Showing posts with label परम्परागत ज्ञान. Show all posts
Showing posts with label परम्परागत ज्ञान. Show all posts

Sunday, January 10, 2021

किन बचाउने हाम्रा हर्रो, बर्रो, यार्चागुम्ब ?


–यमबहादुर दुरा

अग्रजहरूले उदघोष् गर्दै आएका हुन्, ‘हरेक सङ्कटले कुनै न कुनै रूपमा अवसर पनि लिएर आउँछ ।’ 

कोरोनाले निम्त्याएको स्वास्थ्य सङ्कटले पनि यही तथ्यलाई स्थापित गरेको छ । कोरोना महामारीले जनजीवनको लय बिथोले पनि एउटा कामचाहिँ राम्रै गर्‍यो । त्यो हो, बिर्सिँदै गएको परम्परागत औषधोपचार पद्धतिकोे चर्चा । 

कोरोनाबाट छुटकारा दिने कुनै घोषित औषधि उपलब्ध नभएको घडीमा परम्परागत औषधोपचार पद्धतिलाई विकल्पको रूपमा उपयोग गर्ने प्रचलन जनस्तरमा शुरु भयो, जुन एउटा सकारात्मक पाटो हो । परिणमस्वरूप बेसार, गुर्जो, तुलसीको पातजस्ता परम्परागत औषधिजन्य वनस्पतिहरूको उपयोग व्यापक भयो । 

कोरोनाकालको 'अवसर'

जनजनमा चर्चा चुलिएका यस्ता वनस्पति नेपालमा कति परिमाणमा उपयोग गरिए भन्नेबारे कुनै औपचारिक र आधिकारिक आँकडा भेटिँदैन । तर, परम्परागत औषधिको स्रोतबारे भने केही जानकारी भेटिन्छ । ‘जर्नल अफ इथ्नोबायोलजी एण्ड इथ्नोमेडिसिन’ मा प्रकाशित एक लेखमा ४५.६१ प्रतिशत प्रयोगकर्ताले आफ्नै करेसाबारीबाट परम्परागत औषधिजन्य वस्तुहरू प्राप्त गरेको जनाइएको छ ।

कोरोनाकालमा नेपालमा मात्र होइन, संसारको अन्य भागमा पनि परम्परागत औषधोपचारलाई आत्मासात गरिएको पाइन्छ । बीबीसी विश्वसेवाको वेबसाइटमा सन् २०२० जुन २८ मा प्रकाशित एक लेखका अनुसार चीनका ९२ कोरोना बिरामीले कुनै न कुनै रूपमा परम्परागत औषधिको उपयोग गरेको उल्लेख छ । यसैगरी, विश्व स्वास्थ्य सङ्गठनको वेबसाइटमा अफ्रिकाका कोरोना बिरामीले पनि परम्परागत उपचार पद्धतिलाई उपयोगमा ल्याइएको जनाइएको छ ।

परम्परागत औषधोपचार हाम्रो जीवनशैलीसँग युगौँदेखि नाता गाँस्दै आएको प्राचीन उपचार पद्धति भए पनि समयक्रममा दिन प्रतिदिन बिरानो बन्दै गएको देखिन्छ । विश्व स्वास्थ्य सङ्गठनले परम्परागत चिकित्सा प्रणालीलाई आधुनिक चिकित्सा प्रणालीको परिपूरक तथा वैकल्पिक चिकित्सा प्रणाली मानेको छ । विश्व स्वास्थ्य सङ्गठनको यो भनाइले परम्परागत औषधोपचार पद्धतिको महत्त्व र गरिमालाई उचो बनाएको छ ।

इन्स्टिच्युट अफ नेचुरल मेडिसिन/युनिभर्सिटी अफ टोयामा (जापान) का भिजिटिङ प्राध्यापक मोहनविक्रम ज्ञवालीद्वारा लिखित पुस्तक ‘आस्पेक्ट्स ट्रेडिसनल मेडिसिन इन नेपाल’ (सन् २००८) का अनुसार आयुर्वेद चिकित्सा प्रणाली भारतीय उपमहाद्वीपमा वैदिककाल (ईपू १५००–९००) मा अस्तित्वमा आएको हो (पृ.२) । यद्यपि, आयुर्वेदलगायतका परम्परागत औषधोपचार पद्धतिको उत्पत्तिबारे थुप्रै कालक्रमगत मतभिन्नताहरू पाइन्छन् ।

तस्बिर : गुगल

परम्परागत चिकित्सा प्रणालीका थुप्रै फाइदा छन् । हाम्रो जीवनशैली र संस्कृतिसँग गाँसिएका र युगौँ पुरानो परम्परागत ज्ञानमा आधारित भएकाले यसको उपयोगिता बहुधा प्रश्नविहीन मानिन्छ । औषधीय गुण भएका वनस्पतिरू स्थानीयस्तरमा सजिलै उपलब्ध हुने भएकाले यसका लागि चर्को आर्थिक मूल्य चुकाउनु पर्दैन । 

जानिफकारहरूले भन्दै आएका छन्, आधुनिक औषधिको सापेक्षमा परम्परागत औषधि कम साइड इफेक्ट (पार्श्व –प्रभाव) युक्त हुन्छ । यसैगरी, परम्परागत औषधोपचारसम्बन्धी ज्ञान कुनै व्यापारिक कम्पनीको हातमा नभई ‘पब्लिक डोमेन’ मा रहन्छ, जुन यसको एउटा सुन्दर पक्ष हो ।

धेरै अर्थमा जनहितकारी पद्धति भए पनि समयको प्रवाहसँगै परम्परागत चिकित्सा प्रणाली छायाँमा पर्दै गएको छ । परम्परागत औषधिले तुलनात्मक रूपमा ढिलो काम गर्छ । तीव्र आतुरता छाएको व्यस्त युगमा क्षणभरमै निको पार्ने औषधिको खोजीमा रहेका व्यस्त मानव समुदायका अगाडि परम्परागत औषधोपचार पद्धति कताकता आकर्षणविहीन देखिन्छ । आधुनिक प्रविधियुक्त चिकित्सा प्रणालीका अगाडि परम्परा औषधोपचार पद्धति कताकता बिरानिएको देखिन्छ । 

अर्को कुरा, आधुनिकीकरण, शहरीकरण, बसाइँ–सराइ र पश्चिमा शैलीको रहनसहनको ग्राफ उकालो लागिरहेको यो समयमा परम्परागत औषधोपचार पद्धतिको लय नराम्रोसँग बिथोलिन गएको छ । हाम्रो घरआँगनमै रहेका बहुमूल्य जडीबुटी  भिल्लाको देशका मणिजस्ता हुन पुगेका छन् । निःशुल्क उपलब्ध बहुमूल्य सम्पदा नचिन्दा परम्परा औषधोपचार पद्धतिप्रति नयाँ पुस्ता बहुधा विकर्षित देखिन्छ ।

आधुनिक चिकित्सा प्रणालीप्रति जतिसुकै आकर्षण बढे पनि यो समस्याविहीन भने छैन । नेपालमा प्रयोग हुने अधिकांश औषधि विदेशबाट आयात भइरहेको छ । २०७६ साल चैत ११ गते देशभर लकडाउन घोषणा भएपछिको पाँच महिनाको अवधिमा मात्र नेपालले ११ अर्बभन्दा बढीको औषधि र त्यससँग सम्बन्धित कच्चा पदार्थ खरिद गरेको तथ्याङ्क भन्सार विभागसँग छ । 

अर्कोतिर, स्वास्थ्यजस्तो आधारभूत मानवीय सेवामा व्यापारीकरण बढ्दो छ । यससँगै स्वास्थ्य सेवा दिनानु दिन महङ्गो बन्दै गएको छ । स्वास्थ्यमा लगानी गर्न नसक्दा सर्वसाधारण नागरिक आधारभूत स्वास्थ्योपचारको आधारभूत सेवा बञ्चित हुने अवस्था आएको छ । वास्तवमा आधारभूत स्वास्थ्यसेवा संविधानप्रदत्त मौलिक अधिकार हो । 

नयाँ पुस्तासँगको नाता

नागरिकको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता समस्याहरूले घर–आँगनमै सजिलै उपलब्ध हुने परम्परागत औषधोपचार पद्धतिको आवश्यकताबोध गराउँदै गएको छ । यस पृष्ठभूमिमा सरकारले स्वास्थ्योपचार पद्धतिलाई नीतिगत रूपमा प्राथमिकता दिएको देखिन्छ । 

‘राष्ट्रिय स्वास्थ्य नीति, २०७६’ को दफा ६ (७) भनिएको छ, ‘आयुर्वेद, प्राकृतिक चिकित्सा, योग तथा होमियोप्याथिकलगायतका चिकित्सा प्रणालीलाई एकीकृत रूपमा  विकास र विस्तार गरिनेछ ।’

यसैगरी, दफा ६ (७) (३) मा स्थानीयस्तरमा उपलब्ध औषधिजन्य जडीबुटी एवम् जावन्त द्रव्यको पहिचान, संरक्षण, सङ्कलन, प्रवद्र्धन गर्दै आयुर्वेद वैज्ञानिक अनुसन्धान  तथा सदुपयोग गरी आत्मनिर्भरता अभिवृद्धि गरिने उल्लेख गरिएको छ ।

सरकारी दस्ताबेजमा रहेका परम्परागत औषधोपचार पद्धतिलाई समृद्ध बनाउने नीतिलाई सार्थक तुल्याउन सहज पटक्कै छैन । पश्चिमा शैलीको उपचार पद्धतिले जरो गाडिसकेको घडीमा पल पल मर्दै गएको परम्परागत औषधोपचार पद्धतिको प्राणप्रतिष्ठा गर्न अथक प्रयास आवश्यक छ । यसका लागि अगाडिको बाटो कठिन छ । परम्परागत औषधोपचार पद्धतिको बिग्रदै गएको लयलाई पुनः लयबद्ध गर्न जनस्तर र सरकारीस्तरमा दरिलो पहलकदमी माग गर्छ । 

तस्बिर : गुगल

अटोमेसन र डिजिटल प्रणालीमा अभ्यस्त हुँदै गएको नयाँ पुस्तालाई बिरानो बन्दै गएको परम्परागत ज्ञानमा आधारित परम्परागत औषधोपचार पद्धतिसँग नाता गाँस्न सहज छैन । वनक्षेत्रमा रहेका औषधीय गुण भएका वनस्पति पहिचान गर्न र तिनको अभिलेखन गर्न पर्याप्त स्थलगत भ्रमण र गहन अध्ययन आवश्यक हुन्छ । हालको परिवर्तित सन्दर्भमा परम्परागत औषधोपचार पद्धतिलाई नयाँ शिराबाट अध्ययन र विश्लेषण गर्न पनि उत्तिकै आवश्यक छ । 

परम्परागत औषधोपचार पद्धति रैथाने परिपाटी भएकाले यसले ‘एथ्नोबोटनी’, स्थानीय ज्ञान, स्थानीय भाषा र स्थानीय जीवनशैलीसँग गहिरो नाता गाँस्छ, जससँग अध्येता राम्ररी परिचित हुनुको विकल्प छैन । यसका अतिरिक्त, परम्परागत औषधोपचार पद्धतिसम्बन्धी कतिपय ज्ञान संस्कृत, पालीजस्ता हाल प्रचलनमा नरहेका भाषामा छन् । बहुसंख्यकलाई त्यस्ता लुकेका परम्परागत ज्ञान अभेद्य चट्टानजस्तै हुने अवस्था छ । 

समयले काँचुली फेरेसँगै परम्परागत औषधोपचार पद्धतिलाई युगानुकूल प्रविधिमैत्री र विज्ञानसम्मत बनाउन आवश्यक छ, जसले अध्ययन–अनुसन्धानको थप शृङ्खला र प्राज्ञिक विमर्श माग गर्छ । परम्परागत औषधोपचार पद्धतिलाई बचाउने  हो भने आयुर्वेद, अकुपञ्चर, आम्ची, योगजस्ता परम्परागत औषधोपचार पद्धतिलाई एउटा बेग्लै विधाका रूपमा विश्वविद्यालयमा अध्ययन–अध्यापनको वातावरण तयार पार्न आवश्यक देखिन्छ । यसका लागि सरकारीस्तरमा नीतिगत स्पष्टता आवश्यक छ ।

एकस्व अधिकारको लडाइँ

हाम्रो सामु अर्को गम्भीर चुनौती पनि छ । विश्वमा जैविक चोरी ९द्यष्य(उष्चबअथ० का बढ्दो घटना र गुणसम्पन्न वनस्पतिमा एकाधिकार जमाउने होड चलिरहेको छ । यस्तो घडीमा नेपालको सरहदभित्र रहेका औषधीय गुणयुक्त र सुगन्धशाली वनस्पतिको एकस्व अधिकार ९एबतभलत चष्नजत० जोगाउने कार्य जटिल मामिला बन्दै गएको छ । नेपालमा हालसम्म यस्ता वनस्पतिको संख्या एक हजार सात सय ९२ छ (‘आस्पेक्ट्स ट्रेडिसनल मेडिसिन इन नेपाल’, सन् २००८, पृ.३०) । 

शक्तिसम्पन्न पश्चिमा मुलुकले बाहुबलकै आधारमा घिउकुमारी, तुलसी, हर्रो, अश्वगन्धा आदिजस्ता हाम्रा रैथाने वनस्पतिमा एकस्व अधिकार दर्ता गराइसकेका खबरले हामीलाई थैयाथैया पारिरहेको छ । यता, हाम्रै छिमेकी मुलुक भारतले पछिल्लो पटक वास्मती धानमा एकस्व अधिकार दर्ता गर्न लागेको खबरले पनि हामीलाई झस्काएको छ । उसले निम, हलेदोजस्ता वनस्पतिमा पहिले नै हक जमाइसकेको छ । 

अरूको आँखा लागेका यस्ता वनस्पतिले हाम्रो स्वास्थ्यसँग घनिष्ट नाता गाँस्छन् । प्रकृतिको वरदानको रूपमा रहेका यस्ता वनस्पति हाम्रो हरित अर्थतन्त्रको हिस्सा पनि हुन्, जसलाई जोगाउन ठूलै कानुनी लडाइँ लड्नुपर्ने अवस्था हाम्रो सामु आइसकेको छ । यसका लागि व्यापक रूपमा जनचेतनाको विस्तार गर्नुपर्ने र कानुनी ज्ञान बढाउन जरुरी भइसकेको छ ।

शक्तिशाली मुलुकहरू गरिब मुलुकका प्राकृतिक सम्पदामाथि एकाधिकार जमाएर विश्वभर व्यापार गरी ठूलो मात्रा धन आर्जन गर्छन् । धनी र वैभवशाली बन्छन् । नेपाल  अब पनि चनाखो नहुने हो बाँकी बसेका पाँचऔले, रूद्राक्ष, च्याउ, यार्चागुम्बालगायतका हाम्रा प्राकृतिक सम्पदामाथि शक्तिसम्पन्न मुलुकले हामीलाई नै बुङ्गै पारेर एकाधिकार नजमलाउन् भन्न सकिन्न । 

यस्ता पेचिला विषयमा नयाँ पुस्तलाई यस्ता विषयमा बेलैमा परिचित तुल्याउनुपर्छ । यस क्रममा परम्परागत औषधोपचार पद्धतिको महत्त्व, औषधीय गुणयुक्त र सुगन्धशाली वनस्पतिको उपयोगिता र तिनको एकस्व अधिकार, जैविक चोरीलगायतका विषयलाई पाठ्यक्रममा समावेश गर्न गर्न आवश्यक छ । यसो गर्नु भनेका प्राकृतिक सम्पदाको रक्षाका लागि एउटा बलियो सुरक्षा दस्ता निर्माण गर्नु जस्तै हो ।

अब, परम्परागत औषधोपचार पद्धतिको ज्ञानको दायरालाई विश्वविद्यालयमा मात्र सीमित नराखी समुदायस्तरमा पनि विस्तार गर्न आवश्यक भइसकेको छ । गाउँ समाजमा सामुदायिक सूचना प्रणाली विकास गर्नुपर्छ । परम्परागत औषधोपचार पद्धतिलगायतका सामुदायिक सरोकारका विषयलाई समुदायमा आधारित सूचना केन्द्र स्थापना गर्न आवश्यक छ । 

सामुदायिक सूचना केन्द्रलाई पुख्र्यौली ज्ञान अभिलेखीकरण गर्ने केन्द्रको रूपमा विकास गर्नुपर्ने हुन्छ । त्यहाँ लिखित सामग्रीमात्र होइन, श्रव्य–दृश्य सामग्री पनि राख्नुपर्छ । सामुदायिक सरोकारका विषयमा सामुदायिक सूचना केन्द्रबाट सूचना प्राप्त गर्ने दिशामा जनस्तरका नागरिकलाई अभिमुखीकरण गरी त्यसलाई संस्कृतिकै रूपमा विकास गर्न आवश्यक छ । यसो गर्न सकिएमा  परम्परागत औषधोपचार पद्धतिलाई जोगाउने र त्यसबाट अधिकतम् फाइदा लिने वातावरण बन्नसक्छ ।

[हिमालखबर । २०७७ साल पुस २५ गते ।]

Wednesday, June 24, 2020

के हो परम्परागत ज्ञान ?

–यमबहादुर दुरा

ज्ञानको दुनियाँ व्रह्म जत्तिकै अपरम्पार र अपरिमित छ । ज्ञानको अपरिमित दुनियाँमा समयक्रमसँगै नयाँ–नयाँ ज्ञान थपिँदै गएका छन् । यो निरन्तर जारी छ । यसबाट ज्ञानको अथाह भण्डार झनै अथाह बन्दै गएको छ । हरपल नयाँ ज्ञान थपिँदै जाँदा कतिपय ज्ञान पुरानो बन्दै गएको छ । पुराना ज्ञान चल्तीको दुनियाँबाट ओझेल पर्दै गएका छन् ।

मूलधारको ज्ञानभन्दा पर रहेको र उपयोगको दृष्टिले ‘फेसन’ मा नरहेको पुरानो प्रकृतिको ज्ञानलाई सामान्यतयाः परम्परागत ज्ञान भन्ने गरिन्छ । परम्परागत ज्ञानलाई बुझाउन स्थानीय ज्ञान, सामुदायिक ज्ञान, स्वदेशी ज्ञान (नेटिभ नलेज), ‘इन्डिजिनियस नलेज’ आदि शब्दावली प्रयोग गरिएको पाइन्छ ।

यद्यपि, सन्दर्भ र प्रसंग अनुसार यी शब्दावलीले बेग्लाबेग्लै अर्थ दिन पनि सक्छन् । यस्ता शब्दावलीले परम्परागत ज्ञानलाई स्पष्ट रूपमा बुझाउँछ वा बुझाउँदैन भन्नेबारे पर्याप्त मतभिन्नता पाइन्छ । यसमा तर्क–वितर्क गर्नका लागि पर्याप्त ठाउँ छ ।

परम्परागत ज्ञानको शास्त्रीय र व्यावहारिक परिभाषा के हो ? यसबारे अनेकन् माथापिच्छी भएका छन् । यसबारे प्रसस्त जोड–घटाउ भएका छन् । परम्परागत परिवेश र सन्दर्भमा उपयोग भइआएका विधि, तरिका, अभ्यास आदिसँग जोडिएका यावत ज्ञान र सीपलाई परम्परागत ज्ञानको दायरामा राख्ने गरिएको पाइन्छ ।

विश्व बौद्धिक सम्पत्ति सङ्गठन (विपो) ले परम्परागत ज्ञानलाई यसरी परिभाषित गरेको छ, ‘ज्ञान, व्यावहारिक ज्ञान, सीप र अभ्यास नै परम्परागत ज्ञान हो, जुन समुदायभित्र विकसित–सम्वद्र्धित हुँदै एउटा पुस्ताबाट अर्को पुस्ता हस्तान्तरित हुँदै आएको छ । यसले मानिसको संस्कृति र आध्यात्मिक पहिचान पनि निर्माण गर्छ ।’

विपोले परम्परासँग जोडिएको साहित्य, कला, वैज्ञानिक आविष्कार, डिजाइन, चिह्न, नाम, प्रतीक तथा अज्ञान जानकारीसमेतलाई परम्परागत ज्ञानको दायरामा समेट्ने गरेको पाइन्छ । परम्परागत ज्ञान हजारौँ वर्ष पुरानो हुनसक्छ । तर, यो पुरानो हुनैपर्छ भन्ने पनि छैन । विपोका अनुसार परम्परागतको श्रृङ्खलाबद्ध प्रवाहमा हालसालै उत्पादित ज्ञानलाई पनि परम्परागत ज्ञान मान्न सकिन्छ ।

‘जैविक विविधतासम्बन्धी अभिसन्धि, १९९२’ को दफा ८ मा परम्परागत ज्ञानलाई यसरी अथ्र्याइएको छ, ‘ज्ञान, नमोन्मेष (नयाँ ज्ञान) तथा जैविक विविधताको दीगो उपयोग र संरक्षणका लागि आदिवासी तथा स्थानीय समुदायले अपनाएको परम्परागत जीवनशैली ।’

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का अनुसार विश्वभरका आदिवासी/जनजाति र स्थानीय समुदायले प्रयोगमा ल्याएका ज्ञान, नयाँ कार्य र व्यवहार नै परम्परागत ज्ञान हो । परम्परागत ज्ञान युगौँ लामो अनुभवबाट निर्मित हुन्छ, जससँग स्थानीय संस्कृति र परिवेशले गहिरो नाता गाँस्दै आएको छ । परम्परागत ज्ञान एउटा पुस्ताबाट अर्को पुस्तामा मूलतः मौखिक रूपमा हस्तान्तरण हुन्छ ।

कथा, गीत, लोकसाहित्य, उखान, सांस्कृतिक मान्यता, विश्वास प्रणाली, सामुदायिक कानुन, स्थानीय भाषा तथा कृषिसम्बन्धी अभ्यासहरू परम्परागत ज्ञानको दायरमा आउँछन् । यसमा बोट–विरुवा हुर्काउने विधि तथा पशुपालन तथा व्यवस्थापन पनि पर्छन् ।

परम्परागत ज्ञान व्यावहरपरक ज्ञान हो, जसमा खाद्यान्न संरक्षण, बीउबिजन भण्डारण, माछापालन, स्वास्थ्य, बगैचा, वन तथा वातावरण व्यवस्थापनलगायतका तमाम ज्ञान र सीपको श्रृङ्खला पर्छन् ।

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युनेप) का अनुसार परम्परागत ज्ञान अनुभव र अवलोकनबाट प्राप्त हुन्छ । यो समाजको सामूहिक सम्पत्ति हो । समयक्रममा समाजका विभिन्न सदस्यले यसको विस्तार र परिमार्जनमा गर्न सहयोग गर्छ । यो एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ । यो व्यक्तिगत तथा सामूहिक पहलमा विकास र विस्तार हुन्छ ।

समग्रमा भन्दा परम्परागत ज्ञानको दायरा अथाह छ । यसमा सांस्कृतिक ज्ञान, कलासम्बन्धी ज्ञान, औषधि विज्ञानसम्बन्धी ज्ञान, जैविक विविधता तथा प्राकृतिक सम्पदासम्बन्धी ज्ञान, कृषिसम्बन्धी ज्ञान, खाद्य परिकारसम्बन्धी ज्ञान र आध्यात्मिक ज्ञान समेटिन्छन् । यसमा फेसन, नृत्य तथा सङ्गीत, हस्तकला, तन्त्रमन्त्र, पूजापाठलगायत यावत मानव सिर्जना पनि पर्छन् ।

हरेक ज्ञानको रचनागर्भ हुन्छ । परम्परागत ज्ञान कुनै औपचारिक संस्थाबाट उत्पादन हुँदैन । वनपात, खेतबारी, घर–गोठजस्ता अनौपचारिक र असङ्गठित क्षेत्रबाट परम्परागत ज्ञान उत्पादन र वितरण हुन्छ । अर्को शब्दमा भन्दा परम्परागत ज्ञानको रचनागर्भ मूलतः अनौपचारिक र असङ्गठित क्षेत्र हुन् । यसको प्रयोगशाला पनि यिनै क्षेत्र हुन् ।
[ग्राफिक्स: गुगल]

यसको विपरीत आधुनिक ज्ञान वा औपचारिक ज्ञानको उत्पादन र वितरण प्रक्रिया परम्परागत ज्ञानको भन्दा फरक छ । विद्यालय, कलेज, विश्वविद्यालयजस्ता औपचारिक संस्थाबाट औपचारिक ज्ञान उत्पादन र वितरण हुन्छ । आधुनिक ज्ञानले परम्परागत ज्ञानको महत्त्वलाई एकपछि अर्को गरी घटाउँदै लगेको देखिन्छ, जुन सिङ्गो चराचर र मानव सभ्यताका लागि नै शुभसङ्केत होइन ।

समयले परम्परागत ज्ञानलाई पछि पार्दै लगेको देखिए पनि यसको सान्दर्भिकता र औचित्य समाप्त भएको छैन । बरू, यसको महत्त्व दिनानु दिन बढ्दै गएको छ । जलवायु परिवर्तन, विषादिको प्रयोग, वर्णशङ्कर (हाइब्रिड) बीउबिजन आदिले निम्त्याएका असंख्य समस्याले परम्परागत ज्ञानको महत्त्व बढाएको छ ।

आधुनिक र सुखभोगी जीवनशैलीले निम्त्याएको वातावरणीय तथा स्वास्थ्यसम्बन्धी तमाम समस्यासँग जुध्नका लागि भरपर्दो अस्त्रको रूपमा पनि परम्परागत ज्ञानलाई नै लिन थालिएको छ । यसका अतिरिक्त यसलाई दीगो विकासको सूत्र मान्न थालिएको छ ।

परम्परागत ज्ञान सयौँ–हजारौँ वर्षको अनुभवबाट निर्मित र परीक्षित हुन्छ, जुन वातावरणमैत्री र किफायती हुन्छ । यसले जीवनशैली र संस्कृतिसँग गहिरो सम्बन्ध कायम गरेको हुन्छ । परम्परागत ज्ञानले भौतिक र आध्यात्मिक गरी दुवै दुनियाँलाई समेट्छ । यी विविध कारणले बुझक्कडहरूबीच परम्परागत ज्ञानको उच्च महत्त्व चुलिँदो छ ।

सिङ्गो विश्व समुदाय नै वातावरणीय तथा स्वास्थ्यसम्बन्धी समस्याबाट ग्रस्त भइरहेको घडीमा अनुभवको कसीमा खरो उत्रिएको परम्परागत ज्ञानलाई एकदमै उपयोगी अस्त्र मानिएको छ । अहिले दुनियाँको टाउको दुखाइको विषय बनेको डढेलो, महामारीजस्ता विकराल समस्याहरूको हल पनि परम्परागत ज्ञान मै छ भन्ने विश्वास गरिन्छ । उत्तर अमेरिकाका आदिवासी समुदायले परम्परागत ज्ञानलाई ज्ञानमात्र नठानेर ‘पवित्र ज्ञान’ मान्छन् ।

दुनियाँमा जति–जति आधुनिक ज्ञानद्वारा निर्मित प्रविधिको राइँदाइँ बढ्दै गएको छ, त्यति नै भयानक वातावरणीय तथा मानवीय समस्याले टाउको उठाउन थालेका छन् । प्राकृतिक स्रोत–साधनको दीगो उपयोग तथा व्यवस्थापन नगरेसम्म र हाम्रा आनीबानीमा आमुल सुधार नल्याएसम्म राक्षसले झैं  मुख खोलेका यस्ता समस्यासँग लड्न कठिन छ ।

यी गम्भीर समस्यासँग लड्ने सूत्र र मन्त्र आधुनिकतामा आधारित पश्चिमा विज्ञानभन्दा परम्परागत ज्ञानसँग जोडिएको ‘इथ्नोसाइन्स’ सँग छ भन्नेमा धेरै विज्ञ सहमत छन् । प्रकृतिसँग नजिकको सम्बन्ध राख्ने आदिवासी समुदाय परम्परागत ज्ञानका धनी मानिन्छन् । उनीहरू परम्परागत ज्ञानका अग्रणी मानिन्छन् ।
कृषि विकाससम्बन्धी अन्तर्राष्ट्रिय कोष (आइफाड) द्वारा प्रकाशित पुस्तक ‘द ट्रेडिसनल नलेज एडभान्टेज: इन्डिजिनियस पिपुल्स् नलेज इन क्लाइमेट चेञ्ज एडाप्टेसन एण्ड मिटिगेसन स्ट्राटेजिज्’ (२०१६) मा आदिवासी समुदायलाई वातावरण संरक्षणका अग्रदस्ताका सिपाहीको रूपमा चित्रण गरिएको छ ।

सन् १९९२ मा ब्राजिलमा सम्पन्न अन्तर्राष्ट्रय वातावरण सम्मेलन (पृथ्वी सम्मेलन) ले पनि वातावरण तथा जेनेटिक स्रोत–साधन जोगाउन आदिवासी समुदायमा विद्यमान ज्ञानले केन्द्रीय भूमिका खेलेको तथ्यलाई उच्च मूल्याङ्कन गरेको छ । यस्ता विषयमा उनीहरू विश्वगुरु बन्न सक्छन् ।
[ग्राफिक्स: गुगल]

अहिले हाइब्रिज बीउबिजनको आगमनले रैथाने बालीनाली तीव्र गतिमा लोप हुँदै गइरहेका छन् । रैथाने बालीनालीको विविधता जोगाउन आदिवासी समुदायले महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । यससँगै मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदा संरक्षणमा पनि उनीहरूको योगदान वन्दनीय छ ।

एक आँकडा अनुसार अहिले विश्वमा ३७० मिलियन आदिवासी समुदाय छन् । ठूला विकास परियोजना र अन्य विविध किसिमका अतिक्रमणले आदिवासी समुदायको मौलिक थालथलो मासिँदै गएका छन् । यससँगै परम्परागत ज्ञानका पारखीहरूको झुण्ड तीव्र गतिमा सानो बन्दै गएको छ ।

परम्परागत ज्ञान सङ्कटग्रस्त ज्ञान हो । जीवनका जगतका लागि परम्परागत ज्ञान अतिशय महत्त्वपूर्ण हुँदाहँदै पनि समयको प्रवाहसँगै यसको दायरा दिनदिनै खुम्चिँदै गएको छ । पश्चिमा ज्ञानको बढ्दो प्रभावले ‘इथ्नोसाइन्स’ मर्दै जानु, परम्परागत ज्ञानका धनी मानिएका पाका पुस्ताबाट नयाँ पुस्तामा ज्ञान हस्तान्तरण नहुनु, आधुनिकताले मिच्दै जानुलगायतका अनेकन् कारणले परम्परागत ज्ञान लोप हुँदै गएको छ ।  यो एउटा गम्भीर चिन्ताको विषय हो । जीवनोपयोगी परम्परागत ज्ञानलाई जोगाउन सामूहिक प्रयत्न अत्यावश्यक छ ।

[युवामञ्च (संयुक्ताङ्क) ।   वैशाख, जेठ र असार, २०७७ साल । ]

Friday, February 21, 2020

परम्परागत ज्ञानको पहिचान

–यमबहादुर दुरा

आधुनिक समाजले प्रगतिका तमाम फेहरिस्त पेश गरिरहेकै बेलामा मानव स्वास्थ्य स्वास्थ्यमा एकपछि अर्को गरी गम्भीर समस्या देखा पर्न थालेका छन् । यस्ता स्वास्थ्यसम्बन्धी समस्या आधुनिक जीवनशैलीसँग गाँसिएका छन् । सँगसँगै वातावरणीय समस्या पनि चुनौतीको पहाड भनेर उभिइरहेको छ । यो चुनौती पनि आधुनिक जीवनशैलीकै उपज हो ।
ग्राफिक्स गुगल

यस्ता भयानक समस्याका अगाडि विश्व समुदाय एक किसिमले निरीहझैं  देखिएको छ । कतिपय विज्ञले यी गम्भीर समस्या समाधानको उपाय परम्परागत ज्ञानमा रहेको विश्वास गर्छन् । यतिबेला धेरै विज्ञले परम्परागत ज्ञानको महत्व बोध गर्न थालेका छन् । अहिले परम्परागत ज्ञान दीनहीन अवस्थामा छ । यसलाई स्थानीय ज्ञान वा सामुदायिक ज्ञान पनि भनिन्छ । ती विज्ञले परम्परागत ज्ञानलाई मानव स्वास्थ्य र वातावरणमा आएका गम्भीर समस्यासँग जुध्ने उपायको रूपमा चित्रण गर्न थालेका छन् ।

विश्व बौद्धिक सम्पत्ति  सङ्गठन (विपो) ले परम्परागत ज्ञानलाई यसरी परिभाषित गरेको छ, ‘ज्ञान, व्यावहारिक ज्ञान, सीप र अभ्यास नै परम्परागत ज्ञान हो, जुन समुदायभित्र विकसित–सम्वर्द्धित  हुँदै एउटा पुस्ताबाट अर्को पुस्ता हस्तान्तरित हुँदै आएको छ । यसले मानिसको संस्कृति र आध्यात्मिक पहिचान पनि निर्माण गर्छ ।’
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का अनुसार विश्वभरका आदिवासी जनजाति र स्थानीय समुदायले प्रयोगमा ल्याएका ज्ञान, नयाँ कार्य र व्यवहार नै परम्परागत ज्ञान हो । परम्परागत ज्ञान शताब्दीऔ लामो अनुभवबाट निर्मित हुन्छ, जसलाई स्थानीय संस्कृति र परिवेशले आत्मासात गर्छ । यो एउटा पुस्ताबाट अर्को पुस्तामा मौखिक रूपमा सर्छ । यस अन्तर्गत कथा, गीत, लोकसाहित्य, उखान, सांस्कृतिक मान्यता, विश्वास, सामुदायिक कानुन, स्थानीय भाषा तथा कृषिसम्बन्धी अभ्यासहरू पर्छन् । यसमा बोट–विरुवा हुर्काउने विधि तथा पशु व्यवस्थापन पनि पर्छन् । परम्परागत ज्ञान व्यावहारिक प्रकृतिको हुन्छ, जसमा माछापालन, स्वास्थ्य, बगैचा, वन तथा वातारवरण व्यवस्थापनलगायतका ज्ञान पर्छन् ।

पुस्तौं पुस्ताको अनुभवबाट खारिएर आएको हुनाले यसलाई स्वास्थ्यमैत्री र वातावरणमैत्री ज्ञान मानिएको छ । औषधि विज्ञान, खाद्यसुरक्षा, बीउ रक्षा, वन–वातावरण संरक्षणलगायत प्राकृतिक संशाधन व्यवस्थापनजस्ता मानव जीवन र प्रकृतिसँग जोडिएका तमाम विषयमा परम्परागत ज्ञान उपयोगी मानिएको छ ।

विश्वमा देखापरेको वातावरणीय समस्याको पृष्ठभूमिमा परम्परागत ज्ञानको महत्व झल्कन पुगेको देखिन्छ । परम्परागत ज्ञानको अस्तित्वलाई पहिचान गर्ने दिशाको औपचारिक पाइला सन् १९८० को दशकदेखि शुरु भएको देखिन्छ ।

सन् १९८३ मा संयुक्त राष्ट्रसङ्घीय महासभाले वातावरणीय समस्यालाई पहिचान गरी प्रस्ताव नं. ३८/१६१ पारित गर्‍यो । सोही वर्ष नर्वेजिय राजनीतिज्ञ ग्रु हार्मेल ब्रुंडल्याण्डको नेतृत्वमा ‘वातावरण र विकासका लागि विश्व आयोग’ गठन भयो ।

पछि आएर आएर त्यो आयोग ब्रुंडल्याण्ड कमिसन  नामबाट परिचित हुन पुग्यो  । विश्वको बिग्रँदो वातावरणीय समस्याबाट आदिवासी जनजातिलगायत स्थानीय समुदायमा परेको आर्थिक तथा सामाजिक अध्ययन गर्नु नै त्यस कमिसनको काम थियो ।

आदिवासी जनजातिलगायत स्थानीय समुदायको सामूहिक मानव अधिकार, स्थानीय अधिकार र आकाङ्क्षालाई स्वीकार गर्दै ब्रुंडल्याण्ड कमिसनले सन् १९८७ मा ‘हाम्रो साझा भविष्य’ शीर्षकमा प्रतिवेदन पेश गर्‍यो ।

‘ब्रुंडल्याण्डका रिपोर्ट’ यो प्रतिवेदन निकै चर्चित रह्यो । ‘दीगो विकास’ भन्ने शब्दावली पनि पहिलो पटक त्यही प्रतिवेदनमा प्रयोग भएको थियो । प्रतिवेदनले आदिवासी जनजातिबारे कार्यदल गठन गर्न पनि सिफारिस पनि गर्‍यो ।

सोही प्रतिवेदनको भावना अनुरूप सन् १९८९ मा अन्तर्राष्ट्रिय श्रम सङ्गठनले आदिवासी जनजातिहरूको सामूहिक अधिकार (आइएलओ १६९) पारित गर्‍यो। अहिले नेपाल पनि यो अभिसन्धिको पक्षराष्ट्र बनिसकेको छ ।

यी सबै चरण र प्रक्रियामा कुनै न कुनै रूपमा परम्परागत ज्ञानलाई स्थान दिइएको छ ।
सन् १९९२ मा ब्राजिलको राजधानी रियो जेनेरियोमा सम्पन्न अन्तर्राष्ट्रिय वातावरण सम्मेलनले सामूहिक अधिकारको महत्वलाई आत्मासात गर्‍यो । सोही वर्ष सम्पन्न जैविक विविधतासम्बन्धी सम्मेलनले विभिन्न प्रजाति, इकोसिस्टम र भूस्वरूप बचाउन परम्परागत ज्ञानको महत्वलाई आत्मासात गर्‍यो ।

सन् १९९६ मा ब्युनस आयर्समा सम्पन्न जैविक विविधतासम्बन्धी सम्मेलनले स्थानीय ज्ञानको सान्दर्भिकतालाई जोड दियो । यसले स्थानीय समुदाय र आदिवासी जनजातिलाई आफ्नो क्षेत्रको जैविक विविधताको देखभाल गर्न दिन सम्बन्धित सरकारहरूलाई आग्रह गर्‍यो ।

सन् १९९९ मा विश्व व्यापार सङ्गठनले व्यापारसँग जोडिएको बौद्धिक सम्पदाको सम्मान गर्न जोड दियो । त्यही वर्ष विश्व बौद्धिक सम्पत्ति सङ्गठनले सङ्गीत र परम्परागत डिजाइनबारे ‘फ्याक्ट फाइन्डिङ मिसन’ गठन गर्‍यो । यसैगरी, यसले बौद्धिक सम्पत्ति, आनुवांशिक संशाधन, जैविक विविधता, लोकसाहित्य र परम्परागत ज्ञानको अन्तरसम्बन्ध विभिन्न समयमा अध्ययन–अनुसन्धान अघि बढायो ।

यसैगरी, सन् २००७ मा संयुक्त राष्ट्रसङ्घले आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र जारी गर्‍यो । सन् २०१४ मा अनुवांशिक संशाधन संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि ‘नागोया प्रोटोकल’ सम्पन्न भयो ।

यी तमाम अन्तर्राष्ट्रिय सम्मलेन तथा अभिसन्धिका कागजातले परम्परागत ज्ञानको महत्वलाई उच्च स्थान दिएको पाइन्छ । आधुनिक रूप–रङ्गले भरिपूर्ण पश्चिमा विज्ञानले प्रभुत्व जमाउनु अघि विश्वका विभिन्न समुदायबीच परम्परागत ज्ञान  जीवन जिउने ज्ञान थियो । कतिपय ठाउँमा आज पनि प्रचलनमा छ । अहिले यसको अस्तित्व स्वतन्त्र सङ्कटमा छ ।

आधुनिक जीवनशैलीको चमकधमकले पूरै ओझेलमा परेजस्तो देखिए पनि परम्परागत ज्ञान सान्दर्भिकता र औचित्य मरिसकेको छैन । यसको संरक्षण र सम्वर्द्धन  गरी यसलाई जीवन चलाउने सफ्टवेयरका रूपमा गर्न आवश्यक छ । यसले हामी सबैको लागि समझदारी र सुझबुझ अपेक्षा गरेको छ ।

[लोकसंवाद । २०७६ साल फागुन ९ गते ।]

Wednesday, February 19, 2020

परम्परागत ज्ञानको दायरा

–यमबहादुर दुरा

‘अहिलेको सागमा न वास्ना छ, न त स्वाद छ । घिरौंलाको हालत पनि त्यस्तै छ - न वास्ना, न त स्वाद नै । पहिले पहिले घरमा साग पाकेको बाटोबाटै थाहा हुन्थ्यो । धारामा साग धुँदा रागले आँखा पोल्थ्यो । आजकल पुरानो वास्ना र स्वाद बाँकी नै छैन । के भएको यस्तो ?’ पुराना पुस्ताका मानिसबाट यस्ता टीका टिप्पणी बेलाबेला बखतमा सुनिन्छन् ।

साँच्चै, हिजोको स्वादिष्ट सागसब्जीको सुस्वादुपन कसले खोस्यो ? हाम्रो मनमा प्रश्न उब्जिन्छ । यसको सीधा गणित हाम्रो फेरिँदो जीवनशैली र अन्धाधुन्ध आधुनिकीकरणसँग जोडिएको छ । हामीले विकासको नाममा लहजबाजीका पछि लाग्यौँ । परम्परागत ज्ञानलाई त्याग्यौँ । रैथाने बीजबिजनलाई हेँला गर्‍यौँ। त्यसको ठाउँमा आधुनिक वर्णशंकर (हाइब्रिज) बीउबिजन ल्यायौँ । त्यसबाट पर्ने असरबारे ख्याल गरेनौँ । हाइब्रिज बीउबिजनबाट उत्पादित सागसब्जी हेर्दा सर्लक्क परेको देखिए पनि त्यसमा भनेजस्तो स्वाद छैन ।
ग्राफिक्स : गुगल

अहिले आएर हामीलाई रैथाने बीजबिजनको महत्वबोध भएको छ । तर, ती रैथाने बीजबिजन हामीबाट धेरै पर पुगिसकेका छन् । अब खोजेर पनि पाइने अवस्थामा छैन । सागसब्जीको कुरामात्र होइन, जनजीवनका अन्य आयाम आधुनिकताको अन्धानुकरणबाट संक्रमित हुन पुगेको छ ।

परम्परागत ज्ञानलाई नचिन्दा र त्यसलाई सम्मान गर्न नजान्दा रैथाने सागसब्जी हराए । अहिले हामीले चीज त पाएका छौँ तर त्यसको स्वाद र पोषण तत्व गुमाएका छौँ । परम्परागत ज्ञान, सीप र प्रविधिको कदर गर्न नजान्दा हामीले महत्वपूर्ण चीज गुमाएका छौँ र यो क्रम जारी छ ।

यस्ता प्रसंगले हामीलाई परम्परागत ज्ञानको महत्व सम्झनलाई बाध्य तुल्याएको छ । त्यसो भए के हो, परम्परागत ज्ञान ? यसले विभिन्न किसिमले परिभाषित गर्न सकिन्छ । ‘जैविक विविधतासम्बन्धी अभिसन्धि’ को सचिवालयद्वारा सञ्चालित वेबसाइटमा परम्परागत ज्ञानको परिभाषा दिएको छ । त्यस परिभाषाको भावानुवाद यसप्रकार छ :

‘विश्वभरका स्थानीय समुदायको ज्ञान, नयाँ आविष्कार, अभ्यास आदिलाई परम्परागत ज्ञान भनिन्छ । शताब्दीऔं अघिदेखिको अभ्यास र अनुभवबाट परम्परागत ज्ञान निर्माण हुन्छ, जुन मूलतः मौखिक रूपमा एका पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ । परम्परागत ज्ञानको स्वामित्व सामूहिक प्रकृतिको हुन्छ । परम्परागत ज्ञान  कथा, उखान–टुक्का, सांस्कृतिक मूल्य–मान्यता, विश्वास प्रणाली, रीतभाँत, प्रथाजनित कानुन, स्थानीय भाषा, कृषि कार्य, विरुवा रोप्ने–हुर्काउने विधि र घरेलु जनवारको प्रजननसँग सम्बन्धित प्रणालीमा रहन्छ । यसमा हजारौं वर्षदेखिका अभ्यास कामय रहन्छन् । परम्परागत ज्ञान कृषि, माछा पालन, स्वास्थ्य, बगैँचा तथा वन व्यवस्थापन, वातावरण संरक्षणजस्ता विषयसँग सम्बन्धित व्यावहारिक ज्ञान हुन् ।’

परम्परागत ज्ञान युगौंको प्रयोग, अनुभव र परीक्षणमा आधारित हुन्छ । एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको परम्परागतको इतिहास लामो हुन्छ । समयको कसीमा खरो उत्रिएकाले यसको उपयोगिताको दायरा पनि निकै व्यापक हुन्छ । परम्परागत ज्ञान सांस्कृतिक दृष्टिले समृद्ध र वातावरणीय दृष्टिले हितकर मानिन्छ । यसको महत्व अपरिमित छ ।

अहिले केमिकलयुक्त ‘प्रसेस्ड फुड’ ले मानव स्वाथ्यमा पारेको असरबारे चर्चा छ । खेतीपातीमा प्रयोग हुने कीटनाशकले मानव स्वास्थ, समग्र चराचर र वातावरणमा नकारात्मक असर परेकोमा सचेत विश्व समुदाय चिन्तित छ । आधुनिक जीवनशैलीले निम्त्याएको नकारात्मक असरले परम्परागत ज्ञानको महत्व बढाएको छ । अहिले यसको महत्व बढेर गएको छ ।

ग्रामीण भेग वा वन क्षेत्रमा बसोबास गर्ने समुदायका लागि मात्र होइन, आधुनिक उद्योग तथा परिमार्जित कृषि प्रणालीमा पनि परम्परागत ज्ञानको महत्व उत्तिकै उच्च छ । दीगो विकास, जमिन व्यवस्थापन, मेडिकल रिसर्च, जैविक विविधता संरक्षण, प्राकृतिक स्रोत–साधनको व्यवस्थापनजस्ता विषयमा पनि परम्परागत ज्ञानको खाँचो महसूस गर्न थालिएको छ । यतिमात्र होइन, जलवायु परिवर्तनले निम्त्याएका जटिल समस्यासँग जुध्नका लागि पनि परम्परागत ज्ञानलाई एउटा भरपर्दो उपायको रूपमा लिन थालिएको छ ।

संयुक्त राष्ट्रसङ्घले पनि परम्परागत ज्ञानलाई स्थान दिएको छ । आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र, २००७ को धारा ३१ ले आदिवासी जनजातिहरूको परम्परागत ज्ञान संरक्षणलाई जोड दिएको छ । ‘जैविक विविधतासम्बन्धी अभिसन्धि, १९९३ को धारा ८ ले आदिवासी जनजाति र स्थानीय समुदायको परम्परागत ज्ञानसँगको घनिष्ट नातालाई सम्मान गरेको छ । साथै, परम्परागत ज्ञानले जैविक विविधता जोगाउनका लागि दिएको योगदानलाई कदर गरेको छ ।

अनुवांशिक संशाधन संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि ‘नागोया प्रोटोकल, २०१४’ ले परम्परागत ज्ञानलाई उच्च स्थान दिएको छ । विश्व बौद्धिक सम्पत्ति संगठनले पनि परम्परागत ज्ञानलाई महत्व दिएको छ । संगठनको महासभाले सन् २००५ मा स्वेच्छिक कोष स्थापना गर्ने निर्णय गर्‍यो । यस अन्तर्गत परम्परागत ज्ञान र लोकसाहित्यलाई संरक्षण गतिविधि सञ्चालन भएका छन् । अहिले दीगो विकासका तमाम मामिलासँग परम्परागत ज्ञान जोडिन थालेका छन् ।

विश्वका सानो बौद्धिक जमातले परम्परागतलाई उच्च स्थान दिए पनि यसको अवस्था सन्तोषजनक छैन । परम्परागत अप्रकाशित ज्ञान अप्रकाशित अवस्थामा छ । यसबारे जनचेतनाको स्तर कमजोर छ । परम्परागत ज्ञान संरक्षणको इतिहास कमजोर छ । पुराना पुस्ताबाट नयाँ पुस्तामा ज्ञान हस्तान्तरण हुन सकेको छैन । परिणामस्वरूप कतिपय परम्परागत ज्ञान हराइसकेका छन् । भएका पनि  हराउने क्रममा छ । पश्चिमा विज्ञानका अगाडि ‘इथ्नोसाइन्स’ र परम्परागत ज्ञान फिकाझैं देखिएको छ ।

परम्परागत ज्ञानको कुरा गर्दा हामी पुरानो जमानातिर फर्कनुपर्छ भन्ने अर्थ लाग्न सक्छ । कुरा त्यसो होइन । परम्परागत ज्ञान कुनै बेग्लै ज्ञानपिण्ड होइन । यो पनि एउटा गतिशील ज्ञानपिण्ड नै हो । परम्परागत ज्ञानमा पनि परिमार्जन हुन सक्छ, जसमा आवश्यकता अनुसार आधुनिक ज्ञानपद्धतिलाई समेट्न सकिन्छ । कतिपय अवस्थामा परम्परागत ज्ञान र आधुनिक ज्ञानलाई सँगै अघि बढाउन सकिन्छ ।

दीगो र वातावरणमैत्री विकासका लागि परम्परागत ज्ञान अपरिहार्य छ । यसलाई पाठ्यक्रममा समावेश गरेर नयाँ पुस्तालाई यसबारे सचेत र जानकार बनाउन आवश्यक छ । परम्परागत ज्ञान संरक्षणका लागि स्थानीय समुदायसँग सहकार्य गर्न आवश्यक छ । परम्परागत ज्ञानलाई संरक्षण–सम्वर्धन गर्न र यसबाट फाइदा लिन सरकार र स्थानीय समुदायको साझा प्रयास अत्यावश्यक छ  ।

[संवाद नेपाल । २०७६ साल फागुन ७ गते ।]

Saturday, August 3, 2019

परम्परागत ज्ञान

यमबहादुर दुरा

आधुनिक समाज एक प्रकारको विरोधाभाषपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । एकातिर हामीलाई आधुनिक जीवन पद्धतिप्रति चर्को मोह छ भने अर्कोतिर विगतमा महत्वहीन ठानिएका परम्परागत जीवनशैलीप्रति पनि नजानिँदो तवरबाट आकर्षण बढिरहेको छ । यसबाट आधुनिक समाज दोबाटो उभिरहेको प्रतीत हुन्छ, कताकता ।
ग्राफिक्स: गुगल

समाज दिन प्रतिदिन अटोमेसन र डिजिटाइजेसनको गन्तव्यततर्फ आँधीहुरी सरह अघि बढिरहेको छ । प्रसंग रोचक छ । दुनियाँ आधुनिकताको चकाचौँधप्रति मोहित भइरहेको घडीमा अर्ग्यानिक खेतीपाती र रैथाने जीवनशैलीप्रति पनि मोहभाव बढिरहेको छ, जसले विरोधाभाषपूर्ण अवस्था निम्त्याएको छ । यसले आधुनिक जीवनशैली निर्विवाद र विकल्परिहत छैन भन्ने सन्देश पनि दिएको छ ।

आधुनिक जीवनशैलीप्रति दुनियाँ अनुरक्त भइरहेको बेला फेरि किन रैथाने जीवनशैलीप्रति फर्किन चाहिरहेको छ ? यसको उत्तर सहज छ । आधुनिक जीवनशैली निम्त्याएको जनस्वास्थ्यसम्बन्धी जटिल समस्या र वातावरणीय चुनौती नै यसको मूलभूत कारण हुन् ।

विश्वव्यापी रूपमै नसर्ने रोगको दर बढिरहेको पाइएको छ । नेपालमा कुल मृत्युको ४४ प्रतिशत हिस्सा नसर्ने रोगले ओगटेको आँकडा छ । अर्कोतिर जलप्रदूषण, वायुप्रदूषण, अव्यवस्थित फोहरमैलाजस्ता वातावरणीय समस्या बढ्दो छ, जसले प्रत्यक्ष वा परोक्ष रूपमा जनस्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेका छन् ।

परम्परागत ज्ञानद्वारा निर्देशित जीवन पद्धतिमा यति भयानक किसिमले जनस्वास्थ्यमा समस्या आएको थिएन । वातावरणीय समस्या पनि अहिलेको जस्तो थिएन । तथ्याङ्कहरूको तुलनात्मक अध्ययनले यही तथ्यलाई इङ्गित गर्छ । यस्ता समस्याबाट छुट्कारा पाउन हामीलाई आधुनिक ज्ञानको साथसाथै परम्परागत ज्ञानको पनि खाँचो पर्छ ।

विशेषज्ञहरूले दोहोर्‍याउँदै आएका छन् – आधुनिक जीवनशैलीले निम्त्याएको दोष मेट्न परम्परागत ज्ञान आवश्यक छ । तर, अहिले परम्परा ज्ञान मुर्छित अवस्थामा छ । परम्परागत ज्ञानमा अभ्यस्त पुरानो पुस्ता अस्ताउँदैछ । नयाँ पुस्ताले परम्परागत ज्ञानलाई कख्याउन सकेको छैन । यसको सीधा अर्थ हो, परम्परागतगत ज्ञान तीव्र गतिमा हराउँदैछ । अवस्था प्रतिकूल छ ।

परम्परागत ज्ञान के हो ? विश्व बौद्धिक सम्पत्ति संगठनका अनुसार पुस्तौं अघिदेखि विकसित, सम्वर्धित  र हस्तान्तरित  हुँदै आएको ज्ञान, सीप र अभ्यास नै परम्परागत ज्ञान हुन् । परम्परागत ज्ञानको नाता सांस्कृतिक तथा आध्यात्मिक पक्षसँग पनि रहन्छ ।

कृषि, विज्ञान, प्रविधि, वातावरण, औषधोपचार, जैविक विविधता संरक्षण, स्थानीय प्राकृतिक स्रोत–साधनको व्यवस्थापन तथा उपयोगलगायत ज्ञानका बृहत आयामसँग परम्परागत ज्ञानले साइनो गाँसेको हुन्छ । स्थान र समुदाय अनुसार एउटै विषयको परम्परागत ज्ञानमा विविधता हुन्छन् । त्यसमा स्थानीय संस्करणहरू भेन्छिन्, जुन हाम्रो अमूल्य सम्पत्ति हुन् ।

हामीले आधुनिक जीवन पद्धतिसँग जति नै नजिकको गाँसे पनि परम्परागत ज्ञानको महत्व र सान्दर्भिकता हराइसकेको छैन । सन्तुलित जीवनशैली र वातावरणीय सन्तलुनका लागि परम्परागत ज्ञान आवश्यक छ । यसको सान्दर्भिकता झल्काउने केही दृष्टान्त छन् ।

वर्षौँ अलपत्र रहेर हाल पुनः निर्माणको क्रममा राजधानीस्थित रानीपोखरीमा पानी नरसाउने  समस्या आएपछि पोखरी निर्माणमा परम्परागत ज्ञानले सम्पन्न स्थानीय कालिगढ (महिला) हरूलाई भक्तपुरबाट झिकाएर पोखरी निर्माण गर्ने जिम्मेवारी सुम्पिएको खबर अखबारहरूमा शीर्षक बन्यो । उनीहरूसँग सुकिसकेको भक्तपुरको भाखु पुख परम्परागत प्रविधिबाट पुनर्जीवित गरेको अनुभव रहेको समाचार निकै अर्थपूर्ण छ ।

यस्तै अर्को प्रसंग पनि छ । लमजुङको एउटा गाउँमा एक गैरसरकारी संस्थाको सहयोगमा स्थानीय जलधार सुधार्ने योजना बन्यो । योजना अनुसार पुराना पोखरीलाई पुनर्जीवन दिने र तथा नयाँ पोखरीहरू खन्ने काम भयो । तर, यो काम अपेक्षित उपलब्धीमूलक भएन । पोखरीमा पानी अडिएन ।

कारण बुझ्दै जाँदा भैंसीले आहाल नखेलेसम्म पोखरीमा पानी अडिँदैन भन्ने ज्ञान पाका पुरानाबाट प्राप्त भयो । तर अहिले गाउँमा भैंसी पाल्ने चलनमा गिरावट आएको छ । सुन्दा सामान्य लाग्ने तर अर्थपूर्ण प्रकृतिका यस्ता जीवनदायिनी ज्ञान आधुनिक विकासकर्मीहरूबाट पाउन गाह्रो छ ।

विगतमा कतिपय बुढापाकाले चोया–बाता गर्दा, सूर्ती माड्दा वायुको आद्रता थाहा पाउँथे । त्यही आधारमा पानी पर्ने वा खरेडी पर्नेबारे भविष्यवाणी गर्थे । उनीहरू कुनै मौसमवेत्ता नभए पनि बदलको रङ, मेघ गर्जनको प्रकार आदिका आधार पनि मौसमको भविष्यवाणी गर्थे । यस्ता ज्ञान आजको दिनमा पनि आवश्यक छ ।

विगतमा तटबन्ध निर्माण, खाद्यान्न भण्डार, बीउ भण्डार, पहिरो नियन्त्रण, सामाजिक रीतभाँत, सङ्गीत, पूजापाठ, ओखतीमूलोलगायत जीवनका तमाम आयामहरूमा परम्परागत ज्ञानको प्रयोग हुँदै आएको छ । अहिले यसमा तीव्रतर ह्रास आएको छ ।

यतिबेला, हाम्रा वरिपरि औषधीय गुण भएका वनस्पतिहरू नचिनेरै व्यर्थ हुन पुगेका छन् । अहिले प्रयोगविहीन अवस्थामा रहेका ती वनस्पतिको जनसाधारण, वैद्य र धामीझाँक्रीले जनहितका लागि उपयोगमा ल्याएका थिए । यस्ता रैथाने ज्ञान र सीपलाई  फेरि पनि फर्काउन आवश्यक  छ ।

आजकल हाम्रो जीवन पद्धतिले अर्कै बाटो समातेको छ । बालीनाली, तरकारी, फलफूललगायत उत्पादनमा अत्याधिक विषादी प्रयोग हुन थालेका छन् । यसबाट जनस्वास्थ्यमा गम्भीर असर परेको छ, जुन निरन्तर रूपमा चर्चाको विषय बनिरहेको छ । विषादीबारे जनचेतना बढ्दै जाँदा यसले राजनीतिक अजेण्डाकै रूप ग्रहण गरेको छ । यसले विषादी कति गम्भीर मामिला हो भन्ने पुष्टि गर्छ ।

विषादीबारे बढ्दो जनचेतना र अन्तर्राष्ट्रिय सरोकारका कारण कतिपय विषादी प्रतिबन्धित छन् । तर, अन्त प्रतिबन्धित अवस्थामा रहेका कतिपय विषादी नेपालमा प्रयोग निर्वाध भित्रिएको खबर अखबारहरूमा प्रकाशित छन् । ‘नेपाल जर्नल्स् अनलाइन’ मा प्रकाशित लेखका अनुसार नेपालले प्रतिवर्ष दुई सय ११ टन विषादी आयात गर्छ ।

आजकल, खोलानालामा लुकीचोरी वा खुलेआम करेन्ट लगाउने तथा घातक विषादी प्रयोग हुनाले माछालगायतका जलीय जीवजन्तुको नाश तीव्र गति  भइरहेको छ । यसले हिजोको दुवाली थुन्ने, ढडिया थाप्ने, जाल हान्नेजस्ता माछा मार्ने परम्परागत ज्ञानको खाँचो अनुभूत गराइरहेको छ ।

विषादीले जनस्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने तथ्य प्रत्येकको मनमस्तिष्कमा घुस्दै गएपछि अग्र्यानिक खेतीपातीतिर धेरैको ध्यान खिचिएको छ । अर्ग्यानिक उत्पादनले आकर्षक बजार भाउ पाउने अवस्था पनि छ । तर, अर्ग्यानिक  उत्पादनलाई सही अर्थमा अर्ग्यानिक बनाउने रैथाने सीप र प्रविधिको  अभाव छ । अहिले अर्ग्यानिक भनिएका उत्पादन सही अर्थमा अर्ग्यानिक हो कि होइन ? प्रश्न छ ।

आधुनिक जीवन पद्धतिमा आएका खराबीहरूले परम्परागत ज्ञानको आवश्यकता शनैशनै महसूस भइसकेको छ । परम्परागत ज्ञान लामो कालखण्डमा तयार भएको सार्वजनिक सम्पत्ति हो । अर्को कुरा, यो कुनै छुट्टै क्षेत्र वा पृथक विषय पनि होइन । परम्परागत ज्ञान पनि ज्ञान निर्माणको गतिशीलतासँगै अघि बढ्ने गर्छ, बढ्नुपर्छ ।

परम्परागत ज्ञान आधुनिक ज्ञान निर्माणको हिस्सा बन्नुपर्छ । साथै, आधुनिक ज्ञान निर्माणमा सहायक बन्नुपर्छ । डरलाग्दो पक्ष के हो भने एकपटक हराइसकेपछि परम्परागत ज्ञानको पुनःप्राप्ति सहज नहुने भएकाले परम्परागत ज्ञानको भण्डार रित्तिन नपाउँदै यसलाई प्रयोग तथा पुनःप्रयोग गर्नुपर्ने हुन्छ ।

सम्पूर्ण चराचरका लागि जीवनदायिनी मानिएको परम्परागत ज्ञानलाई जिउँदोजाग्दो अवस्था राख्न यसबारे छलफल, विचार–विमर्श र प्रदर्शनीहरूको पनि खाँचो पर्छ । यस दिशामा राज्य र सरोकारवालाहरूको समयोचित ध्यान–दृष्टि जान आवश्यक छ ।

[साभार:  गोरखापत्र । २०७६ साल साउन १८ गते ।]