Saturday, August 3, 2019

परम्परागत ज्ञान

यमबहादुर दुरा

आधुनिक समाज एक प्रकारको विरोधाभाषपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । एकातिर हामीलाई आधुनिक जीवन पद्धतिप्रति चर्को मोह छ भने अर्कोतिर विगतमा महत्वहीन ठानिएका परम्परागत जीवनशैलीप्रति पनि नजानिँदो तवरबाट आकर्षण बढिरहेको छ । यसबाट आधुनिक समाज दोबाटो उभिरहेको प्रतीत हुन्छ, कताकता ।
ग्राफिक्स: गुगल

समाज दिन प्रतिदिन अटोमेसन र डिजिटाइजेसनको गन्तव्यततर्फ आँधीहुरी सरह अघि बढिरहेको छ । प्रसंग रोचक छ । दुनियाँ आधुनिकताको चकाचौँधप्रति मोहित भइरहेको घडीमा अर्ग्यानिक खेतीपाती र रैथाने जीवनशैलीप्रति पनि मोहभाव बढिरहेको छ, जसले विरोधाभाषपूर्ण अवस्था निम्त्याएको छ । यसले आधुनिक जीवनशैली निर्विवाद र विकल्परिहत छैन भन्ने सन्देश पनि दिएको छ ।

आधुनिक जीवनशैलीप्रति दुनियाँ अनुरक्त भइरहेको बेला फेरि किन रैथाने जीवनशैलीप्रति फर्किन चाहिरहेको छ ? यसको उत्तर सहज छ । आधुनिक जीवनशैली निम्त्याएको जनस्वास्थ्यसम्बन्धी जटिल समस्या र वातावरणीय चुनौती नै यसको मूलभूत कारण हुन् ।

विश्वव्यापी रूपमै नसर्ने रोगको दर बढिरहेको पाइएको छ । नेपालमा कुल मृत्युको ४४ प्रतिशत हिस्सा नसर्ने रोगले ओगटेको आँकडा छ । अर्कोतिर जलप्रदूषण, वायुप्रदूषण, अव्यवस्थित फोहरमैलाजस्ता वातावरणीय समस्या बढ्दो छ, जसले प्रत्यक्ष वा परोक्ष रूपमा जनस्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेका छन् ।

परम्परागत ज्ञानद्वारा निर्देशित जीवन पद्धतिमा यति भयानक किसिमले जनस्वास्थ्यमा समस्या आएको थिएन । वातावरणीय समस्या पनि अहिलेको जस्तो थिएन । तथ्याङ्कहरूको तुलनात्मक अध्ययनले यही तथ्यलाई इङ्गित गर्छ । यस्ता समस्याबाट छुट्कारा पाउन हामीलाई आधुनिक ज्ञानको साथसाथै परम्परागत ज्ञानको पनि खाँचो पर्छ ।

विशेषज्ञहरूले दोहोर्‍याउँदै आएका छन् – आधुनिक जीवनशैलीले निम्त्याएको दोष मेट्न परम्परागत ज्ञान आवश्यक छ । तर, अहिले परम्परा ज्ञान मुर्छित अवस्थामा छ । परम्परागत ज्ञानमा अभ्यस्त पुरानो पुस्ता अस्ताउँदैछ । नयाँ पुस्ताले परम्परागत ज्ञानलाई कख्याउन सकेको छैन । यसको सीधा अर्थ हो, परम्परागतगत ज्ञान तीव्र गतिमा हराउँदैछ । अवस्था प्रतिकूल छ ।

परम्परागत ज्ञान के हो ? विश्व बौद्धिक सम्पत्ति संगठनका अनुसार पुस्तौं अघिदेखि विकसित, सम्वर्धित  र हस्तान्तरित  हुँदै आएको ज्ञान, सीप र अभ्यास नै परम्परागत ज्ञान हुन् । परम्परागत ज्ञानको नाता सांस्कृतिक तथा आध्यात्मिक पक्षसँग पनि रहन्छ ।

कृषि, विज्ञान, प्रविधि, वातावरण, औषधोपचार, जैविक विविधता संरक्षण, स्थानीय प्राकृतिक स्रोत–साधनको व्यवस्थापन तथा उपयोगलगायत ज्ञानका बृहत आयामसँग परम्परागत ज्ञानले साइनो गाँसेको हुन्छ । स्थान र समुदाय अनुसार एउटै विषयको परम्परागत ज्ञानमा विविधता हुन्छन् । त्यसमा स्थानीय संस्करणहरू भेन्छिन्, जुन हाम्रो अमूल्य सम्पत्ति हुन् ।

हामीले आधुनिक जीवन पद्धतिसँग जति नै नजिकको गाँसे पनि परम्परागत ज्ञानको महत्व र सान्दर्भिकता हराइसकेको छैन । सन्तुलित जीवनशैली र वातावरणीय सन्तलुनका लागि परम्परागत ज्ञान आवश्यक छ । यसको सान्दर्भिकता झल्काउने केही दृष्टान्त छन् ।

वर्षौँ अलपत्र रहेर हाल पुनः निर्माणको क्रममा राजधानीस्थित रानीपोखरीमा पानी नरसाउने  समस्या आएपछि पोखरी निर्माणमा परम्परागत ज्ञानले सम्पन्न स्थानीय कालिगढ (महिला) हरूलाई भक्तपुरबाट झिकाएर पोखरी निर्माण गर्ने जिम्मेवारी सुम्पिएको खबर अखबारहरूमा शीर्षक बन्यो । उनीहरूसँग सुकिसकेको भक्तपुरको भाखु पुख परम्परागत प्रविधिबाट पुनर्जीवित गरेको अनुभव रहेको समाचार निकै अर्थपूर्ण छ ।

यस्तै अर्को प्रसंग पनि छ । लमजुङको एउटा गाउँमा एक गैरसरकारी संस्थाको सहयोगमा स्थानीय जलधार सुधार्ने योजना बन्यो । योजना अनुसार पुराना पोखरीलाई पुनर्जीवन दिने र तथा नयाँ पोखरीहरू खन्ने काम भयो । तर, यो काम अपेक्षित उपलब्धीमूलक भएन । पोखरीमा पानी अडिएन ।

कारण बुझ्दै जाँदा भैंसीले आहाल नखेलेसम्म पोखरीमा पानी अडिँदैन भन्ने ज्ञान पाका पुरानाबाट प्राप्त भयो । तर अहिले गाउँमा भैंसी पाल्ने चलनमा गिरावट आएको छ । सुन्दा सामान्य लाग्ने तर अर्थपूर्ण प्रकृतिका यस्ता जीवनदायिनी ज्ञान आधुनिक विकासकर्मीहरूबाट पाउन गाह्रो छ ।

विगतमा कतिपय बुढापाकाले चोया–बाता गर्दा, सूर्ती माड्दा वायुको आद्रता थाहा पाउँथे । त्यही आधारमा पानी पर्ने वा खरेडी पर्नेबारे भविष्यवाणी गर्थे । उनीहरू कुनै मौसमवेत्ता नभए पनि बदलको रङ, मेघ गर्जनको प्रकार आदिका आधार पनि मौसमको भविष्यवाणी गर्थे । यस्ता ज्ञान आजको दिनमा पनि आवश्यक छ ।

विगतमा तटबन्ध निर्माण, खाद्यान्न भण्डार, बीउ भण्डार, पहिरो नियन्त्रण, सामाजिक रीतभाँत, सङ्गीत, पूजापाठ, ओखतीमूलोलगायत जीवनका तमाम आयामहरूमा परम्परागत ज्ञानको प्रयोग हुँदै आएको छ । अहिले यसमा तीव्रतर ह्रास आएको छ ।

यतिबेला, हाम्रा वरिपरि औषधीय गुण भएका वनस्पतिहरू नचिनेरै व्यर्थ हुन पुगेका छन् । अहिले प्रयोगविहीन अवस्थामा रहेका ती वनस्पतिको जनसाधारण, वैद्य र धामीझाँक्रीले जनहितका लागि उपयोगमा ल्याएका थिए । यस्ता रैथाने ज्ञान र सीपलाई  फेरि पनि फर्काउन आवश्यक  छ ।

आजकल हाम्रो जीवन पद्धतिले अर्कै बाटो समातेको छ । बालीनाली, तरकारी, फलफूललगायत उत्पादनमा अत्याधिक विषादी प्रयोग हुन थालेका छन् । यसबाट जनस्वास्थ्यमा गम्भीर असर परेको छ, जुन निरन्तर रूपमा चर्चाको विषय बनिरहेको छ । विषादीबारे जनचेतना बढ्दै जाँदा यसले राजनीतिक अजेण्डाकै रूप ग्रहण गरेको छ । यसले विषादी कति गम्भीर मामिला हो भन्ने पुष्टि गर्छ ।

विषादीबारे बढ्दो जनचेतना र अन्तर्राष्ट्रिय सरोकारका कारण कतिपय विषादी प्रतिबन्धित छन् । तर, अन्त प्रतिबन्धित अवस्थामा रहेका कतिपय विषादी नेपालमा प्रयोग निर्वाध भित्रिएको खबर अखबारहरूमा प्रकाशित छन् । ‘नेपाल जर्नल्स् अनलाइन’ मा प्रकाशित लेखका अनुसार नेपालले प्रतिवर्ष दुई सय ११ टन विषादी आयात गर्छ ।

आजकल, खोलानालामा लुकीचोरी वा खुलेआम करेन्ट लगाउने तथा घातक विषादी प्रयोग हुनाले माछालगायतका जलीय जीवजन्तुको नाश तीव्र गति  भइरहेको छ । यसले हिजोको दुवाली थुन्ने, ढडिया थाप्ने, जाल हान्नेजस्ता माछा मार्ने परम्परागत ज्ञानको खाँचो अनुभूत गराइरहेको छ ।

विषादीले जनस्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने तथ्य प्रत्येकको मनमस्तिष्कमा घुस्दै गएपछि अग्र्यानिक खेतीपातीतिर धेरैको ध्यान खिचिएको छ । अर्ग्यानिक उत्पादनले आकर्षक बजार भाउ पाउने अवस्था पनि छ । तर, अर्ग्यानिक  उत्पादनलाई सही अर्थमा अर्ग्यानिक बनाउने रैथाने सीप र प्रविधिको  अभाव छ । अहिले अर्ग्यानिक भनिएका उत्पादन सही अर्थमा अर्ग्यानिक हो कि होइन ? प्रश्न छ ।

आधुनिक जीवन पद्धतिमा आएका खराबीहरूले परम्परागत ज्ञानको आवश्यकता शनैशनै महसूस भइसकेको छ । परम्परागत ज्ञान लामो कालखण्डमा तयार भएको सार्वजनिक सम्पत्ति हो । अर्को कुरा, यो कुनै छुट्टै क्षेत्र वा पृथक विषय पनि होइन । परम्परागत ज्ञान पनि ज्ञान निर्माणको गतिशीलतासँगै अघि बढ्ने गर्छ, बढ्नुपर्छ ।

परम्परागत ज्ञान आधुनिक ज्ञान निर्माणको हिस्सा बन्नुपर्छ । साथै, आधुनिक ज्ञान निर्माणमा सहायक बन्नुपर्छ । डरलाग्दो पक्ष के हो भने एकपटक हराइसकेपछि परम्परागत ज्ञानको पुनःप्राप्ति सहज नहुने भएकाले परम्परागत ज्ञानको भण्डार रित्तिन नपाउँदै यसलाई प्रयोग तथा पुनःप्रयोग गर्नुपर्ने हुन्छ ।

सम्पूर्ण चराचरका लागि जीवनदायिनी मानिएको परम्परागत ज्ञानलाई जिउँदोजाग्दो अवस्था राख्न यसबारे छलफल, विचार–विमर्श र प्रदर्शनीहरूको पनि खाँचो पर्छ । यस दिशामा राज्य र सरोकारवालाहरूको समयोचित ध्यान–दृष्टि जान आवश्यक छ ।

[साभार:  गोरखापत्र । २०७६ साल साउन १८ गते ।]

No comments:

Post a Comment