Showing posts with label ठाडो भाका. Show all posts
Showing posts with label ठाडो भाका. Show all posts

Tuesday, December 23, 2025

ठाडो भाकाका अग्रज प्रतिभाहरूबारे खस्रोमस्रो कुरा

 यमबहादुर दुरा

पुरानो पात झर्ने र नयाँ पात पलाउने दुनियाँको रीत नै हो । समयक्रमसँगै पुरानो पुस्ता ओझेलिने नयाँ पुस्ता उदाउने कुरा नयाँ होइन । जन्म र मृत्युको अनन्त चक्रमा धर्तीमा लाखौँ मानिस आए–गए । अब पनि आउनेछन्–जानेछन् । यसबीचमा गौतम बुद्ध, महावीर, महात्मा गान्धी, मार्टिन लुथर किङ (जुनियर) जस्ता सीमित व्यक्तित्वलाई मात्र दुनियाँले सम्झिएको छ, बाँकीलाई शनैः शनैः बिर्सँदै गइरहेको छ । यस्ता चिरस्मरणीय व्यक्तित्वहरूको हाराहारीमा नपुगे पनि हाम्रो परिवेशमा देउबहादुर दुरा पनि लोकले सम्झिरहेको एक लोकप्रतिभा हुन् भन्दा अत्युक्ति नहोला । तत्कालीन साङ्गीतिक परिवेशमा देउबहादुर दुराले लोकहृदयमा पारेको अमिट छाप छ । उनी परलोक भएको लगभग नौ दशक लामो कालखण्ड बितिसक्दा पनि उनको कला र गलाको प्रशंसा हुनुले यही तथ्यलाई पुष्टि गर्छ ।

गण्डकी भेगमा लोकसङ्गीतको क्षेत्रमा देउबहादुर दुरा जत्तिको बहुचर्चित बहुप्रतिभाशाली र बहुश्रुत प्रतिभा अरू देखिँदैनन् । अझ सोझो अर्थमा भन्दा देउबहादुर दुरालाई पछार्ने अर्को प्रतिभा देखिँदैन । उनी सात दिन सात रातसम्म गीत गाउँदा पनि थाक्दैनथे भन्ने चर्चा गाउँघरमा अझै  पनि सुनिन्छ । उनको नाच, भावुकतापूर्ण अभिव्यक्ति, बल बुद्धि र बर्कतबारे अनेकन् किस्सा सुन्न पाइन्छ । आज उनी स्वयम् किंवदन्ती बन्न पुगेको प्रतीत हुन्छ । देउबहादुर दुरा कला र गलाबारे केही पुराना अध्येताहरू मीठो चर्चा गरेका छन् । जनकवि धर्मराज थापाले गण्डकीका सुसेली (२०३०) र लोकसंस्कृतिको घेरामा लमजुङ (२०४१) तथा कालीभक्त पन्तले हाम्रो सांस्कृतिक इतिहास (२०२८) मा उनको अद्वितीय प्रतिभाको नालीबेली केलाउँदै मुक्तकण्ठले प्रशंसा गरेका छन् । यी कृतिहरू देउबहादुर दुरालाई चिनाउने उत्कृष्ट र अग्रणी खोजमूलक कार्य मानिन्छन् ।


लोकहृदयमा देउबहादुर दुराले न्यानो स्थान पाउँदापाउँदै पनि उनी कतकता अपहेलित भएको प्रतीत हुन्छ । समसामयिक सांस्कृतिक परिवेशमा घटेका एक दुई वटा घटनाले यही तथ्यलाई इङ्गित गर्छ । उनका अनुज पुस्ताका प्रतिभाको शालिक बनिसक्यो । तर, ठाडो भाकाका अधिष्ठाता नै मानिने देउबहादुर दुराका शालिक बन्न सकेन । यस्तो लाग्छ‒ विवेकशील समाजले देउबहादुर दुरालाई राम्रैसँग बिर्सियो वा बुझ पचायो । किनभने न ठाडो भाकाका अग्रज देउबहादुर दुराको शालिक बन्यो, न त उनका सहयात्री पञ्चसुब्बा गुरुङकै । न त देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङको नाममा संस्था नै जन्मिए । लोकजीवनमा गहिरो छाप छाडेका यस्ता अग्रजलाई बिर्सिएको समकालीन सांस्कृतिक घटनाक्रमले कतै हामी सम्प्रदायिकता तथा क्षेत्रीयताको साँगुरो घेराभित्र रमाएर बृहत्तर सांस्कृतिक आदर्शलाई लत्याइरहेका त छैनौँ भन्ने प्रश्न स्वाभाविक किसिमले जन्मन्छ । 

सबै लोकप्रतिभाको शालिक तथा स्मारक बनेको राम्रो । यस्ता स्मारक बनाउने क्रममा रोलक्रम र बृहत्तर सांस्कृतिक आदर्शलाई पनि ख्याल गर्नैपर्छ । रोलक्रमकै कुरा गर्दा आधारमा सबैभन्दा पहिले देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङको शालिक बन्नु पर्थ्यो । अनिमात्र क्रमशः अनुज पुस्ताका प्रतिभाहरूको पनि शालिक बन्दै जानु पर्दथ्यो । यसो भएको भए कसैले बोल्नुपर्दैनथ्यो । यससँगै हाम्रो सांस्कृतिक जागरण अभियानको सुल्टो दिशामा अघि बढ्ने थियो ।  

यहाँ यस्तो विचार पोख्नुको अर्थ देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङ बाहेक अरू कोही पनि होइनन् भन्ने आशयचाहिँ पटक्कै होइन । अनुज पुस्ताका प्रतिभाको पनि आफ्नै किसिमको महिमा र गरिमा छ । अनुज पुस्ताले देउबहादुर दुरा, पञ्चसुब्बा गुरुङ र उनीहरूपछिका प्रतिभाहरूले छाडेर गएका साङ्गीतिक नासोलाई सम्हाल्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने दिशामा अतुलनीय योगदान दिएका छन्, जसको जति प्रशंसा गरे पनि कमै हुन्छ । यति हुँदाहुँदै पनि रोलक्रमका आधारमा ‘को अघि’ र ‘को पछि’ भन्ने कुरा त ख्याल गर्नुपर्ला नि । गोरुभन्दा गाडा अगाडि भएमा दुनियाँले अचम्म मान्छ नै ।

अर्को कुरा, आजकल ठाडो भाकाको जननी नै भेँडीखर्के साहिँला हुन् भन्ने भाष्य सिर्जना भएको छ, जुन भ्रमपूर्ण छ । हालसम्मको लोकस्मृति र अन्य दस्ताबेजलाई आधार मान्दा ठाडो भाकाको जननी देउबहादुर दुरा नै हुन् । देउबहादुर दुरा वि.सं. १९५४ तिर जन्मेर १९९४ परलोक भएको देखिन्छ भने भेँडीखर्के साहिँला १९९० मा जन्मेका हुन् । देउबहादुर दुरा १९७० सालतिर ख्यातिप्राप्त गायक बनिसकेको प्रमाण भेटिन्छ । यस हिसाबले भेँडीखर्के साहिँला जन्मनुभन्दा थोरैमा पनि २० वर्ष अघि नै देउबहादुर दुराले पर्याप्त ख्याति कमाइसकेको  पाइन्छ । उनी बित्दा भेँडीखर्के साहिँला जम्मा ४ वर्षका दूधेबालक रहेको देखिन्छ । 

२०५० को दशक र त्यसभन्दा पनि पनि ठाडो भाका गाउन जान्ने व्यक्ति भेँडीखर्के साहिँलामात्र हुन् भन्ने भाष्य तयार पारिएको थियो । मिडियामा पनि यही भाष्य प्रचारित थियो, जुन  पूरापुर गलत थियो । त्यस समयमा गाउँबस्ती  ठाडो भाका गाउन जान्ने प्रतिभाहरू पर्याप्त थिए । अझै पनि छन् । अन्य प्रतिभाले भेँडीखर्के साहिँलाले जत्तिको लालित्यपूर्ण ढङ्गले गाउन नजान्लान् । त्यो अलग पाटो हो । जानाजान इतिहास बङ्ग्याउने छुट कसैलाई पनि छैन । सचेत समाजले यस्ता विषयमा आँखा चिम्लन मिल्दैन ।

यहाँ यस्तो तर्क प्रस्तुत गरिरहँदा आदरणीय भेँडीखर्के साहिँलालाई अनादार वा अपमान गरेको अर्थ नलागोस् । मैलै वास्तविकता उजागर गर्ने प्रयत्न गरेको मात्र हुँ । उनी ठाडो भाकाका उत्तिकै बहुचर्चित व्यक्तित्व हुन् । ठाडो भाकाको विस्तारमा उनको अतुलनीय ठूलो योगदान छ । उनीप्रति पूरापुर सम्मान छ । वास्तवमै उनी प्रातःस्मरणीय लोकप्रतिभा हुन् । कुरा यतिमात्र हो‒ ठाडो भाकाको जननी नै भेँडीखर्के साहिँला हुन् र ठाडो भाका गाउन जान्ने प्रतिभा उनीमात्र हुन् भन्ने भ्रम नयाँ पुस्तामा पर्न गएकाले भ्रम निवारणका लागि यति कुरा प्रष्ट्याउने दुस्साहस गरेको हुँ ।

पङ्क्तिकार पनि दुरा समुदायकै हुनु, उसले दुरा समुदायबाटै लोकसङ्गीतको क्षेत्रमा उदाएका देउबहादुर दुराको प्रशस्ति गाएको देखिनु र भेँडीखर्के साहिँलाबारे तीती–मीठा विचार राख्नुले पङ्क्तिकार साम्प्रदायिक सङ्कीर्णताबाट ग्रसित भएको देखिन सक्छ । तर, वास्तविकता त्यस्तो होइन । देउबहादुर दुरा, भेँडीखर्के साहिँला तथा अन्य सबै प्रतिभाहरू निर्विवाद साझा व्यक्तित्वहरू हुन् । उनीहरूप्रति पूरापुर सम्मान छ । हाम्रो सांस्कृतिक परिवेशमा देखापरेका अमिल्दा परिघटनालाई औँल्याउन, इतिहास सच्याउन र भ्रम निवारण गर्न यति खस्रोमस्रो कुरा राख्नुपरेको हो । यसलाई कसैले पनि अन्यथा लिनुहुने छैन भन्ने आशा छ ।  

अब देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङजस्ता प्रतिभाको पनि शालिक बन्नुपर्छ, त्यो पनि कर्पुटारमा । किनभने कर्पुटार उनीहरूको प्रतिभा लोकार्पण भएको उर्वर भावभूमि तथा कर्मभूमि हो । यससँगै ठाडो भाका गायनका क्षेत्रका अद्वितीय योगदान दिएर पनि गुमनाम रहेका अन्य प्रतिभाहरूको इतिहास खोज्ने, उनीहरूको सम्झनामा स्मृति दिवस मनाउने तथा ठाडो भाकाको उत्खननका लागि प्राज्ञिक खोज–अनुसन्धान हुन आवश्यक छ । यस्ता रचनात्मक काम अघि बढाउन सबै साझेदारहरूको सोचाइको क्षितिज फराकिलो हुन आवश्यक छ । यति कुरा राखेर मेरा भनाइ समापन गर्छु । भूलचूकमा माफ पाउँ । 

[साभार : मर्स्याङ्दी प्रवाह  विशेषाङ्क । २०८२ अङ्क १ । पृ.१३०–१३१ । सामान्य परिमार्जनसहित ।]


Friday, March 15, 2019

गण्डकी क्षेत्रको लोकसुुसेली ठाडो भाका

–यमबहादुर दुरा

ठाडो भाका । लोकसङ्गीकको एउटा विशिष्ट विधा । मूलतः गण्डकी भेगको लोकसुसेली । गाउँघरका अपठित कर्मजीवी कलासाधकले मायाले असाध्यै सुम्सुम्याएको मोहनी भाका । एउटा विशिष्ट सांस्कृतिक निधि । जनस्तरमा बिछट्टै लोकप्रिय रहेर पनि समयक्रमसँगै विलयको संघार पुगेको अमूर्त सांस्कृतिक सम्पदा ।

कुनै समयमा ठाडो भाका गाएरै दुनियाँको मन जितेका देउबहादुर दुरा, पञ्चसुब्बा गुरुङ (वि.सं. १९४७-२०३३), मनिराम दुरा, भेडीँखर्के साइँला (वि.सं. १९९१-२०७४), सकुन्धरा दुरा वि.सं. १९९१-२०७१), भक्तिमाया दुरा (वि.सं. १९८४-२०६९), ज्ञानीमाया थापाहरू अब यस दुनियाँमबाट बिदा भइसकेका छन् । समयले भाका फेर्दै जाँदा ठाडो भाकाको आवाज मधुरो हुँदै गएको छ । ठाडो भाका गाउने जान्नेहरूको अभाव दिनदिनै खट्किँदै गएको छ ।

यो समय रैथाने संस्कृतिका लागि अत्यन्त प्रतिकूल हुँदाहुँदै पनि गाउँको कुनाकन्दरामा ठाडो भाका गाउन सक्ने प्रतिभाहरू अझै पनि बचेखुचेका अवस्थामा छन् । समयको कठोर झोक्काले गाउँको रैथाने साङ्गीतिक वातावरण भत्काइदिएको छ, जसबाट कोइलाखानीमा लुकेका हीराजस्ता ती कला र गलाका धनी बेखबर हुन पुगेका छन् । समयले रैथाने गीतको लय भङ्ग पारिदिँदा ती ग्रामीण प्रतिभा आफ्नै भूगोलमा बिरानो हुन पुगेका छन् ।

समयले तीतो स्वाद चखाउँदा चखाउँदै पनि बुद्धिमान दुरा, नन्दमाया दुरा, कृष्ण गुरुङ, हरिमाया गुरुङ, शुकमाया विक, सीता दुरा, राधा भण्डारीजस्ता प्रतिभाहरूको उपस्थितिले यस क्षेत्रमा आशाको किरण थपेको छ । यसका अतिरिक्त केही क्षेत्रमा नवप्रतिभाहरूको पनि झिनो उपस्थिति छ । उनीहरू आशाका किरण हुन् ।

ठाडो भाका विशिष्ट सामाजिक तथा सांस्कृतिक पृष्ठभूमिमा जन्मिएको विशिष्ट किसिमको साङ्गीतिक विधा हो । कलाकार भनेर नचिनिएका ग्रामीण कलासाधकहरूले जन्माएर हुर्काएको ठाडो भाका सर्वसाधारण नागरिककोे ढुकढुकी हो । यसमा समकालीन समाजको सामाजिक तथा सांस्कृतिक तस्बिर दृष्टिगोचर हुन्छ ।

हरेक मौलिक लोकगीत आञ्चलिकता–प्रधान हुन्छ, जसमा स्थानीयपन छताछुल्ल भेटिन्छ । ठाडो भाका पनि यसको अपवाद हुन सक्दैन । ठाडो भाकामा स्थानीय बोलीचालीको भाषा अधिक प्रयोग हुन्छन् । स्थानीय जीवनशैलीको झलक स्थानीयपन, आलङकारिकता र विम्बात्मक अभिव्यक्ति यसका मूलभूत विशेषता हुन् ।

ठाडो भाकामा जीवन र जगतका सबै कुरा समेटिन्छन् । भाषा एकदमै शिष्ट र मर्यादित हुन्छ । लोकलाजलाई ख्याल गरिन्छ । दुनियाँलाई असहज लाग्ने कुरालाई सीधा भाषामा अभिव्यक्त गरिँदैन । लोकमर्यादालाई उच्चस्थान दिइन्छ । खासगरी मायप्रेमका कुरा र जीवनका कतिपय आयामलाई विम्बात्मक ढङ्गमा व्यक्त गरिन्छ । जस्तैः प्रेमी–प्रेमिकालाई फूल–भमरा, जीवनलाई घाम–छायाँ आदि विम्बद्वारा चित्रण गरिन्छ ।

यस्ता विम्ब नितान्त सरल, सरस र बोधगम्य हुन्छन्, जसको भाव र छनक निरक्षरजनले पनि सजिलै बुझ्न सक्छन् । गीतमा प्रयोग भएका विम्बात्मक शब्दावलीले एउटा विशिष्ट वाङ्मय र रङ्ग–रेशमको माहोल तयार पार्छ, जसले गीतको खाललाई आकर्षणको केन्द्रविन्दु बनाउन सहयोग गरेका हुन्छन् ।

विनयशीलता ठाडो भाकाको आत्मा हो । आफ्नो अभिव्यक्तिबाट गीत गाउने समकक्षीले अपमानित वा अपहेलित अनुभूत नगरुन् भन्नेमा विशेष ध्यान दिइन्छ । त्यसैले आफूलाई ‘लो प्रोफाइल’ मा राखेर शिष्ट शैलीमा कुरा राखिन्छ । यसमा सीधा घोचपेच गरिँदैन । कसैलाई व्यङ्ग्य नै गर्नुपरे पनि सोझै व्यङ्ग्य नगरी गुलाबी छेण हानिन्छ । कटु शब्दको प्रयोगलाई शिष्टाचारविहीन व्यवहार मानिन्छ ।

ठाडो भाका विशेष प्रकारको गीत भएकोले गीत गाउन विशेष सीप र सिर्जनशीलता आवश्यक पर्छ ।  ठाडो भाकामा एउटै गीत दुई चरणमा गाइन्छ । पहिलो फेद गाइन्छ भने फेदको परिपूरकको रूपमा टुप्पो गाइन्छ । फेद गीतको उठान विन्दु हो भने टुप्पो बैठान विन्दु हो । गीत गाउँदा फेद र टुप्पोको अन्त्यानुप्रास मिल्नुपर्छ । गीतको मूल सन्देश टुप्पोमा रहन्छ तर फेद र टुप्पो एकअर्काका परिपूरक हुन् । फेदले गीतको पृष्ठभूमि तयार पार्छ । फेद र टुप्पो बेग्लाबेग्लै चरणमा गाइन्छ । जस्तै :

(फेद) : हा... हा... अहिलेको खेती भनौं सुनाखरी घैया रे दशैं र तिहारीलाई
(टुप्पो) : हो...हो...रामले धनु ताक्छ धेरै माया लाग्छ बैनी मेरो पियारीलाई

गीत शुरु गर्दा सीधै मूल विषयमा प्रवेश गरिँदैन । देवीदेउता वा सिमे–भूमेको नाम पुकारेर मात्र गीत शुरु गरिन्छ । जस्तै :

(फेद) : बिहानीपख झुलकने घाम गैरीखेत छायाँलाई
(टुप्पो) : खरु घाँस गाईलाई, पहिलो चरण सरस्वती माईलाई दोस्रो चरण मायालाई

(फेद) : पानीरोमा खाई उमकाली लाग्यो रे कालिचै कुखारी
(टुप्पो) : कास्की बैदाम तालमा, बस्यो पञ्चखालमा देवीदेउता पुकारी ।

गीतमा प्रयोग हुने शब्दलाई गेयात्मक (गाउन मिल्ने) बनाउनका लागि कतिपय अवस्थामा कतिपय शब्दलाई हल्का तोडमोड गरेर गाउने गरिन्छ, जुन गायनको व्याकरणभित्रै पर्ने कुरा हो । अंग्रजीमा पोएटिक लाइसन्स (Poetic license) भनेर चिनिने यो परिपाटीले गीतलाई सुललित बनाउन सहयोग गर्छ । माथि उध्रृत गीतमा पानीलाई ‘पानीरोमा’, उकालीलाई ‘उमकाली’, लाग्योलाई ‘लाग्यो रे’, कुखरी ‘कुखारी’ भनी उच्चारण गरिएको छ । यसरी गीतमा सामान्य बोलीचालीको भाषाभन्दा बेग्लै किसिमले उच्चारण गरिन्छ । गीतको आफ्नै व्याकरण हुन्छ ।

यसैगरी, अवस्थाअनुसार गोरखालाई गोरिखा, कुन्छालाई ‘कुनिछा’, एकलाई एकु, दरबारलाई ‘दरिबार’, घरबारलाई ‘घरिबार’, राजाको धनलाई ‘राजाको रे धनमा’ नमेरसम्मलाई ‘नैत मरेसम्म’ तथा खरको घाँसलाई ‘खरुको घाँस’ भनेर उच्चारण गरिन्छ । यस किसिमको भाष्यले गीतलाई लयात्मक बनाउने भूमिकामात्र खेल्दैन,  सरिलो, भरिलो र श्रुतिमधुर बन्छ । यहाँनेर, नेपाली मानक भाषाको व्याकरण लागू हुँदैन । अपठित भएर पनि हाम्रा अघिल्ला पिँढीले गीतको अलिखित व्याकरणलाई राम्रोसँग बुझेर सोहीअनुसार पालना गरेको देखिन्छ ।

गीतलाई लयात्मक, श्रुुतिमधुर, भावप्रधान र प्रासंगिक बनाउन बीच बीचमा आवश्यकताअनुसार टुक्काप्रधान शब्दावली प्रयोग गरिन्छन् । जस्तै : आँपै काटी कोया बाँसै काटी चोया, देउबहादुर दुरा पञ्चखालको कुरा, बहर बाच्छा दाउँदा साइनोपात लाउँदा, गाईको नाम त गाजु मेरो प्यारो दाजु, दश घरी केरा अहिले यतिन्खेर । यस्ता शब्दावलीले गीतमा ज्यान भर्ने र माटो सुवास थप्ने काम गर्छन् ।

गीत गाउँदा प्रयोग गरिएका शब्दलाई चुइङगमझैं तन्काउने तथा खुम्च्याउने खुबी पनि गायक–गायिकामा हुनु उत्तिकै आवश्यक छ । यसका लागि उपयुक्त ठाउँमा स्वरको आरोह–अवरोह, स्वरघातको प्रयोग गर्ने ज्ञान र सीप वा स्वरसुधाको खाँचो पर्छ । भेँडीखर्के साइँला लोकप्रिय हुनुको एउटा कारण हो, उनले राम्रोसँग स्वरको आरोह–अवरोह गरेर गीतलाई मिठास भर्नु । गीतको आरोह–अवरोहबारे उनीबाट धेरै कुरा सिक्ने ठाउँ छ । नवप्रतिभाहरूमा यसप्रकारको विशिष्ट ज्ञान र सीपको सर्वथा अभाव देखिन्छ ।

ठाडो भाका विम्बप्रधान गीत भएकाले बढी मात्रामा विम्बहरू प्रयोग गरिन्छन् । तर अहिले विम्बको अभाव हुँदै गएको देखिन्छ । यसका पछाडि दुई मूलभूत कारण छन् । पहिलो, विगतमा प्रयोग हुँदै आएका विम्बहरू नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्नु । दोस्रो, समयानुकूल नयाँ विम्ब बन्न नसक्नु । यसका अतिरिक्त प्रयोग भइआएका कतिपय विम्बहरू पुराना भइसकेका छन् । तिनीहरू समयको कुनै विन्दुमा तयार पारिएका हुन् । खासगरी अपठित कृषिप्रधान समाजमा बनेका ती विम्ब अहिले आएर सन्दर्भविहीन बन्दै गएका छन् ।

हाम्रो सामाजिक तथा सांस्कृतिक परिदृश्यमा थुप्रै परिवर्तन आएका छन् । आजको परिवर्तित सन्दर्भमा हिजोका कतिपय विम्ब र उपमा अपर्याप्तमात्र छैनन, असान्दर्भिक पनि हुन पुगेका छन् । गीतमा प्रयोग भएका ती पुराना विम्ब ऐतिहासिक सन्दर्भमात्र हुन सक्छन्  ठाडो भाकालाई समयको कसीमा राखेर हेर्दा अहिले गीतमा प्रयोग हुने विम्बको रिक्तता देखिन्छ । यसप्रकारको खालीपनलाई समाजोपयोगी वजनदार विम्बहरूले भर्नुपर्ने अवस्था आएको छ । यसका लागि गायक–गायिकाका सिर्जनशील, विचारवान् र कल्पनाशील हुनैपर्छ ।

ठाडो भाकाका प्रसस्त स्थानीय भेद छन् । उदाहरणका लागि लमजुङे ठाडो भाका, गोर्खाली भाका । यसका अतिरिक्त लमजुङे ठाडो भाका र गोर्खाली ठाडो भाकामा पनि अझ सूक्ष्म किसिमको स्थानीय भेद पाइन्छ ।
एउटै भेगमा गाइने गीतमा पनि एउटै डाँडा वारि र पारि शैलीगत पक्षमा सूक्ष्म किसिमका स्थानीय भिन्नता भेटिन्छन् ।

 त्यही भिन्नतालाई इङ्गित गर्न लमजुङको कतिपय बेंसी तथा होचा भागका प्रचलित ठाडो भाकालाई कछारे भाका वा टरेली भाका भन्ने गरिन्छ । यप्रकारको स्थानीय भेदले ठाडो भाकाको दायरालाई फराकिलो र समृद्ध बनाउन सहयोग गरेको छ । यसलाई सम्पत्ति नै मान्नुपर्ने हुन्छ ।

ठाडो भाकाको चारित्रिक विशेषता हेर्दा यो हतारमा गाइने गीत होइन भन्ने निष्कर्षमा पुगिन्छ । यो गीत अहिलेको चटपटे शैलीको गीतभन्दा धेरै भिन्न छ । यो एकप्रकारले धिर प्रकृतिको गीत हो । एउटै गीत दुई चरणमा गाउने,  गीतको खालमा प्रवेश बसेर गीत शुरु गर्दा देवी देउता तथा सिमे–भूमेको नाम पुकार्ने, त्यसपछि सोधनी–पुछनी गरेर साइनोपात लाउने कार्य ठाडो भाकाको साङ्गीतिक संहिताभित्र पर्छ ।

गीत गाउने सिलसिलामा एउटा समकक्षीले अर्को समकक्षीको नाम, ठेगाना आदि  सोध्नुपर्दा शिष्ट शैलीमा अनुमति मागिन्छ । अर्का समकक्षीले अनुमति दिएपछिमात्र कुरा राखिन्छ । यसप्रकारको अलिखित संहिता पालना गर्दा गीत धेरै लम्बिएर जान्छ तर पनि गीत निरस भर्कोलाग्दो हुँदैन ।


ठाडो भाका गायनको क्षेत्रमा नयाँ पुस्ताका गायक–गायिकाहरूको झिनो उपस्थिति छ । उनीहरूका गीतको शैली र व्यवहार हेर्दा ठाडो भाकाको मर्म र धर्मप्रति धेरै हदसम्म अपरिचितजस्ता देखिन्छन् । नयाँ पुस्ताका कतिपय गायक–गायिकाले ठाडो भाकाका कुनै पनि स्थानीय भेदसँग मेल नखाने निकै भिन्दै किसिमले परिमार्जित शैलीमा गाउने गरेको पाइन्छ । एकतिर ती गीतमास्वरको आरोह–अवरोह मौलिकता भेटिँदैन भने अर्कोतिर शब्द उच्चारणमा ठाडो भाकाको अलिखित व्याकरण पालना भएको पाइँदैन ।

ठाडो भाका गायकमा नयाँ पुस्ताको आगमन हुनु खुसीको कुरा हो तर कतिपय अवस्थामा उनीहरूबाट असम्वेदनशील व्यवहार प्रदर्शन हुँदा चिन्ता मान्नुपर्ने अवस्था पनि छ ।

ठाडो भाकामा देखापरको अर्को विकृत पक्ष हो, अहिलेको चटपटे शैलीको दोहोरी गीतको ठाडो नक्कल गरिनु । अहिलेको दोहोरीमा ‘तिमीसँग लभ गर्छु, तिमीलाई लैजान्छु’ भनेर सीधै भनिन्छ । ठाडो भाकामा यस्तो व्यवहार स्वीकार्य मानिँदैन । यो शिष्ट र विनयशील गीत भएकाले  यसमा ‘तातै खाऊँ जली मरुँ’  गरिँदैन ।

यसमा अशिष्ट व्यवहार बर्जित छ । व्यक्त गर्न खोजिएका कुरालाई शिष्टतापूर्वक क्रमबद्ध शैलीमा अघि सारिन्छ । यो वास्तविकतालाई भुलेर कतिपय गायक–गायिकाले गोली  हाने जस्तो गरी सोझै कुरा राखेको भेटिन्छ, जुन ठाडो भाकाको मूलमर्मको विरुद्धमा छ । यसलाई अशिष्ट र अमर्यादित मानिन्छ ।

कतिपय नवप्रतिभाले कुनै स्थापित गायकको शैली र शब्द सोझै नक्कल गरेको पाइन्छ । कलाकार अरूबाट प्रभावित हुने कुरा स्वाभाविक हो, तर अरूको ठाडो नक्कल गर्ने प्रवृत्ति गलत हो । यसले सम्बन्धित कलाकारको आत्मापहिचान संकटमा पर्छ ।

अरूबाट प्रभावित हुनु स्वभाविकै भए पनि आफ्नो मौलिक चिनारी हराउने गरी अरूको नक्कल गर्नुलाई कुनै पनि अर्थमा जायज भन्न सकिँदैन । अरूबाट प्रभावित हुँदै नयाँ विम्ब र भावधारा सिर्जना गर्दा मौरीले महको चाकामा फूलको रस राखेर अझ मिठास थपेजस्तै हुन्छ । तर अरूको ठाडो नक्कलले सुगा–रटाइ निम्तिन्छ, जसले कला र कलाकार दुबैलाई क्षति गर्छ ।

ठाडो भाका अपठित ग्रामीण कर्मजीवीहरूले सिर्जना गरेको गीत हो । यसमा मानक भाषाभन्दा भिन्न भाषा प्रयोग हुन्छन्, जुन स्वभाविक हो । यसमा मानक भाषा प्रयोग गरिनुपर्छ भन्ने आग्रह पनि राखिनुहुन्न । ठाडो भाका प्रतियोगितामा निर्णायक मण्डलमा बसेका कतिपय व्यक्तिहरूले यस्ता स्थानीय लवजलाई मान्यता नदिई नम्बर घटाइदिएका घटना पनि सतहमा आएका छन् ।

स्थानीयपन लोकगीतको आत्मा हो । यही स्थानीयपनले उसको पृथक पहिचान दिइरहेको हुन्छ, जुन उसको सम्पत्ति हो, मुटु हो, सबल पक्ष हो । निर्णायक मण्डलमा बसेका व्यक्ति शब्दको स्थानीयपनमा हुने तागत र लोकगीतको भाव–भङ्गितसँग परिचित हुनु आवश्यक छ । स्थानीय जीवनशैलीसँग परिचित नभई ठाडो भाकाको मर्म बुझ्न सकिँदैन ।


ठाडो भाका अमूर्त सांस्कृतिक सम्पदा हो । मानव सभ्यताको उत्थान र विकासमा यसले विशेष महत्व राख्छ । त्यसै सांस्कृतिक पक्ष हेर्ने संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले अमूर्त संस्कृतिको संरक्षणमा  जोड दिएको पाइन्छ ।  अमूर्त संस्कृतिको सबैभन्दा ठूलो र जिउँदो–जाग्दो संग्रहालय मानिसको मनमस्तिष्क नै हो । यसको सबल र दुर्बल पक्ष पनि यही नै हो । मानिस–मानिसबीचको सामाजिक अन्तरघुलन र अन्तरक्रियाका माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा अमूर्त सांस्कृतिक सम्पदा विस्तार हुनसक्छ, जुन यसको सबल पक्ष हो ।

अर्कोतिर, सम्बन्धित कलाकारको मृत्युपछि ऊसँगै यस्ता सांस्कृतिक सम्पदा हराउने खतरा रहन्छ, जुन यसको दुर्बल पक्ष हो । त्यसमा पनि अहिले बाहिरी दुनियाँसँगको तीव्रतर समागमले पुरानो पिँढीबाट नयाँ पिँढीमा परम्परागत सांस्कृतिक सम्पदा हस्तान्तरण हुने प्रक्रिया व्यापकस्तरमा कमजोर हुँदै गएको छ । ठाडो भाकाले पनि यही नियति भोग्दै आएको छ । अमूर्त सांस्कृतिक सम्पदा एकपटक हराएपछि पुनप्र्राप्तिको सम्भावना लगभग शून्य रहन्छ । यो चिन्ताको विषय हो ।

ठाडो भाकाको शैलीगत विशेषता हेर्दा रोदीघरमा लामो रात कटाउन, मेलापर्मलगायत श्रमप्रधान कामकोे झर्कोलाग्दो समय मनोरञ्जन गरेर कटाउन यो गीत अस्तित्वमा आएको अनुमान गर्न सकिन्छ । तर अहिले समयको हावा बेग्लै दिशामा बगेको छ । समयको बदलिँदो घडीमा पल पलको मूल्य नगदमा मापन हुने बेला आएको छ । यतिबेला रेडिमेड र छिटो–छरितो चीजको उच्च माग छ । यस्तो अवस्थामा लम्बेतान शैलीको गीतले आफ्नो अस्तित्व कुन हदसम्म बचाउन सक्ला ? प्रश्न गम्भीर छ ।

एकतिर परम्परा पनि बचाउनुपर्ने र अर्कोतिर समयले ल्याएको परिवर्तनलाई पनि आत्मासात गर्नुपर्ने । यो काम निकै जटिल र चुनौतीपूर्ण छ । समयले निम्त्याएको जटिलतालई चिर्न सरोकारवालाहरूसँग गहन विचार–विमर्श गरी व्यवहारिक समाधान निकाल्न आवश्यक छ । यसका लागि राज्यस्तर र समुदायस्तरको संयुक्त प्रयास हुन आवश्यक छ ।

ठाडो भाकाको आत्मालाई बचाउँदै समयले ल्याएको परिवर्तनलाई उचित किसिमले आत्मसात गनुर्को विकल्प छैन । संस्कृति संरक्षण सरोकारवालाहरूकोे सहभागिता र राज्यको रचनात्मक सहयोगसबिना सम्भव छैन । जनस्तकार नागरिकको सांस्कृतिक निधिको रूपमा रहेको ठाडो भाकाको संरक्षण तथा सम्वर्धन गर्ने जिम्मा कुनै अमुक व्यक्ति वा समुदायलाई थोपर्नु न्यायोचित हुँदैन । अब ठाडो भाकालाई माया गर्ने कवि, लेखक, गायक–गायिका तथा संस्कृतिकर्मीहरूबीच सहकार्य आवश्यक छ । यस राज्य संरक्षक र सरोकारवाला जनसमुदाय हर्ताकर्ता बन्नुपर्छ ।

[साभार : मधुपर्क । चैत, २०७५  ।]

यस लेखमा प्रयोग भएको जानकारीलाई अन्यत्र प्रयोग गर्न सकिन्छ । तर, जानकारी प्रयोग गर्दा स्रोत पनि खुलाइदिनुहोला । कृपया, अरुको बौद्धिक श्रमको सम्मान गर्न सिकौँ ।

[अद्यावधिक: २०७६।०१।३०, २०७६।०५।२९, २०७७।०४।१८, २०७९।०३।३१]

Sunday, September 17, 2017

जनताका भाका

–यमबहादुर दुरा

  लमजुङस्थित हाँडेटार सिंचाइ आयोजनाको उद्घाटन गर्न  वि.सं. २०३३  पुस ९ गते राजा वीरेन्द्रको हाँडेटारमा सवारी भयो । राजाको सवारी सम्पन्न भएपछि  ठाडो भाका गायक दीर्घराज अधिकारी ‘भेँडीखर्के साइँला’ (वि.सं. १९९०-२०७४) बारे गाउँघरमा एउटा हल्ला चल्यो । हल्लाको सार थियो--उनले राजाको सवारीमा गीत गाउने क्रममा राजालाई होच्याए । गीतमा ‘सानो राजा नेपालमा, ठूलो राजा चीनमा...’ पदावली घुसाएकाले राजाले अपमानित अनुभूत गरे ।
दीर्घराज अधिकारी ‘भेँडीखर्के साइँला’ (वि.सं. १९९०–२०७४) 


यो हल्ला मात्र थियो । अहिलेको जस्तो दोहोरो संवादमूलक सामाजिक सञ्जाल नभएको त्यस समयमा उनको छवि एक हदसम्म क्षय भयो । गाउँघरमा धेरै पछिसम्म पनि यो हल्लाले ठाउँ लिइरह्यो । धेरै पछिमात्र वास्ताविकता पत्ता लाग्यो, गीत गाउन निम्त्याइएको ठाउँमा नजाँदा उनीसँग बेखुसी भएकाहरूले यस्तो हल्ला चलाएका रहेछन् ।

उनका विरुद्ध अनर्गल प्रचार हुनुअघि नै उनी जनस्तरका निर्विवाद सिद्धहस्त गायकको रूपमा देखापरिसकेका थिए । जात्रा, सामाजिक जमघट र रङ्ग–रसका महफिलमा उनको माग थियो । यद्यपि, उनी जुन समयमा ठाडो भाका गायनमा अघि बढ्दै थिए, त्यस समयमा ठाडो भाका गाउने गायक–गायिकाको कुनै कमी थिएन । तर उनी असंख्य ताराका माझमा टहटह जूनजस्ता भए । उनलाई प्रसिद्ध गायक देउबहादुर दुराको अवतार मान्नेहरू पनि छन् ।

उनको नाम दीर्घराज अधिकारी भए पनि भेँडीखर्के साइँला नामले यत्रतत्र परिचित भए । उनको नामका पछाडि सानो किस्सा जोडिएको छ । उनका बा तुर्लुङकोट (लमजुङ) स्थित भेँडीखर्क (भेँडीगोठ) मा बस्थे । उनले  बेला-बखतमा यो कुरा बताउँदै आएका थिए ।  भाँगु गाउँ र तुर्लुङकोटबीच रहेको जङ्गलको एक खण्ड अझै पनि 'भेँडीखर्क' नामले परिचित छ ।उनी साइँलो छोरो थिए । यही विरासतबाट जोडिँदै आएर उनी कालान्तरमा 'भेँडीखर्के साइँला'  नामले चिनिए ।

गीतमा माया–महब्बत र धर्मशास्त्रका अनेक प्रसंग ल्याएर टुक्का जोड्ने र गीत भट्ट्याउने भेँडीखर्के साइँलामा विशिष्ट कला थियो । उनको अनुपम स्वर–माधुर्य पनि सर्वत्र प्रशंसा भएको पक्ष हो । यिनै विशेषताबाट उनी आफ्नो पृथक पहिचान दिन सफल भए । ‘बाहुनले गीत गाउन हुँदैन’ भन्ने मानसिकताले राज गरेको जमानामा बा-आमाको आँखा छलेर नौ वर्षको उमेरदेखि नै गीत गाउनु र दुनियाँलाई उछिन्न सफल हुनु उनको साङ्गीतिक यात्राको महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ ।

२००६ सालमा उनको परिवार दुराडाँडास्थित तुर्लुङकोटबाट परेवाडाँडामा बसाइँ सर्‍यो । आफ्नो जन्मस्थानको साङ्गीतिक माहोलबाट बेग्लै सामाजिक परिवेशमा मिसिन पुगे पनि ठाडो भाकाका डफ्फासँग उनको संगत पूर्ववत् रूपमा कायमै रह्यो । आफ्नो जन्मथलो आउजाउ र उठबस भइरह्यो । गीतको खाल जमिरह्यो ।

यस क्रममा उनले आफ्नो जीवनकालमा असंख्य गायिकाहरूसँग साङ्गीतिक सवाल-जवाफ गरे । उनका समकालीन भक्तिमाया दुरा, सकुन्धरा दुरा (ढाँडथोके माहिली,  वि.सं.१९९१-२०७०), गौमाया दुरा, ज्ञानुमाया थापालगायतका प्रतिभाहरू उनीभन्दा अघि नै यस दुनियाँबाट अस्ताइसकेका छन्  ।

शुरुका दिनमा स्थानीय साङ्गीतिक रङ्गमञ्चमा मात्र बढी चर्चित भेँडीखर्के साइँला २०५० को दशकदेखि आमसञ्चार माध्यममा विस्तारै छाउन थाले । २०६० को दशकको मध्यततिर आइपुग्दा उनको सुनाम फूलको सुवाससरी सबैतिर मगमगाइसकेको थियो । तर, केही मिडियाले कुरै नबुझी उनलाई मिथकीय पात्रजस्तो गरी चित्रण गरे । यसबाट अन्य स्थानीय प्रतिभामाथि नजानिँदो किसिमले अन्याय  भयो । ठाडो भाका गाउन सक्ने व्यक्ति भेँडीखर्के साइँलामात्र हुन् भन्ने दलिल आयो, जुन सर्वथा गलत थियो ।

ठाडो भाका गाउनसक्ने प्रतिभाहरू अझै पनि गाउँघरमा नभएका होइनन् तर उनीहरू चर्चामा छैनन् । अहिले सामान्य चर्चामा रहेका नन्दमाया दुरा, बुद्धिमान दुरा ‘धम्पू’, उत्तम गुरुङ, शिवकुमारी दुरा, कृष्ण गुरुङ, हरिमाया गुरुङ, यमबहादुर दुरा (पंक्तिकार होइन), सीता दुरालगायतका प्रतिभाहरूले ठाडो भाका गाउन सक्छन् । अहिले यिनै प्रतिभाहरूले ठाडो भाकाको विरासत थामिरहेका छन् ।

रेडियो नेपालमा गीत रेकर्ड गर्न उनी २०३५ सालमा राजधानी आए तर मौका पाएनन् । त्यतिबेला  उनीसँग रहर थियो, पहुँच थिएन । गीत रेकर्ड गर्ने अभिलाषा राख्दा तीतो अनुभव संगालेको १८ वर्षपछि चलचित्र निर्देशक प्रदीप उपाध्यायले उनको  रहर पूरा गरिदिए । २०५३ सालमा उपाध्यायको टोली सुन्दरबजार (लमजुङ) धाएर अल्ट्रसाउण्ड प्रालिमार्फत् भेँडीखर्के साइँला र भक्तिमाया दुरा (वि.सं. १९८४-२०६९) को स्वरमा गीत रेकर्ड गरे । अल्बमको नाम जुराइयो, ‘सेरोफेरो’ । पहिलो अल्बम उत्पादन भएको सात वर्षपछि २०६० सालतिर आरबीए फिल्मस् ले उनी र ज्ञानुमाया थापाको स्वरमा अर्को श्रव्य अल्बम निकाल्यो ।

दुई सय वर्षको इतिहास 

कर्पुटारे भाका, लमजुङे भाका, दुरा भाकालगायत विभिन्न नामले चिनिने ठाडो भाकाको इतिहास दुई सय वर्षभन्दा पुरानो देखिन्छ ।  बलेवा (पर्वत) का मनवीर खत्री र राङखानी (बाग्लुङ) का गोर्‍या श्रीस (वि.सं. १८५३—१९५०) ले वि.सं. १८७४ झ्याउरेमा ‘सालैजो’ भाका शुरुवात गरेको र त्यसको परिमार्जित रूप ठाडो भाका भएको प्रसंग कालीभक्त पन्तले आफ्नो पुस्तक ‘हाम्रो सांस्कृतिक इतिहास’ मा उल्लेख गरेका छन् ।


वि.सं. १९१४ मा धौलागिरिबाट कास्कीको हंसपुरमा बसाइँ सरेका बौद्धसिङ गुरुङले आफूसँगै ल्याएका ठाडो भाकालाई त्यस ठाउँका मोतीलाल गुरुङ र बखतबहादुर गुरुङले विस्तार गर्ने काम गरे भनेर धर्मराज थापाले आफ्नो पुस्तक ‘गण्डकीका सुसेली’ मा लेखेका छन् । यसरी विस्तार हुँदै आएको ठाडो भाकालाई अर्को पुस्ताले थप विस्तार गरे ।

हाँडीखोला (बर्धान, लमजुङ) का देउबहादुर दुरा र रबैडाँडा (नयाँ कास्की) का पञ्चसुब्बा गुरुङ (वि.सं. १९४७–२०३३) ले ठाडो भाकालाई जनस्तरमा पुर्‍याएर लोकप्रिय बनाउने गरेको थिए । उनीहरू पुरुष भए पनि केटा र केटी बनेर गीत गाउँथे भन्ने भनाइ छ । यी दुईले मायामोह र शास्त्रको गीतमात्र होइन, फूलको प्रकार र माछाका प्रजातिबारे पनि अविराम गीत गाउन सक्थे भन्ने भनाइ संस्कृतिविद डा. जगमान गुरुङको छ ।

वि.सं. १९७० तिर देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङबीचको घम्साघम्सीपूर्ण भएको गीत सुन्न करापुटार लाग्ने शिवरात्रि तथा फागूपूर्णिमाको अवसरमा लाग्ने मेलामा  जनसमुदायको ठूलो भीड लाग्ने गरेको प्रसंग कालीभक्त पन्तले आफ्नो पुस्तकमा कोट्याएका छन् । केटा-केटाबीच गीत गाउँदा स्रोता/दर्शकलाई त्यति मजा नहुने भएकाले देउबहादुर दुराले नेटा (लमजुङ) की मैरानी दुरालाई गीत गाउन सिकाएपछि केटा र केटीबीच ठाडो भाका गाउने प्रचलन शुरु भएको मानिन्छ ।

***

 भदौ २६ गते मानवचोला त्यागेका भेँडीखर्के साइँलाले जनस्तरमा निकै माया र सम्मान पाए । जनस्तरबाटै ठाडो भाका शिरोमणिको उपाधि पाए । दूधपोखरी प्रतिभा परिवार (वि.सं.२०५२), कोइरालाफाँट युवा क्लब (वि.सं.२०५५),  दुरा सेवा समाज (वि.सं.२०५७), सामाजिक सेवा द रेयुकाइ लमजुङ उपशाखा (वि.सं. २०५७), हिमालचुली कला साहित्य प्रतिष्ठान (वि.सं.२०६५), लमजुङ लोकसंस्कृति विकास केन्द्र (वि.सं.२०६८) लगायतका जनस्तरका संघसंस्थाले उनलाई सम्मान गरे । राज्यबाट भने उनले कहिल्यै पनि सम्मान पाएनन् ।

उनी बिरामी भएर ओखतीमूलोको गर्ने पैसाको अभाव हुँदासमेत राज्य निर्मम रह्यो । बासमतीको भात नरुच्ने अभिजात्य वर्गलाई उपचारको नाममा राज्यकोषबाट लाखौं रुपियाँ बाँड्ने राज्यले गायक भेडीँखर्के साइँलाप्रति कुनै सदासयता देखाएन । ठाडो भाकाको विरासत जोगाउन जनस्तरको प्रयासमात्र पर्याप्त छैन । राज्यको साथ र सहयोग अपरिहार्य छ ।

[साभार: हिमाल ।असोज १, २०७४ । परिमार्जित संस्करण । तस्बिरः याहु ]

[अद्यावधिक २०७४।०६।०२, २०७४।०६।०३, २०७४।०६।०४, २०७५।०८।२२, २०७७।१।२५, २०७७।०२।०४, २०७९।०८।२४]

Sunday, October 30, 2016

पहरामाथिको पोथ्रो


–यमबहादुर दुरा

गण्डकी अञ्चलको सेरोफेरोमा बिछट्टै लोकप्रिय रहेको ‘ठाडो भाका’ पतनको संघारमा छ । यो भाका लमजुङे भाका, कर्पुटारे भाका, दुरा भाका आदि नामले पनि परिचित छ, जुन चर्चित गायकद्वय देउबहादुर दुरा  र पञ्चसुब्बा गुरुङ (वि.सं. १९४७-२०३३) ले शुरु गरेको साङ्गीतिक विरासत मानिन्छ । पश्चिम लमजुङको करापुटार ‘ठाडो भाका’ को उर्वरभूमि मानिन्छ ।

करापुटारमा लाग्ने शिवरात्रि र फागुपूर्णिको जात्रामा ‘ठाडो भाका’ घच्चीको खाल जम्थ्यो । देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङको गीत सुन्नका लागि गोरखा, लमजुङ, तनहूँ, कास्कीलगायतका जिल्लाबाट किचाघान मानिस ओइरिन्थे ।

अहिले ५० वर्षभन्दा कम उमेरका मानिसले ‘ठाडो भाका’ गाउन जान्दैनन् । औंलामा गन्न सकिने पारखीहरूले मात्र यो गीतमा सवाल–जवाफ गर्न सक्छन् ।

नन्दमाया दुरा (६४ वर्ष) ठाडो भाकाका बचेखुचेका शिद्धहस्त प्रतिभा हुन् । उनी सञ्चारमाध्यम, चमकधमकपूर्ण जिन्दगी र प्रचारबाजीको दुनियाँबाट कोसौं पर छिन् । बाहिरी दुनियाँसँगको उनको परिचय बनेको छैन तर पनि स्थानीयस्तरको उनको नाउँ ठूलो छ । निरक्षर भएर पनि उनले गर्ने शब्दचयन धेरैले सराहना गरेका पक्ष हो । उनको सुमधुर स्वर र ओजिलो शब्दमा गीत गुञ्जिँदा ‘ठाडो भाका’ का अनुरागीहरू मन्त्रमुग्ध हुन पुग्छन् ।

१६ वर्षको उमेरमै एक पल्टनिया जवानसँग उनको लगनगाँठो कसियो । उनको श्रीमान्  भारतीय सेनामा कार्यरत थिए । उनी विवाह गरेर गएपछि एकपटक एक पटकमात्र छुट्टीमा घर आए, त्यसपछि कहिल्यै पनि फर्केनन् । सन् १९७१ को बंगलादेशको स्वतन्त्रता आन्दोलनमा उनले ज्यान गुमाएकोे खबर घरै बसेर थाहा पाइन् । त्यही आन्दोलनमा उनको जेठाजुको पनि देहान्त भयो ।

कलिलो बैंशमै विधवा बन्नुपर्ने नियति भोगेकी नन्दमाया दुरालाई आफ्नै निःसन्तान दिदीले आफैंतिर तानिन् । आफ्नै भिजानुसँग उनको दोस्रो घरबार जोडियो । यसपछि उनको जीवनमा अर्को अध्याय शुरु भयो । उनको एउटा छोरा छ । उनको पनि घरबार भइसकेको छ । नन्दमाया दुराको दिदी र श्रीमानले यस दुनियाँबाट बिदा लिइसकेका छन् । अहिले उनी पाँचजना नातिबाट घेरिएकी छिन् ।

जिन्दगीले जस्तो व्यवहार गरे पनि उनले गायन छाडिनन् । उनले ‘मुखको सरस्वती’ को आरधना गर्न छाडिनन् । गीतको माध्यमबाट दुखका रेखाहरू मेटाउने प्रयास गरिन् । सामाजिक जमघट र मेलापातहरूमा उनले आफ्नो कला र गलाको परिचय दिइरहिन् ।

उनको प्रतिभालाई नजिकबाट चिन्नेहरू उनलाई उच्चकोटीका गायिकाको श्रेणीमा राख्छन् ।  नन्दमाया दुराको प्रतिभासँग परिचित पूर्वशिक्षक लोकबहादुर दुराको दृष्टिमा उनी विलक्षण प्रतिभा भएकी बिरलाकोटीमा पर्ने गायिका हुन् ।

उनको गीतमा लोकजीवनको विम्ब र स्थानीयपन भेटिन्छन् । धेरैको भनाइमा उनको गीत–गुञ्जन यति मिठासपूर्ण र सुगन्धमय छ, टहटह जून लागेको शरदकालीन रातमा मगमगाउने केवँराको फूलको वासनाजस्तो । उनको लालित्यपूर्ण गीत सुन्न थालेपछि गीतको खालमा बसेकाहरू उठ्नै मन गर्दैनन् ।

उनले आफ्नो सांगीतिक यात्राको उत्कर्षमा दीर्घराज अधिकारी 'भेँडीखर्के साइँला' (जन्म : वि.सं. १९९०) लगायतका नामुद गायकहरूसँग डटेर सवाल–जवाफ गरिन् । अहिले भने समयले आफूलाई पछि पार्दै लगेको उनलाई अनुभूति हुन थालेको छ । यतिबेला गाउँघरमा आयातीत गीत र ‘रेकर्डेड म्युजिक’ बाढी पसेको छ ।

परम्परागत सांगीतिक पद्धति ओझेलमा पर्दै गएको छ । बढ्दै गएको बुढ्यौलीले उनलाई ङ्याक्न थालेको छ । सामाजिक जमघटहरूमा ‘ठाडो भाका’ को मह्फिल जम्न छोडेको छ ।  उनी गाउँघरमा कहिलेकाहीँ जम्ने ठाडो भाकाको खालमा बिर्सन लागेको गीत फाँकी र फुंदाहरू सम्झने प्रयास गर्छिन् ।

पहिले पहिले चाडबाड, जात्राजस्ता सामाजिक जमघटहरूमा उनलाई निम्ता आउँथ्यो । निम्ता यति आउँथ्यो, निमन्त्रणाकर्ताहरूको मन राख्ने हम्मेहम्मे पर्ने । नयाँ पुस्तामा ‘ठाडो भाका’ को रौनक घटेकाले अहिले त्यो माहोल छैन । समयले अर्कै रुपरङ्ग लिएर आयो । यद्यपि अहिले पनि उनलाई निम्ता नआउने होइन । तर कम आउँछ । घरव्यवहारले किचिएकोले कतिपय निम्ता मान्न पनि भ्याउँदिनन् ।

प्रतिभा भएर पनि उनी कतै अल्झिरहेको र आफ्नो क्षमताको भरपूर उपयोग गर्ने अवसरमा बञ्चित भइरहेको प्रतीत हुन्छ । परिवर्तित समयको झोंक्कासँगै उनको सांगीतिक यात्रा निरन्तर खुम्चिँदै गइरहेको छ । कला र गलाले भरिपूर्ण भएर पनि उनको सांगीतिक ‘करिअर’ पहरोमाथिको पोथ्रोझैं निरन्तर टाक्सिँदै गएको छ ।

[साभार: हिमाल (कात्तिक १४-२७, २०७३, पृ.६४)। सामान्य परिमार्जनसहित । ]

[अद्यावधिक: २०७४।०५।२७, २०७५।०९।२३]