Tuesday, September 3, 2019

तीजको बदलिँदो समाजशास्त्र

-यमबहादुर दुरा

नेपाली महिलाहरूबीच खुसीयालीको बहार लिएर आउने चाड यतिवेला निर्घात आलोचित छ । तीजको स्वभाव र शैलीमा आएको तीव्र परिवर्तनले अनेकन् टीका-टिप्पणी निम्त्याएको छ । महिला केन्द्रित यो चाडको मौलिकता हरायो, व्रतालुहरू धार्मिक विधिविधान छाडेर सस्तो मनोरञ्जनतिर लागे, तीजमा अपनाइने व्यावहारमा छाडापन आयो, एक दिनमा मात्र खाइने दर महिनैभरि खान थालियो भन्नेलगायतका टीका-टिप्पणीको बौछार आउन थालेको छ ।

एकपटक सूदुर अतीततिर फकौँ । सम्भवतः तीजको प्रादुर्भाव कृषि युगबाट भएको हुनुपर्छ । कृषि श्रमसाध्य प्रणाली हो । विगतमा महिलाको सहभागिताबिना कृषिकर्मको कल्पनासम्म पनि गर्न सकिने अवस्था थिएन । चुल्होचौकादेखि मेलापातसम्मको व्यापक जिम्मेवारी बहन गर्नुपर्ने बाध्यताले महिलाको बेफुर्सदी र हैरानीले गाँजेको थियो । महिलाको भागमा कामकाज र सन्तान उत्पादनबाहेक अरू कुरा परेको थिएन । स्तन्त्रता कुन चरीको नाम हो, थाहा थिएन । महिलाको जीवन एक किसिमको खुल्ला जेल थियो ।

तीजमा छोरीचेली माइतमा जानु आमचलन हो । सधैँको व्यस्त कार्यतालिकाबाट उम्केर माइतीको आँगन टेक्नु पनि कतिपय महिलाका लागि महाभारत नै थियो । बाटोघाटोको असुविधा र आधुनिक सञ्चार प्रणालीको अभावमा खोलापारि पनि परदेशजस्तै थियो । चेलीबेटीका धेरै खबर बेखबरमा परिणत हुन्थे ।

धेरै पर नजाऔँ । २०४६ अघिको कुरा गरौँ । त्यसबेलासम्म पनि खेतीबालीमा अहिलेको जस्तो विविधता थिएन । पहाडका पाखारेखामा खाद्यान्न उत्पादन सीमित थियो । धेरैलाई पेटभरि खान त के कुरा, प्राण धान्नै गाह्रो थियो । एकसरो लाउन पनि मुस्किल थियो । बहुसंख्यक ग्रामीण महिलाले पैसाको नाममा फुटेको कौडी पनि देख्न गाह्रो थियो । राम्रो लाउन र मीठो खान चाड नै कुर्नुपर्ने अवस्था थियो ।

यसप्रकारको विडम्बनापूर्ण नियतिले घेरिएको बेलामा तीज एउटा यस्तो जीवनदायिनी चाड थियो, जसले कर्मजीवी महिलाका तमाम बेफुर्सदी, बैचैनी र बेखबरपनलाई उल्ट्याइदिन्थ्यो । खुसी र रमाइलोको लालसामा बाँचेका महिलाहरूबीच क्षणिक रूपमै भए पनि हाँसो–खुसी छाउँथ्यो । त्यस समयमा तीजको उच्च महत्व थियो । तीज व्यग्र प्रतीक्षाको चाड थियो ।

आज त्यो अवस्था छैन । देशको आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक परिदृश्यमा नचिताएको परिवर्तन आएका छन् । यससँगै तीजको स्वभाव अकल्पनीय रूपमा बदलिदिएको छ । देशको राजनीतिक, शैक्षिक, आर्थिक एवम् सांस्कृतिक परिवर्तनका सूचकहरूलाई नियाल्दा तीजको स्वाभावमा आनका तान परिवर्तन आएको छ  ।

 नेपालमा अन्य देशको तुलनामा बढी नै राजनीतिक हलचल भइरह्यो । २००७, २०१७, २०३६, २०४६ तथा २०६२-०६३ सालमा भएका तमाम राजनीतिक उतारचढावले सबैमा राजनीतिक तथा सामाजिक चेतनाको दीयो सल्काएरै छाडे । त्यसमा पनि २०४६ पछि आएको खुल्ला राजनीतिक परिवेशले निम्त्याएको अधिकारमुखी आन्दोलनले धेरैलाई आफ्ना अधिकारबारे अभूतपूर्व रूपमा सचेत तुल्यायो ।

अधिकारमुखी आन्दोलनबाट हृदयको गहिराइबाटै प्रभावित हुने तप्कामा महिला पनि थियो । छोराछोरीमा सम्पत्तिको समान हक, आमाको नाममा नागरिकता, समान कामका लागि समान ज्यालाजस्ता महिला अधिकारका आयामहरू ध्रुव्रीकृत र मजबुद हुँदै गए । महिलामाथि हुने विभेदका ‘ग्लास सिलिङ’ हरू नजानिँदो किसिमले तोडिँदै गए ।

एक तथ्याङ्क अनुसार सम्पत्तिमाथिको महिलाको स्वामित्व २६ प्रतिशत, निजामती सेवामा महिलाको प्रतिनिधित्व १७ प्रतिशत, महिलाको श्रम सहभागिता दर ५४ प्रतिशत र महिलाको मानव विकास सूचाकङ्क ०.५२१ पुगेको छ । यी तथ्याङ्कले महिलाको हैसियतमा एकपछि अर्को गरी सुधार आइरहेको सङ्केत मिल्छ ।
देशमा बढ्दो साक्षरता दरले महिलाको शक्तिस्वरूपा स्वभावमा पाइन चढाउँदै लाग्यो । राष्ट्रिय जनगणना २०३८, २०४८, २०५८ र २०६८ मा महिला साक्षरता दर क्रमशः १२.५, २४.७५, ४२.८५ र ५७.४५ छ । महिला साक्षरताको बढ्दो ग्राफले महिलालाई सचेत, आत्मनिर्भर र अझ बढी विचारशील बनाउँदै लग्यो, जुन हुनैपर्ने कुरा थियो ।

नेपालको नीति तथा कानुनले महिलाको राजनीतिक सहभागितालाई प्राथमितकता दिँदै गएको छ । यसमा अधिकारमुखी आन्दोलनले योगदान ठूलो योगदान छ । २०४७ सालको संविधानले संसदीय निर्वाचनमा राजनीतिक दलले कम्तिमा पाँच प्रतिशत महिला उठाउनुपर्ने प्रावधान राख्यो । २०१५ सालको संसदीय निर्वाचनबाहेका विगतमा सम्पन्न संसदीय चुनावमा बाहेक राजनीतिमा महिलाको सहभागिता निरन्तर बढ्दो क्रममा रहेको देखिन्छ ।

२०६४ सालमा सम्पन्न संविधानसभामा ५७५ सिटमध्ये १९१ (३३.२ प्रतिशत) महिला निर्वाचन भए । २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य निर्वाचन र स्थानीय तहको निर्वाचनमा महिलाको संख्या बढ्दो नै देखिन्छ । स्थानीय तहमा कुल जनप्रतिनिधिमध्ये ४१ प्रतिशत महिला रहेको तथ्याङ्क छ । महिलाको बढ्दो राजनीतिक सहभागिताले सामाजिक तथा राजनीतिक परिदृश्यमा व्यापक परिवर्तन आइसकेको छ ।

सन् १९७० को दशक र त्यसको सेरोफेरोमा देशका ९० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा निर्भर थिए । अब नेपालको अर्थतन्त्र कृषिबाट गैरकृषिततर्फ उन्मुख छ । अहिले कृषिमाथिको निर्भरता क्रमिक रूपमा घट्दै गएको छ । आर्थिक सर्वेक्षण २०६९/०७० ले ६६ प्रतिशत नेपाली कृषिमा निर्भर रहेको देखाएको छ । अर्कोतिर, देशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दो छ । आर्थिक वर्ष २०५५/०५६, २०६४/०६५, २०६९/०७० र २०७४/०७५ मा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः ३८ प्रतिशत, ३६ प्रतिशत, ३४ प्रतिशत र २७.६ प्रतिशत छ । कृषिमा घट्दो निर्भरतासँगै महिलाहरू कृषिकर्मबाट बाहिरिँदै गएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्याङ्कलाई आधार मान्दा २०४६ सालको सेरोफेरोमा गैरकृषि रोजगारीमा महिलाको सहभागिता १७ देखि २० प्रतिशतमात्र थियो भने २०७० साल आइपुग्दा गैरकृषि रोजगारीमा महिलाको सहभागिता बढेर ४४.८ प्रतिशत पुग्यो । यस किसिमको ‘एक्सपोजर’ बाट हिजो निरीह ठानिएका महिलाको पारिवारिक, आर्थिक तथा सामाजिक हैसियत एकपछि अर्को गरी सप्रिँदै गएको छ । उनीहरू स्वभाविक रूप आत्मनिर्भर र मुखर हुँदै गएका छन् ।

अब महिलाको रोजगार देशको सरहदभित्रमा सीमित रहेन । यसको दायरा विदेशको फराकिलो दायरामा विस्तार हुन थाल्यो । श्रम तथा वैदेशिक रोजगार प्रवर्धन विभागको अभिलेख अनुसार २०४२ सालको सेरोफेरोमा जम्मा एक सय ६१ जना महिला वैदेशिक रोजगारमा गएको देखिन्छ । यो ज्यादै न्यून संख्या थियो । अहिले लाखौं नेपाली महिला विदेशमा कार्यरत छन् । यसले महिलाको विश्व दृष्टिकोण र आर्थिक हैसियतमा जादुमय परिवर्तन ल्याइदिएको छ ।

यी तमाम राजनीतिक तथा सामाजिक उहापोहले समाजमा तीव्र परिवर्तन ल्याएको छ । तीज पनि अपवाद हुने कुरै भएन । दुनियाँ गतिशील छ, त्यसमा पनि संस्कृति झन गतिशील छ । परिवर्तनशीलता संस्कृतिको एउटा महत्वपूर्ण विशेषता हो । बदलिँदो सामाजिक परिदृश्यसँगै संस्कृति पनि बदलिँदै जान्छ ।

हिजो, तीजमा ग्रामीण परिवेश हावी थियो भने आज शहरी चालढाल हावी हुने क्रम बढेको छ । हिजो गाउँको जनसंख्या धेरै थियो । अहिले गाउँको जनसंख्या घट्ने र शहरको जनसंख्या बढ्ने क्रममा तीव्रता आएको छ ।  विगतमा गाउँको आँगन, चौतारी र हाटबजारमा तीजका अग्र्यानिक स्वादका गीत नाच्थे भने आज शहरका पार्टी प्यालेसमा विदेशी गीतमा छेपारी बटार्ने दिन आयो ।

हिजो दूध, दही र मोहीजस्त विशुद्ध स्थानीय उत्पादनले तीजका पाहुनको घाँटी भिज्थ्यो भने आज विदेशी मदिरा र पेय पदार्थबिना तीज खल्लो हुने अवस्था आइसकेको छ । विगतमा घरमा पाकेका चाम्रे-लट्टेले तीज उम्कन्थ्यो भने आज शहरका ‘प्रफेसनल कुक’ ले पकाएका पकवानले धेरैको मुख खोसेको छ ।

अहिले तीजको गीत व्यापारिक वस्तुसमेत बनेको छ । सङ्गीत उद्योगले तीजको गीत बेचिरहेको छ । हिजो तीजको गीत दु:ख विरेचनको माध्यममात्र थियो भने अहिले उन्माद पोख्ने माध्यम पनि बन्न थालेको टीका टिप्पणी सुनिन थालेको छ । यसलाई अस्वाभाविक घटनाक्रमका रूपमा लिनुपर्ने अवस्था छैन । पूँजीवादबाट संक्रमित मनोरञ्जन उद्योगले तीजलाई ‘उत्पादन’ बेच्ने अवसरबाहेक अरू केही ठान्दैन । यही कारण हो, साउन लाग्न नपाउँदै रेडियो, टेलिभिजन र यु ट्युबमा तीजसम्बन्धी गीतको ‘प्रोमो’ देखपर्छन् ।

तीजको गीत तथा भिडियोमा पुरुषको पनि सहभागिता भएकोमा कतिपयलाई आपत्ति छ । त्योभन्दा अघि बढेर रत्यौलीका भाकामा पनि तीजका गीत देखियो भन्नेहरू छन् । तीजसम्बन्धी म्युजिक भिडियोको छायाङ्कन बलिउड शैलीमा भएकोमा पनि कतिपयले रोष प्रकट गरेका छन् । यहाँनेर, बुझ्नुपर्ने कुरा के हो भने यो पूँजीवादी युग हो । पूँजीवादले जे बिक्छ, त्यही बेच्छ ।

तीजको बदलिँदो स्वभावलाई सांस्कृतिक अपचलन भन्ने कि समयले ल्याएको परिवर्तन भन्ने ? पक्ष वा विपक्षमा विश्लेषण गर्नका लागि पर्याप्त ठाउँ छ । हिजो तीज मूलतः स्थानीय चाड थियो तर अहिले यसमा ‘साइबर फेस्टिबल’ का चरित्र देखिन थालेको छ । अहिलेको तीजसँग विश्वव्यापीकरण, सांस्कृतिक साम्राज्यवाद, सांस्कृतिक वर्णशंकरीकरण, पूँजीवाद, उपभोगवादी संस्कारजस्ता विश्वमा चलेका अरू आयामहरू पनि जोडिन आइपुगेका छन् ।

 तीजको स्वाभाव र शैलीमा भयानक परिवर्तन आएको छ । तीजको खानपान, भेषभूषा र रीतभाँत परिवर्तन आउनुमा परिवर्तनशील समय जिम्मेवार छ । त्यसमा पनि आमसञ्चार माध्यमको बढ्दो प्रभाव र ग्रामीण समाजको बाहिरी दुनियाँसँगको सामाजिक अन्तरघुलनले सामाजिक परिर्वतनमा तीव्रता आएको छ ।

यी तमाम परिवर्तकारी शक्ति हावी भइरहँदा तीज पुरानै अवस्थामा रहन सक्ने अवस्था नै छैन । अब पनि यो चाड पहिलाको जस्तै हुनुपर्छ भन्नु मुढाग्रह मात्र हुन जान्छ । जीवनशैलीमा व्यापक फेरबदल आएको छ । दुनियाँ पल पल बदलिरहेको अवस्थामा पुरानो सोचाइद्वारा निर्देशित तीजसम्बन्धी बहस निरर्थकझैं प्रतीत हुन्छ ।

अब रह्यो, तीजलाई मर्यादित बनाउने कुरा । यो आवश्यक छ, तर सहज छैन । विगतमा समाजलाई नियमन गर्ने थुप्रै प्रसंग आए । सोही अनुसार नियम पनि बने । तर ती नियम कहिल्यै पनि राम्रोसँग कार्यान्वय भएनन् । ती नियम भाषणको विषय बने, व्यावहारिक कार्यान्वयनमा आउन सकेनन् । तीजसम्बन्धी नियम पनि यस्तै हो । जसका लागि नियम बनाएको उसैले व्यावहारमा नउतार्दासम्म यस्ता नियम निरर्थक हुन्छन् ।

एकतिर, सामाजिक विधिविधानको थुप्रो अग्लिँदै गएको छ भने अर्कोतिर समाज निरन्तर व्यक्तिगत स्वतन्त्रताको हिमायति बनिरहेको छ । समयले काँचुली फेर्दै गएको यो घडीमा तीजलाई कुन हदसम्म स्वच्छन्द भएर मनाउने वा मर्यादाको कुन दायराभित्र राख्ने भन्ने कुराको लक्ष्मणरेखा कोर्न सहज छैन ।

सामाजिक व्यावहारलाई नियमन गर्न बनेका सरकारी कानुन-काइदा आफ्नो भूमिका निर्वाह गर्न सधैँजसो असमर्थ छ । तीज पनि यसको अपवाद बन्न सक्ने देखिन्न । यसलाई कुन हदसम्म नियमन गर्ने भन्ने कुरा तीज मनाउनेहरूकै विवेकमा नै निर्भर रहन्छ । अर्को कुरा, व्यक्तिका इच्छा आकांक्षाले देशका कानुन-काइदालाई सधैँभरि उछिनिरहेकै नजिर छ ।

[साभार: नयाँ पत्रिका । २०७६ साल भदौ १७ गते ।]

No comments:

Post a Comment