Showing posts with label कृति समीक्षा. Show all posts
Showing posts with label कृति समीक्षा. Show all posts

Monday, July 16, 2018

लाहुरेले देखेको मुगलान

—यमबहादुर दुरा

नेपाली जनजीवनमा भिजेको शब्द हो, मुगलान । अहिले आएर मुगलानको दायरा झन फराकिलो भएको छ । हिजो भारत, बर्मा, भुटानको सरहदमा मुगलान सीमित थियो । आज मुगलान विस्तार भएको छ—छिमेकी मुलुक भारतदेखि दुनियाँको सबै कुना—कन्दरासम्म ।

हिजो छोरामात्रै परदेश जान्थे, आज छोरी पनि मुगलानको बाटो तताएका छन् । यसबाट रेमिट्यान्स अर्थतन्त्र, विछोड र वेदनाको दायरा पनि अझ फराकिलो भएको छ । मुगलानले जनमनमा थोपरेको विछोड र वेदनाको पसारोले नेपाली मुगलान साहित्यलाई समृद्ध बनाउन सघाएको छ ।

मुगलानी जीवनधाराको पृष्ठभूमिमा ‘मुलुकबाहिर’, ‘बसाइँ’,  ‘मुगलान’, ‘चपाइएका अनुहार’ जस्ता आख्यानात्मक कृति जन्मिए । लैनसिङ वाङ्देलकृत उपन्यास ‘मुलुकबाहिर’ मा दोस्रो विश्वयुद्धमा भेडाबाख्रा सरी भर्ती गराइएका गोर्खालीलाई युद्ध थामिएपछि खाली खुट्टा घर फर्काइएको प्रसंग छ । दौलतविक्रम विष्टको उपन्यास ‘चपाइएका अनुहार’ मा  बेलायतको तर्फबाट विश्वयुद्धमा होम्मिएका लाहुरेको कथा छ ।

समयले कोल्टो फेरेको छ । अहिले लाहुरे नै मुगलानको भोगाइ लिपिबद्ध गर्न तम्सिएका छन् । यसका दृष्टान्त हुन्, लेखनकर्ममा अनवरत जुटिरहेका पूर्वलाहुरे टिम गुरुङ । उनी आफ्ना आख्यानात्मक कृति ‘अ ट्रि कल्ड टेनल्पा’ लिएर पाठकमाझ झुल्किसकेका छन् ।

सन् १९८० को कुरा हो । टिम गुरुङ गोर्खा सैनिक बनेर उमेरमा हङकङ पुगे । त्यसबेला उनी १७ वर्षका थिए । उनले बेलायती सेनामा १३ वर्ष सेवा गरेपछि उनलाई फौजी जिन्दगानी मन परेन । सेनाबाट स्वेच्छिक अवकाश लिए । तर हङकङ छाडेनन् । त्यही बसेर लेखन कार्य अघि बढाए । अहिले लेखनकर्म नै उनको पूर्णकालीन जागिर भएको छ ।

‘द कस्र्ड नेसन’, ‘अ सेलिब्रेसन अफ उमन’, ‘ओल्ड म्यान डोन्ट क्राई’, ‘अ नेसन फर रेफुजिज’, ‘आफ्टरलाइफ’, ‘मिसनरी अर मर्सिनरी’, ‘फाइभ स्टेप्स’, ‘माइ फर्गटन पाथ होम’, ‘द ब्रोकन पिपुल फ्रम द गड्स ल्याण्ड’, ‘द नमस्ते क्लब’ आदि उनले जन्माएका कृति हुन् । अंग्रेजीमा मात्र लेख्ने उनका अधिकांश कृति आख्यानात्मक छन् ।

अहिले उनी आफ्नो पन्ध्रौं कृति ‘द गुर्खाज्’ काम गरिरहेका छन् । सन् २०१९ मा पाठकमाझ ल्याउने उनको तयारी छ । दर्जनभन्दा बढी पठनीय कृति जन्माएर पनि उनी चर्चाविहीन छन् । पश्चिमी गोलाद्र्धमा बसेर अंग्रेजीमा लेख्ने चुनिन्दा लेखकहरूले राम्रै चर्चा कमाएका छन् । लेखनकर्ममै समर्पित भएर पनि समकालीन नेपाली साहित्यिक वृत्तमा उनले अपेक्षित चर्चा बटुल्न सकेका छैनन् ।

‘अ ट्रि कल्ड टेनल्पा’ मा मुगलानको कथा छ । यसले छजना हतभागी मुगलानीको भुक्तमान समेटेको छ । एक हिसाबले यसलाई पराइभूमिमा जिजीविषाले निम्त्याएका हण्डरहरूको दस्ताबेज मान्न सकिन्छ । विस्थापन, बसाइँ सराइ, जातीय भेदभाव, मातृभूमिको माया, परचक्री पाउ, मुगलानले थोपरेको मानसिक तथा शारीरिक यातनाकै सेरोफेरोमा कथावस्तु घुमिरहन्छ । कृति पढ्दै जाँदा रोटो र भोटो जुटाउन अरबको खाडीदेखि अमेरिकासम्म पुगेका नेपालीको अनुहार आँखासामु आउँछ ।

कृतिमा वर्णित प्रसंग परदेशको हो भन्ने थाहा हुन्छ तर ठाउँको नाउँ कतै उल्लेख हुँदैन । कथामा पात्रले अनाम ठाउँमा भोगेका सास्ती र हैरानीका एकएक हिसाब भेटिन्छ । भाषाशैली स्तरीय र मिठासपूर्ण छ । लेखाइमा वाग्धारात्मक अभिव्यक्तिको छेलखेलो भेटिन्छ । वर्णन दृश्यात्मक छ । प्रत्येक घटनाक्रमको सपाट र सविस्तार वर्णन छ ।

एक अर्थमा लेखाइ अनौठो लाग्ने किसिमको छ । कृतिका सबै पात्र चरा हुन् । कालो, पहेँलो, सेतो, खैरो रङका चरालाई पात्रका रूपमा खडा गरेका छन् । मानिस चराजस्तै एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने प्राणी भएकाले चरालाई पत्रको रूपमा खडा गरिएको अनुमान गर्न सकिन्छ । यस अर्थमा लेखाइ प्रतीकात्मक छ ।

यद्यपि, यहीँनेर प्रश्न गर्ने ठाउँ पनि तयार हुन्छ । साहित्यमा पशुपञ्छीलाई पात्रको रूपमा उभ्याउने चलन नयाँ होइन । मानिसलाई नै पात्र बनाएर कथावस्तुलाई सहज किसिमले अघि बढाउन सकिने ठाउँमा चरालाई पात्र बनाउन कति आवश्यक र सान्दर्भिक थियो भन्ने प्रश्न पाठकको मनमा उब्जिरहन्छ । गुरुङको यसप्रकारको पृथक लेखनशैलीलाई हेर्दा कताकता असहज अनुभूति हुन्छ  ।

नेपाली मुगलान साहित्यको दायरा फराकिलो हुँदै गइरहेको बेलामा ‘अ ट्रि कल्ड टेनल्पा’ ले आफ्नोे बेग्लै उपस्थिति जनाएको छ । प्रवासी लेखनले मुगलान साहित्यको अर्को क्षितिज पनि उघार्दै लगेको छ । त्यो हो, डायस्पोरिक साहित्य । समयक्रममा नेपाली  डायस्पोरिक साहित्य पनि समृद्ध हुँदै गइरहेको छ ।

नेपालीजन संसारभर फैलिने र लेखनकर्म सरिक हुने बढ्दो परिपाटीले डायस्पोरिक साहित्यका लागि उर्वरभूमि तयार  भएको छ । टिम गुरुङले प्रवासमा बसेर अघि बढाएको लेखनकर्मले पनि यही परिपाटीको निरन्तरता हो ।

पुस्तकः अ ट्रि कल्ड टेनल्पा (उपन्यास)
लेखकः टिम गुरुङ
प्रकाशकः आइएसएसएल एण्ड कम्पनी लिमिटेड, हङकङ
पृष्ठः २९६ं२,
मूल्यः २.९९ अमेरिकी डलर

[साभार: हिमाल । २०७५ साल असार ३१ गते ।]

Wednesday, June 6, 2018

‘नीतिशतकम्’ का व्याख्याता


–यमबहादुर दुरा

गौतम बुद्धले जीवन र जगतबारे दिएका सन्देशप्रति कमैले असहमति जनाउलान् । उनका सन्देशहरू आज पनि उत्तिकै उद्धरणीय र मननीय छन् । यसबारे विगतदेखि वर्तमानसम्म धेरैले व्याख्या गर्दै आएका छन् । ती व्याख्याताका सूचीमा ओशो रजनिशको नाम पनि चहकिलो रूपमा देखा पर्छ । उनले गौतम बुद्धका सन्देशहरूलाई मिहिन पाराले विश्लेषण गरी जनजनसम्म विस्तार गर्न सहयोग गरे । यस दृष्टिले आशोको योगदान प्रशंसनीय छ ।


कवि तीर्थराज अधिकारी (वि.सं. १९८२–२०७२) ले पनि सानै ‘स्केल’ मा भए पनि एउटा यस्तै लोकहितैषी काम गर्नुभएको छ । उहाँले संस्कृत वाङ्मयको ‘नीतिशतकम’ लाई नेपालीमा छायाँनुवाद गर्नुभयो । हरेक दृष्टिले महत्वपूर्ण ठहरिएको संस्कृत वाङ्मय समयक्रमसँगै दुरूह बन्दै गएको छ ।

अधिकारीले यस्ता दुरूह कृतिलाई नेपालीमा अनुवाद गरी जनस्तरमा  पुर्‍याउने काम गर्नुभयो । उहाँ संस्कृत वाङ्मयको रुझानबाट साहित्यिक कर्मभूमिमा उत्रिएका व्यक्तित्व हुनुहुन्थ्यो । परिणमस्वरूप उहाँलाई ‘नीतिशतकम’ को अनुवाद गर्ने काम सहज भयो ।

जीवन र जगतको रीतलाई साहित्यिक भावधारामा प्रवाहमय बनाउन अधिकारी सक्षम व्यक्ति हुनुहुन्थ्यो । ‘भूगोल सूत्र’ (२०१६), ‘आफ्नै बाँसुरीको धुन’ (२०५२), ‘तीनतारा एक आकाश’, ‘निर्वाचन’, ‘सत्य कथा’ आदि उहाँका केही साहित्यिक विरासत हुन् । मूल रूपमा कविको छविबाट परिचित अधिकारीका काव्यकृतिमा भेटिने संस्कृत शब्दको छेलोखेलो र छन्दोबद्धताले उहाँ संस्कृत वाङ्मयबाट प्रभावित हुनुभएको प्रष्ट संकेत मिल्छ ।

लगभग साढे तीनदशक शिक्षण पेशामा संलग्न अधिकारीले नयाँ पुस्तालाई तेस्रो आँखा दिने काममात्र गर्नुभएन, अविरल रूपमा साहित्य–साधनामा पनि जुटिरहनुभयो । भारतवर्षमा सुपरिचित राजर्षि भर्तृहरिको कृति ‘नीतिशतकम’ लाई उहाँले नेपाली भाषामा छायाँनुवाद गर्नुभयो । यो काम उहाँले गर्नुभएका अनेक साहित्य कर्ममध्ये एउटा स्मरणीय योगदान हो ।

प्राचीन सन्दर्भ–ग्रन्थहरूका अनुसार भर्तृहरि उज्जैन (वर्तमान भारतको मध्यप्रदेश) का राजा थिए । उनी संस्कृत वाङ्मयका धुरन्धर रचनाकार मानिन्छन् । उनका कृति ‘नीतिशतकम्’ भारतवर्षमा प्रख्यात नीतिप्रबन्धहरूमध्ये उच्चतम् मानिन्छ । भर्तृहरिको जीवनकालको अनुमान विवादास्पद मानिन्छ । उनी राजा विक्रमादित्यका दाइ मानिन्छन् ।

भर्तृहरिले आफ्ना जीवन भोगाइका आधारमा तयार पारेका लोकव्यवहार तथा नीतिसम्बन्धी श्लोकहरूको संग्रह हो, ‘नीतिशतकम्’ । तीर्थराज अधिकारीले ‘नीतिशतकम्’ को छायाँनुवादलाई मूर्ख पद्धति, विद्वत्पद्धति, मानशौर्य पद्धति, अर्थ पद्धति, दुर्जन पद्धति, सुजन पद्धति, परोपकार पद्धति, धैर्य पद्धति, दैव पद्धति र कर्म पद्धति गरी दश खण्डमा विभक्त गर्नुभएको छ ।

भाषिक दृष्टिले धेरैका लागि दुरूह ठहरिएका संस्कृत वाङ्मयको बहुचर्चित कृति ‘नीतिशतकम्’ लाई छायाँनुवाद गरेर नेपाली पाठकमाझ पस्कने काम उहाँको साहित्यिक ‘करिअर’ र सामाजिक योगदान दुवै हिसाबले वन्दनीय छ ।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य डा. टीकाराम पन्थीले कृतिको भूमिकामा कृतिबारे भन्नुभएको छ, ‘सामाजिक जीवनको संयमन, नियन्त्रण, सञ्चालन र व्यवस्थापन यस नीतिशतकका प्रत्येक श्लोक पठनीय, मननीय र धारणीय छन् ।’

डा. पन्थीले आजको अर्थमुखी (पैसामुखी) युगमा भ्रष्टाचार र गैरजिम्मेवारी बढिरहेको सामाजिक पृष्ठभूमिमा यस कृतिले सदाचारपूर्ण मानवीय व्यवहार अभिवृद्धि गर्न योगदानदिने राय दिनुभएको छ ।

कृतिलाई नेपालीमा छायाँनुवाद गर्ने क्रममा अधिकारीले जटिल ठहरिएका केही शब्दहरूको ‘फुटनोट’ दिएर थप प्रष्ट पार्ने प्रयास गर्नुभएको छ । यति हुँदाहुँदै पनि कतिपय ठाउँमा मूल पाठसँग मेल नखाएजस्तो वा अर्थान्तरण भए पाठकलाई लाग्नसक्छ ।

यस प्रसंगमा डा. पन्थीले संस्कृतका श्लोकहरू नेपालीमा अनुवाद गर्दा कतै कतै भावान्तरित भएजस्तो, अर्थ छुटेजस्तो वा अर्थ पूरा गर्न शब्द थपिएजस्तो देखिनु स्वाभाविकै हो भन्नुएको छ ।  छायाँनुवादमा देखिने यी स्वाभाविक कमजोरीबाहेक कृतिपठनीय र मननीय छ ।

मनिसमा राज गरिरहेको घमण्ड, द्वेष, रीस–राग, अप्रिय बाणीजस्ता दुर्गुणबारे कविको उद्घोष यस्तो छ (मूर्ख पद्धति, पृ.१):

ठूला बडा, घमण्डी छन् विज्ञ ईर्ष्यालु छन् सदा ।
अज्ञानी छन् अरु सारा प्रियवाक्य छ बेपता ।।

विद्याको महत्व अपम्पार छ । ‘नीतिशतकम्’ मा वर्णित विद्या–महिमाबारे उहाँको कलम बेजोड किसिमले दौडिएको छ (विदत्पद्धति, पृ.८):

विद्या सुन्दर रूप हो मनुजको विद्या ठुलो संपदा
विद्यावन्धु विदेशमा, बुझिलिएविद्या ठुलो देवता ।
विद्याभोग र कृति हो सुख दिने विद्यागुरुको गुरुं
विद्यापूज्य छ, भूपमा धन के ? विद्याविनको पशु ।।

भनिरहनु पर्दैन, जीवनमा असल संगतले धेरै महत्व राख्छ नै । यसबारे अधिकारीको कलम उज्यालो जीवन–दृष्टि छर्न सक्षम छ (विदत्पद्धति, पृ.९) :

पारी प्रसन्न मन, पाप समस्त फाली
अज्ञान हर्दछ, बहाउँछ सत्य बोली ।
पैmलाइदिन्छ यश, उन्नति, मान चैन
सत्संगले पुरुषमाभन के हुँदैन ? ।।

जन्म र मरणबीच अडेको मानव–चोलामा जन्मनुको सार्थकताबारे अधिकारी लेख्नुहुन्छ (मान–शौर्य पद्धति, पृ.११) :
को जन्मदैन, मर्दैन फेरिने दुनिया बिच ।
जन्मेको त्यहि हो, जसले लान्छ उन्नतिमा कुल ।।

यो भौतिकवादीदुनियाँमा धेरैको आँखा धनमाथि नै छ । धन आर्जनका लागि दुनियाँव्यग्र छ । धनको गति, दिशा र दशाबारे ‘नीतिशतकम्’ को सार यस्तो छ (अर्थ पद्धति, पृ.१५) :

दान, भोग अनि नाश यी तीन गति हुन्छन् धन तीन सदा ।
जो दिइन्न, भोगिन, उसको तृतीय गति हुन्छ सदा ।।

पठित व्यक्तिमा पनि दुष्ट व्यावहार कायमै छ । यी त्याज्य व्यावहार हुन् । यस सम्बन्धमा ‘नीतिशतकम्’ ले दिएको राय मर्मस्पर्शी छ (दुर्जन पद्धति, पृ.१८) :

पढेको नै छ त पनि त्याग्नू त्यो दुष्ट दुष्चर ।
मणिशोभित त्यो सर्प भयंकर हुँदैन र ! ।।

यी र यस्ता श्लोकहरूले कृतिलाई पठनीय बनाएका छन् । ‘नीतिशतकम्’ ले सम्प्रेषण गरेका गहकिला र गहन सन्देशहरूलाई चिन्तन–मनन गरेर छायाँनुवादमा उत्रँदा कवि तीर्थराजअधिकारीले धेरै मानसिक श्रम खर्चनुभएको प्रष्ट देखिन्छ ।  भौतिक वैभवका लागि नैतिकता गुमाउँदै गएको वर्तमान सामाजिक परिवेशमा यो कृतिको सन्देश एकदमै सान्दर्भिक ठहरिन्छ ।

उहाँले साहित्य कर्ममार्फत् समाजलाई दिनुभएको योगदान र उहाँका साहित्यिक कृतिमामार्फत् प्रवाहित जीवन–दर्शनसम्बन्धी सन्देश हाम्रा लागि एउटा गतिलो प्रेरणास्रोत बनेका छन् । अधिकारीले साहित्य साधनाको माध्यमबाट समाजलाई आलोकित तुल्याउनुभएको छ, जुन आफैंमा एउटा मीठो र प्रेरणादायी दृष्टान्त हो ।

[साभार: स्मृतिका पानामा साहिँला गुरु (तीर्थराज शर्मा अधिकारी स्मृतिग्रन्थ-२०७५) । तस्बिर: गोविन्दराज खनियाँ ।]

Sunday, July 2, 2017

विवादास्पद ‘अंश’


–यमबहादुर दुरा

जनजाति अभियन्ता तथा पूर्वमन्त्री गोरेबहादुर खपाङ्गी (वि.सं. २००३–२०७३) ले जीवनको अधिकांश हिस्सा जनजातिका सांस्कृतिक अधिकारबारे चर्को आवाज उठाएर व्यतित गरे । उनको दलिल थियो,  दशैं जनजातिको चाड नभएकोले दशैंको टीका वहिष्कार गर्नुपर्छ । उनै गोरेबहादुर खपाङ्गी २०५९ सालमा राजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा सामेल भए । मन्त्री भएपछि राजाको हातबाट चुपचाप दशैंको टीका ग्रहण गरे ।

गोरेबहादुर खपाङ्गीले चुपचाप टीका ग्रहण गरेको जनताको नजरमा छिपेन । पत्रकार उजिर मगरले  खपाङ्गीले दशैंको टीका ग्रहण गरेको समाचार ‘कान्तिपुर’ दैनिकमार्फत् ‘ब्रेक’ गरिदिए । खपाङ्गीको बोली र व्यवहारमा भिन्नता दुनियाँ चकित भए । गोरेबहादुर खपाङ्गीले उठाएका दशैं वहिष्कारलगायतका जनजातिका सांस्कृतिक अधिकारका कुराहरू वैकल्पिक धारको पत्रकारितामार्फत् ‘एम्प्लिफाई’ गर्ने काम उजिर मगरलगायतका पत्रकारले नै गरेका थिए ।

‘राजनीतिमा कुनै स्थायी मित्र र सत्रु हुँदैन’ हुँदैन भन्ने भनाइ धेरै हदसम्मपत्रकारिता पनि लागू हुन्छ भन्ने तथ्य मगरले व्यवहारबाटै पुष्टि गरिदिए । उनले आफ्नो ‘करिअर’ को शुरुवती घडीमा जनजातिका सांस्कृतिक अधिकारसम्बन्धी मामिलाहरूलाई आमसञ्चार माध्यममा ल्याउने काम गरे ।

के कारण हो कुन्नि, जीवनयात्रा अधबैंशे पयतिर ढल्कँदा–नढल्कँदै उनी अतीतमुखी बन्न पुगेका छन् ।समयको मध्यविन्दुतिर आइपुग्दा उनले अतीतका बाङ्गाटिङ्गा बाटाहरूलाई पछि फर्किएर हेर्न रुचाएका छन् । उनी अतीतगमनमा मगनमस्तबनी समयले पछिल्तिर धकेलिदिएका पलहरूलाई संस्मरणका रूपमा प्रस्तुतगर्दैछन् । यसको प्रमाण हालसालै सार्वजनिक भएको उनका कृति ‘अंश’ मा भेटिन्छ ।

‘हाँक’, ‘समानान्तर’, ‘कान्तिपुर’ र ‘नागरिक’ हुँदै पत्रकारिताको राजनीति माहोमिएका उजिर मगरले आफ्ना कृतिमाविद्यार्थी राजनीतिदेखि पत्रकारितासम्मका यावत् अनुभव र अनुभूतिहरूलाई समेटेका छन् । विद्यार्थी कालदेखि नै नेकपा मसालको राजनीतिमा अभ्यस्त बनेका उनी तत्कालीन समयदेखि नै राजनीतिको हिस्सा बनेको देखिन्छ ।

मगर आफ्नो राजनीतिक संलग्नताखुलेरै बोल्छन् । उनी बाग्लुङको तत्कालीन स्थानीय राजनीतिको धार र अभीष्टबारे लेख्छन्, ‘२०५१ सालको मध्यावधि निर्वाचनहाम्रो गाउँमा बेस्सरी लाग्यो । पार्टीले परी थापालाई उठाउने भयो ।..उनलाई जिताइयो । त्यो भेगमा एकप्रकारले बुथ कब्जा गरियो’ (पृ.५) ।

उजिर मगरको पत्रकारिता–यात्रा रोचक छ । उनी २०५१ सालमा भारतको राजधानी दिल्ली पुग्छन्, साहिँली दिदीलाई पुर्याउन । उनको भिनाजु दिल्लीमा काम गर्थे, जो नेकपा (मसाल) समर्थित अखिलभारत नेपालीएकता समाज (हकेसनगर इकाइ समति) का अध्यक्ष थिए । थोरै कमाइमा चारजनाको परिवार पाल्नुपर्ने बाध्यतमा जेलिएका भिनाजुसँग उनले बाटोखर्च मागेनन् । बरू काम खोजे ।

उजिर मगरले अखिल भारत नेपाली एकता समाज, केन्द्रीय कार्यालयका सचिव धनपति शर्माको सम्पर्कमा आए । शर्माकै कृपाबाट उनले एउटा गार्मेन्ट कारखानामा चौकीदारको काम पाए । महिनामा १५ दिन बिहान र १५ दिन राति ड्युटी बस्नुपर्ने । दिनमा ड्युटी हरेक महिनाको पहिलो हप्ता ‘नेपाली एकता’ म्यागजिन निस्कन्थ्यो ।

 दिनमा ड्युटी त्यही म्यागजिन उनको साथी बन्थ्यो । पत्रकारिताप्रतिको लगाव र अनुराग देखेर धनपति शर्माले उनलाई म्यागजिनका लागि समाचार लेख्न लगाए । पत्रकारिताप्रतिको उनको प्रेमभाव त्यहाँ पुगेर फक्रन थाल्यो । उनी अखिल भारत नेपाली एकता समाज (हकेसनगर इकाइ समति) को सदस्य पनि बने ।

त्यस समयमा उनी टाइपिङ सेन्टरमा भर्ना भए । उनमा ‘अब म पत्रकारितागर्न सक्छु’ भन्ने आत्मविश्वास पलायो । चौकीदारी गर्दाको समयमा आर्जेको पत्रकारिताको अनुभव लिएर उनी २०५२ सालमा नेपाल फर्किए । त्यसपछि उनको पत्रकारिता–यात्राविना रोकावट अघि बढ्यो ।

उजिर मगरले आफ्ना कृतिमा यस्तै रोचक संस्मरण पस्केका छन् । ‘कान्तिपुर’ दैनिकमा आवद्ध भएपछि  उनले माओवादी बिट हेर्न थाले । यसपछि विभिन्न समय र सन्दर्भमा माओवादी शीर्षनेतृत्वसँग निरन्तर सम्पर्कमा रहे । तर यसको ‘साइड इफेक्ट’ पनि पुस्तकमा देख्न सकिन्छ । माओवादी नेतृत्वसँगको उनको सामीप्य कतिसम्म बढेको देखिन्छ भने उनी तिनै माओवादीबाट जानेरै प्रयोग भएका छन् ।

गोरखाको एउटा जेलबाट सुरुङ खनेर केही माओवादी फरार भएको एउटा समाचार काल्पनिक भएको उनले १२ वर्षपछि स्वीकारेका छन् । मगरको यो स्वीकारोक्तिले संवाददाता, सम्पादक र मिडिया हाउसकै विश्वसनीयतामाथि प्रश्न उठाएको छ । उसै पनि पत्रकारिता पेसा विश्वसनीयताको कसीमा कमजोर हुँदै गइरहेको बेलामा मगरले स्वीकारेको त्रुटिले थप प्रश्नहरू उठेका छन् ।

मगरले रिपोर्टिङका क्रममा देखे–भोगेका थुप्रै प्रसंगहरू आफ्ना कृतिमा पस्केका छन् । केशव नेपालले ‘हाँक’ छाड्दा ‘नेपाल बिदा हुनुभयो’ शीर्षकमा फोटोसहित बिदाइ समाचार लेख्दा कतिपयले समाचारै नपढी उनको मृत्यु भएको बुझेको, लिवाङमा प्रेमपूर्वक गोरुको मासु खाएको, जापानी महिला पत्रकारलाई गाउँमा शाकाहारी भोजन भनेर कुखुराको मासु टक्र्याइएको जस्ता प्रसंगले पाठकलाई रोमाञ्चक दुनियाँतिर लैजान्छ । रिपोर्टिङको क्रममा बाटोमा हिँड्दाहिँदै आफूले हलो जोतेको प्रसंगले उनको चुलबुले स्वभावको परिचय दिन्छ ।

सांस्कृतिक रूपमै मदिराभोगी समुदायको भएर होला, उजिर मगरले ठाउँ ठाउँमा मदिराभोगको प्रसंग निष्फिक्री ल्याएका छन् । उनले संगत गरेका सबैजसो पत्रकारसँगको उठबसका प्रसंगहरू पुस्तकभरि छताछुल्ल भेटिन्छन् ।

लेखाइमा लालित्य खोज्ने पाठकहरूले यो कृतिमा त्यस्तो पाउने छैैनन् । लेखाइ नितान्त सरल र सहज छ । त्यसमा आडम्बरी शब्दजाल र कस्मेटिक लेखाइको छनकसम्म पनि भेटिँदैन । नलेखेको भए पनि हुने थियो जस्तो प्रसंगहरू पुस्तकमा छन् । कतिपय सानोतिनो प्रसंगको सूक्ष्म विवरणहरू छन् । यसबाट पुस्तक अनाश्यक रूपमा मोटो हुन गएको छ । लेखाइ खासै विश्लेषणात्मक छैन । कतिपय हरफहरू त घटनाक्रमहरूको टिपोटजस्तो मात्र पनि लाग्छ ।

उनले राजनीतिक नेतृत्व हिजोको मौलिक र जनमुखी सोचाइबाट पथभ्रष्ट भएको र तिनीहरू उच्च आचार–विचारमा गिरावट आएको नजानिँदो किसिमले संकेत गरेका छन् । मगरले एक प्रसंगमा भनेका छन्, ‘रिपोर्टिङसँगसँगै गणतान्त्रिक आन्दोलनमा होमिँदा अनेक पात्र भेट्टाएँ । तीमध्ये कतिको निधन भयो; कतिले जेलनेल खाए; कति प्रधामन्त्री/मन्त्रीभए; कतिले राजनीतिक नियुक्ति पाए...। ती पात्रहरूलाई अहिले अनेक रूपमा देख्दा कुनै फिल्मका नायक, खलनायक, जोकर देखे जस्तो लाग्छ’ (पृ.३६१) ।

सशस्त्र संघर्षकालको परिशीलनगर्न चाहनेहरूका लागि उनको कृति एउटा महत्वपूर्ण सन्दर्भ सामग्री बन्नसक्छ । सशस्त्रद्वन्द्वकालमा गरिएका स्थलगत रिपोर्टिङको अनुभव संगालिएको यो दस्ताबेज युद्ध रिपोर्टिङको अनुभव, कला र सीप जान्न चाहने नयाँ पुस्ताका पत्रकारहरूका लागि प्रेरणास्रोत बन्नसक्छ ।

पुस्तक : अंश
विधा : संस्मरण
लेखक : उजिर मगर
प्रकाशक :  नाउर प्रकाशन प्रालि
मूल्य : ४७५ रुपैयाँ

 [साभार: अन्नपूर्ण टुडे । असार १६, २०७४ । सामान्य परिमार्जनसहित ।]

Monday, June 19, 2017

पञ्चायतको आत्मरञ्जन


–यमबहादुर दुरा

वि.सं. २००४ मा उर्लिएको ‘जयतु संस्कृतम्’ आन्दोलनमा सरिक एकजना युवक हुकुमी शासन–व्यवस्थाको गिद्धेदृष्टि परेपछि निर्वासित जीवन बिताउन भारत पुग्छन् । त्यहाँ उनी ‘नेपाली राष्ट्रिय कांग्रेस’ सँग आबद्ध हुन्छन् । समयक्रममा त्यस पार्टीप्रति उनको मोहभङ्ग हुन्छ । त्यसपछि केदारमान व्यथित, बालचन्द्र शर्मालगायतका व्यक्तिहरूसँग मिलेर ‘नेपाली कांग्रेस बामपन्थी दल’ खडा गर्न पुग्छन् । त्यो दल मातृकाप्रसाद कोइरालाको पार्टीमा बिलय हुन्छ ।

उनको दलबदलको क्रम यत्तिमै रोकिन्न । उनकै अग्रसरतामा टंकप्रसाद आचार्यको ‘प्रजापरिषद’, भद्रकाली मिश्रको ‘जनकांग्रेस’ र ‘नेपाली कांग्रेस बामपन्थी दल’ एउटै झण्डामुनि गोलबन्द हुने निर्णय हुन्छ ।

यतिञ्जेलसम्म देशमा राणशासन ढलिसक्छ, राजा त्रिभुवनको निधन भइसक्छ, राजा महेन्द्रको राजनीतिक सक्रियताको ग्राफ उकालो लाग्छ र देशको राजनीतिले कोल्टो फेर्छ ।

दलीय राजनीतिभित्रै ओहोरदोहोर गरिरहेका ती युवा राजेश्वर देवकोटा (वि.सं.१९८६–२०७२) कालान्तरमा महेन्द्रद्वारा स्थापित निर्दलीय व्यवस्थाको खम्बा बन्न पुग्छन् । देवकोटाको आत्मपरक कृति ‘आत्मकथा’ आफ्नो राजनीतिक जीवनका आरोह अवरोहहरूमा केन्द्रित छ ।

आत्मकथामा देवकोटाले कांग्रेस पार्टीका नेताहरू भारतद्वारा सञ्चालित रहेको र स्वतन्त्र देश अरुको अधीन रहनु ठीक नलागेकोले उक्त पार्टी छोडेको अभिव्यक्ति दिएका छन् । २००७ सालपछिको बढेको भारतीय हस्तक्षेप र त्यही पृष्ठभूमिमा आफूले गरेको पार्टी त्यागबारे उनी लेख्छन्, ‘नेपालमा भारतीय मिलिटरी मिसन पनि आइसकेको थियो, उत्तरी सीमाहरूमा भारतीयहरूले आफ्नो चेकपोस्ट पनि कायम गर्ने भए ।... मलाई कांग्रेसमा बसिरहन मन मानेको थिएन, २००९ सालको जेठ महिनामा विद्रोह गरी निस्किहालेँ’ (पृ.९८) ।

देवकोटाले आफू कम्युनिष्ट नबन्नुको कारण पनि खोलेका छन् । ‘म किन कम्युनिस्ट बनिनँ’ शीर्षकको लेखमा उनले वर्गविहीन समाजको परिकल्पना उत्तम र आदर्शमय भए पनि सभ्यताको विकास हुँदैमा वर्गभेदको बीजारोपण भइसकेकोले त्यसलाई मास्न सम्भव नहुने तर्क दिएका छन् (पृ.१६४) । यद्यपि उनले मार्क्सवादले गरेको समतामूलक समाजको परिकल्पनालाई नकार्न भने सकेको देखिन्न ।

नेपालको आन्तरिक मामिलामा २००७ सालको क्रान्तिदेखि २०६२/०६३ जनआन्दोलनसम्म भारतीय हस्तक्षेप रहेको दलिल पेश गर्ने उनले राणा शासनको अन्त्यका लागि भएको ‘दिल्ली सम्झौता’ ले नेपालको स्वाधीनतामाथि भारतीय हस्तक्षेपको बाटो खोलेको टिप्पणी गर्छन् ।

सम्झौताबारे हालसम्म कुनै लिखत नभेटिनुले यसको वैधतामाथि नै प्रश्न उठेको उनको दाबी छ ।
विगतमा ‘दिल्ली सम्झौता’ धोका हो भन्दै कुर्लिएका कम्युनिस्टहरूको स्वर पनि २०६३ सालपछि मत्थर हुँदै गएको देवकोटाको तर्क छ (पृ.९४)  । उनले विगतमा कम्युनिस्टहरूले राजनीतिक नारा बनाएको र अहिले उच्चारण गर्न छाडेको ‘गोर्खा भर्ती केन्द्र’ को पनि विरोध गरेका छन् ।

नेपालको राजनीतिक तथा साहित्यिक वृत्तका ‘सेलिब्रेटेड’ व्यक्तित्व वीपी कोइरालाप्रति उनी आलोचक देखिन्छन् र उनलाई जटिल मनस्थिति भएको व्यक्ति भनेर टिप्पणी गर्न पनि पछि पर्दैनन् । उनले वीपीले मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा भएको राष्टहितविपरीतको कोशी सम्झौताको स्वागत गरेको र वीपीले आफैं प्रधानमन्त्री छँदा असमान गण्डक सम्झौता गरेको भन्दै आलोचना गरेका छन् ।

उनले ती असमान सम्झौताहरूलाई राजा महेन्द्रले धेरै हदसम्म सच्याएको पनि बताएका छन् (पृ.१३०) । तर महेन्द्रले कहिले र कसरी सच्याए भन्नेबारे देवकोटाले केही उल्लेख गरेका छैनन् ।

राजा महेन्द्रप्रतिको उनको अगाध आस्था र सामीप्य ठाउँ ठाउँमा झल्कन्छ । उनले महेन्द्रलाई राष्ट्रवादी राजाको रूपमा प्रस्तुत गरेका छन् । महेन्द्रमथि लाग्दै आएको प्रजातन्त्रको हत्याराको आरोपप्रति दुःखमनाउ गर्दै उनले यसलाई नेपालको स्थिरता नचाहने र राष्ट्रवादी धारलाई निस्तेज पार्न चाहने स्वदेशी तथा विदेशी शक्तिहरूको चाल भनेका छन् (पृ.१३४) ।

रोचक कुरा के छ भने महेन्द्रभक्त वीरेन्द्र र ज्ञानेन्द्रप्रति उनी एक रति पनि सकारात्मक देखिन्नन् । उनले एक ठाउँमा भनेका छन्, ‘राजा महेन्दले मलाई लेखनबाटै चिनेका हुन् । उनको निधनपछि पनि म अन्त्यसम्म राजतन्त्रकै परिधिभित्र रहेँ तर उनका छोराहरूले चिन्दै चिनेनन्’ पृ.१४६) ।

उनले राजा वीरेन्द्रसँगको वैरभाव ठाउँ ठाउँमा पोखेका छन् । वीरेन्द्र राजा भएपछि उनका आफन्त र  कर्मचारीतन्त्र उच्छृङ्खल भएको, राजाले आफ्नो कुरा सुन्न छाडेको र उनको भलो ठान्दा पनि कुभलो गरेको ठानेकाले आफूले राष्ट्रिय पञ्चायतको अध्यक्ष पदबाट राजीनामा दिएको उनले प्रसंग कोट्याएका छन् (पृ.१०८)।

वि.सं. २०२८ सालमा लागू भएको ‘नयाँ शिक्षा प्रणाली’ वीरेन्द्रको ‘ब्रेन चाइल्ड’ भएको, उनी युवराज छँदै यससम्बन्धी अवधारणा अघि सारिएको, यसबाट पर्नसक्ने नकारात्मक असरबारे आफूले राजा महेन्द्रलाई बेलैमा सचेत गराएको तर शासनसत्ता आफ्नो हातमा आएपछि वीरेन्द्रले देशलाई अहित हुने शिक्षा प्रणाली लागू गरिछाडेको प्रसंग पनि देवकोटाले कोट्याएका छन् (पृ.१३३)।


उनले आफूलाई वीरेन्द्र र ज्ञानेन्द्रले प्रधानमन्त्री बन्न नदिएको गुनासो घुमाउरो किसिमले पोखेका छन् । उनले भनेकै छन्, ‘राजा महेन्द्रले मलाई प्रधानमन्त्री बनाउने संकेत गरेका थिए तर त्यसको केही दिनभित्रै उनी स्वर्गे भए । त्यसपछि उनका छोराहरूले मलाई लखेटी नै रहे तर म उनीहरूको भलो नै चिताइरहेँ’ (पृ.१३३)।

उनले तत्कालीन राजा ज्ञानेन्द्रमा बढ्दो महत्वकाङ्क्षा र हठकै कारण राजतन्त्र अन्त्य भएको उनको विश्लेषण भने धेरै हदसम्म सही लाग्छ (पृ.११६–११७)।

उनले यी राजनीतिक उहापोहहरूका अतिरिक्त आफ्ना बाल्यकाल, शिक्षाराम्भ, पारिवारिक प्रसंग, आफू जन्मेहुर्केको गोरखाको लिगलिगकोटको सामाजिक तथा सांस्कृतिक परिवेश, स्वदेश तथा विदेश भ्रमण, लेखनयात्रालगायत विविध विषयमा सम्झनाको पोको फुकाएका छन् । तर, कतिपय विषयवस्तु गम्भीर र सान्दर्भिक भए पनि प्रस्तुतीकरणको दृष्टिले उनका यसअघिका साहित्यिक कृतिहरू नै अब्बल लाग्छन् ।

कतिपय ठाउँमा उनी तथ्यगत रूपमा पनि चिप्लिएका छन् । पश्चिमाञ्चल क्षेत्रमा प्रचलित घाँटु नाचलाई ‘रोमान्स’ को संज्ञा दिनु उनको अध्ययनको सीमिततालाई बुझाउँछ  (पृ.३९)। पुस्तकमा उनी जन्मेको साल वि.सं. १९८६ हुनुपर्नेमा वि.सं. १८८६ भएको छ । यद्यपि, यी कमजोरीले २००७ सालपछि गणतन्त्र स्थापनासम्मको  राजनीतिक खिचातानीको एउटा पाटो बुझाउन पुस्तकको क्षमतामा प्रश्न गर्न मिल्दैन ।

पुस्तक : आत्मकथा
लेखक : राजेश्वर देवकोटा
प्रकाशक : ईश्वर चन्द्र देवकोटा
पृष्ठ : १८८
मूल्य : रु २५०

[साभार : हिमाल  । (माघ ९-१५, २०७३)  । परिमार्जित संस्करण]