यमबहादुर दुरा
नाचगान र रङ्गरेशम भनेपछि पासोमै पर्ने । जोसँग पनि सजिलै घुलमिल सक्ने बानी–व्यहोरा । कसैलाई पनि बचनले नबिझाउने । हाँसोठट्टा गर्न रुचाउने स्वभाव । यस्तो स्वाभाव यस विशाल दुनियाँमा धेरै व्यक्तिको हुनसक्छ । तर पंक्तिकारले चिनेजानेका व्यक्तिमा बुद्धिमान दुरामा नै यस्ता दुर्लभ चरित्र भेटिन्छन् ।
औपचारिक नाम बुद्धिमान दुरा भए पनि लोकजीवनमा धम्पू नामले सुपरिचित उहाँ ठाडो भाकाका सुपरिचित प्रतिभा हुनुहुन्छ । आजकल यु ट्युब, टिकटक तथा रिल्समा उहाँका प्रतिभा छताछुल्ल छचल्किरहेका छन् । सोसल मिडियामा भेटिने रोचक तथा घोचक भिडियोहरूले प्रतिभाको कला र गला अद्वितीय छ भन्ने तथ्यलाई पुष्टि गर्छ ।
समग्रमा भन्दा लोकजीवनको एउटा जिउँदोजाग्दो नाम हो, बुद्धिमान दुरा । उहाँ रहरको भोगी हो । एकप्रकारले भन्दा रहरभन्दा तीन दिन जेठो । समाजमा हुने साङ्गीतिक तथा सांस्कृतिक गतिविधि सरिक हुन नपाए उहाँलाई छटपटी हुन्छ । निम्ता पाएको ठाउँमा सात काम बिताएर पनि टुप्लुक्कै पुग्नुहुन्छ । उहाँ जहाँ जहाँ पुग्नुहुन्छ, त्यहाँ त्यहाँ साङ्गीतिक माहोल तयार भइहाल्छ, ‘जहाँ राम, त्यहाँ अयोध्या’ भने जस्तो । उहाँको उपस्थितिले एकैछिनमा नाचगान र रङ्गरेशमको रसिलो संसार तयार हुन्छ । उहाँ गीत–सङ्गीतको दुनियाँमा आकर्षक व्यक्तित्व हुनुहुन्छ । उहाँसँग गीत गीतमा सवाल–जवाफ गर्नका लागि कतिपय चेलीबेटी पालो कुरेरै बस्ने गरेका अनेकन् दृष्टान्त छ ।
लमजुङको दुराडाँडास्थित ठूलोस्वाँरा गाउँमा जन्मेहुर्केका बुद्धिमान दुरा बाल्यकालदेखि नै त्यहाँको उर्वर सांस्कृतिक वातावरणमा घुलमिल हुन पुग्नुभयो । रोदीघर, मेलापात तथा वनपातमा उहाँले नाचगान सिक्नुभयो । उहँले पनि नौ–वर्षको कलिलो उमेरमै गाउन शुरु गर्नुभयो । मेलापात, रोदीघर, विवाह आदिमा गाउँदागाउँदै थाहा नपाई नपाई उहाँभित्रको प्रतिभा तिखारिँदै गयो । समयक्रममा जात्रामात्रा जस्ता ठूला सामाजिक जमघटमा पनि निर्धक्कसँग गाउने खुबी विकास हुँदै गयो । यस सँगसँगै लोकभाका र लोकजीवनका सांस्कृतिक आयामहरूसँग उहाँको लगाव बलियो हुँदै गयो । यससँगै उहाँको प्रतिभाको क्षितिज पनि फराकिलो हुँदै गयो ।
उहाँ सानै छँदा उहाँको परिवारमा एउटा दुःखद घटनाले प्रश्रय पायो । केटौले उमेरमै हुँदा बा बित्नुभयो । बा बित्दा उहाँको उमेर १२ वर्ष थियो । परिवारको साहाराका रूपमा रहनुभएका पिताको सानैमा निधन भएपछि उहाँको परिवारमा बज्रपात पर्यो । पिताको अनुपस्थितिमा उहाँमाथि थप पारिवारिक जिम्मेवारी थपियो । आखिर समयले दिएको चोट जतिसुकै असह्य सहनै पर्यो । जस्तै चोट परे पनि जिन्दगीको यात्रा त कहाँ रोकिन्छ र ? साथीसँगीसँग मेलापात, वनपात तथा हाटबजारतिर जिन्दगीको परिभाषा खोज्दै गर्दा जिन्दगीको यात्रा अनपेक्षित दिशातिर मोडियो । उहाँ गाउँका अग्रज आफन्तजनसँग पक्लिहवा हानिनुभयो ।
गाउँबाट रोजगारका लागि मुगलान हिँडेको एउटा अबोध गाउँले केटोको मनमा भाग्यले साथ दिए लाहुरे बनेर पल्टनको बुट बजार्ने रहर थियो होला । तर विधिको विधान तयार भएको अर्कै रहेछ । उहाँको पल्टनको बुट बजार्ने रहर पूरा भएन । भाग्यले अर्कै रीत रहेको रहेछ । पक्लिहवामा भेटिनुभयो‒ ब्रिटिश सेनाका कर्णेल जेपी क्रस, जो एउटा भाग्यविधाता बनेर प्रकट हुनुभयो । कर्णेल जेपी क्रस बुद्धिमान दुराको धर्मपिता बन्नुभयो । बुद्धिमान दुरा धर्मपिताको सेवा सुश्रुषामा जुट्न थाल्नुभयो ।
गोर्खाली समुदायसँग लामो सङ्गत गर्नुभएका, साहित्यिक रसयुक्त उखान–टुक्का सहित मीठो नेपाली बोल्ने कर्णेल साहेबसँग बुद्धिमान दुरा जिन्दगीको भाग्यरेखा जोडिँदा उहाँको जिन्दगीको लय बदलियो । जेपी क्रसले पनि बुद्धिमान दुरालाई धर्मछोराका रूपमा अपार माया खन्याउन थाल्नुभयो ।
बुद्धिमान दुराले लाहुरेका रूपमा बेलायत पुग्न नपाए पनि धर्मपितासँग यूरोप तथा एशियाका विभिन्न मुलुकहरूको भ्रमण गर्नुभयो । उहाँले स्वेदशको पनिविभिन्न भूखण्ड भ्रमण गर्नुभयो । यसरी स्वदेश र विदेशको रीतभाँत जान्ने अवसर पाउनुभयो । अहिले उहाँ सपरिवार पोखरामा बस्नुहुन्छ । साथमा एक शताब्दी उमेर बिताइसक्नुभएका धर्मपिता जेपी क्रस परिवारको मियोको रूपमा रहनुभएको छ । बुद्धिमान दुराको परिवारले एक शताब्दी पार गरिसक्नुभएका जेपी क्रसको अभिभावकत्वपूर्ण छाहरी पाएको छ, जुन एउटा दुर्लभ सौभाग्य हो भन्ने लाग्छ ।
अब, बुद्धिमान दुराको साङ्गीतिक यात्रातिरै फर्कौँ । उहाँले हालसम्म १ सय ९ जना महिलासँग ठाडो भाका गाइसक्नुभएको छ । समयकालीन प्रतिभाहरूको सूचीमा यति ठूलो संख्याका महिलासँग ठाडो भाका गाउने उहाँ नै पहिलो प्रतिभा देखिनुभएको छ । पुराना प्रतिभाहरू देउबहादुर दुरा, पञ्चसुब्बा गुरुङ, मनिराम दुरा, दशरथ दुरा, राइटर दुरा, खुजुरे दुरा, भैरवबहादुर भाट (भैरे भाट), भेँडीखर्के साइँला आदिले यति धेरै महिलासँग गीतको खालमासवाल जवाफ गरे गरेनन्, रहस्यको गर्भमा लुकेको छ । तर, बुद्धिमान दुरासँग आफूले यति धेरै महिलासँग गीतमा भावना विनिमय गरेको अभिलेख छ ।
उहाँको फूर्तिलोपन र जाँगर प्रशंसनीय किसिमको छ । उमेरले सात दशक नजिक पुग्दै गर्दा उहाँको जोश–जाँगर १६ वर्षे लोर्के तन्नेरीको भन्दा कुनै पनि अर्थमा कम देखिँदैन । गीत गाउँदा मादल पनि आफैँ बजाउने गर्नुहुन्छ । गीत गाउँदा मीठो भावभङ्गिमा सहित सबैलाई मोहित तुल्याउने किसिमले नाँच्नुहुन्छ । उहाँका गीतमा ग्रामीण जीवन तथा कृषियुगका विम्ब र उपमाहरू प्रतिविम्बित हुन्छन् ।
उहाँ ठाडो भाकामात्र होइन, लोकसंस्कृतिका अरू विधाहरूमा पनि उत्तिकै पारङ्गत हुनुहुन्छ । सोरठी, कृष्णचरित्र, चुड्कालगायत सबै विधामा गीत गाउन र मादल बजाउन खप्पिस हुनुहुन्छ । यसका अतिरिक्त लमजुङमा जन्मेहुर्केका व्यक्ति भए पनि स्याङ्जाका तथा कास्कीमा प्रचलित अनेकन् लोकभाकाहरूमा सवाल जवाफ गर्न कोहीभन्दा पछि हुनुहुन्छ । सबै कुराले भरिपूर्ण भए पनि उहाँमा स्वरले कम खायो भन्ने भनाइ छ । गीतको फाँकी र फुंदा मीठो भए पनि स्वरमा कमी छ भन्ने टिप्पणी छ । यसबारे उहाँ खुलेरै भन्नहुन्छ , "मेरो स्वर मीठो छैन, रहर मीठो छ ।"
उहाँको बहुमुखी प्रतिभालाई सरस्वतीको एउटा विशिष्ट वरदान मान्न सकिन्छ । लोकजीवनसँग गहिरो नाता गाँस्ने लोकभाकाहरूसँग आफू यतिविधि आकृष्ट र अभ्यस्त हुनुमा भारसिंह दुरा लगायतका तत्कालीन अग्रज लोकप्रतिभाहरूको प्रेरणादायी भूमिका रहेको उहाँको कथन छ । उहाँले पछिल्लो समयमा ठाडो भाका गायककै रूपमा बेलायत र अमेरिकाको भ्रमण गरिसक्नुभएको छ, जुन हामी सबैका लागि गौरव गर्नलायक सांस्कृतिक उपलब्धि हो ।
उहाँ सांस्कृतिक क्षेत्रमा धेरैको नजरमा हाइहाइ भए पनि कतिपय अवस्थामा अपजस पनि पाउनुभएको छ । उहाँमाथि गम्भीर आरोप लागेका छन्, जुन यसप्रकार छ :
१. सामान्यतया ठाडो भाकामा पहिलो चरण (फेद) मा गीत उठानमात्र गरिन्छ, भट्याइँदैन । तर उहाँले प्रचलित पद्धतिको विरुद्ध हुने गरी पहिलो चरणमै भट्याउने गरेको आरोप उहाँमाथि लाग्दै आएको छ ।
२. उहाँमाथि अर्को आरोप पनि छ । सामान्यतया, ठाडो भाका गाउँदा फेद र टु्प्पाबीचको फराकिलो भावभूमिा तुकबन्दीपूर्ण अभिव्यक्ति प्रस्तुत गरिन्छ । जस्तै : धान कुटी पीठो, तिम्रो हाम्रो माया महभन्दा मीठो; पीपलु छायाँ, बैगुनी माया आदि । तर उहाँले स्थापित मान्यताको विरुद्ध हुने गरी कतिपय अवस्थामा गीतमा तुकबन्दीविहीन अभिव्यक्ति दिएको टिप्पणी पनि यदकदा सुनिन्छ ।
३. परम्परागत रूपमा ठाडो भाकामा छोरामान्छेमात्र नाच्ने गरिन्छ । पछि महिलाहरू पनि नाच्न थाले । महिलालाई ठाडो भाकाको खालमा नचाएर परम्परा तोडेको आरोप बुद्धिमान दुरामाथि छ । उहाँले महिलाको हुललाई ठाडो भाकाको खालमा नचाएर परम्परामाथि आँच पुर्याएको टीका–टिप्पणी समाजमा सुनिन्छन् ।
यी टीकाटिप्पणी पंक्तिकारको होइन । समाजमा सुनिएका कुरा हुन् । कसैको बारेमा लेख्दा पारदर्शी ढङ्गमा लेख्नुपर्छ अर्थात् सकारात्मक र नकारात्मक दुवै पक्षलाई समान स्थान दिइनुपर्छ भन्ने मान्यतालाई आत्मासात गरी समाजमा चलेका कुरालाई प्रस्तुत गरिएको हो ।
उहाँका गुण र दोषलाई तौलँदा गुनको भारी नै दशौँ गुना गहकिलो छ । यसमा कुनै द्विविधा छैन । उहाँले गीत–सङ्गीतमार्पmत नेपाली समाजलाई लाएको वर्णनातीत छ अर्थात् गुण वर्णन गरेर सकिँदैन । बाहिरी सभ्यता र संस्कृतिले हाम्रो मौलिक पहिचान धमिलो भइरहेको बेलामा उहाँले नेपाली लोकजीवनको मौलिकपन जोगाउन गुनिलो योगदान दिनुभएको छ, जुन धेरै अर्थमा बन्दनीय छ । वास्तवमै उहाँ नेपाली लोकजीवनको सांस्कृतिक राजदूत नै हुनुहुन्छ ।
साभार : बुद्धिमान दुरा अभिनन्दन ग्रन्थ, २०८२ । सामान्य परिमार्जनसहित ।


No comments:
Post a Comment