ति पनि हुन् । अर्का पुराना गायक कृष्णसुधा ढुङ्गाना उनलाई विनयशील उम्दा प्रतिभाको रूपमा लिन्छन् । उनलाई नजिकबाट नियालिरहेका समकालीन दोहोरी गायक राजु परियारका दृष्टिमा उनी दोहोरीमा निरन्तर प्रगति गरिरहेका प्रतिभा हुन् ।

देशको सामाजिक तथा राजनीतिक परिवेशसँग कलाकारहरू निरपेक्ष रहन सक्दैनन् । देशमा चलेको एक दशक लामो सशस्त्र द्वन्द्वबाट उनको मनोभाव पनि अप्रभावित रहेन । उनले तत्कालीन समयमा तयार भएको ‘भय र अनिश्चितताको मनोविज्ञान’ लाई लिएर गीत तयार पारे । सामाजिक मनोविज्ञानको केन्द्रीय भावलाई नै छोएर तयार पारिएको त्यो गीत निकै चर्चित रह्यो, धेरै मन पराए । गीतको थेगो थियो : ‘फेरि के के हुनी कसले जान्ने हो, यसपालिको दशैं तिहार गाउँमै मान्नी हो’ ।

उनी दोहोरी ‘स्टेज पर्फमेन्स’ मा निकै जमेका कलाकार हुन् । उनी देशका विभिन्न भागका हुने महोत्सवहरूको हिस्सा बन्छन् । दीपक खड्काले दोहोरीगीतसम्बन्धी म्युजिक भिडियो पनि निकाल्दै आएका छन् । यसै वर्ष, उनले ‘सोल्टी राजै’ शीर्षकको भिडियो ‘यु ट्युब’ मार्फत सार्वजनिक गरेका छन् ।  यसभन्दा अघि पनि उनले यस्ता म्युजिक भिडियोहरू निकालिसकेका छन् । दोहोरीगीतको पृष्ठभूमिबाट आएका कलाकार भएकाले उनका छोटा खालका लोकगीत थोरै छन् ।  ‘रेडियो नेपाल’ उनका तीनवटा गीत छन् । उनका दोहोरीको अडियो अल्बम र म्युजिक भिडियो गरी लगभग १५ वटा ‘साङ्गीतिक कोसेली’ बजारमा आएका छन् ।

आजकल उनी निर्णायकको भूमिकामा पनि देखापर्न थालेका छन् । यसका अतिरिक्त उनको संगठनकारी–संयोजनकारी भूमिका पनि प्रशंसनीय छ । दोहोरी कलाकारहरूको छाता संगठन ‘राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान’ मा शुरुदेखि नै आबद्ध भई सांगठानिक गतिविधिमा सरिक छन् । अहिले उनी संस्थाको कोषाध्यक्ष पदमा कार्यरत छन् । उनी संस्थाको नवलपरासी शाखाको सहसचिव, त्यसपछि केन्द्रीय सदस्य तथा केन्द्रीय सहकोषध्यक्ष हुँदै कोषाध्यक्ष पद सम्हाल्न आइपुगेका छन् ।
निर्णायकका भूमिका दीपक खडका (बायाँबाट पहिलो) ।

दोहोरीगीत लोकगीतको मूलधार आएको र गीत गाएर कलाकार बाँच्न सक्ने वातावरण तयार भएको यो समयमा कलाकारको मनोबल उच्च नै छ । दोहोरीगीतमा भित्रिएका अशुद्धिलाई हटाउँदै यसलाई अत्यन्त मर्यादित लोकअभिव्यक्तिको माध्यम बनाउनुपर्ने खाँचो सर्वत्र अनुभत गरिएको छ । यसमा  जो–कोही कलाकारको योगदान अपेक्षित छ । दोहोरी कलाकारहरूको छाता संगठनको नेतृत्वदायी भूमिकामा रहेका ३८ वर्षीय तन्नेरी कालकार दीपक खड्काबाट पनि दोहोरीगीतका अनुरागीहरूले यही अपेक्षा गरेका छन् ।

[साभार: लोकसंवाद । २०७५ साल चैत १५ गते ।]

Friday, March 15, 2019

सिम्रिकझैं सिमल फुलेको

यमबहादुर दुरा

एउटा गाउँले केटो । लोकगीतसँग साइनो गाँस्दै हुर्किए, उनी । जतिबेला तोतेबोली बोल्दै थिए, त्यतिबेला गाउँको सांस्कृतिक वातावरण उर्वर थियो । उनको जन्मस्थान मौलिक लोकभाकाहरूको खानी थियो । उनी प्रकृतिको काखमा हुर्कँदै जाँदा स्थानीय लोकभाकाहरूप्रति एकपछि अर्को गरी मोहित हुँदै गए । यससँगै उनको साङ्गीतिक चेत पनि मजबुत हुँदै थियो ।

अहिलेका दोहोरीगायक तथा लोकगीत अभियन्ता तेजबहादुर केसी लोकगीतको दुनियाँमा आउनका लागि पाइला उचाल्दै थिए । त्यतिबेला लोकबहादुर क्षेत्री (वि.सं. २०१८-२०५०), शावित्री शाहजस्ता मूर्धन्य कलाकारका सुमधुर र भावप्रधान गीतहरू रेडियोमा बज्थे । नेपाली लोकजीवनको तस्बिर झल्कने ती गीतबाट प्रेरित हुन थाले । उनीभित्र गायक बन्ने चाहना मौलाउँदै गयो ।

उनमा निहित प्रतिभा र इच्छाशक्तिले उनलाई लोकगीतको क्षेत्रमा निरन्तर अघि बढिरहने शक्ति दिइरह्यो । २०४३ आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दोहोरीगीत प्रतियोगितामा उनी पहिलो पटक सामेल भए । यसपछिका दोहोरीगीत प्रतियोगिता र लोकगीतसँग सम्बन्धित जमघटहरूमा उनी निरन्तर देखा पर्न थाले । प्रतियोगितामा प्रतिस्पर्धीहरूलाई ‘पछार्न’ थाले ।

यसपछि उनको साङ्गीतिक यात्रा अविश्रान्त अघि बढिरह्यो ।  त्यतिबेलाको समय नै बेग्लै थियो । कलाकारको रूपमा दरिन ‘रेडियो नेपाल’ ले लिने स्वर परीक्षामा उत्तीर्ण हुनैपर्‍थ्यो । अनिमात्र रेडियोमा गीत गाउन पाइन्थ्यो । तत्कालीन परिवेशले एउटा यस्तो मापदण्ड तयार पारेको थियो, रेडियोमा गीत नगाएसम्म कोही पनि कलाकारको श्रेणीमा पर्दैनथ्यो ।

उनी स्वरपरीक्षामा सहभागी भए । परीक्षामा उत्तीर्ण भए । लोकबहादुर क्षेत्रीसँग २०४४ सालतिर ‘रेडियो नेपाल’ मा स्वराङ्कन गर्ने अवसर पाए । क्षेत्री उनको आदर्श व्यक्ति थिए । आफ्नो आदर्शका धरोहरसँग स्वराङ्कन गर्न पाउँदाको यो घडी उनका लागि बिछट्टै खुसीको क्षण थियो । उनले त्यतिबेला गाएका गीत काम र मामको खोजीमा मुगलान पस्नुपर्ने आमनेपालीको नियतिसँग जोडिएको थियो । गीतको बोल थियो : ‘कल्लाई रहर होला र सान्दाइ गाउँघर छाडेर जानलाई’ ।

उनले २०४५ सालमा ‘रेडियो नेपाल’ मा अर्को गीत गाए । गीतको एउटा हरफ यस्तो थियो : ‘घरबासी साहूलाई बुझाउँदै, झरेँ मधेश बालबच्चा रुवाउँदै’ । एक अर्थमा यो गीत भयानक क्रान्तिकारी आवाज हो, जसमा उनको आफ्नै जीवनभोगाइ प्रतिविम्बित भएको प्रतीत हुन्छ । तत्कालीन समयमा पहाडी गाउँबस्ती  खाद्यान्न अभाव र विपन्नताले आक्रान्त थियो । यसबाट पहाडका सयौं परिवार मधेश झर्न बाध्य भए । उनको परिवारले पनि यही नियति भोग्यो ।

२०२८ सालमा उनको परिवार कुम्लो–कुटुरो बोकेर प्यूठानबाट नवलपरासीको डाण्डा  झर्‍यो । बुबा रुद्रबहादुर केसी र आमा सुमित्रा केसीको साथ लागेर मधेश झर्दा उनी नौ वर्षका थिए ।  प्रस्तुत गीतमा आन्तरिक बसाइँ सराइ र त्यसले निम्त्याएको आर्थिक तथा सामाजिक परिवेशको भुक्तभोगी अनुभव झल्कन्छ ।

साङ्गीतिक यात्रामा अघि बढ्ने क्रममा लोकगीतका विभिन्न विधामा स्वर दिएका उनले भजन पनि गाएका छन् । ‘रेडियो नेपाल’ बाट बज्ने भजन ‘कति सुहायो कति सुहायो, नागको माला बाघको छाला कति सुहायो’ धेरै पराइएको भजन हो । देशको धार्मिक तथा सांस्कृतिक परिवेश झल्कने यो भजनमा बमबहादुर कार्की, शिवा आले र बीमाकुमारी दुराको स्वर रहेको छ ।

तेजबहादुर केसीले त्यही समयमा ‘रेडियो नेपाल’ मा श्रृङ्गारिक रसको गीत स्वराङ्कन गरे : ‘सिम्रिकझैंसिमल फुलेको, बिर्सेछेउ कि सम्झेइछेउ मायालु रनवन सँगै डुलेको’ । जीवनको प्रेमिल क्यानभासमा मायालु रङ पोखिएजस्तो लाग्ने यो श्रृगार भावधाराको यो गीतमा उनलाई तारा पुन, कमला राना र टकबहादुर आले दरिलो साथ दिएका छन् । बैंशालु मनहरूबाट निकै प्रशंसा बटुल्न यो गीत सफल रह्यो।

उनी नेपाली लोकगीतको मूलधारमा छाउँदै गर्दा अडियो अल्बमले बजार पिटेको थियो । उनले पनि अडियो अल्बममा आफ्ना भावना बिसाएका छन् । ‘छेल पर्‍यो  कदम छायाँले’, ‘सिम्रिकझैं सिमल फुलेको’, ‘बेचिएकी चेलीको कथा’, ‘औंठी हीराको’, ‘नवलपुरे दाइ’ ‘सुकुम्बासी’, ‘हारेको करिमा’ लगायत ११ वटा अल्बमको प्रतिभा पोखिएका छन् । उनले स्वर दिएका अरू कलाकारका अल्बमको समेत हिसाब गर्ने यो भने यो संख्या ५० भन्दा बढी पुग्छ । ‘रेडियो नेपाल’ मा दशवटा गीत रेकर्ड भएका छन् ।

लोकबहादुर क्षेत्री, अमरबिरही गुरुङ, कृष्णसुधा ढुङ्गाना, हरि न्यौपाने, हरिदेवी कोइराला, बमबहादुर कार्की, शिवा आले, बीमाकुमारी दुरा, शिवु गिरी, पुरुषोत्तम न्यौपानेलगायतका थुप्रै नाम चलेका प्रतिभाहरूसँग मिलेर विभिन्न अल्बममा स्वराङ्कन गरेका छन् ।

उनले स्थानीयदेखि राष्ट्रियस्तरका दोहोरीगीत प्रतियोगितामा भाग लिने क्रममा थुप्रै पटक पुरस्कृत भइसकेका छन् । २०५६ सालमा राजधानीमा आयोजित सार्क दोहोरीगीत प्रतियोगिता उनको टोली पहिलो भयो । टोलीमा शिवु गिरी र केशरबहादुर अधिकारी उनका सहयात्री थिए ।

तेजबहादुर केसी गायनबाट विस्तारै अलग्गिएर प्रतियोगितामा निर्णायकको भूमिका देखापरेका छन् । धेरै ठाउँमा धेरै पटक निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्, जुन सजिलो काम होइन । यो धेरै अपजसे काम हो । अहिले उनको परिचय दोहोरीगीत प्रतियोगिताका निर्णायकका रूपमा पनि बनेको छ ।

केसी कलाकारका शब्द संयोजन, भाव, सुर, लय, ताल, मध्यानुप्रास, अन्त्यानुप्रास, मौलिकता र प्रस्तुतीकरणको सूक्ष्मतम अवलोकन र परख गर्छन् । यही आधारमा तिनमा अन्तरनिहित प्रतिभाको मूल्याङ्कन गर्छन् ।

उनी केशरबहादुर अधिकारी, बद्री पराजुली, छवि पराजुली, रेवती पौडेल, माया गिरि, शिवु गिरि, सिर्जनाविरही थापा, रमेश बिजी, केशुमाया रामदान, बाबुराम पौडेल, श्रीराम अधिकारीजस्ता प्रतिभाका शब्द चयन र भावधाराबाट अतिशय प्रभावित छन् ।

लोकगीत अनुरागी र लोकगीत अभियन्ता भएका नाताले केसी असंख्य गायक–गायिकासँग घुलमिल भएका छन् । उनी धेरैको कला र गलाबाट प्रभावित छन् । तर, उनी पनि शावित्री शाह, लोकबहादुर क्षेत्री, नारायण रायमाझी, माया गुरुङ, हरिदेवी कोइराला, पुरुषोत्तम न्यौपाने, विष्णु माझी, विमल क्षेत्रीजस्ता कलाकारका स्वरमा एक किसिमको पृथकपन पाउँछन् ।

जीवनको गणित लम्बिँदै जाँदा उनको स्मृतिपटलमा अनेकौं  तीतामीठा प्रसंग र घटनाहरू सञ्चित छन् ।
एकपटक उनी एउटा लोमहर्षक नियतिबाट घेरिए । विगतमा ‘रेडियो नेपाल’ ले हरेक वर्ष अधिराज्यव्यापी लोकगीत प्रतियोगिता आयोजना गथ्र्यो । यही क्रममा २०५० सालको प्रतियोगितामा सहभागी हुने मन बनाए । मनमा उत्साह लिएर उनी राजधानी भित्रिए । प्रतियोगिताका लागि उनको पनि गीत छनोट भयो ।

त्यही समयमा भाग्यले उनीसँग क्रूर ठट्टा गर्‍यो । प्रतियोगिताको पूर्वसन्ध्यामा उनी साथीहरूसँग रत्नपार्कको सडकपेटी हिँडिरहेका थिए । त्यही समयमा विपरीत दिशाबाट आएको गाडीले उनलाई अचानक ठक्कर दियो । उनी तत्काल बेहोश भए । ब्युँझदा उनले आफूलाई वीर अस्पतालको बेडमा पाए । प्रतियोगितामा सहभागी अवसर गुम्यो । त्यही लय लिएर रेखा शाह प्रतियोगितमा सहभागी भइन्, प्रेमराजा महतको सहयोगमा । उनी प्रथम पनि भइन् । त्यसबेला उनको भाग्य रेखा शाहको तग्दिरमा सरेजस्तो पो भयो ।

वि.सं. २०५० पुस ६ गते जनस्तर निकै लोकप्रिय गायक लोकबहादुर क्षेत्रीको मोटरसाइकल दुर्घटना परे । उनको दुःखदायी निधन भयो । यसलाई उनी आफ्नो जीवनको नितान्त दुःखदायी क्षण मान्छन् । अहिले उनी लोकबहादुर क्षेत्रीको व्यक्तित्व र कृतित्वलाई लोकस्मृतिमा चिरस्थायी बनाउने अभियानमा छन् ।

उनको संयोजकत्वमा २०५२, २०५३ र २०५४ सालमा निरन्तर तीन वर्ष लोकबहादुर क्षेत्री स्मृति दोहोरीगीत प्रतियोगिता आयोजना भयो । यसका लागि उनले निकै दौडधूप गर्नुपर्‍यो । उनकै सक्रियतामा नवलपरासीको बर्दघाटमा लोकबहादुर क्षेत्रीको शालिक तयार पारी २०७४ साल भदौ २४ गते तत्कालीन सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतबाट अनावरण भइसकेको छ  । शालिक तयार गर्ने काममा उनको भूमिका निर्णायक रह्यो ।

उनले समयको बदलिँदो प्रवाहसँगै लोककलारकारहरू संगठित रूपमा अघि बढ्नुपर्छ भन्ने सोचाइ राखे । यही सोचाइ मूर्त रूप दिँदै २०५७ साल असोज १६ गते नवलपरासीमा दोहोरी कलाकारहरूको छाता संगठन ‘राष्ट्रिय दोहोरीगीत प्रतिष्ठान’ स्थापना भयो । संस्था जन्माउन पनि उनको उल्लेखनीय भूमिका रह्यो ।

उनी संस्थापक सचिव (वि.सं. २०५७-२०५९) रहेर संस्थाको शैशवकाल निकै सक्रिय रहे । त्यसपछि महासचिव (वि.सं. २०५९-२०६१) भएर संस्थालाई अघि बढाउने कार्यमा सरिक भए । अहिले पनि ‘राष्ट्रिय दोहोरीगीत प्रतिष्ठान’ का हरेक गतिविधिमा उनी उत्तिकै सक्रिय छन् ।

जतिबेला उनी लोकगीतको क्षेत्रमा आएका थिए, त्यतिबेला लोकगीतमा व्यवसायिकताको कुनै गुञ्जायस नै थिएन । तर, तअहिले परिस्थिति बदलिएको छ । लोकगीतमा व्यवसायिकता आएको छ । कलाकारले गीत गाएरै जीवनयापन गर्न सक्ने अवस्था पैदा भएको छ । पूँजीवादले निम्त्याएको व्यापारीकरण नै सही, गाउँको दोहोरीगीत शहरका दोहोरी रेष्टुरेण्ट र महोत्सव भेटिन थालेको छ । यसलाई बुझाउन उनी राजनीतिक शब्दावली प्रयोग गर्छन्, ‘गाउँले शहर घेर्न थाल्यो ।’

लोकगीत हाम्रो परम्परा र संस्कृति हो, जुन हाम्रोे लोकजीवनको आधार पनि हो । तर, देशका शासक वर्गमात्र होइन, सचेत वर्गले पनि लोकगीतको महत्व र गरिमालाई सही किसिमले बुझ्न नसकेको उनको बुझाइ छ । हाम्रो सांस्कृतिक पहिचानका लागि लोकगीतको मर्म र भावनालाई सबैले सम्मान गर्नुपर्छ र लोकगीतको श्रीवृद्धिमा जुट्नुपर्छ भन्ने उनको सुझाव छ ।

[ साभार : लोकसंवाद । २०७५ साल चैत १ गते ।]

[अद्यावधिक: २०७५।१२।१२।१५, २०७६।१।५]


Friday, March 8, 2019

स्वरकी रानी

—यमबहादुर दुरा

उनको बैठक कोठामा भित्ताभरि प्रंशसापत्र र अभिनन्दनपत्र सजिएका छन् । विभिन्न संस्थाले दिएका थरीथरीका मायाको चिनाले तख्ता भरिएका छन् । उनको फेसबुक प्रोफाइलमा साङ्गीतिक जमघटका अनगिन्ती तस्बिरहरू पोष्ट भएका छन् । यी परिदृश्यहरूले लोकगायिका बीमाकुमारी दुराको समृद्ध साङ्गीतिक जीवनको साक्षी बक्छन् ।

लोकगीतको दुनियाँमा वाहवाही लुटिरहेकी उनको बाल्यकाल वनपात र मेलापातमै बित्यो । उनलाई विद्यालय जाने अवसर जुटेन ।  उनले विद्यालय गएर साउँ अक्षर सिक्नुको सट्टा वनपात र मेलापातमा लोकभाकाको सिकिन् । यद्यपि, उनले सङ्गीतको औपचारिक ज्ञान पनि कहिल्यै पाइनन् ।

जानीनजानी मुखको सरस्वती जगाउन थालिन् । समयक्रममा लोकभाका र रैथाने जीवनधाराका विविध आयामहरूसँग परिचित हुँदै गइन् । वनपात र मेलापातमा साथीसंगीसँग गीत गुनगुनाउन ग्रामीण जीवनको रीत थियो, बसिबियालो पनि । उनले लोकजीवनको रीत पालना गर्दै गइन् ।

जुनबेला उनी लमजुङ (दुराडाँडा) को पाखापखेरोमा हुर्किँदैथिइन्, त्यसबेला गाउँघर टेलिसंस्कृतिको प्रभावबाट मुक्त थियो । तत्कालीन समाजमा बाहिरी संस्कृतिको प्रभाव र अनुकरणको कुनै गुञ्जायस थिएन । उनले तत्कालीन समाजबाट जे पाइन्, जे सिकिन्, ती पूरापुर अर्ग्यानिक थिए् । उनको गीतमा ठेटपन भेटिनुको मूलभूत रहस्य यही हुनुपर्छ ।

समयको लयमा बयली खेल्दै जाँदा लोकभाकाहरूसँग पत्तै नपाई  नाता गाँसिँदै गयो । लोकगीतमा रस बस्दै गयो । आफूभन्दा अघिल्ला दाइदिदीहरूको साथ लागेर गीतको खालमा उपस्थिति जनाउन थालिन् । लोकगीतका पारखीहरूले उनको स्वरमा बेग्लै मिठास र जादू देख्न थाले । उनीहरूले बीमामा प्रचुर सम्भावना देख्न थाले । विस्तारै स्थानीय जमघटमा उनको स्वरको प्रशंसा हुन थाल्यो ।

स्थानीय र जिल्लास्तरीय साङ्गीतिक जमघटहरूमा हाँजिर हुन थालिन् । २०४३ सालमा सोरठी नृत्यको टोलीमा मिसिएर पोखरा पुगिन् । सम्भवत : उनको लागि यो पहिलो फराकिलो डबली थियो । २०४५ सालमा दोहोरीगीत प्रतियोगितामा भिड्न साथीसंगीको दस्तासहित काठमाडौं आइन् । त्यतिबेला बमबहादुर कार्की र प्रेमराजा महतबाट पाएको हौसला र आत्मीय सहयोग वन्दनीय थियो । बीमा उनीहरूप्रति अतिशय आभारी छिन् ।

उनीहरूकै साथ र संयोजनबाट ‘सिंदुरे ढुङ्गा’ शीर्षकमा अडियो अल्बम निस्कियो । आमस्रोतका लागि उनको यो पहिलो साङ्गीतिक कोसेली थियो । उनको तत्कालीन साङ्गीतिक सहयात्रीहरू रत्ना दुरा, बुद्धिसरा दुरा, लालकुमारी दुरा गाउँघरतिरै घरधन्दामै अल्मलिएका छन् । ती प्रतिभावान् साथीहरू उतै छुटेकोमा उनको मन पोल्छ ।

यता, बीमाको साङ्गीतिक क्षितिज उघ्रिने क्रम जारी रह्यो । रेडियो नेपालद्वारा २०४७ सालमा आयोजित राष्ट्रव्यापी लोकगीत प्रतियोगितमा उनले दरिलो सहभागिता जनाइन् । प्रतियोगितमा उनी प्रथम भइन् । त्यसबेला उनको गलाबाट गुञ्जेको गीत थियो, ‘तुर्लुङडाँडा लाँकुरी चौतारी, छुट्यो मेरो हितैको दौंतरी’ । यो गीत लोकगायक कृष्ण गुरुङले तयार पारेका थिए ।

उनको ख्यातामा दिन दुगुना, रात चौगुना बढ्दै गयो । उनको स्वरको बखान हुन थाल्यो । उनी साङ्गीतिक जमघटको हिस्सा बन्न थालिन् । रेकर्डिङ स्टुडियोमा आउजाउ बाक्लिन थाल्यो । भकाभक अडियो अल्बम निस्कन थाले । साङ्गीतिक यात्राको वर्तमान घुम्तीमा आइपुग्दा उनले स्वदेश र विदेशका असंख्य साङ्गीतिक जमघटहरूमा उभिएर हजारौं हजार स्रोता–दर्शकलाई भावुक तुल्याइसकेकी छिन् । सँगसँगै, नेपाली लोकगीतको अघोषित राजदूत बनेकी छिन् ।

अहिलेसम्म बीमाले हजारौंको संख्यामा गीत गाएकी छिन् । ‘सम्झी फर्क साइँलो दाइ...’, ‘लमजुङ तुर्लुङकोट...’, ‘खैरेनीमा गेट...’, ‘छुटयो मायाजाल...’, ‘सरर कोइलाखानीमा...’, ‘फुल्यो निमपत्ता...’ आदि धेरै मन पराइएका गीतमा पर्छन् । अहिलेसम्म आफूले गाएका गीतको यथार्थ हिसाबकिताब उनीसँग छैन । पाँच हजारभन्दा बढी गीत गाएको अनुमान लगाउँछिन् । सयौं संघसंस्थाबाट अभिनन्दित बीमाकुमारी दुराले रेडियो नेपालबाट प्रतिष्ठित गायिकाको प्रमाणपत्र प्राप्त गरेकी छिन् ।

पूर्वी पहाडका मौलिक लोकभाकाहरू रेडियो नेपालमा ल्याउनुमा जसरी हीरादेवी वाइवा, कविता आलेजस्ता प्रतिभाको योगदान रह्यो, त्यसरी नै गण्डकी भेगका ठेट लोकभाकालाई फराकिलो दायरामा विस्तार गर्नुमा बीमाकुमारी दुराको पनि उल्लेखनीय योगदान रह्यो । शावित्री शाह, युक्त गुरुङ, कृष्ण गुरुङ, कृष्णसुधा ढुङ्गाना, हरिदेवी कोइराला, तीर्थबहादुर गन्धर्व आदिको पदचाप  पछ्याउँदै उनले गण्डकी भेगका लोकभाकाको विस्तारमा योगदान पुर्‍याइन् ।

उनी जुन जनु पुग्छिन, ती कार्यक्रम विशेष बन्न पुग्छन् । उनले पाइला टेक्दैमा कार्यक्रम विशेष बन्न पुग्छ, त्यसमा पनि उनको स्वर गुञ्जन थालेपछि माहोल अर्कै बन्छ । कार्यक्रम स्थलबाट परपरसम्म पुग्नुपर्ने ग्रामीण स्रोता–दर्शकहरू उनकै गीत सुन्नका लागि झुम्मिन्छन्, घरधन्दा असरल्लै पारेर । उनको स्वर रहेको जादू र शब्दमा भरिएको मिठास र भावुकताले चुम्वकीय आकर्षण पैदा गर्छन् ।

नेपाली लोकगीतको विम्ब बनेकी बीमा लोकगीतको मूलधारमै छिन्, तर उनको गीत अहिलेको मूलधारको गीतभन्दा आधारभूत रूपमै भिन्न छ । अहिलेको मूलधारको गीत स्रोता–दर्शकलाई उफार्ने किसिमका छन् भने उनको गीतचाहिँ दुनियाँलाई भावुक तुल्याउने खालका छन् । एक हिसाबले उनी नेपाली लोकगीतको एउटा विरहिणी विम्ब हुन् । उनको गीत सुन्दा धेरै द्रवीभूत हुन्छन् । उनको गीतमा बैंशालु मनहरूमा भूइँचालो ल्याउने मैमत्तपन र उन्मादको लेस पनि भेटिन्न । उनको गीतहरू नितान्त सरिफ र शिष्ट छन् ।

उनको गीतमा नेपाली लोकजीवन प्रतिविम्बत हुन्छन् । उनको स्वरमा लयबद्ध गीतमा परदेश पुगेका सन्तान घर फर्कने आशामा आँगनको डिलमा बसेर बाटोभरि नजर बिछ्याउने बृद्धबृद्धाको कथा बुनिएका छन्, जन्मघर छाडेर पराइघर पुग्नुपर्ने चेली नियति झल्किन्छ, लालाबालाको नाङ्गो शरीर छोप्न र भोको पेट शान्त पार्न अँधेरो कोइलाखानीमा घण्टौं श्रम गर्न बाध्य भाइ-छोराहरूको सुस्केरा भेटिन्छन् र लोकजीवनको भाँकी झल्किन्छन् ।

उनको जिन्दगी उतारचढावपूर्ण रह्यो । उनको जीवन  कतिपय आयामखएक अर्थमा सुखद रहेनन् ।
उनी २०५३ सालमा विवाह बन्धनमा बाँधिइन् । तर यो नाता-सम्बन्ध लामो समयसम्म टिकेन । विवाह-बन्धन बिछोडमा पुगेर टुङ्गियो । समयको एउटा विन्दूमा अर्जापिएको त्यो नाता-सम्बन्धको निसानी बाँकी छ । उनको छोरी त्यो निसानी साँचेकी छिन् । अहिले अमेरिकामा उच्चशिक्षा अध्ययन गर्दैछिन् । यता, आमाचाहिँ एक्लो जीवन बिताउँदैछिन् । परिवारको सदस्यको रूपमा घरमा कुकुर छ । सन्तानको माया त्यही कुकुरमाथि खन्याउँछिन् । यतिबेला त्यही कुकुर उनको साथी र सन्तान दुवै भएको छ ।

५० को दशकको अन्त्य र ६० को दशकको शुरुवाततिर उनी मिडियामा ‘हट केक’ बनिन् । कारण थियो, उनले ‘अब म गीत गाउँदिनँ’ भनेर घोषणा गर्नु । स्वरको जादूले दुनियाँलाई लठ्याउने एउटा ख्यातिप्राप्त गायिकाले यस्तो घोषण गर्नु आफैंमा हलचलपूर्ण घटना थियो । एक हिसाबले उनको यो घोषणा माछाले पानीमा नबस्ने घोषणा गर्नुजस्तै दुस्साहसिक कदम थियो ।

उनको त्यो उद्घोष हठातपूर्ण थियो । उनले गीत नगाएर सुखै थिएन । अन्ततः उनी गायनको दुनियाँ फर्किएरै छाडिन् । पारिवारिक तनावले घेरिँदा उनी यस्तो घोषणा गर्न बाध्य भएकी थिइन् । उनको जीवनमा यो एउटा भयानक साङ्गीतिक दुर्घटना थियो ।

सङ्गीत वृत्तमा उनको कला र गलाको अतिक्ति उनको स्वाभावबारे पनि बेलाबखतमा चर्चा हुने गर्छ । उनी हक्की स्वभावकी छिन् । आफूलाई लागेको कुरा नचपाई प्वाक्कै भनिहाल्ने । उनको यही स्वाभावलाई कसैले सबल पक्षको चित्रण गर्छन् भने कसैले कमजोरीको रूपमा हेर्छन् । कुनै पनि कुरा पूरापुर सही वा गलत हुन सक्दैन । हेराइ आफ्नो आफ्नै हो ।

उनी भर्खर भर्खर गायन क्षेत्रमा आउँदा अनालग प्रविधिमा गीत रेकर्ड हुन्थे । अहिले रेकर्डिङ प्रविधिमा व्यापक परिवर्तन आएको छ । डिजिटल प्रविधिले रेकर्डिङलाई आनका तान फरक पारिदिएको छ । गायन टोलीले सँगै गीत गाउनु नपर्ने । केटाले आफ्नो भाग गाएर हिँडे हुने । केटीले एक्लै आफ्नो भाग गाए पुग्ने । बाजाको धुन पनि पछि मिसाए पुग्ने । तर उनलाई भने लाइभ रेकर्डिङ नै बढी मन पर्छ । गायन टोलीले सँगै गाउँदा मुड बन्ने र गीत जीवन्त बन्ने उनको धारणा छ ।

ठाडो भाका उनलाई मन पर्ने भाका हो । ठाडोभाका गायनमा उदाएका नवप्रप्रतिभाको प्रशंसा गर्छिन् । तर उनीहरूको स्वर र शब्दमा अपेक्षित मौलिकपन आउन नसकेको उनको ठहर छ । यसका लागि उनीहरूले पर्याप्त मेहेनत गर्नुपर्ने उनको सुझाव छ । उनी आफैं पनि ठाडो भाका गाउन सिक्दैछिन् । ठाडो भाकाको रेकर्ड निकाल्ने रहर छ ।

कतिपय सञ्चारकर्मीको व्यवहारबाट उनी वाक्कदिक्क छिन् । कतिपयले अनौपचारिक वार्तालापमा भएका कतिपय कुरालाई तीलको पहाड बनाएर प्रस्तुत गर्ने र मानिसको निजी जीवनको कुनै सम्मानै नगरी प्रस्तुत हुने गरेको उनको गुनासो छ । व्यक्तिको इज्जत र प्रतिष्ठालाई दाउमा राखेर आफ्ना ‘मिडिया प्रडक्ट’ लाई बिकाउ वस्तुमात्र सम्झने कतिपय सञ्चारकमीले सामाजिक उत्तरदायित्व बिर्सने गरेका उनको आरोप छ  ।

उमेरले चार दशकको अन्त्यतिर लाग्दै गर्दा उनको मनको कुनामा जीवन भोगाइका अनेकन् अनुभवहरू बटुलिएका छन् । उनको दृष्टिमा साङ्गीत वृत्तामा हिजो अधिक हार्दिकता र माया–ममता थियो, जुन अहिले दुब्लाउँदै गएको छ । अहिले प्रतिस्पर्धाको भावना बढी र हार्दिकता कम भएको उनको अनुभव छ । प्रतिस्पर्धाले हिजोको हार्दिकता र माया–ममता लाई झिनो बनाउँदै लगेको उनको बुझाइ छ ।

अहिले परिचयका लागि उनको नामै काफी छ । उनी लोकगीतको दुनियाँमा ‘स्वरकी रानी’ उपमाले परिचित छिन् । वनपाखाबाट माथि उठेर एउटा अपठित ग्रामीण बालाले आफ्नो राष्ट्रिय छवि निर्माण गर्न सफल हुनु आफैंमा एउटा भयानक उपलब्धि होे । सफलता प्राप्तिका दिशामा अघि बढिरहेका नयाँ पुस्ताका लागि उनी एउटा उर्जाशील प्रेरणास्रोत हुन् ।

[साभारः लोकसंवाद । २०७५ साल फागुन २४ गते ।]


Saturday, March 2, 2019

धेरैलाई 'सेलिब्रिटी' बनाउने एउटा गुमनाम प्रतिभा

-यमबहादुर दुरा

गीत-सङ्गीतको चमकधमकपूर्ण दुनियाँमा धेरै व्यक्ति 'सेलिब्रिटी' बन्छन् । सार्वजनिक जीवनमा छाउँछन्, चर्चा बटुल्छन् । त्यस्ता 'सेलिब्रिटी' को नाम घर घरमा उच्चारण गरिन्छन् । अंग्रेजी लवजमा भन्दा उनीहरू ‘हाउसहोल्ड नेम’ बन्न पुग्छन् । तर, त्यही गीत-सङ्गीतको चमकधमकपूर्ण दुनियाँमा यस्ता गुमनाम व्यक्ति पनि हुन्छन्, जसको भूमिका ठूलो भएर पनि चर्चा चर्चा हुँदैन ।

सङ्गीत संयोजक एउटा यस्तै प्राणी हुन् । उसले गीतको 'मुड' सुहाउँदो सङ्गीत संयोजन गर्ने र उपयुक्त ‘म्युजिक पिस’ हरूलाई जोडेर गीतलाई सिंगारपटार गर्ने काम गर्छ । उसले गीतमा सङ्गीतिक फूलबुट्टा भर्छ । गीतमा सङ्गीतको मिठास थपेर श्रुतिमधुर बनाउँछ ।

यतिमात्र होइन, उसले गायकगायिकालाई मार्गनिर्देश गरेर गीतमा मधुरभाव थप्न सहयोग गर्छ । तर, ऊ सधैँभरि छायाँमा पर्छ । संक्षेपमा भन्ने हो भने सङ्गीत संयोजकको भूमिका नम्बरीलाई सुनलाई पिटेर आकर्षक गहना बनाउने व्यक्तिको जस्तै हुन्छ । ऊ पर्दापछाडिको नायक हो ।

यति भएर पनि सङ्गीत संयोजक (म्युजिक अरेञ्जर) हरू गुमनाम जिन्दगी बिताउँछन् । उनीहरू ‘बत्तीमुनिको अँधेरो’ बन्न पुग्छन् । गीत–सङ्गीतको चमकधमकपूर्ण दुनियाँमा रहेर पनि यस्तै भोगिरहेका व्यक्तिहरूमा जुजु गुरुङको नाम पनि पर्छ । चर्चा पाउनु नपाउनु अलग कुरा हो, नेपालका चर्चित सङ्गीत संयोजकहरूमा उनको नाम आदरपूर्वक उच्चारण गरिन्छ ।

उनका बुबा कुलबहादुर गुरुङ (वि.सं. १९८५-२०५५) सङ्गीतप्रेमी थिए । उनी घरमा जोरमादल राख्थे । बाजागाजा र नाचगानमा मन दिन्थे । चुनीमाया, यानीमाया भाका गाउँथे । सोेरठी र कृष्णचरित्रको गीत पनि गाउँथे । दोस्रो विश्वयुद्ध लडेका कुलबहादुर गुरुङ गाउँका जिम्मुवाल पनि थिए । गाउँहरूले उनको घरमा नाचगान र रामरमिताका लागि भेला हुन्थे ।

यसप्रकारको साङ्गीतिक माहोललाई सूक्ष्म किसिमबाट नियालिरहेका जुजुको सङ्गीतप्रतिको रुझान बढ्दै गयो । बुबा पदचाप पछ्याउँदै अघि बढेका जुजुले वाद्ययन्त्रहरू बजाउन सिक्दै गए । थाहै नपाई उनका औंलाहरू वाद्ययन्त्रहरूमा अभ्यस्त भइसकेका थिए । सानै छँदा हरप्रकारका वाद्ययन्त्र बजाएर उनले चमत्कार देखाइसकेका थिए ।

आमासँग सुतिरहेको जुजुलाई ओछ्यानबाटै तानेर दिदीहरूले लैजान्थे र मादल बजाउन लगाउँथे । किशोरवयमा प्रवेश गर्दा नगर्दै उनी स्थानीय साङगीतिक कार्यक्रमहरूको हिस्सा बनिसकेका थिए । त्यहाँको साङगीतिक माहोललाई रौनकपूर्ण बनाउन उनको उपस्थिति अपरिहार्य मानिन्थ्यो ।

उनी सानै उमेरमा बाच्छेबाजा (माउथ हार्मोनियम), हार्मोनियम, मादल, खैंजडी आदि बजाएर दुनियाँको मन भुलाउन खप्पिस भइसकेका थिए । आठ-नौ कक्षातिर पुग्दा सारङ्गी बजाउन पनि पारङ्गत भइसकेका थिए । विद्यालयमा हुने साङगीतिक कार्यक्रममा उनले पुरस्कार थापिरहन्थे ।

२०४६ सालमा एसएलसी पास गरेका उनी एक वर्ष गाउँतिरै अल्मलिए । त्यो एक वर्ष गाउँको प्राथमिक विद्यालयमा ज्ञान बाँडेर बिताए । त्यसबेला पनि उनको साङ्गीतिक गतिविधि जारी नै रह्यो । शिक्षणकर्मको छोटो अनुभव सङ्गालेपछि उच्च शिक्षा अध्ययनका लागि आफ्नो घर लमजुङको भोटेओडार छाडेर राजधानीतर्फ पाइला लम्काए ।

राजधानी छिरेपछि उनले आफ्नो स्वाभाव र रुचि अनुसारको संगत मिल्दै गयो । यस्तैमा एउटा सांस्कृतिक टोलीसँग उनको सम्पर्क बढ्यो । त्यो टोली मयुर नाच, चौंरी नृत्य, शेर्पा नित्यजस्ता परम्परागत नृत्य प्रस्तुत गर्दै हिँड्थे । उनी त्यही टोलीमा सामेल भए । उनी वाद्यवादन कार्यमा संगल्न हुन्थे । त्यस सांस्कृतिक टोलीसँगको उठबसले उनमा अन्तरनिहित प्रतिभा माझिँदै गयो । देश र दुनियाँलाई हेर्ने साङ्गीतिक नजर फराकिलो हुँदै गयो ।

उनको साङ्गीतिक नातासम्बन्धको जालो विस्तार हुँदै गयो ।

२०४८ सालतिर उनलाई एकजना साथीले एउटा रोचक कुरा सुनाए । त्यो साथीले उनलाई एउटा यस्तो ठाउँबारे बताए, जहाँ हरप्रकारका बाजा उपलब्ध थिए । सङ्गीत भनेपछि हुरुक्कै हुने जुजुलाई त्यस ठाउँमा पुगौं पुगौं लाग्यो । उनी साथीको पछि लागेर त्यस ठाउँमा पुगे ।

हुन पनि साथीले जुन कुरा भनेका थिए, त्यही कुरा दुरुस्त पाए । त्यहाँ उनले जीवनमा छुन नपाएका र देख्न नपाएका हरप्रकारका बाजा थिए । उनले ती बाजालाई सूक्ष्म किसिमले अवलोकन गरे ।

त्यहाँ लिएर जाने साथीले त्यहाँको साङ्गीतिक दस्तासँग उनको परिचय गराइदियो । सँगै जाने साथीले नवआगन्तुक रूपमा पुगेका जुजुले हरप्रकारका बाजा बजाउन सक्छ भन्ने पनि बताइदियो । उनीहरूले केही बाजा बजाउन लगाए । उनले सारङ्गीलगायतका केही बाजा बजाएर आफ्नो प्रतिभाको परिचय दिए । उनको कलाकौशल देखेर साङ्गीतिक दस्ताको नेतृत्व पंक्ति प्रभावित भयो र आउँदै गर्न आग्रह गरे ।

त्यसपछि त्यस साङ्गीतिक दस्तासँग उनको आउजाउ बढ्यो । तिनीहरूले उनलाई माया मान्न थाले । तिनले पकेट खर्च दिन थाले, गाह्रोसाह्रोमा सघाउन थाले । विद्यार्थी जीवनमा यसप्रकारको सहयोगी हात पाउनु उनको लागि ठूलो कुरा थियो । वास्तवमा त्यो साङ्गीतिक दस्ता कुनै राजनीतिक दलको सांस्कृतिक विभाग थियो  । त्यस साङ्गीतिक दस्ताको सम्पर्क र समन्वयमा काम गर्दा उनले ध्रुव ज्ञवाली र धनकाजी गुरुङबाट सङ्गीतबारे धेरै ज्ञान पाए ।

उनको जीवनको भाँकी र सम्बन्धहरू फेरिँदै गए । त्यो साङ्गीतिक दस्तासँगको जम्काभेट जुजुका लागि जीवनको एउटा मोडमात्र थियो । उनी साङ्गीतिक प्राणी थिए, राजनीतिक प्राणी थिएनन् । राजनीतिसँग कुनै लेनादेना थिएन । उनको साङ्गीतिक यात्रा निरन्तर अघि बढिरह्यो ।

साङ्गीतिक कार्यक्रमहरूमा हिँड्दा २०५४ साल गायक तथा सङ्गीतकार नारायण रायमाझीसँग उनको भेट भयो । रायमाझीले एकाध भेटघाटमै जुजुको प्रतिभा पहिचान गरिहाले । यो भेटको उनको जीवनमा अर्को महत्वपूर्ण मोड थियो । नारायण रायमाझीले उनलाई आफ्नो म्युजिक कम्पनी रीमा रेकर्डिङमा वाद्यवादक बन्न आग्रह गरे । उनले त्यसलाई सहर्ष र सप्रेम स्वीकारे । त्यसपछि उनी केही वर्ष त्यही कार्यरत रहे । उनले आफूलाई खार्दै लगे ।

 २०५० को दशकको मध्यदेखि वाद्यवादन छाडेर सङगीत संयोजनमा लागे । उनले विभिन्न रेकर्डिङ स्टुडियोमा सङगीत संयोजनको काम गरे । उनले राम्रो 'पर्फमेन्स' देखाउँदै गए । यसपछि उनले निरन्तर प्रगति गर्दै गए । उनलाई सङगीतिक क्षेत्रका धेरै मानिसहरूले खोज्न थाले । काम ह्वारह्वाहर्ती आउन थाल्यो । उनलाई सङगीत संयोजनमा धेरै काम आउन थाल्यो । उनको प्रसिद्धि बढ्दै गयो ।

पहिले उनी दिनमा पाँच छवटा अडियो अल्बममा सङ्गीत संयोजन गर्थे । उनी दिनभर व्यस्त रहन्थे । उनले ‘मिर्मिरेमा भाले बासेको...’, ‘छिनको छिनैमा...’, ‘यो मायाको संसार विचित्र...’, ‘ससुरालीमा...’, ‘खैरेनीमा गेट...’, ‘हङकङ आइडीले...’, ‘फूलमा भमरा...’, ‘वनको काफल वनको चरीलाई...’, ‘जम्मू-कास्मिरमा...’, ‘भरिया दाइले बिसाउने भारी...’, ‘...माया बढ्यो झन’ जस्ता असंख्य चर्चित गीतको सङ्गीत संयोजन गरिसकेका छन् ।

उनले सङ्गीत संयोजन गरेको गीतका कारण धेरैले चर्चा बटुले । उनीहरू सेलिब्रिटी बने । यही भएर होला, बजारमा चर्चा बटुलेका कतिपय कलकारहरू ठूला ठूला साङ्गीतिक जमघटमा उनलाई देखेर नतमस्तक हुन पुग्छन् ।

उनले असंख्य गीतमा सङ्गीत संयोजन गरेका छन् । तर अहिलेसम्म आफूले सङ्गीत संयोजन गरेको गीतको यथार्थ अभिलेख छैन । उनी आफूले हालसम्म २० हजार जति गीतमा सङ्गीत संयोजन गरेको अनुमान गर्छन् । यतिबेला महिनामा २०/२२ वटासम्म गीतको सङ्गीत संयोजन गर्छन् ।

सङ्गीत संयोजकबाहेक उनको अर्को परिचय पनि छ । उनी गायक पनि हुन् । ‘काठेपुलैमा...’, ‘धादिङ सल्यानटार...’, ‘दुवाली थुनेको...’ आदि उनले स्वर दिएका गीत हुन् ।

उनले इन्दिरा कलानिधि विद्यालयबाट सङ्गीतसम्बन्धी शिक्षा लिएका छन् ।सङ्गीत अनुरागी र सङ्गीतिक वृत्तमा रहेकाहरूका दृष्टिमा जुजु गहिरो सङ्गीत चेत भएका प्रतिभाशाली व्यक्ति हुन् । तर, उनी आफैं भने आफूलाई कम आँक्छन् । सङ्गीतको अथाह दुनियाँमा आफूले धेरै सिक्न बाँकी भएको बताउँछन् । शिलाबहादुर मोक्तान, पूर्ण गुरुङ, भूपेन्द्र रायमाझी, सचिन सिंह, जुगल डंगोललाई आफ्नो प्रेरणास्रोतका रूपमा लिने गर्छन् ।

उनी चुपचाप आफ्नो कर्मक्षेत्रमा होम्मिन रुचाउने कर्मजीवी हुन् । उनी विज्ञापन गर्न रुचाउँदैनन् । आफूले अङ्गालेको पेशाका कारण पनि उनी ओझेलमा छन् । उनको स्वाभाव पनि हाइफाइ जीवनभन्दा परै रहन मन पराउने किसिमको छ । अभिनन्दन, सम्मान, पुरस्कार आदि उनलाई झर्को लाग्ने विषय हुन् । समय-समयमा उनको नाममा पनि पुरस्कार र सम्मान उदघोष भइरन्छन् ।

उनी यस्ता कार्यक्रमहरू सकेसम्म छल्न खोज्छन् । उनी धेरैजसो पुरस्कार वितरण समारोहमा उपस्थित हुँदैनन् । आफ्नो घोषणा गरिएको पुरस्कारको थुप्रो उठाउनै बाँकी छ । उनी भने सब कुरा छाडेर सङ्गीत साधनामा एकोहोरो तल्लीन रहन मन पराउँछन् । पेशा र स्वाभाव दुवैले उनी चमकधमकपूर्ण दुनियाँबाट पर छन् ।

[साभार : लोकसंवाद । २०७५ साल फागुन १७ गते । ]

Saturday, February 23, 2019

फूलमा भमरा

—यमबहादुर दुरा

वनपाखामा चरो लखेट्दै हिँड्ने एउटा चुलबुले केटो । लोकगीत भनेपछि सानैदेखि कान ठाडो पार्नेे । आमाको फरिया समातेर हिँड्दैदेखि लोकगीत भनेपछि हुरुक्कै हुने । कहिले चिलाउनेको पात  बजाउने, कहिले वनपाखामा नै घन्कने गरी मनको बह पोख्ने । यस्तै थियो, उनको दिनचर्या ।

त्यो चुलबुले केटोले अरूभन्दा बेग्लै छाँटकाँट देखाउँछन् । उनी किशोरवयमा प्रवेश गर्नुअघि नै रोदीघर, सत्यनारायण पूजाजस्ता स्थानीय सामाजिक जमघटमा मुखको सरस्वती पोख्न तम्सन्छन् । रत्यौलीमा केटीको भेषमा केटीकै स्वर निकालेर गीत गाउँछन् । छरछिमेक र अग्रजले उनको स्वरमा जादु भेट्छन् ।

समयले काँचुली फेर्दै जान्छ । स्थानीय जमघटमा गीत गाउन अग्रसर रहने त्यही चुलबुले केटो आफ्नो स्वरले दुनियाँलाई मोहनी लगाउन सफल हुन्छन् । उनको ख्याति विस्तारै फक्रिँदै जान्छ । अन्त्यमा उनी ख्यातिप्राप्त दोहोरी गायकका रूपमा दरिन पुग्छन् । यही हो, अहिले गुलावी रौनक बटुलिरहेका चर्चित दोहोरी गायक राजु परियारको अभ्युदयसँग गाँसिएको छोटो किस्सा ।

‘लालुपाते नुङ्यो भूईतिर...’, ‘गर्नु गर्‍यौ बलराम भैंसी पालेर...’, ‘मिर्मिरेको घाम...’, ‘मौरी फूलमाथि...’, ‘फूलमा भमरा...’,‘झिमझिम सानु नझिम्कयाऊ परेली...’, ‘धोका दिनेलाई के भनौँ र खै...’, ‘लमजुङ जाने दाइ...’ जस्ता गीतमा गुञ्जिएको जादुमय स्वरले उनको प्रसिद्धि चुलियो । उनका ‘फ्यान’ हरू एकपछि अर्को गरी ज्यामितीय दरमा बढ्न थाले ।

कुनै समय यस्तो पनि थियो, उनको फोटो नटाँसिएको दोहोरीगीतको कुनै अल्बम हुँदैनथ्यो, उनको नाम प्रचार नगरिएको महोत्सव नै हुँदैनथ्यो,  शहरमा गुड्ने छोटो दूरीमा माइक्रोबसदेखि राजमार्गमा हुइँकिने बसमा उनका गीत नघन्किएको कुनै क्षण नै हुँदैनथ्यो ।

लोकप्रियता शिखर आरोहण गर्दा उनी दन्त्यकथाका पात्रजस्तै भएका थिए । उनबारे अपत्यारिला कुरा सुनिन्थ्यो । उनले एकै दिनमा १३ वटासम्म गीते रेकर्ड गराएका र गीतै गाएर एक दिनमै डेढ लाखसम्म कमाएको चर्चा चल्थ्यो । उनको ख्याति देखेर कतिपयले उनलाई चर्चित क्यानाडेली गायक जस्टिन बिबरसँग तुलना गर्न थालिसकेका थिए ।

हुन पनि उनले छोटो समयमै असीमित ख्याति कमाएका थिए । प्रवल जनसेवा श्री चौँथो विभूषण, डा. नातिकाजी युवा प्रतिभा पुरस्कार, डा. अम्बेडकर पुरस्कार (भारत) जस्ता सयौं सम्मान र विभूषण हात पारिसकेका थिए । अस्ट्रेलिया, एशिया र युरोपका धेरैजसो मुलुकमा पुगेर आफ्नो प्रतिभा पस्किसकेका थिए । लोकगीतका अनुरागीहरूबाट वाहवाही लुटिरहेका थिए । सर्वसाधारणदेखि शक्तिशाली व्यक्तिसम्मका मन जितिरहेका थिए ।

लोकगीतको महफिलमा यतिविधि सुनाम कमाएका राजु परियारको जीवनमा समयले ‘सकुनी खेल’ खेलिदियो । उनी दुनियाँलाई रनभुल्ल पार्दै एकएक अन्तरध्यान भए । २०६८ देखि २०७२ सालसम्मको अवधिमा सार्वजनिक जमघटहरूमा देखा परेनन् । उनी कहाँ बस्छन्, के गर्छन्, कसैलाई पत्तो हुँदैनथ्यो । उनको मोबाइल हरदम स्विच अफ हुन्थ्यो ।

उनको अनुपस्थितिले पैदा भएको खाली ठाउँ हल्लाले भरिन्थ्यो । भए—नभएका कुराले उनका शुभचिन्तक र ‘फ्यान’ का कान भरिन्थे : राजुले गीत गाउन छाडे, पारिवारिक झमेला परे, श्रीमतीसँग मनमुटाव बढ्यो, गीत गाएर जोडेको चल अचल सम्पत्तिमा खोलो लाग्यो, मदिराभोगी बने आदि ।

पृष्ठभूमिमा उनीबारे चाहिँदा नचाहिँदा चर्चा चलिरहेकै थियो । यस्तैमा साथीसंगीले उनी कहाँ छन् भन्नेबारे सोधपुछको सिलसिला चलाए । अखबारहरूमा उनीबारे खोजबखर आउन थाले । तर कसैको केही सीप चलेन । उनको हालखबर सधैँ बेखबरमा परिणत भइरह्यो । समय भुक्तान भएपछि मात्र उनी आफैं सार्वजनिक भए ।
उनी भूमिगत हुनुको पछाडि लुकेको लामो कथाको सार थियो, श्रीमतीसँग मनमुटाव बढ्नु र मनमुटाव पारो बढ्दै जाँदा उनीहरूका सम्बन्ध नदीको दुई किनारजस्तो हुन पुग्नु । यही मूलकथाको सेरोफेरोमा अरू थुपै्र उपकथाहरू जोडिएका थिए ।

अहिले उनको घरेलु मामला सप्रिएको छ । अघिल्लो श्रीमती एक छोरा र एक छोरी दिएर अर्कै बाटो लागेकी छिन् । राजुले पनि अर्कैसँग घरबार जोडेका छन् । अहिलेकी श्रीमतीसँग छोरो जन्मिएको छ, जसको उमेर भर्खर सात महिना पुग्दैछ । अहिलेकी श्रीमती सबै लालाबाला सम्हालेर बसेकी छिन् । राजु रेकर्डिङ र साङ्गीतिक जमघटहरूमा व्यस्त छन् । उनको जिन्दगीले फेरि लय समातेको छ ।

जिन्दगीमा नपत्याउँदा आँधीहुरीको सामना गर्नुअघि उनी दुई थान सपना बोकेर २०५४ सालतिर लमजुङको गाउँशहर (चिसापानी) बाट राजधानी भित्रिएका थिए । उनको सपना थियो, मौका पाएमा नेपाली सेनामा भर्ती हुने, त्यसो हुन नसके गीत गाउने । सेनामा भर्ती हुने सपना तुहियो, गीत गाउने सपना सप्रियो ।

उनी एक साँझ सुन्धाराको गल्लीतिर टहलिँदै थिए । उनले कतै मादलको तालमा लोकभाका गुञ्जिएको सुने । यसबाट उनीभित्रको लोकसङ्गीतको मोह फेरि एकपटक ब्युँतिएर आयो । आवाज पछ्याउँदै जाँदा उनी ‘पुकार दोहोरी साँझ’ पुगे, जुन नेपालकै पहिलो दोहोरी साँझ हो । उनी दर्शकदीर्घामा पुगेर गीत सुन्न थाले । त्यहाँको साङ्गीतिक माहोल देखेरमा उनमा गीत गाउने इच्छा जाग्यो । उनले अनुमति मागेर गीत गाए ।

उनले एउटा गीतमात्रै के निकालेका थिए, सबैजना मन्त्रमुग्ध भए । उनलाई ‘पुकार दोहोरी साँझ’ का मालिकले उनको प्रतिभा पहिचान गरिहाले । दोहोरी साँझका मालिकले उनलाई आफ्नो दोहोरी साँझमा गीत गाउन आग्रह गरे । उनले त्यही दोहोरी साँझमा गीत गाउन थाले । उनको गीतका प्रशंसकहरू थपिन थाले । त्यो घटना उनको जीवनमा कोशेढुङ्गा सावित भयो । उनको परिचय र सम्पर्कको दायरा फराकिलो हुँदै गयो । उनी दोहोरीको दुनियाँमा स्थापित हुँदै गए । समयक्रममा एक पछि अर्को गरी अडियो अल्बम निस्कन थाले । अनि त उनलाई नचिन्ने र नजान्ने मान्छे नै भएन ।

राजुको साङ्गीतिक यात्रामा दुई दशकतिर लम्किँदैछ । यस क्रममा उनको स्मृतिपटलमा अनेकन् संस्मरणको खात लागेका छन् । एकपटकको दोहोरी प्रतियोगितामा उनले तनहूँकी गायिका उत्तम गुरुङसँग दोहोरी गाउनुपर्‍यो । गीत दिदी–भाइको लाइनमा अघि बढ्यो ।

उनले गीत निकाले, ‘रैछ जीवन हावा र हुरीको, सुन्नुुस् कथा टुहुरा र टुहुरीको’ । उत्तम गुरुङ तत्कालै द्रवीभूत भइन् । उनी गाउनै नसक्ने अवस्थामा पुगिन् । निर्णायक मण्डल र दर्शकदीर्घा रहेका सबै स्तब्ध भए । राजु पनि पनि अक्क न बक्क भए । पछिमात्र थाहा भयो, केही महिनाअघि मात्र उत्तमकी आमा परलोक भएकी रहिछन् ।

उनले गायन यात्रामा संगालेका थुप्रै संस्मरणमध्ये एउटा संस्मरण उनको ‘फ्यान’ सँग सम्बन्धित छ । लगगभ ८ वर्ष अगाडि बुटवल महोत्सवमा उनी स्टेजमा गीत गाइरहेका थिए । विवाहित भए पनि  स्टेजमा गीत गाउँदा उनले आफूलाई ‘कन्य–कुमार’ को रूपमा प्रस्तुत गरिरहेका थिए । यत्तिकैमा स्टेजमा एउटी केटी उक्लन खोजी । उनलाई कसैले रोके ।

पछि त्यही केटी एकजना महिलालाई लिएर उनी बसेको होटलमै आइन् । उनीसँग आएकी महिला उनको आमा रहिछन् । लामो समयदेखि त्यो केटी राजुको ‘डाइहार्ड फ्यान’ रहिछन् । मौका मिलेमा राजुसँग विवाह गर्ने मनस्थितिमा रहिछन्, तिनी । त्यस भेटघाटमा आमामार्फतविवाहको प्रस्ताव आयो । राजुले आफू विवाहित भएकोले प्रस्ताव स्वीकार्य नहुने तर दाजु–बहिनीको नाता भने कायम रहन सक्ने बताए ।

त्यो केटीको अपेक्षामा तूषारापात भयो । तर नाता अर्कै किसिमले अघि बढ्यो । उनीहरूबीच दाजु–बहिनीको नाता कायम भयो । ‘अहिले पनि दाजु-बहिनीको रूपमा फोनवार्ता भइरहन्छ ।’ उनी संयोगवश जोडिएको नाता–सम्बन्धको धागो फुकाउँछन् ।

उनलाई गण्डकी क्षेत्रमा प्रचलित ठाडो भाका निकै मन पर्छ । ‘मलाई ठाडो भाका सुनेपछि अरू गीत सुन्न मन लाग्दैन’ उनी ठाडो भाकाप्रतिको मोहभाव प्रकट गर्छन् । उनी ठाडो भाकामा जस्तो लालित्य र भावनाको ज्वारभाटा अरू गीतमा भेट्दैनन् । ठाडो भाका अलि अलि गाउँछन् पनि । उनी हाक्पारे, देउडा तथा हुड्क्यौली गीतमा पनि नेपाली समाज बोलेको पाउँछन् । यी गीतप्रति असीम श्रद्धाभाव देखाउँछन् ।

दोहोरी गाउँदा तत्क्षण शब्दजाल बुन्न बुन्नैपर्छ । त्यो शब्दजाल माकुरीको जालजस्तै कलात्मक हुनुपर्छ । उनको अनुभवमा शिवु गिरी र केशरबहादुर अधिकारी शब्दजाल बुन्नमा खप्पिस पारखीका हुन् । यसका अतिरिक्त उनका दृष्टिमा प्रजापति पराजुली, बद्री पराजुली, सिर्जनाविरही गुरुङ, शिला आले, सकुन्तला थापा आदि यो मामलामा उत्तम प्रतिभाहरू हुन् । उनी झलकमान गन्धर्व र बीमाकुमारी दुराका स्वरमा बेजोड मार्धुय र विलक्षणपूर्ण झङ्कार पाउँछन् ।

आफू लोकगीतप्रति अनुरक्त हुनुमा लमजुङको सङ्गीतमय वातावरणलाई श्रेय दिन्छन्, उनी । यसमा उनका बुबा मंगलसिंह परियार र आमा सन्तमाया परियार उत्तिकै श्रेयभागी छन् । दुवैजना लोकगीतका अनुरागी । उनले अभिभावकबाट प्रत्यक्ष वा अप्रत्यक्ष प्रेरणा पाए । यिनै प्रेरणादायी तत्वहरूको गठजोडबाट उनी साङ्गीतिक दुनियाँमा छाएका हुन् ।

राजु गुरुङ मिश्रित समुदायमा हुर्किएका व्यक्ति हुन् । उनीको घर परिपरि गुरुङ गाउँ छ । बहुसांस्कृतिक समाजमा हुर्कँदा उनले कमाएको अमूल्य सम्पत्ति हो, गुरुङ भाषा । उनी गुरुङ भाषा खररै बोल्छन् । गुरुङ गाउँमा हुने साङ्गीतिक जमघटमा गुरुङ भाषामा गीत गाउँछन् । त्यतिमात्र होइन, मौका पर्दा गुरुङ भाषामै मन्तव्य दिन्छन् । उनले गुरुङ भाषाको चलचित्रमा पनि गीत गाएका छन् । गुरुङ भाषामा गीत पनि लेखेका छन् । उनी गुरुङ समुदायमा प्रिय व्यक्ति हुन् ।

उनमा विद्रोही चेत छ । जातभातको सिंढीदार सामाजिक संरचनाप्रति उनी स्वभाविक रूपमा आलोचक छन् । उनी जातभातले निम्त्याएको उचनीच व्यवहारप्रति विद्रोहको स्वर ओकल्छन् । ‘सुनपानीले छर्क मायालु’, ‘यो खोलीको पानी कोई नखानू मैले छोको छु’, ‘अछुतले नै हो मूर्ति कुँदेको, पुजारीले छ छैन बुझेको’ जस्ता गीतमा उनका विद्रोही चेत मजासँग सल्बलाएका छन् ।

उनले पछिल्लो समयमा पनि जातभातले जालोले छोपिएको समाजलाई तरङ्गित पार्ने गीत गाए : ‘कति राम्रो दमाइको छोरो’ ।  यसमा उनले ताली र गाली दुवै पाए । कतिले यस्तो गीत गाउन हुँदैनथ्यो भने, कतिले गाएकामा राम्रो माने । उनलाई भने सामाजिक वास्तविकता उजागर गर्ने गीत गाएर ‘ठीक गरेँ’ भन्ने लागेको छ । तर, ‘कति राम्रो दमाइको छोरो’ भनेर गीत गाउने उनी दलित शब्दलाई शब्दकोशबाटै हटाउनुपर्छ भन्छन् । उनको दृष्टिमा शब्दकोशमा दलित शब्द रहँदासम्म भेदभावको बीउ रहिरहन्छ ।

उनको जीवन–घडीको सुई चार दशक नजिक-नजिक सोझिन लाग्दैछ । उर्वर समय अझै बाँकी छ । उनीबाट धेरै आशा गर्ने ठाउँ छ । उनी आशा र भरोसाहरू उमार्दै साङ्गीतिक यात्रामा अग्रसर छन् । उनका शुभचिन्तक र ‘फ्यान’ हरूको अपेक्षा र सुझाव एउटै छ, विगतका अलमल र बाँझो समयको क्षतिपूर्ति हुने गरी उनको साङ्गीतिक यात्रा अघि बढ्नुपर्छ ।

[साभार : लोकसंवाद । २०७५ साल फागुन १० गते ।]

Friday, February 15, 2019

देऊ रुमाल फूल भरेर

-यमबहादुर दुरा

उनका बुबा भारतीय सेनाका सुबेदार धनबहादुर गुरुङ शिक्षाको महत्व बुझेका व्यक्ति थिए । छोरालाई आफूजस्तै पल्टनियाँ बनाउने उनको कुनै रहर थिएन । छोरोले पल्टनमा बुट बजार्नुको सट्टा स्वदेशमै केही गरेर देखाउन् भन्ने उनको चाहना थियो ।

उनी हरप्रकारले छोरालाई पढ्न प्रेरित गर्थे । छोरा पनि पढाइमा तेज नै थिए । लेखपढ गर्ने कार्य निःसर्त कर्म भए पनि छोराले बुबासँग एउटा सर्त राखेका थिए, पढाइमा पहिला भए आफ्ना लागि रेडियो किनिदिनु पर्ने । नभन्दै उनी परीक्षामा पहिलो पुरस्कार थाप्न सफल भए ।

अहिलेका ख्यातिप्राप्त लोकगायक कृष्ण गुरुङले त्यतिबेला आफ्ना पल्टने बुबालाई खुसीको खबरले भरिएको चिठी तात्तातै पठाइहाले । बुबाले छोरालाई निराश पार्ने कुरै भएन । पल्टनबाट छुट्टीमा घर फर्कँदा बुबाले नेसनल पानासोनिक रेडियो ल्याइदिए । उनको खुसीको सीमा रहेन । रेडियो पाउँदा उनलाई युद्ध जितेजस्तै भयो । रेडियोमा खबर सुन्नु र लोकगीत सुन्नु उनको दिनचर्या नै बन्यो ।

त्यस समयमाउनलाई मन पर्ने थुप्रै आवाजहरूमा नेपाली लोकगीतको एउटा विरहिणी विम्ब मन छन्त्याल पहिलो नम्बरमै पर्थिन् । छन्त्यालको चर्चित गीत ‘बेनीको बजार...’ आउनुभन्दा अघि रेडियो नेपालबाट उनकै स्वरमा एउटा मार्मिक गीत बज्थ्यो :  ‘खाइसक्यो धैंसले, इज्जेत फाल्छ यै पापी बैंशले...’ । (बाग्लुङतिरको लवजमा ध्याँसोलाई धैंस भनिन्छ) । यो गीत उनलाई खुबै मन पर्‍थ्यो ।

उनी पिढीको खाँबोमा रेडियो भुण्ड्याएर बारीमा घाँस काट्न जान्थे । रेडियोमा मन छन्त्यालको गीत बजेपछि दौडिएर गीत सुन्न घरै हाँजिर हुन्थे । रेडियोमा बज्ने रैथानेपन झल्कने यस्ता गीतले उनको लोकसङ्गीतप्रतिको भोक र तिर्सना थप जागेर आयो ।

बुबाले ल्याइदिएको त्यो नेसनल पानासोनिक रेडियो उनीसँग छैन । आफ्नो सपना, बाल्यकालीन सम्झना, साङ्गीतिक करिअर र व्यक्तिगत इतिहासका अध्यायहरू जोडिएका त्यो रेडियो सुरक्षित नराखेकोमा उनलाई हुनसम्म पछुतो छ ।

उनी जन्मेहुर्केको जामुने सिम्ले (दुराडाँडा) सांस्कृतिक दृष्टिले समृद्ध थियो । त्यहाँको सांस्कृतिक परिवेश लोकगीतका लागि कम्ताको उर्वरभूमि थिएन । त्यसबेलाको रोदीघर र सामाजिक जमघटहरू मोहनी भाकाले गुञ्जयमान हुन्थे । यी तमाम उत्प्रेरक तत्वका कारणमा उनमा बाल्यकालमै लोकगीतप्रतिको रुझान विकास भइसकेको थियो ।

उनी बाँसुरी बजाउन निकै रुचि राख्थे । गाईवस्तु चराउन जाँदा पनि रुखमा बसेर मुरली फुक्थे । शुरु शुरुमा बाँसुरी बजाउँदा ताल टिपिँदैनथ्यो । त्यसपछि रीसले बाँसुरी हुर्‍याइदिन्थे  । रीस मरेपछि त्यही मुरली खोजेर बजाउँथे । उनी विद्यालय जाँदा र फर्कँदा बाँसुरी नै फुक्थे ।

उनी पढ्ने स्थानीय सर्वोदय माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत आयोजना गर्ने लोकगीत प्रतियोगितमा नाम लेखाउँथे । प्रतियोगितामा उनी अक्सर पहिलो पुरस्कार थाप्न सफल हुन्थे । उनको प्रतिभा देखेर सूर्यनाथ न्यौपाने, ठाकुरप्रसाद छाँगालगयातका शिक्षकहरूले भविष्यमा साङ्गीतिक करिअर रोज्न सल्लाह दिन्थे ।

यस्तै हौसला र प्रेरक तत्वहरूबाट हौसिएर उनले मनभित्र अठोटहरूका चाङ लगाउँदै थिए । एसएलसी उत्तीर्ण भएपछि उच्च शिक्षा हाँसिल गर्न २०३७ सालमा राजधानी भित्रिए । त्यसपछि उनको साङ्गीतिक यात्राले वेग हान्न थाल्यो ।

रेडियोमा गीत गाउनु उनको ठूलो धोको थियो । यही धोको पूरा गर्न उनी एकपटक एसएलसी उत्तीर्ण हुनुभन्दा अघि नै राजधानी भित्रिएका थिए । त्यतिबेला रेडियोमा गीत गाउने अवसर मिलेन । निराश भएर घर फर्किए तर उनले हिम्मत हारेका थिएनन् । उनीभित्र इरादाको आगो निभेको थिएन ।

रेडियो नेपालको भाषाभाषी गीत ‘फूलबारी कार्यक्रम’ मा २०३८ सालमा पहिलो पटक गुरुङ भाषामा गीत गाए, त्यो पनि आमालाई सम्झेर । ‘मलाई सम्झेर नरुनू आमा’ आशयको गीत गाए । गीत गाएबापत २० रुपैयाँ पारिश्रमिक पाएका थिए । त्यही पैसाले बुट्टे छाता किनेर दिदीलाई उपहार दिए ।

त्यो गीत सुनेर आमाको आँखाबाट अश्रुधारा बग्यो । गण्डकी भेगका धेरै आमाहरूको आसु थामिएन । गाउँघरमा उनको कला र गलाको चर्चा हुन थाल्यो । उनले त्यस गीतबाट मातृभाषाको तागत कति जोडदार हुन्छ भन्ने अनुभूत गर्ने अवसर पाए ।

त्यस समयमा रेडियोमा गीत रेकर्ड गर्न स्वर परीक्षामा उत्तीर्ण हुनु अनिवार्य थियो । अनेक धामा सहेर उनले २०३९ सालमा स्वर परीक्षा उत्तीर्ण गरे । यसपछि साङ्गीतिक यात्राको फलामे ढोका खुल्यो । स्वर परीक्षा उत्तीर्ण भएपछि उनले रेडियो नेपालमा आफ्नो पहिलो लोेकगीतको रुपमा ‘देऊ रुमाल फूल भरेर...’ बोलको गीत रेकर्ड गराए । यो गीत गाउँबस्तीमा निकै लोकप्रिय रह्यो ।

यसका अतिरिक्त ‘गाउंँशहरको भीर...’, ‘लालुपातेर, गयो मायाले डाँडै काटेर’, ‘हातैमा देऊ नानी रुमाल...’, बुट्टे चोलीरी..., ‘खो पाते...’ आदि जनजिब्रो उच्चारण भइरहने गीतहरू हुन् ।

उनी २०३९ साल राजदरबार सेवामा प्रवेश गरे, त्यो पनि स्थायी कर्मचारीको रूपमा । पञ्चायत कालमा राजदरबार सेवामा कार्यरत रहनु रोव-रवाफको जागिर थियो । तर, त्यो जागिरमा उनी त्यतिविधि रमाउन सकेनन् । राजदरबारको जागिरमा उनीभित्रको कलाकारिता फष्टाउने ठाउँ थिएन ।

 अन्तत: उनले राजदरबारको स्थायी जागिर छाडेर २०४४ सालमा सांस्कृतिक संस्थानमा बाँसुरी वादकको रूपमा अस्थायी जागिरे भए । आफ्नो रुचि अनुसारको क्षेत्रमा प्रवेश गर्न उनले सुनिश्चित जागिर त्यागेर अनिश्चित भविष्य रोजे । २०५५ सालमा आएर मात्र उनी स्थायी भए । उनले लोकसंगीत संयोजकको जिम्मेवारी पनि सम्हाले । हाल उनी गायन प्रबन्धक पदमा कार्यरत छन् । साथै, उनले अनुसन्धान शाखाको जिम्मेवारी सम्हालिरहेका छन् ।

कृष्ण गुरुङ थुप्रै दोहोरी प्रतियोगितामा भिडे । दोहोरीमा भिड्दा उनले थुप्रै रोचक अनुभव संगालेका छन् । तीमध्ये एउटा प्रसंग दोहोरीका हस्ती मानिने कोमल ओलीसँग पनि जोडिएको छ । दोहोरी गाउँदा ओली आफूलाई चराको रूपमा प्रस्तुत गर्थिन् ।

त्यसपछि शिकारी-चराको लाइनमा गीत अघि बढ्थ्यो । अन्ततः उनी डाँफेचरीको रूपमा प्रस्तुत हुन्थिन् । डाँफे, नेपालको राष्ट्रिय चरा । डाँफेको शिकार गर्नु कानुनतः निषिद्ध हुने भइहाल्यो । यही रणनीति अपनाएर उनी विपक्षीलाई हराउँदै आफूलाई सुरक्षित स्थानमा राख्थिन् । यो नै उनको व्रह्मास्त्र थियो ।

२०४५ सालमा कोमल ओलीसँगको घम्साघम्सीपूर्ण दोहोरीमा कृष्ण गुरुङले पनि अचुक अस्त्र प्रयोग गरे । उनी वनको राजा सिंहको रूपमा प्रस्तुत भए । उनले गीतमै तर्क राखे - डाँफेचरी होस् वा अन्य जीवजन्तु नै किन नहोस, निहुँ खोज्दै सिंहको मुखमा पर्न आउँछ भने त्यसमा कुनै पनि कानुनको धारा आकर्षित हुँदैन । यस्तो तर्क राखेपछि नतिजा उनको पक्षमा आयो । यसरी उनले ओलीको व्रह्मास्त्रलाई निस्तेज पारिदिए ।

लोकगीतका विभिन्न विधा र शैलीलाई सूक्ष्मतम् किसिमले विश्लेषण गर्नेे कृष्ण गुरुङ ग्रामीणजन र अग्रज पुस्ताले गाएका गीतमा मौलिकता र मिठास पाउँछन् । ती गीतमा स्थानीयपन र जातीय संस्कृतिको सुगन्ध पनि फेला पार्छन् । लोकगीतको मौलिकता बचाउन यस्ता कुरा आवश्यक छन् । अहिलेका गीतमा यी मूलभूत पक्ष नै गायब हुन थालेको उनको ठहर छ ।

उनी रोदीघरलाई लोकगीतको मुहान ठान्छन् । रोदीघरबाटै सुनीमाया, यानीमाया, सालैजो, बिनासालैजो ठाडो भाकालगायत लम्मरी लम्मरी भाका जन्मिएको उनको बुझाइ छ । उनी रोदीघरलाई एउटा महत्वपूर्ण सांस्कृतिक विम्बको रूपमा लिन्छन् ।

तर, कतिपय लेखकले हाम्रो लोकजीवनको सुन्दर विम्ब रोदीघरलाई पश्चिमा मुलुकको ‘नाइट क्लब’ सँग तुलना गरेर भ्रष्टीकरण गरिदिएकामा उनी दुःखी छन् । रोदीघरलाई नितान्त व्यापारिक प्रयोजनका लागि स्थापित ‘नाइट क्लब’ सँग दाँज्नु कुनै पनि दृष्टिले तर्कसंगत नहुने उनको तर्क छ ।

रोदीघरजस्तै लोकगीतबारे पनि धेरै भ्रामक कुरा आएकामा उनी चिन्तित छन् । कतिपयले गहिरो अध्ययन नगरी सतही बुझाइका आधारमा लोकगीतलाई परिभाषित गरिदिँदा धेरै द्विविधा आएको उनको बुझाइ छ । धेरैले लोकगीतलाई सस्तो मनोरञ्जनको माध्यमको रूपमा बुझेका छन् । लोकगीतमा विद्यमान यसप्रकारको भ्रमलाई चिर्न लोकगीतका अध्येताले भ्रम निवारण कार्यलाई महत्वपूर्ण कार्यसूचीकै रूपमा अघि बढाउनुपर्ने उनको सुझाव छ ।

विकास र लोकसंस्कृतिबीच विद्यमान द्वन्द्वमा लोकसंस्कृति पराजित बन्दै गएको छ । उनको विश्लेषण छ, ‘विकाससँगै विनाश आउँछ । लोकगीत त्यसको चपेटामा परेको छ । विकासले लोकगीत खायो ।’

परिवर्तित परिस्थितिबारे उनी  टिप्पणी गर्छन्, ‘आजकल हामी घाँस काट्न जाँदैनौ किनभने गाइवस्तु पाल्दैनौं । ढिकीजाँतो गर्दैनौं, मिल आयो । पानी पँधेरौ गर्दैनौं, घरमा धारा आयो । पहिले बेलुका भात खाएपछि रोदीघर जान्थ्यौं, अहिले त्यो समयमा टीभी हेर्छौं । कति फरक आयो, कति । लोकसंस्कृतिमा धेरै ह्रास आएको छ ।’
परिणामस्वरूप वनजंगलमा घाँस दाउरा गर्दा, पानी पँधेरो गर्दा, ढिकी जाँतो गर्दा गाउने गीतहरू हराएर गएको उनको निष्कर्ष छ ।

परिस्थिति जति नै जटिल भए पनि नेपालको पहिचान जोगाउन लोकसंस्कृति बचाउनुको विकल्प नभएकोमा उनी दृढ छन् । उनी भन्छन्, ‘ज्याज म्युजिकले नेपालको परिचय दिँदैन । नेपालीपन भएको गीतले नै नेपालको परिचय दिन्छ ।’

नेपालको संस्कृतिको ठूलो हिस्सा जनजातिको संस्कृतिले ओगटेकाले उनीहरूको संस्कृति संरक्षण र सम्वद्र्धनमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिन्छन् । सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले त्यहाँका हरेक जनजातिको संस्कृति संरक्षणका लागि बजेट छुट्याइदिएको  दृष्टान्त दिँदै नेपाल सरकारले पनि यहाँको विविधतापूर्ण संस्कृति जोगाउन चाम्लिङको पदचाप पछ्याउनु राम्रो हुने उनको सुझाव छ  ।

अहिलेका गीत क्षणभङ्गुरपूर्ण रहेको उनको धारणा छ । उनको टिप्पणी छ, ‘आजकलका गीत आज लोकप्रिय छ, भोलि छैन । पुराना गीत हिजो पनि लोकप्रिय थिए, आज पनि लोकप्रिय छन् ।’ ‘सुखी ज्यानलाई गुँदरी काम्लो...’, ‘सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ...’ ‘बेनीको बजार, जता माया उतै छ नजर’, ‘गाउँशहरमा लमजुङ दरबार...’ जस्ता पुराना गीतलाई समयले पछि पारिसक्दा पनि स्रोताले बहुतै मन पराएको उनको बुझाइ छ ।

गाउँबाट राजधानी छिरेपछि आफूभित्रको प्रतिभा तिखार्नतिर लागे । उनले सङ्गीत प्रवीण नरराज ढकाल, शकुन्तला प्रधान, गोपालनाथ योगी र कमलप्रसाद क्षेत्रीबाट शास्त्रीय संगीतको ज्ञान लिए । लोकगायक युक्त गुरुङसँग विभिन्न वाद्ययन्त्रको स्केलका साथै हार्मोनियम, मादल वादनसम्बन्धी ज्ञान र सीप सिके । प्रयाग संगीत समिति इलाहाबादबाट शास्त्रीय गायनमा ‘सिनियर डिप्लोमा’ सम्मको तालिम लिएका छन् ।

उनकै शब्दमा यसअघि उनले गाउँघरका अपठित आमा-बा र दाजुभाइ दिदीबहिनीहरूबाट अप्रत्यक्ष रूपमा लोकगीतबारे धेरै कुरा सिके, जो उनका प्रेरणास्रोत हुन् । उनका दृष्टिमा ती अपठित ग्रामीणजन लोकगीतका अनौपचारिक विश्वविद्यालय हुन् ।

यी औपचारिक र अनौपचारिक विश्वविद्यालयबाट सिकेका ज्ञान र सीपले उनको साङ्गीतिक यात्रालाई एउटा उचाइमा पुर्‍यायो । उनले एशिया र युरोपका विभिन्न १३ देशमा पुगेर आफ्नो कला र गलाको आलोक छरिसकेका छन् । गाउँका एउटा कुनबाट उदाएको उनको प्रतिभा देशको सरहदभन्दा धेरै परसम्म पुगेको छ ।

उनको प्रतिभा गायनमात्र सीमित छैन । उनी लोकगीतका अध्येता र अभ्यासकर्ता दुवै हुन् । उनी लोकगीतको नालीबेली केलाउन सक्छन् । गण्डकी भेगमा प्रचलित ठाडो भाका उनी कुशलतापूर्वक गाउन सक्छन्, जुन भाका अहिले धेरैले गाउन जान्दैनन् । उनको हातबाट कुनै पनि बाजा रोकिँदैन । उनी व्यवसायिक बाँसुरी प्रशिक्षक त हुँदै हुन्, अभिनयमा पनि उनले दरिलो उपस्थिति जनाइसकेका छन् ।

उनले गुरुङ भाषाका दर्जन भन्दा बढी चलचित्रमा अभियन गरिसकेका छन् । टेलिचलचित्र र नाटकमा अभिनय गरेर आफ्नो कला पस्किसकेका छन् । उनले चलचित्र र नाटकमा सङ्गीत संयोजन पनि गरेका छन् । उनी रेडियो नेपालबाट प्रतिष्ठित गायकको उपाधि, क्षेत्रीय प्रतिभा पुरस्कारलगायत सयौं सम्मान र पुरस्कारद्वारा विभूषित भएका छन् ।

उनी २०७६ साल साउनमा सांस्कृतिक संस्थानको जागिरबाट सेवानिवृत्त हुँदैछन् । जागिरपछिको खाली समय गाउँ गाउँ डुलेर मौलिक लोकभाका खोज्ने र अभिलेखन गर्ने उनको धोको छ । यहीबाट सही गन्तव्यमा पुगिने उनको अपेक्षा छ ।

[साभार: लोकसंवाद । २०७५ साल फागुन ३ गते ।]

Friday, February 8, 2019

'पानको पात' को किस्सा

-यमबहादुर दुरा

समयले इतिहास रच्दै थियो । २०४१ सालमा वीरगञ्जमा तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता चलिरहेको थियो ।   त्यस समयमा दोहोरीगीत पनि खेलकुद प्रतियोगिताकै एक हिस्सा थियो ।

दोहोरी प्रतियोगिताका सहभागी टोलीमध्ये लालु गुरुङको टोली एउटा सुमधुर भाका लिएर प्रतिभाको डबलीमा सुमधुर पौँठेजोरी खेल्न आइपुग्यो । अर्को प्रतिस्पर्धी टोलीमा जुटेका कृष्णसुधा ढुङ्गानालाई त्यो मोहनी भाकाको गुञ्जनले लठ्याउनुसम्म लठ्यायो  ।

त्यस भाकालाई अल्बममा समेट्न पाए गजबै हुने थियो भनेर ढुङ्गानाले मनमनै सोचे । नभन्दै उनको सोचाइले साकार रूप लियो । २०४३ सालमा त्यही भाकामा ‘पानको पात’ नामक अल्बम बजारमा आयो ।

 त्यस अल्बममा स्वराङ्कन गर्नेहरूमा पुरुषतर्फ बमबहादुर कार्की, कृष्णसुधा ढुङ्गाना र प्रेमराजा महत थिए भने महिलाततर्फ सुमित्रा गुरुङ, मीरा राना मगर र सरला गौचन ।

‘पानको पात’ ले बजार पिट्यो । जनजिब्रोमा ‘पानको पात’ ले राज गर्‍यो । भर्खर भर्खरै रेकर्डिङ उद्योग अस्तित्वमा आएको त्यस घडीमा बमबहादुर कार्की, कृष्णसुधा ढुङ्गाना र प्रेमराजा महतलाई त्यस अल्बमले चर्चाको शिखरमा पुर्‍यायो । गाउँ-शहर, रनबन सबैतिर ‘पानको पात’ भाका गुञ्जन थाल्यो । ‘पानको पात’ भाकाले उनीहरूलाई जति ख्याति दियो, अरू कुनै पनि भाकाले दिन सकेको छैन ।

‘पानको पात’ अल्बम निस्केको पनि ३२ वर्ष भइसकेको छ । गायक मण्डलीमध्येका एक हस्ती कृष्णसुधा ढुङ्गाना त्यसबेला २८ वर्षको भर्भराउँदो जवान थिए । अहिले समयले फेरो मारिसकेको छ । उनको रूपरङ्ग बदलिएको छ । समयले घचेटेर उनलाई ६० वर्षको नजिक पुर्‍याउँदैछ ।

फ्रेन्चकट दाह्री,  त्यो पनि घरमुनिको सुर्केगह्रामा हिउँ परेझैं सेताम्य भइसकेका । अनुहारमा बुढेसकालका धर्साहरू प्रष्ट रूपमा कोरिएका, समयले जवानी खोस्दै लगेका, पारिवारिक जिम्मेवारीमा मिचिँदै गएका र समयको दौडमा पछि पर्दै गएका कृष्णसुधा ढुङ्गानाको अहिलेको वास्तविकता हो ।

अहिले लोकसङ्गीतको दुनियाँ धेरै अर्थमा उलटपुलट भइसकेको छ । कृष्णसुधा ढुङ्गानाका धेरै साथीसँगी लाङ्गाबिङ्गा भइसकेका छन् । कतिपय पुराना स्वरजीवीहरू ओझेल परिसकेका छन् ।

लोकसङ्गीतको महफिलमा उर्जावान्–प्रतिभावान् नयाँ पुस्ताको दरिलो उपस्थिति छ । लोकगीतको शैली र ढाँचाकाँचा बदलिएको छ । हिजो सुन्ने गीतको साम्राज्य थियो, आज हेर्ने गीतको बाढी छ । नयाँ जमाना, नयाँ परिपाटी, नयाँ ‘ट्रेन्ड’ ।

कृष्णसुधा ढुङ्गानाचाहिँ यो चमकधमकपूर्ण दुनियाँबाट टाढिएका जस्ता, अन्तै कतै अलमलिएजस्ता देखिन्छन् । उनी लोकगीतको महफिल नयाँ पुस्तालाई सुम्पेर  अभिभावकीय भूमिकामा बसेको प्रतीत हुन्छ । उनी लोकगीतसम्बन्धी जमघटमा कहिलेकसो मात्रै झुल्किने गर्छन् ।

यद्यपि, लोकगीतको दुनियाँ विकसित घटनाक्रमहरूसँग उनी बेखबर भने छैनन् ।अहिलेको लोकगीतको वृत्तबारे उनको बुझाइ छ,  'हिजोका दिनमा गायनकर्ममा अपठितहरूको अधिकता थियो । अहिले पढालेखाहरूको रजगज  छ ।'

ढुङगानाको ठहर छ, ‘नयाँ पुस्ताका भाइबहिनीहरूले धेरै राम्रा र रसिला गीत बनाएका छन् । तर ती गीत ग्रामीण जीवनशैलीसँग टाढिँदै छन् र शहरी जीवनशैलीसँग नजिकिँदै  छन् ।’ आजका लोकगीतमा हिजोको जस्तो ग्रामीणपन र माटो सुवासमा भेटिन छाडेको उनको बुझाइ छ ।

आफू बाहुन समुदायका भएर पनि तत्कालीन समाजको कठोर नियमले उनलाई बन्दी तुल्याउन सकेन । उनी स्थानीय रोदीघर र अन्य सामाजिक जमघटले जन्माएको साङ्गीतिक माहोलबाट पर रहन सकेनन् । लोकगीतप्रति अभिप्रेरित हुँदै गए । अन्ततः गीत गाउन नहुने मान्यताले राज गरेको समाजमा उनी गायक भएर निस्किए ।

पढाइको बहानामा राजधानी भित्रिएका ढुङ्गानाको ध्याउन्न भने राष्ट्रिय प्रसारण संस्था रेडियो नेपालतिरै थियो तर धेरै साथीभाइले ‘पञ्चको रेडियो गीत गाउनुहुन्न’ भनेर उनको बाटोमा अवरोध खडा गर्थे । उनलाई भने जसरी भए पनि रेडियो गीत गाउने रहर पूरा गर्नु थियो । उनले रेडियोमा गीत गाएरै छाडे । त्यहीबाट उनको परिचयको घेरा फराकिलो हुँदै गयो  ।

रेडियो नेपालमा ढुङ्गानाका ४० वटा जति लोकगीत रेकर्ड भएका छन् । ती गीतमा लोकजीवनको ढुकढुकी भेटिन्छन् । यसका अतिरिक्त ‘रातो घाम’, ‘गाइको चरन’, ‘चुल्ठी बाटेर’, ‘चाँदीको मोहोर’, ‘रोदीघर’, ‘लाहुरेको जिन्दगी’ गरी दुई सय जति अडियो अल्बममा उनको गायकी र लोकजीवनप्रतिको मोह छचल्किएका छन् ।

ढुङ्गाना प्रखर दोहोरी गायक हुन् । उनी स्वरका धनीका धनी त हुँदै हुन्, शब्द–कारीगर पनि हुन् । उनले लेखेका शब्दहरू जनजिब्रो झुण्डिएका छन् । ‘गाउँशहरमा लमजुङ दरबार, मायालाई दिने थिएँ फूलजस्तो जोवन भइसक्यो मेरो घरबार’ ‘रानीघाटैमा, किन काँडा रोप्यौ नि निरमाया आउने बाटैमा’, ‘धान झुलेको छ काँ जाउँ काँ जाउँ भइराछ, मन डुलेको छ’, ‘छिमलेर डाली पलायो, दुई बजे रातिमा सपनीमा कल्ले बोलायो’ जस्ता गीतहरू जनमनमा अमिट छाप पार्न सफल छन् ।

ढुङ्गाना नयाँ पुस्ताका प्रतिभाहरूलाई असीम माया दिन्छन् । तिनलाई कानको फूलझैं गर्छन् । नयाँ गायक गायिकाको सिर्जना कर्मलाई दिल खोलेर सघाउँछन् । विमल क्षेत्री, राजु परियार, शिला आले, बेगम बुलु गोफिके,  दिनेश रञ्जनजस्ता प्रतिभाहरू उनकै छत्रछायाँमा लोकगीतको दुनियाँमा छाएका हुन् ।

यतिबेला ढुङ्गाना =को जीवनले अर्कै लय टिपेको छ । उनी २०७२ सालदेखि कृषिकर्ममा लागेका छन् । काठमाडौंको काभ्रेस्थलीमा १० रोपनी जमिनमा तरकारी खेती गर्छन् । कृषिकर्मबाट बचेको समयमा लोकगीतसम्बन्धी कार्यक्रमको निम्ता मान्छन् अनि साथीभाइसँगको भेटघाट र वार्तालापहरूमा रमाउँछन् ।

उनको तरकारीबारी तीर्थस्थलजस्तो भएको छ । मोबाइलको घण्टी निरन्तर बजिरहन्छन् । बारीमा पाखुरा जोतिरहेका ढुङ्गानालाई भेट्न आउनेहरूको भीड टुट्दैन । उनको शब्द-कारिगरीबाट प्रभावित भएर अहिले पनि धेरै दोहोरी गायक–गायिकाहरू गीतको शब्द बनाइमाग्न उनीकहाँ धाउँछन् ।

ढुङ्गानालाई नामको लोभ छ, न त दामको नै । उनको व्यवहारमा अचम्मको उदारता छ । उनी अरूका लागि गीत लेखिदिन्छन् तर आफूले रचेका शब्दलाई भनेर दाबी गर्दैनन् । एक हिसाबले उनी सन्तान जन्माउने तर राम्ररी नस्याहर्ने माउजस्ता छन् ।

लोकसङ्गीतको झङ्कारले जोडेका उनका सम्बन्धहरूको जालो ठूलो छ । साथीसंगीसँग उठबसका प्रसंगहरू रोचक छन् । समयले बुनेका किस्सा-कहानी घतलाग्दा छन् । लेख्ने हो भने ती किस्सा-कहानीका बेग्लै पुस्तक बन्छ ।

साथीसँग गीतैगीतमा हाँसोठट्टा चल्थ्यो । एउटा प्रसंग सुनाइहालौँ । २०४० सालको राष्ट्रिय युवा महोत्सवमा चितवनका चर्चित दोहोरी गायक रफिक मियाँसँग ढुङ्गानाको राष्ट्रिय नाचघरको गेटैमा भेट भएछ । उनले गीतमै व्यङ्ग्य कसिहालेछन्:

 ‘आइपुग्यो रफिके मियाँ,
दुइटी स्वास्नी राखेर अधिया’ ।

रफिक मियाँ पनि के कम थिए र ! उनले पनि तत्कालै पैंचो तिरिहालेछन्:

 ‘शुद्धि छैन यो मोरो सुधाको
घरकी स्वास्नी अर्कैले कुदाको’ ।

कृष्णसुधा ढुङ्गानालाई जीवनमा दुईटा भयानक नशाले छाडेनन् । एउटा लोकगीतको नशा, अर्को मदिराको नशा । लोकगीतको नशाले उनलाई साङ्गीतिक माहोलमा सर्लक्कै भिजाइदियो भने मदिराको नशाले केही हदसम्म जीवनको लय भत्काइदियो । उनको मदिराभोगसँग गाँसिएका किस्सा-कहानी साथीसंगीबीच निकै  चर्चित छन् ।

जतिबेला कृष्णसुधा ढुङ्गाना प्रसिद्धिको शिखर चढ्दै थिए, त्यतिबेला प्रहरी वृत्तमा कलकारको भाउ राम्रो थियो । मदिरापानको असरले बाटोमा छेपारी बटारिहँदा प्रहरीले उनलाई सम्हालेर डेरासम्मै सुरक्षित तरिकाले ल्याइदिन्थे । त्यो पनि एक पटक होइन, दुई पटक होइन, पटक पटक ।

उनका कतिपय साथीभाइले रेष्टुराँमा उधारो खाएर त्यसै छाडेका हुन्थे । खल्तीमा पैसा भएको बेलामा बहीखाता पल्टाएर हेर्थे । साथीभाइका बक्यौता आफ्नै सम्झेर तिरिदिन्थे । आफूसँग पैसा नभएको बेलाचाहिँ भगवान भरोसा । जस्तो पर्छ, उस्तै टर्छ । उनको गीतले उनकै चर्चा गरेझैं लाग्छ : ‘जहाँ पुगुँला, उही आगो फुकुँला...’ । वास्तवमा निष्फिक्री जिन्दगीका हिमायती हुन्, ढुङ्गाना ।

ढुङ्गानालाई एकदमै मन पर्ने गीत हो, कल्याण सेरचनको ‘सुखी ज्यानलाई गुँदरी काम्लो...’ । उनलाई लोकबहादुर क्षेत्री, शावित्री शाह आदिका स्वर बिछट्टै मन पर्छ । अनुज पुस्तामा बीमाकुमारी दुरा, मीरा राना मगर, राजु परियार, राजन ठकुरी, बिमल क्षेत्री, शर्मिला गुरुङ, धना पुन, पार्वती जीसी आदिका कला र गलाका प्रशंसक हुन् ।

साङ्गीतिक यात्रामा भेटिएका नारायाण रायमाझी, तारा शर्मा, पानुमाया गुरुङ, मन छन्त्याल, तत्सत प्रधान, माया गुरुङ, कोमल ओली, नन्द राना, लालु गुरुङ, लोकबहादुर क्षेत्री, तीर्थबहादुर गन्धर्व, राजेन्द्र लम्साल क्षेत्री, रामशरण नेपाली, नारायण पाण्डे, काजु सेरचन, रफिक मियाँजस्ता समकालीन प्रतिभाहरूलाई उनी खुबै सम्झना गर्छन् ।

समयको यो विन्दुबाट उनको विगततिर फर्कँदा जिन्दगीका बाङ्गाटिङ्गा बाटा र घुम्तीहरू आँखा अघिल्तिर आउँछन् । उनले केही वर्ष आफ्नो गृह जिल्ला लमजुङमा मास्टर भएर बिताए । राजधानी छिरेपछि नेपाल आयल निगम, साझा यातायात, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत धेरै ठाउँमा जागिर खाए ।

पछिल्लो समयमा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा प्राज्ञ (वि.सं. २०७१-२०७५) भएर लोकसङ्गीत श्रीवृद्धिको  जिम्मेवारी सम्हाले । फुक्काफाल भएर हिँड्न मन पराउने ढुङ्गानाले जागिरमा ध्यानै दिएनन् । जागिर कहिल्यै पनि उनको प्राथमिकताको विषय नै परेन ।

उनी न भौतिक वैभव जोड्नतिर लागे, विज्ञापित हुन नै चाहे । न कुनै लोभ–लालच फँसे, न त कसैप्रति इर्ष्याभाव नै राखे । एक हिसाबले उनी आत्माद्रोही व्यक्ति हुन् । आफ्नो अहित गरेर भए पनि अरूको हित गर्न तम्सने व्यक्ति । उनी आफ्नो दुःख बिर्सिएर अरूको दुःख देख्ने प्राणी हुन् ।

यतिबेला भने ढुङ्गाना अलिकति आफ्नैबारे सोच्न थालेका छन् । आफ्ना छरिएर रहेका गीतहरू एकठ्ठ गरेर अल्बम निकाल्ने उनको योजना छ । नयाँ गीत रेकर्ड गर्ने पनि उनको रहर छ । उनी आफ्नो जन्मस्थान दुराडाँडामा ‘लोकसङ्गीत गाउँ’ स्थापना गर्ने योजना पनि बुन्दैछन् । उनका अरू दुईटा योजना पनि पाइपलाइनमा छन् : ६० वर्ष पुगेको अवसरमा एकल प्रस्तुति गर्ने र मदिरासँग पारपाचुके गर्ने ।

मदिरासँग ढुङ्गानाको पारपाचुके भएको देख्न चाहने शुभचिन्तकहरू सुखद समाचारको व्यग्र पर्खाइमा छन् । उनको सिर्जनाकर्मबाट वनपाखामा गुञ्जने मौलिक लोकभाकाहरू फराकिलो घेरा ढाक्ने गरी प्रतिध्वनित भइरहुन् भन्ने पनि धेरै शुभेच्छुकहरूको शुभेच्छा छ ।

[साभारः लोकसंवाद । २०७५ साल माघ २५ गते ।]

 अद्यावधिक २०७७।०३।२७, २०७७।०३।२८